`

मिसन ८४ लाई केन्द्रित बनाएर कार्यक्रम गर्ने युवा संघ नेपालको निर्णय(सर्कुलरसहित)

काठमाडौं । नेकपा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले विभिन्न प्रस्ताव पारित गरेको छ । जेठ १९ र २० गते एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले विभिन्न प्रस्ताव पारित गरेको हो । बैठकले पार्टीले लिएको ‘समृद्ध नेपालः सुखी नेपाली’को अभियानलाई लक्षित विन्दुमा पुयाउनु संघको महत्वपूर्ण जिम्मेवारी रहेको निष्कर्ष निकालेको छ ।

त्यस्तै बैठकले आगामी मिसन ८४ लाई केन्द्रित भई नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्ति बनाउने महत्वपूर्ण लक्ष्य लिएको छ । बैठकले जनजीविका, जनसरोकार, सामाजिक न्याय, सुशासन तथा राष्ट्रियता र मुलुकको सार्वभौमसत्ताको रक्षार्थ आफ्नो स्पष्ट दृष्टिकोण र कार्यदिशा तय गरेको छ ।

संघको लक्ष्य, उद्देश्य र कार्यक्रमहरुलाई युवा समुदायमाझ प्रभावकारी तवरले लागू गर्न विभाग, प्रदेश, जिल्ला एवं पालिका स्तरसम्म प्रभावकारी कार्यसम्पादन गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । बैठकले साईबर सुरक्षा कार्यशाला, ७ प्रदेश, ७ भेला आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै बैकठले आर्टीफिसियल इन्टेलिजेन्स कन्फ्रेन्स गर्ने तथा प्रदेश, जिल्ला तथा पालिका अधिवेशनको मिति पनि तय गरेको छ ।

इलाममा विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध

इलाम । इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आ–आफ्ना पेसागत संघसंगठनमा आबद्ध भए तापनि कुनै राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ ।

शिक्षकहरूले निर्णय उल्लंघन गरेको पाइएमा संघीय शिक्षा ऐन, २०२८ को दफा १६ (ङ)को उपदफा ५ (छ) बमोजिम कारबाही गर्ने निर्णय भएको अध्यक्ष केरुङले बताए । ‘धेरैजसो शिक्षक कुनै न कुनै राजनीतिक पार्टीमा आबद्ध हुने र खुला राजनीति गर्ने क्रम बढेपछि त्यस्ता शिक्षकलाई स्थानीयस्तरबाटै राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाउने कदम चालिएको हो’, अध्यक्ष केरुङले भने, ‘निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिनेछ, कुनै शिक्षकले निर्णयको उल्लङ्घन गरेको पाइएमा शिक्षा ऐनबमोजिम कारबाही गरिनेछ ।’

विद्यालय हाताभित्र राजनीतिक कार्यक्रममा रोक

यसैबीच चुलाचुली गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि तथा कार्यक्रम पनि आयोजना गर्न नपाइनेगरी प्रतिबन्ध लगाएको छ । ‘गाउँपालिकाभित्रका कुनै पनि शैक्षिक संस्थामा राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम गर्न नपाउने व्यवस्था गरिएको छ’, अध्यक्ष केरुङले भने, ‘यसलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।”

चुलाचुलीमा आठवटा माध्यमिक विद्यालय, १३ आधारभूत विद्यालय, दुई सामुदायिक सिकाइ केन्द्र र १६ वटा बालविकास केन्द्र छन् । त्यहाँ पाँच हजार बढी विद्यार्थी अध्ययनरत छन् । चुलाचुलीले शैक्षिक गुणस्तर सुधारका लागि सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा र अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको छ । चुलाचुलीले अङ्ग्रेजी माध्यमका लागि २५ जना शिक्षक दरबन्दी खडा गरी अनुदान दिँदै आएको छ । तीन तहका विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क पाठ्यपुस्तक र पाठ्यसामग्री उपलब्ध गराउँदै आएको छ ।

स्थानीय भाषाको प्रवर्द्धनका लागि चुलाचुलीले ‘मातृभाषा शिक्षा’ समेत लागू गरेको छ । चुलाचुली–१ को जनता मावि, फाल्गुनन्द बहुभाषिक लफाङ पाठशाला, शिवज्योति आवि र चुलाचुली–४ किराँत चोलुङ आविमा ‘लिम्बू भाषा’ पठनपाठन गर्दै आएको छ । ‘मातृभाषा शिक्षा’का लागि गाउँपालिकाले एक–एक जना भाषा शिक्षक अनुदान उपलब्ध गराएको छ ।

यार्सागुम्बा सङ्कलनबाट राज्यकोषमा एक करोड २५ लाख राजस्व जम्मा

काँक्रेविहार । बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा सङ्कलनमा गएका छन् । उनीहरूबाट उक्त रकम सङ्कलन भएको हो ।

गत वर्ष यहाँ यार्सा टिप्न करिब चार हजार मानिस आएका थिए । उनीहरूबाट ८५ लाख राजस्व सङ्कलन भएको थियो । तर यसपटक गत वर्षको तुलनामा यार्सा सङ्कलन र राजस्व दुवै बढेको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए।

गत वर्षको तुलनामा यसपटक दोब्बर यार्सा सङ्कलककर्ता पाटन प्रवेश गरेको र राजस्व पनि गत वर्षको तुलनामा झण्डै रु ४१ लाख बढी सङ्कलन भएको उनले बताए । यार्सा गुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका, २०७३ बमोजिम निकुञ्ज क्षेत्रभित्रका व्यक्तिलाई प्रतिव्यक्ति रु पाँच सय र निकुञ्जभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति रु दुई हजार र डोल्पाभन्दा बाहिरका स्थानीयलाई प्रतिव्यक्ति रु तीन हजारका दरले प्रवेश शुल्क उठाएको वरिष्ठ संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।

कुल सङ्कलन भएको राजस्वमध्ये ३० देखि ५० प्रतिशत रकम निकुञ्ज क्षेत्रको सामुदायिक विकासमा खर्च गरिने छ । कार्यालयले यार्सा सङ्कलक र राजस्वको विस्तृत विवरणानुसार डोल्पाको तोइजम क्षेत्रबाट एक हजार पाँच सय यार्सा सङ्कलक पाटन प्रवेश गरेको र त्यहाँबाट १५ लाख राजस्व सङ्कलन भएको छ ।

यसैगरी, मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फू क्षेत्रबाट एक सयजना यार्सा सङ्कलक पाटन प्रवेश गर्दा रु एक लाख ९४ हजार, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रको मुख्य कार्यालय क्षेत्रबाट गएका दुई हजार ४१ जना यार्सा सङ्कलकबाट रु २९ लाख ७४ हजार पाँच सय राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ ।

डोल्पाको क्षेप्का क्षेत्रबाट गएका चार सय ७३ जना सङ्कलकबाट तीन लाख ७९ हजार राजस्व असुली भएको छ । फोक्सुण्डो तालको रिम्मु क्षेत्रबाट एक सय तीनजना सङ्कलक पाटन प्रवेश गरेका र उनीहरूबाट एक लाख ७७ हजार राजस्व उठेको छ ।

डोल्पाको त्रिपुरा क्षेत्रबाट चार सय ५० यार्सा सङ्कलक पाटनतर्फ जाँदा रु दुई लाख ५५ हजार राजस्व सङ्कलन भएको छ । त्यसैगरी डोल्पाको दोरेन्जपोष्टबाट दुई हजार सात सयजना यार्सा सङ्कलक पाटन गएका र उनीहरूबाट रु ७० लाख ३७ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

डोल्पाका ३२ स्थानमा यार्सा पाइने गरेको छ । मुगुको तुलनामा डोल्पाबाट बढी राजस्व सङ्कलन हुने गरेको छ । डोल्पाको पाटन क्षेत्रमा यार्सा टिप्न सात जिल्लाका स्थानीय जाने गरेका छन् ।

मुगुमा यार्सा सङ्कलकबाट ६९ लाख राजस्व

मुगुको कार्मारोङ गाउँपालिकामा यसपटक यार्सा सङ्कलकबाट रु ६९ लाख ५२ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । अझै पनि सङ्कलकहरु आउने क्रम जारी रहेकाले राजस्व रकम बढ्ने छ । गत वर्ष यार्सा सङ्कलकबाट रु ४६ लाख राजस्व सङ्कलन भएको र यसपटक रु ६९ लाख ५२ हजार पाँच सय जम्मा भइसकेको गाउँपालिकाले जनाएको छ ।

यार्सा राजस्व सङ्कलन टोली प्रमुख महेशबहादुर मल्लले यार्सा टिप्न पाटन जाने जिल्ला बाहिरकालाई प्रतिव्यक्ति रु दुई हजार पाँच सय र जिल्लाभित्रकालाई प्रतिव्यक्ति दुई हजारका दरले प्रवेश शुल्क लिइएको बताए । यसपटक यार्साबाट करिब रु ७० लाख राजस्व सङ्कलन हुने अनुमान गरिएको उनले बताए ।

कोराना महामारीका कारण चार वर्षसम्म यार्साबाट राजस्व उठेको थिएन । गत वर्ष भने ४६ लाख राजस्व सङ्कलन भएको थियो । मुगुम कार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठूलोकोइकी, रिमार, टाँके, हाङदाङखोलालगायत सात स्थानबाट यार्सा सङ्कलन हुने गरेको छ । करिब चार हजार पाँच सय जना यार्सा खोज्न पाटनमा आएको मुगुम कार्मारोङ गाउँपालिका–२ का वडाध्यक्ष च्यावा लामाले बताए ।

१० वर्षमा ३० खर्बको आईटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् ।

‘डिजिटल’ रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले शुक्रबार आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उहाँले बजेटमार्फत १० वर्षमा ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताए ।

“सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहकका रूपमा स्थापित गर्ने, सूचना प्रविधिका नवीन प्रविधि अवलम्बन गर्न कानुनी आधार तयार गर्ने, कृत्रिम बौद्धिकताको विकास, प्रवर्द्धन र नियमनको व्यवस्था गर्ने व्यवस्था बजेटमा गरिएको छ”, प्रधानमन्त्री दाहालले भने ।

उनले सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा, ‘डेटा’ सुरक्षा र बौद्धिक सम्पत्ति संरक्षण गर्ने विषय बजेटमा समावेश गरिएको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले ‘डिजिटल नेपाल फ्रेमवर्क’ परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौँ उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षालगायत पूर्वाधारसहित सूचना प्रविधि ‘पार्क’ सञ्चालनको काम अगाडि बढाइने बताए ।

“यस्तो पार्कमा तीन वर्षका लागि ‘वर्क स्टेसन’ सञ्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराउने, सार्वजनिक–निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि ‘हब’ सञ्चालनका लागि बहुतले संरचना निर्माण गरिनेछ”, उनले भने ।

स्वदेशमा उत्पादित ‘सफ्टवेयर’लाई प्राथमिकता दिई सार्वजनिक निकायले उपयोग गर्ने व्यवस्था मिलाइने जानकारी दिँदै प्रधानमन्त्री दाहालले सरकारी ‘डेटा सेन्टर’को स्तरोन्नति, विद्युतीय तथ्याङ्कको भण्डारण, सुरक्षा र उपयोगलाई व्यवस्थित र भरपर्दो बनाइने बताए ।

सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवालाई सूचना प्रविधिसम्बद्ध उद्योगमा ‘इन्टर्न’ गर्ने व्यवस्था गरिने उनले बताए

प्रधानमन्त्री दाहालले सरकार सूचना तथा सञ्चार प्रविधिलाई विशेष प्राथमिकतामा राख्दै विकास र समृद्धिको लक्ष्य प्राप्तिमा अघि बढिरहेको स्पष्ट पारे ।

“आगामी आवको बजेटमा तीन महत्त्वपूर्ण प्राथमिकताभित्र आइसिटीलाई समावेश गरेका छौँ”, उनले भने, “सरकार डिजिटल इकोनोमी, स्टार्टअप र इनोभेसनको प्रवर्द्धन, रोजगारीको सिर्जना, डिजिटल गभर्नेन्स सुधार र समग्र देश रूपान्तरणको लक्ष्यमा केन्द्रित छ, त्यसअनुरूप सरकारले आवश्यक नीति र कानुन परिमार्जन गर्दै अघि बढिरहेको छ ।”

प्रधानमन्त्री दाहालले पछिल्लो समय ‘देश बन्दैन’, ‘यो देशमा केही हुँदैन’ भन्ने नकारात्मक भाष्य स्थापित गर्ने प्रयास भइरहे पनि तथ्यहरूले देशको विकास, समृद्धि र स्वरोजगारका क्षेत्रमा प्रगति हुँदै गएको पुष्टि भएको बताए ।

उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका क्षेत्रमा सरकारले गरेको निरन्तर प्रयासका कारण राष्ट्रभित्र क्रमशः उत्साहको वातावरण निर्माण हुँदै गएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले सूचना प्रविधि क्षेत्रमा सरकारका तर्फबाट आर्कषक रोजगारीको व्यवस्था र अवसर सिर्जना गर्न खोजिएको तथा स्टार्टअप र नवप्रवर्तन प्रवर्द्धन गर्न इतिहासमै पहिलोपटक  एक अर्बको कोष बनाएर सातै प्रदेशमा ‘इन्कुवेसन’सहितको कार्यक्रम ल्याइएको स्पष्ट पारे ।

उनले प्रविधिमार्फत अर्थतन्त्रको विकास र रोजगारी सिर्जनाका निम्ति सरकारले अगाडि बढाएका कार्यक्रम प्रभावकारी तुल्याउन र प्रविधिको प्रयोगमार्फत आर्थिक– सामाजिक रूपान्तरणमा सहकार्यका निम्ति आम युवा र आइटी क्षेत्रका उद्यमीलाई अपील गरे ।

“तपाईँहरू निरास नहुनुहोस्, जसरी तपाईँहरूले यस क्षेत्रमार्फत रोजगारी सिर्जना र अर्थतन्त्रको विकासमा योगदान गरिरहनुभएको छ, यसका निम्ति सरकार आभारी छ”, उनले भने,“सूचना प्रविधि क्षेत्रका निम्ति आवश्यक कानुनलगायत नीतिगत विषयको सम्बोधन गर्न सरकार तयार छ ।”

‘डिजिटल गभर्नेन्स’लाई सुधार गर्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु सरकारको प्राथमिक दायित्व भएको जनाउँदै उनले यसले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति, सेवा प्रवाहमा सरलता र सहजता, अन्तरसरकारी समन्वय सुधारमा पर्याप्त आधार सिर्जना गर्ने बताए ।

प्रधानमन्त्री दाहालले डिजिटल नेपालको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयनका निम्ति प्राविधिक पूर्वाधारका विकास र विकट ग्रामीण भेगसम्म पहुँच विस्तार उच्च प्राथमिकतामा रहेको बताए । सबै नागरिकमा प्रविधिको सहज पहुँच विस्तार गरी स्वास्थ्य, कृषि, शिक्षालगायत सेवा प्रवाहका क्षेत्रलाई गुणस्तरीय र पहुँचयोग्य बनाउन जरूरी भएकामा उनले जोड दिए ।

सम्मेलनमा ‘डिजिटलाइजेसन’ र विकास, दिगो दूरसञ्चार र डिजिटल रूपान्तरणका लागि नीति, डिजिटल अर्थतन्त्र र डिजिटल नेपालमा लगानी, डिजिटलाइजेसन र विकासमा अबको बाटो, दिगो विकासका लागि डिजिटल सशक्तीकरण र समावेशीकरण विषयका बेग्लाबेग्लै सत्रमा बृहत् छलफल हुनेछ । सम्मेलनमा सूचना प्रविधिको क्षेत्रमा क्रियाशील छ सयभन्दा बढीको सहभागिता छ ।

चिनियाँ पर्यटक भित्राउन छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम

काठमाडौँ । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ ।

नेपालका होटल व्यवसायी र चिनियाँ पर्यटन व्यवसायीबीच बिहीबार आयोजित कार्यक्रममा महावाणिज्यदूत सुरेश राउतले चिनियाँ पर्यटन व्यवसायीलाई नेपाल भ्रमणका निम्ति आफ्ना मित्रहरूलाई प्रोत्साहन गर्न आह्वान गर्दै त्यस निम्ति महावाणिज्यदूतावासबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

महावाणिज्यदूतावासका अनुसार होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले चिनियाँ पर्यटकहरूलाई उत्कृष्ट सेवा सुविधा प्रदान गर्न नेपालका होटल व्यवसायी आतुर रहेका बताउँदै नेपाल भ्रमणमा आउन चिनियाँ नागरिकहरूलाई आग्रह गरे ।

नेपाल पर्यटन बोर्ड, होटल सङ्घ नेपाल र महावाणिज्यदूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा सिचुवान प्रान्तीय सरकार, छन्दु नगरपालिका, सिचुवान ट्राभल एजेन्सी सङ्घ, होटल सङ्घ चीनका प्रतिनिधिका साथै छन्दुमा रहेका नेपाली समाज र सञ्चारमाध्यमका प्रतिनिधि गरी दुई सयजनाभन्दा बढीको सहभागिता थियो । त्यस अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

यसैबीच, होटल सङ्घ नेपाल र सिचुवान ट्राभल एजेन्सी सङ्घबीच सहायता आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ । दुवै संस्थाले सहकार्यसम्बन्धी उक्त समझदारीपत्र आदानप्रदान पनि गरेका छन् ।

संघीयता कमजोर बनाउन खोज्ने तत्व सक्रिय भएः प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनअपेक्षाअनुसार सेवा प्रवाह गरेर सङ्घीयता बलियो हुने उल्लेख गर्दै त्यसका लागि सम्बद्ध सबै निकायले सकारात्मक प्रयास गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग शुक्रबार बिहान भएको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, “अन्तरप्रदेश व्यवस्थापिका मञ्च गठन गरेर संसद्को भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ । आवधिक रूपमा यस्ता छलफल जरूरी छन् । सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीर रूपमा लिनेछ । अधिकतम सम्बोधनको प्रयास गर्नेछ ।”

छलफलका क्रममा प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको भन्दै जनतालाई राम्रो ‘डेलिभरी’ दिनुपर्ने बताए ।

उनले भने,  “हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ । यहाँ सङ्घीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोसिसमा छन् । त्यस्तो प्रवृत्तिलाई हामीले निरूत्साहित गर्नुपर्छ । जनतालाई राम्रो ‘डेलिभरी’ दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ ।”

प्रधानमन्त्रीले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम शीघ्र निष्कर्षमा पुर्याउन आफूले पहल गरिरहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उनले भने, “सङ्घीय निजामती सेवा ऐन संसद्बाट चाँडो पारित गराउन र प्रहरी समायोजनको काम टु्ङ्ग्याउन मैले पहल गरिरहेको छु । यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुन्छ । सङ्घीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुन्छन् ।”

छलफलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधिमन्त्री, कानुनमन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सातै प्रदेशका सभामुख र उपसभामुख, नेपाल सरकारका मुख्यसचिवलगायत उपस्थित थिए । 

पाटा नेपालको अध्यक्षमा लकाइ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन जरुरी भएको बताएका छन् ।

प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपालको ४५औँ वार्षिक साधारणसभाको अवसरमा उनले बढीभन्दा बढी पर्यटक आकर्षण गर्न पुराना पर्यटकीय प्याकेजका साथै नयाँ सम्भावनायुक्त गन्तव्यको खोज, अध्ययन र प्रवर्द्धन गरिनुपर्ने धारणा राखे ।

“नयाँ गन्तव्यहरू पहिचान गर्नुपर्यो । हिमालमात्रै होइन, संस्कृतिको पनि प्रवर्द्धन जरुरी छ”, पर्यटनमन्त्री तामाङले भने, “नेपालमा अथाह पर्यटकीय सम्भावना हुँदा पनि बढी पर्यटक आकर्षण गर्न सकिरहेका छैनौँ ।”

सरकारले बजेट र नीति तथा कार्यक्रममार्फत घोषणा गरेको पर्यटनका कार्यक्रमलाई कार्यान्वयन गर्न र १६ लाख पर्यटकको लक्ष्य प्राप्तिका लागि मन्त्रालयले योजना कार्यक्रम बनाएर अघि बढ्ने उनले बताए ।

पाटा नेपालको अध्यक्षमा लकाइ

पाटा नेपाल च्याप्टरको अध्यक्षमा पर्यटन उद्यमी खेम लकाइ निर्वाचित भएका छन् । वार्षिक साधारणसभाले लक्काईको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको महासचिवमा नरेन्द्रदेव भट्ट र कोषाध्यक्षमा रितल राना चयन भएका छन् । कार्यसमिति सदस्यमा लाक्पाफुटी शेर्पा, हिम्मत पुरी, सरिता लामा, सुनिल भट्टराई चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष लकाइले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रवर्द्धनका कामलाई सरोकारवालाको समन्वय र सहकार्यमा प्रभावकारी बनाइने विश्वास व्यक्त गरे । उनले कोभिड महामारीपछि मुलुकको पर्यटन पुरानै लयमा फर्किएको र यसलाई थप चलायमान बनाउन विशेषगरी अन्तर्राष्ट्रिय गन्तव्यमा बजारीकरणलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याए ।

यसैबीच पाटा नेपालले यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड द्धारिकाज होटलकी सञ्चालिका अम्बिका श्रेष्ठ र साङ्ग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेलाई प्रदान गरेको छ ।

यस्तै यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पालाई टुरिजम ब्लेजर अवार्ड दिइएको छ । पाटा पर्सनालिटी अवार्ड २०२४ भोजनगृहका सञ्चालक भरतबहादुर बस्नेतलाई प्रदान गरियो भने पाटा स्पेसल कन्ट्रीब्युसन अवार्ड पर्यटन व्यवसायी नरेन्द्रदेव भट्टलाई प्रदान गरिएको छ ।

टी–२० विश्वकपमा पाकिस्तान पहिलो खेलमै पराजित

काठमाडौँ । आइसिसी टि–२० विश्वकपको पूर्वविजेता पाकिस्तान सुपरओभरमा अमेरिकासँग पराजित भएको छ ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा गए राति सम्पन्न समूह ‘ए’को खेलमा दुवै टोलीले बराबर खेलेपछि खेल सुपरओभरमा पुगेको थियो । डालासमा घरेलु टोली अमेरिकाले पाकिस्तानलाई जितको लागि १९ रनको लक्ष्य दिएको थियो । पाकिस्तान १३ रनमा समेटिएपछि अमेरिका विजयी भएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६० रनको लक्ष्य प्रस्तुत गरेको थियो । अमेरिकाले २० ओभरमा तीन विकेट गुमाएर बराबर गर्यो।

अमेरिकाका लागि कप्तान मोनाङक पटेलले सर्वाधिक ५० रन बनाए । उनले ३८ बलमा सात चौका र एक छक्काको सहायताले सर्वाधिक ५० रन बनाएका थिए । त्यस्तै आरोन जोनेसले ३६ र आन्द्रेस गौसले ३५ रन बनाएका थिए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले समान एक–एक विकेट लिए ।

त्यसअघि पाकिस्तानको लागि कप्तान बाबर आजमले ४३ बलमा ४४ रन बनाए । त्यस्तै सादव खानले २५ बलमा ४० रन बनाए भने साहिन शाह अफ्रिदीले २३ रन जोडे । अमेरिकाका नोष्थुश केजिङ्गेले तीन विकेट लिए भने सौरभ नेत्रवालकरले दुई विकेट झारे । त्यस्तै अली खान र जसदीप सिंहको नाममा समान एक–एक विकेट रह्यो ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा ५५ सांसदको समर्थनमा जनमतका सिंहको दाबी पेश

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले दाबी पेश गरेका छन् । शुक्रबार बिहान मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनमत पार्टीसहित ६ राजनीतिक दलले सिंहलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् ।

१०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश प्रमुख भण्डारीसमक्ष पेस गरिएको दाबीमा सिंहलाई ५५ सांसदको समर्थन रहेको जनाइएको छ ।

सिंहलाई एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसदको समर्थन रहेको छ ।

१५ दिनभित्र बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको परमादेश

काठमाडौँ ।  सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार चुँडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले गत चैत १२ गते गरेको फैसलाको बिहीबार पूर्णपाठ सार्वजनिक गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईद्वारा सञ्चालित अस्पताललाई सम्बन्धन दिन काठमाडौँ विश्वविद्यालय धुलिखेल काभ्रेपलाञ्चोक, चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरलगायतका नाममा परमादेशको जारी गरेको हो ।

फैसलामा भनिएको छ, “प्रक्रियाअन्तर्गत गठित निरीक्षण टोलीले औल्याएका मापदण्डअनुसारका जनशक्तिको व्यवस्थापन साथै सो निरीक्षण टोलीले तोकेका कार्यहरु पूरा गर्न लगाई पन्ध्र दिनभित्र यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनु दिलाउनु ।”

मेडिकल व्यवसायी प्रसाईँले आफू सञ्चालक रहेको बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै विसं २०७७ असार २१ र विसं २०७७ असोज ३० गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

गौतमबुद्धको मावली देवदहमा भेटियो प्राचीन इनार

लुम्बिनी (मर्चवार) ।  गौतमबुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आइएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा प्राचीन इनार फेला परेको छ । 

देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले यही जेठ १६ गतेदेखि उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए । गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इँटाको माथिल्लो भाग मात्रै देखा परेको थियो । 

“गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यस वर्ष इनारको बेस(तल्लो भाग)सम्म जाने योजनाअनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ”, उप्रेतीले भने ।

उनका अनुसार सो इनार कुन समयको भन्ने कार्बन डेटिङपछि मात्रै यकीन हुनेछ । इनारको दक्षिणतर्फ पर्खालका भग्नावशेष पनि भेटिएको उप्रेतीले बताए । उत्खननका क्रममा खयरडाँडा क्षेत्रमा माटाका भाँडा, पर्खालका भग्नावशेष भेटिएका छन् । 

स्थानीयहरुले पुरातात्विकस्थल भन्ने थाहा नहुँदै इँटा लगेपछि संरचनाहरु देखिएको उप्रेतीको भनाइ छ । गौतमबुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निक्र्यौल गर्न नसक्ने भन्दै पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने उनको भनाइ छ । 

रोहिणी पूर्वका नागरिकहरुले देवदहवासीका रुपमा भन्न मिल्ने उप्रेतीले बताए । तर बुद्धका समय र त्योभन्दा अगाडिका माटाका भाँडा र टुक्रा भने पण्डितपुरमा भेटिएका थिए । स्थानीयले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दाबी गर्दै आएका छन् । 

पुरातत्व विभागका अधिकृत राजेश परियारले तत्कालीन कोलीय राज्यका क्षेत्रमा निरन्तर उत्खनन आवश्यकता रहेको बताए । उनले खयरडाँडाको उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदम अगाडि बढाइने बताए । 

देवदह नगरपालिका–९ स्थित खयरडाँडा क्षेत्रमा देवदह नगरपालिकाको १० लाख बजेटबाट अहिले उत्खनन गरिएको हो । स्थानीय पालिकाको साझेदारीमा गरिएको यो पहिलो उत्खनन भएको बताइएको छ ।

लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख तथा वरिष्ठ पुरातत्व अधिकृत उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञ शुभेच्छा पोख्रेल उत्खननमा खटिएका थिए । उत्खनन थप एक महिनासम्म चल्ने जनाइएको छ ।

वाग्मतीलाई कराते प्रतियोगिताको उपाधि

काठमाडौँ । नेपाल कराते महासङ्घको आयोजनामा भएको ५६औँ राष्ट्रिय कराते प्रतियोगिताको उपाधि वाग्मती प्रदेशले जितेको छ । कूल १५ स्वर्ण, आठ रजत र १० कास्यपदकका साथ वाग्मती समग्रमा टिम च्याम्पियन बनेको हो ।

सातदोबाटोस्थित कराते हलमा बिहीबार भएको प्रतियोगितामा १५ स्वर्ण, २ रजत र ३ कास्य जितेको नेपाल प्रहरी दोस्रो भयो । तेस्रो स्थानको कोशी प्रदेशले ११ स्वर्ण हात पार्यो ।  

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, आयोजक महासङ्घका अध्यक्ष युवराज लामालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर । तीनदिने  प्रतियोगितामा करिब पाँच सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

‘डान्स च्याम्पियन सिजन-२’ आइतबारदेखि सुरु हुँदै

काठमाडौं । डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन-२’ आगामी आइतबारदेखि सुरु हुने भएको छ ।
आयोजक आइडीए स्टुडियोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ २७ गतेबाट ‘डान्स च्याम्पियन सिजन २’ प्रसारण हुने जानकारी गराएको हो ।

शो एपिवान टेलिभिजनमार्फत प्रसारण हुने आयोजक आईडिए स्टुडियोले जनाएको छ । सिजन टु मा सहभागीले सोलो, डुयल, ट्रियो र ग्रुपमा समेत प्रस्तुति गर्न पाउने जनाइएको छ ।

प्रिमियरदेखि फिनालेसम्म निर्णायकको भिटो पावर लगाउन सक्ने व्यवस्था रहेको उक्त शोको अडिसन राउण्ड सकिइसकेको छ ।

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको शपथ समारोहमा सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिने जाने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहभागिता जनाउने निर्णय गरेको हो ।  सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, “प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निर्णय भएको छ, यसमा जानका लागि आवश्यक टोली निर्माण गर्ने कुरा भएको छ, जाने टोलीको कति जना हुने भने टुङ्गो लागिसकेको छैन ।”

त्यस्तै, बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी नेपाल ऐनलाई केही संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

त्यस्तै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्ति दिने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्ति गर्ने पनि बैठकमा निर्णय भएको उनले जानकारी दिइन् ।

मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्रामक रोगहरुका रुपमा तोक्ने, जीवनाशक विषादी व्यवस्थापन नियमावली, २) ८१ स्कीकृत गर्ने र ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

सहरी विकास मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक तेजबहादुर राईलाई तोक्ने निर्णय बैठकले गरेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न शिक्षामन्त्रीलाई सुझाव

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ कार्यान्वयनका विषयमा तत्कालीन आयोगका पदाधिकारीसँग  छलफल गरेको छ ।

बिहीबार मन्त्रालयमा भएको कार्यक्रममा पूर्वशिक्षामन्त्रीद्वय गिरिराजमणि पोख्रेल र डा गङ्गालाल तुलाधर, पूर्वशिक्षा सचिव खगराज बरालसहित आयोगका अधिकांश सदस्य उपस्थित थिए ।

नेपाल सरकारको निर्णयले २०७५ असार ३२ गते २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको गठन गरेपछि आयोगले विभिन्न विषयगत समिति बनाएर अध्ययन गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो ।

शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई पत्रसहित प्रतिवेदन दिएकाले समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने बताइन् । छलफलमा पूर्वशिक्षामन्त्री तुलाधरले मेहनत गरेर बनाएको प्रतिवेदन हराइसकेकाले सार्वजनिक हुने आशा मारे पनि अब कार्यान्वयनमा जाने आशा रहेको बताए ।

“यो प्रतिवेदनले सपना देखाउँछ । संविधानको परिकल्पना र संरचना सुहाउँदो शिक्षाका लागि यो प्रतिवेदन बनाएका थियौँ”,  उनले भने ।

पूर्वशिक्षामन्त्री पोख्रेलले शिक्षा आयोगको प्रतिवेदनबारे सरकारसँग कुरा गर्दागर्दै थाकिसकेको तर अब सार्वजनिक हुने र कार्यान्वयनमा जानेमा आशा पलाएको बताए ।

“म मन्त्री हुँदा यही आयोगको प्रतिवेदनअनुसार काम गरेको थिएँ । तर विविध कारणले सार्वजनिक गर्न सकिएन । विकासको मार्गचित्र बनाएर मात्रै शिक्षाको योजना बनाउनुपर्ने रहेछ भन्ने लागेको छ”,  उनले भने ।

यो प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालयले नै पहल गर्नुपर्ने र त्यसमा सबैको साथ रहने उनको भनाइ थियो । संविधानसभा सदस्य तथा आयोगका सदस्य श्याम श्रेष्ठले आयोगको प्रतिवेदन अझै सान्दर्भिक रहेको बताए ।

“राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने कुरा प्रतिवेदनमै उल्लेख थियो । अहिले कार्यान्वयनमा आएको”, श्रेष्ठले भने । समाजमा विवेकशील चेतना दिने शिक्षा दिनुपर्ने र त्यसका लागि प्रतिवेदन सार्वजनिक गरी परिमार्जनसहित कार्यान्वयनमा जानुपर्ने उनको भनाइ थियो ।

आयोगका सदस्य डा बाबुराम थापाले शिक्षामा नीतिगत र सैद्धान्तिक बहसका लागि आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्नेमा जोड दिए । आयोगको उक्त प्रतिवेदनले संविधानको मर्मलाई समातेको उनको धारणा थियो ।

आयोगका सदस्य तथा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालले प्रतिवेदन सार्वजनिक भएपछि मात्रै बहस सुरु हुने बताए । “निजी क्षेत्रको योगदानलाई पनि नभुलौँ । सामुदायिक विद्यालयको गुणस्तर सुधारौँ”, उनले भने ।

११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

कांग्रेसहितको अघिल्लो गठबन्धन सरकारले नियुक्त गरेका राजदूतहरु  फिर्ताको सूचीमा परेका छन् । 

प्रधानमन्त्री कप भलिबलमा एपिएफ विजयी

काठमाडौँ ।  प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत बिहीबार भएको पुरुषतर्फको खेलमा विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ३–१ सेटमा पराजित ग¥यो । खेलको पहिलो सेट २२–२५ ले गुमाएको एपिएफले त्यसपछिका लगातार तीन सेट आफनो पक्षमा पार्दै जित हासिल गर्यो । 

एपिएफले खेलको दोस्रो सेट २५–१२, तेस्रो सेट २५–१४ र चौथो तथा अन्तिम सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो । जितसँगै प्रतियोगितामा दोस्रो जित निकालेको एपिएफले यसअघि बूढानीलकण्ठ क्लबलाई ३–१ को सेटमा हराएको थियो । त्यसैगरी यसअघि भएको खेलमा एपिएफ गण्डकी प्रदेशसँग ३–१, नेपाल पुलिससँग ३–२ तथा आर्मी र हेल्प नेपालसँग समान ३–० सेटको हार ब्यहोरेको  थियो । 

प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।  कोशीले यसअघि आर्मी, हेल्प नेपाल, गण्डकी र नेपाल पुलिसँगको समान समान ३–० तथा सुदूरपश्चिसँगको खेल ३–१ सेटमा पराजित भएको थियो ।

आजै भएको महिलातर्फको खेलमा न्यु डायमन्डले कर्णाली प्रदेशलाई ३–० र एभरेस्टले एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै विजयी भएका छन् । 

मुलुकलाई अप्ठेरो पर्दा सवै राजनीतिक दलहरु एक भएर अघि बढ्नुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौं / उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मुलुकलाई अप्ठेरो पर्दा सवै राजनीतिक दलहरु एक भएर अघि बढ्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा मनुसन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसंग छलफल गर्दै लामिछानेले राजनीतिक बिपत्ती वा प्राकृतिक बिपत्तीमा राजनीतिक दलहरु एकै ठाँउ उभिएको इतिहास रहेको भन्दै विपद व्यवस्थापनलाई चूस्त बनाउन पनि एक भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

यसबर्ष मनसुनमा हुनसक्ने प्राकृतिक बिपतबाट हुन सक्ने क्षतिको न्यूनिकरण गर्न एकमहिनादेखि नै पूर्वतयारी भइरहेको उनले जानकारी दिए । गृहमन्त्री लामिछानेले राजनीतिक दलहरुसंग बिपद व्यवस्थापनसम्बन्धी अनुभव भएकाले सरकारले सवैको अनुभवलाई संगै लिएर मनुसन पूर्वतयारी र क्षति न्यूनिकरण गर्ने धारणा राखे । उनाले विपद् पर्दा एकै ठाँउ बस्न सक्ने गरि राजनीतिक दलका प्रतिनिधि सम्मीलित फोरम बनाउन आफु तयार रहेको बताए ।

बैठकमा कांग्रेस नेता मोहन बस्नेतले प्राकृतिक विपद्पछि एकद्वार नीति लागू गर्दा पिडितहरुले समयमा नै राहत पाउन सक्ने अवस्था नदेखिएको बताए । तर बिपदपछि पुननिर्माणमा समयमा भने एकद्वार नीतिको आवश्यक रहेको उनको भनाइ छ ।

त्यस्तै राप्रपा सांसद ज्ञान बहादुर शाहीले बाढि पहिरोका कारण जमिन गुमेका नागरिकलाई अन्य स्थानमा जग्गा दिएर पुनर्वास गर्ने गरि कानून बनाउन सुझाव दिए ।

‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीलाई राष्ट्रसंघ महासचिवको निम्ता

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले आगामी सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरेका छन् ।

नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी बिहीबार महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी छन् ।

सो अवसरमा प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेको आभार व्यक्त गरे। उनले राष्ट्रसङ्घले आयोजना गरेको सम्मेलनमा भाग लिन आफु सकारात्मक रहेको पनि बताए ।

राष्ट्रसंघका आवासीय प्रतिनिधि सिङ्गरले संयुक्त राष्ट्रसंघको विश्वशान्ति अभियानमा नेपालले महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि पनि नेपालले समिटमा भाग दिनुपर्ने बताए ।

जलवायु परिवर्तन लगायतका समकालीन चुनौतिका साथै दीगो विकास लक्ष्य प्राप्ति लगायतका विषयमा छलफल गर्नका लागि संयुक्त राष्ट्रसंघको आयोजनामा आगामी सेप्टेम्बर २२ र २३ मा न्युयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको हो।

सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं ।  प्रतिनिधिसभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ बहुमतले पारित गरेको छ । बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित बैँकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणसँग सामग्री स्वदेशमै छपाई गर्न विधेयक ल्याउनु परेको बताइन् ।

उनले भनिन्, “ती विषयहरुलाई स्वदेशमै छपाइ गर्न सकियो भने हाम्रा सुरक्षाको दृष्टिकोणले र वैदेशिक मुद्रा बाहिरिने कारणले पनि यो ठिक हुन्छ र बाहिरिँदै आएको मुद्रालाई स्वदेशभित्रै राख्न सकिन्छ भनेर नै विधेयक ल्याइएको हो । यो विधेयकमा छलफल हुँदैगर्दा केही विषय थपिएका छन् ।”

उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल र रामकृष्ण यादवले भाग लिएका थिए । 

‘काठमाडौँ महानगरपालिका पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु

काठमाडौँ । बिहीबारदेखि ‘काठमाडौँ महानगरपालिका पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु भएको छ । नेपाल बिलियार्डस स्नुकर तथा पुल संघले एभरेष्ट होटल बानेश्वरमा सुरु गरेको प्रतियोगिताका खेलाडीहरुको प्रोत्साहनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशाकीय अधिकृत प्रदीप परियार, सामाजिक समितिका संयोजक रामकुमार केसी शुभारम्भ अवसरमा सहभागी भएका थिए । त्यसक्रममा प्रमुख शाह, उपप्रमुख डंगोल र समितिका संयोजक केसी क्युबलले ब्रेक गरेका थिए ।

प्रतियोगिताका लागि ४५ वटा जिल्लाबाट छानिएका २५६ जना खेलाडीमध्ये पहिलो र दोस्रो चरणबाट छनोट भएका ६४ जना खेलाडी तेस्रो चरणको प्रतिस्पर्धामा सहभागी भएका छन् । खेल नकआउटका आधारमा हुनेछ । ४ वटा बोर्डमा आज १६ वटा खेल हुनेछन् । १८ बर्षदेखि ५४ बर्षसम्मका खेलाडीहरु प्रतियोगितामा सहभागी छन् ।

७२ स्क्वायर फिटको टेवलमा यो खेल खेलिन्छ । संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीकाअनुसार भारतमा वेलायती सैनिक क्याम्पमा सैनिकहरुको मनोरञ्जनका लागि खेल थालिएको हो ।

खेलका विजेतालाई २ लाख ५१ हजार रुपैयाँ, उपविजेतालाई १ लाख रुपैयाँ र सेमी फाइनलिष्टलाई ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ ।

यस्तै १४७ को म्याक्सिमम हाइएष्ट व्रेक गर्नेलाई नगद ७५ हजार रुपैयाँ, सेन्च्युरी (१००) ब्रेक गर्नेलाई नगद ५० हजार रुपैयाँ र ८० को हाइएष्ट व्रेक गर्नेलाई २५ हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिनेछ ।

क्वाटर फाइनलिष्टलाई नगद १० हजार रुपैयाँ, प्रि क्वाटर फाइनलिष्टलाई नगद ५ हजार रुपैयाँ, वेष्ट प्लेयर र वेष्ट राइजिङ् प्लेयरलाई १५÷१५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ । खेलको समापन जेठ २९ गते हुनेछ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबार बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा सांसदहरु डा चन्दा कार्की भण्डारी, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, प्रेम सुवाल, नारायणी शर्मा, दुर्गा राई, सरिता भुसाल, सोविता गौतम, निशा डाँगी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी र नागिना यादवले भाग लिई आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा र वित्तीय जोखिमसमेतका आधारमा बैँक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न उक्त विधेयक ल्याउनुपरेको बताए ।

उनले नेपालको संविधान तथा प्रचलित कानुनमा उल्लेखित तीनै तहको सरकारको वित्तीय अधिकार क्षेत्रको व्यवस्थित कार्यन्वयन गर्न, हालैका दिनमा प्रदेश सरकारले पनि प्रदेश बैंकहरु खोल्न सुरु गरिसकेका सन्दर्भमा विधेयकको आवश्यकता औँल्याए ।

मन्त्री पुनले भने, “नेपालको समग्रमा बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनीयता अभिवृद्धी गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाइ स्थायित्व कायम गर्न, बैंक तथा वित्तीय संस्थाको स्थापना र सञ्चालन व्यवस्थापन नियमन कार्यलाई व्यवस्थापन गर्न विधेयक ल्याउनुपरेको हो ।”

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीच भिडन्त हुँदा १८ लडाकूको मृत्यु

यमनको दक्षिणपश्चिम क्षेत्रमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा १८ लडाकूको मृत्यु भएको सैनिक अधिकारीले बताएका छन् ।

सरकारसम्बद्ध पृथकतावादी समूह र दक्षिणी सङ्क्रमणकालीन परिषद्का प्रवक्ता मोहम्मद अल–नकिबका अनुसार लाहिज प्रान्तको सरकार नियन्त्रित भाग र ताइज प्रान्तको हुथी नियन्त्रित प्रभावित क्षेत्रमा हुथीले आक्रमण गरेपछि बुधबार झडप भएको हो ।

सन् २०२२ को अप्रिलमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको छ महिना लामो युद्धविरामको समयावधि सकिएपछि जारी द्वन्द्वमा कमी आएको थियो तर अकस्मात यो आक्रमण भएको छ ।

नकिबले भने, “यमनको सरकारी सेनाले आक्रमणलाई प्रतिकार गर्न सफल भएको छ, तर पाँच सैनिकले शाहदत प्राप्त गरेका छन् र अन्य केही घाइते भएका छन् ।”

ताइजस्थित हुथी सेनाका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार एक वरिष्ठ कमाण्डरसहित १३ जना विद्रोही मारिएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथी आक्रमणलाई ‘विश्वासघाती आक्रमण’ को संज्ञा दिएको छ ।

सामाजिक सञ्जाल एक्समा एक वक्तव्य जारी गर्दै सूचना मन्त्री मोअम्मर अल–एरियानीले यमनको सरकारी सेनाको जवाफी आक्रमणले हुथी लडाकूहरूलाई ठूलो क्षति पुर्याएको बताए ।

यमनमा युद्धविराम सहमतिपछि शत्रुता कम भएपनि देशका केही भागहरूमा कहिलेकाहीँ छिटपुट लडाइँहरू भड्किएका छन् ।

गत अप्रिलमा हुथी विद्रोहीसमूहले लाहिज प्रान्तमा गरेको आक्रमणमा यमन सरकारप्रति वफादार ११ जना लडाकू मारिएका थिए ।

हुथी विद्रोहीले सन् २०१४ मा यमनको राजधानी सानालाई आफ्नो नियन्त्रणमा लिएपछि त्यसको अर्को वर्ष साउदी अरबको नेतृत्वमा सैन्य हस्तक्षेप भएको थियो ।

नौ वर्षको युद्धको प्रत्यक्ष र अप्रत्यक्ष कारणले हजारौँको मृत्यु भएको छ र यसले संसारको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ ।

गत डिसेम्बरमा यमनका लागि संयुक्त राष्ट्रसङ्घका दूत हान्स ग्रन्डबर्गले युद्धरत पक्षहरूले नयाँ युद्धविरामका लागि प्रतिबद्धता जनाएको र द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन सहमत भएको बताएका थिए ।

तर गत नोभेम्बरदेखि रेड सीमामा हुथीले पानीजहाजमा गरेको आक्रमणपछि शान्ति प्रक्रिया अवरुद्ध भएको छ, यो अभियान गाजा युद्धका बीच प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउन गरिएको आक्रमण भएको विद्रोहीहरूले बताएका छन् ।

हुथी विद्रोहीले गाजा युद्धको फाइदा उठाउँदै लडाकू, हातहतियार र बन्दोबस्तीका सामान जम्मा गरेको मन्त्री एरियानीले दावी गरे ।

गर्मीले छालाका बिरामी बढे

बाँके । बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी पनि बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमण लगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छाला रोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा बद्री चापागाईँले जानकारी दिए । गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण दाद, लुतो, छाला चिलाउने विभिन्न प्रकारका छालासँग सम्बन्धित बिरामी आउने क्रम बढेको उनले बताए ।

उनले छालामा जथाभावी औषधिको प्रयोग नगर्न र चिकित्सकको परामर्शमा मात्रै औषधि प्रयोग गर्न सुझाएका छन् । बाँकेको जानकी गाउँपालिका, खजुरा, बैजनाथ र नेपालगञ्ज उपमहानगरपालिकाबाट छालाका बिरामी अस्पताल आउने गरेको बताइएको छ । नेपालगञ्जमा केही दिनअघि तापक्रम बढेर ४४ दशमल दुई डिग्री सेल्सियससम्म पुगेको थियो ।

सुडानमा अर्धसैनिक बलको आक्रमणमा एकसय जनाको मृत्यु

मध्य सुडानको गाउँमा भएको अर्ध सैनिक आक्रमणमा एकसय जनाको मृत्यु भएको छ । सन् २०२३ अप्रिलदेखि नियमित सेनासँग युद्धमा रहेका र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले अल–जजिरा राज्यको वाड अल–नौरा गाउँमा भारी तोपखानाले ‘दुई लहरमा’ आक्रमण गरेको मदनी प्रतिरोध समितिले जनाएको छ ।

डराएका अर्धसैनिक बलहरूले ‘गाउँमा आक्रमण हुदाँ कैयौं विस्थापित हुनुका साथै दर्जनौको ज्यान गएको’ बताएका छन् ।

आक्रमणबाट सयौं व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने सयौँको सङ्ख्यामा मृतक तथा घाइते भएको पुष्टिको पर्खाइमा स्थानीयहरू रहेको स्रोतले जनाएको छ ।

सामाजिक सञ्जालमा समितिले सार्वजनिक चोकमा ‘सामूहिक हत्या’ भएको भन्दै आँगनमा सेतो कफनको पङ्क्ति राखिएको भिडियो फुटेज सार्वजनिक गरेको छन् ।

एक वर्षको समयभित्रै, युद्धले दशौँ हजार व्यक्तिको ज्यान लिएको छ । द्वन्द्वका कारण पश्चिम डार्फर सहरमा १५ हजारभन्दा बढी मारिएका छन् ।

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरियेलोका अनुसार युद्धमा परी मृत्युवरण गर्नेहरूको सङ्ख्या एक लाख ५० हजारको हाराहारीमा रहेको जनाएका छन् ।

आरएसएफले सुडानका गाउँहरू, विशेष गरी अल–जाजिराको कृषि क्षेत्रमा बारम्बार घेराबन्दी र आक्रमण गरेको छ ।

बिहीबारको जानकारीमा आरएसएफले वाड अल–नौरा क्षेत्रका तीनवटा सैन्य शिविरमा आक्रमण गरी सहर बाहिर दुश्मनसँग भिडन्त गरेको बताएको छ ।

हुरीबतासको क्षति : बीस ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन बाँकी

दमौली (तनहुँ) । गत बिहीबार आएको हुरीबतासले खम्बा ढलेपछि तनहुँमा अझै २० ट्रान्सफर्मबाट विद्युत् सञ्चालन गर्न बाँकी छ । जिल्लाका विभिन्न ठाउँमा विद्युत्का खम्बा ढलेपछि २० ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन नसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

धेरै ठाउँमा खम्बा ढलेका र तार छिनेकाले मर्मतको काम जारी रहेको केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिए । उनले भने, “हुरीबतासले विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ, क्षति पुगेका ठाउँमा मर्मत गर्दै विद्युत् सञ्चालन गर्ने काम भइरहेको छ ।”

अझै पनि हावाहुरीको सम्भावना रहिरहेकाले रुख, हाँगा जस्तापाता उडाएर खम्बा तथा तारमा पर्ने र खम्बा ढल्ने, तार छिन्नेजस्ता घटना हुनसक्ने रेग्मीको भनाइ छ । उनले छोटोमा जोडिएका तार नछुटाएसम्म विद्युत् प्रसारण नहुने र लाइन छाडेमा करेन्ट लाग्ने सम्भावना भएकाले खबर नगरेसम्म प्राधिकरणलाई जानकारी नहुने बताए । 

उनले भने, “हामीलाई गल्ती खोजेर त्यस स्थानसम्म पुगेर मर्मत गरी बत्ती बाल्न धेरै समय लाग्छ, खम्बा ढलेका, तार छिनेका, बटारिएको, आगो बलेको देखेमा तुरुन्त प्राधिकरणलाई खबर गरिदिए तुरुन्त लाइन काट्ने, मर्मत गर्ने काम गर्न सकिन्छ ।”

हुरीबतासले तनहुँमा विद्युतका ६० खम्बा भाँचिएका थिए । रेग्मीका अनुसार व्यास नगरपालिका–१० परेवाडाँडा नजिक तीन ११ मिटरका खम्बा ढलेका छन् । व्यास–७ शेरा कभर्ड हल नजिक ११ मिटरका दुई खम्बा ढलेका छन् । सोही वडाको छापथोक ट्रान्सफर्मरका दुई अम्बा ढलेर क्षति पुगेको रेग्मीले जानकारी दिए । व्यास–९ गजौडेमा हाइटेन्सन तार छिनेर क्षति पुगेको छ । 

तनहुँसुर फिडरअन्तर्गत व्यास–१२ घाँसीकुवामा ११ केभीका चार थान सिमेन्टका खम्बा ढलेर क्षति भएको छ । भानु नगरपालिका–५ पुरनडिहीमा एउटा विद्युत्का खम्बा ढलेर क्षति भएको रेग्मीले जानकारी दिए । व्यास–११ फराकचौरमा ११ केभीका दुई विद्युत्का खम्बा ढलेर क्षति भएको छ । 

त्यस्तै मुग्लिन फिडरअन्तर्गत आँबुखैरेनीको डम्पिङ साइटमा पाँच खम्बाका तार चुँडिएर क्षति भएको छ । आँबुगाउँमाथि दुई हाइटेन्सन तार तथा खम्बा ढलेर रुखमा अड्किएको छ । 

सत्रसय फिडरअन्तर्गत हिलेखर्क, ढेडगाउँ र फार्सीथैलीमा तीन हाइटेन्सन खम्बा ढलेका छन् भने नयाँगाउँ र पौवामा चार एलटी लाइनमा क्षति पुगेको वितरण केन्द्रले जनाएको छ । 

सङ्खुवासभामा खोलाले बगाउँदा विद्यार्थीको मृत्यु

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ ।

वाङ खोलाले बगाउँदा भोटखोला–२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । उनी कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययरत थिए ।

लामा बुधबार दिउँसो साथीहरुसँगै विद्यालय नजिकैको वाङ खोलामा खेल्न गएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दुरीमा पर्छ ।

विस्तारित कर्जा सुविधाअन्तर्गत अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई पाँच अर्ब ५९ करोड उपलब्ध गराउने

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रतिनिधि मण्डलले बिहीबार अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ ।

कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा टिडियान किन्डा नेतृत्वको टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता गरेको हो ।

भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी– इसिएफ) अन्तरगतको चौँथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

आइएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई इसिएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो ।

जसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको छ भने अन्तिम अर्थात चौँथो किस्ताबापत ४२ मिलियन अमेरिकी डलर ( पाँच अर्ब ५९ करोड ) उपलब्ध गराउन बाँकी छ ।

विस्तारित कर्जा सुविधाको प्रत्येक किस्ता रकम निकाशा गर्नुअघि कोषले यसअघिको प्रतिबद्धताको समीक्षा गर्ने गरेको छ । सोही समीक्षाका लागि कोषको प्रतिनिधिमण्डल नेपाल आएको हो । भेटमा मन्त्री पुनले नेपालले आर्थिक स्थायित्व, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेको बताए ।

मन्त्री पुनसँगको भेटमा डा किन्डाले आइएमएफ कार्यकारी बोर्डले विस्तारित ऋण सुविधाको समीक्षा पूरा हुने चरणमा रहेकाले बाँकी रकम छिट्टै निकासा गर्ने जानकारी दिए । उनले नेपालले वित्त र मौद्रिक नीतिको सुधार तथा वित्तीय अनुशासन कायम गर्ने विषयमा राम्रो प्रगति गरेको जनाउँदै प्रशंसा गरे ।

आइएफएफले संरचनात्मक तथा नीतिगत सुधारका क्षेत्र तथा मध्यमअवधिको भुक्तानी सन्तुलन, आन्तरिक राजस्व परिचालन, सार्वजनिक लगानी व्यवस्थापन र वित्तीय जोखिम घटाउन ईसिएफ फण्डमार्फत विभिन्न मुलुकलाई आर्थिक सहायता प्रदान गर्दै आएको बताउनुभयो । विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गतको उक्त रकम नेपालले बजेटरी सहायता शीर्षकमा राखेर खर्च गर्दै आएको छ ।

धनुषामा यसवर्ष २३ हजार एक सय मेट्रिकटन आँप उत्पादन

 जनकपुरधाम । धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पाादन गत वर्षको तुलनामा अत्यधिक भएको छ । आँपको उत्पादन राम्रो रहकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत भएको बताइएको छ ।

जिल्लाका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा गरिएको आँप खेतीबाट चालु आर्थिक वर्षमा २३ हजार एक सय मेट्रिकटन आँप उत्पादन भएको एक तथ्याङ्कले जनाएको छ । विभिन्न प्रजातीका रु २३ करोड १० लाख मूल्य बराबरको आँप उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्र धनुषाका अनुसार यस जिल्लामा चार हजार हेक्टर जमिनमा आँपको रुख रहेकामा दुई हजार तीन सय हेक्टर जमिनमा उपरोक्त परिमाणमा आँप उत्पादन भएको जनाइएको छ । गत आर्थिक वर्षमा पनि किसानले सोही अनुपातमा आँपको खेती गरेको थियो ।

एक वर्ष आँप फल्ने र अर्को वर्ष आँप नफल्ने प्राकृतिक कारणले गत वर्ष आँपको उत्पादन अत्यन्त कम भएको थियो । त्यस कारण आँपको उत्पादन कम हुँदा महँगो भएको तथा भारतीय बजारबाट आयात गर्नुपर्ने बाध्यता रहेको थियो ।

यसवर्ष आँपको रुखमा लटरम्म फल लागेकाले व्यापारी किसानको आँप बगैँचामा गएर आँपको ठेक्का लिने गरेका छन् । जिल्लामा करिब ७५ प्रतिशत किसान आँपको खेती गर्ने गरेका छन् भने २५ प्रतिशत किसान आफूलाई खानका लागि खेत तथा बारीमा आँपको रुख लगाउने गरेको सो केन्द्रको कार्यालयले जनाएको छ ।

धनुषामा आँपले व्यावसायीक रुप लिएपछि उत्पादन भएको आँपको कारोबारमा साना तथा ठूला करिब १० हजार व्यापारीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् । यसपटक हुरी, असिना, पानी र झरी नआएकाले आँपलाई क्षति नभएको हो।

जिल्लामा वटेश्वर गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिका र धनुषधाम नगरपालिका लगायतका स्थानमा व्यावसायिकरुपमा आँप खेती भइरहेको छ।

यहाँ उत्पादित आँप हेटौंडा, बुटवल, नारायणघाट तथा काठमाडौँ लगायतका अन्य सहर तथा भारतीय बजारमा समेत बिक्री हुने गरेको छ । ज्ञानकेन्द्रले आँप उत्पादन गर्ने किसानलाई समय–समयमा प्राविधिक सहयोग, सल्लाह, कीटनाशक औषधिलगायत सहयोग गर्ने गरेको केन्द्रका बागबानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिए ।

किसानले आँप खेती गरी बढी आर्थिक लाभ लिन थालेपछि जिल्लामा रहेका नर्सरीबाट आँपको बिरुवा बिक्रीसमेत अत्यधिक बढ्न थालेको छ । यहाँका किसानले मालदह, बम्बई, दशहरी, कलकतिया, वैशाली, आम्रपाली, नकुअवा लगायतका आँप खेती गर्ने गरेको केन्द्रले जनाएको छ ।

चैतको दोस्रो हप्तादेखि हालसम्म नेपाल–भारत सीमा भिटामोडबाट ६८ लाख रुपैयाँ मूल्य बराबरको एक लाख १४ हजार तीन सय २१ किलो आँप जनकपुर आयात भएको पलान्ट क्वारेन्टाइन कार्यालय भिटामोडका प्रमुख किशोर यादवले बताए ।

१५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न अस्पताललाई काठमाडौं महानगरको निर्देशन 

काठमाडौँ / काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ ।

महानगर क्षेत्रमा सञ्चालित अधिकांश अस्पतालले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र अनिवार्य रूपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको महानगरपालिकाको स्वास्थ्य विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनले जानकारी दिइन् ।

उनले भनिन्, “महानगरभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिलाई फार्मेसी सञ्चालन गर्न दिँदा उपभोक्त गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधिजन्य सामग्री बिक्री भइरहेको भन्ने गुनासो बढेपछि आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको हो ।”

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन

काठमाडौं / अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरेको हो । त्यसअघि बैठकमा उक्त सम्झौतामाथि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले सम्झौताका कारण मुलुकलाई हुने लाभका बारेमा जिज्ञासा राखेका थिए ।

सांसदहरुको जिज्ञासाको जवाफ दिदै मन्त्री बस्नेतले ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा सम्झौता भएको जानकारी दिए । सम्झौमा हस्ताक्षर गर्ने क्रममा प्रयाप्त राष्ट्रिय हितलाई ध्यान दिइएको र मुलुकलाई थप कुनै आर्थिक दायित्व नथपिने उनले बताए ।

मन्त्री बस्नेतले सम्झौताकै कारण ऊर्जा उत्पादनमा नेपाललाई कुनै बाधा नपर्ने स्पष्ट पारे । ऊर्जा मिश्रणको अवधारणाबाटै सौर्य ऊर्जाबाट मुलुकलाई सुख्खा याममा आवश्यक पर्ने विधुत पूर्ति गर्न सकिने भन्दै उनले पहिलो प्राथमिकता भने जलविधुत नै रहेको बताए ।

त्यस्तै उनले सरकारले जलाशययुक्त जलविधुत आयोजनालाई पनि महत्वका साथ अघि बढाउने सोचमा रहेको जानकारी दिए ।

सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सांसद राईको सुझाव

काठमाडौँ । सांसद मानवीर राईले सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न माग गरेका छन् । उनले भने, ‘संसारका पर्यटक सगरमाथा घुम्न आउँछन् । तर एकमात्र लुक्ला विमानस्थल चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ ।  विमानस्थल विस्तार गर्न गतवर्षको बजेटले ध्यान दिन सकेन ।सगरमाथा क्षेत्रको विकासका लागि थप काम गर्नुपर्छ ।’

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा उनले दूधकोशी नदीबाट थप विद्युत उत्पादन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रुपा सोशी चौधरीले संसदबाट कानुन निर्माण प्रक्रियामा लक्ष्य प्राप्ति हुन नसकेको बताउँदै यसमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइन् ।

सडक पुगेपछि लेकमा भेडीगोठ बनाइँदै

ढोरपाटन । समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाइमा छ रिग क्षेत्र । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग क्षेत्र पशु चरन क्षेत्रका लागि प्रख्यात मानिन्छ । यहाँ बागलुङ, पूर्वी रुकुम र रोल्पाका भेडा गोठाला भेडाबाख्रा र गाईभैँसी लिएर आउँछन् ।

जेठ पहिलो सातादेखि रिग उक्लने गोठाला असोज लागेपछि मात्रै गाउँ ओर्लन्छन् । लेकमा बस्ने समय चोयाका बलाङ, मान्द्रो र त्रिपालले छाएका गोठमा बस्थे । कतिले काठैकाठको गोठ बनाएर बर्खा गुजार्थे ।

तर अहिले सहरबजार र गाउँ क्षेत्रमा घर गोठ छाउनका लागि प्रयोग गरिने जस्तापाताले नै रिगमा गोठ बन्न थालेका छन् । वन जङ्गलममा पाइने काठ र चोयाबाट गोठ बनाएर बस्ने गोठाला आजभोलि जस्ताले छाएका गोठमा बस्छन् ।

लेकमा व्यवस्थित गोठनै बनाएर बस्न थालेपछि बर्खाभरि चाहिने खाद्यान्न पनि यहीँ भण्डार गर्न थालेका छन् । पहिले महिना–महिनामा गाउँ झरेर खर्च लैजाने गोठालेले अहिले एकै पटक चार महिनाका लागि पुग्ने अन्नपात गोठमा भण्डार गरेर राख्छन् ।

यो सबै सुविधा सडकले दिलाएको हो । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने पातीहाल्ने सिमानादेखि दुई समय मिटरमाथि गोठालाले गोठ बनाएका छन् । केही त सडक छेउमै समेत व्यवस्थित गोठ बनाएका छन् ।

सडकको सहज पहुँचको कारण गाडीमै सहज रुपमा जस्तापात लेकमा लैजान सक्ने भएपछि उनीहरुले रिग क्षेत्रमा जस्तापाताको गोठ बनाउन थालेका हुन् । पहिले सानो झुपडी देखिने स्थानमा अहिले ठूलाठूला गोठ देख्न सकिन्छ । बर्खामा बनाउने र हिउँमा भत्काएर काठ, दाउरा बोकेर गाउँ झर्ने गोठालाले अहिले स्थायी रुपमै गोठ बनाउन थालेका हुन् । यि गोठ हिउँदको समय भने खाली हुन्छन् ।

यति बेला बागलुङ, रुकुम र रोल्पा तीन वटै जिल्लाका गोठाला लेक चढ्ने याम भएको हुँदा रिग क्षेत्रमा वस्तुभाउको भीड देखिन्छ । रिग भन्दामाथि चार हजार दुई सय मिटरको उचाईसम्म भेडा लिएर गोठाला जाने गर्छन् । एकदशक अगाडिसम्म लेकमा त्रिपालसमेत नपाइने हुँदा चोयाका चित्रा तथा बलाङले गोठ छाएर बसेको निसीखोला गाउँपालिका–६ भल्कोटका लालसिंह घर्ती मगरले बताए।

सडकले गर्दा पछिल्लो समय गाउँ घरसम्म त्रिपाल, जस्तापाता र अन्य सामग्री सहज रुपमा पाइन थालेपछि गोठालाले लेकमै स्थायी गोठ बनाउन थालेको उनको भनाइ छ । उतिबेला सामान्य पानी तार्ने र हावा छेक्ने मात्रै गोठ हुने गरेको भन्दै लेकमा बस्दा निकै दुःख हुने गरेको अनुभव घर्ती मगरले सुनाए ।अचेल गोठालको दैनिकी पनि सहज बन्दै गएको उनी बताउँछन् । एक दशक अगाडि दाउरा बालेर उज्यालो गराउने गरेको स्मरण गर्दै अहिले सोलार बत्ती प्रयोग गर्ने उनको भनाइ छ ।

रोल्पाको तेलबाङका सन्तोष घर्ती मगरले केही वर्षयता धेरै गोठालाले लेकमा स्थायी गोठ बनाउन थालेको बताए । पाँच वर्ष अगाडिसम्म रिग क्षेत्रमा कुनै पनि गोठालाको स्थायी गोठ नभएको भन्दै अहिले झण्डै एक दर्जन जति गोठ बनेको उनको भनाइ छ ।

पशुचौपाया लिएर टाढा–टाढासम्म जानुपर्ने भएको हुँदा धेरै गोठालाको स्थायी गोठ नभएको घर्ती मगर बताउँछन् । आफूसहित रोल्पाबाट आठ जना गोठालाको समूह जेठ पहिलो सातानै रिग आएको सुनाउँदै अब असोजमा मात्रै गाउँ फर्किने उनको भनाइ छ । आफ्नो सात सय भेडाबाख्रा रहेको घर्ती मगरले सुनाए ।

सहकारी प्रकरणको छानविन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका छ :अध्यक्ष केसी

काठमाडौं / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी प्रकरणको छानविन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा केसीले छानविन समितिमा सत्तामा बसेका मान्छेहरु रहेकाले समितिले निकाल्ने प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका हुन् ।

उनले सहकारी क्षेत्रमा सत्तामा रहेका मान्छेहरुले नै बदमासी गरेकाले यस अघिका बिभिन्न समितिका प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोप लगाए । अहिलेको समिति टालटुल गर्ने र दोषीलाई जोगाउने माध्यम बन्न सक्ने उनको भनाइ छ ।

उनले सहकारीका बदमासी गर्नेबिरुद्ध संगठीत भएर आवाज उठाउनुपर्ने धारणा राखे ।

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि ८३ वटा कृत्रिम पोखरी निर्माण

खजुरा (बाँके) । बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिएको छ। बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका पानीका स्रोत सुकेर जाँदा वन्यजन्तुलाई खानेपानीको समस्या भएकाले निकुञ्जभित्र ८३ वटा कृत्रिम पानीपोखरी निर्माण गरिएको हो।

राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार चालु आर्थिक वर्षभन्दा पहिले निकुञ्जभित्र ८० वटा पोखरी निर्माण भएको थियो। चालु अवमा तीन वटा बोरिङसहितको पोखरी निर्माण गरिएको जनाउँदै तीन ठाउँमा बोरिङ मात्रै गरेर खाल्डोमा पानी सङ्कलनको व्यवस्था गरिएको उनले जानकारी दिए।

वन्यजन्तुको चहलपहल हुने क्षेत्रमा गर्मीको बेला पानीको खोजीमा जनावर भौँतारिने गरेकाले कृत्रिम पोखरी निर्माण गरिएको संरक्षण अधिकृत साहको भनाइ छ । निकुञ्जमा रहेका जलाशयमा अत्यधिक गर्मी बढेपछि पानीको सतह घटेको भन्दै कृत्रिम पोखरी निर्माण गरी बोरिङ गाडेर पानीको व्यवस्थापन गरिँदै आइएको उनले बताए।

निकुञ्ज कार्यालयका अनुसार निकुञ्ज क्षेत्रमा पानीको स्थायी स्रोत नहुँदा गर्मीयाममा पानीको अभाव हुने र पाटेबाघलगायत चित्तल, जरायो, नीलगाई, लगुना, चितुवा, बाँदर र हात्तीसहितका वन्यजन्तु पानीको खोजीमा राप्ती नदीसम्म पुग्ने गरेका छन्।

निकुञ्जभित्र विभिन्न ठाउँमा कृत्रिम पोखरी निर्माण गरेर सौर्य ऊर्जामार्फत मोटर सञ्चालन गरेर वन्यजन्तुका लागि खानेपानीको व्यवस्था मिलाइएको वरिष्ठ संरक्षण अधिकृत साहले जानकारी दिए। रासस

अफगानिस्तानमा सामूहिक कुटपिटको घटनाप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

संयुक्त राष्ट्रसङ्घले बुधबार अफगानिस्तानमा दर्जनौँ मानिसहरूलाई सामुहिक कुटपिट गरिएको भन्दै तालिबान अधिकारीहरूलाई यो अभ्यास अन्त्य गर्न आह्वान गरेको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएएमए) ले उत्तरी सारिपुल प्रान्तमा मङ्गलबार करिब ६३ जनालाई कोर्रा प्रहार गरी सार्वजनिक रूपमा कुटपिट गरिएको जनाएको छ ।

“युएनएएमएले शारीरिक दण्डको निन्दा गर्दछ र अन्तर्राष्ट्रिय मानव अधिकार दायित्वहरूको सम्मान गर्न आह्वान गर्दछ,” मिसनले एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

सन् २०२१ अगस्टमा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले इस्लामिक कानून शरियाको पुन व्याख्या गरेका छन् ।

जनताले सार्वजनिक मृत्युदण्ड र शारीरिक यातनाहरु भोगिरहेका छन् । चोरी, व्यभिचार र रक्सी सेवनजस्ता अपराधका लागि तालिबान सरकारले कोर्रा प्रहार (कडा सजाय) गर्ने गरेको छ ।

भारतका प्रधानमन्त्री मोदीलाई अमेरिका, चीन, बेलायत, फ्रान्स र ईयूद्वारा बधाइ

भारतको लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन (एनडिए) ले बहुमत सीट जीतैसँगै प्रधानमन्त्री मोदीलाई संयुक्त राज्य अमेरिका, जनगणतन्त्र चीन, संयुक्त अधिराज्य (बेलायत), फ्रान्स, युरोपेली सङ्घ (ईयू), जापान र रूसले बधाइ दिँदै नयाँ कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मोदीलाई उनको गठबन्धनको विजयका लागि बधाई दिएका छन् भने विदेश मन्त्रालयले अमेरिकाले उहाँसँग ‘स्वतन्त्र र खुला’ एशियामा थप सहकार्य गर्न चाहेको उल्लेख गरेको छ ।

बाइडेनले लेखेका छन्, “हाम्रो दुई देशबीचको मित्रता निरन्तर बढ्दै गएको छ ।” फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले प्रधानमन्त्री मोदीलाई ‘आफ्नो प्रिय मित्र’ का रूपमा सम्बोधन गर्दै निर्वाचनमा प्राप्त गरेको बिजयका लागि बधाई दिएका छन् ।

त्यसैगरी, चीनले मोदीलाई बधाई दिँदै आफ्नो छिमेकीसँग मिलेर काम गर्न तयार रहेको बताएको छ भने गठबन्धनको जीतको बेलायत, (ईयू), जापान र रूसले पनि प्रशंसा गरेका छन् ।

हालै सम्पन्न लोकसभा निर्वाचनले उहाँको पार्टीलाई गठबन्धन सरकारमा सामेल हुने वातावरण बनेपछि उनले बिहीबारदेखि तेस्रो कार्यकालका लागि तयारी गरेका छन् ।

मोदीका दल भाजपा नेतृत्वको गठबन्धनले विगत एक दशकदेखि पूर्ण बहुमतका साथ शासन गरेको छ । उक्त समूह राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले बुधबार अबेर सरकार गठनका लागि सहमति भएको घोषणा गरेको छ ।

भाजपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी सबैले सर्वसम्मत रुपमा आदरणीय एनडीए नेता नरेन्द्र मोदीलाई आफ्नो नेताको रूपमा चयन गरेका छौं । गठबन्धनले संसदमा २९३ सिट जितेको र यो सरकार गठनका लागि चाहिने २८२ सीटभन्दा बढी सङ्ख्या हो । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले सम्भवतः शनिबार प्रधानमन्त्रीका रुपमा सपथ लिनेछन् ।

‘गठबन्धनको राजनीतिको माइनफिल्ड’मा मोदीको नयाँ निर्भरताको अर्थ उनले अपेक्षा गरेभन्दा निकै कठिन तेस्रो कार्यकालको सम्भावनाको सामना गर्नुपर्ने हिन्दुस्तान टाइम्सले बिहीबारको सम्पादकीयमा लेखेको छ ।

“सहमति निर्माण नै शासनको आधारशिला हुनुपर्छ”, सम्पादकीयमा भनिएको छ, भाजपाले आफ्नो विस्तार योजनालाई पुनरावलोकन गर्नुपर्नेछ ।”

निर्वाचनको परिणाम सार्वजनिक भएसँगै ७३ वर्षीय मोदीले मङ्गलबार राति चुनावी परिणामले आफ्नो एजेन्डालाई निरन्तरता दिनका लागि जनमत दिलाएको बताए ।

मोदीले आफ्नो विजयपछि राजधानी नयाँ दिल्लीमा उत्साही समर्थकहरूको भीडलाई सम्बोधन गर्दै भने, “हाम्रो तेस्रो कार्यकाल ठूलो निर्णयमध्ये एक हुनेछ र देशले विकासको नयाँ अध्याय लेख्नेछ। यो मोदीको ग्यारेन्टी हो ।”

भाजपाले संसदमा २४० सिट प्राप्त गरेको छ, जुन पाँच वर्षअघि जितेको ३०३ सिटभन्दा निकै कम हो ।

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले सन् २०२४ मा ९९ सीटमा बिजयी बन्न सफल भएको छ यो सन् २०१९ को तुलनामा झण्डै दोब्बरले बढी हो । सन् २०१९ मा काङ्ग्रेसल ५२ सिट जितेको थियो ।

ललितपुरमा सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन कार्यक्रमको शुभारम्भ

काठमाडौँ / ललितपुर महानगरपालिकाले सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन कार्यक्रमको शुभारम्भ गरेको छ । जनताका समस्या प्रत्यक्ष रुपमा तत्कालै सम्बोधन गर्न उक्त कार्यक्रमको शुभारम्भ गरेको महानगरले जनाएको छ ।

नगर प्रहरी परिचालन कार्यक्रमको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभारम्भ गरे । उनले जनताका भोग्नुपर्ने समस्याहरु सुनुवाई गर्न सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन सञ्चालन गरिएको बताए । सो कार्यक्रमले स्थानीय सरकारको महशुस जनताले प्रत्यक्ष रुपमा गर्न सक्ने उनको विश्वास छ ।

त्यस्तै उनले महानगरलाई वातावरणमैत्री बनाउन बिभिन्न स्थानमा बृक्षारोपण अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले महानगरको बृक्षारोपण अभियान अन्तर्गत रोकिएका विरुवाहरुलाई क्षति पुराउनेलाई कारवाही गरिएको बताए ।

अष्ट्रेलियाले विद्यार्थी सङ्ख्या नियन्त्रण गर्ने कदम चाले अर्थतन्त्रको लागि हानिकारक हुने

अष्ट्रेलियाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले चेतावनी दिएको छ ।

बुधबार एक शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै ‘युनिभर्सिटीज अस्ट्रेलिया’का प्रमुख कार्यकारी ल्युक सिहीले आप्रवासन घटाउने प्रयासमा सरकारले खुला रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरिरहेको बताए ।

उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्यामा कटौती अदूरदर्शी कार्यक्रम भएकाले अष्ट्रेलियाको अर्थतन्त्रमा प्रतिकूल असर पार्ने बताए ।

अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रले राष्ट्रिय स्तरमा दुई लाख ५० हजार रोजगारीलाई समर्थन गर्दछ । शिक्षामा मात्र नभई खुद्रा, पर्यटन र आवासजस्ता क्षेत्रहरूमा पनि रोजगारीका अवसरहरू रहेको उनले बताए ।

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या फेब्रुअरीमा सात लाख नाघेपछि मे महिनामा सत्तारुढ लेबर पार्टीले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्ने योजना घोषणा गरेको थियो ।

अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार अष्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा उद्योग सन् २०२३ मा ४७.८ अर्ब अष्ट्रेलियाली डलरको रेकर्ड थियो, सन् २०२२ मा २६.६ अर्बबाट ७९.६ प्रतिशतभन्दा माथि पुगेको थियो ।

अष्ट्रेलियाका चार ठुला बैङ्कहरूमध्ये एक नेसनल अष्ट्रेलिया बैङ्क (एनएबी) का अर्थशास्त्रीहरूले मार्चमा जारी गरेको विश्लेषणले सन् २०२३ मा अष्ट्रेलियाको आर्थिक वृद्धिको आधाभन्दा बढी अन्तरराष्ट्रिय विद्यार्थीहरूको खर्च रहेको खुलासा गरेको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीको शीघ्र फिर्ती नभएको भए राष्ट्र खतरनाक रूपमा मन्दीको नजिक झर्ने उनले बताए ।

सरकारको प्रस्तावित कानुन अन्तर्गत शिक्षा मन्त्रीलाई पाठ्यक्रम र शिक्षा प्रदायकका लागि नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा सीमा निर्धारण गर्ने अधिकार दिइनेछ ।

अष्ट्रेलियामा हुने शुद्ध वार्षिक आप्रवासन सन् २०२२/२३ मा उच्च पाँच लाख २८ हजार बाट सन् २०२४/२५ मा दुई लाख ६० हजार बनाउने सरकारको व्यापक योजना रहेको छ ।

जसपा नेपालको महाधिवेशनको तयारी तीव्र

धनुषा । जनता समाजवादी पार्टी(जसपा)नेपालको प्रथम महाधिवेशनको तयारी तीव्र पारिएको छ ।

यही जेठ २७ गते जनकपुरधामको तिरहुतिया गाछीमा महाधिवेशन उद्घघाटन कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने महाधिवेशनका लागि तिरहुतिया गाछीमा निर्माण गरिएको विशाल पण्डाललाई हुरीले भत्काएपछि पुनःनिर्माणको कार्य सुरु भइसकेको छ ।

जसपा नेता रामाशिष यादवका अनुसार महाधिवेशनका लागि प्रायःसर्वसम्मतले प्रतिनिधि चयन गरिएका छन् । मधेश प्रदेशका जिल्लामा घरदैलो अभियान गरी प्रचारप्रसार गरिँदैछ । महाधिवेशनमा एक हजार प्रतिनिधि रहने बताइएको छ । महाधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक भइसकेको छ ।

पाँच सय स्वयंसेवक र पर्यवेक्षक रहने महाधिवेशन तयारी समितिले जनाएको छ । एक हजार पाँच सय जनाका लागि आवास र भोजनको प्रबन्ध मिलाइएको बताइएको छ । जसपाको नयाँ विधान अनुसार पार्टीमा अध्यक्षसहित १७ पदाधिकारी रहने छन् ।

महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने सम्भावना रहेको बताइएको छ । मधेशी जनअधिकार फोरमदेखि नै उपेन्द्र यादव हालसम्म अध्यक्ष रहनुभएको छ । पार्टी पटक–पटक गरी १४ पटक विभाजन भइसकेको छ ।

कार्यकारिणी समितिका सदस्य विजयकुमार यादवले लोकतान्त्रिक विधिअनुसार नेतृत्व चयन हुने भएकाले प्रतिस्पर्धा हुनु अस्वभाविक नभएको बताए । “अध्यक्षलगायत अन्य पदमा पनि प्रतिस्पर्धा हुनसक्छ”, उनले भने, “चुनावको सम्भावना छ ।” सर्वसम्मतले नै केन्द्रीय समिति चयनको प्रयास हुने उनले बताए ।

जसपा नेपालको कार्यकारिणी समितिमा हाल आठ जना मात्र छन् । बाइस जनामध्ये अधिकांश पार्टी छाडेका छन् । पछिल्लो पटक अशोक राईको नेतृत्वमा पार्टीका सात सांसदसहित पार्टी विभाजन भएको थियो । त्यसविरुद्ध अध्यक्ष यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी जेठ २५ गते तोकिएको छ ।

महाधिवेशनलाई सर्वोच्च अदालतबाट आउने फैसलाले पनि प्रभाव पार्ने देखिएको छ । विभाजनको मान्यता दिने निर्वाचन आयोगको निर्णय रद्ध भए अलग्गिएका पनि जसपा नेपालमा नै समाहित हुनुपर्नेछ ।