गर्मीले छालाका बिरामी बढे


बाँके । बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी पनि बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमण लगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छाला रोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा बद्री चापागाईँले जानकारी दिए । गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण दाद, लुतो, छाला चिलाउने विभिन्न प्रकारका छालासँग सम्बन्धित बिरामी आउने क्रम बढेको उनले बताए ।
उनले छालामा जथाभावी औषधिको प्रयोग नगर्न र चिकित्सकको परामर्शमा मात्रै औषधि प्रयोग गर्न सुझाएका छन् । बाँकेको जानकी गाउँपालिका, खजुरा, बैजनाथ र नेपालगञ्ज उपमहानगरपालिकाबाट छालाका बिरामी अस्पताल आउने गरेको बताइएको छ । नेपालगञ्जमा केही दिनअघि तापक्रम बढेर ४४ दशमल दुई डिग्री सेल्सियससम्म पुगेको थियो ।