‘काठमाडौँ महानगरपालिका पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु


काठमाडौँ । बिहीबारदेखि ‘काठमाडौँ महानगरपालिका पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु भएको छ । नेपाल बिलियार्डस स्नुकर तथा पुल संघले एभरेष्ट होटल बानेश्वरमा सुरु गरेको प्रतियोगिताका खेलाडीहरुको प्रोत्साहनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशाकीय अधिकृत प्रदीप परियार, सामाजिक समितिका संयोजक रामकुमार केसी शुभारम्भ अवसरमा सहभागी भएका थिए । त्यसक्रममा प्रमुख शाह, उपप्रमुख डंगोल र समितिका संयोजक केसी क्युबलले ब्रेक गरेका थिए ।
प्रतियोगिताका लागि ४५ वटा जिल्लाबाट छानिएका २५६ जना खेलाडीमध्ये पहिलो र दोस्रो चरणबाट छनोट भएका ६४ जना खेलाडी तेस्रो चरणको प्रतिस्पर्धामा सहभागी भएका छन् । खेल नकआउटका आधारमा हुनेछ । ४ वटा बोर्डमा आज १६ वटा खेल हुनेछन् । १८ बर्षदेखि ५४ बर्षसम्मका खेलाडीहरु प्रतियोगितामा सहभागी छन् ।
७२ स्क्वायर फिटको टेवलमा यो खेल खेलिन्छ । संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीकाअनुसार भारतमा वेलायती सैनिक क्याम्पमा सैनिकहरुको मनोरञ्जनका लागि खेल थालिएको हो ।
खेलका विजेतालाई २ लाख ५१ हजार रुपैयाँ, उपविजेतालाई १ लाख रुपैयाँ र सेमी फाइनलिष्टलाई ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ ।
यस्तै १४७ को म्याक्सिमम हाइएष्ट व्रेक गर्नेलाई नगद ७५ हजार रुपैयाँ, सेन्च्युरी (१००) ब्रेक गर्नेलाई नगद ५० हजार रुपैयाँ र ८० को हाइएष्ट व्रेक गर्नेलाई २५ हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिनेछ ।
क्वाटर फाइनलिष्टलाई नगद १० हजार रुपैयाँ, प्रि क्वाटर फाइनलिष्टलाई नगद ५ हजार रुपैयाँ, वेष्ट प्लेयर र वेष्ट राइजिङ् प्लेयरलाई १५÷१५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ । खेलको समापन जेठ २९ गते हुनेछ ।