`

झापामा स्कुटर दुर्घटना हुँदा दुईजनाको मृत्यु

बनियानी (झापा) ।  झापाको मेचीनगरमा बुधबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपलाई स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे७प ७२८३ नम्बरको स्कुटरले सडकको बायाँतर्फ बिग्रिएर रोकिराखेको को१च ७२६४ नम्बरको जिपलाई ठक्कर दिएको हो ।  

मृत्यु हुनेमा स्कुटर चालक बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेका छन् ।

भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट

भक्तपुर ।  सेतो लामो एकतले भवन। जस्ताको छानो भए पनि राणाकालीन शैलीझैँ देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो पुरानो अस्पताल हो ‘भक्तपुर अस्पताल’।

स्थापनाको सय वर्ष पार गरिसक्दा पनि सेवा विस्तारदेखि स्तरोन्नतिमा पछाडि पर्दै आएको यस अस्पताल मेडिकल माफियाका चुङ्गुलमा पर्दा वर्षौँसम्म ‘रिफर सेन्टर’का रूपमा परिणत भएको थियो।

भ्रष्टाचारसम्बन्धी विवाद आइरह्यो, जनताको विश्वास गुम्दा बिरामीले भक्तपुर अस्पताल रोज्न छाडे। भक्तपुर अस्पताल आफँै बिरामी भनेर कयौँपटक समाचार आए पनि।

तर कोरोना महामारीको सङ्कटमा भक्तपुर अस्पतालको नेतृत्व सम्हाल्न आइपुगेकी एक महिला प्रमुखको अथक मेहनत र प्रयासले अहिले यो अस्पताल लगातार दुईपटक देशका सात प्रदेशमध्येका उत्कृष्ट अस्पताल बन्न सफल भएको छ। यस वर्ष पनि देशभरमा अस्पतालमध्ये उत्कृष्ट अस्पताल बन्न सफल भयो।

भ्रष्टाचार, कमिसन र माफियाको चुङ्गुलबाट अस्पताललाई जोगाउने र निश्चित नियम एवं मापदण्डको परिधिभित्र रहेर अस्पताल सञ्चालन गर्ने हो भने भौतिक पूर्वाधारदेखि स्वास्थ्य सेवामा समेत जनताको मन जित्ने गरी फड्को मार्न सकिन्छ भन्ने उदाहरण भक्तपुर अस्पतालमा तेस्रोपटक मेडिकल डाइरेक्टर भएर आएकी डा सुमित्रा गौतमले चरितार्थ गरेर देखाएकी छिन्।

सेवा विस्तार गर्न नसक्दा, आइसीयू नहुँदा, आकस्मिक कक्षमा आएका बिरामीलाई सामान्य जाँचपछि निजी अस्पतालमा पठाउने परम्पराले क्लिनिकको रूपमा बदनाम बन्दै आएको यस अस्पतालको नेतृत्वमा इच्छाशक्ति बलियो भएको प्रमुख आउँदा अस्पतालको स्वरुप परिवर्तन हुन्छ भन्ने भनाइलाई डा गौतमले चरितार्थ गरेको भक्तपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष नवराज गेलाल बताउँछन्।

‘म दुई वर्ष भक्तपुर अस्पतालको अध्यक्ष भइरहँदा दुई जना मेसु फेरिए, मैले पटकपटक मन्त्रालय धाएर पाँच शय्याको आइसीयू सञ्चालनका लागि सबै सामान ल्याएँ तर तत्कालीन मेसुले आइसीयू सञ्चालन गर्न नै चाहनुभएन,’ उनले भने। अहिले कमिसन र भ्रष्टाचारको दलदलबाट अस्पताललाई जोगाउन सकिएको उनको भनाइ छ।

अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष प्रेम खड्का भक्तपुर अस्पताललाई प्रदेश नभई सरकारले केन्द्रीय अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउँछन्। आफू अध्यक्ष हुँदा त्यसको लागि निकै पहल गरेको भए पनि असफल भएको भन्दै केन्द्रीय सरकारको छायाँमा परेको र आफ्ना स्वार्थमात्रै हेर्ने प्रमुख आउँदा अस्पताल समस्यामा पर्ने गरेको बताउँछन्।

अहिले अस्पतालको मुहार फेरिएको देख्दा आनन्द आउने बताउँदै उनले केही गर्छु भन्ने व्यक्तिलाई सम्बन्धित मन्त्रालयले अनावश्यक सरुवा गर्न नहुने बताए।

अस्पताल विकास समितिको अध्यक्ष रमन कायस्थले अस्पताल एउटा जिल्लाको लागि मात्रै नभई पूर्वी जिल्लाका बिरामीका लागि भरोसाको केन्द्र बनिरहेको बताए। बिरामीमा यस अस्पतालप्रति बढिरहेको बिश्वास र भरोसालाई टुट्न नदिन सरकारले मेडिकल माफियाको चुङ्गुलमा परेर अस्पतालका निर्देशक छिटो फेर्ने प्रचलन बन्द गर्नु पर्ने उनले बताए।

तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६१ असार १७ गते आफ्नै नाम जोड्दै १५ शय्याको ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ नामबाट स्थापना गरेको भक्तपुर अस्पताल अहिले नेपालकै दोस्रो जेठो अस्पतालको रुपमा परिचित छ। १९४७ साउन १२ गते श्री ३ वीरशमशेरले स्थापना गरेको नेपालकै पहिलो वीर अस्पतालपछि स्थापना भएको भक्तपुर अस्पताल जन्मिएको भवन यतिखेर भक्तपुर क्यान्सर अस्पतालले प्रयोग गरिरहेको छ।

विसं २०५१ मा क्यान्सर केयर सेन्टरको नाममा नेपाल अबुर्द रोग निवारण संस्थाले भक्तपुर अस्पतालसँगको समन्वयमा उक्त भवन लिएर नेपालकै पहिलो क्यान्सर रोग विशेषज्ञ एवं शल्य चिकित्सक डा अञ्जनीकुमार शर्माको नेतृत्वमा क्यान्सर रोगको परीक्षण सुरु गरिएको थियो। २०५६ असोज २१ गते तत्कालीन राजा श्री ५ वीरेन्द्रले उद्घाटन गरेको उक्त क्यान्सर केयर सेन्टर अहिले नेपाल सरकारको सुविधासम्पन्न क्यान्सर अस्पताल बनिसक्दा पनि एक सय २० वर्ष पुरानो त्यो भवन अस्पतालकै रुपमा उपयोगमा आइरहेको छ।

भक्तपुर नगरपालिका–१, दूधपाटीमा रहेको भक्तपुर अस्पताल ६७ वर्षपछि २०२८ सालमा ५० शैय्यामा विस्तार भई जिल्लास्तरीय अस्पतालको पहिचान बनाएको थियो। २०५८ जेठ १९ गते आकस्मिक (इमर्जेन्सी) सेवाको लागि अमेरिकी सैनिक सहयोगमा छुट्टै भवन निर्माण गरिदिएपछि आकस्मिक उपचार सेवा सुरु गरेको थियो।

२०६१ भदौ २८ गते २५ शय्याको प्रसूति सेवा थप भई ७५ शय्यामा विस्तार हुँदै २०७६ चैत ३ गते अस्पताल व्यवस्थापन समितिले २५ शय्या थप गरी १०० शय्यामा विस्तार गरी सञ्चालनमा आएको थियो।

कोरोना महामारीमा उपचार नपाउने अवस्थामा पहिलोपटक अस्पतालको जिम्मेवारी सम्हाल्न २०७६ मङ्सिर २० गते सिन्धुली अस्पतालबाट सरुवा भई आएकी डा सुमित्रा गौतमले अगाडि चौरमा तत्कालै अस्थायी कोरोना वार्ड स्थापना गरेर उपचार सुरु गरिन्। कोरोना महामारीमा राख्ने शय्याको अभाव। न आइसीयू, न भेन्टिलेटर, न त जनशक्ति नै पर्याप्त थियो।

उनको पहलमा अस्पताल स्थापना भएको एक सय १५ वर्षपछि पहिलोपटक कोभिडकालमा भक्तपुरमा आइसीयू सेवा सुरु भयो। बागमती प्रदेश सरकारले कोभिडका बिरामीहरुको उपचारका लागि भन्दै सुरुमा छ र पछि १० शय्या थप गरी १६ शय्याको सघन उपचार कक्ष (आईसीयू) सञ्चालन भयो। त्यसपछि आइसोलेसन वार्ड, नवजात तथा बालबालिकाको जटिल उपचारका लागि २० शय्याको पिआइसीयू र एनआइसीयूसहित एक सय ८८ शय्यामा सेवा विस्तार गर्दै सङ्कटकालमा पनि गुनासो नआउने गरी अस्पतालले सेवा सञ्चालन गर्यो।

चीनबाट पहिलोपटक उद्धार गरेर सरकारले खरिपाटीस्थित आइसोलेसन सेन्टरमा नेपाली विद्यार्थी ल्यायो। सर्वत्र त्रास फैलिएको बेलामा आइसोलेसनमा जाने चिकित्सक टोली तयार भएनन्।

त्यो सङ्कटमा प्रदेश सरकारको आग्रहलाई स्वीकार्दै तत्कालीन मेसु डा गौतमको नेतृत्वमा भक्तपुर अस्पताल, क्यान्सर अस्पताल र मानव अङ्गका स्वास्थ्य टोली तयार पारेर चिकित्सकसहितको टोली आइसोलेसन सेन्टरमा खटियो।

विसं २०७७ साउन २५ गते सङ्घीय मन्त्रालयको निर्णयअनुसार एक सय नौ शय्या थप गरी यो अस्पताल दुई सय नौ शय्या सञ्चालनका लागि स्वीकृति प्राप्त भई कोभिड–१९ को महामारीकै समयमा कोरोनाको उपचार, अक्सिजन प्लान्ट सञ्चालनदेखि आइसीयूमा रहेका बिरामी कुरुवा घरसमेत निर्माण भयो।

कुरुवा घर, सुन्दर बगैँचा, बिरामी र आफन्त बस्ने विश्रामस्थललगायतका संरचना निर्माण हुँदा अस्पतालप्रति बिरामीको र कुरुवाले ठूलै राहत महसुस गरे। निजी अस्पतालको भर परेका बिरामीसमेत यहाँ आउन थालेपछि बहिरङ्गतर्फ दैनिक तीन सय बिरामी आउने अस्पतालमा दैनिक आठ सय बिरामीको चाप पुगेको छ।

‘रिफरल सेन्टर’का रूपमा परिचित भक्तपुर अस्पताल गुणस्तरीय सेवाका कारण सरकारको मूल्याङ्कनमा पहिलोपटक बागमती प्रदेशको उत्कृष्ट अस्पताल घोषणा हुन सफल भयो।

अहिले बागमती प्रदेश सरकारले यस अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरी एक हजार छ सय ६९ जना (प्राविधिकसहित) कर्मचारीको सङ्गठन संरचना स्वीकृत गर्दै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले यसै आर्थिक वर्षमा खरिद गर्ने गरी करिब रु आठ करोड मूल्यको सिटी स्क्यान मेसिन खरिद गर्ने भएको छ।

अस्पतालकी निर्देशक डा गौतम अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाइ फर्किनु नपरोस् भनेर अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, स्त्रीरोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको बताउँछन्।

अहिले अस्पतालमा दूरबिन प्रविधिबाट शल्यक्रिया, अल्जाइमर्स, सर्जरी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियोथेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा, पाठेघरको निःशुल्क शल्यक्रिया तथा निःशुल्क प्रसूति सेवालगायत विभिन्न सेवा विस्तार भएको छ। अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएर औषधि खरिदमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।

त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानुनी सेवासमेत दिने व्यवस्था गरेको निर्देशक डा गौतम बताउँछन्।

अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ। अस्पतालको ओपिडी सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याएको हो।

साथै विभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अङ्गहरूको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपाङ्ग बच्चा नजन्मियोस् भनेर गरिने भिडियो एक्सरे अर्थात् एनोमली स्क्यान र दूरबिन प्रविधिबाट शल्यक्रिया सेवासमेत सञ्चालनमा ल्याएको छ।

दुई वर्षमा अस्पतालको मुहार फेरेपछि दैनिक दुई सय ५० देखि तीन सय बिरामीको उपचारमा आउने यस अस्पतालमा अहिले दैनिक आठ सयभन्दा बढी बिरामी आउने गरेका छन्।

अस्पतालको सेवा खस्किएको भन्दै चौतर्फी आलोचना भएपछि पुनः २०७९ भदौ २९ गते भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टमा काज सरुवा भएर आफू आएपछि बन्द भएका बच्चाको आइसीयू, एनआइसीयूलगायत बिभिन्न सेवाहरु सञ्चालन गरी प्रसूति सेवालाई समेत गुणस्तरीय बनाएपछि सरकारको मूल्याङ्कनमा पुन ९८ दशमलव सात प्रतिशत अङ्क ल्याएर सातै प्रदेशका प्रदेशस्तरीय अस्पतालमध्ये उत्कृष्ट अस्पतालको पहिचान बनाउन सफल भएको बताए।

अस्पतालकी निर्देशक डा गौतमले आफ्नो योजना, विकास समिति, सबै डाक्टर, नर्स, कर्मचारीको अथक प्रयास र सेवा सुधारले आफ्नै कार्यकालमा पहिलोपटक २०७७ मा ७४ अङ्क, २०७८ मा ८४ अङ्क ल्याउन सफल हुँदै पहिलो अस्पताल र २०८० को मूल्याङ्कनमा ९७ अङ्क र यस वर्ष ९८ अङ्क आएर देशकै उत्कृष्ट अस्पताल बनेकामा आफूलाई खुसी लागेको बताउँछन्।

अस्पतालको निर्देशक डा गौतमको लगनशीलता, सेवामा गुणस्तरीयता र कर्मचारीको भरपर्दो साथले यस वर्ष पनि उत्कृष्ट अस्पताल घोषणा भएको भन्दै अध्यक्ष कायस्थले छिटोछिटो अस्पतालको नेतृत्व फेरबदल गरिनु नहुने धारणा राख्छन्। 

निर्यात व्यवसायीहरुको अनुदान रकम भुक्तानी गर्न सांसद पराजुलीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले निर्यात व्यवसायीहरुलाई निर्यात गरे वापत दिन्छु भनेर घोषणा गरेको अनुदान रकम भुक्तानी लागि माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले यही आर्थिक वर्षभित्र सरकारले घोषणा गरेका अनुदान रकम प्रदान गर्नका लागि माग गरे ।

उनले भने, ‘व्यापार घाटा हुँदै गर्दा आयातलाई प्रतिस्थापन गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन् । तर सरकारले निर्यात व्यवसायीहरुलाई निर्यात गरे वापत दिन्छु भनेर घोषणा गरेको अनुदान रकम प्राप्त गर्न नसक्दा व्यवसायीहरुल गुनासो गरेका छन् । त्यसैले यही आर्थिक वर्षभित्र सरकारले घोषणा गरेको अनुदान रकम दिन आग्रह गर्दछु ।’

स्रोतको सुनिश्चितता नगरी राष्ट्रिय गौरवका आयोजना घोषणा नगर्न सांसद डाँगीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरेको आरोप लगाएकी छिन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले स्रोतको सुनिश्चितता नगरी राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरेर जनमानसमा विकासप्रति नै अविश्वास हुन थालिसकेको बताइन् ।

उनले भनिन्,‘हामीसँग राष्ट्रिय गौरवका आयोजनाहरु धेरै छन् । तर सामाजिक, आर्थिक मुल्याङ्न नगरिएका आयोजनाहरुमात्र छन् । राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजनाहरु समेत घोषणा गरिदिन्छन् । स्रोतका सुनिश्चितता नगरी यस्ता घोषणा गरेर जनमानसमा विकासप्रति नै अविश्वास पैदा थालिसकेको छ ।’

उनले बिना आधारमा पूर्वाधारको लगानी गरेर राज्यको अर्बौं रकम खेर गइरहेको भन्दै आवश्यक र आधारभुत पूर्वाधारको आवश्यकतामा काम नहुँदा जनताले दुःख पाएको टिप्पणी गरिन् ।

झापामा बिग्रिएर रोकिराखेको जिपलाई स्कुटरले ठक्कर दिँदा दुईजनाको मृत्यु

बनियानी (झापा) / झापाको मेचीनगरमा बुधबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपलाई स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे७प ७२८३ नम्बरको स्कुटरले सडकको बायाँतर्फ बिग्रिएर रोकिराखेको को१च ७२६४ नम्बरको जिपलाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेका छन् ।

सरकारको ठूलो लगानी रहेको खाद्यको संरचनागत सुधार गर्न कर्मचारीलाई मन्त्री भण्डारीको निर्देशन

काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिएका छन् । मन्त्रालयका उद्योग सचिव कृष्ण राउत र वाणिज्य सचिव दिनेशकुमार घिमिरेसहित आज अनुगमनका लागि पुगेका मन्त्री भण्डारीले नेपाल सरकारको ठूलो लगानी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुधार गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

उनले भने, “सरकारको स्वामित्व छ, निजी क्षेत्रसित प्रतिस्पर्धा गरेर जनताको सेवा गर्नु छ, परम्परागत रूपले कम्पनी चलाउन सकिँदैन, संरचनागत सुधार गर्नुस्, कर्मचारीले इमान्दार भएर काम गर्नुस्, काखापाखा कसैलाई गरिँदैन मन्त्रालयबाट, काम गर्ने नियत नहुनेले मार्गप्रशस्त गरिदिनुस् ।”

तत्कालीन नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेट एकापसमा गाभिए पनि कानुनी रूपमा देखिएको समस्या समाधानमा मन्त्री भण्डारीले चासो व्यक्त गरे । उनले नेपाली वस्तु उत्पादन तथा बजारीकरण गर्नसमेत कम्पनीका कर्मचारीलाई निर्देशन दिएको मन्त्री भण्डारीका स्वकीयसचिव आनन्दप्रसाद भट्टले जानकारी दिए ।

सो क्रममा सचिवद्वय राउत र घिमिरेले मन्त्रालयबाट कम्पनी सुधारका लागि कुनै पनि नीतिगत समस्या नहुने भएकाले संरचना सुधार गर्न निर्देशन दिए ।

मलाई थाहा छ गृहमन्त्री गिरिबन्धुको फाइल खोल्न त के, बोल्न पनि सक्नुहुन्नः महामन्त्री शर्मा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु जग्गा प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले काङ्ग्रेसले ७० बिघा बेचेर कमिसन खाएको आरोप लागेको भन्दै त्यसको फाइल खोल्न गृहमन्त्री तयार हुनुपर्ने बताए ।

उनले भने, ‘यहाँ गृहमन्त्रीलाई खोज्न सोध्न चाहन्छु –सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका अध्यक्षले काङ्ग्रेसले गिरिबन्धुको ७० बिघा जग्गा बेचेर कमिसन खायो भनेर जे आरोप लगाउनु भएको छ । त्यसमाथि अनुसन्धान गरेर काङ्ग्रेसलाई दण्डित गर्न के तपाई गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? मलाई थाहा छ खोल्न होइन, उहाँ बोल्न पनि सक्नुहुन्न ।’

गिरिबन्धु प्रकरणको बारेमा काङ्ग्रेसले केही टिप्पणी नगर्दा पनि पूर्वप्रधानमन्त्रीले काङ्ग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै झुटो आरोपप्रति प्रतिवाद गर्दा काङ्ग्रेसले बन्देज अनुभूति गर्नुपर्ने कुरा मान्य नभएको बताए ।

उनले भने,‘सर्वोच्च अदालतले गिरिबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक गर्यो, काङ्ग्रेसबाट त्यसबारे कुनै टिप्पणी भएको थिएन । हामी कसैले पनि पूर्वप्रधानमन्त्रीज्यू तपाइँको नेतृत्वको सरकारले गरेको निर्णयलाई अदालतले नीतिगत भ्रष्टाचारको दायरामा ल्याएर उभाएको छ । हामी बोलेकै थिएनौं । तर उहाँले काङ्ग्रेसले गिरिबन्धुको ७० बिघा जग्गा बेचेर कमीसन खायो, के यो आरोप सही थियो ? यसरी आरोप आएपछि हामीले मौन धारणम् गर्न नसकेर प्रतिवाद गरेको हो ।’

यस्तै, उनले न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी भएको भन्दै संघले त्यहाँ कुनै पनि प्रकारको हस्तक्षेप नगरी बालेनलाई काम गर्न दिनुपर्ने बताए ।

उनले भने, ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि । त्यही तहमा रहेका पार्टीका प्रतिनिधिहरुलाई भन्दा हुन्छ नि । उनीहरुले बोल्ने शैली परिवर्तन गर्नु भनेर भन्दा हुन्छ नि । तर आफैं बोल्नुभयो । यो प्रकरणमा म एउटा मात्र कुरा भन्न चाहान्छु, संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित हुनुपर्छ । न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । बालेनले जे गरेका थिए ठिक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिनुपर्छ । संघले त्यहाँ कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ ।’

प्रधानमन्त्रीको उचाइमा पुगिसकेको नेताहरुले जोसँग पनि जुहारी खेल्न मैदानमा जान नहुने भन्दै यस्तो तरिकाको अभिव्यक्ति पूर्वप्रधानमन्त्रीलाई शोभा नदिने पनि उनको भनाइ छ ।

गिरिबन्धु टी स्टेटको फाइल खोल्न गृहमन्त्रीलाई कांग्रेसको चूनौति

काठमाडौँ / नेपाली कांग्रेसले गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चूनौति दिएको छ । बिहिबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु प्रकरणका कांग्रेसमाथि बिभिन्न आरोप लगाउने प्रयास भएको भन्दै उक्त प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चूनौति दिएका हुन् ।

कांग्रेसले बेचेर ७० बिघा खायो भन्ने एमाले अध्यक्षको अभिव्यक्ति प्रमाणित गर्न र कांग्रेसलाई दण्डित गर्न उनले गृहमन्त्रीलाई आग्रह समेत गरे । शर्माले गिरिबन्धुको फाइल खोल्न नभइ यस बिषयमा बोल्न समेत गृहमन्त्रीले नसक्ने तर्क गरे । उनले गिरिबन्धुमा बिषयमा एमालेले कांग्रेसमाथि आरोप लगाएपछि त्यसको जवाफ मात्रै आफुहरुले दिएको बताए । त्यस्तै शर्माले सहकारी प्रकरणमा गठित छानविन समितिको कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख नभएपनि गोर्खा मिडियाको अपचलन भन्ने शव्दले गृहमन्त्रीमाथि पनि छानविन हुने जिकिर गरे ।

उनले देशको प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा संख्यातन्त्रको जीत भएको र सभामुखले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उल्लेख गरेका छन् । कांग्रेस महामन्त्री शर्माले न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि सडक पेटी बढाउन काठमाडौं महानगरले गरेको काम ठिक रहेको भन्दै संघको सरकारले हस्तक्षेप गर्न नहुने बताए ।

सन्दीपको भिसाका लागि सरकारले पहल गरेनः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वकप खेल्न जान सरकारले क्रिकेटर सन्दीप लामिछानेको भिसाका लागि पहल गर्न नसकेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले विगतमा आरोप लागिरहेको अवस्थामा मैदानमा उत्रनुहुन्न भनेर भनेपनि अहिले अदालतले नै निर्दोष ठहर गरिसकेकाले लामिछानेले विश्वकप क्रिकेट खेल्न नपाउनुमा सरकार पनि जिम्मेवार रहेको बताए ।

उनले भने, ‘अदालतले निर्दोष सावित गरिसकेपछि सन्दीप लामिछाने विश्वकप खेलिरहेको हुनुपर्थ्यो। आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर उनको भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो।’

ललितपुरमा ‘घर घरमा नगर प्रहरी’ अभियान सुरु

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गर्नका लागि ‘घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गरेका छन् ।

बिहीबार ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गर्दै उनले नगरवासीको सुनुवाई गरी सो अनुसारको सेवा प्रवाह गर्नको लागि ललितपुर महानगरपालिकाले कार्यक्रम ल्याएको बताए ।

उनले भने, ‘यो कार्यक्रमलाई अगाडि बढाउँदै गर्दा यसबाट मेयर मात्र होइन वडा अध्यक्ष, सदस्यहरुलाई अभियानले धेरै नै सहयोग प्राप्त हुनेछ भन्ने आश गरेको छु । यो कार्यक्रम भव्यताकासाथ सफल हुन्छ । यसले नगरपालिका र नगरबासीको बीचमा सेतुको काम गर्नेछ । यसबाट दुइपक्षीय संवाद् हुन्छ । नगरबासीहरुको सुख, दुख र पीर आदिको बारेमा महानगरपालिका र जनप्रतिनिधिहरु सुचित हुने मौका पाउनेछ ।’

यसको साथै उनले अभियानको बारेमा नेपाल सरकारका सुरक्षा निकायहरुसँग समन्वय गरेर अगाडि बढ्ने जानकारी दिंदै अभियानले सेवा चुस्त र दुरुस्त हुने बताए ।

जनताको सुख, दुःखमा सांसदको साथ र सहयोग चाहिन्छः सांसद यादव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद उमरावतीदेवी यादवले विद्यमान संसदीय शासन प्रणाली र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त रहेको बताएकी छन् । 

‘सांसदसँग रासस संवाद’का क्रममा उनले अहिलेको संसदीय अभ्यास क्रमशः परिपक्व दिशातर्फ उन्मुख भइरहेको प्रतिक्रिया दिइन् । नेत्री सिंहले भनिन्, “संसदमा बेलाबखत हुने अवरोध अन्त्य गर्दै लैजानुपर्छ, देशको शासन व्यवस्थाका लागि योगदान दिएका प्रमुख राजनीतिक दल मिलेर काम गर्नुपर्छ । हामीले जनताका सुख, दुःखमा साथ र सहयोग गर्नुपर्छ ।”

निर्वाचित सांसदले जनताको पक्षमा नै काम गर्नुपर्नेमा जोड दिँदै उनले संसद् तथा सरकारले जनताका समस्या तथा गुनासालाई सम्बोधन गर्छ भन्ने विश्वास दिलाउनुपर्ने बताइन् ।

लामो समयसम्म बञ्चितीकरणमा परेका वर्ग तथा समुदायलाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाले राज्यको मूलप्रवाहमा ल्याएको उनको भनाइ छ ।

जिल्लाका जनताले खासगरी विकास र कानुन निर्माणको पाटो दुवैमा उत्तिकै चासो दिएर प्रश्न सोध्ने गरेको बताउँदै उनले पछिल्लो समय मतदाताले बजेट र विकासका माग र मुद्दालाई प्राथमिकतामा राख्न सुझाव दिएको सुनाइन् । तराई मधेस कृषि उब्जनीको दृष्टिकोणबाट उर्वर रहेको जनाउँदै सांसद यादवले कृषि क्षेत्रका समस्या समाधानका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिइएकामा खुसी व्यक्त गर्दै उनले बजेटको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने बताइन् ।

कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन र उद्यमशीलता प्रवर्द्धनलाई प्रमुख प्राथमिकतामा राखिएको बजेटले मुलुकको वर्तमान समस्या समाधान गर्ने विश्वास गरिन् ।

राज्यबाट प्रदान गरिएको सेवासुविधा प्राप्त गर्न जनताले अझै पनि घुसका रूपमा पैसा नै बुझाउनुपर्ने स्थिति रहेको बताउँदै उनले सरकारी कार्यालयबाट प्रदान गरिने सेवालाई सहज र सरल मार्गबाट उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

देशमा काम नपाएपछि युवा तथा विद्यार्थी रोजगारीका लागि बाध्य भएर विदेश जानुपरेको बताउँदै नेत्री देवीले भनिन्, “पेट पाल्नपर्छ, बच्चा पढाउनुपर्छ, परिवार धान्नपर्छ, महँगीको जमाना छ, यहाँ आयआर्जनका बाटा पर्याप्त छैनन् । अनि विदेश नगएर के गर्नु ?”

कानुन निर्माणलाई कति प्राथमिकता दिने भन्ने विषय प्रमुख राजनीतिक दल र सरकारबीचको सहमतिमा निर्धारण हुने बताउँदै उनले बेरोजगारी मतदातालाई घरमै बसेर खेतीपाती र पशुपालन गर्नमा संलग्न हुन सुझाव दिइन् ।

सानै उमेरदेखि राजनीतिमा संलग्न सांसद देवी राष्ट्रिय जनता पार्टीको स्थापनाकालदेखि नै राजनीतिमा सक्रिय भइन् । उनी मधेस प्रदेश बारा जिल्ला महागढीमाई नगरपालिका–६ का स्थायी बासिन्दा हुन् । हाल सांसद देवी प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समिति सदस्य पनि हुन् ।

सुनको मूल्य तोलामा १८  सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बिहीबार प्रतितोला एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

छापावाला सुन बुधबार प्रतितोला  एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला  एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज रु एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य बिहीबार एक हजार आठ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला  एक हजार आठ सय २५ रुपैयाँ रहेको थियो ।

सतिश सिंहलाई मधेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

जनकपुरधाम । जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीका सचिव विपी साहले पार्टीको केन्द्रीय सचिवालय बैठकबाट सिंह मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।

सिंह सप्तरी क्षेत्र नं. २ (क)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । आज बस्ने गठबन्धन दलको बैठकबाट कुन पार्टीबाट कसलाई मन्त्री नियुक्त गर्ने निर्णय गर्ने तयारी रहेको साहले बताए ।

बुधबार प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेता सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी छन् ।

जनमतको नेतृत्वमा नयाँ सरकार गठनका लागि चार दलबीच पहिल्यै सहमति भइसकेको छ। नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच नयाँ सरकार गठनका लागि सहमति भएको थियो।

दक्षिणकालीमा मोटरसाइकलबाट खसेर दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको दक्षिणकालीमा मोटरसाइकलबाट खसेर दुई जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका–८ स्थित केराबारीमा मूल सडकबाट खसेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा एक जना महिला र एक पुरुष छन् । घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ । भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ ।

टी–२० विश्वकपमा युगान्डाको पहिलो जित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा युगान्डाले पहिलो जित निकालेको छ । समूह ‘सी’को पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको युगान्डाले बिहीबार भएको खेलमा भने पपुवा न्युगिनी (पीएनजी)लाई ३ विकेटले पराजित गरेको हो । पीएनजीको भने यो लगातार दोस्रो हार हो ।

पीएनजीले दिएको ७८ रनको लक्ष्य पूरा गर्नका लागि युगान्डालाई हम्मेहम्मे परेको थियो । युगान्डाले १८.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । १ रन हुँदा युगान्डाले रोजर मुकासालाई गुमाएको थियो । उनी खाता नखोल्दै आउट भएका थिए । दोस्रो विकेटको रुपमा १ रन बनाए रोविनसन ओबुया आउट भए । ६ रन हुँदा तेस्रो विकेटको रुपमा १ रन बनाएर सिमोन सेसाजी आउट भए । यसैगरी अल्पेस रमजानी टिमको स्कोर २५ रन हुँदा चौथो विकेटको रुपमा पभेलियन फर्किए । उनले १० बलमा ८ रन बनाएका थिए । गुगान्डाको ६.३ ओभरमा २६ रन हुँदा पाँचौं विकेट पतन भएको थियो ।

पाँचौं विकेटको रुपमा दिनेश नकर्नी आउट भए । त्यसपछि रियाजत अलि साह र जुमा मियागीले ३५ रनको साझेदारी गरेपछि युगान्डा लक्ष्य नजिक नजिक पुगेको थियो । १३.४ ओभरमा १३ रन बनाएका जुमा मियागी रन आउट भए । उनी आउट हुँदा युगान्डाको स्कोर ६–६१ भएको थियो । सातौं विकेटको रुपमा सर्वाधिक रन बनाउने रियाजत आउट भए । उनले ५६ बलमा ३३ रनको पारि खेले । टिकेर खेलेका उनले एक चौका मात्रै प्रहार गरेका थिए । उनी १७.५ ओभरमा सातौं विकेटको रुपमा पभेलियन फर्किएका हुन् ।

त्यसपछि केन्नेथ वासिवाले र कप्तान ब्रेन मासिवाले खेल जिताए । केन्नथले ७ रनको नटआउट पारि खेल्दा कप्तान ब्रेनले खाता नखोली साथ दिए । पीएनजीका लागि एली नाओ र नोर्मान भानुआले समान दुई –दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्न आएको पीएनजीले १९.१ ओभरमा सवै विकेट गुमाएर ७७ रन बनाएको थियो । पीएनजीले खराब सुरुआत गरेको थियो ।

टप अर्डर नचल्दा मिडिल अर्डरले केही प्रयास गरे पनि सार्थक भएन । कप्तान असद भाला खाता नखोल्दै आउट भए भने अर्का ओपनर टोनी उराले १ रन बनाए । सेसे बाउले ५ रन बनाए । लिगा साइकाले १२ रन बनाउँदा हिरि हिरिले सर्वाधिक १५ रनको पारि खेले । चार्लेस अमिनिले ५रन बनाउँदा किप्लिन डरोगाले १२ रन जोेडे । त्यसैगरी, चाद सोपरले ४ रन बनाउँदा नोर्मान भानुआ र एलियो नाओले पाँच पाँच रन जोडे ।
युगान्डाका अलिपेस रमजानी, कसमम केयुटा, जुमान मियागी र फ्रांक नसबुगाले समान दुई दुई विकेट लिँदा बरिन मसाबाले एक विकेट लिए ।

जाजरकोट केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ बजेर ३८ मिनेटमा बारेकोट आसपास केन्द्र भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर यसअघि गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन ।

निजी विद्यालयलाई १० प्रतिशत छात्रवृत्ति अनिवार्य दिन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयहरुलाई कक्षा १० सम्मका कक्षाहरुमा अनिवार्यरुपमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।

महानगरपालिकाले बिहीबार सूचना गरी गरी महानगरपालिका क्षेत्रमा सञ्चालित सबै संस्थागत विद्यालय (निजी स्कुल)ले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने जनाएको छ ।

महानगरपालिकाले यो व्यवस्था कार्यान्वयन गराउन पटकपटक अनुरोध गर्दा जेठ २३ गतेसम्ममा महानगर क्षेत्रका ४७३ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण उपलव्ध गराएका जनाएको छ । त्यसरी विवरण उपलव्ध गराउने विद्यालयहरुको विवरण पनि महानगरले सार्वजनिक गरेको छ ।

सूचनामा भनिएको छ, ‘छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयहरुले काठमाडौँ महानगरपालिका शिक्षा विभागमा तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलव्ध गराउनु पर्नेछ । अन्यथा त्यस्ता विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरी त्यस्ता विद्यालयहरुमा विद्यार्थी भर्ना नगर्न÷नगराउन र गराएको भए अन्यत्र स्थानान्तरण गर्नसमेत अभिभावकलाई सूचित गरिने छ।’

शान्ति सम्मेलनमा सहभागी हुन बेइजिङलाई युक्रेनको आग्रह

युक्रेनले चीनलाई यसै महिना स्विट्जरल्यान्डमा हुने युक्रेन शान्ति शिखर सम्मेलनमा भाग लिन आग्रह गरेको छ । 

युक्रेनको विदेश मन्त्रालयलका एक अधिकारीले बुधबार चिनियाँ अधिकारीहरूलाई सम्मेलनमा सहभागी हुन आग्रह गरेको मन्त्रालयले बताएको छ । 

बेइजिङले आफ्नो सहयोगी रुसलाई आमन्त्रित नगरिएको भन्दै जुन १५–१६ मा हुने सम्मेलनको आलोचना गरेको छ । उसले रुसले सम्मेलनमा सहभागी नगराइए चीनका लागि सहभागी हुन ‘कठिन’ हुने बताएको छ । 

चीनले अन्य मुलुकलाई सम्मेलनमा भाग लिन रोक्न खोजिरहेको छ भन्ने युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आरोपलाई पनि बेइजिङले अस्वीकार गरेको छ । 

उपविदेशमन्त्री एन्ड्री सिबिगाले बेइजिङको भ्रमण गर्नुभएको र आफ्ना समकक्षी सन वेइडोङसँग भेटवार्ता गरेको युक्रेनी विदेश मन्त्रालयले विज्ञप्तिमा बताएको छ । 

युक्रेनी पक्षले उक्त कार्यक्रममा चीनको सहभागिताले युक्रेनमा न्यायपूर्ण र दिगो शान्ति हासिल गर्न व्यावहारिक योगदान गर्ने राम्रो अवसर हुने आशा व्यक्त गरेको युक्रेनी मन्त्रालयले बताएको छ । 

“पक्षहरूले उल्लेख गरेअनुसार सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि पारस्परिक सम्मान नै युक्रेन र चीनबीच द्विपक्षीय सम्बन्धको आधार हो”, मन्त्रालयले विज्ञप्तिमा भनेको छ । 

युक्रेन युद्धमा चीन तटस्थ पक्ष रहेको बेइजिङले दाबी गरे पनि रुससँग उसको रणनीतिक साझेदारीलाई लिएर उसले पश्चिमी मुलुकहरूबाट कडा आलोचनाको सामना गर्नुपरेको छ । 

क्रेमलिनले रुसलाई सहभागी नगराई युक्रेनमा दिगो शान्तिमा पुग्ने सम्भावनामाथि चर्चा गर्नु ‘निरर्थक’ हुने बताएको छ । 

धार्मिक पर्यटकीय केन्द्र बन्दै भरतपुरको गणेशधाम

नारायणगढ (चितवन) । चितवनको भरतपुर महानगरपालिका–११ मा अवस्थित गणेशधाम भरतपु्रको प्रमुख धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएको छ । भरतपुरलाई चिनाउने ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलमध्ये गणेशधाम प्रमुख स्थान हो । ‘घुमौँ भरतपुर’ भन्ने मूल नाराका साथमा सञ्चालन भइरहेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा भरतपुरकोे पर्यटन उकास्न यस क्षेत्रको प्रवद्र्धनले थप टेवा पुर्याएको छ ।

नेपाल एकीकरणका क्रममा चितवनवाट पश्चिमतर्फ एकीकरण अभियान सुरु गर्दा तत्कालीन नायब राजकुमार बहादुर शाह तथा गोरखाली सेनाले यहाँ पूजाअर्चना गर्दै अगाडि बढेको इतिहास रहेको गणेशधाम संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुके बताउँछन् ।

चुकेका अनुसार तत्कालीन पाल्पा राज्यका प्रतापी राजा मणि मुकुन्द सेनले विसं १५४१ तिर देवघाट धाममा तपस्या गरी बस्न आएको र देवघाटमै आफ्नो जीवनका १२ वर्ष व्यतीत गरेका थिए ।

त्यस क्रममा देवघाटमा केही देवस्थल थप्नुका साथै भरतपुरको बागीश्वरी, गणेशस्थान, कैलाशनाथ महादेव, जखडीमाई देवीस्थान आदिमा पूजाअर्चना गरी गणेशस्थानमा ऐतिहासिक इनार निर्माण गरेको र गैँडाकोटमा मौलाकालिका माताको मूर्ति स्थापना गरेको किंवदन्ती छ । यहाँ रहेको सिद्धिविनायकको शिला पौराणिक रहेको र राजामणि मुकुन्द सेनले पूजा आराधना गरेको गणेश पुराण तथा पद्म पुराणमा उल्लेख छ ।

चुकेले भने, “पहिले चितवनमा अहिले जस्तो बस्ती विकास भएको थिएन पछि बाहिरबाट आएका व्यक्तिहरुलाई यसबारे थाहा हुने कुरा भएन यसको संरक्षणमा चुनौती भएको हुनाले हाल समितिमार्फत संरक्षणमा हामी जुटेका हौँ ।”

उनले यहाँ भाकल गरेको पुग्ने, विवाह, व्रतबन्ध, सवारीसाधनको पूजा गर्दा शुभ हुने अटल विश्वास रहेकाले अन्य जिल्लाबाट पनि भक्तजनको बाक्लो उपस्थिति हुने गरेको बताए ।

उनले भने,“विगतमा यहाँ लगनका बेला ५०–६० वटासम्म विवाह, व्रतबन्ध हुन्थ्यो तर आजकाल पार्टीप्यालेसमा विवाह व्रतबन्ध गर्ने प्रचलनले यहाँ कम हुने गरेको छ ।”

समितिका कोषाध्यक्ष रेशमलाल सापकोटाले विगतमा देवघाट क्षेत्र विकास समिति र गणेशस्थान टोलविकास संस्थाले यस क्षेत्रको संरक्षण र विकास गर्दै आएको जानकारी दिए ।

विसं २०६६ मा गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्वद्र्धन समितिका नामबाट विधिवत् दर्ता गरी विसं २०६७ मा जिल्ला वनकार्यालय चितवनबाट दुई दशमलव ४३ हेक्टर जमिन धार्मिक वनका नाममा दर्ता भएको र विसं २०७५ देखि गणेशधाम संरक्षण सम्वद्र्धन समितिले सरकार तथा दाताहरुको सहयोगमा यस क्षेत्रको निरन्तर विकास र प्रवद्र्धन गरिरहेको उनले बताए ।

ऐतिहासिक गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्न नवजागृति सामुदायिक वन उपभोक्ता समूह र जलदेवी सामुदायिक वन उपभोक्ता समूहसगँकोे समन्वय र समितिका संरक्षक तथा वाग्मती प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री विजय सुवेदीको पहलमा २९ दशमलव ४७ हेक्टर जमिनमा रु ८० करोडको बृहत् गुरुयोजना तयार गरिएको छ ।

गणेशधाममा कमलेश्वर महादेव, पशुपतिनाथ, चण्डेश्वरी, सरस्वती, मनकामना, सन्तोषीमाता, विश्वकर्मालगायतका मन्दिर छन् । धामको तलतिर पुण्यवती जलाशय क्षेत्र रहेको छ ।

२२ बिघा क्षेत्रफलमा रहेको जलाशयको बाँधका लागि वाग्मती प्रदेश सरकारबाट चार करोड १६ लाखको लागतमा चार मिटर अग्लो र ३० मिटर लामो बाँध र ४० मिटर पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । जलाशयको शिरमा कैलाश पर्वत निर्माणधीन अवस्थामा छ । जलाशयबीचमा पर्ने सौन्दर्यकरणका लागि भरतपुर महानगरपालिकाबाट पूर्वाधार निर्माण भइरहेको उनले जानकारी दिए ।

अध्यक्ष चुकेले गणेशधामलाई गणेश अनुसन्धान केन्द्र तथा गणेश सङ्ग्रहालयका रुपमा विकास गर्ने बताए ।

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त नगरेपछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

बुधबार मुख्यमन्त्री यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् ।

स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित भक्तपुरबाट चार चिनियाँ नागरिक पक्राउ

भक्तपुर । स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेे चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् ।

सूर्यविनायक नगरपालिका‐१० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा७०प २८७२ नम्बरको ट्याक्सी रोकेर प्रहरीले जाँच गर्ने क्रममा चार चिनियाँ नागरिकको साथबाट स्रोत नखुलेको ६९ लाख पाँच हजारसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरलाई बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

मधेस प्रदेशका मुख्यमन्त्री यादव विश्वासको मत लिन असफल

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन असफल भएका छन् । बुधबार साँझ प्रदेशसभामा मुख्यमन्त्री यादवले विश्वासको मत पाउन नसकेका हुन् ।

बैठकमा सहभागी १०३ सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ५० र विपक्षमा ५३ मत खसेको थियो । सभामुख रामचन्द्र मण्डलले उक्त संख्या कूल संख्याको बहुमत नरहेकाले मुख्यमन्त्रीले पेस गरेको प्रस्ताव अस्वीकृत गरेका थिए। योसँगै जनता समाजवादी पार्टी नेतृत्वको सरकार ढलेको छ।

अब नयाँ सरकार गठन गर्ने बाटो पनि खुलेको छ। केन्द्रीय गठबन्धनले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी गरेको छ। यसअघि नै जनमत पार्टीले नेकपा माओवादी र नेकपा एमालेसँग सरकार बनाउने विषयमा सहमति गरेको थियो ।

एमालेले नेतृत्व गरेमा मुलुकको कायापलट हुने उपाध्यक्ष पौडेलको दाबी

लुम्बिनी । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान सङ्कट समाधान र जनआकाङ्क्षा सम्बोधनका लागि एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताएका छन् ।

नेकपा एमाले रुपन्देहीको दशौँ जिल्ला अधिवेशनको बुधबार भैरहवामा उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले एमालेले नेतृत्व गरेमा मुलुकको कायापलट हुने बताए । “संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न पाउँछन् ? आजको अहम प्रश्न यही हो जिम्मेवारी पनि यही हो”, उनले भने, “एमालेले नेतृत्व गर्न नपाएका कारण मुलुकपछि परेको छ ।”

पौडेलले संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न जरुरी रहेको बताए । उनले समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताए ।

विभेद र असमानता अन्त्य गरी समतामूलक समाज निर्माणका लागि एमालेको अगुवाइ जरुरी रहेको बताउँदै पौडेलले सोहीअनुसार भूमिका निर्वाह गर्न कार्यकर्तालाई आग्रह गरे । संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र लक्ष्यलाई साकार पार्ने गरी अगाडि बढ्नु आजको आवश्यकता रहेको नेता पौडेलको भनाइ थियो ।

चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

गलकोट (बागलुङ)  । उप्किएका भित्ता, जीर्ण झ्यालढोका, मक्किएका काठले छाएको छानो । घामपानी र हावाहुरी नछेक्ने टहरो । हेर्दै जीर्ण भवनमा ओत लागेर पढ्छन्, निसेलढोरका बालबालिका । 

निसीखोला गाउँपालिका–६ निसेलढोरस्थित कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थीहरु यस्तै जीर्ण भवनमा पढ्न बाध्य छन् । विंसं २०६४ मा स्थापना भएको विद्यालयको हालसम्म भरपर्दो भवन बनेको छैन । ५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ ।

तीन वटा विद्यालय भवनमध्ये दुई वटा भवन कच्ची छन् । हावाहुरी र पानी पर्दा कक्षाकोठामा बस्नै मिल्दैन । यो विद्यालय जिल्लाको सबैभन्दा विकटमा पर्छ  । बर्खा लागेपछि घुम्ती बसाइमार्फत २५ जना विद्यार्थी थपिन्छन् । पढाउनेक्रममै छानोको फलेक कुहिएर झर्ने गरेको र बर्खामा पानी चुहिने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक रुद्र विकले जानकारी दिए ।

“विकटमा राज्यको नजर कम पर्दोरहेछ, बालविकास र कक्षा ४ सम्मका विद्यार्थीलाई कक्षाकोठा ठिकै छ तर, कक्षा ५ का विद्यार्थीलाई कक्षाकोठाको अभाव छ”, विकले भने , “गाउँपालिकामा भवन निर्माणका लागि बजेट माग गरिरहेका छौँ, यसपटक बजेट प्राप्त होला ।”

कक्षाकोठा उपयुक्त नहुँदा पठनपाठनमा असहज हुने गरेको  कक्षा ५ मा अध्ययनरत छात्रा सृष्टी मगरले बताइन् । “कक्षामा पानी पर्दा चुहिन्छ, हिउँ पर्दा पग्लेर कक्षा कोठा भरिन्छ”, मगरले भनिन् । पाँच कक्षासम्म मात्रै पढाइ हुने यहाँका बालबालिका कक्षा छ देखि माथी पढ्न  गाउँभन्दा बाहिर जानुपर्ने बाध्यता छ ।

निसेलढोरमा अस्थायी र स्थायी गरी दुई थरी बस्ती छन् । निसीखोला गाउँपालिकाको विभिन्न स्थानबाट धेरैजसो गर्मीको समयमा यहाँ खेतीपातीका आउँछन् र हिउँदमा बेंसी झर्छन् । ५० घरधुरी भने स्थायीरुपमा निसेलढोरमै बस्छन् ।

निसीखोला–५ निसीको ज्ञानेन्द्र माध्यामिक विद्यालयलाई २०६४ सालअघिसम्म घुम्ती विद्यालयका रुपमा निसेलढोरमा सञ्चालन गरिएको थियो । विसं २०६४ सालमा सोही विद्यालयको पूर्वाधारमा कुँडेढोर प्राथमिक विद्यालय स्थापना गरिएको हो । निसीखोला–५ निसीबाट सोही वडाको निसेलढोर आउन पाँच घण्टा पैदल हिँड्नुपर्छ ।

भेडापालनबाट वार्षिक ४० लाख आम्दानी

बागलुङ । यतिबेला भेडापालक किसान ढोरपाटनको बुकी उक्लने तरखरमा छन् । बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र प्युठानका भेडा चरिचरनका लागि बुकीतर्फ हिँडिरहेका छन् ।

यसपटक सात सय भेडा लिएर बुकीतर्फ हिँडिरहेका रोल्पा जिल्लाको थवाङ गाउँपालिका–४ तेलखोलाका सन्तोष घर्ती भेडा चराउँदै बागलुङ आएका छन् । भेडापालनमा धेरै दुःख भएको जनाउँदै भेडा पाल्न छाड्ने क्रम बढिरहेको सन्दर्भमा घर्तीले यसबाट भएको आम्दानीले परिवार पाल्दै राम्रो शिक्षा दिन सफल भएको बताए । उनले भेडापालनमा आफू सन्तुष्ट भएको भन्दै वार्षिक  ४० लाख आम्दानी गर्न सफल भएको बताए ।

बागलुङको निसीखोला गाउँपालिकाको रिग चरन क्षेत्रमा भेडा चराइरहेका घर्तीले वार्षिक रु ४० लाख आम्दानीले आफ्नो परिवारलाई दाङको तुलसीपुर पढाउँदै आएको बताए ।

“परम्परा धान्नमात्रै भेडापालेर भएन, भेडा लिएर बुकी जान थालेको १८ वर्ष भयो, सानै उमेरबाट भेडापालनमा लागेँ, छोराछोरीलाई मलाई जस्तो दुःख नहोस् भनेर भेडापालनलाई व्यावसायिक बनाउन थालेको छु, दुई सय भेडाले घरखर्च चल्दैन, त्यसैले सात सय पाल्न थालेको हुँ”, घर्तीले भने “भेडापालनमा दुःख छ भन्दैमा छाड्न कहाँ सकिन्छ र पुर्खाको पेसा, तीन छोरी र दुई छोरलाई दाङ लगेर पढाएको छु, उनीहरूको खर्च धान्न भेडा पाल्नैपर्छ ।”

भदौको अन्तिममा फर्कने तयारीसहित बन्दोबस्तीका सामग्री बोकेर जेठको दोस्रो हप्ता घरबाट बुकीतर्फ हिँडेको बताउँदै घर्तीले घरमा भन्दा जङ्गलमा बढी बसाइ हुने बताए ।

“आफ्नो त घरमा भन्दा बढी जङ्गलको बास हुन्छ, आम्दानी राम्रो भए पनि भेडापालन निकै जोखिमको पेसा हो, राम्रो पढाइ गर्न सकिएन, ४५ वर्षको पुगियो आफ्नो त जिन्दगी भेडा पालेरै बित्नेभयो”, उनले भने, ‘छोराछोरीले राम्रो पढे भने मलाई केही चाहिन्न, भेडापालनबाटे खान, लाउन र शिक्षादीक्षा दिएर वर्षमा रु आठ–दश लाख बचतसमेत हुने गरेको छ’उनले भने ।

रिगताल वरपरबाट आफू बुकी उक्लन थालेको बताउँदै चिसो याममा मात्रै भेडालाई घर फर्काउने बताए । भेडालाई जङ्गली जनवार र रोगबाट जोगाउन सकेमात्रै नाफा हुने बताउँदै गोठालो खर्च र भेडाको हेरचाहमा समेत वार्षिक कमाइको आधा खर्च हुने उनी बताउँछन् र

सात सय भेडाबाट एक वर्षमा चार सय नयाँ पाठापाठी जन्मने गरेको घर्तीले सुनाए। एउटालाई सरदरमा न्यूनतम रु १० हजारमा बिक्री भए पनि चार सय पाठापाठीको ४० लाख उनी बताउँछन् । पाठीको मूल्य सस्तो भए पनि पाठाको धेरै छ । विशेषगरी मासुसँगै भेडाका पाठापाठी पूजाआजाका लागि धेरै प्रयोगमा आउने गरेको छ ।

“भदौमा एकपटक झरेपछि पुनः मङ्सिरसम्म बुकी क्षेत्रमै भेडापालन गरेर बसिन्छ, हिउँ पर्न थालेपछि मात्रै भेडा बेँसी झारिन्छ”, उनी बताउँछन्।

बुकी क्षेत्रमा बागलुङ, म्याग्दी, रोल्पा, प्युठान र रुकुमका हजारौँ भेडा पुग्ने गरेका छन् । उपयुक्त चरिचरनको वातावारण, पोषणयुक्त घाँसका कारण परम्पराकालदेखि नै भेडा चराउन बुकी लगिँदै आएको भेडापालक किसान कमरा घर्तीमगरले बताए । भेडापालनको दुःख भने भनिसाध्य छैन, घर्तीमगरभन्छन्।

घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक

लमजुङ । पाँच जिल्ला जोडिएको पर्यटन क्षेत्रमा महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा पछिल्लो समय पर्यटक घट्न थालेका छन् ।

यहाँ दुई सय ५० को हाराहारीमा दैनिक पर्यटक आउने गरेकामा वर्षा सुरु हुन थालेपछि १५–२५ जना मात्र आउन थालेका मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ ।

वर्षा सुरु हुन लागेपछि यहाँ यतिबेला दैनिक १५ देखि २५ जनासम्म पर्यटक आउने गरेका केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताए । उनले भने, “केही साताअघिसम्म दुई सय ५० जना आउने गरेकामा उक्त सङ्ख्याबाट घटेर दैनिक ४०/५० को हाराकारीमा आएको थियो । त्यो सङ्ख्या पनि घट्ने क्रममा छ ।”

मङ्गलबार पदमार्गका लागि नौ जना मात्र पर्यटक आएका गुरुङले जानकारी दिए । उनका अनुसार यो सङ्ख्या पनि अझै घट्दै पाँच/छ जनामा आउन सक्नेछ । भदौ लागेपछि पुनः पर्यटककीय चहलपहल सुरु हुने भन्दै भदौअघि पर्यटक आगमन कम हुँदै जाने उनको भनाइ छ ।

विगतमा यस पदमार्गमा दैनिक पाँच/छ सय पर्यटक आउने गर्दथे । कोरोना महामारीपश्चात् थलिएको यस क्षेत्रको पदमार्गमा महामारीपछि पुरानो गतिमा पर्यटक आगमन हुन सकेको छैन । विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल हुने यस पदमार्गमा पर्यटक घट्न थालेसँगै पदमार्गसँगै आसपासका होटल, रेष्टुरेन्टहरु समेत सुनसान हुन थालेका पर्यटन व्यवसायीको भनाइ छ ।

लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेका पर्यटन व्यवसायी बाबुराम तामाङले पर्यटक आगमन भइरहँदा दैनिक रु ३०–४० हजार आम्दानी हुने भन्दै यतिबेला पर्यटक घट्दा रु पाँच–१० हजार मात्र हुने गरेको बताए । बर्खा लागेपछि झन आम्दानी ठप्प हुने उनको भनाइ छ ।

पर्यटन व्यवसायी पच्चबहादुर गुरुङले भने, “तीनदिन अघिसम्म केही पर्यटक होटलमा आएपनि सोयता व्यापार ठप्पै भएको छ ।” यस वर्षको पर्यटनको याममा रु १० लाख आम्दानी भएको जनाउँदै उनले वर्षाभरि सोही रकमले घरखर्च चलाउने बताए। उनका अनुसार भदौ लागेपछि पुनः पर्यटक आगमन हुने र व्यापार व्यवसाय चलायमान हुनेछ ।

बर्खा लागेसँगै बाटो अप्ठ्यारो, बाढी पहिरो आउनेलगायत समस्या हुने भएकाले पर्यटक ठप्प हुने केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख गुरुङले सन् २०२४ को जनवरीदेखि जुन ४ सम्म यस पदमार्गमा १० हजार दुई सय ७९ जना विदेशी पर्यटक आएका छन् । उक्त अवधिमा आएका पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका एक हजार ४९, इजरायलका आठ सय ३१, जर्मनीका सात सय ७१, चाइनाका छ सय ९६ रहेका उनले जानकारी दिए । सन् २०२३ को जनवरी १ देखि जुन ४ तारिखसम्म नौ हजार दुई सय ४१ जना पर्यटक आएका थिए ।

पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको संस्कृति, परम्परा र रहनसहन, प्राकृतिक सुन्दरता हेर्ना साथै मनाङबाट मुस्ताङ, कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारमा छ ।

पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँ हुँदै सवारीसाधनमा लमजुङ बेँसीसहरमा पर्यटक आउने गर्दछन् । यस पदमार्गमा विगतको तुलनामा कोरोनापश्चात् कम पर्यटक आगमन हुन थालेका छन् । आर्थिक मन्दी, पदमार्ग जीर्ण, सडकले केही ठाउँमा पदमार्ग मासिनुलगायत कारणले कम पर्यटक आएका हुन सक्ने पर्यटन व्यवसायी बताउँछन् ।

सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठित समितिले थाल्यो काम

काठमाडौ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा पहिलो बैठक बसेर समिति कार्यप्रारम्भ गरेको हो । पहिलो बैठकले समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिइएको समिति संयोजक सुर्य थापाले जानकारी दिए । सभामुख देवराज घिमिरेको उपस्थीतिमा बसेको बैठकमा समितिको कामलाई अघि बढाउने बिषयमा छलफल भएको उनले बताए ।

तीन महिनाको अवधिभित्रै समितिले गर्नुपर्ने कामलाई व्यवस्थीत गर्दै अघि बढ्ने उनको भनाइ छ । संयोजक थापाले दुई दिनभित्र कार्यविधि पारित गर्ने भन्दै समितिको कार्याविधि, कार्यक्षेत्र लगाएतका बिषयमा कुनै विवाद नरहेको जिकिर गरे ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

‘एनिमे, भिडियो गेम’लगायत क्षेत्रमा विदेशी बजार चार गुणा बढाउने जापानको लक्ष्य

पप–संस्कृतिको लागि प्रसिद्ध मानिने जापानले करिब एक दशकमा भिडियो गेम, मान्गा र हातले कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको जापानी एनिमेसन (एनिमे)को विदेशी बजार चार गुणा बढाएर एक सय तीस अर्ब डलर पुरÞ्याउने लक्ष्य राखेको सरकारले जनाएको छ ।

‘ड्रयागन बल’, ‘सुपर मारियो’ र ‘फाइनल फ्यान्टसी’जस्ता खेलहरूको उद्गमस्थल र हास्य र कार्टुनका लागि प्रसिद्ध जापानले रचनात्मक उद्योगलाई राष्ट्रिय विकासको मुख्य श्रोतको रूपमा लिएको छ ।

जापानले मङ्गलबार जारी गरेको संशोधित आर्थिक रणनीति ‘कुल जापान’ अन्तर्गत सरकारले सन् २०३३ सम्ममा यी सांस्कृतिक सम्पत्तिको निर्यातलाई २० ट्रिलियन येन (करिब एक खर्ब ३० अर्ब अमेरिकी डलर) पुर्याउने लक्ष्य राखेको बताएको छ ।

हालका वर्षहरूमा, एनिमे र मान्गाजस्ता सामग्रीले विश्वको ठूलो जनसङ्ख्यामा युवा दर्शकहरूलाई आकर्षित गर्न अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको रणनीतिको दस्तावेजमा जनाइएको छ ।

यी क्षेत्रहरु साथै फेसन, कस्मेटिक्स र ‘इनबाउन्ड टुरिजम’लगायतका सम्बन्धित उद्योगहरूको वृद्धिलाई मिलाएर जापानले सन् २०३३ सम्ममा ५० ट्रिलियन येनको आर्थिक लाभको लक्ष्य राखेको छ ।

यस रणनीतिमा अङ्ग्रेजी र भियतनामीलगायत भाषाहरूमा अवैध रूपमा एनिमे र मान्गा निःशुल्क वितरण गर्ने पाइरेसी वेबसाइटहरूमाथि कडा कारबाही गर्ने योजना पनि समावेश रहेको छ ।

विश्वव्यापी बजार विस्तार गर्न पाइरेसी वेबसाइटविरुद्धको उपायलाई सुदृढ पार्न आवश्यक रहेको ‘कुल जापान’ रणनीतिमा उल्लेख गरिएको छ ।

नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति मुर्मु समक्ष राजीनामा पेस

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रीपरिषद् सदस्यसहित सरकार प्रमुखका रूपमा आफ्नो पदबाट राजीनामा पेस गरेका छन् ।

राजीनामासँगै सन् २०१९ देखि २०२४ सम्म चलेको १७ औँ लोकसभा विघटनको लागि मार्ग प्रशस्त गर्नेछ ।
राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री मोदी तथा मन्त्री परिषद्लाई नयाँ सरकारले पदभार ग्रहण नगरेसम्म पुरानै जिम्मेवारी जारी राख्न निर्देशन दिएकी छन् ।

राजधानी दिल्लीमा बुधबार बसेको भारतको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई राजीनामा पेश गरी नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने निर्णयपश्चात प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकमा जुन १६ मा कार्यकाल समाप्त हुने मन्त्रिपरिषद् विघटन गर्न सिफारिस गरिएको छ ।

स्रोतका अनुसार तेलुगु देशम पार्टी (टीडीपी) र जनता दल–युनाइटेड (जेडीयू) को नेतृत्वले सरकार गठनका लागि सहयोग गर्ने सङ्केत दिएका कारण भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकार गठन र प्रधानमन्त्रीेको शपथ ग्रहण समारोह जुन ८ का लागि तय गरिएको छ ।

बुधबार अपरान्ह हुने गठबन्धनको बैठकपछि दुवै पार्टीले भाजपालाई औपचारिक समर्थन पत्र बुझाउने सहमति भएको बताइएको छ ।

भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का नवनिर्वाचित सांसदहरूको बैठक जुन ७ मा राजधानीमा हुने र सरकार गठनका लागि छलफल हुने भाजपा स्रोतले बताएको छ ।

लोकसभा चुनावको नतिजाअनुसार भारतीय निर्वाचन आयोगले ५४३ लोकसभा निर्वाचन क्षेत्रमध्ये ५४२ को परिणाम घोषणा गरेको छ, जसमा भाजपाले २४० तथा काङ्गे्रसले ९९ सिट जितेको छ ।

भाजपाले सन् २०१४ को लोक सभा निर्वाचनमा २८२ सिट र सन् २०१९ मा ३०३ सीटमा बिजय भएको भाजपाले यो बर्षको निर्वाचनमा तुलनात्मकरूपमा केही कम सीट ल्याएको हो ।

अर्कोतर्फ, काङ्ग्रेसले सन् २०१९ मा ५२ र सन् २०२४ मा ४४ सिटको तुलनामा ९९ सिट ल्याई संसद्मा प्रतिपक्षीको उपस्थितिलाई बलियो बनाएको छ । कडा प्रतिस्पर्धाबीच भएको निर्वाचनमा भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) समूहले २३० भन्दा बढी सीट ल्याउन सफल भएको छ ।

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले असार १२ गते फैसला सुनाउने

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला सुनाउने भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा बुधबार सुनुवाइ सकिएसँगै फैसला सुनाउने मिति तोकिएको अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिएका छन् ।

काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी मुद्दामा सर्वोच्चले बुधवार सुनुवाइ सकेर फैसला सुनाउने पेसी तोकेको हो । २०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटासहित संलग्न रहेको भन्दै रिट दायर गरेकी थिइन् ।

नयाँ बजेटको आकारका सम्बन्धमा पूर्वाग्रही टिप्पणी गरियोः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले विगत वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा‘आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि’सांसदहरुले उठाएका जिज्ञासाको जवाफमा उनले नयाँ बजेट गठबन्धन सरकारको साझा कार्यक्रमलाई कार्यान्वयन गर्न ल्याइएको, बजेट पूर्व अन्तर मन्त्रालयसँगको छलफल गरिएको, निजी क्षेत्रको सुझाव र सरोकारलाई सम्बोधन गरिएको बताए ।

उनले भने , “विगतका वर्षमा भन्दा पुँजीगत खर्चमा हुने वृद्धि हुने गरी लक्ष्य तय गरिएको छ, लगानीयोग्य रकमको उपलब्धतालगायतका कारणले छ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ ।”

अर्थमन्त्री पुनले लगानीमैत्री वातावरण बन्दै गएको, समग्र आर्थिक सुधार हुँदै गएका कारणले गर्दा आर्थिक वृद्धिको लक्ष्य हासिल हुने प्रर्याप्त आधार बनेको बताए ।

बजेटको आकार महत्वाकांक्षी नभइ यथार्थपरका रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले मध्यकालीन खर्च संरचनाले तय गरेको सीमाका आधारमा नै प्रस्तुत गरिएको बताए । बजेटको आकारका सम्बन्धमा पूर्वाग्राही टिप्पणी गरिएको उनको कथन छ ।

उनले भने, “बजेटमा प्रादेशिक सन्तुलन कायम गरिएको छ, आयोजना प्रमुखको सरुवा नगरी आयोजनालाई गति दिएको छ, रणनीतिक महत्वका आयोजनामा सहज रुपमा बजेट उपलब्ध गराउने गरी प्रबन्ध गरिएको छ । आर्थिक वृद्धिको सम्भावक क्षेत्र पहिचान गरी आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको र पुँजीगत खर्च वृद्धि हुन्छ । ”

सूचना प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिको वृद्धि र लगानीका कारण यस क्षेत्रबाट रोजगारीको अभिवृद्धि हुने सरकारको विश्वास रहेको उनको भनाइ छ ।

अर्थमन्त्री पुनले कृषि क्षेत्रलाई आधार वर्षका रुपमा लिँदै कृषि दशकको रुपमा अगाडि बढाउने उद्देश्यका साथ बजेट विनियोजन गरिएको जानकारी दिए ।

कृषिमा निजी क्षेत्रलाईसमेत जोडेर लैजाने लक्ष्य निर्धारण गरिएको, सामाजिक न्यायमा आधारित रहेर नयाँ चरणको आर्थिक सुधारको कार्यक्रम अगाडि बढाइएको जानकारी दिँदै उनले राष्ट्रिय गौरवका आयोजना, प्राथमिकता प्राप्त आयोजनामा बजेटको अभाव हुन नदिने बताए ।

उनले भने, “अनुगमन प्रणालीलाई थप व्यवस्थित बनाइने, निजी क्षेत्रको सहकार्यमा सबै प्रदेशमा आर्थिक केन्द्र निर्माण गरिने, नियमित दायित्वमा रहने कामका लागि अर्थमन्त्रालयमा केही बजेट राखिएको छ । ”

कोभिडपछि मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारले लिएको ऋणको साँवा ब्याज भुक्तानीका लागि बजेटमा आवश्यक प्रबन्ध गरिएको जानकारी दिँदै उनले यसमा सतर्क भने हुनैपर्ने स्पष्ट पारे । आगामी आर्थिक वर्षमा राजस्व परिचालनलाई व्यवस्थित र अनुमानयोग्य बनाउन सरकारले प्रयत्न गरेको र करका दरमा सामान्य हेरफेर गरिएको जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्चवर्षीय रणनीति तयार

काठमाडौँ ।  सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिको सुधार गर्ने उद्देश्यका साथ पञ्चवर्षीय रणनीति तय गरेको छ ।

अर्थमन्त्री अध्यक्ष रहने सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो । मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने छ । 

अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतमा मन्त्रालयमा बसेको बैठकमा समितिका सदस्यहरु कानुनमन्त्री पदम गिरी, मुख्यसचिव बैकुण्ठ अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, महान्यायाधिवक्ता दिनमणि पोखरेल, निर्देशक समितिअन्तर्गतको समन्वय समितिका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन हेर्ने सचिव लीला गर्तौला र निर्देशक समितिका सदस्यसचिव एवं अर्थ मन्त्रालयका सचिव (राजश्व) डा रामप्रसाद घिमिरे सहभागी थिए ।

चालु आर्थिक वर्ष २०८१/८२ मै कार्यान्वयनमा ल्याउन लागिएको उक्त रणनीतिको नाम ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना’ रहेको छ ।

रणनीतिले मुलुकको वित्तीय प्रणाली र समग्र अर्थतन्त्रलाई वित्तीय अपराधको जोखिमबाट संरक्षण गरी स्थायित्व प्रदान गर्ने विषयलाई जोड दिएको अर्थ मन्त्रालयका सहसचिव एवं आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यले जानकारी दिए । उनका अनुसार भ्रष्टाचार, राजस्व छली, हुन्डी र क्रिप्टो करेन्सीको कारोबारजस्ता वित्तीय अपराध न्यूनीकरणमा काम गर्नेछ । 


यस्तै लागुऔषध ओसारपसार, सङ्गठित अपराध, आपराधिक लाभ, आन्तरिक आतङ्कवाद, ठगी, चोरी, नक्कली मुद्राको कारोबार, कालोबजारी तथा तस्करी, किर्तेलगायतका अपराध नियन्त्रणजस्ता विषय पनि रणनीतिमा समावेश गरिएका छन् । सम्पत्ति शुद्धीकरण मामिलाबारे निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) र एफटीएफसँगको सहकार्यमा काम गरिरहेको एसिया प्रशान्त समूह (एपिजी)ले नेपालको सम्पत्ति शुद्धीकरणको अवस्थाबारे गत वर्ष प्राविधिक मूल्याङ्कन गरेको थियो । 


एपिजीले २०७९ असोजमा गरेको पारस्परिक मूल्याङ्कनपछि सम्पत्ति शुद्धीकरणका क्षेत्रमा नेपालले गर्नुपर्ने प्राविधिक पक्ष (कानुनी, नीतिगत र संरचनागत) सुधार तथा प्रभावकारिताको मूल्याङ्कन गरी सुझाव दिएको थियो ।  एपिजीको नेपाल सदस्य राष्ट्र हो ।


एफटिएफ र एपिजीको सुझावका आधारमा नेपालले संसद्बाट सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन गरी सकेको छ । एपिजीको प्रतिनिधि मण्डल अर्को चरणको अध्ययन गर्न आगामी असोजमा नेपाल आउँदैछ । 


ती दुवै संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी अवस्थामा सुधार गर्न विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयन गर्न र ती व्यवस्थालाई समायानुकूल परिमार्जन गर्न सुझाव दिँदै आएका छन् ।


एफटिएफले विद्यमान अवस्थामा सुधार नभए सम्पत्तिशुद्धीकरण सम्बन्धमा नेपाल जोखिम (ग्रे लिस्ट) मा पर्न सक्ने चेतावनी दिँदै आएको छ । सम्पत्ति शुद्धीकरणको ‘ग्रे’ लिस्टमा परेको अवस्थामा अन्तर्राष्ट्रियस्तरमा मुलुकको साख गिर्नुका साथै वैदेशिक सहायता, ऋण र लगानीमा कमी आउने तथा अन्तर्राष्ट्रिय बैंकिङ कारोबार चुनौतीपूर्ण हुनेछ । 


यस्तै विप्रेषण आप्रवाह घटेर हुण्डी कारोबारमा वृद्धि हुने र समग्र अर्थतन्त्रमै सङ्कट आइपर्ने खतरा रहन्छ । प्रतिनिधिसभाले संसद्को अघिल्लो अधिवेशन (२०८० माघ २४) मा ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ पारित गरेको थियो । यसमार्फत सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विभिन्न विभिन्न १९ ऐन संशोधन गरी समयानुकूल बनाइएको छ । 


विधेयकमार्फत् निकासी पैठारी (नियन्त्रण) ऐन २०१३, पानी जहाज दर्ता ऐन २०२७, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, दामासाहीसम्बन्धी ऐन २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७०, पारस्पारिक कानुनी सहायता ऐन २०७०, सङ्गठित अपराध निवारण ऐन २०७०, विद्युत् नियमन आयोग ऐन २०७४, सहकारी ऐन २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ र बीमा ऐन २०७९, मुलुकी अपराधसंहिता २०७४ र मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ संशोधन गरिएको छ  । ऐनले सम्पत्ति शुद्धीकरण सम्बन्धमा सूचना सङ्कलन, अभियोजनलगायत विषयमा प्रहरीको अधिकार क्षेत्र वृद्धि, क्यासिनोको नियमन, हुन्डी कारोबारलाई फौजदारी कसुरमा समावेश गर्नेजस्ता व्यवस्था गरेको छ । ऐनले विद्युतीय र डिजिटल माध्यमबाट हुने कारोबारलाई पनि सम्पत्ति शुद्धीकरणको दायरामा समावेश गरेको छ । ऐनको दफा ७ (ब) मा अर्थमन्त्रीको अध्यक्षतामा निर्देशक समिति रहने व्यवस्था छ ।

ऐनले निर्देशक समितिलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी नीति र कार्यक्रमको मस्यौदा तयार पार्ने, सम्पत्ति शुद्धीकरणका लागि गर्नुपर्ने काम, त्यसका लागि आवश्यक संयन्त्र निर्माणका साथै सङ्घ, प्रदेश र स्थानीय सरकारका सबै निकायबीच संयोजन र अनुगमनको अधिकार दिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन कार्यान्वयन गर्न समितिले निर्देशन दिनुका साथै कारबाहीसमेत गर्न सक्छ । यस्तै निर्देशक समितिले समन्वय समितिले पठाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नुका साथै सम्पत्ति शुद्धीकरण सम्बन्धमा वार्षिक प्रतिवेदन तयार पारी मन्त्रिपरिषद्मा पेस गर्नेछ ।

शेयर बजार सामान्य अंकले घट्यो, ३ अर्ब ९९ करोडको कारोबार

काठमाडौं । मंगलबार सामान्य बढेको शेयर बजार नेप्से बुधबार भने सामान्य अंकाले घटेको छ । बुधबार नेप्से ५ दशमलव ५८ अङ्कले घटेर २ हजार ७९ दशमलव ७१ विन्दुमा झरेको छ ।

आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर साढे ५ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज ३ सय ६ वटा कम्पनीका ८० लाख ४२ हजार कित्ता शेयर ३ अर्ब ९९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै एनआएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

नेपालका प्रधानमन्त्रीले जबसम्म यतिधेरै उदाशिनता राख्छन्, त्यो बेलासम्म बजेट काम लाग्ने डकुमेन्ट हुँदैन: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटले नयाँ चरणको आर्थिक सुधारको मार्ग चित्रण नगरेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा महामन्त्री थापाले बजेटमा प्रधानमन्त्रीले नै चासो नराखेकाले कुनै आशावादी हुने ठाउँ नरहेको बताएका हुन् । उनले सरकारले बजेटमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यको आधार नभएको बताए ।

उनले अर्थमन्त्री वर्षमान पुनले ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर गरेको दाबीको आधार माग गरे । उनले भने, ‘जुन खालको एउटा सृजनशीलता चाहिने हो, त्यो अर्थमन्त्रीमा मात्र हैन प्रधानमन्त्रीमा पनि देखिएन । बजेट निर्माण गर्दैगर्दा प्रधानमन्त्रीले कुनै चासो राखेको पाइनँ । कुनै कुरामा संलग्न भएको पाइनँ । नेपालका प्रधानमन्त्रीले जबसम्म यतिधेरै उदाशिनता राख्छन्, त्यो बेलासम्म बजेट काम लाग्ने डकुमेन्ट हुँदैन ।’

उनले बजेटबारे बोल्ने विषयमा आफू अलमलिएको बताए । महामन्त्री थापाले सरकारमा सहभागी सबैभन्दा ठूलो दलको नेताले नै बजेट माओवादी पार्टी र अर्थमन्त्रीको बताएपछि स्वामित्व कसले लिने भनेर प्रश्न गरे ।

उनले भने, ‘यो बजेटमा गठबन्धनको मुख्य दल एमालेका जर्साब, कर्साबहरूले के भन्नुभयो भन्ने मेरो धेरै टिप्पणी छैन । तर, प्रधानसेनापतिले नै यो बजेट हाम्रो होइन, रंग मिल्दैन भनेपछि यसको स्वामित्व कसले लिन्छ ?’

महामन्त्री थापाले संसदमा धेरै उथलपुथल भएको भन्दै ६/८ महिनापछि आफैँले काँध हाल्नुपर्ने हुनसक्ने टिप्पणी गर्दै बजेटबारे अर्थमन्त्रीलाई प्रश्न मात्रै गर्दा जोगिने अवस्था नरहेको बताए ।

उनले बजेटमा राजस्वको अनुमान १४ खर्ब १९ अर्ब राखिएको र लिएको लक्ष्य सबैभन्दा उच्चवृद्धि हुनुपर्ने बताए । करिब ३४ प्रतिशत वृद्धि भएमात्रै सरकारले लिएको लक्ष्य भेटिने जिकिर गरे ।

उनले एउटै पार्टीको अर्थमन्त्री र अर्थ सचिव उही हुँदा करका विषयमा वर्षैपिच्छे फरक आउँदा आशंका गर्ने ठाउँ प्रशस्त रहेको पनि बताए ।

उनले भने, ‘चाहे आलु प्याजको विषय होस्, चाहे ईभीको कुरा होस्, चाहे स्पन्ज आइरनको विषय होस्, त्यो अर्थ मन्त्रालयका केही मान्छे कुनामा बसेर करका दर चलाउने विषय होइन । कुनमा कर छुट दिने कुनमा लगाउने भन्ने विषय दुई चारजना मान्छे बसेर गर्ने कुरा होइन, यसमा प्रश्नहरू छन्, आशंकाहरू छन् । अहिलेका अर्थमन्त्रीकै पार्टीका अर्का नेता अर्थमन्त्री भएका बेलामा र अहिलेकै अर्थसचिव सचिव भएका बेला स्पन्ज आइरनमा भन्सार सहुलियत दिइएको थियो । त्यसबेला यही संसदमा ठूलो छलफल भएको थियो । त्यसबेला निजी क्षेत्रले ३४/३५ अर्ब लगानी गर्छ त्यही भएर यो दर कायम गरेको भनियो । त्यसपछि निजी क्षेत्रले लगानी पनि गर्यो ।आज अर्थमन्त्री त्यही पार्टीको हुनुहुन्छ, सचिव त्यही हुनुहुन्छ, नीति चाहिँ बदलियो । नीतिगत स्थायित्व भन्ने केही हुँदैन ? भोलि अर्को अर्थमन्त्री आउनुहुन्छ, उहाँलाई सनक चढ्यो, फेरि पहिलेजस्तै बनाइदिन्छु भन्न पाउने कि नपाउने ?’

उनले चिनियाँ गाडीको विषयमा बजेटमा राखिएकोबारेमा स्पष्ट पार्न आग्रह गरे । उनले भने, ‘चिनियाँ गाडीको बारेमा विधेयकमा किन घुसाउनु भएको हो, जान्न चहान्छु ।’

उनले अहिले नेपालको अर्थतन्त्रलाई कडा रोग लागेको भन्दै यसको उपचार सबै मिलेर खोज्नुपर्ने बताए । उनले भने, ‘अर्थतन्त्रमा कडा रोग लागेको छ । यो रोग रातारात लागेको हैन । यसमा हामी सबै जिम्मेवार छौँ । म कसैलाई दोष चिन चहान्नँ । यो संरचना नबदलिकन हुँदैन ।’

पूर्वाधार विकासमा आवश्यक लगानी हुन नसक्दा विकासका आयोजना नै अधुरा रहेको सांसद थापाको भनाइ छ । खर्चको गुणस्तर र पूर्वाधार निर्माणपछि गुणस्तरीय पक्षलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

‘आगामी आर्थिक वर्षमा  सिक्टा आयोजनाका लागि रु तीन अर्ब रकम माग भएकामा  एक अर्ब ६० करोड विनियोजन भएको छ, अब यो आयोजना बन्न वर्षौं लाग्छ’, उनले भने, ‘सिँचाइ आयोजनामा लगानी घटाएर कृषि दशकको लक्ष्य हासिल गर्न सकिँदैन ।’

पुल नबन्दा लोकमार्गको यात्रा असहज

पर्वत / पूर्व–पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि यहाँ पर्ने चारवटा खोलामा पुल नबन्दा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । पर्वत खण्डअन्तर्गत विभिन्न खोलामा चारवटा मोटरेवल पुल निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म एउटा पनि पूरा हुन सकेको छैन ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका अनुसार लोकमार्गको पर्वत खण्डमा रहेका तमादी खोला, सुन्दरेखोला, पातीखोला र मोदी खोलामा चारवटा मोटरेवल पुल निर्माणको तयारी छ । पोखरा–कुश्मा सडक खण्डअन्तर्गत करिब २४ किलोमिटर खण्डमा पर्ने खोलामा पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या हुँदै आएको छ ।

कुश्मा नगरपालिका–७ र ८ को बीचमा पर्ने तमादी खोलामा पुल निर्माण भइरहेको कार्यालयका इन्जिनियर धिरज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ । रु छ करोड लागतमा निर्माण हुन लागेको उक्त पुलको श्री सिद्ध बाबा निर्माण सेवा वालिङले जिम्मा लिएको छ ।

तमादी खोलामा वर्षातको समयमा अत्यधिक बाढी आउँदा सडक भत्किएर मानवीय र भौतिक क्षति हुँदै आएको छ । यो खोलामा गत भदौमा आएको बाढीले बोलेरो जीप बगाउँदा तीनजनाको मृत्यु भएको थियो ।

इन्जिनियर ढकालका अनुसार यो पुलसँगै अन्य तीनवटा मोटरेवल पुल पनि निर्माण भइसक्नुपर्नेमा अहिलेसम्म सुरु भएका छैनन् । कुश्मा–८ मा पर्ने सुन्दरे खोलाको पुल निर्माणका लागि डिजाइन स्वीकृत भइसकेको छ । करिब ८० मिटर लामो पुलको जिम्मा लुम्बिनी प्राकृतिक जेभीले लिएको छ । पुल निर्माणका लागि ठेकेदार कम्पनीले कामदार खटाइसकेको बताए पनि अहिलेसम्म काम सुरु भएको छैन ।

उक्त कम्पनीले मोदी गाउँपालिकाको पातीखोला र डिमुवास्थित मोदीखोलामा पनि पुल निर्माण गर्न लागेको हो । मोदीखोलामा ६२ मिटर र पातीखोलामा हाल भइरहेको पुलको दुवैतर्फ ५२/५२ मिटर लामो दुईवटा पुल निर्माण हुनेछन् । उक्त पुलको डिजाइन स्वीकृतिमा ढिलाइ भएकाले निर्माणले गति लिन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

निर्माण कम्पनीले बागलुङको काठेखोलामा पनि मोटरेवल पुल बनाउन लागेकाले सबै पुलको लागत रु ४४ करोड १५ लाख रहेको कार्यालयका इन्जिनियर ढकालले जानकारी दिए।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको दुई वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका सिङ्गल लेनका पुलले सवारीको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

हुरीले मकै बालीमा क्षति

खोटाङ । वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति र्पुयाएको छ । मङ्गलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति र्पुयाएको हो । पसाउन लागेको मकैको बोट हुरीले ढाल्दा लाखौँको क्षति भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हर्कराज राईले बताए । “यस क्षेत्रको प्रमुख बाली मकै हो । पसाउन थालेको मकैको बोट मङ्गलबार आएको हुरीले सोत्तर पारेको छ”, उनले भने, “उत्पादन दिने बेला बोट नै ढलेर क्षति भएपछि कृषक चिन्तित बनेका छन् ।”

मङ्गलबार दिउँसो आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पु¥याएको भन्दै क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए । उनका अनुसार दश स्थानीय तह रहेको जिल्लामा ३९ हजार आठ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गर्ने गरिएको छ ।

हुरीले साकेला गाउँपालिका–२ रतन्छास्थित टाँकीबारी आधारभूत विद्यालयमा क्षति गरेको प्रहरीले जनाएको छ । ढुङ्गामाटोले बनेको तीन कोठाको एकतले जस्तापाताले छाएको छाना उडाउँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । खाजा खाने समयमा घटना भएकाले मानवीय क्षति हुनबाट जोगिएको विद्यालयका प्रधानाध्यापक केशव बस्नेतले बताए । उनका अनुसार हुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित बनेको छ ।

कक्षा–५ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हुरीले क्षति र्पुयाएपछि कक्षा पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्न आज विद्यालय व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ । सोही वडाको पीपलडाँडा आधारभूत विद्यालयमा पनि हुरीले क्षति गरेको छ ।

दुर्घटना न्यूनीकरणका लागि सबै तहतप्काबाट पहल हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

तनहुँ / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक दुर्घटना न्यूनीकरणका लागि सबै क्षेत्रबाट सकारात्मक पहलकदमी हुनुपर्नेमा जोड दिएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा कास्कीको आयोजनामा आज तनहुँको शुक्लागण्डकी–४ दुलेगौँडामा भएको सवारी दुर्घटना व्यवस्थापन नमूना अभ्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताएका हुन्।

“दुर्घटना न्यूनीकरणका लागि सबै तहतप्काबाट पहल हुनुपर्छ”, मुख्यमन्त्री पाण्डेले भने, “त्यसैले दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशमा सचेतना फैलाउने कार्यमा प्रदेश सरकार जुटेको छ ।”सवारी दुर्घटनामा ट्राफिक प्रहरीले कसरी घाइतेको उद्वार गर्छ भन्ने बारेमा नमूना अभ्यास गरिएको थियो । अभ्यासका क्रममा प्रहरी र स्थानीय सहभागी भएका थिए । दुर्घटनामा मृतकका परिवारले क्षतिपूर्तिका लागि गर्ने आन्दोलनले असहज परिस्थिति सृजना हुनसक्ने समेत नमूना अभ्यासमा देखाइएको थियो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नागरिक समाज र विद्यार्थीलगायतको उपस्थिति थियो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सवारी दुर्घटना न्यूनीकरणका लागि सडक, सवारी र चालकको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले प्रहरीले जहिले पनि समाजमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि अग्रसर रहँदै आएको बताए । नेपालमा सडकको विकल्प नभएकाले सवारीसाधन दुर्घटना दर उच्च रहेको उनको भनाइ छ । मुलुकमा प्रत्येक वर्ष दुई हजार छ सय जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने र १५ हजार घाइते हुने गरेको तथ्याङ्क उनले प्रस्तुत गरेका थिए ।

मुलुकको आर्थिक बृद्धिदर ६ प्रतिशत हुने सरकारको अनुमानको आधार अर्थमन्त्रीले प्रष्ट पार्नुपर्छ : महामन्त्री थापा

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकको आर्थिक बृद्धिदर ६ प्रतिशत हुने सरकारको अनुमानको आधार अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा मुलुकको आर्थिक बृद्धिदरको अनुमान मौसमको अनुमान गरेजस्तो नभएको भन्दै सरकारले लिएको आर्थिक बृद्धिदरको लक्ष्य पुरा हुने आधारबाट अर्थमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

आर्थिक गतिविधि संकटका अवस्थामा सरकारले लिएको राजस्वको लक्ष्य पुरा हुनेमा आशंका रहेको उनको भनाइ छ । उनले राजस्वको लक्ष्य भेट्ने आधारका बारेमा पनि प्रष्ट पार्नुपर्ने बताए । थापाले राष्ट्रिय गौरवको आयोजनाहरुमा अन्त्य न्यून बजेट बिनियोजन गर्दा दशर्कौसम्म पनि पुरा हुन अवस्था नदेखिएको धारणा राखे । पूँजीगत खर्चको योजनाका बारेमा पनि अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।

गठबन्धनको मुख्य दल एमाले अध्यक्षले नै बजेटसंग रंग मिल्दैन भन्दै दायित्वबाट पन्छिन खोजेको उनले बताए । उनले मुलुकको राजनीतिक समिकरण परिवर्तन भइरहने हुँदा केहि समयपछि बजेट आफैले काँध हाल्नुपर्ने अवस्था आउन सक्ने भएकाले अर्थमन्त्रीलाइ सामान्य प्रश्नमात्रै सोध्ने भन्दै कटाक्ष गरे ।

महामारीका रुपमा फैलिँदैछ तनाव

एलपि भानु शर्मा

विश्वका अनेक प्राणीहरुमध्ये मानव जाति चेतनशील र सामाजिक प्राणी भए पनि यसभित्र उत्पन्न हुने तनावले सबैभन्दा बढी समस्याग्रस्त बन्दै गएको छ । तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गर्दछ । समयमा तनाव व्यस्थापन नगर्नाले हाम्रा दैनिक जीवनमा धेरै असहज अवस्था आउन सक्छ । तनाव विश्वकै ठूलो महामारीका रुपमा लिने गरिएको छ । मानिसलाई जस्तोसुकै रोगहरु पनि लाग्न सक्छ, त्यसको समयमै उपचार हुन सके निको पनि हुन्छ तर तनाव आएपछि सजिलैसँग त्यसबाट मुक्ति पाउन सकिँदैन ।

विश्व स्वास्थ्य सङ्गठनले तनावलाई जटिल स्वास्थ्य समस्याका रुपमा लिएको छ । तनावमा रहेको व्यक्तिले न राम्ररी सोच्न सक्छ, न बोल्न नै । यसका कारण उसको अरू व्यक्तिसँगको सम्बन्ध पनि बिग्रँदै जान्छ । त्यसैले अहिले मानिसको सबैभन्दा ठूलो समस्या भनेकै तनाव हो । मानिसको शरीरमा लाग्ने रोगको ७० देखि ९० प्रतिशत रोगहरु तनावकै कारण लाग्ने गर्दछ । तनावकै कारण स–साना व्यक्तिगत समस्यादेखि विश्वमा ठूलाठूला युद्ध, आतङ्कवादी घटनाहरु हुने गरेका छन् । तनावको समस्या पहिल्याउनु नै अहिलेको मुख्य चुनौती बनेको छ ।

पश्चिमा देशहरुले तनाव व्यवस्थापनका लागि थुप्रै कार्यक्रम ल्याएका छन् । अमेरिकामा कुनै एउटै संस्थाले चालिस वर्षको बजेट बराबर खर्च गर्ने नभएर कूल तनाव व्यवस्थापनमा निजी क्षेत्रले गर्ने रकम नेपालको बजेटको ४० गुणाभन्दा बढी हुन्छ तर परिणाम शून्य छ । त्यसैले तनाव व्यवस्थापन खर्चिलो मात्र नभई समस्याको निदान नहुने भएकाले यसबाट पहिले नै सतर्क हुन आवश्यक छ । मानिसले आफ्नो दैनिक बानीमा केही परिवर्तन गर्नाले तनाव कम गर्न मद्दत पुग्न सक्छ ।

तनावका मुख्य कारण 

आज हरेक व्यक्ति कुनै न कुनै तनावबाट ग्रस्त छ । तनावको मूल कारण जीवनमा जुन परिवर्तन आएको छ, त्यसलाई आत्मसात गर्न नसक्नु हो । समय क्षणक्षणमा बदलिएको छ तर हामी पुरानो सोच र आग्रहबाट ग्रसित छौँ । जसले गर्दा तनाव सृजना हुने गर्दछ । मानव जीवनको मूल लक्ष्य भनेकै खुसी हुनु हो । खुसी हुन नसक्नु तनावमा जानु हो । 

धेरै डिजिटल उपकरणहरूको प्रयोग गर्नु, निरन्तर रक्सी पिउनु, धेरै क्याफिन उपभोग गर्नुले पनि मानिसको जीवनमा थप तनाव ल्याउने गर्दछ । अर्को कुरा मानिसले समयको सही सदुपयोग गर्न नसक्दा पनि तनाव सृजना हुने गर्दछ । अर्काको इष्र्याले पनि तनाव सृजना गर्दछ । मानिसमा इष्र्या भावले गर्दा सम्बन्धमा दरार आउने गरेको छ । इष्र्यामा अरुलाई दबाउन खोजिन्छ । अरुभन्दा धनी कसरी बन्ने, म नै राम्रो हुँ भन्ने भाव बढ्नु उपभोक्तावादी र प्रतिस्पर्धात्मक संस्कारको उपज हो । 

तनाव व्यवस्थापनका उपाय

तनाव व्यवस्थापन गर्ने एउटा राम्रो उपाय भनेको अध्यात्म हो । अध्यात्मलाई ध्यान र योगसँग जोड्न सकिन्छ । जीवनमा आएका चुनौतीहरुको समाधान गर्न सक्ने क्षमता घट्न गएमा तनाव हुने गर्दछ । जस्तो भनौँ कि कुनै चुनौती हाम्रा अगाडि आयो, त्यसलाई एक सय अङ्क दियौँ । त्यो चुनौतीको सामना गर्न सक्ने हामीसँग ४० बराबरको क्षमता छ भने नपुग ६० अङ्क भनेको तनाव हो । त्यसैले ६० अङ्कलाई घटाउन हाम्रो क्षमतालाई बढाउँदै लैजानुपर्छ । जति मात्रामा बढाउँदै लैजान सकिन्छ तनाव त्यति नै घट्दै जान्छ । परिस्थितिलाई बदल्न सकिँदैन, तर मनस्थितिलाई बदल्न सकिन्छ । जीवनमा चुनौतीहरु आइरहन्छन्, त्यसलाई तनावका रुपमा लिने होइन, त्यसको समाधानका लागि हामीले हामीभित्र रहेको क्षमतालाई बढाउँदै लैजानुपर्छ । म गर्न सक्छु भन्ने आत्मविश्वास जागृत भएमा जस्तोसुकै चुनौती पनि सजिलै समाधान गर्न सकिन्छ । त्यसलै मानिसभित्र जीवनको बोध हुनुपर्छ । शरीर, मन र चेतनालाई दुरुस्त राख्नुपर्छ । शरीरलाई ऊर्जाशील र स्वस्थ बनाइराख्नुपर्छ । 

मानिसको शरीरमा इन्डोर्फिन रस नामक हर्मोन जन्मन्छ, यो जति बढी भयो, तनाव कम हुँदै जान्छ । हरेक दिन आधा घण्टा मात्रै व्यायाम ग¥यो भने पनि त्यस्तो हर्मोन बढ्न जान्छ र मानिस तनावमुक्त हुन्छ । त्यस्तै मनमा भएका तनाव हटाउन हरेक दिन गरिने प्राणायाम एउटा प्रभावकारी विधि हुनसक्छ । यसमा नमस्कार विधि निकै प्रभावकारी देखिएको छ । यो विधि हाम्रा ऋषिमुनिहरुले हजारौँ वर्षदेखि अभ्यास गर्दै आएका छन् । 

यसैगरी ध्यानले पनि तनावलाई जरोदेखि नै उखेल्न मद्दत गर्दछ । त्यसबाहेक जीवनमा मैले जित्नैपर्छ भन्ने भावनालाई पनि त्याग्नुपर्छ । हारलाई सहिज रुपमा स्वीकार गर्ने व्यक्ति सधैँ तनावमुक्त रहन्छ । यसलाई हारले हराउन सक्दैन, बरु जित्नका लागि थप बद पुग्दछ । त्यसलै भनिन्छ नि, असफलता नै सफलताको सिँढी चढ्नु हो । किनकि हारले मन मष्तिस्कलाई कमजोर बनाउँदैन । जसरी कुनै खेलाडीले आज खेलमा पराजय भोग्नु परे पनि अरूको सफलतामा रमाउँछ र भोलि विजय हुने अठोट राख्छ ।

सम्बन्धमा जहिले पनि लिनु र दिनुभन्दा सकारात्मक सम्बन्ध बनाइराख्न जोड दिनुपर्छ । अरूलाई स्वीकार गर्ने व्यक्तिले मात्रै सम्बध बनाउन सक्छ । आज हाम्रा कार्यालय, अफिसहरुमा यही सम्बन्धको अभाव रहेका कारण आपसमा द्वन्द्व, बेमेल र अविश्वास झाँगिदो छ । अहिले हरेक व्यक्ति वा कार्यालयका प्रमुखहरुले आर्थिक मन्दीलाई मुख्य समस्या देखाउने गरेका छन् । वास्तवमा त्यो भन्नु आफूले आफ्नो क्षमतालाई बढाउनेतर्फ बेवास्ता गर्नु हो । आफू र आफ्ना मातहतका कर्मचारीहरुलाई कम्तीमा तीन महिनामा एकपटक तनावमुक्त गर्ने तालिम दिन सकिएमा प्रतिफल राम्रो आउनेछ । मानव संसाधनमा लगानी गर्नु भनेको क्षमतामा लगानी गर्नु हो । अब कार्यालयहरुमै ध्यान, प्राणायाम गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । ध्यानले अल्पकालीन तनावबाट राहतका साथै दिगो तनाव व्यवस्थापनका फाइदाहरु ल्याउँछ भने योगले शारीरिक ध्यान, हल्का व्यायाम र नियन्त्रित श्वास फेर्ने प्रक्रियालाई संयोजन गर्छ । योगले तनावको दीर्घकालीन व्यवस्थापनमा सहयोग गर्छ । योगले विभिन्न प्रकारका शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक लाभहरू प्रदान गर्छ ।

त्यस्तै स्वस्थ आहारले लामो समयसम्म तनावसँग लड्न मद्दत गर्न सक्छ । काम गर्ने भनेको मानिसले हो, यसलाई नै स्वस्थ बनाउन सकिएन भने कुनै सकारात्मक परिणाम आउन सक्दैन । शारीरिक गतिविधि तनाव व्यवस्थापन र मानसिक स्वास्थ्य सुधार गर्नका लागि महत्वपूर्ण छ । तनाव व्यवस्थापन गर्न हिँड्ने, जिम जाने, पौडी खेल्ने जस्ता शारीरिक व्यायाम गर्न सकिन्छ । सवारी साधान चढ्ने व्यक्तिले पनि सम्भव भएसम्म हप्तामा एक वा दुई दिन मात्रै भए पनि हिँडेर घर कार्यालय आउजाउ गरेमा घर वा कार्यालयको तनाव धेरै नै कम हुन सक्छ ।  

समय व्यवस्थापन अर्थात् समयभित्र आफू व्यवस्थित रहनु भनेको समस्या आउन नदिनु हो । समय व्यवस्थापनका लागि हरेक दिन बिहान योजना बनाएर काम गर्नुपर्छ । योजनासँगै लक्ष्य राख्नुपर्छ भने आफ्नो काम सम्पन्न गर्नका लागि ध्यान दिनुपर्छ । कुनै गाह्रो काम भए त्यसलाई पन्छाएर नभई पहिले नै गरेर सक्नुपर्छ । अनावश्यक रुपमा समयलाई बर्बाद हुन दिनु हुन्न । समयको सदुपयोगले तनावलाई रोक्न मद्दत गर्छ । हरेक व्यक्ति ब्रह्माण्ड हो, यसको जन्म अरूलाई हराउन होइन, जिताउन सक्छु भन्नेमा यसको ध्यान जानु पर्दछ । आफूभित्रकै क्षमता जागृत गरी प्रत्येक व्यक्तिले प्रगति गर्न सक्छ । कसैसँग प्रतिस्पर्धा गरिरहनु नै पर्दैन । इष्र्या, वैमनष्य नराखी आफ्नो क्षमता उपयोग गर्न सकिएमा तनाव स्वतः कम हुन्छ । 

(जीवन विकास विशेषज्ञ शर्मासँग गरिएको कुराकानीमा आधारित)

अष्ट्रेलियाको आर्थिक वृद्धिदर १.१ प्रतिशतले बृद्धि

अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) ०.१ प्रतिशत र मार्चको अन्त्यसम्म १२ महिनामा १.१ प्रतिशतले बढेको छ ।

यो डिसेम्बर २०२० मा समाप्त १२ महिनाको अवधिपछि वार्षिक वृद्धिको सबैभन्दा सुस्त दर हो । तुलनात्मक रूपमा, अष्ट्रेलियाको कुल गार्हस्थ उत्पादनको अन्तिम तीन महिनामा ०.२ प्रतिशत र डिसेम्बर २०२३ मा १.५ प्रतिशतले बढेको छ । विवरणबारे कोषाध्यक्ष जिम चाल्मर्सले बजारको मध्यम वृद्धिको अपेक्षाभन्दा कम भएको जनाएका छन् ।

कमजोर वृद्धिको प्राथमिक कारण उच्च ब्याज दर, मध्यम तर निरन्तर मुद्रास्फीति र चलिरहेको विश्वव्यापी अनिश्चितता लगायत भएको उनले बताए ।

यद्दपी उनले घरेलु र विश्वव्यापी परिस्थितिका वृद्धि स्वागतयोग्य भएको बताएका छन् । एबीएसका अनुसार प्रतिव्यक्ति आधारमा आर्थिक गतिविधिको मापन गर्ने प्रतिव्यक्ति आयमा सन् २०२४ को पहिलो त्रैमासिकको सुरूसम्मको लगातार पाँचौँ त्रैमासिकसम्म गिरावट आएको छ । यो गत बर्षको सुरूदेखि यो बर्षको सुरूसम्मको अवधिमा लगातार १.३ प्रतिशतले घटेको छ ।