`

थप पहिरोको जोखिम देखिएपछि पपुवा न्युगिनीको पहिरोस्थलमा उद्धार कार्य बन्द

पपुवा न्युगिनीको पहिरोमा पुरिएका सयौँ गाउँलेको खोजीका लागि खटिएको सेनाले बुधबारदेखि उद्धार कार्य रोकिएको जनाएको छ ।

‘थप पहिरो आउने जोखिमका कारण शव निकाल्ने सबै प्रयास स्थगित गरिएको छ,” मेजर जो अकुले भने । “यो अवस्थामा उद्धारका लागि तत्काल कुनै सम्झौता हुँदैन’, उनले भने, ‘बाँचेकाहरूको प्रियजनहरूलाई पुनःप्राप्त गर्ने आशामा धक्का लागेको छ ।’

घटनास्थलको रेखदेख गरिरहेका एक प्रमुख सैन्य अधिकारी अकुले पहाडी पहिरोस्थल क्षेत्रलाई ‘सबैका लागि प्रवेश निषेध क्षेत्र’ घोषणा गरेका छन् । यसलाई अर्को सूचना जारी नभएसम्मका लागि समुदाय र अधिकारीको प्रवेश निषेधसहित घेराबन्दी गरिनेछ ।

पपुवा न्यू गिनीको सरकारले एङ्गा प्रान्तको पहाडी दुर्गम वस्तीलाई विस्थापित गरेको ६०० मिटर लामो पहिरोस्थलमा कम्तीमा दुई हजार व्यक्ति पुरिएको हुन सक्ने अनुमान गरेको छ । अहिले उद्धारको प्रयास बन्द भएकोले विपत्तिको कारण वास्तविक कति जनाको मृत्यु भयो भन्नु अनुमान मात्र हो ।

‘यो चरणमा घटनास्थलमा रहनु र उद्धार कार्य जारी हुनु धेरै खतरनाक छ । यो मैले देखेको सबैभन्दा घातक र ठूलो पहिरो हो,’ उनले भने । पपुवा न्यू गिनी विश्वको सबैभन्दा बढी विपद् जोखिमयुक्त क्षेत्रमध्ये एक हो र यसको उच्च भूमिमा पहिरो जानुलाई अत्यन्तै सामान्य मानिन्छ ।

पपुवा न्यु गिनीको पहिरो तथा भौगोलिक विपद् नियन्त्रण विभागको मङ्गलबार एएफपीले प्राप्त गरेको प्रतिवेदनमा ‘निकट भविष्यमा’ उक्त स्थानमा थप पहिरो जाने उच्च सम्भावना रहेको उल्लेख गरिएको छ ।  प्रतिवेदनमा गाउँलेहरूको स्थानान्तरणमा ‘कुनै सम्झौता हुन नहुने’ तर पुनःस्थापनाको प्रयासले पहिरोस्थलमा अर्को पहिरो निम्त्याउन सक्ने जोखिम रहेको कारण उद्धार कार्य स्थगन गर्नुको विकल्प छैन ।’

विशेष गरी, हालसालै आइपुगेको हेभी मेशिनरीको प्रयोगले माथि थुप्रिएका ढुङ्गाहरू खस्न सक्ने जोखिमपछि उद्धार कार्यलाई रोकिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘मेसिनबाट निस्कने गति वा कम्पनले यी ढुङ्गाहरू सर्ने र खस्ने सम्भावना बढेपछि तत्कालका लागि उद्धार कार्य रोमिएको छ ।’

जोखिमका कारण वरपरका समुदायलाई सुरक्षित स्थानमा सारिएको र धेरैले नजिकैको ‘आश्रयस्थलमा’ मा शरण लिएको अकुले बताए । उनीहरू बाँच्नका लागि सहयोगी सङ्घसंस्था वा साझेदार मुलुकबाट प्राप्त हुने सहायतामा भर परिरहेका छन् ।

यद्यपि, घटनास्थलको दुर्गम स्थानको कारण सहायता प्रयासमा गम्भीर रूपमा बाधा पुगेको छ । नजिकैको आदिवासी हिंसा र पहिरोले प्रमुख सडक सम्पर्कहरू विच्छेद गरेको छ । अकुका अनुसार भग्नावशेषमा पुरिएकाहरूको सम्भावित स्मारकबारे समुदाय र स्थानीय अधिकारीहरूसँग छलफल भइरहेको छ ।

बाइडेनद्वारा अवैध रुपमा सीमा पार गर्ने आप्रवासी नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

अधिकारीहरूले सीमा क्षेत्रमा आप्रवासीको भीड भएको बताएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अवैध रूपमा दक्षिणी सीमा पार गरी शरण खोज्नेहरूमाथि प्रतिबन्ध लगाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

वरिष्ठ प्रशासन अधिकारीले बताएअनुसार ‘बाइडेनले लामो समयदेखि विचार गर्दै आउनुभएको यस विषयमा प्रभावकारी सीमा नियन्त्रणले एकै पटकमा अमेरिका–मेक्सिको सीमामा प्रवेश गर्ने बन्दरगाहमा लगातार सात दिनसम्म औसत प्रति दिन दुई हजार ५०० अवैध आप्रवासी भित्रिने समस्या निर्मुल हुनेछ ।

यो हालको गम्भीर विषय भएकाले आदेश हस्ताक्षर भएपछि तुरुन्तै लागू हुने र जतिसक्दो छिटो आप्रवासीहरू फिर्ता गर्न सीमा अधिकारहरूलाई सशक्त निर्देशन दिइनेछ, ह्वाइट हाउस सम्वद्ध एक अधिकारीले पत्रकारलाई जानकारी गराए ।

मङ्गलबारको यो कार्यकारी आदेशभन्दा पहिले संयुक्त राज्य अमेरिकामा शरण खोज्ने अवैध आप्रवासीलाई सामान्यतया अस्थायी रूपमा देशमा प्रवेश गर्न अनुमति दिइन्थ्यो । नयाँ निर्देशनअनुसार लगातार सात दिनसम्म दैनिक सीमा पार गर्नेको सङ्ख्या एक हजार ५०० वा सोभन्दा कम रहे दुई हप्तापछि अमेरिकामा शरण खोज्नेहरूका लागि सीमा पुनः खुल्नेछ ।

बालबालिका तथा मानव बेचबिखनका पीडितहरूलाई भर्खरै घोषणा गरिएका प्रतिबन्धहरूबाट छुट दिइएको छ । तथापि यस्तो छुटले सम्भावित रूपमा सीमानामा खतरनाक यात्रा गर्ने बालबालिकाको तीव्र वृद्धि हुनेमा आप्रवासनमामिला हेर्ने अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।

कार्यकारी आदेशलाई देशको बिग्रदो आप्रवासन प्रणालीबारे मतदाताहरूको चिन्ता कम गर्न लिइएको चुनावी कदमका रूपमा हेरिएको छ । राष्ट्रपति बाइडेनको हालसम्मको कार्यकालमा आप्रवासन नीतिको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको राष्ट्रिय सुरक्षा खर्चमा खुला सीमालाई मौलिक रूपमा सहयोग गरेको भन्दै उनी लगातार रिपब्लिकनहरूको आलोचनाको बिषय बनेका छन् ।

बजेट विगतको जस्तै निरन्तर, कार्यान्वयन नहुने खालकोः सांसद गिरी

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद दीपक गिरीले बजेट जति नै आए पनि देशमा केही नहुने टिप्पणी गरेका छन् ।

बुधबारको प्रतिनिसिभामा बजेटमाथिको छलफलमा उनले हरेक वर्ष बजेटमा ठूला ठूला कुरा लेखिएपनि त्यसको कार्यान्वयन नहुने भन्दै बजेटहरु आउँछन् जान्छन् तर देशमा केही नहुने बताए ।

उनले भने, ‘बजेटहरु प्रस्तुत हुन्छन्, बजेटहरु आउँछन् जान्छन्, मुलुकमा केही हुँदैन । चाहे त्यो विष्णु पौडेल, जनार्दन शर्मा, प्रकाश शरण महत ल्याएको बजेट अथवा अहिले आएको बजेटको कुरा गरौं केही हुनेवाला छैन । हरेक वर्ष बजेटमा ठूला कुरा आउने गरेको छ । कृषि मलको कारखाना, निमार्णका योजना धेरैपटक आए केही भयो कहाँ गयो त्यो सरकारको बचन ।’

यस्तै, उनले बजेटमा आवश्यक बजेट व्यवस्था, आवश्यक बजेट विनियम र आवश्यक रकम व्यवस्था गर्ने भन्ने तीन वटा शब्दहरु जस्तो तरिकाले प्रस्तुत गरिएको हुन्छ त्यो व्यवहारमा कहिले पनि लागू नहुने बताए ।

उनले भने, ‘बजेटमा एउटा कुरा नराम्रो तरिकाले उल्लेख हुन्छ त्यो शब्द आवश्यक बजेट व्यवस्था गरिने छ, बजेटमा बडो शब्द आउँछ । आवश्यक बजेट विनियम गर्छु, आवश्यक रकम व्यवस्था गर्छु यी तीन वटा शब्दहरु छ । बजेटमा सातै प्रदेशमा सुविधासम्पन्न वृद्धा आश्रमको स्थापना गरिने छ । भनेरे बडो गहकिलो शब्द उल्लेख गरिएको छ । हेर्छु मैले एक वर्षपछि यो बन्छ कि बन्दैँन् ।’

मनसुन पूर्वतयारीका लागि अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ स्थापना

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो वर्षको मनसुनबाट हुनसक्ने सम्भावित क्षति न्यूनिकरण गर्न र विपद्जन्य जोखिमका घटनामा तत्काल राहत उद्धार कार्यका लागि अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ स्थापना गरेको जानकारी दिएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा यो वर्ष मनसुनबाट हुनसक्ने सम्भावित क्षति र जोखिमको विवरण उल्लेख गर्दै उनले गृह मन्त्रालय र मातहत निकाय मनसुनको सामना गर्न तयारी अवस्थामा रहेको बताए ।

यसका लागि निरन्तर एक महिना अघिबाटै मन्त्रालयले कार्ययोजना बनाइरहेको बताएका उनले कार्यकारी समितिको मंगलबार बसेको बैठकले मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्मका लागि गृह मन्त्रालय अन्तर्गको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको सहसचिवको नेतृत्वमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको स्थापना गर्ने निर्णय गरेको जानकारी सदनलाई गराए । जसमा सबै सुरक्षा निकाय र विपद व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालय र विभागका प्रथम श्रेणीका अधिकारीहरुले कार्य गर्नेछन् ।

गृहमन्त्री लामिछानेले भने, ‘कमाण्ड पोस्टले मौसम पूर्वानुमानको जानकारी लिई जोखिमको आँकलन गरी प्रभावका आधारमा पूर्व तयारी र विपद्घा घटनापछिको प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्न गराउन वान्स स्टप्स सेन्टरको रुपमा संयोजनकारी भूमिका खेल्ने छ । यसै पोस्टले विपद् व्यवस्थापनका लागि परिचालित हुने सरकारी, गैर सरकारी एवं वैदेशिक सहयोगबाट प्राप्त हुने सामग्रीको परिचालनमा पनि समन्वय गर्नेछ ।’

मन्त्री लामिछानेले आवश्यक पर्दा कमाण्ड पोस्टले गृहमन्त्री देखि प्रधानमन्त्री सम्मलाई प्रतयक्ष समन्वयन गर्न सक्ने गरी अधिकार सम्पन्न बनाइएको बताएका छन् ।

‘कमाण्ड पोस्टले अन्य कुनै स्थानमा समन्वय गर्नु परेमा पनि सो कार्य गर्ने बताएका उनले उक्त पोस्टलाई तत्काल कार्यान्वयनमा ल्याइएको जानकारी दिँदै भने, ‘काँही कतै समन्वयनको अभावको कारणले गर्दा सामग्रीहरु नजाने, पैसाको निकासी नहुने, कुरामा विगतमा भएका अनुभवबाट सिकेर कमाण्ड पोस्टलाई पूर्ण अधिकार प्रदान गरिएको छ । यसले आवश्यक पर्दा गृहमन्त्री, सचिव र आवश्यक परे प्रधानमन्त्रीसँग समेत समन्वयन गर्न सक्ने गरी अधिकार सम्पन्न बनाइएको छ,’ लामिछानेले भने ।

विपद्का सूचना लिनदिन कमाण्ड पोस्टले आजैबाट काम थालिसकेको बताएका मन्त्री लामिछानेले चौविसै घण्टा ११४९ नम्बरको टोल फ्रि नम्बर मनसुन नसकिँदासम्म चालु राख्ने जानकारी दिए ।

यस वर्षको मनसुन अवधिभर १८ लाख जनसंख्या प्रत्यक्ष प्रभावित हुने अनुमान गृह मन्त्रालयले गरेको छ । मनसुनमा अत्यधिक वर्षा हुने अनुमान गरिएकाले बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसंख्यालाई असर गर्ने अनुमान गरिएको छ ।

सम्भावित प्रभावित मध्ये १८ हजार परिवारलाई प्रत्यक्ष राहत उपलब्ध गराउनुपर्ने अनुमान मन्त्रालयले गरेको छ । यो वर्ष मनसुन जेठ ३१ गते नेपाल भित्रिएर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ ।

सन्दीप लामिछानेले भिसा नपाएको वास्तविकताबारे सदनलाई जानकारी गराउन कांग्रेस सांसदको माग

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोबारेमा सदनलाई जानकारी गराउन माग गरिएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले भिसा प्रक्रियामा सरकारले गरेको पहलबारे सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

उनले भने, ‘नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको भिसाको सन्दर्भमा धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो ? सदनलाई जानकारी गराइयोस् ।’

टी २० विश्वकप खेल्न जानको लागि सन्दीपले दुई पटक अन्तर्वार्तामा बोलाउँदा पनि अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।

कोशी सरकार गठनसम्बन्धी रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । कोशी प्रदेशको सरकार गठनसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । कोशीका निवर्तमानमुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रियाप्रति असहमति जनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।

बुधबार उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको हो । इजलासले नै यो रिटको पेसी २७ जेठका लागि तोकिदिएको छ ।

सरकारलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएको एक महिनासम्म पनि प्रदेशसभाबाट विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई पदमुक्त गरेका थिए ।

कार्कीलाई पदमुक्त गरेर सरकार गठनको प्रक्रिया सुरु गरिएको थियो । जसअन्तर्गत हिक्मत कुमार कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यसमा विमति जनाउँदै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनले हिक्मत कार्कीलाई पदमुक्त गरी आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । उक्त व्यवस्था प्रदेश सरकार गठनको अन्तिम विकल्प भएकाले आफूलाई हटाउने निर्णय असंवैधानिक रहेको उनको जिकिर छ ।

विपद्को सूचना दिनेदेखि हरेक दिन प्रेस बुलेटिन

काठमाडौँ / उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् न्युनिकरणको पूर्वतयारीमा सम्पूर्ण ध्यान केन्द्रीत गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका बिषयको जवाफ दिदै लामिछानले मनसुन पूर्वकार्य तथा प्रतिकार्य राष्ट्रिय कार्यायोजना पारित गरि प्राकृतिक विपदका जोखिम न्यूनिकरण गर्न सरकारले ध्यान केन्द्रीत गरेको जानकारी दिएका हुन् ।

उनले विपद्को सूचना दिनेदेखि हरेक दिन प्रेस बुलेटिन निकाल्ने समेत जानकारी दिए । प्रदेश सरकार र स्थानीय सरकारसँग निरन्तर समन्वय गर्दै सरकारको कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने उनले बताए । लामिछानले यस बर्ष ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने र १८ हजार घरपरिवारलाई मनसुनजन्य विपदमा उद्धार र राहत दिनुपर्ने आंकलन रहेको उल्लेख गरे । जेठ १९ गतेदेखि आगामी असोज १९ गतेसम्मका लागि मनसुनको समय यकिन गरेर पूर्व तयारी गरिएको उनको भनाइ छ ।

उनाले विपद्सँग प्रत्यक्ष सरोकार राख्ने ११ वटा मन्त्रालय, ७ प्रदेश, ७७ जिल्ला र सात सय ५३ वटै पालिकाहरु आफ्नो भुमिकामा जिम्मेवार बन्ने गरी काम अघि बढाइएको बताए । त्यस्तै उनले राजनीतिक दवावका कारण कुनै पनि अपराधका घटना नदब्ने स्पष्ट पारे ।

काठमाडौंको चाबहिलमा आगलागीबाट पाँच जना घाइते

काठमाडौँ । काठमाडौंको चाबहिलमा आगलागीबाट एकै परिवारका पाँच जना घाइते भएका छन् । चाबहिलको सरस्वतीनगरमा चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका हुन् ।

प्रहरीकाअनुसार सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएका हुन् । आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी मंगलबार राति झगडा गरी घटना घटाएको प्रहरीले जनाएको छ ।

तराई–मधेशमा बढिरहेका आपराधिक घटनाका दोषीलाई कारबाही गर्न सांसद खानको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले तराई–मधेशमा हत्या, हिंसा र अपहरणका घटना दिनदिनै बढिरहेको भन्दै ती घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे ।
बैठकमा समय मागेर सांसद खानले हत्या, आतङ्क र लुटपाटका घटनाको त्रासमा रहेका जनतालाई शान्ति सुरक्षाको वातावरण बनाउन माग गरे ।

“तराई–मधेशका जनता डर र त्रासको वातावरणमा छन् । शान्ति सुरक्षाको वातावरण खस्किएको छ । लुटपाटका घटना बढिरहेको र पीडित पक्षले जाहेरी बुझाउन जाँदा प्रहरी प्रशासनले जाहेरी नलिएको गुनासो आइरहेको छ”, सांसद खानले भने ।

उनका अनुसार सुनसरीको कोशी गाउँपालिका–३ का बसिरन खातुनलाई हालै दाइजोको निहुँमा हत्या गरी सप्तरीको हनुमाननगरस्थित कोशी नदी किनारमा पिपलको रुखमा झुण्ड्याएको अवस्थामा शव फेला परेको थियो । विभिन्न दबाबका कारण जाहेरीसमेत दर्ता नभएको छैन उनको भनाइ छ ।

“रुपन्देहीको गैडहवा गाउँपालिका–१ का तिरु यादव र रामकुमार यादव दुवै दाजुभाइलाई यही जेठ २२ गते स्थानीय पानको पसलमा छुरा प्रहार गरिएको थियो । एकजनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ”, सांसद खानले भने ।

त्यस्तै, यही जेठ १२ गते बर्दियाको बढैयाताल गाउँपालिका–३ स्थित गोब्रेपुर गाउँपालिकाका ३० वर्षीया तारा खटिकलाई कुटपिट गरेपछि निजले राति झुण्डिएर आत्महत्या गरेको घटनाबारे इलाका प्रहरीले जाहेरी लिनसमेत नमानेको भन्दै यस्ता घटना दिनप्रतिदिन बढिरहेकाले सरकारले शान्ति सुरक्षाको वातावरण सिर्जना गरी नागरिकको जीवन रक्षा गर्नुपर्ने माग सांसद खानले संसद्समक्ष गरे ।

पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्वपूर्ण : प्रधानमन्त्री

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने बताएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई बुधबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षदेखि एमबिबिएस तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका काम अगाडि बढाउन निर्देशन दिए ।

“चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने सरकारको अपेक्षा छ,” प्रधानमन्त्री दाहालले भने, “आगामी आर्थिक वर्षदेखि एमबिबिएस तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका काम अगाडि बढाइनेछ ।”

भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा तथा समग्र देशकै लागि दक्ष चिकित्सक उत्पादनमा यस प्रतिष्ठानले खेलेको भूमिका सबै प्रतिष्ठानका लागि अनुकरणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रतिष्ठानको विकास, विस्तार र उनन्नयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । 

अर्थतन्त्रमा विद्यमान दबाब र स्रोत विनियोजनमा देखिएको सङ्कुचनबीच पनि सरकारले प्रतिष्ठानको विकास र सेवा विस्तारलाई प्राथमिकता दिएको उनको भनाइ छ । प्रतिष्ठान चिकित्सा शिक्षातर्फ देशकै लागि उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित हुने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गर्दै यसको अधिकतम उपयोग गर्न आग्रह गरे ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विगतमा समेत सबै राजनीतिक दल, सामाजिक सङ्घ संस्था, स्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने विज्ञहरूलगायत सबैसँग सहकार्य गर्दै अगाडि बढेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सहकार्यका आधारमा पोखरेलीको गौरवको यस परियोजनालाई सफल पार्नुपर्नेमा जोड दिए ।

नागरिकता प्राप्तिसम्बन्धी जटिलता फुकाउने कोसिस भइरहेको छ : गृहमन्त्री लामिछाने

काठमाडौँ ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकता प्राप्तिमा देखिएका जलिटता समाधान गर्न सरकारले कोसिस गरिरहेको बताएका छन् । 

गृह मन्त्रालयद्वारा बुधबार आयोजित ‘नागरिकता र नागरिकतासँग सम्बन्धित विषयवस्तुमाथिको छलफल’ कार्यक्रमको शुभारम्भ गर्दै उपप्रधानमन्त्री लामिछानेले नागरिकता प्राप्तिसम्बन्धी नागरिकको संवैधानिक अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयासरत रहेको बताए । 

“नागरिकता प्राप्त गर्ने संविधानप्रदत्त अधिकारबाट नागरिकलाई वञ्चित गराउन हुँदैन, कार्यविधि बनाएर नागरिकता प्राप्तिसँग जोडिएका जटिलतालाई फुकाउने कोसिस भइरहेको छ”, उनले भने, “नागरिकता प्राप्तिसम्बन्धी जटिलतालाई सम्बोधन गर्ने गरी नागरिकतासम्बन्धी कानुन निर्माण गर्नु सरकारको दायित्व र जिम्मेवारी हो ।” 

नागरिकप्रतिको दायित्व र जिम्मेवारीको बोध गरेरै मन्त्रालयले सरोकारवालासँग नागरिकता प्राप्तिका विविध विषयमा छलफल थालेको जानकारी दिँदै उनले सरोकारवालासँगको छलफलबाट आएको निचोडलाई कार्यविधिमा समावेश गर्न सक्दा नागरिकतासम्बन्धी समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे । 

“नागरिकतासम्बन्धी कानुनमा रहेका जटिलतालाई सम्बोधन गर्न सकियोस्, प्रत्येक नागरिकलाई राज्यले प्रदान गर्नुपर्ने नागरिकतासम्बन्धी अधिकारमा कुनै बाधा नहोस् भनेर छलफल आयोजना गरिएको हो”, उपप्रधानमन्त्री लामिछानेले भने, “नागरिकता प्राप्तिका जटिलता तथा प्राविधिक पक्ष, नागरिकतासम्बन्धी निर्णय तथा फैसलाका आधारमा पनि नागरिकता प्राप्त गर्न नसकेका नागरिकका भोगाइका आधारमा कार्यविधि बनाइनुपर्छ ।”

कानुनले बर्जित गरेकाबाहेक संविधान, प्रचलित कानुन र विधिबाट नागरिकता प्राप्त गर्न सक्ने नागरिकको अधिकारलाई सङ्कुचित होइन, संरक्षण र सहज गर्न गृह मन्त्रालयले सहजीकरण गर्दै आएको उपप्रधानमन्त्री लामिछानेको भनाइ थियो ।
आमनागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानुनी अवस्थामा देखिएका कमिकमजोरी, व्याख्या, पुनःव्याख्या तथा अभ्यासबाट वास्तविक रुपमा के–कस्ता समस्या सामाना गरिरहनुपरेको छ भन्ने बारेमा आफूले कार्यभार सम्हालेदेखि नै गम्भीर चासोका साथ हेरिरहेको उनको भनाइ छ । 

उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रुपमा रहँदा मात्र नभइ त्यसअघि सञ्चारकर्मीको भूमिकामा रहँदा पनि आफूले नागरिकता प्राप्तिमा नागरिकले भोग्नु परेका समस्याका बारेमा आवाज उठाउँदै आएको उनले स्मरण गरे ।

“नागरिकता प्राप्तिका जटिलता, कानुनी पक्ष र व्यवहारिक पाटो तथा विभेदकारी क्रियाकलापलाई लिएर दर्जनौं कार्यक्रम चलाएको छु”, उपप्रधानमन्त्री लामिछानेले भने, “मैले जुन जगमा उभिएर राजनीतिमा सफलता प्राप्त गरेँ, त्यो जग विगतमा आमनागरिकले उठाएका आशा र उनीहरुलाई जगाउन गरेको प्रयास नै हो ।”

गृहमन्त्री लामिछानेले सरोकारलासँगको छलफल, कानुनी आधार र कयौँ अनुभवलाई समेटेर नागरिकतासम्बन्धी विषयलाई व्यावहारिक रुपमा सम्बोधन गर्न लागिएको बताए ।

विज्ञ तथा सरोकारवालासँगको छलफलबाट प्राप्त सुझाव सरकारका लागि महत्वपूर्ण आधार हुने भन्दै उनले कार्यान्वयन प्रणालीमा गर्नुपर्ने सुधार सरकारका लागि मार्गदर्शन बन्ने अपेक्षा गरे ।

“छलफलबाट प्राप्त सुझाव समावेश गरी नागरिकतासम्बन्धी कानुन तथा कार्यविधिको परिमार्जन गरिनेछ”, उनले भने  । 

कार्यक्रममा चार सत्रमा नागरिकतासँग सम्बन्धित सवालमा छलफल गरिने गृह मन्त्रालयले जनाएको छ । जन्मका आधारमा नागरिकता प्राप्ति, गैरआवासीय नेपाली नागरिकता, आमाको नाममा नागरिकता जारी र पहिचानसहितको नागरिकता, लिङ्ग परिवर्तन गरी नागरिकता प्राप्ति, नागरिकता परित्याग र पुनःप्राप्तिमा रहेका जटिलता, समाधानका उपाय तथा कानुनी सुधारका पक्षमा छलफल हुनेछ । 

पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्वपूर्ण छ : प्रधानमन्त्री

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई आज पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षदेखि एमबिबिएस तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका काम अगाडि बढाउन निर्देशन दिए ।


“चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने सरकारको अपेक्षा छ,” प्रधानमन्त्री दाहालले भने, “आगामी आर्थिक वर्षदेखि एमबिबिएस तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका काम अगाडि बढाइनेछ ।”
भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा तथा समग्र देशकै लागि दक्ष चिकित्सक उत्पादनमा यस प्रतिष्ठानले खेलेको भूमिका सबै प्रतिष्ठानका लागि अनुकरणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रतिष्ठानको विकास, विस्तार र उनन्नयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।


अर्थतन्त्रमा विद्यमान दबाब र स्रोत विनियोजनमा देखिएको सङ्कुचनबीच पनि सरकारले प्रतिष्ठानको विकास र सेवा विस्तारलाई प्राथमिकता दिएको उनको भनाइ छ । प्रतिष्ठान चिकित्सा शिक्षातर्फ देशकै लागि उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित हुने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गर्दै यसको अधिकतम उपयोग गर्न आग्रह गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विगतमा समेत सबै राजनीतिक दल, सामाजिक सङ्घ संस्था, स्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने विज्ञहरूलगायत सबैसँग सहकार्य गर्दै अगाडि बढेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सहकार्यका आधारमा पोखरेलीको गौरवको यस परियोजनालाई सफल पार्नुपर्नेमा जोड दिए ।

ओलीलाई सुमनाको प्रश्नः के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ ?

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध दिएको अभिव्यक्ति आफूमात्र नभई अध्ययनका लागि विदेश जाने आम महिलाविरुद्ध भएको बताएकी छन् ।

बुधबार सामाजिक संजालमार्फत मन्त्री श्रेष्ठले भनेकी छन्, ‘देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो । यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले “नेपाल जान्छु र केही गर्छु“ भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउँछ । देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ ।’

यस्तो छ सुमना श्रेष्ठको धारणा

विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् । आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ । विदेशमा सहजताका लागि लामो समयको भिसा, पिआर वा नागरिकता जस्ता कागजात लिएका हुन सक्छन् । विदेशमा प्रेम होला, बिहे होला ।
कतिले विदेश पुगे पछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महसुस गर्छन् । विभिन्न कारणले विदेश पुगेकाहरू धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर यहाँ नै समृद्ध र सहज जीवन जिउने चाहना हुन्छ । स्वयम् नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्राउने सोच राखेको नीतिहरू भेटिन्छन् । ब्रेन गेन, एनआरएनको नागरिकता जस्ता कार्यक्रमहरू त्यसकै लागि हुन् ।

तर, जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ । यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिस्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन् । यो ‘तँ बसेर आएको देश हो र नेपाल पो हो’ भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुँदोरहेछ । कर्मचारीतन्त्र र यहाँका पेशाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन्, अहिले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरुको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन् ।

महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । ‘समाजको नियम’ भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यही भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्। अनि बिहे भएपछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन ? श्रीमान् को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो ।

यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले ‘नेपाल जान्छु र केही गर्छु’ भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउँछ । देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ ।

पोखरामा प्रधानमन्त्रीलाई सहकारी पीडितले देखाए कालोझण्डा

गण्डकी । पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रममा सहकारीपीडितले नाराबाजी गर्नुका साथै कालोझण्डा देखाएका छन् ।

बुधबार पोखरा सभागृहमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

त्यसक्रममा सहकारीपीडित र प्रहरीबीच झपडपसमेत भएको थियो । प्रहरीले नाराबाजी गर्ने केहीलाई नियन्त्रणमा लिएको छ ।

ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठको अपमान गरेको भन्दै रास्वपाको आपत्ति

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले शिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद खनालले संविधानले दिएको अधिकार प्रयोग गरेर देशको नेतृत्व गर्न नपाइने हो भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘कुनै एउटा यस्तो युग थियो जहाँ, काठमाडौंकी राजकुमारी तिब्बतका राजासँग विवाह गरिन्। जनकपुरकी राजकुमारी अयोध्याका राजासँग विवाह गरे र दुवै पुज्य भए। आज यस्तो जमाना आयो । विदेशमा उच्च शिक्षा हासिल गरेकी एक महिला नेतृ दश वर्षअघि देश फर्किइन् । भूकम्पको बेला औषधि लिएर गाउँ पुगिन् । नाकावन्दीका बेला सडकमा हिँडिरहेका मान्छेलाई यात्राको सुविधा प्रवाह गरिन् । उद्यममार्फत रोजगारी सिर्जना गरिन् । पछि राजनीतिमा आइन् । आज मन्त्री भइन् । उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनेको छ भनिन्छ, कहिले पोशाकको टिप्पणी, कहिले समानुपातिक सांसद भनेर होच्याउने गरिन्छ । कहिले यही सभा हलभित्र कहिले बन्द कोठाभित्र ।’

उनले लामो समयदेखि नेपालको राजनीतिमा महिलाको उन्मुक्ति र वर्गीय उन्मुक्ति हामीले केका लागि गरेको भनेर ओलीलाई प्रश्न गरेका छन्। उनले भने, ‘के सबै महिलापुरुष बराबर हो भनेर होइन र?’

अध्यक्ष ओलीले केही दिनअघि संसदीय दलको बैठकमा शिक्षा मन्त्रीसमेत रहेकी रास्वपा सांसद श्रेष्ठलाई लक्षित गरेर पानी पर्दा कहिलेकहिले माछा बर्सिएझैं शिक्षा मन्त्री बनेको भनेर टिप्पणी गरेका थिए।

तर गतसाता विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको भेटमा एमाले अध्यक्ष ओलीले सुमनाविरुद्ध लिङ्गद्वेषी अभिव्यक्ति दिएका थिए । ओलीले भनेका थिए, ‘विदेशीसँग बिहे गरेको सुन्छु कता हो, नेपाल घुम्न आएकी मन्त्री पो भइन् ।’

त्यस्तै गत शनिबार युवा संघको कार्यक्रममा खुलै रुपमा सुमनाप्रति लक्षित गरी कथा नै सुनाएका थिए । ओलीले कथा यसरी सुनाए, ‘एक देशमा एक चेली कता गएर पढिन्, कता बिहे भयो, अनि माइती देशमा एकपटक गइन् अरे, माइती देशमा असन्तुष्टि, अस्तव्यस्तता, युवाहरूमा अन्योलको स्थिति । को उठ्छ भन्दा म उठ्छु । कसलाई समानुपातिक चाहिएको छ भन्दा मलाई भनेर सांसद भइन् अरे । मन्त्री भइन् अरे । कहिले– कहिले हुन्छ त्यस्तो । अकासबाट पनि कहिलेकाहीँ पानीसँगै माछा खस्छ, सधैँ त्यस्तो हुँदैन ।’

ओलीले गरे अरनिको राजमार्ग सफाइ अभियानको थालनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृहत अरनिको राजमार्ग सफाइ अभियानको थालनी गरेका छन् । बुधबार बिहान विश्व वातावरण दिवसको अवसरमा नेकपा एमाले भक्तपुरमा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कौशलटार चोकमा रहेको पुलबाट बेलुन उडाएर अभियानको थालनी गरे ।

अभियानमार्फत ‘राष्ट्रका लागि दुई घण्टा’ छुट्याउन प्रेरणा मिल्ने बताइएको छ । अध्यक्ष ओलीले विद्यार्थीसँगै सडकमा बढारेर सफाई अभियानका सदस्यहरुलाई हौसला दिएका थिए ।

कार्यक्रममा विभिन्न संघ संस्थाले वातावरण दिवसको सचेतना जगाउने नारा लेखिएका ब्यानर सहित र्याली निकालेर कौशलटारदेखि सूर्यविनायकसम्म पुगेका थिए ।

फिल्म ‘मायाका रंगहरु’मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित

काठमाडौं । फिल्म ‘मायाका रंगहरु’मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित भएका छन् । उनलाई फिल्म ‘मायाका रङहरु’का निर्माता तथा निर्देशक केवल तामाङले हालै काठमाडौंमा अनुबन्धित गरेका हुन् ।

तामाङ गरिमा इन्टरटेनमेन्टका सञ्चालकसमेत हुन् । यसअघि फिल्ममा अभिनेता पल शाह, सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् ।

निर्देशक तामाङले फिल्मका लागि प्रमुख नायिकाको खोजी भइरहेको बताए । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्मको निर्माता आरबी थाङदेन हुन् ।

फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, रामजी लामिछाने सुष्मा सोनम, र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

फिल्मका सह–निर्माता जेनिश न्यौपाने र दीपेन्द्र चिलवाल हुन् । फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।

डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, सात घाइते

डोटी । दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार बुधबार बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त जिपमा चालकसहित नौजना सवार थिए ।

सबै अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित अस्पतालहरुलाई १५ दिनभित्र अनिवार्य रुपमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार सूचना जारी गरी काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो ।

हाल महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुको आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेका महानगरपालिकाले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि र औषधिजन्य सामग्रीहरु बिक्री भइरहेको गुनासो प्राप्त भएको छ । अस्पतालहरुले अनिवार्य रुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ।’

अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको ठहर महानगरपालिकाले गरेको छ।

जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपील

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर घाटाएर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपील गरेका छन् ।

विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति भवनमा बुधबार बिहान आयोजित कार्यक्रममा उनले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृङ्खला र हिमतालमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी–पहिरोसँगै जीवनयापनका चुनौती थपिएका बताए ।

उनले भने, “जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको क्षयका कारण सृजित सङ्कटसँग नेपाललगायत सम्पूर्ण विश्वका अन्य मुलुक जुधिरहेका छन् । कसैको एकल प्रयासले यी सङ्कट समाधान हुन सक्दैनन्, सबै एकताबद्ध हुनुपर्छ ।”

राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको नारा ‘हाम्रो भूमि, हाम्रो भविष्यः भूमि पुनःस्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध’मा हाम्रा साझा चुनौती र अवसर समाहित भएका उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालको सङ्कट, जलवायु परिवर्तनको उच्च जोखिम तथा नेपाललगायत अन्य पर्वतीय मुलुकका जलवायुजन्य समस्या घटाउन व्यक्त गरेको विचार स्मर गर्दै राष्ट्रपति पौडेलले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरेको नेपालमा यसबाट प्रभावित भएकामा चिन्ता व्यक्त गरे ।

जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधान गर्न तथा त्यसका प्रभाव घटाउन विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।

जलवायु परिवर्तनका असर कम गर्न नेपालले राष्ट्रियस्तरमा विभिन्न कार्य गर्दै आएको तथा यो विषय सरकारको नीति तथा कार्यक्रममा पनि सम्बोधन भएको बताउँदै राष्ट्रपति पौडेलले राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकरात्मक असर न्यून गर्दै अनुकूलन क्षमता वृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले सो कार्यक्रमका माध्यमबाट उच्च हिमशृङ्खला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनका असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन हुने बताए । उनले वातावरण संरक्षणसँगै चौतारी र पोखरीको संरक्षण आवश्यक भएको बताए ।

राष्ट्रपति भवन परिसरमा राष्ट्रपति पौडैलले पलाँसको बिरुवा रोपेर वृक्षरोपरणको शुभारम्भ गरेका थिए भने उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले पनि बिरुवा रोपेका थिए ।

कार्यक्रममा मुख्यसचिव वैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न देशका राजदूत तथा दातृ निकायका प्रमुखहरूको उपस्थिति थियो ।

किन घट्यो भाजपाको लोकप्रियता ?

काठमाडौं । भारतमा भएको १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो ।

पाँच सय ४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३२ सिट जितेको छ । निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले मात्रै २ सय ४० सिटमा जित हासिल गरेको छ । तर, यो निर्वाचनमा भाजपा एक्लैले बहुमत ल्याउन भने सकेन । निर्वाचन परिणामले भारतमा भाजपाको लोकप्रियता घटेको प्रष्ट देखाएको छ ।

यस्तै, एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २४ सिटमा जित हासिल गरेको छ । काङ्ग्रेस ९९ सिट, समाजवादी पार्टी ३७ सिट, तृणमूल काङ्ग्रेस २९ सिट, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट, शिवसेना (उद्धव ठाकरे) ९ सिट, एनसीपी (सपा) ले ८ सिट, तेलेगु देशमले, १६ सिट, राष्ट्रिय जनता दल, युवराजन श्रमिका रिथु कांग्रेस र कम्युनिष्ट पार्टी अफ इन्डियाले समान ४–४ सिटमा जित हासिल गरेका छन् ।

वनारसबाट चुनाव जितेका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुमत साथ तेस्रो पटक प्रधानमन्त्रीको पद सुरक्षित गरेका छन् । मोदीले सन् २०१४ देखि २०१९ सम्म पहिलो र २०१९ देखि २०२४ सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् । यो निर्वाचनले मोदीलाई जवाहरलाल नेहरुपछि भारतामा तीन कार्यकाल प्रधानमन्त्री चलाउने दोस्रो नेताको रुपमा स्थापित गरेको छ ।

कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जित निकाल्दा उत्तर प्रदेशमा भने भाजपालाई ठूलो धक्का लागेको छ। अघिल्लो चुनावमा ६४ सिट जितेको भाजपाले ०२४ को चुनावमा २१ सिट गुमाएको छ । अहिले भाजपाले त्यहाँ ३३ सिट ल्याउँदा समाजवादी पार्टीले यहाँ ३७ सिटमा जित निकालेको छ ।

सात चरणमा सम्पन्न भएको लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनता मतदानमा सहभागी बनेका थिए ।

न्यूरोडको झगडाको पछाडि एमाले, पार्किङका ठेकेदार र कमिसनवालाहरूको लामो लहरो लुकेको छ

गणेश कार्की ।
झगडा देख्दा न्यूरोडको फूटपाथ देखिन्छ । जुधेका महानगर र सडक विभाग देखिन्छन् । उतार्नु भने पर्दा पछाडि एमाले, पार्किङका ठेकेदार र कमिसनवालाहरूको लामो लहरो लुकेको देखिनेछ । तर झगडा वास्तवमा न्यूरोडको फूटपाथमा होइन, संघीयतामा हो । जुधेका महानगर र सडक विभाग होइनन्, स्थानीय सरकार र संघीय सरकार हो । पर्दा पछाडि लुकेका एमाले, पार्किङका ठेकेदार र कमिसनवालाहरूमात्र होइनन्, संघीयता भन्ने तर आफुलाई मालिक सम्झेर अधिकार र बजेट आफ्नो हातमा मात्रै राख्न पर्छ भन्ने सोच हो ।

कानून अझै प्रष्ट छैनन् । वर्तमान सन्दर्भमा मौजुदा ३१५ भन्दा बढी ऐन तथा करिब २७० को संख्यामा रहेका नियमावलीहरूलाई समेत संविधान अनुकूल बनाउने पर्ने अवस्था छ भनेर सरकारकै प्रतिवेदनमा लेखेको दशक पुग्न लाग्यो तर अघिल्लो बर्ष राष्ट्रिय सभाले तत्काल बनाउनु पर्ने भनेको कानूनको सूची नै १८१ वटा कानूनको छ ।

तर संसद विरलै संसद जस्तो हुन्छ । जँडिया जस्तो मुख बजाउन र मुख थुन्न, बाँदरले जस्तो (सरकार) बनाउन र भत्काउन, वडाध्यक्ष जस्तो बजेट पार्न र योजना खोज्नमा व्यस्त छ । संसदलाई संसद जस्तो रहन दिन, त्यसलाई कानून र नीतिका कुरामात्र गर्ने ठाउँ बनाउन सांसदहरू मन्त्री बन्नै नपाउने कानून चाहिन्छ भन्नु पर्ने अवस्था बन्दै गएको छ ।

दुर्भाग्य, आफू उभिएको ठाउँलाई आदर्श बनाउन चुक्दा फेरि अर्को नियमको लहरो खोज्नु पर्ने बाध्यता कहिलै नसकिने भो । पूर्णतः व्यक्तिगत लाभहानीमात्र हेरेर भागमा बस्न र हात लम्ब्याउदा पुग्ने जति सबै स्रोत लिएर मुखले अधिकार विकेन्द्रीकरणको आलाप गर्नेहरूलाई रोक्न अरू उपाय छ र ?

बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ ।

आज नै बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने कार्यसूची छ । बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

नेपालले नेदरल्याण्ड्सलाई दियो १ सय ७ रनको लक्ष्य

काठमाडौं । आइसीसी टी–२० विश्वकपअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १ सय ७ रनको लक्ष्य दिएको छ । अमेरिकाको डाल्लसस्थित ग्राण्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि १ सय ७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल १९.२ ओभरमा १ सय ६ रनमा अलआउट भयो । कप्तान रोहित पौडेलले ३७ बलमा ३५ रन बनाए । त्यस्तै करण केसीले २ छक्कासहित १२ बलमा १७ रन बनाए । गुलशन झाले १५ बलमा १ चौका प्रहार गरि १४ रन बनाए । अविनाश बोहरा पहिलो बलमा आउट भए । त्यसैगरी, आसिफ शेख ८ बलमा ४ रन बनाई आउट भए ।

नेपालको ब्याटिङ धरासायी बनाउन समेट्न नेदरल्यान्ड्सका टिम प्रिगल र लोगान भान विकले समान तीन विकेट लिए । पाउल भान मिकेरेन र बास डे लिडेले समान दुई विकेट लिए । प्रतियोगिताको समूह ‘डी’ मा रहेका दुवै टिमको यो पहिलो खेल हो । यो समूहमा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् ।

भाजपाको नेतृत्वमा एनडिएले लगातार तेस्रो सरकार बनाउँदै, मोदीले जनतालाई दिए धन्यवाद

प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको एनडिएले लगातार तेस्रो सरकार बनाउने र यो ‘सबका साथ सबका विकास’ को भारतको सङ्कल्पको विजय भएको बताएका छन् ।

लोकसभा चुनावको नतिजापछि मंगलबार भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ता र नेताहरूलाई प्रधानमन्त्री मोदीले भने, “जनताले भाजपा र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) मा विश्वास गरेका छन् ।”

उनले सन् १९६२ पछि पहिलो पटक दुई कार्यकाल पूरा गर्ने सरकारले लगातार तेस्रो कार्यकाल पाएको छ दशकपछि ‘नयाँ इतिहास’ रचिएको धारणा राखे ।

प्रधानमन्त्री मोदीले उडिसामा भाजपाको प्रदर्शनको विशेष उल्लेख गरे । त्यहाँ पार्टी पहिलो पटक सरकार गठन गर्न तयार छ । राज्यमा लोकसभा चुनावमा पनि भाजपाले राम्रो प्रदर्शन गरेको छ ।

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री मोदीले निर्वाचन आयोगको प्रशंसासमेत गरे ।

“आयोगले यो चर्को गर्मीमा यति धेरै दक्षताका साथ यति ठूलो निर्वाचन सम्पन्न गरेको छ । हाम्रा सुरक्षा बलहरूले पनि प्रभावकारीरूपमा आफ्नो काम गरेका छन् । प्रत्येक भारतीयलाई भारतको चुनाव प्रक्रिया र प्रणालीको विश्वसनीयतामा गर्व छ”, उनले भने ।

पार्टी मुख्यालयमा पुग्दा प्रधानमन्त्री मोदीलाई भाजपा कार्यकर्ताले स्वागत गरेका थिए । केही कार्यकर्ताले ‘जय जगन्नाथ’को नारा पनि लगाएका थिए ।

निर्वाचन आयोगको पछिल्लो प्रवृत्तिअनुसार एनडिएले दुई सय ९१ सिटमा अग्रता लिएको वा जितेको छ भने इन्डिया गठबन्धनले दुई सय ३४ सिटमा जित हासिल गरेको छ वा अगाडि छ । भाजपाले आफ्नै बलमा २४० सिट जित्ने तयारी गरेको छ ।

एकीकृत समाजवादीले छाड्यो मधेस सरकार

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात व्यवस्थामन्त्री बेची लुंगेलीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका छन् ।

आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै एकीकृत समाजवादीले मुख्यमन्त्री यादवलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा एमाले र माओवादी केन्द्रबीच लिखित सहमति भइसकेको छ ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ । एमालेका सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् ।

बाथरोगका धेरै बिरामी उपचारको पहुँचबाहिर

शरद् शर्मा, काठमाडौं । मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ । नेसनल बाथरोग सेन्टरका अनुसार देशमा करिब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १० प्रतिशत बिरामी मात्र सही उपचारको पहुँचमा पुग्ने गरेका छन् । नेपालमा बाथरोग आफैँ निको हुन्छ भन्ने सोचका कारण पनि यसका बिरामी उपचारमा नआउने गरेका छन् ।

सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपालका धेरैजसो बिरामी सही उपचारको पहुँचमा नआउने गरेका र उपचार सेवासम्म आइपुगेका करिब ४० प्रतिशत बिरामीले मात्र बाथरोगलाई आफ्नो नियन्त्रणमा राख्न सकेको बताए । उनका अनुसार अझै पनि नेपालमा बाथरोगका बारेमा जनचेतना जगाउनुपर्ने खाँचो देखिएको छ ।

‘औषधि सेवन गरेपछि बीचमा छाड्ने, आफैँ जडीबुटी गर्ने तथा आयुर्वेदलगायतका एलोपेथिक बाहेकका औषधि खाने जस्ता कारणले उपचारमा आएका सबै बिरामीको रोग नियन्त्रणमा आउन सकेको छैन’, उनले भने, ‘बाथरोग आफैं निको हुन्छ भनेर बीचमा नै औषधि नखाने प्रवृत्ति पनि धेरैमा देखिएको छ ।’

बाथरोग नसर्ने दीर्घरोग भएकाले नियमित औषधि सेवन गरिरहनुपर्छ । त्यसैले जनचेतनाकोस्तर अझ बढाउनुपर्ने देखिन्छ । सेन्टरले बाथरोग पहिचानका लागि विभिन्न ठाउँमा शिविर राखेर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरिरहेको उनले बताए ।

औषधिले पूरै निको हुँदैन तर नियन्त्रण गर्छ

बाथरोग विशेषज्ञ डा श्वेता नकर्मीले बाथरोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिने बताउँछिन् । ‘बाथरोग नियमित औषधिबाट निको पार्न सकिन्न’, उनले भनिन्, ‘रोगलाई नियन्त्रण गरेर विरामीलाई पहिल्येकै अवस्थामा लैजान भने सकिन्छ । तर पनि यो रोगको असर भने सधैँ देखिरहन्छ ।’

अन्य विभिन्न रोगको असरका कारण, वंशाणुगत र वातावरणीय प्रभावका कारण नेपालमा बाथरोग लाग्ने गरेको देखिएको छ । बाथरोग विशेषज्ञ डा नकर्मी ‘अटोइम्युन डिजिज्’ का कारणले बाथरोग लाग्ने गरेको बताउँछिन् ।

रोग प्रतिरोधात्मक क्षमतामा केही गडबडी आयो भने बाहिरी जीवाणुसँग लड्ने कोषिकाले आफ्नै शरीरको जोर्नी र अङ्गलाई नष्ट गर्न थाल्दछन् र त्यसबाट उत्पत्ति हुने रोगलाई नै बाथरोग भन्ने गरिएको उनको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इन्टरनेशनल र्‍युम्याटोलोजी लिग (आइलार) को संयुक्त अध्ययनले जनसङ्ख्याको ३० प्रतिशतमा र्‍युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज् (हाडजोर्नी र मांशपेशी दुख्ने रोग) को समस्या हुने गरेको देखाएको छ । त्यसमध्ये १५ देखि २० प्रतिशतमा कम्मर तथा ढाड दुख्ने र घुँडा दुख्ने समस्या देखिएको अध्ययनमा उल्लेख गरिएको छ ।

औषधि सधैँ सेवन गर्नुपर्छ

नेपालमा बाथरोगको उपचार त्यति महँगो नभए पनि आम नेपालीका लागि भने यसको उपचार महँगो नै हुने गरेको बताइन्छ । बाथरोग पहिचानका लागि गरिने इम्युनोलोजिकल परीक्षण गर्नुपर्दछ र यो केही महँगो छ ।

बाथरोग र यसका अनेक प्रकारको पहिचानका लागि गरिने स्वास्थ्य जाँच केही महँगो हुने गरेको प्रबन्ध निर्देशक कक्षपतिले बताए । ‘बाथरोगमा जीवनभर औषधि सेवन गर्नुपर्छ । यसका लागि मासिक करिब एक हजार दुई सय रुपैयाँ जति खर्च हुन्छ । यसरी एकजनाको परीक्षण र औषधि समेत गरी वार्षिक २० हजार रुपैयाँ भन्दा केही बढी खर्च हुनसक्छ’, उनले भने ।

धुँलो धुँवा, चुरोट पिउने, मदिरा सेवन गर्ने, युरिक एसिड हुने खानेकुरा जस्तै बढी मात्रामा माछा, मासु र धेरै चिल्लो पदार्थ खाने, बढी तौल भएका व्यक्ति, दातँको र फोक्सोको समस्या भएका व्यक्तिहरुलाई बाथरोगको जोखिम बढी हुने गरेको चिकित्सकको भनाइ छ ।

बाथरोग गर्भमा रहेका बच्चादेखि सबै उमेर समूहमा लाग्ने गर्छ । पाँचदेखि १५ वर्ष उमेरसमूहका बच्चालाई मुटुको वाथ ज्वरो बढी हुने गर्दछ ।

दुई किसिमका बाथरोग बढी

हाडजोर्नी खिइने रोग जुन बुढेसकालमा बढी हुने र आम बाथरोग गरी दुई किसिमका बाथरोग नेपालमा बढी देखिने गरेको डा नकर्मी बताउनुहुन्छ । तीमध्ये आमबाथ कडा खालको बाथ रोग हो ।

बाथ रोग लागेकामध्ये आम बाथरोग दुई तिहाई महिला र एक तिहाई पुरुषमा देखिने गरेको छ । चालीस वर्षभन्दा माथिका महिलालाई आम बाथरोग सुरु सुरुमा हाडजोर्नी दुख्ने, सुनिने, बिहान उठ्दा शरीर कक्रक्क पर्ने, मुठ्ठी पार्न र खोल्न गाह्रो हुने समस्या हुने गरेको छ । त्यसपछि बाथरोग कडा हुन थालेपछि ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, तौल घट्ने जस्ता लक्षण देखिन्छन् । त्यसपछि बाथरोगले फोक्सो, आँखा, मुटुमा असर गर्ने गर्दछ ।

विशेषज्ञ डा नकर्मीका अनुसार समयमै औषधि खाएन भने कालान्तरमा हातखुट्टाका जोर्नी बाङ्गो हुने, काम गर्न नसक्ने जस्ता समस्या हुने गर्दछ । बाथरोग सेन्टरले विगत १० वर्षदेखि काठमाडौँको रातोपुल, ललितपुरको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङचोक, झापाको शनिश्चरे रोड, बुटवलको सुख्खा नगर, दाङको तुलसीपुर र चितवनको भरतपुरमा बाथरोग सेन्टर सञ्चालन गरेर बाथरोगको उपचार सेवा दिँदै आएको छ ।

बाथरोगका लक्षण

बाथरोग लागेपछि हातका औँला दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात, खुट्टा र जीउ गह्रुँगो भई अप्ठेरो हुने, खुट्टाका बुढीऔँला वरिपरि रातो भएर टेक्न नहुने, गोलि गाँठो दुख्ने र सुन्निने, राति र बिहान ढाड दुख्ने र अप्ठेरो हुने, घुँडा दुख्ने र सुनिने जस्ता लक्षण देखिन्छ ।

बाथरोगको प्रारम्भिक लक्षण बिहान उठ्दा हातका औँला खुम्च्याउन गाह्रो हुने र दुख्ने, त्यसपछि विस्तारै सुनिने गर्दछ । यो अवस्थामा स्वास्थ्य जाँच नगराई दुखाइ कम गर्ने औषधि सेवन गरेर बस्दा रोग छिप्पिदै जाने हुनसक्छ ।

यस्तै कुर्कुचा दुख्ने (प्रायः बिहान उठ्ने बेला), पाइताला पोल्ने (प्रायः रातिको समयमा) वा झम्झमाउने, खुट्टा दुख्ने वा करकर खाने, जीउ गल्ने र छिटोछिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर अथवा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने, चिसोमा काम गर्दा हातखुट्टा निलो हुने आदि लक्षण बाथरोगका देखिन्छन् ।

बाथरोग सामान्य दुखाइदेखि डरलाग्दा किसिमका पनि हुने भएकाले बाथ लागेको शङ्का लागेपछि जतिसक्दो चाँडो परीक्षण गराउन यस रोगका विशेषज्ञ चिकित्सकहरुको सुझाव छ । सुरुमै रोगको पहिचान हुनसक्यो र औषधि सेवन गरियो भने यसको दीर्घकालीन असरबाट बच्न सकिने उनीहरु बताउँछन् ।

भारतीय प्रधानमन्त्री मोदी लोकसभा सदस्यमा तेस्रो पटक पनि निर्वाचित

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् । उनी बाराणसी क्षेत्रबाट उम्मेदवार बनेका थिए । प्रधानमन्त्री मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतले पछि पार्दै तेस्रो पटक पनि लोकसभामा स्थान बनाएका हुन् ।

सन् २०१९ को तुलनामा यसपालि उनको मतान्तर भने घटेको छ । २०१९ मा उनी ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए । मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले भने बहुमत ल्याउन असफल हुने देखिएको छ । जारी मत गणनामा भाजपा २४३ सिटमा मात्रै अगाडि छ । एनडीए गठबन्धन भने २९३ सिटमा अघि बढेको छ ।

टी–२० विश्वकप क्रिकेट काठमाडौंका तीन स्थानबाट प्रत्यक्ष प्रसारण गरिने

काठमाडौँ । आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल निःशुल्क प्रत्यक्ष प्रदर्शन गरिने भएको छ ।

काठमाडौँ महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह–आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा टुँडिखेल, तीनकुने र हाँडिगाउँ उक्त खेल हेर्न प्रत्यक्ष प्रदर्शनको तयारी गरेको हो ।

ओपन डोर्स इन्टरटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठले खेलकुदप्रेमीको मनोबल उच्च पान टी–ट्वान्टी विश्वकप क्रिकेटको निःशल्क प्रत्यक्ष प्रदर्शन गर्न लागेको जानकारी दिए ।

यसका लागि ती ठाउँमा आवश्यक तयारी थालिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार आज साँझ ६ बजे टुँडिखेलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

सांस्कृतिक कार्यक्रममा कलाकार इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाललगायतको साङ्गीतिक प्रस्तुति रहने छ । नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो खेल अमेरिकाको डालासमा आज राति ९ः१५ बजे सुरु हुने छ । उक्त खेल हेर्नका लागि राति टुँडिखेल खुला रहने अध्यक्ष श्रेष्ठले बताए ।

शिक्षा मन्त्रालयमा नागरिकका गुनासा सुन्न शासकीय सुधार एकाइ गठन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नागरिकका गुनासा छिटो सम्बोधन गर्न प्रशासन महाशाखाका प्रमुख सहसचिव सुमन घिमिरेको नेतृत्वमा शासकीय सुधार एकाइ गठन गरिएको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २९ बमोजिम एकाइ गठन गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त संयन्त्रबाट सम्पादन हुने कार्यलाई शासकीय सुधारको मान्यताअनुरूप सुधार गर्ने नीति अख्तियार गरी कार्यान्वयन हुने र गुनासो प्राप्त भएको १५ दिनभित्र सम्बोधन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गरिने बताइन् ।

शासकीय सुधार एकाइको काम, कर्तव्य र अधिकारमा मन्त्रालयबाट सम्पादन हुने कामसम्बन्धी कानुन, नीति र कार्यविधि निर्माण एवं सुधारका लागि सूचना, सल्लाह र पृष्ठपोषण उपलब्ध गराउने जनाइएको छ ।

सार्वजनिक प्रशासन र व्यवस्थापनका नवीनतम मान्यताको प्रयोगबाट कार्यसम्पादनको गुणस्तरमा सुधार ल्याउने, शासकीय सुधारको सम्बन्धमा तालीम, गोष्ठी र अन्तरक्रिया सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले संसदमा अर्थमन्त्री खोजेपछि…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटसम्बन्धी छलफलमा अर्थमन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने भन्दै प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठक मंगलबार १५ मिनेट स्थगन भयो ।

बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्रीको उपस्थितिबिना आफू नबोल्ने भनेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगन गरे ।

सभामुखसँग समय लिएर राप्रपाका सांसद ज्ञानबहादुर शाहीले बजेटसम्बन्धी छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै आगामी बैठकमा उनको उपस्थिति अनिवार्य हुनुपर्नेमा जोड दिए ।

सभामुखले अर्थमन्त्री बजेटबारे जवाफ दिन राष्ट्रियसभा जानुभएको जानकारी दिए पनि राप्रपाका सांसदले आसनबाट उठेर विरोध जनाएका थिए ।

द्वन्द्वपीडितलाई न्याय दिन नसके अन्तर्राष्ट्रिस्तरमा मुलुकको विश्वसनीयता गुम्छः सांसद सिटौला

काठमाडौं ।   नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले बजेटमा सङ्क्रमणलकालीन न्याय र सङ्घीयताको सबलीकरणसम्बन्धी विषयलाई समावेश गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा उनले द्वन्द्वपीडितका समस्या समाधान गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी काम पूरा गर्न बजेटमा पर्याप्त रकम नछुट्याइएको उनले टिप्पणी गरे । शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको तर सरकारले द्वन्द्वपीडितलाई न्याय दिनेगरी काम गरेको आभास आफूलाई नभएको बतए ।

‘हामी साँच्चै द्वन्द्वपीडितलाई न्याय दिने पक्षमा छौँ ?’ उनले प्रश्न गरे, ‘संविधानको महत्वपूर्ण यो पक्षलाई गम्भीर रुपमा लिएर द्वन्द्वपीडितलाई न्याय दिनुपर्छ, त्यसो गर्न नसके अन्तर्राष्ट्रिस्तरमा मुलुकको विश्वसनीयता गुम्नेछ ।’ संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि सङ्घीयतासम्बन्धी कानुन नबनेकामा उनले दुःख व्यक्त गरे ।

बजेट उत्पादनमुखी छ : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बजेटको प्रकृति वितरणमुखी नभई उत्पादनमुखी भएको बताएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत राजस्व र आयव्ययको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले विगतमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिँदो विश्व अर्थ व्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको बताएका हुन् ।

बजेटले उत्पादन र रोजगारका अवसर सृजना गर्ने उल्लेख गर्दै उनले बजेटका माध्यमबाट समन्वयात्मक भूमिका निर्वाह गरी लक्षित राजस्व सङ्कलनमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले नयाँ करका रुपमा हरित कर थालनी गरिएको जनाउँदै मुलुकले सौर्य र नवीकरणीण ऊर्जातर्फ ध्यान दिएको जानकारी दिँदै आलु, प्याज र स्याउको आन्तरिक उत्पादनलाई संरक्षण गर्न मूल्य अभिवृद्धि कर हटाइएको बताए ।

आर्थिक रुपान्तरणको घोषणा भएपनि बजेट कार्यान्वयन चुनौतीपूर्णः सचिव विष्ट

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले आगामी आर्थिक वर्षको बजेटले आर्थिक रुपान्तरणको घोषणा गएको भए पनि कार्यान्वयन अत्यन्त चुनौतीपूर्ण रहेको बताएका छन् । मंगलबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै विष्टले  बजेटमा नयाँ आर्थिक सुधारको उद्घाोष गरिए पनि त्यो स्पष्ट नभएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘यो कसका लागि ? असमान आय घटाउन, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन, उत्पादन वृद्धि, राष्ट्रिय पूँजी वृद्धि, रोजगारी सृजना र गरिबका लागि वा उदारीकरणका बाँकी काम कार्यान्वयन गर्न ?’

उनले बजेटमा पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रुपान्तरणकारी क्षेत्र छुट्याइनु सकारात्मक रहे पनि  कार्यक्रम र विनियोजन समुचित नभएको टिप्पणी गरे । ‘बजेटमा कृषि लगानी दशक, सूचना प्रविधि दशक, महिलामा लगानी वर्ष भनिए पनि सम्बन्धित क्षेत्रमा विनियोजन घटेको अवस्था छ, यसले लक्ष्य प्राप्त गर्न कठिन छ’, उनले भने ।

        बजेटले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने लक्ष्य राखेको भए पनि पर्यटन पूर्वाधारमा लगानी नबढ्नुले आशङ्का बढाएको उनको भनाइ थियो ।

‘भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको योजना बजेटमा आउन सकेन, यसले आशङ्का बढाएको छ’, उनले भने ।

उत्पादनमूलक क्षेत्रमा लागनी वृद्धि नभएसम्म आर्थिक वृद्धि सम्भव नहुने भन्दै उनले खर्च गर्ने विधि, आयोजनामा न्यून विनियोजन तथा खर्च प्रणालीमा सुधार ल्याउन ध्यानाकर्षण गराए ।

पानीको कहानी बोकेर चुरेवासी माइतीघरमा

प्रगति ढकाल, काठमाडौँ । ‘दुर दुर गेला पर भी पानी नही भेटैछ, आब कोना जीब ? ताहि लेल हम सब सरकारी घर (सिंहदरबार) मे विरोध करय लेल आयल छी ।’ अर्थात् टाढाटाढा गएर पनि पानी भेटिँदैन, हामी कसरी जिउने ? त्यसैले धर्ना दिन हामी सरकारी घर (सिंहदरबार) नजिक आएका हौँ ।

जनकपुर उपमहानगरपालिकाकी ५० वर्षीया शान्तिदेवी यादवले माइतीघरमा बसेर व्यक्त गरेको यो पानीको कहानीले जो कोही पनि मन भकानिन्छ । पच्चीस दिन पैदल हिँडेरै ‘चुरे बचाऊ : हामीलाई पानी देऊ सरकार’ भन्दै उनी माइतीघरमा बसेर पानीका लागि गुहार माग्दै छन् ।

दिनभरको चर्को घाम समेत नभनी पैदल आउँदा सुनिएका खुट्टा अझै निको भएका छैनन् । “कसलाई रहर थियो र ? यो घाममा जनकपुरदेखि हिँडेर आउन,” उनी भन्छन्, “पानीको धेरै दुःख भयो सिंहदरबार नजिक आएपछि हाम्रो माग सुनुवाइ हुन्छ कि भन्ने लागेर माइतीघर आएका हौँ तर आजसम्म सुनुवाइ भएन ।” चुरे विनाशले चापाकल, पोखरी सुक्दा पानीका लागि टाढा गएर घण्टौँ लाइन बस्नुपर्ने कहानी सुनाहुन्छ यादव । “पानी नपाएसम्म हामी त नफर्किने हो, मर्न परे यही मर्छौं,” उनी भन्छन् ।

सप्तरी राजविराजकी सुनिता साहको कहानी पनि उस्तै उदेयकलाग्दो छ । चुरेको बालुवा–ढुङ्गाको अत्यधिक दोहनका कारण चुरेको विनाश बढेको र खानेपानीको मुहान सुक्दा समस्या भोग्ने चुरेवासीमध्ये उनी पनि एक हुन् । “आधा घण्टा हिँडेर पानी लिनका लागि जानुपर्छ, त्यो पनि घण्टौँ लाइन बसिसकेपछि मात्रै पाइन्छ,” उनी भन्छन्, “चुरे क्षेत्रका ८० प्रतिशत चापाकलको पानी सुकेर पानी नै आउँदैन, जारको पानी किनेर प्रयोग गर्न सक्ने क्षमता छैन ।”

सिराहाबाट माइतीघरमा पानीको माग गर्दै धर्नामा बसेकी अर्की सङ्गीता सदाले पनि खानेपानीको समस्याले जीवन नै समस्या भएको भन्दै चुरे संरक्षण हुनुपर्ने बताउँछन् । “खानेपानी त छैन, कृषि बालीमा कसरी पानी लगाउनु ? सुकेर गइसक्छ,” उनी भन्छन्, “पहिलापहिला सस्तो पाउने तरकारीहरु सुक्खाका कारण महङ्गो भएको छ ।”

धनुषाकी फुलकुमारी मुखिया उमेरले ५० कटिसके । माइतीघरमा पानी खोइ ? भन्दै रित्ता भाँडाहरु राखिएका छन् । तिनै रित्तो भाँडो बोकेर पानी माग्न उनी पनि २५ दिनको पैदलयात्रा गरेर काठमाडौँ आए । “हाम्रो ठाउँमा सरकार नपुगेपछि सरकारको ठाउँमा हामी आयौँ, यहाँ आउँदा पनि हाम्रो धर्नालाई कसैले पनि देखेनन्,” उनी भन्छन्, “पानीको समस्या भोग्नेलाई मात्रै थाहा हुन्छ यसको पीडा कति हुन्छ ? भनेर ।”

धनुषाबाटै धर्नामा आएकी राधा चौधरीलाई भने सिंहदरबार आसपासमा आएर गरिएको माग ढिलै भए पनि सरकारले सुन्ला भन्ने विश्वास छ । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवले चुरे दोहन र वन विनाशका कारण पानीको स्रोत सुक्दै गएको चुरेवासी पानीको सङ्कटबाट गुज्रिनुपरेको भन्दै चुरे संरक्षण र खानेपानीको उपलब्धताका माग गर्दै धर्ना दिइएको जानकारी दिइन् ।

नेपाल वन प्राविधिक सङ्घ (एनएफए) का अध्यक्ष राकेश कर्णले माइतीघरमा पानीको माग राख्दै धर्नामा बसेका चुरेवासीको मागप्रति ऐक्यबद्धता रहेको बताए । “हाम्रो चुरे संरक्षणको साझा सबैको साझा मुद्दा बनाउन र चुरे संरक्षणमा जुट्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छौँ,” उनले भने ।

भू–गर्भविद् डा सुवोध ढकालले चुरे मासिदा भूक्षय बढ्ने पहिरो जानेलगायत समस्याले त्यस क्षेत्र तथा तल्लोतटीय क्षेत्रको समेत पानीको स्रोत सुक्दै जानेलगायत समस्या उत्पन्न भएको बताए । “खासमा तराईको जमिनको पानी रिचार्ज चुरेबाट हुन्छ, चुरेबाट जमिनमुनिबाट पानी छिरेर तराईसम्म पुग्ने हो जब चुरेमा भू–क्षय तथा पहिरो गयो भने जमिनमुनिको पानी सतहमाथि भएर खेर जाने र चुरेले जमिनमुनिको पानी रिचार्ज हुने काम कम भयो,” उनले भने, “समाधानका चुरेको पहिरो र भू–क्षय रोक्नुपर्छ र चुरेलाई बचाउन माथिल्लोतटीय क्षेत्र र तल्लोतटीय क्षेत्रबीच समन्वयकारी कार्यक्रमहरु लानुपर्ने हुन्छ ।”

उनले जमिनमुनिको पानीको स्रोत बचाउन वनजङ्गल फँडानी र अतिक्रमण रोक्नुपर्ने बताए । ढकालका अनुसार विस्तृत रुपमा चुरे तथा तराई क्षेत्रका जमिनमुनिको पानीको सतह घटेको विषयमा अध्ययन– अनुसन्धान हुनुपर्ने र तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

खानेपानी मन्त्रालयका सिनिअर डिभिजनल इन्जिनियर मधु तिमिल्सिनाले खानेपानीको मन्त्रालयको बजेट विनियोजन घट्दै जाँदा खानेपानीको समस्या समाधान गर्नका लागि यथेष्ट कार्यक्रम राख्न नसकिएको बताए । उनले अन्तरसरकारी निकाय, तीनओटै तहको सरकारबीचको समन्वयका आधारमा खानेपानीको समस्या समाधानका लागि कार्यक्रम तय गर्न सम्भव हुने बताए। “तराईमा खानेपानी सुधारका धेरै आयोजनाहरु बजेट अभावका कारण बन्न सकिरहेका छैनन्, डिपबोरिङ आयोजनाका लागि अर्थ मन्त्रालयसँग पहल गरेका छौँ सुनुवाई भइरहेको छैन,” उनले भने ।

तराईका करिब दुई सय ८० आयोजनाहरु पम्प बिग्रिएका र अलपत्र परेका आयोजनाहरु छन् । चार अर्ब छुट्याएमा अधुरा आयोजना अगाडि बढाउन सकिने उनको भनाइ छ । आगामी आर्थिक वर्षका लागि मधेस प्रदेशका स्थानीय तहमा केही टिप बोरिङको कार्यक्रम राखिएको छ । खानेपानी मन्त्रालयले समेत चुरे क्षेत्रको दोहन रोकेर चुरे संरक्षण गर्दै खानेपानीको स्रोत जोगाउनका लागि वन तथा वातावरण मन्त्रालयलाई ध्यानाकर्षण गराएको जनाएको छ ।

आगामी वर्षदेखि दिगो सुनकोसी–मरिन डाइभर्सन आयोजनाबाट तराईका केही जिल्लामा थोक वितरणबाट खानेपानी आपूर्ति गर्ने कि भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए । चुरे दोहन बढ्दै जाँदा जमिनमुनिको पानी रिचार्ज हुन नसकेमा डिपबोरिङले पनि काम नगर्ने भन्दै दिगो समस्या समाधानका लागि चुरे जोगाउनुपर्नेमा उनले जोड दिए ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले चुरे क्षेत्रको समस्या बहुआयामिक रहेको र चुरे संरक्षण तथा व्यवस्थापन गर्न बनाइएको २० वर्षे गुरुयोजना कार्यान्वयनमा लगानीको चुनौती रहेको बताए।

“राष्ट्रिय गौरवको आयोजनालाई नै प्रयाप्त स्रोत नै छैन । अन्य सरोकारवाला निकायसँगको समन्वय पनि राम्रो हुन सकेको छ्रैन यसले चुरे क्षेत्रको सरक्षणमा बाधा पुगेको छ,” उनले भने, “तर चुरे संरक्षण नभएकै कारण चुरे तथा तराई क्षेत्रमा पानीको स्रोत सुक्यो भन्ने विषयमा कुनै अध्ययन अनुसन्धान नभएकाले यही नै कारण हो भन्ने आधार छैन ।”

उनले चुरेको नदी उत्खनन्, वन विनास रोक्न र चुरे क्षेत्रको संरक्षण गर्न अन्तरसरकारी निकायबीचको समन्वय जरुरी रहेको जानकारी दिए ।

यसैगरी चुरेविद् विनोद भट्टले पनि चुरेको विनाश बढिरहँदा पहिरोे तथा भू–क्षय जाने र पानीको स्रोत सुक्दै जाने क्रम पनि बढिरहेको भन्दै समयमा नै सरोकारवाला निकायले सचेतना अपनाउनुपर्नेमा जोड दिएको छ ।

उनले भने, “राष्ट्रिय गौरवको चुरे आयोजना र चुरे संरक्षण विपरीतका अरु विकासका आयोजनाहरु रहेका छन्, सरकारकै दोहारो नीतिले चुरेको संरक्षण कसरी हुन सक्छ ?” चुरे क्षेत्रको बजेट कनिका छरे झैँ छरिएको तर प्रभावकारी कार्यक्रम नभएको भन्दै यस विषयमा सम्बन्धित निकायले गम्भीरताका साथ सोच्नुपर्नेमा उनको जोड रहेको छ ।

यसैगरी वनविज्ञ डा सोनी बराल गौलीले पनि चुरे संवेदनशील क्षेत्र रहेको र वन विनाशका कारण चुरेको माटो बगेर जाने तथा पानीको स्रोत संरक्षणमा समेत असर पुगेको बताइन् ।

“चुरेलाई कान्छो पहाडका रुपमा लिइन्छ, यहाँ खुकुलो माटो हुने भएकाले भूक्षय हुन्छ । वनजङ्गल भएमा यसका जराले चुरेको माटो समातेर राख्छ,” उनले भने, “चुरेमा वनजङ्गल भयो भने जमिनको पानी रिचार्ज हुने र पानीको स्रोत संरक्षण हुन्छ ।”

संविधानको धारा ३५ (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हकको व्यवस्था गरिएको छ, तर नागरिकले उक्त मौलिक हकको प्रत्याभूति गर्न पाएका छैनन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङकअनुसार कूल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये खानेपानीको मुख्य स्रोतका रुपमा धारा/पाइप (घरपरिसर भित्र) प्रयोग गर्ने ३४ दशमलव छ प्रतिशत र धारा/पाइप (घरपरिसर बाहिर) २२ दशमलव चार प्रतिशत, ट्युबवेल/हातेपम्प २९ दशमलव आठ प्रतिशत, ढाकिएको इनार/कुवा एक दशमलव पाँच प्रतिशतले प्रयोग गरेका छन् ।

दिगो विकासको लक्ष्यले सन् २०३० सम्ममा पानीको अभावलाई सम्बोधन गर्न तथा पानीको अभाव झेलिरहेको जनसङ्ख्यालाई उल्लेख्य रूपमा घटाउन सबै क्षेत्रमा पानी उपयोग कुशलता उल्लेख्य मात्रामा वृद्धि गर्ने र स्वच्छ पानीको दिगो निष्कासन तथा आपूर्ति गर्ने दिगो विकास लक्ष्य लिएको छ ।

घट्दै चुरेको बजेट

चुरेमा अब प्रदेश र स्थानीय तहले पनि लगानी बढाउन आवश्यक रहेको सरोकारवालाहरुले बताउँदै आएका छन् । आगामी आव २०८०/८१ का लागि एक अर्ब पाँच करोड बजेट विनियोजन गरिएको छ । चालु आव २०७९/८० का लागि भने सरकारले चुरे संरक्षणको क्षेत्रमा दुई अर्ब १७ करोड बजेट विनियोजन गरेको थियो । तर विस्तारै चुरे क्षेत्रको बजेट घटिरहेको भन्दै यसले चुरेको गुरुयोजना कार्यन्वयनमा चुनौती हुने भन्दै सरोकारवालाले गुनासोे गरेका छन् ।

चुरे क्षेत्रको २० वर्षे गुरुयोजनाले तोकिएको वार्षिक रुपमा नौ अर्ब बराबरको रकम आवश्यक पर्ने उल्लेख गरेको छ । चुरे क्षेत्रका लागि विनियोजन भएको सीमित बजेट तर चुरेका असीमित अपेक्षाका कारण पनि उक्त योजनाहरु कार्यन्वयनका लागि थप चुनौती उत्पन्न हुने देखिन्छ । चुरे संरक्षणका लागि गुरुयोजनाअनुसार आगामी २० वर्षसम्म करिब दुई खर्व ५० अर्ब लागत लाग्ने उल्लेख गरे पनि अनुमानित लागतअनुसारको अपर्याप्त बजेटका कारण गुरुयोजना कार्यन्वयनमा चुनौती देखिएको छ ।

चुरे क्षेत्रको मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले नै विनियोजित रकम कम भएको भन्दै गुनासो गरेको छ ।

समितिका अध्यक्ष डा किरण पौडेलले विनियोजित रकम भएको र अब प्रदेश तथा स्थानीय तहसँग समन्वय थालिने बताए । “विनियोजित बजेट कम भएर आएको छ, यसकारण हाम्रा लक्षित कार्यक्रम कार्यान्वयनमा चुनौती थपिने छ,” उनले भने, “अब चुरे क्षेत्र जोगाएनौँ भने चुरे तथा तराई र भित्री मधेस क्षेत्रमा खानेपानीको विकराल समस्या निम्तन सक्छ ।”

जमिनमुनिको पानी रिचार्ज प्रक्रिया बढाउन र पानीको स्रोत संरक्षण गर्न पोखरी निर्माण गर्नुपर्ने, वन जङ्गलको संरक्षण तथा चुरे दोहन रोक्नुपर्नेमा उनको जोड छ । “यसका लागि सबै सरकारी निकायबीच समन्वय हुनुपर्छ र राजनीतिक दलको समेत प्रतिबद्धता आउनुपर्छ,” उनले भने, “समितिले मात्रै केही गर्न सक्दैन, सबैको सहकार्य भएन भने चुरेको समस्या बल्झिरहने छ ।”

शेयर बजारमा सामान्य अंकको बृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य बढेको छ । मंगलबार नेप्से ६ दशमलव २२ अङ्कले बढेर २ हजार ८५ दशमलव ३० विन्दुमा पुगेको छ ।

आज हाइड्रोपावर, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार, माइक्रोफाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर भने साढे ५ प्रतिशतले घटेको छ ।

आज ३ सय १५ वटा कम्पनीका ८३ लाखभन्दा धेरै कित्ता शेयर ४ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २० करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अर्थमन्त्री पुनसँग एमसीसी उपाध्यक्ष ब्रुक्सको भेटवार्ता, तोकिएकै समयमा परियोजना पूरा गर्ने प्रतिबद्धता

काठमाडौँ ।  नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् ।


उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनसँग मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।


उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयबाट सम्पादन हुनुपर्ने काममा  सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘एमसीसी कम्प्याक्टका आयोजना समयमा नै पूरा गर्न सरकार प्रतिबद्ध छ ,’ अर्थमन्त्री पुनले भने ।


एमसीसी परियोजनाअन्तर्गतका आयोजनाको काम खण्डखण्डमा भइरहेकाले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको बताए । 


उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजनाअन्तर्गत निर्माणाधीन विद्युत् प्रसारण लाइन र सडक निर्माणमा भइरहेको प्रगतिबारे जानकारी दिएका थिए । उनले आयोजनाको हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको बताए ।


एमसीसी सम्झौताअन्तर्गत पाँच वर्षभित्र तीन सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक निर्माण हुनेछ । 


आयोजनाले बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन पनि निर्माण गर्नेछ । तीन सय १५ किलोमिटर लामो ‘डबल सर्किट’ चार सय ‘किलोभोल्ट’ प्रसारण लाइन निर्माण हुनेछ ।


आयोजनाअन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे, तनहुँको दमौली र नवलपरासी पश्चिमको भूमहीमा सब–स्टेसन निर्माणको काम प्रारम्भ भएको छ । 


यसैगरी रातमाटेबाट काठमाडौँको लप्सीफेदीमा नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन चार सय केभी सब–स्टेसन र मकवानपुरको हेटौँडामा रहेको प्राधिकरणको चार सय केभी सब–स्टेसन दुवैमा रातमाटेबाट विद्युत् प्रवाह गरिनेछ । चार सय किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गर्न सक्ने यो सब–स्टेसन देशको हालसम्मकै ठूलो प्रसारण लाइन हो ।


आयोजनाअन्तर्गत आठ सय ५६ वटा टावर बन्नेछन् । काठमाडौँ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र पश्चिम नवपरासी जिल्लालाई प्रसारण लाइनले छुन्छ । 


परियोजनाअन्तर्गत तीन सय पाँच किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मतसम्भार र गुणस्तर सुधारकोे काम हुनेछ ।


पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङबाट पश्चिमतर्फ धानखोला–लमही सडक खण्डको ४० किलोमिटर सडक नयाँ प्रविधिमार्फत विस्तार तथा सोही राजमार्गको दाङ र अर्घाखाँचीमा पर्ने लमही–शिवखोला खण्डको ३७ किमी सडक मर्मतको काम अघि बढेको छ ।


सन् २०१७ मा नेपाल र अमेरिका सरकारको एमसीसीबीच आयोजनासम्बन्धी हस्ताक्षर भएको थियो । उच्च राजनीतिक नेतृत्वमा लामो समयको छलफल र बहसपछि अन्ततः परियोजना कार्यान्वयन भएको हो । दुई वर्षअघि संसद्ले सम्झौता अनुमोदन गरेसँगै आयोजना कार्यान्वयनमा आएको हो ।

दक्षिण कोरियाद्वारा उत्तर कोरियासँगको सैन्य सम्झौता निलम्बन गर्ने निर्णय अनुमोदन

दक्षिण कोरियाले मङ्गलबार डेमोक्र्याटिक पिपुल्स रिपब्लिक अफ कोरिया (डीपीआरके) सँग सेप्टेम्बर–१९ मागरेको सैन्य सम्झौताको पूर्ण निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ ।

अघिल्लो दिन राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) को कार्य–स्तरीय बैठकमा निर्णय गरेपछि प्रधानमन्त्री हान डक–सूको अध्यक्षतामा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले यसलाई अनुमोदन गरिएको हो ।

एनएससीले दुई पक्षबिच आपसी विश्वास पुनःस्थापित नभएसम्म सैन्य सम्झौताको सम्पूर्ण प्रभाव रोक्ने निर्णय गरेको छ ।

सन् २०१८ मा प्योङयाङमा भएको अन्तर–कोरियाली शिखर सम्मेलनमा सीमापारका सबै शत्रुतापूर्ण कार्यहरू रोक्नका लागि दुवै पक्षका रक्षा प्रमुखहरूले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बरालिएको बजेटलाई यस बर्ष ट्रयाकमा ल्याउने काम भएको छ : सांसद वाग्ले

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बरालिएको बजेटलाई यस बर्ष ट्रयाकमा ल्याउने काम भएको बताएका छन् ।

संसदमा बजेटमाथिको छलफलका क्रममा सांसद वाग्लेले बजेटले मुलुकको आर्थिक सुधारका आयामहरु खोलेको र यसअघि बरालिएको बजेटलाई यस बर्ष ट्रयाकमा ल्याउने काम भएको भन्दै अर्थमन्त्रीलाई शुभकामना दिएका हुन् ।

आर्थिक सुधारको नयाँ घोषणालाई कार्यान्वयन गर्न नयाँ ढंगले बजेट कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए । सांसद वाग्लेले हरेक बर्ष बजेट बढाउदै लैजाने र मध्यावधि समीक्षाबाट सुकाउने गर्दा बजेटको विश्वसनीयतामा प्रश्न उठ्ने गरेकाले यसमा बिशेष ध्यान दिनुपर्ने धारणा राखे ।

उनले बजेटको आकार केहि बढेको देखिएपनि जिडिपीको अनुपातमा यसबर्षको बजेट घटेर आएको बताए ।

पाकिस्तानको कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा सोमबार ग्याँस चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

खानीमा ग्याँस चुहावट भए पछि श्वासप्रश्वासमा असहज भएका कारण मृत्यु भएको प्रान्तीय सरकारको खानी विभागका प्रमुख अब्दुल घानी बलोचले बताए । उनका अनुसार मृतकमा एक ठेकेदार र एक खानी प्रबन्धक पनि थिए ।
निजी कम्पनी युनाइटेड कोल कम्पनीद्वारा सञ्चालित यो खानी प्रान्तीय राजधानी क्वेटाबाट ४० किलोमिटर टाढा अवस्थित छ ।

मार्चमा सोही प्रान्तमा ग्याँस विस्फोट हुँदा १२ जना खानी मजदुरको मृत्यु भएको थियो ।

बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठुलो र सबैभन्दा गरिब प्रान्त हो जुन प्राकृतिक स्रोतहरूमा धनी भएता पनि यसलाई स्थानीयले लामो समयदेखि आफ्नो समुदायबीच निष्पक्ष रूपमा नबाँडिएको भनेर गुनासो गर्दै आएका छन् ।