`

भारतको लोकसभा चुनाव परिणामः आधाभन्दा बढी सिटमा एनडिए अगाडि

भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ। आयोगको पछिल्लो अपडेटअनुसार पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) दुई सय ३६ सिटमा अग्रता हासिल गरेको छ ।

भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) दुई सय ९९ सिटमा अगाडी रहेको निर्वाचन आयोगले जानकारी गराएको छ।

त्यसैगरी एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २६ सिटमा अग्रता हासिल गरिरहेको छ र अन्य १८ सिटमा अगाडि रहेका छन्।

काङ्ग्रेस ९२ सिटमा, समाजवादी पार्टी ३४ सिटमा, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २१ सिटमा, तृणमूल काङ्ग्रेस ३० सिटमा, शिवसेना (उद्धव ठाकरे) १० सिटमा, एनसीपी (सपा) आठ सिटमा, माकपा पाँच सिटमा र आम आदमी पार्टी तीन सिटमा अगाडि छन् । राहुल गान्धी र प्रधानमन्त्री नरेन्द्र मोदी दुबै आफ्नो निर्वाचन क्षेत्र क्रमश राय–बरेली र वनारसमा अगाडि छन्। राहुल गान्धी वायनाडमा पनि अग्रतामा रहेका छन् ।

उत्तर प्रदेशमा भाजपा ३५ सिटमा अगाडि छ । यसको साझेदार पार्टी राष्ट्रिय लोक दल (आरएलडी) दुई सिटमा अगाडि छ भने समाजवादी पार्टी ३४ सिटमा अगाडि रहेको छ।

छ हप्ताको अवधिमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए।
आन्ध्र प्रदेशको १ सय ७५ विधानसभा निर्वाचन क्षेत्र र ओडिसाका एक सय ४७ विधानसभा निर्वाचन क्षेत्रहरूमा पनि मतगणना सुरु भइसकेको छ ।

‘होस्टेल ३’ मा रिहान, पदम र सिम्रन

काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ ।

तीन जना कलाकारको ‘होस्टल ३’ डेब्यू फिल्म हुनेछ । यसअघि फिल्ममा भिडियो कन्टेन्ट क्रिएटरका रुपमा परिचित पारस बम ‘कुल ब्वाइ’ अनुबन्धित भइसकेका छन् ।

रिहान भुटानी नागरिक हुन् । उनी नेपाली गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट समेत हुन् । फिल्ममा उनी ‘मानव’ पात्रका रुपमा देखिनेछन् ।

त्यस्तै पदम सिक्किमका कमेडियन हुन् । उनी नेपालको पूर्वी क्षेत्रमा रुचाइएका कलाकार हुन् । फिल्ममा उनको पात्रको नाम ‘जिते’ रहनेछ । यस्तै सिम्रनले मुम्बई र नेपालमा अभिनयको प्रशिक्षण लिएकी छन् ।

फिल्म निर्देशक सशान कँडेलले होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित कथा फिल्ममा हुने बताए । फिल्म यसै वर्षको अन्त्यमा रिलिज हुनेछ ।

फिल्ममा सशानको कथा, माधव शर्माको पटकथा तथा संवाद छ । सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण गर्न लागेको फिल्ममा शिशिर ज्ञवाली निर्माता, शंकर कोइराला कार्यकारी निर्माता, सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह–निर्माता तथा कर्ण कार्की लाइन प्रोड्युसर छन् ।

बजेट पहिले जस्तै झुक्काएर आयोः मन्त्री चौधरी (अन्तरवार्ता)

काठमाडौं । राज्यको अर्थतन्त्रले भविष्य कस्तो बनाउने खाका निर्धारण गर्छ । अर्थमन्त्री वर्षमान पुनले गत मङ्गलबार २०८१/८२ को बजेट भाषण गरे । जसमा सबैभन्दा बढी बजेट अर्थ मन्त्रालयका लागि विनियोजन भएको छ मन्त्रालयभरिमा सबैभन्दा कम बजेट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई रहेको छ । 


आगामी आर्थिक वर्षमा महिला मन्त्रालयलाई एक अर्ब ६० करोड मात्रै बजेट छुट्याइएको छ । सधैँ जस्तै महिला मन्त्रालय पुरानै बजेटमा चित्त बझाउनुपर्ने बाध्यतामा छ । मन्त्री भगवती चौधरीले बजेटमा विभेद भएको महसुस गरिन् । आधा प्रतिशत जनसङ्ख्या रहेको महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलगायत सबैको अभिभावकत्व गर्नुपर्ने मन्त्रालयलाई कम महत्व दिन खोजिनु नहुने उनको भनाइ छ ।


आर्थिक सर्वेक्षण २०८० मा सङ्घीय संसद्मा महिला प्रतिनिधित्व ३३ दशमलव पाँच प्रतिशत, प्रदेशमा ३६ दशमलब ३६ प्रतिशत र स्थानीय तहमा महिला प्रतिनिधित्व ४१ प्रतिशत रहेको तथ्याङ्क छ । गणतन्त्रपछि समानुपातिक सहभागिताको प्रतिनिधित्वको प्रतिफल राम्रो देखिए पनि महिलाहरु नेतृत्व तहमा भने पुग्न नसकेको उनको भनाइ छ । उनी राज्यको वास्तविक विकास महिला एवं सीमान्तकृत वर्गको उन्नतिबाटै सम्भव भएको बताउँछिन् ।  प्रस्तुत छ, यिनै सवालहरुको सेरोफेरोमा मन्त्री चौधरीसँग राससका उपसमाचारदाता मधु शाहीले गर्नुभएको कुराकानीको सम्पादित अंशः


तपाईंले  महिला मन्त्रालय जिम्मेवारी सम्हाल्नेबित्तिकै सीमान्तकृत महिला लक्षित कार्यक्रम ल्याउने बताउनुभएको थियो । कस्तो कार्यक्रम भन्न खोज्नु भएको हो ? 

– तल भएको जो गरिबीको रेखामुनि भन्दा तल छ । विश्वमा दुई डलरभन्दा कम आम्दानीलाई बुझिन्छ । त्योभन्दा कम कमाउने व्यक्तिलाई भुइँमान्छे भन्छन् । नेपालले पनि तोकिदिएको छ, न्यूनतम ज्याला दैनिक पाँच सय ज्याला भनेर त्यो ज्याला पनि नपाउने मान्छे कति छन् त ? त्यस्ता व्यक्तिलाई हामीले टिप्नु पर्यो । अहिले हामीले ‘छोरी आत्मनिर्भर’ कार्यक्रममा यिनै भुइँमा परेका छोरी, बुहारी लक्षित कार्यक्रम अघि सारेका छौँ । 


उनीहरुको क्षमता विकासका लागि आवश्यक पर्ने सम्पूर्ण आधारशिलामा जोड दिइरहेका हुन्छौँ । त्यस्तै, बजार पनि जोड्न खोजेका छौँ । उनीहरु साना उद्यमी बनाएर दुईचार जनालाई रोजगार दिन सक्ने समेत हुन सकून् । सीमान्तकृत भनेको सामाजिक, सांस्कृतिक, आर्थिक, जातीय एवं वर्गीय दृष्टिले एकदमै तल परेकालाई अवसर दिनु हो । यस्तो समुदायलाई कसैले सोध्दै न सोध्ने, वास्तै नगर्ने गरिएको छ । यो सीमान्तकृतको सिद्धान्तअनुसार व्यवहार भएनन् नि । त्यसैले मैले पिँधमा परेका समुदायको प्राथमिकता दिनु भन्ने गर्छु । 

‘बजेटमा प्रधानमन्त्री छोरी’ कार्यक्रम, ‘आगामी वर्ष महिला उद्यमी वर्ष मनाउने’ जस्ता योजनाहरु बजेटमा आएका छन् । यी कार्यक्रमहरुको कार्यान्वयन हुनेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?


–छोरीको सन्दर्भमा योजना बन्दा सकारात्मक नहुने त कुरै भएन, तर शीर्षक भएर मात्रै आनन्द दिने स्थिति छैन । योजना साकार पार्ने पैसाले हो । यसमा धेरै आशा गर्न सक्ने अवस्था छैन । 

बजेट पर्याप्त भएन भन्न खोज्नुभएको हो ? 

– मैले भन्नुभन्दा पनि बजेट शैलीले नै त्यही प्रस्ट भन्छ । बजेट हामीले सोचेजस्तो आएन । महिलाका क्षेत्रमा बजेट एकदमै अपर्याप्त छ । हामीले सोचेका थियौँ केही नभए पनि नमूना कार्यक्रमका रुपमा दुई सय पालिकामा यस पालि छोरी आत्मनिर्भर कार्यक्रम पुर्याउनु पर्छ भन्ने थियो । हामीले पाँच वर्षको कार्ययोजना बनाएका थियौं । सबै वडामा समान वितरण गर्नका लागि सात सय ५३ वटा स्थानीय तहमा पुर्याउन पाँच वर्षमा  १६ अर्ब लगभग बजेट चाहिन्थ्यो । यो पुरानो कार्ययोजनाका लागि कम्तीमा एकदुई करोड मात्रै बजेट छुट्टिएको भए केही प्रभावकारी काम गर्न सकिन्थ्यो । प्रधानमन्त्रीले कम्तीमा तीन/चार करोड आउला भन्दै हुनुहुन्थ्यो । हामी ढुक्क जस्तै भएका थियौँ, तर बजेट पहिले जस्तै झुक्काएर आयो । पहिलेको बजेट हेरेर महिला मन्त्रालयलाई सिलिङ कमै दिएको हो । 

सीमित बजेटमा रहेर मन्त्रालयको थुप्रै जिम्मेवारीहरु कसरी सम्पादन गर्नुहुन्छ त ? 

– आधा प्रतिशत जनसङ्ख्या रहेको महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलगायत सबैको अभिभावकत्व गर्नुपर्ने मन्त्रालयमा बजेट दिन कन्जुस्याइँ गर्दा सोचेजस्तो र भनेजस्तो कार्य सम्पादन हुन कठिन हुन्छ । काम धेरै गर् भन्ने स्रोत दिन नसक्ने । साँच्चिकै यो त पितृसत्तात्मक सोचबाट राज्य नै उम्किन नसकेको हो कि भन्ने कता कता भान हुन्छ । अर्थमन्त्रालयको नेतृत्वमा महिला नहुँदा लैङ्गिकताप्रतिको सोच फराकिलो नभएको हो कि भनेर अर्थमन्त्री र सम्मानीय प्रधानमन्त्रीसँग भनेकै हुँ । अपाङ्ता भएका व्यक्तिहरुले नैसर्गिक अधिकारको माग गर्दै आन्दोलन गरिरहनुभएको छ । उहाँहरुको मागलाई सम्बोधन गर्नका लागि कम्तीमा आठ÷दश करोड जरुरत पर्ने भएकाले माग गरिएको थियो । त्यस्तै, बाल सुधारगृहको अवस्था नाजुक छ । यसको परामर्शपछि शिक्षाको पाटोमा समेत लगानी गर्नुपर्ने अवस्था छ । 

सरकारले बजेट भाषणमा ल्याएको ‘प्रधानमन्त्री छोरी कार्यक्रम’ को १० करोड बजेट विनियोजन गर्ने भनेको छ । के यो पनि पर्याप्त छैन र ? 

– मैले बजेट भाषणपछि प्रधानमन्त्रीलाई भेटेर यस विषयमा छलफल नै गरेको छु । प्रधानमन्त्री छोरी कार्यक्रम जति विशाल सन्देश दिएको छ, त्यति बजेट हेर्दा खुम्चिएको पाएँ । छोरी उत्थान नै गर्न भनेर बनाएको कार्यक्रममा सरकारले खुलेर लगानी गर्नुपर्छ । यसलाई नमूना कार्यक्रमका रुपमा सुरु गर्ने भनिएको छ । 

कानुन तथा नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व बढ्दै गएको आर्थिक सर्वेक्षणले देखाएको छ । यसको सङ्केत अब महिला प्रतिनिधित्वमा सन्तुष्टि हुने बेला आएको हो ? 

– गणतन्त्रपछि समानुपातिक सहभागिताको प्रतिनिधित्वको प्रतिफल यस्तो देखिनु स्वाभाविक हो । यसलाई सहभागितामा महिला आए भन्न मिल्छ तर नेतृत्वमा पुगे भन्न चाहिँ अलि मिल्दैन । अहिले पनि महिलाको निर्णयात्मक तहमा अवरोध खडा गर्ने, हस्तक्षेप गर्ने प्रवृत्ति उस्तै छ । महिला आफैँ पनि कसरी निर्णयात्मक तहमा पुग्न क्षमता विकास गर्न सकिरहेका छैनन् । जस्तै, स्थानीय तहको एउटा उपप्रमुख/उपाध्यक्षको अधिकार क्षेत्र व्यापक हुन्छ । उहाँहरुले त्यो अधिकारको भरपुर प्रयोग गर्न सक्नुभएको छैन । अब वडा सदस्यहरु त आलङ्कारिक पद मात्रै हो । वडाको कुन योजना कहाँ लाग्ने ? कसरी लागू गर्ने ? अधिकांशलाई थाहै हुँदैन ।


तपाईंको विचारमा सहभागिता र नेतृत्व फरक हुन् ?

  –पक्कै पनि सहभागिता र नेतृत्व यी दुई शब्द फरक हुन् । सहभागिता हुँदैमा नेतृत्वदायी भूमिकामा आएको भन्न मिल्दैन । अहिले स्थानीय तहमा तपाईं हेर्न सक्नुहुन्छ, वडाध्यक्ष महिला कति नै छन् र ? औँलामै गन्न सकिन्छ । उपप्रमुख पनि थोरै नै छन् । सङ्घीय सरकारमा पनि उस्तै छ अवस्था । नेतृत्व तहमा ३३ प्रतिशत नै पुग्न पनि गाह्रो छ । 

छोरीलाई सशक्त बनाउने आधारहरु के के होलान् ? 

– छोरी पहिला शिक्षित हुनुपर्छ । शिक्षित बनाउने नीति राज्यले नै ल्याउनुपर्छ । शिक्षा मन्त्रालयले केही प्रयास गरेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा उच्च शिक्षाको प्रमाणपत्र देखाएर ऋण लिन पाउने भन्ने भनिएको थियो । त्यो पनि बैङ्क तथा वित्तीय संस्थाले सहजै दिँदो रहेनछ । धितो नै खोज्दो रहेछ । त्यसकारण त्यसको सुनिश्चित गर्नका लागि अर्को जुनसुकै सरकार आए पनि त्यो कार्यक्रम निरन्तर गर्नुपथ्र्याे । अघिल्लो वर्ष नै विभिन्न मन्त्रालयमा पुगेर तपाईंको बजेट लैङ्गिकमैत्री भएन भन्दै झक्झकाउने काम गर्दै आएका थियौँ । सबैको सहयोगले मात्र छोरी सशक्त बन्न सक्छिन् । अर्को पछिल्लो समय आवश्यक भनेको ‘प्रतिरक्षात्मक’ तालिम दिन जरुरी छ । घरेलु हिंसा, मानव बेचबिखनलगायत शारीरिक यातनाबाट महिलाहरु पीडित छन् । यो सङ्ख्या तुलनात्मक रुपमा बढ्दो छ । बाटोमा हिँड्दाहिँड्दै, घरमा बस्दा, कार्यालयभित्र जहाँ त्यहीँ छोरी शारीरिक रुपले असुरक्षित बन्दै गएका छन् । अबका छोरीहरुलाई आत्मनिर्भरतासँगै प्रतिरक्षात्मक तालिम दिन आवश्यक छ । स्कूलबाटै प्रतिरक्षात्मक तालिम दिनुपर्छ । अहिले हामीले स्कूलस्तरमा तालिम दिने भनेर बजेटमा केही रकम छ्ट्याएका छौँ ।

तालिमले नै महिला हिंसा रोकिएला त ?

– महिला कसैको छोरी हो, कसैको श्रीमती हो र कसैको बुहारी हो । जब तपाईंले कुनै महिलालाई आफ्नै सदस्य हुन् भन्ने सोच्नुहुन्छ, त्यतिबेला हिंसात्मक मानसिकता रोकिन्छ । कुनै पनि महिला वा किशोरीसँग गलत व्यवहार गर्नुपूर्व आफ्ना आमा सम्झिनूस् । हिंसा आफैं रोकिन्छ ।

चीनको बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना

काठमाडौँ ।  चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।

त्यस अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै  चिनियाँ समुदायलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न त्यहाँका पर्यटन व्यवसायीलाई अनुरोध गरे ।  नेपालको आर्थिक विकासको प्रमुख माध्यम पर्यटन उद्योग भएकाले यस क्षेत्रको विकासमा चिनियाँ उद्यमीहरूसँगको सहकार्य फलदायी हुने बताए । 

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार सोमबार भएको कार्यक्रममा होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपालको  पर्यटन उद्योग तथा उपलव्ध सुविधाबारे जानकारी दिएका थिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालको पर्यटन सम्भाव्यतालाई केन्द्रमा राखेर ‘नेपाल गन्तव्य’ शीर्षकमा प्रस्तुति दिँदै नेपाल र चीनका पर्यटन व्यवसायीबीच निरन्तर सम्पर्क स्थापित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली भूमिबाट  सगरमाथा आरोहण गरेका १५ चिनियाँ पर्वतारोहीलाई सम्मान गरिएको थियो । चाइना एसोसिएसन इन ट्राभल सर्भिसका प्रतिनिधिसहित दुई सयभन्दा बढी नेपाली र चिनियाँ पर्यटन व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधि सहभागी थिए । 

अरूण तेस्रो जलविद्युत परियोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरूण तेस्रो जलविद्युत परियोजनाको मुख्य सुरुङको मंगलबार ‘ब्रेक थ्रु’ गरेका छन् ।

उनले आगामी आर्थिक वर्षमा नौं सय मेगावाट विद्युत थपगरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने उल्लेख गर्दै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् ।

मंगलबार अरूण तेस्रो जलविद्युत परियोजनाको ‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्री दाहालले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्न पर्याप्त प्रावधान ल्याएको बताए ।

सुक्खायामको माग पूर्ति गर्न बुढीगण्डकी, दूधकोशी र नलसिङ्गाड जलाशययुक्त जलविद्युत आयोजना तथा नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरू गर्ने तयारी गरेको प्रधानमन्त्रीले जानकारी दिए ।
उनले वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइने समेत चर्चा गरेका छन् ।

प्रधानमन्त्रीले शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाश्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले क्रमशः विस्थापन गर्ने र त्यसका लागि हरित हाइड्रोजन प्रवर्द्धन गर्न अनुसन्धान र विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताए ।

प्रधानमन्त्रीले भने, ‘जलविद्युत आयोजना, प्रसारण लाइनको विस्तारलगायत ऊर्जा क्षेत्रको विकासका निम्ति बजेटमा व्यवस्था गरिएका कार्यक्रमहरूलाई दृढतापूर्वक अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।’

आयोजनाको ७० प्रतिशत काम सकिएको छ । आयोजनाको मुख्य सुरुङ मकालु–५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका–३ दिदिङ पुखुवा पावरहाउससम्म ११ दशमलव ८३७ किलोमिटर छ ।

आयोजनामा कुनै अवरोध नभएमा एक वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा व्यवस्था गरिएको छ । आयोजनाबाट व्यावसायिक उत्पादन सुरु भएको एक वर्षभित्र स्थानीयलाई शेयर दिने पिडिएमा उल्लेख छ ।

पिडिएअनुसार यस परियोजनाबाट एक सय ६० करोड रुपैयाँ स्थानीयलाई शेयर दिइनेछ । शेयर रकममध्ये पहिलो किस्तामा ५० प्रतिशत नौ सय ८० करोड र पहिलो उत्पादन वर्ष सकिएपछि दोस्रो उत्पादन वर्षको अन्त्यमा बाँकी ५० प्रतिशत शेयर वितरण गरिनेछ । शेयर वितरण गर्दा प्रत्यक्ष प्रभावितलाई पहिलो प्राथमिकतामा राखिने पिडिएमा भनिएको छ ।

करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको आयोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुनेछ । विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपैयाँ आर्थिक लाभ मिल्ने जनाइएको छ ।

विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्नेछन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख छ । अरुण तेस्रो जलविद्युत् आयोजनामा नेपाली र भारतीयसहित चार हजार कामदार कार्यरत छन् ।

राष्ट्रिय सहमतिको सरकार गठनको माग

काठमाडौँ / नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले वर्तमान शासन व्यवस्थामा परिमार्जनको आवश्यकता औँल्याउँदै राष्ट्रिय सहमतिको सरकार गठनको माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दलगत आग्रह र पूर्वाग्रह त्यागेर जनताको चाहनाअनुसार राष्ट्रिय हितमा काम गर्न सबै दललाई आग्रह गर्दै त्यस्तो सरकार गठनको माग गरेका हुन्।

सांसद गौतमले बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । कर्णाली नदीमा पानीको स्तर कम हुदैँ गएको र मानव र जङ्गली जनावरबीचको बढ्दो द्वन्द्वले वन्यजन्तुको वासस्थान लोपोन्मुख भएको बताए ।

मेक्सिकोमा पहिलो निर्वाचित महिला राष्ट्रपति सेनबामलाई बाइडेनको बधाई

अमेरिकी राष्ट्रपति जो बाइडेनले मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रुपमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक जीतका लागि क्लाउडिया सेनबामलाई बधाई दिएका छन् ।

“म क्लाउडिया सेनबामलाई मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा उहाँको ऐतिहासिक जितका लागि बधाई दिन चाहन्छु“, बाइडेनले भने ।

“ हामी दुई देशहरू बिचको स्थायी बन्धनलाई प्रतिबिम्बित गर्ने साझेदारी र मित्रताको भावनामा राष्ट्रपति–निर्वाचित सेनबामसँग नजिकबाट काम गर्न उत्सुक छौँ। हाम्रा जनताको हितका लागि दुवै राष्ट्रको मूल्य र हितलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्दछु “, उनले भने ।

यसबाहेक, बाइडेनले मेक्सिकन जनतालाई राष्ट्रव्यापी लोकतान्त्रिक चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिए । “स्थानीय, राज्य र सङ्घीयस्तरमा बीस हजार भन्दा बढी पदका लागि भएको राष्ट्रव्यापी सफल लोकतान्त्रिक निर्वाचन प्रक्रिया सञ्चालन गरेकोमा म मेक्सिकन जनतालाई पनि बधाई दिन चाहन्छु।“ राष्ट्रपति बाइडेनले भने ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मेक्सिकोको अर्को राष्ट्रपतिको रूपमा निर्वाचित हुनुभएकोमा क्लाउडिया सेनबामलाई बधाई दिए र दुई देशबीचको साझेदारीलाई बलियो बनाउन सहकार्यका लागि उत्सुकता व्यक्त गरेका छन् ।

जलवायु वैज्ञानिक तथा मेक्सिको सहरकी पूर्व मेयर क्लाउडिया सेनबाम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनी यो पद सम्हाल्ने यहुदी सम्प्रदायकी पहिलो यहुदी नेता पनि भएको पोलिटिकोले जनाएको छ।

मेक्सिकोको निर्वाचन कार्यालयबाट प्राप्त प्रारम्भिक परिणामअनुसार ६१ वर्षीया सेनबामले लगभग ५८ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।

अष्ट्रेलियाले गैर–नागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

अस्ट्रेलिया सरकारले देशको कम जनसङ्ख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न सङ्घर्ष गरिरहेको भन्दै गैर–नागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने बताएको छ ।

“जुलाईबाट १२ महिनादेखि अष्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दाहरूलाई सेनामा भर्ती हुने अनुमति दिइनेछ र बेलायत, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरूलाई प्राथमिकतामा राखिनेछ ।“ रक्षामन्त्री रिचर्ड मार्लेसले भने ।

देशको बढ्दो चुनौतीसँग सामना गर्न क्यानबेराले हालैका वर्षहरूमा पनडुब्बी, जेट र धेरै लडाकु सवारी साधनजस्ता रक्षाको क्षेत्रमा खर्च बढाएको छ । दुई करोड ६० लाख जनसङ्ख्या रहेको देशले उक्त सामाग्री सञ्चालन र मर्मत गर्न पर्याप्त जनशक्तीका लागि सङ्घर्ष गरिरहेको छ।

अस्ट्रेलियन रक्षाबलमा आजका दिनमा लगभग ९० हजार कर्मचारीहरूमा रहेको अस्ट्रेलियन स्ट्रेटेजिक पोलिसी इन्स्टिच्युटले जनाएको छ । रक्षामन्त्री मार्लेसले राष्ट्रका सुरक्षा चुनौतिहरूको सामना गर्न अस्ट्रेलियामा रक्षाबलको विकास आवश्यक रहेको बताए ।

कुनै एउटा समस्या आउने बित्तिकै सदन महिनौँ अवरूद्ध हुन्छ : सांसद दाहाल

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संस्थागत भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लग्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिका विषयमा गर्दै आएका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्नुपर्छ भनेका हुन् । उनले सदन अवरोधको अभ्यास बढेकामा चिन्ता व्यक्त गरे ।

“हामीले सदन सञ्चालनको वस्तुनिष्ठ समीक्षा गर्ने बेला भएको छ । कुनै एउटा समस्या आउने बित्तिकै महिनौँ सदन अवरूद्ध हुन्छ”, सांसद दाहालले भने, “विवादित विषय किनारा लगाउन संवैधानिक निकाय र राज्यका अख्तियार प्राप्त निकाय छन्, ती निकायलाई काम गर्न नदिएर सदनमा असंसदीय तरिकाले तरिकाले पेस हुन पाइँदैन ।”

नेपाली क्रिकेट टीमको जर्सीमा संसद पुगे रास्वपाका सांसद (भिडियो सहित)

काठमाडौं / नेपाली क्रिकेट टीमको सम्मान स्वरुप रास्वपा सांसदहरु क्रिकेट जर्सी लगाएर प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् ।

मंगलबार रास्वपाका सवै सांसदहरु क्रिकेट जर्सि लगाएर संसद बैठकमा सहभागी भएका हुन् । उनीहरुले नेपाली टिमलाई जीतको शुभकामना पनि दिएका छन् । नेपाली टीम विश्वकपमा सहभागी हुनु राष्ट्रकै गौरव भएकाले उनीहरुलाई साथ र समर्थन दिनका लागि जर्सी लगाएर सदनमा सहभागी भएको रास्वपा सांसदहरुले जनाएका छन् ।

यौन दुर्व्यवहारमा मुछिएका हिमाल आरोही निर्मल पुर्जालाई नेपाल प्रवेशमा रोक लगाउन सांसद बजगाईंको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले हिमाल आरोही निर्मल पुर्जालाई नेपाल प्रवेशमा रोक लगाउन माग गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमासांसद बजगाईँले न्यूयोर्क टाइम्सले फिनल्याण्डका हिमाल आरोहीलाई पुर्जाले यौन दुर्व्यवहार गरेको समाचार छापिएको भन्दै यो नेपालका लागि नराम्रो समाचार रहेको बताए । उनले यस्ता व्यक्तिलाई नेपाल आउन बन्देज लगाउनुपर्ने बताए ।

उनले भने, ‘कहिले डोरी टाङ्ने शेर्पाहरूलाई डोरी काट्यो भनेर बदनाम गर्ने, कहिले नेपाली नागरिकतामा हिमाल चढ्ने, पछि आफ्नो नागरिकता सरेन्डर गर्छन् । यस्ता व्यक्तिलाई नेपाल सरकारले वा पर्यटन मन्त्रालयले नेपाल आउन बन्देज गर्नुपर्यो ।’

देशको गोप्य सूचना विदेशमा बिक्री गर्ने सांसदको नाम खुलाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले देशको गोप्य सूचना विदेशमा बिक्री गर्ने सांसदको नाम खुलाउन रुलिङका लागि सभामुखको ध्यानाकर्षण गराएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद राजन केसीले नेपालको गोप्य सूचना बेच्नेकाबारेमा गृहमन्त्री रवि लामिछानेलाई प्रष्ट पार्नका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिनअघि गृहमन्त्री रवि लामिछानेले भन्नुभयो । त्यो पनि सभामुखज्यूलाई साक्षी राखेर । यो अत्यन्तै गम्भीर कुरा हो, यो केवल आन्तरिक मामिलासँग मात्र सम्बन्धित छैन,यही संसदमा गोप्य सूचना बेच्ने मान्छे सांसद छ भनेर मुलुकको गृहमन्त्रीले भन्ने कुरा अत्यन्तै गम्भीर कुरा हो । नेपाली जनता हेर्न चाहन्छन्, को रहेछ त्यो देशको गोप्य सूचना बेच्ने । सभामुखबाट रुलिङ होस् ।’

केही दिनअघि गृहमन्त्रीले सदनमा सहकारी ठगीका विषयमा जवाफ दिने क्रममा संसदमा विदेशीलाई सूचना बेच्नेहरु यही सदनमा रहेका बताएका थिए ।

उत्तेजना फैलाउने अभिव्यक्ति नदिन बालेनलाई एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई आफ्नो मेयर पद नभूल्न चेतवावनी दिएको छ ।

मंगलबारको प्रतिनिधसभा बैठकमा एमाले सचिव योगेश भट्टराईले उत्तेजना फैलाउने अभिव्यक्ति नदिन मेयर साहलाई चेतावनी दिएका हुन् ।

उनले देशमा यो व्यवस्था ल्याउनको लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्न आफैँ आकाशतिर फर्किएर थुक्नुजस्तो भएको बताए ।

उनले भने, ‘बालेनजीलाई म भन्न चाहन्छु पैसा कति चाहियो सरकारले दिन तयार छ । प्रधानमन्त्री अर्थमन्त्री र सम्बन्धित मन्त्रीलाई भनौँला । तर उत्तेजना फैलाएर हुँदैन । अनर्गल प्रचार गर्न बन्द गर्नुस् । तपाईंमार्फत् लाखौँ युवाहरूले भविष्य खोजेका छन्।’

उनले झापाको गिरीबन्धु जग्गा प्रकरणमा एमाले पार्टी र अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढंगले प्रचार र आरोप लगाउने षड्यन्त्र भएको भन्दै आपत्ति जनाए ।

उनले, भने, ‘२०४६ सालपछि वा अगाडि कुन–कुन बेलाको छानबिन गर्नुपर्ने हो, प्रत्येक छानबिनको लागि एमाले तयार छ । एनसेलको गर्ने हो कि टेरामक्सको गर्ने हो कि ? बाँसबारीको गर्ने हो कि कोहलपुर जग्गाको गर्ने हो कि ? बालमन्दिरको गर्ने हो कि बालुवाटार जग्गाको कहाँ–कहाँ गर्ने ? हामीालई पार्टीको केन्द्रीय समितिमा दायाँ–बायाँ दाग लागेको व्यक्ति राखेर बैठक गर्नुपरेको छैन ।’

उनले सबै काण्डका विषयमा छानबिन गर्न आफूहरु तयार रहेको बताए । उनले भने, ‘प्रत्येक छानिबनका लागि आउँछौँ, यी तमाम विषयमा कांग्रेसकै साथीहरू बसेर छानबिन गरौँ । तपाईंहरू बसेर रिपोर्ट लिएर आउनुहोस् संसदमा । सबैको सामना गर्न एमाले तयार छ ।’

नवलपरासीमा हुरीले ढालेको रुख शिरमा बज्रदा एकजनाको मृत्यु

मध्यविन्दु (नवलपरासी) / नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार आज बिहानको हुरीले रुख ढालेको रुख बज्रदा थापाको मृत्यु भएको हो । वनमा उद्धार गर्न गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन् । थापाको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ ।

दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ / दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए ।

उनले भने, “दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन । ।”

मेसिनद्वारा धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ उमार्दै झलारीका किसान

कञ्चनपुर । आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन् । मेसिनद्वारा धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्ने काम भइरहेको हो ।

धानको उत्पादन वृद्धि गरी किसानको आयस्तरमा वृद्धि गर्न ध्रुवतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले प्रधानमन्त्री आधुनिकीरण परियोजना एकाइ कार्यालय कञ्चनपुरसँग सहकार्य गरी ५० प्रतिशत अनुदानमा मेसिनद्वारा धान रोपाइँ गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।

सहकारीका अध्यक्ष लालबहादुर ऐरका अनुसार २५ बिघा जग्गामा ‘राइस ट्रान्सप्लान्ट’ मेसिनको प्रयोग गरी धान रोपाइँ गर्नका लागि बीउ राख्नसँगै खेत तयार गर्ने काम भइरहेको छ । “पहिलोपटक आधुनिक मेसिनको प्रयोग गरी धान रोपाइँ गर्न लागेका छौँ”, अध्यक्ष ऐरले भने, “पन्तनगरको सर्जु ५२ जातको धानको बीउ प्लाष्टिको ट्रेमा तयार गरेका छौँ ।”

मेसिनद्वारा धान रोपाइँ गर्ने किसानलाई धानको बीउसँगै पाँचवटा पावरटिलर, पाँचवटा मिनीटिलर, विषादी, जिङ्क, जाइम, पोषकतत्व, चारवटा रिपर, चारवटा हिलेचक्कालगायत ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको उनले बताए ।

परियोजनाअन्तर्गत रु १२ लाख र सहकारीको रु १२ लाख गरी रु २४ लाख रकममा लागत साझेदारी गरिएको छ । स्थानीय किसान केशव जोशीले नौलो अनुभवसहित मेसिनद्वारा धान रोपाइँ गर्ने कार्य गर्न लागेको बताए ।

“मेसिनले धान रोपाइँ गर्दा लागत खर्चमा निकै कमी आउने अपेक्षा गरेका छौँ”, उनले भने, “धान रोपाइँका लागि रोपाहा खोज्ने झन्झट हँुदैन, सहज रूपमा धान रोपाइँ गरी उत्पादनमा वृद्धि हुने विश्वास छ ।”

बीउ तयार गर्न भने केही मेहनत गर्नुपरेको उन उल्लेख गरे । नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले नगरपालिका क्षेत्रमै पहिलोपटक मेसिनको सहायताले धान रोपाइँ हुन लागेको बताए । “किसानले आधुनिक तरिकाले धानखेती गरे उत्पादन बढ्ने निश्चित छ”, उनले भने, “धानखेतीमा लाग्दै आएको लागत खर्च घट्ने भएकाले किसानलाई फाइदा पुग्छ ।”

टी–२० विश्वकप : युगाण्डाबिरुद्ध अफगानिस्तानको फराकिलो विजयी सुरुवात

काठमाडौँ / आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको समूह ‘सी’ को खेलमा अफगानिस्तानले युगाण्डालाई एक सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । अफगानिस्तानले जितका लागि दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको युगाण्डा १६ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ५८ रन बलमा समेटियो । विश्वकपमा डेब्यु गरेको युगाण्डाका लागि रोबिन्सन ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

युगाण्डालाई ५८ रनमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक फारुकी एक्लैले पाँच विकेट लिए भने नवीन उलहक र कप्तान राशिद खानले समान दुई–दुई विकेट लिए । त्यस्तै मुजिब उर रहमानले एक विकेट झारे ।

त्यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८३ रनको योगफल बनाएको थियो । उसका लागि ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानले अर्धशतकीय पारी खेलेका थिए । गुर्बाजले ४५ बलमा चार चौका र चार छक्का प्रहार गर्दै ७६ रनको योगदान दिए भने इब्राहिमले ४६ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै ७० रन बनाए । त्यस्तै मोहम्द नाबीले अविजित १४ रन बनाए । बलिङतर्फ युगाण्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले समान दुई–दुई विकेट लिए भने अलेपेश रमजानीले एक विकेट झारे । समूह ‘सी’मा अफगानिस्तान र युगाण्डासँगै वेष्ट इन्डिज, न्यूजील्यान्ड र पपुवा न्युगिनी छन् ।

इमरान खानलाई राज्यको गोपनीयता चुहाएको मुद्दामा सफाइ

बीबीसी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले राज्यका गोप्य कुरा चुहाएको अभियोगमा सफाइ पाएका छन् । फेब्रुअरीमा भएको निर्वाचनअघि खानलाई तीनवटा मुद्दामा जेल सजाय सुनाइएको थियो ।

उनले आफूविरुद्ध ती मुद्दा राजनीतिक दुराशयका कारण हालिएको दाबी गरेका थिए । उनलाई एउटा कूटनीतिक दस्तावेज सन् २०२२ मा सार्वजनिक गरेको अभियोगमा मुद्दा परेको थियो ।

उक्त मुद्दामा उनलाई जनवरीमा १० वर्षको जेल सजाय सुनाइएको थियो । इस्लामाबाद उच्च अदालतले उनको पुनरावेदन स्वीकार गर्दै सोमबार सफाइ दिएको छ । तर उनी तत्काल कारागारबाट छुट्ने सम्भावना छैन । सो मुद्दामा खानका विदेशमन्त्री शाह महमूद कुरैशीलाई समेत १० वर्षको जेल सजाय सुनाइएको थियो। अहिले उनले पनि सफाइ पाएका छन् । पीटीआईका प्रवक्ताले सामाजिक सञ्जाल ’एक्स’मा लेखेका छन्, ‘धन्य ईश्वर, सजाय उल्टियो।’

खान दम्पतीलाई इमरान खान प्रधानमन्त्री हुँदा उनले लिएका उपहारमा भ्रष्टाचार गरेको अभियोगमा पनि अदालतले दोषी ठहर गरेको थियो । पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीले विभिन्न राष्ट्रप्रमुखबाट १०८ वटा उपहार प्राप्त गरेको दाबी गरिएको छ ।

तीमध्ये ५८ वटा उपहार खान दम्पतीले आफूसँगै राखेका थिए। त्यस्तो उपहार राख्दा सरकारलाई तिर्नुपर्ने राजस्व कम गर्न ती उपहारको मूल्य कम देखाइएको आरोप उनीहरूमाथि थियो । जेल परे पनि इमरान खानलाई पाकिस्तानको राजनीतिमा शक्तिशाली पात्र मानिन्छ ।

फेब्रुअरीको निर्वाचनमा उनको पाकिस्तान तहरिक–ए–इन्साफ पार्टी (पीटीआई)का उम्मेदवारहरू स्वतन्त्र हैसियतमा चुनाव लड्न बाध्य भएका थिए । पीटीआईका स्वतन्त्र उम्मेदवारहरू ९३ क्षेत्रमा विजयी भएका थिए । यद्यपि उनीहरूले बहुमत जुटाउन सकेनन् र प्रतिद्वन्द्वीहरूले मिलेर नयाँ सरकार बनाएका छन् ।

उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । मंगलबार एक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको बताए ।

“एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ । देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टिमप्रति धन्यवाद व्यक्त गर्दछु”, प्रधानमन्त्री दाहालले भनेका छन् ।

बजेटले सार्क हस्तकला विकास केन्द्र स्थापनालाई सम्बोधन गर्न सकेन : हस्तकला महासङ्घ

काठमाडौं । नेपाल हस्तकला महासङ्घले बजेटले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) हस्तकला विकास केन्द्रको स्थापना र सञ्चालनको बारेमा सम्बोधन गर्न नसकेको बताएको छ ।

महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले  विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०८१/८२ को बजेटले महासङ्घ र सार्क विकास कोषद्वारा स्थापना गरिने सार्क हस्तकला विकास केन्द्र नेपालको स्थापना तथा सञ्चालनको सम्बन्धमा सम्बोधन गर्न नसकेको बताएको हो ।

“मुलुकको कला, संस्कृति र सम्पदा क्षेत्रको संरक्षण गर्दै लाखौँ युवालाई रोजगार प्रदान गरी वार्षिक १२ अर्बभन्दा बढी वैदेशिक मुद्रा आर्जन गर्ने हस्तकला क्षेत्रलाई बजेटले सम्बोधन गर्न सकेन”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बजेटले आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसंँग आबद्ध गराउने बजेटले लिएको लक्ष्य निकै सकारात्मक रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले निजी क्षेत्रसँगको सहकार्यमा बागमती प्रदेशलाई उद्योग हब र लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यमी हब बनाइने र प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमद्वारा स्वदेशी उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममार्फत स्वदेशी उत्पादनलाई प्रोत्साहित गरिने कुराले व्यवसायीहरू आशावादी भएको बताएको छ ।

महासङ्घले उद्यममा युवा सहभागिता बढाउने र नवप्रवर्तनका लागि उद्यमशील वातावरण तयार गर्ने उद्देश्यले स्टार्टप उद्यमीको लागि रु एक अर्बको कोष व्यवस्थापन गर्नु सराहनीय भएको जनाएको छ । य

स्तै वस्तु तथा सेवा प्रवरद्धनका लागि सार्वजनिक निजी साझेदारीमा काठमाडौँको चोभारमा निर्माण गरिने अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल सबै उद्यमी व्यवसायीलाई समेट्ने गरी निर्माण गर्नुपर्ने महासङ्घले जनाएको छ ।

महासङ्घले औद्योगिक विकास र उद्यमशीलता प्रवर्द्धनका लागि झण्डै साढे छ अर्ब छुट्याउनु सराहनीय रहेको बताएको छ । मेक इन नेपाल र मेड इन नेपाल अभियानमा निजी क्षेत्रसँग सहकार्य गरिने र उद्योग वाणिज्य क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने औद्योगिक व्यवसाय ऐन र श्रम ऐनलाई समयानुकूल संशोधन गरिने कुरा सकारात्मक रहेको बताइएको छ ।

निकासीकर्ताले विदेशी मुद्रा प्राप्त भएको कागजात पछि पेस गर्ने शर्तमा अमेरिकी डलर २५ हजारसम्मको सामान निकासी गर्न पाउने व्यवस्थाले हस्तकला निर्यातमा सकारात्मक प्रभाव पार्ने महासङ्घको ठहर छ ।

हस्तकला क्षेत्रमा धेरै कार्यहरू अनौपचारिक क्षेत्रमा हुने भएकाले अनौपचारिक क्षेत्रमा कार्यरत कामदार तथा श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै लैजाने बजेटले लिएको नीति सान्दर्भिक रहेको बताइएको छ ।

बागलुङको रेशमा एक सय ४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चियाखेतीका लागि क्षेत्र विस्तार गरिएको छ। बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात वर्ष अगाडिदेखि चियाखेती सुरु गरेको थियो।

विसं २०७४ मा परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा अहिले बढाएर ५६ हजार लगाइएको छ। परीक्षणका गर्न लगाइएको चिया फस्टाउन थालेपछि सिङ्गो गाउँ नै खेतीतर्फ आकर्षित भएको हो। वडा कार्यालयको अग्रसरतामा सुरु गरेको चियाखेती रेशको बौर, तिङरिङलगायतका ७२ रोपनी पाखो जमिनमा विस्तार गरिएको छ।

चियाखेती राम्रो हुँदै गएपछि थप ७० रोपनी जग्गा भाडामा लिएर खेती विस्तार गर्न थालेको काठेखोला गाउँपालिका–७ रेशका अध्यक्ष प्रेम लामिछानेले बताए।

पाखोबारीमा लगाएको चिया राम्रो हुँदै गएपछि बसाइँसराइले उजाड बनेका खेतीयोग्य र उजाड जमिनमा पलाएका झाडी फाँडेर किसानले चियाखेती सुरु गरेको उनले बताए। चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेको अध्यक्ष लामिछाने बताए। अब थप ५० हजार चियाका बिरुवा लगाउने योजना रहेको उनले बताए।


गाउँमा भएका नागरिकलाई पाखोबारीलाई उपयोग गरी आयआर्जनको माध्यम बनाउँदै आत्मनिर्भर बनाउनेगरी चियाखेती थालेको लामिछानेले बताउनुभयो। सात वर्ष अगाडि लगाएका बिरुवामध्ये अहिले ३५ हजार बोट निरन्तर टिप्नका लागि तयार भएका उहाँले जानकारी दिनुभयो। किसानहरूले पनि निकै चासो दिएर बिरुवा रोप्न, झाडी फँडानीदेखि सबै काममा लागेको हुँदा गाउँमै रोजगार सिर्जना गर्न हुन थालेको अध्यक्ष लामिछाने बताउँछन्।

“चियाखेतीमा दुई सय घरपरिवार आबद्ध हुनुहुन्छ, यसबाट आउने प्रतिफल सबैले पाउनुहुन्छ, चियाखेतीबाट वार्षिक रु ३० लाख आम्दानी गर्ने लक्ष्य राखेका छौँ, पहिले ७२ रोपनीमा खेती गरिएकामा अहिले थप ७२ रोपनी जग्गा भाडामा लिएका छौँ, अब एक सय ४२ रोपनीमा खेती हुने छ”, अध्यक्ष लामिछानेले भने, “बजेट छैन, तर पनि गाउँलेमा काम गर्ने उत्साह छ, केन्द्र र प्रदेश सरकारसँग पनि माग गर्छौँ, केही वर्षमा यहाँ चिया बगान हेर्न आउनेको लर्को लाग्ने अपेक्षा लिएका छौँ।”

चियाको बजारमा बढ्दो माग हुँदा मागअनुसार उत्पादन गर्न नसकिएको स्थानीय किसान मुक्तिराम थापाले बताउनुभयो। यहाँ लगाइएको चिया महिनामा तीन पटकसम्म टिप्ने हुँदा आम्दानी पनि बढी हुने उनले बताए।

चियाखेती विस्तार गर्दा हालसम्म करिब  ५० लाख खर्च भइसकेको छ। चिया प्रशोधन गर्न मेसिनसमेत गाउँमा ल्याइएको हुँदा अब धेरै समस्या नभएको उनी बताउछन्। अहिलेसम्म मुनाफा नभएको भन्दै यस वर्षदेखि छ हजार बिरुवाबाट निरन्तर मुनाफा दिने थापाको भनाइ छ। प्रत्येक हप्ता १० किलो चियाको कच्चा पर्दाथ उत्पादन हुन थालेको उनी बताउछन्।

उनले भने, “पहिला गाउँमा चियाखेती हुन्छ भन्ने लागेको थिएन, गाउँलेहरु एकजुट भइयो, वडा कार्यालयले पनि निकै तदारुकता देखायो, चियाखेतीले गर्दा गाउँको स्वरुप नै फेरिएको छ, पहिले झाडीले ढाकिएको जमिन अहिले चिया पलाएका छन्, गाउँ छाडेर गएकालाई पनि पछिपछि पछुतो हुनेछ, अहिले खेती राम्रो हुँदा हामीहरु निकै उत्साहित भएका छौँ।”

विश्वकपको पहिलो खेलमा आज नेपाल नेदरल्याण्ड्ससँग भिड्ने

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा नेपालले गरेको प्रतिक्षाको घडि समाप्त भएको छ । नेपालले अमेरिकाको डालासमा रहेको ग्रान्डपेरी क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग टसका लागि मैदान उत्रदा १० वर्ष पछि दोस्रो पटक विश्वकपको यात्रा सुरु गर्ने छ ।

सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप पछि नेपाली टोलीले दोस्रो पटक विश्वकप खेल्न लागेको हो । नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरुहुने छ ।

विश्वकपका लागि तयारी गर्न भन्दै १ महिना अगाडि नै गएको नेपाली टोलीले अभ्यास राम्रो भएको प्रतिक्रिया दिएको छ । सोमबारको अभ्यासपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहित पौडेलले नेदरल्याण्ड्सविरुद्ध जित निकाल्दै विश्वकप यात्रा सुरु गर्नका लागि तयार रहेको बताएका छन् ।

ग्रान्ड पेरी रंगशालालाई त्रिवि क्रिकेट मैदानको जस्तै संज्ञा दिँदै खेलका लागि नेपाली समर्थकहरुको उपस्थिति हुने पनि विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा कप्तान पौडेलले समर्थकहरूलाई खुसी र गर्व गर्न लायक प्रर्दशन गर्ने बताए ।

टी–२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

उत्तर कोरियासँगको शान्ति सम्झौता रद्द गर्ने दक्षिण कोरियाको घोषणा

दक्षिण कोरियाले सोमबार उत्तर कोरियासँगको मेलमिलाप सम्झौता निलम्बन गर्ने घोषणा गरेको छ ।

उत्तर कोरियाले फोहरले भरिएका बेलुनहरू दक्षिणतिर पठाएपछि उसलाई दण्डित गर्न मेलमिलाप सम्झौता निलम्बन गर्ने योजना बनाएको दक्षिण कोरियाले बताएको हो । यद्यपि उत्तर कोरियाले आफ्नो बेलुन अभियान रोक्ने बताएको छ ।

उत्तर कोरियाले दक्षिण कोरियाली नागरिक अभियानविरुद्ध आक्रोशित प्रतिक्रिया व्यक्त गर्दै धेरै दिनसम्म दक्षिणतिर फोहर र मलले भरिएका सयौँ बेलुन उडाएको थियो ।

आइतबार दक्षिण कोरियाले जवाफमा ‘असहनीय’ प्रतिशोधात्मक कदम चाल्ने बताएको थियो । यसअघि उत्तर कोरियाले सीमापार बेलुन उडाउन बन्द गर्ने अचानक घोषणा गरेको थियो ।

राष्ट्रपति कार्यालयका अनुसार सोमबार दक्षिण कोरियाली राष्ट्रपतिको राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०१८ को अन्तर–कोरियाली सम्झौतालाई निलम्बन गर्ने निर्णय गरेको छ ।

उक्त सम्झौताको उद्देश्य दुवै कोरियाबीच आपसी विश्वास पुनःस्थापित नभएसम्म सीमावर्ती शत्रुतालाई कम गर्नु रहेको छ ।

निलम्बनले दक्षिण कोरियालाई उत्तर कोरियासँगको सीमा नजिकै पुनः सैन्य अभ्यास गर्न र उत्तर कोरियाको उक्साहटको प्रभावकारी र तत्काल प्रतिक्रिया दिन अनुमति दिने सुरक्षा परिषद्ले बताएको छ । मङ्गलबार निलम्बनसम्बन्धी प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद्मा प्रस्तुत गरिने बताइएको छ ।

दक्षिण कोरियाको सीमावर्ती लाउडस्पिकरमार्फत प्योङयाङविरोधी प्रचार प्रसार, के–पप गीत र बाहिरका समाचारहरू पुनः सुरु गर्न सम्झौताको निलम्बन आवश्यक रहेको पर्यवेक्षकहरूले बताएका छन् ।

उनीहरूका अनुसार दुई करोड ६० लाख जनसङ्ख्यामध्ये अधिकांशमाझ विदेशी समाचारमा आधिकारिक पहुँचको अनुमति नभएको र पहिलादेखि नै कठोररूपमा नियन्त्रित उत्तर कोरियामा यस्तो प्रकारको प्रसारण भइसकेको छ ।

सन् २०१८ को सम्झौता तत्कालीन उदारवादी दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच मेलमिलापको सानो अवधिमा भएको थियो ।

सम्झौताअनुसार कोरियालीहरूलाई एकअर्काविरुद्ध सबै शत्रुतापूर्ण कार्य रोक्न आवश्यक छ । यसमा प्रचार प्रसार र पर्चाबाजी अभियान पनि समावेश छ । तर सम्झौतामा स्पष्टरूपमा नागरिक पत्रपत्रिकामा पनि प्रतिबन्ध लगाउनुपर्छ भनिएको छैन ।

यसबाट दक्षिण कोरियाली कार्यकर्ताहरूलाई प्योङयाङविरोधी पर्चा, दक्षिण कोरियाली नाटक र विश्व समाचारसहितको युएसबी स्टिक तथा उत्तर कोरियामा अमेरिकी डलर खसाउनका लागि बेलुन उडाउन अनुमति प्राप्त भएको छ ।

यस्तो प्रकारको प्रचार अभियानबाट क्रुद्ध भएर उत्तर कोरियाले यसअघि आउने बेलुनहरूमा गोली चलाएको थियो र उत्तरमा दक्षिण कोरियाले बनाएको रिक्त अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त बनाएको थियो ।

सन् २०१८ को सम्झौता यसअघि नै भङ्ग हुने खतरामा छ । गत नोभेम्बरमा उत्तर कोरियाको जासुसी उपग्रह प्रक्षेपणपछि तनाव बढेको छ । यसबाट दुवै कोरियालाई सम्झौता उल्लङ्घन गर्दै कदम चाल्न प्रेरित गर्यो । दक्षिण कोरियाले फ्रन्टलाइन हवाई निगरानी पुनः सुरु गर्यो भने उत्तर कोरियाले सीमा गार्ड पोस्टहरू पुनःस्थापना गर्यो ।

गत मङ्गलबारदेखि दक्षिण कोरियाका विभिन्न भागमा मल, सिगरेटका टुक्रा, कपडाका टुक्रा, रद्दी कागज बोकेका करिब एक हजार उत्तर कोरियाली बेलुन पाइएका छन् । दक्षिण कोरियाली सेनाका अनुसार बेलुनमा कुनै खतरनाक पदार्थ पाइएको छैन ।

विश्वकप खेल्ने क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् । उनले सम्पूर्ण नेपाली क्रिकेट टोलीका साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालले खेल्ने खेल सम्पूर्ण नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् । अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा आयोजना गरेको आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता यही जेठ १९ गतेदेखि सुरु भएको छ । उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेल यही जेठ २२ गते राति ९ः१५ बजे नेदरल्याण्ड्ससँग खेल्दै छ ।

विदेशी कूटनीतिज्ञको उपस्थितिमा पोखरामा मनाइयो अन्नपूर्ण आरोहण दिवस

गण्डकी ।  पर्यटन राजधानी पोखरामा ७४औँ अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) विभिन्न कायक्रम गरी मनाइएको छ ।
सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पाइला टेकेको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष जुन ३ मा अन्नपूर्ण आरोहण दिवस मनाइँदै आइएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजना एवं परराष्ट्र मन्त्रालयको सहकार्य र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) गण्डकी प्रदेश र नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको सहकार्यमा आज विभिन्न नौ राष्ट्रका राजदूत एवं कूटनीतिज्ञसहित अन्नपूर्ण आरोहण दिवस मनाइएको हो ।

दिवसका अवसरमा सोमबार बिहान पोखराको फिस्टेल गेटदेखि बाराहीघाटसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतको सहभागिता थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्ने लक्ष्यका साथ सरकार यहाँका पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्र्धनमा लागेको बताए । प्रकृति, संस्कृति, परम्परा, भौगोलिक विविधतालाई पर्यटकीयरुपमा उपयोग हुनुपर्नेमा उनले जोड दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले मौरिस हर्जोगको अन्नपूर्ण आरोहणले नेपाललाई पर्वतारोहण र साहसिक गन्तव्यका रुपमा स्थापित गर्न मद्दत पुर्याएको बताए । पोखरा नेपालको पर्यटनको गहना भएको बताउँदै उनले गण्डकी प्रदेशमा पर्यटनका प्रचुर सम्भावना रहेको उल्लेख गरे ।

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा यहाँ पर्यटन लक्षित गतिविधि र पूर्वाधार विकास अघि बढाउने विषय प्राथमिकतामा रहेको बताए । विदेशी कूटनीतिज्ञ समेतको उपस्थितिमा अन्नपूर्ण आरोहण दिवस मनाउनुले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ ।

इजरायली राजदूत हानन गोडर गोल्डब्रेटरले नेपाल पर्यटकीयरुपमा धेरै सम्भावना बोकेको क्षेत्र भएको बताए । सो अवसरमा अन्नपूर्ण प्रथमको पहिलो पटक आरोहण गरेका मौरिस हर्जोगको शालिकको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले अनावरण गर्नुका साथै अन्नपूर्ण हिमाल आरोहीलाई सम्मान गरेका थिए ।

अनावरण गरिएको शालिक हर्जोगले अन्नपूर्ण हिमाल आरोहण सुरु गरेको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा राखिने जनाइएको छ । उनले कार्यक्रममा अन्नपूर्ण हिमालको आरोहण गरेका आरोहीलाई सम्मान पनि गरे ।

उक्त कार्यक्रमपश्चात् उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसहित विदेशी कूटनीतिज्ञको टोली फेवातालमा जलविहार गर्नुका साथै अन्नपूर्ण केबलकारमार्फत सराङकोट पुगी त्यहाँबाट दृश्यावलोकन गरेका थिए । अन्नपूर्ण आरोहण दिवसको पूर्वसन्ध्यामा कूटनीतिज्ञको टोली आइतबार कास्कीको धम्पुसदेखि अस्तामसम्म पदयात्रामा समेत सहभागी भएको थियो ।

दिवसकै अवसरमा टेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा आजै फेवाताल किनारास्थित भ्यु फेवा राउन्ड फेवा पदमार्गमा पदयात्रा सम्पन्न भएको अध्यक्ष धर्मराज पन्थीले बताए ।

पोखरामा श्रमाधान रोजगार मेला

गण्डकी । पर्यटकीय राजधानी पोखरामा सोमबारदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे ।

मन्त्री अर्यालले रोजगारदाता कम्पनी र रोजगारको खोजीमा रहेकाको मिलनबिन्दुका रुपमा मेलाको भूमिका रहने बताए ।

“रोजगारीका अवसर सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धन गर्नेलगायत उद्देश्यसहित श्रमाधान रोजगार मेलाको आयोजना गरिएको हो”, उनले भने, “नेपालको श्रम बजार र रोजगारबारे जानकारी तथा परामर्श लिने थलोका रुपमा यो मेलालाई लिन सकिन्छ ।”

मन्त्री अर्यालले कामको खोजीमा विदेश गएका युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने धारणा राखे । “देशमा रोजगारी दिन चाहाने संस्था/कम्पनी धेरै हुनुहुन्छ, रोजगारको खोजीमा रहेका युवा पुस्तालाई त्यहाँसम्म जोड्न यो मेलाले महत्वपूर्ण सहयोग पुर्याउनेछ”, उनले भने ।

मन्त्री अर्यालले श्रम क्षेत्रका समस्या समाधानका लागि मन्त्रालयमा स्तरीय श्रमाधान कल सेन्टर स्थापना गरिएको जानकारी दिए ।

पैसा नलाग्ने फोन नम्बर ११४१ फोन गरेर जोकोहीले आफ्ना समस्या, सुझाव तथा गुनासा राख्न सक्ने उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले रोजगार अभाव मुलुकको प्रमुख समस्या रहेको बताए ।

“रोजगारीका समस्यालाई सही ढङ्गले समाधान गर्न नसकेका कारण राजनीतिक प्रणाली र व्यवस्थामाथि नै टिकाटिप्पणी भइरहेको छ”, उनले भने, “अहिलेको मुख्य चुनौती भनेको श्रमशक्ति र रोजगारको व्यवस्थापन हो ।” मुख्यमन्त्री पाण्डेले एकैसाथ ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सक्ने निजी क्षेत्रलाई लगानीमा आकर्षण गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रोजगारदाता र रोजगार गर्न चाहानेहरुबीचमा परामर्श र सूचना आदानप्रदानका लागि मेला महत्वपूर्ण रहने बताए ।

उत्पादन, श्रम र रोजगारमा निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । मेलामा ४१ वटा रोजगारदाता संस्था/कम्पनीका कक्षहरु रहेका छन् ।

मेला अवलोकनका लागि युवा, विद्यार्थीलगायतको भीड लागेको छ । मेलामा रोजगारीको खोजीमा रहेकाहरुको सीप प्रवद्र्धनका लागि कार्यशाला र ‘नेटवर्किङ’ सत्रहरु सञ्चालन गरिने जनाइएको छ । मेलाले सार्वजनिक–निजी साझेदारीको अभिवृद्धि गर्न टेवा पुर्याउने विश्वास लिइएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र पोखरा महानगरपालिकाद्वारा आयोजित मेला मङ्गलबारसम्म सञ्चालन हुनेछ । मेलामा उद्योग, व्यापार, पर्यटनलगायत विषयमा समूहगत छलफलसमेत आयोजना गरिएको छ ।

छलफलमा सम्बन्धित क्षेत्रका विज्ञसहित रोजगारदाता संस्थाका प्रतिनिधिहरु सहभागी हुनेछन् । यही जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला गण्डकीसहित सातै प्रदेशमा सञ्चालन हुनेछ ।

एमाले मकवानपुरको अध्यक्षमा पोखरेल निर्वाचित

मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । अध्यक्ष पदमा पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालबीच प्रतिस्पर्धा भएको थियो ।

यस्तै उपाध्यक्षमा हिदम लामा, सचिवमा सीता विष्ट, उपसचिव (पुरुष) तर्फ फुर्वा लामा र उपसचिव (महिला) तर्फ आरती पाठक विजयी भएका छन् । निर्वाचनमा सात सय ७७ प्रतिनिधिमध्ये सात सय ६५ जना सहभागी भएका थिए ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार ‘ब्रेक थ्रु’ हुने

किमाथाङ्का (सङ्खुवासभा) ।  सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मङ्गलबार छिचोलिने भएको छ । 


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सुरुङ छिचोल्ने कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । आयोजनाको सुरुङ प्रधानमन्त्रीद्वारा छिचोल्ने निश्चित भइसकेको आयोजना निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबिएन)ले जनाएको छ । 


आयोजनाको ७० प्रतिशत काम सकिएको छ । प्रधानमन्त्री दाहालले अरुण तेस्रोको ‘ड्यामसाइट’ र ‘पावरहाउस’को हेलिकप्टरबाटै अनुगमनसमेत गर्ने कार्यक्रम तय गरिएको छ । आयोजनाको मुख्य सुरुङ मकालु–५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका–३ दिदिङ पुखुवा पावरहाउससम्म ११ दशमलव ८३७ किलोमिटर छ । 


आयोजनामा कुनै अवरोध नभएमा एक वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा व्यवस्था गरिएको छ । आयोजनाबाट व्यावसायिक उत्पादन सुरु भएको एक वर्षभित्र स्थानीयलाई शेयर दिने पिडिएमा उल्लेख छ ।


पिडिएअनुसार यस परियोजनाबाट एक सय ६० करोड रुपैयाँ स्थानीयलाई शेयर दिइनेछ । शेयर रकममध्ये पहिलो किस्तामा ५० प्रतिशत नौ सय ८० करोड र पहिलो उत्पादन वर्ष सकिएपछि दोस्रो उत्पादन वर्षको अन्त्यमा बाँकी ५० प्रतिशत शेयर वितरण गरिनेछ । शेयर वितरण गर्दा प्रत्यक्ष प्रभावितलाई पहिलो प्राथमिकतामा राखिने पिडिएमा भनिएको छ । 


करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको आयोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुनेछ । विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपैयाँ आर्थिक लाभ मिल्ने जनाइएको छ । 


विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्नेछन् ।  निर्माण सम्पन्न भएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख छ । अरुण तेस्रो जलविद्युत् आयोजनामा नेपाली र भारतीयसहित चार हजार कामदार कार्यरत छन् ।

विपदबाट यसवर्ष ४ लाख १२ हजार घरधुरी प्रभावित हुने अनुमान

काठमाडौं । यस वर्षको मनसुनमा हुनसक्ने जोखिम तथा क्षति आँकलन गरी संघीय मन्त्रालय, प्राधिकरण, विभाग, सुरक्षा निकाय, प्रदेश सरकार, जिल्ला तथा स्थानीय तहको जिम्मेवारी समेटिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, पारित भएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३ औं बैठकले कार्ययोजना पारित गरी सबै मन्त्रालय, विभाग तथा अन्य सम्वद्ध निकायलाई कार्यान्वयनका लागि निर्देशन दिने निर्णय गरेको हो ।

समितिले प्रदेश सरकार, स्थानीय तहलाई आफ्नो भूमिका अनुरुप कार्य गर्न अनुरोध पनि गरेको छ । कार्ययोजनामा यसवर्ष विपद्बाट करिब १८ लाख १ हजार जनसङ्ख्या र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रुपमा प्रभावित हुनसक्ने अनुमान छ ।

त्यसैगरि, मनसुनजन्य विपदबाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घर परिवारलाई मनसुनजन्य विपदमा उद्धार तथा राहत दिनु पर्ने आँकलन पनि गरिएको छ ।

प्राधिकरणको सभाहलमा बसेको बैठकले मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्मका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको स्थापना गर्ने निर्णय गरेको छ । पोष्टले मौसम पूर्वानुमानको जानकारी लिइ र जोखिमको आँकलन गरी प्रभावका आधारमा पूर्वतयारी र प्रतिकार्यको योजनाको प्रभावकारी कार्यान्वयन गर्नेलगायतका काम गर्नेछ ।

कार्ययोजनामा सम्बन्धित मन्त्रालय, विभाग तथा निकायहरुको मनसुन विपद् प्रतिकार्य योजनाका साथै खोज, उद्धार तथा राहत सामग्रीको मोज्दात एवं दक्ष जनशक्तिको विवरण, सम्पर्क व्यक्तिहरुको फोन नम्बरहरु पनि समावेश छ । बैठकमा गृहमन्त्री लामिछानेले सबै निकायको जिम्मेवारी प्रष्ट पारिएकोले अब कार्यान्वयनको चरण आएको बताए ।

उनले कुनै नीति, नियम वा नियमावलीले नागरिकको ज्यान जोगाउन कार्यलाई बाधा पुग्न नहुने उल्लेख गर्दै कुनै नीतिगत अवरोध फुकाउन आफू तयार रहेको पनि आश्वासन दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आफ्नै मन्त्रालयका जिम्मेवारी कार्यान्वयन गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै निकायले कार्ययोजनामा तोकिए बमोजिम तैनाथी गरिहाल्नुपर्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले प्रतिकार्यमा मात्रै राज्य सक्रिय हुने परम्पराबाट अगाडि बढेर पूर्तयारीमा पनि गरम्भीर भएर लाग्ने पहल सह्रानीय भएको उल्लेख गर्दै स्वास्थ्य उपकरण, औषधि एवं स्वास्थ्य टोली तम्तयार अवस्थामा राखिने बताए ।

जल तथा मौसमय विज्ञान विभागले यस वर्षको मनुसनमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको आँकलन सार्वजनिक गरिसकेको छ ।

गिरीबन्धु टी–स्टेटकाबारेमा मलाई होइन, बालेनलाई सोध्नुः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेटमा भएको भनिएको अनियमितताकाबारेमा काठमाडौंका मेयर बालेन साहलाई सोध्न आग्रह गरेका छन् ।

सोमबार संसद भवन परिसरमा पत्रहरुको प्रश्नमा संक्षिप्त जवाफ दिँदै यसबारेमा बालेन सोध्न आग्रह गरेका छन् । पत्रकारहरुको प्रश्नको आक्रोशितरुपमा जवाफ दिँदै ओलीले भने, ‘बालेनलाई सोध्नु ।’

मेयर साहले सोमबार सामाजिक संजालमार्फ एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टिस्टेटको १० हजार करोडको काण्ड लुकाउन र जनता झुक्काउनु लागेको आरोप लगाएका थिए ।

मेयर साहले भनेका छन्, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला माननीय केपी ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ । गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

उनले उनले ओलीलाई गिरिबन्धुका पीडितको बैन फिर्ता गर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’

पाँच कक्षापछि पढ्न पाउँदैनन् निसेलढोरका बालबालिका

गलकोट (बागलुङ) । बागलुङको निसेलढोर गाउँ पुग्दा सम्झना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त थिइन्। उमेरले १९ वर्ष पुगेकी विश्वकर्माले कक्षा ६ मै पढाइलाई विश्राम दिइन्। उनको पढ्ने रहन नभएर होइन गाउँमा विद्यालय नहुँदा पढाइ छोडेर बिहे गरिन्।

निसीखोला गाउँपालिका–५ निसेलढोरमा अशिक्षा, गरिबी र बालविवाह व्याप्त छ। त्यसैको चेपुवामा सम्झनाजस्ता धेरै किशोरीहरू परेका छन्। निसेलढोरमा पाँच कक्षासम्म अध्ययन हुने गरेको र माध्यामिक शिक्षा अध्ययनका लागि घरबाट टाढा जान सम्भव नभएपछि पढाइ छोडेको विश्वकर्माले दुःखेसो गरिन्।

‘१९ वर्षकी भएँ, पढाइको महत्व अहिले बुझ्दै छु। घरबाट पाँच घण्टाको पैदल दूरीमा माध्यामिक विद्यालय छ, त्यसकारण पढ्न सम्भव भएन। सानै उमेर भएकाले कोठा खोजेर पनि बस्न सकिएन, यहाँ म मात्रै होइन विद्यालय नहुँदा धेरैले पाँच कक्षापछि पढाइ छोड्नुपर्ने बाध्यता छ’, उनले भनिन्।

शिक्षा मात्र होइन यहाँ विद्युत्को पनि त्यस्तै समस्या छ। एक वर्षअघि नेपाल टेलिकमले मोबाइल टावर राखे पनि मोबाइल चार्ज गर्न नसकिएको स्थानीयको गुनासो छ।

निसेलढोरमा ५५ स्थायी र एक सय ५० घरमा घुम्ती बसाइ हुन्छ। घुम्ती बसाइ गर्ने परिवारका बालबालिकाले निसीखोलाको बेँसीमा विद्यालयमा अध्ययन गर्ने भए पनि निसेलढोरमै रहेका बालबालिका कक्षा पाँचपछि अध्ययन छोड्ने गरेका स्थानीय खिमा विकको भनाइ छ।

‘यहाँ त बालविवाह सामान्यजस्तै छ, केही बालबालिका विद्यालय नै जाँदैनन्, कक्षा पाँचसम्म त गाउँमै पढाइ हुन्छ, त्यसमाथि अध्ययन गर्न समस्या छ’, विकले भनिन्। पाँच कक्षासम्म अध्ययन गर्न मिल्ने कुँडेढोर प्राथमिक विद्यालयमा अहिले ५२ जना विद्यार्थी छन्। विद्यालयका शिक्षक रुद्र विकले पनि धेरैले पाँच कक्षापछि पढाइ छोड्ने गरेका बताए।

विसं २०६४ मा स्थापना गरिएको कुँडेढोर प्राथमिक विद्यालयसमेत जीर्ण अवस्थामा छ। 

ढुङ्गा गिट्टी ठेक्का प्रकरणमा गोदावरीका मेयर महर्जनसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध एक अर्ब ४ करोड ८७ लाख ३३ हजार रुपैयाँ बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/०८० सम्म सरकारी दर रेटभन्दा कम दर रेटमा ढुंगा, गिट्टी, रोडा, बालुवा उत्खनन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ ।

अध्यागमनका कर्मचारीलाई अब छुट्टै पोसाक

काठमाडौँ । अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो ।

अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ ।

अध्यागनका कर्मचारी र अन्य निकायका कर्मचारी छुट्याउन कठिनाई भएकाले सरोकार भएकासँग समन्वय गरी पोसकको व्यवस्था गरिएको विभागले जनाएको छ ।

विमानस्थलमा हुने कमीकमजोरी तथा भ्रष्टाचारको भागिदार अध्यागमनका कर्मचारी बन्न नपरोस् भन्नका पोसकको व्यवस्था गरिएको विभागको भनाइ छ ।

अध्यागमन विभागले सिफारिस गरेको कर्मचारीको पोसकबारे गृह मन्त्रालयले स्वीकृत गरेको हो । गृहमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएसँगै अध्यागमन विभाग र मातहतका सबै कर्मचारीले अनिवार्य तोकिएको पोसाक लगाउनुपर्ने गृह सचिव एकनारायण अर्यालले बताए ।

“पोसाकले व्यक्तित्व झल्काउनुका साथै कर्मचारी पहिचानसमेत गराउँछ । सरकारी कर्मचारीको हकमा पोसाकले पहिचान र गरिमा राख्दछ”, अर्यालले भने, “सेवामा रहँदा अनिवार्य तोकिएको पोसाक लगाउँदा एकरुपता आउनुका साथै अनुशासित पनि बनाउँछ । यो व्यवस्थाले कर्मचारीलाई जिम्मेवार बनाउन र सामूहिक भावनाको विकास गर्ने विश्वास गृहले लिएको छ ।”

निजामती कर्मचारीको छुट्टै पोसाक तोकिएको भन्दै अर्यालले विमानस्थलमा कार्यरत कर्मचारीका लागि पनि छुट्टै पोसाक हुनुपर्ने सुझावपछि गृह मन्त्रालयले अध्यागमन अधिकारीका लागि सो व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

अध्यागमन सुधारका लागि गृह मन्त्रालयले विभिन्न सुधारका योजना अघि सारिरहेको सचिव अर्यालले बताए । उनका अनुसार बिचौलियासँगको सेटिङ भत्काई घुसखोरी रोक्न विभागदेखि कार्यालयसम्मका कर्मचारी परिवर्तन गर्ने, सेवाग्राहीलाई सास्ती दिएको भेटिए तत्काल हटाइ कारबाही सुरु गरिएको छ ।

केही समयअघि मात्रै गृहसचिव अर्याल आकस्मिक रुपमा विमानस्थल कार्यालय पुगेर सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउन दिर्नेशन दिएका थिए ।

शेनबाम मेक्सिकोको राष्ट्रपति निर्वाचित

मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित भएकी छन् । मेक्सिको सिटी निवासी ६१ वर्षीय पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेकप् उनले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाएको छ ।

विशेष गरी दुई दर्जनभन्दा बढी आकांक्षी स्थानीय राजनीतिज्ञहरूको हत्या भएको रक्तपातपूर्ण चुनावी प्रक्रियापछि भएको निर्वाचनमा मेक्सिकाले महिला नेतृत्व पाएको छ । मतदाताहरूको सुरक्षाका लागि हजारौं सैनिकहरू तैनाथ गरिएको थियो ।

शेबनामले प्राप्त गरेको मत प्रतिशत उनको मुख्य प्रतिद्वन्द्वी जोचिटल गाल्भेजभन्दा ३० प्रतिशत अंकभन्दा बढी हो भने लामो समयदेखि मध्यमार्गी जोर्ज अल्भारेज मेनेजभन्दा ५० प्रतिशत अङ्क बढी हो ।

निर्वाचनमा अति हिंसात्मक लागूऔषध गिरोहले आतङ्कित पारेका क्षेत्रहरूमा छिटपुट हिंसाका बावजुद ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोभरिका मतदान केन्द्रहरूमा मतदाताहरूको भीड लागेको थियो ।

उनले आफू निर्वाचित हुन पहिले नै मतदान भएको दिनलाई ‘ऐतिहासिक दिन’ का रूपमा घोषणा गरेकी थिइन् ।

मतदानपछि शेबनामले आफूलाई आफैंले दिएको मत आफ्नो जीतका लागि नभई ९३ वर्षीया अग्रज वामपन्थी नेता इफिजेनिया मार्टिनेजको सम्मानका लागि भएको बताएकी थिइन् ।

“लोकतन्त्र दीर्घकालसम्म रहिरहनेछ,” शेनबामले आफू निर्बाचित बनेपछि शुभचिन्तक तथा सहयोगी कार्यकर्ताको भीडलाई सम्बोधन गर्दै घोषणा गरिन् ।

निर्वाचन सकिएपछि गाल्भेजले आफ्ना अनुयायीहरूलाई मतगणनालाई नजिकबाट नियाल्न आग्रह गरेका थिए ।

“हामी अधिनायकवाद र सत्ताविरुद्ध प्रतिस्पर्धा गरिरहेका छौं र उनीहरु जे पनि गर्न सक्षम छन्,” सिनेटर तथा आदिवासी मूलकी व्यवसायीसमेत रहेकी ६१ वर्षीया गाल्भेजले भने ।

हरेक दिन करिब १० जना महिला वा बालिकाको हत्या हुने मेक्सिकोको सबैभन्दा अग्लो राजनीतिक सिसाको छाना एक महिलाले तोडेको भन्दै विजयी र्यालीमा सहभागी महिलाले खुशी व्यक्त गरेका छन् ।

‘शान्ति शिखर सम्मेलन’मा सहभागी हुनबाट अन्य राष्ट्रलाई रोकेको जेलेन्स्कीको भनाईको चीनद्वारा खण्डन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा हुने युद्धसम्बन्धी प्रस्तावित ‘शान्ति शिखर सम्मेलन’मा सहभागी हुनबाट अन्य राष्ट्रलाई रोक्न खोजेको भन्ने आरोपको चीनले सोमबार खण्डन गरेको छ ।

सिङ्गापुरमा आइतबार आयोजित एक सुरक्षा मञ्चमा बोल्दै जेलेन्स्कीले बेइजिङले यसै महिना स्विट्जरल्याण्डले आयोजना गर्न लागेको शान्ति शिखर सम्मेलनमा देशहरूलाई आउनबाट रोक्न कडा मेहनत गरिरहेको आरोप लगाएका थिए ।

सिङ्गापुर भेलाले रूसको आक्रमण अन्त्य गर्न आवश्यक शर्तहरूको आफ्नो दृष्टिकोणको लागि व्यापक अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न मद्दत गर्नेमा युक्रेन आशावादी रहेको छ ।

चीनले गत साता उक्त सम्मेलनबारे आफ्नो धारणा राख्दै चीनको सहयोगी रूसले भाग नलिएमा सम्मेलनमा सहभागी हुन कठिन हुने बताएको थियो ।

बेइजिङको विदेश मन्त्रालयले सोमबार भनेको छ, “चीनको अडान खुला र पारदर्शी छ र हामीले अन्य देशलाई दबाब दिएको कुनै उदाहरण छैन ।”

“शान्ति वार्तामा चीनको अडान स्पष्ट र न्यायसम्म छ । यसले कुनै पनि तेस्रो देशलाई लक्षित गर्दैन र पक्कै पनि स्विट्जरल्याण्डले आयोजना गरेको युक्रेनी शान्तिका लागि शिखर सम्मेलन पनि चीनको निशाना हुने छैन,” प्रवक्ता माओ निङले नियमित पत्रकार भेटमा भने ।

“सङ्कटको शान्तिपूर्ण समाधानका लागि गरिने सबै प्रयासलाई समर्थन गर्नुपर्छ भन्ने चीनको मान्यता छ,” उनले भने ।

बेइजिङले युक्रेनको युद्धमा आफू तटस्थ रहेको बताउँदै आएको छ तर रूससँगको रणनीतिक साझेदारीलाई लिएर पश्चिमा मुलुकबाट पनि चर्को आलोचना खेप्नुपरेको छ ।

चीनले रूसलाई प्रत्यक्ष रूपमा हतियार नपठाए पनि सोभियत कालदेखि मस्कोको सबैभन्दा ठूलो रक्षा उद्योग विस्तारलाई समर्थन गरेको संयुक्त राज्य अमेरिकाले आरोप लगाएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना चीन भ्रमण गरेका थिए । चीनमा रहँदा उनले युक्रेन युद्धमा रूसलाई चीनको व्यापक सहयोग मागेका थिए र चीनका नेता सी जिनपिङसँग उनीहरूको देशको रणनीतिक साझेदारीलाई अझ प्रगाढ बनाउने विषयमा एक संयुक्त वक्तव्यमा हस्ताक्षर भएको थियो ।

खोटाङमा तीन सय दर्शक क्षमताको ‘कभर्डहल’ सञ्चालनमा

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा निर्माण भएको ‘जालपा कभर्डहल’ सञ्चालनमा आएको छ। नगरपालिकाको  ७० लाख र स्थानीय उपभोक्ताको श्रमदानबाट निर्माण भएको बहुउद्देश्यीय कभर्डहल आइतबारदेखि सञ्चालनमा आएको हो।

कभर्डहल तीन सय दर्शक क्षमताको बनेको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए। वि.सं. २०७६ मा निर्माण सुरु गरिएको उक्त कभर्डहल आइतरबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले औपचारिकरुपमा उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टङ्क राई, नगरप्रमुख तीर्थराज भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेता रामप्रसाद दङ्गाललगायतको उपस्थिति थियो। करिब पाँच वर्ष लगाएर सम्पन्न गरिएको कभर्डहलमा खेलकुदसम्बन्धी विभिन्न गतिविधि, सभा, सम्मेलनलगायत कार्यक्रम गर्न सकिने वडाध्यक्ष राईले जानकारी दिए।

कभर्डहल उद्घाटनको अवसरमा भलिबल र ब्याडमिन्टन प्रतियोगिता, पूर्वखेलाडीलाई सम्मानका साथै साङ्गीतिक कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष राईले बताए। उनका अनुसार यही जेठ १८ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरले जितेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा कार्यालय जालपाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा रावाबेँसी गाउँपालिका–१ कुभिण्डेलाई हराउँदै कुइभिरले उपाधि जितेको हो। उपाधि विजेताले ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका वडाअध्यक्ष राईले जानकारी दिए। उनका अनुसार दोस्रो भएको रावाबेँसी–१ कुमिण्डेले रु ३० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

विभिन्न जिल्लाका १९ वडाले सहभागिता जनाएको प्रतियोगितामा ऐँसेलुखर्क गाउँपालिका–५ तेस्रो हुँदै २० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले खुला वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खुला डबल ब्याडमिन्टनमा दिक्तेलका पूजन आचार्य र सञ्जय कार्की पहिलो, दिक्तेलका समीर बजिमय र विकास खत्री दोस्रो तथा जालपाका युनिशन राई र रमेश श्रेष्ठ तेस्रो भएका छन्।

महिलातर्फको डबल प्रतियोगितामा दिक्तेलका रेणुका राई र ममता राई पहिलो, जालपाका अनिता श्रेष्ठ र वर्षा गुरुङ दोस्रो तथा दिक्तेलका कल्पना जोशी (राई) र स्मिता राई तेस्रो भएका छन्। खुला महिला/पुरुष दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५, १० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन्।

पुरुषतर्फको डबल भेट्रानमा दिक्तेलका राजु श्रेष्ठ र समीर बजिमय पहिलो, जालपाका गोपाल गुरुङ र ज्ञानबहादुर श्रेष्ठ दोस्रो र दिक्तेलका मनविक्रम राई र हरि खत्री तेस्रो भएका छन्। भेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १२ हजार, दश हजार, आठ हजार पुरस्कार प्राप्त गरेका छन्।

पन्ध्र वर्षमुनिका पुरुषतर्फको ब्याडमिन्टनमा केपिलासगढी गाउँपालिका–४ का ग्याल्जेन तामाङ र आशिष राई पहिलो, दिक्तेलका संयोग धमला र विवेक आचार्य दोस्रो र दिक्तेलकै योजन दाहाल र अनिशान्त दङ्गाल तेस्रो भएका छन्। पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः आठ हजार, पाँच हजार र तीन हजार पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ।

कार्यक्रममा भलिबलका पाँच तथा तेक्वान्दो र सितोरियो करातेका दुई/दुईजना पूर्वखेलाडीलाई सम्मान गरिएको छ। भलिबलका पूर्वक्षेत्रीय खेलाडी बलराम राई, सम्बरबहादुर राई, वीरबहादुर तामाङ, ताराकला राई र जसुदा राई, तेक्वान्दोका पूर्वखेलाडी विकास र सङ्गम गुरुङ तथा सितोरियो करातेका चन्द्रबहादुर राई ‘मदन’, गौतम राई र कैलाश राईलाई सम्मान गरिएको वडाध्यक्ष राईले जानकारी दिए। 

चोयामा सीप भरेर आत्मनिर्भर बनेका घोराहीका ढाटु चौधरी

 देउखुरी । घोराही उपमहानगरपालिका–७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बनेका छन् ।

बुबा-बाजेबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीवीको चलाउन सहज भएको उनले बताए । उनले बाँसका चोयाबाट स्याङो, गैजा र छातालगायतका सामग्री बुन्ने गर्छन् । गैजा घाँस तथा तरकारी बोक्न प्रयोग हुने गरेको छ ।

‘एउटा गैजालाई तीन सय रुपैया र स्याङोलाई पाँच सय रुपैयामा बिक्री गर्ने गरेको छु । गाउँघरमा नै बिक्री हुने गरेकाले बजार खोज्न धेरै टाढा जानुपरेको छैन’, उनले भने, ‘मेहनत गरेमा आम्दानीको साथै समय सदुपयोग र स्वरोजगार बन्न सहज भएको छ ।’

दिनमा चारवटासम्म गैजा बुन्ने गरेका चौधरीले तिनको बिक्रीबाट १२ सय रुपैयाँ आम्दानी गर्छन्। ‘अहिलेसम्म बुनेका सामाग्री बिक्री हुँदैनन् कि भनेर चिन्ता गर्नुपरेको छैन । धेरै स्थानीयले आफ्नो बाँस दिएर बुन्न लगाउनुहुन्छ, त्यसमा पनि पैसा आउँछ’, चौधरी भन्छन्, ‘स्थानीय सरकारले घरेलु सामग्रीलाई प्रोत्साहन गर्ने नीति लिएमा व्यावसायीकरूपमा काम अगाडि बढाउने सोच छ ।’

घरमै बसेर फुर्सदको समय सदुपयोग हुनुका साथै आम्दानी पनि गर्न सकिने यो पेशामा पछिल्लो पुस्ता भने आकर्षित छैन । उनलाई पछिल्लो पुस्ताले यो सीप सिक्न नचाहेको देख्दा आफूसँगै लोप पो हुन्छ कि भन्ने चिन्ता लागेको छ ।

‘मैले मेरा बुबाबाजेबाट सीप सिके आफ्नो गर्जो टार्न सहज भएकै छ । अहिले त लगानी गरेमा व्यावसायिकरूपमा काम अगाडि बढाउन सकिन्छ तर नयाँ पुस्ताले सीप सिक्न चासो राखेका छैनन् । अब स्थानीय सरकारले यस्ता परम्परायत सीपको प्रवर्द्धन गर्न जरूरी छ’, चौधरीको अनुरोध छ ।

शेयर बजारमा सामान्य अंकको बृद्धि, चार अर्ब ४० लाखको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार सामान्य घटेको छ । सोमबार नेप्से तीन दशमलव ९७ अङ्कले घटेर दुई हजार ७९ दशमलव शून्य सात विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज एनआईबीएल स्टेबल फन्डको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर भने साढे नौ प्रतिशतले बढेको छ ।

आज तीन सय १६ वटा कम्पनीका ८८ लाख २० हजार कित्ता शेयर चार अर्ब ४० लाख रुपैयाँमा कारोबार भएको छ । बजार घटेको दिन सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका १४ परिवारको बिचल्ली

 महोत्तरी । जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) नहुँदा पूर्वपश्चिम रेल्वेले अधिग्रहण गरेका जग्गाको मुआब्जा नपाएपछि यहाँका १४ परिवारको बिचल्ली भएको छ ।

रेल्वेले बर्दिबास नगरपालिका–१४ मा घरबास रहेकै स्थानको जग्गा अधिग्रहण गरे पनि मुआब्जा नपाएपछि बिचल्ली हुने अवस्था आएको पीडितले जनाएका छन् ।

रेल्वेले आफ्नो घर वरपर ट्र्याक निर्माणका लागि सयौँ उपकरण लगाएर माटो उठाइरहँदा यी १४ परिवार भने माटोकै प्रमाण नपुग्दा विचल्ली हुने स्थितिमा पुगेका छन् ।

विसं २०२२ मा नापी भई तत्कालीन जमिन्दार नीरबहादुर हमालका नाममा फिल्डबुक दर्ता रहेको साविक २५ नं बहादुरगञ्ज , वडानम्बर २ (ख) का कित्ता नं १८,२०,२४,२६,२९ र ३० मा रहेका करिब तीन बिघा क्षेत्रफलभित्र बसोबास गर्ने १४ परिवारका नाममा लालपुर्जा नबन्दा रेल्वेले मुआब्जा दिन आनाकानी गरिरहेको छ ।

उक्त क्षेत्रफलभित्र बसोबास गर्ने १४ परिवारमा खिलबहादुर ठकुरी, एकबहादुर ठकुरी, प्रेमबहादुर बुढाथोकी, टेककुमारी मल्ल, सम्झना हमाल, मोहनकुमार दाहाल र चुडामणि दाहाल छन् ।

यसैगरी रोशनकुमार दाहाल, अम्बिकादेवी अधिकारी, मालती खनाल, बालकुमारी हमाल, लीलकुमारी हमाल, यमबहादुर शाही र खड्कबहादुर सिंहका घर यसै क्षेत्रभित्र छन् । रेल्वेले यी जग्गा अधिग्रहण गरेको हुँदा खाली गर्न/गराउन पत्र थमाएको छ तर घर भत्काएपछि कहाँ जाने भन्ने टुङ्गो नभएका यी १४ परिवार अहिले रनभूल्ल छन् ।

जमिन्दार हमालको नाउँमा जग्गा फिल्डबुक दर्ता रहेपनि जग्गाधनी प्रमाणपुर्जा लिनुअघि नै उनको मृत्यु भयो । पछि हमालले बसाएका १४ परिवारका नाममा पनि लालपुर्जा बन्न सकेन ।

तत्कालीन जमिन्दार र उनकी पत्नीको मृत्युपछिका हकदार छोरा कृष्णबहादुर हमाल, चीरञ्जीवी हमाल, ईश्वर हमाल र ओमकार हमालले उल्लिखित जग्गा अहिले घर भएका १४ परिवारकै रहेको हुँदा उनीहरुलाई घर र जग्गाधनीले पाउने मुआब्जा उपलब्ध गराइदिन लिखित मञ्जुरी दिए पनि समस्या समाधान हुन नसकेको स्थानीयले बताएका छन् ।

यसैगरी बर्दिबास नगर कार्यपालिकाको कार्यालयले पनि १४ परिवारलाई मुआब्जा उपलब्ध गराउन रेल विभागलाई पत्राचार गरेको छ तर रेल विभागले सङ्घीय मन्त्रिपरिषदबाट ठोस् निर्णय नभएकाले मुआब्जा दिन कानुनी जटिलता रहेको बताउँदै आएको छ ।

रेल्वेले अहिले सयौं यान्त्रिक साधनमा बालुवा ओसारेर घर अगाडि थुपारेको देख्दा यिनै १४ परिवारमध्येकी ९० वर्षीया अम्बिकादेवी अधिकारी जीवनको उत्तरार्द्धमा मर्न आँगन नपाउने भन्दै विलाप गर्छिन् ।

‘सिङ्गो जीवन आफ्नो भनेर बसेको घर भत्काउन तारन्तर सूचना आउँछ, यो भत्काएर कहाँ जाने ठेगान छैन, यो उमेरमा आएर आफ्नै आँगन बिरानो बन्यो’, रेल्वेले अधिग्रहण गरेको चिठी देखाउँदै उनी भन्छिन्, ‘सम्पत्तिको नाममा यही घरजग्गा थियो, अब यो पनि नरहने भयो, मैले सास छाड्ने ठाउँपनि नपाउने भएँ ।’

उनलाई रेल्वेले दिएको पत्रमा भनिएको छ, ‘रेल्वेस्टेसन र ट्रयाकवेड निर्माणार्थ यो जग्गा अधिग्रहण गरिएको छ ।’ अधिकारीले मुआब्जाका लागि रेल्वे, नगरपालिका र जिल्ला प्रशासन कार्यालय कैयन पटक धाइए पनि कसैले नसुनेको बताइन् ।

अर्को विकल्पबिना वर्षौदेखि बसिरहेको थातथलोबाट उठिबास लाग्ने भएपछि यहाँका १४ परिवारले अहिले रेल्वेले ‘ट्रयाकवेड’ निर्माणार्थ माटो चुल्याइरहेकै ठाउँ अगाडि धर्ना कसेका छन् ।

बर्दिबास–१४ का वडाअध्यक्ष विजयकुमार महतो यी परिवारलाई तत्काल वैकल्पिक व्यवस्थाका लागि त्यही बस्तीका अरुले पाएसरह मुआब्जा दिनुपर्ने बताउँछन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल यी परिवारको मुआब्जासम्बन्धी फाइल अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरिएको र त्यहाँ हुने निर्णयअनुसार मुआब्जासम्बन्धी समस्या छिनोफानो हुने बताए ।

‘हामीले १४ परिवारसँग सम्बन्धित सबै कागजातसहितको फाइल निर्णयार्थ मन्त्रालय पठाएका छौं, त्यहाँ हुने निर्णयको प्रतिक्षामा छौं’, गेलालले भने, ‘निर्णय आउनासाथ सोअनुरुप कार्यान्वयन हुन्छ ।’

बर्दिबासमा पूर्व–पश्चिम रेल्वे र जयनगर बर्दिबास रेल्वेका लागि जग्गा अधिग्रहण गरिएका अन्य परिवारले भने मुआब्जा पाइसकेका छन् ।

फिल्डबुकमा नाम दर्ता रहेका तत्कालीन जिम्दारका हकदार र बर्दिबास नगर कार्यपालिकाको कार्यालयले स्पष्ट किटानसाथ यी १४ परिवार नै जग्गाधनी रहेका उल्लेख गरेपछि मुवाब्जा दिन ढिलाइ हुनु अन्याय भएको बर्दिबासका सामाजिक राजनीतिक कार्यकर्ता पोषण थापाको भनाइ छ ।

माधव नेपाललाई ११ प्रश्न

काठमाडौँ । नेकपा एमालेबाट विभाजन भएर गठन भएको तीन वर्ष पुग्नै लाग्दा नेकपा (एकीकृत समाजवादी) आफ्नो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । कुनै पनि दलको बहुमत नरहेको वर्तमान प्रतिनिधिसभामा १० स्थान रहेको सो एकीकृत समाजवादी सङ्घ र प्रदेशका सत्ता गठबन्धन हेरफेरमा कतिपय अवस्थामा निर्णायकसमेत रहँदै आएको छ । आफूहरुलाई बेवास्ता र अपमान नगर्न आग्रह गर्दै आउनुभएका सो दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग राष्ट्रिय राजनीति र एकीकृत समाजवादीको दसौँ महाधिवेशनका सन्दर्भमा राससका समाचारदाताद्वय प्रकाश सिलवाल र सिबी अधिकारीले गरेको संवादको सम्पादित विवरणः

पछिल्ला राजनीतिक घटनाक्रममा तपाईं र तपाईंको पार्टी चर्चाकै केन्द्रमा रहेको देखिन्छ । हालै मात्रै तपाईंले विपक्षी दलका नेताहरुसँग बैठक भएको सन्दर्भमा वर्तमान सत्ता गठबन्धनमा केही समस्या आउने हो कि भन्ने कोणबाट हेरिएको छ, स्थिति त्यस्तो हो  ?
–स्वाभाविकरुपमा विभिन्न विषयमा राजनीतिक दलहरुबीच भेटघाट र छलफल हुन्छ । म एक राजनीतिक दलको नेता भएकाले मलाई विभिन्न पक्षले बोलाउँछन् । छलफलमा सहभागी हुने अवस्था बन्छ, त्यसमा कुनै आत्तिनुपर्ने कुनै अवस्था छैन । त्यसमा पनि अहिले हामी विशेष अवस्थामा रहेका छौँ । त्यो अवस्थालाई पनि ध्यानमा राखेर चल्नुपर्छ । त्यसो हुनाले सबैले सामूहिक पक्षमा छलफल चलाउनुपर्छ । बेवास्ता गरियो भन्ने खालको मनस्थिति कसैको नबनोस् । काम परुन्जेलसम्म भाँडो काम सकिएपछि ठाँडो ठान्ने ढङ्गबाट व्यवहार नहोस् । विश्वासको सम्बन्ध र वातावरण बनोस् ।


हामी देशभक्त शक्तिहरु, लोकतान्त्रिक, शक्तिहरु, वामपन्थी र परिवर्तनकारी शक्तिहरु समाजवादको यात्रामा अगाडि बढ्न चाहने समाजवादी शक्तिहरु एकताबद्ध भएर बढून् भन्ने हाम्रो चाहना छ । हामी अहिले सङ्घीय सरकारको गठबन्धनमा छौँ । विशेष अवस्था भएकाले मधेस प्रदेशको सरकारमा पनि छौँ । कसरी देशको भलो, जनताको कल्याण र पार्टीको पनि हित हुन्छ, यी तीनवटै विषयमा उचित सन्तुलन कायम गरेर हामी अगाडि बढ्छौँ ।


मधेस प्रदेशमा तपाईंहरुको पार्टीले हालका मुख्यमन्त्रीलाई समर्थन गर्ने सम्भावना छ ?
– देश र जनताको हितभन्दा हाम्रो अरू ठूलो केही पनि छैन । अहिले हामी त्यहाँ छौँ र त्यहाँ रहुन्जेल त समर्थन भइहाल्छ । त्यसपछि कसरी अगाडि बढ्ने भन्ने पार्टीले छलफल र परामर्श गरेर आगामी रणनीति लिन्छ ।


तपाईंहरुलाई गठबन्धनमा भए पनि सरकारमा रहेका प्रमुख दलहरुबाट वास्ता गरिएन भन्ने गुनासो हो ?
– वास्ता गरियो–गरिएन भन्ने कुराहरुको बारेमा गुनासो गर्नुपर्ने केही पनि आवश्यकता छैन । जे भए पनि व्यापक छलफल र परामर्शको अवश्यकता छ ।


पाँच वर्षको अवधिमा तपाईंलाई पनि प्रधानमन्त्री बनाउनुपर्छ भन्ने विभिन्न प्रस्ताव  सुनिन्छ । त्यस्तो केही कुरा वा समझदारी भएको छ ?
– मेरो लागि पद ठूलो कुरा होइन । प्रधानमन्त्री मेरो प्राथमिकताको विषय होइन । मेरो निम्ति प्राथमिकताको विषय भनेको जनता हो, देश हो । त्यसैले देश र जनताको हितमा हामीले आफूलाई समर्पित गर्नुपर्छ । त्यसकारण मैले के पाउँछु के पाएँ भन्ने विषयलाई केन्द्रविन्दुमा राख्ने हैन । मेरो सोच पनि त्यस्तो छैन । म पदका लागि मरिहत्ते गर्ने मान्छे पनि हैन । पदकै निम्ति जन्मेको र पदकै निम्ति मर्ने पनि हैन । त्यसकारण देश र जनताको हित र कल्याण हुँदा त्योभन्दा सन्तोष अरू केही पनि हुँदैन ।


प्रस्ताव आएमा वा पार्टीलाई पनि स्थापित गर्नुपर्ने अवस्थामा प्रधानमन्त्री बन्न तयारै हुनुहुन्छ नि ?
–देश र जनताको पक्षमा कुनै काम गर्नुप¥यो भने बरु हामी त्यस्ता छलफल र बहसहरुमा लागू गर्ने सबै कुरामा सधैँ सकारात्मक नै रहन्छौँ । नेपालको उत्पादन क्षेत्रमा सम्भाव्य वस्तु जे जति छन् तीनको प्रवद्र्धन गर्नुपर्छ । अर्को नेपालको अर्थतन्त्रको दुईवटा महत्वपूर्ण क्षेत्र ऊर्जा र पर्यटन हुन् । जलविद्युत्को क्षेत्रमा धेरै गर्न सकिन्छ । यसका निम्ति आन्तरिक र बाह्य लगानीलाई आकर्षित गरिनुपर्छ । जे–जे बाधा र अवरोधहरु छन् त्यसलाई सहजीकरण गर्न सरकारले तदरुकता देखाउनुपर्छ । त्यसपछि पर्यटन क्षेत्रको विस्तार गर्ने सन्दर्भमा कस्ताकस्ता पर्यटकहरु नेपालमा बढी आकर्षित हुन्छन्, चाहे त्यो नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न या नेपालको ऐतिहासिक परम्परागत सम्पदा र संस्कृतिका बारेमा जानकारी लिन वा धार्मिक अवस्थाबारे जानकारी लिन आएका किन नहुन् । जुनसुकै उद्देश्यले नेपाल आएका भए पनि पर्यटकको बसाइ लम्ब्याउने कार्ययोजना आवश्यक छ ।


तर, सबै कुराहरु हुँदाहुँदै पनि विकास निर्माणको काम गर्दा सामूहिक सोचको अभाव छ, प्राथमिकीकरणको बारेमा गम्भीर सोच र विश्लेषणको अभाव छ, यी सबै कुराको लागि योजना निर्माण गर्दा ध्यान दिनुपर्छ । काम गुणस्तर र समयमै सम्पन्न गर्ने त्यसका लागि अनुगमन प्रणाली प्रभावकारी बनाइनुपर्छ । यी सबै कुरामा नेपालको गणतान्त्रिक व्यवस्था सुदृढ भई अर्थतन्त्रको विकासले फड्को मार्छ । गणतन्त्रले यही कुराको अपेक्षा गरेको छ । हरित अर्थतन्त्र, डिजिटल इकोनोमीको विकासलाई जोड दिनुपर्छ अहिलेको बजेटले यसलाई समेटेको छ । कमीकमजोरीलाई सच्याएर आगामी १६औँ पञ्चवर्षीय योजनामा यस्ता विषय समेटेर प्रभावकारी कार्यान्वयनमा लैजानुपर्छ । यी सबै कुरामा सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।


पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्नुभएको छ । पार्टीको महाधिवेशनलाई कसरी लिनुभएको छ ?
–हाम्रो पार्टी दसौँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । हामी आगामी असारको १६ देखि २० गतेसम्म महाधिवेशन गर्न गइरहेका छौँ । महाधिवेशनका लागि हामीले चारवटा दस्तावेज तयार गरेका छौँ । ती दस्तावेज सामूहिक छलफल र सहमतिबाट अघि बढेको छ । उक्त दस्तावेज सहमतिबाट अगाडि बढ्छ ।


पार्टी स्थापना भएको तीन वर्ष हुँदैछ १०औँ महाधिवेशन भन्नुभएको छ, दसौँ महाधिवेशन भन्न मिल्छ ? महाधिवेशनपछिको नीति र नेतृत्वबारे के गृहकार्य भएको छ ?
–तपाईं हामी सबैलाई थाहा छ कि पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । पछि पार्टी विभाजित भयो । विभाजनपछि पुष्पलालले तेस्रो सममेलन गर्नुभयो । पहिलो र दोस्रो महाधिवेशन भइसकेको थियो । उहाँले महाधिवेशन गर्न पाउनुभएन । मोहनविक्रम सिंह पनि पार्टीबाट अलग हुनुभयो र चौथो महाधिवेशन गर्नुभयो । जो जहाँबाट विभाजन भयो त्यही अवस्थामा महाधिवेशनको निरन्तरता गरिँदै आएको छ । त्यसैले हामी एमालेबाट विभाजन भएर आयौँ अब, हामीले गर्ने महाधिवेशन १०औँ महाधिवेशन नै हुन्छ ।


नेतृत्व पनि सहमतिबाटै जान्छ कि ?
–हाम्रो अधिकतम प्रयास त्यही नै रहन्छ । सोही अनुरुपको वातावरण बनोस् भन्ने हामीलाई लागेको छ ।


तपाईंले नेतृत्वको निरन्तरताकै तयारी त गर्नुभएको होला नि ?
–मैले के सोच्छु भन्ने महत्वपूर्ण होइन । पार्टी र कार्यकर्ताले के सोच्छन्, त्यो महत्वपूर्ण कुरा हो । व्यक्तिगत स्वार्थभन्दा पनि पार्टीको हितलाई हेरेर नेता कार्यकर्ताको चाहनाबमोजिम नेतृत्व चयन हुन्छ ।


तपाईंहरुकै पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले रासससँगको कुराकानीमा हाम्रो पार्टी अहिलेकै संरचना र कार्यशैलीबाट चुन्न सक्दैन, यसमा व्यापक परिवर्तन जरुरी छ भन्नुभएको थियो, सुधार्नेबारे के सोच्नुभएको छ ?


–समाजवादी क्रान्तिका क्रममा हामी निरन्तर परिवर्तनका पक्षमा हुन्छौँ । हामीले अहिलेको अवस्थामा सन्तुष्टि छैनौँ, अग्रगमनका लागि यात्रारत हुन्छौँ । संसार नै परिवर्तनशील छ । संसार परिवर्तनशील भएपछि मान्छे परिवर्तनशील हुनुपर्छ । पार्टी र विचार परिवर्तनशील हुनुपर्छ । यस अर्थमा हामीले नेपाली विशेषताको समाजवाद भनेका छौँ । नेपालको विशेषता के हो भने यहाँ रहेका बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको नेपाली समाज अनुकूलको सोचको कुरा हो । यहाँ वर्गभित्र जात पनि छ । हाम्रो विशेषता के हो भौगोलिक रुपमा पनि विविधता छ । अनेकौँ सम्पदा छन् । दुई ठूला देशको बीचमा छौँ । यहाँ बहुदलीय प्रणाली पनि छ । राजनीतिक अवस्था र बहुदलीय प्रतिस्पर्धा पनि हुन्छ । हामी एकल पार्टीको पक्षमा छैनौँ । समाजवादमा वर्ग हुन्छ र पार्टी पनि हुन्छ  । हामी स्वार्थ र भ्रष्टीकरणबाट मुक्त हुनु पर्नेछ । अहिले नेपालको राजनीतिलाई भ्रष्टीकरणले गाँजेको छ । भ्रष्टीकरणबाट मुक्त हुन व्यक्तिवाद र मपाईंवादबाट मुक्त हुनुपर्छ ।


लोकतान्त्रिक कार्यशैली र पारदर्शी र वैज्ञानिक कार्यपद्धति अपनाउन सकियो भने अवश्य पनि कुनै पनि पार्टीभन्दा उत्कृष्ट हुन सकिन्छ । हाम्रो पार्टीको भविष्य उज्यालो छ । कसैकसैलाई यो पार्टीको भविष्य छैन भन्ने पनि लागेको होला । यो पार्टीलाई विलीन बनाएर लैजानुपर्छ भन्ने पनि लागेको हुनसक्छ । तर यो विलीन भएर समापन भएर जाँदैन । यो पार्टी आफ्नो सोच, दृष्टिकोण, वैज्ञानिक समाजवादको यात्रामा दृढताका अगाडि बढ्छ । अरूलाई पनि साथमा लिएर जान्छ । किनभने हामी अलगअलग पसलहरु होइनौँ । सकेसम्म विचार मिल्नेहरुलाई एकताबद्ध बनाएर लैजाने सोचमा छौँ । सबै देशभक्त र लोकतान्त्रिक शक्तिहरु पनि मिलून् । वामपन्थी शक्तिहरु त मिल्नैपर्छ । किनभने वामपन्थी शक्तिहरुले नै नेपाल राष्ट्रमा ठूला ठूला परिवर्तन गरेका छन् र त्यसको अगुवाइ पनि गरेका छन् । हामीहरु मिल्नुको विकल्प छैन ।


पहिला फुटेर जाने अनि फेरि मिल्नेपर्छ भन्ने क्रम पनि चलिरहने रहेछ है ?
–फुट र जुट चलिरहन्छ । नदी पनि त फाटछ, कहिले मिसिन्छ । दुई धार हुन्छ । अन्त्यमा गन्तव्य त समुद्रमा गएर मिसिने हो । त्यसो हुनाले फुटमा आत्तिनुपर्ने अवस्था छैन । नदी एक किसिमको भौगोलिक संरचनामा पुग्छ, त्यहाँ फाट्छ अर्को भौगोलिक संरचनामा मिसिन्छ । त्यसैले प्रकृतिको नियम यस्तै छ । सकेसम्म फाट्नु राम्रो होइन, तर के गर्नु घरै फाटिरहेको हुन्छ । श्रीमान् श्रीमतीको पनि फाटिरहेका हुन्छन् । कोही कसैको दास बनिरहन सक्दैन । दासत्वलाई स्वीकार्न सकिँदैन । यस अर्थमा हामी आफ्नो स्वभिमान, देश र जनताको स्वाभिमान र हितका लागि लागिरहेका छौं । हामी नक्कली गफको क्रान्तिकारी होइन, व्यावहारिक र साँचो अर्थमा जनताको परिवर्तनको खातिर उभिन जरुरी छ ।