विपदबाट यसवर्ष ४ लाख १२ हजार घरधुरी प्रभावित हुने अनुमान


काठमाडौं । यस वर्षको मनसुनमा हुनसक्ने जोखिम तथा क्षति आँकलन गरी संघीय मन्त्रालय, प्राधिकरण, विभाग, सुरक्षा निकाय, प्रदेश सरकार, जिल्ला तथा स्थानीय तहको जिम्मेवारी समेटिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, पारित भएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३ औं बैठकले कार्ययोजना पारित गरी सबै मन्त्रालय, विभाग तथा अन्य सम्वद्ध निकायलाई कार्यान्वयनका लागि निर्देशन दिने निर्णय गरेको हो ।
समितिले प्रदेश सरकार, स्थानीय तहलाई आफ्नो भूमिका अनुरुप कार्य गर्न अनुरोध पनि गरेको छ । कार्ययोजनामा यसवर्ष विपद्बाट करिब १८ लाख १ हजार जनसङ्ख्या र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रुपमा प्रभावित हुनसक्ने अनुमान छ ।
त्यसैगरि, मनसुनजन्य विपदबाट ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घर परिवारलाई मनसुनजन्य विपदमा उद्धार तथा राहत दिनु पर्ने आँकलन पनि गरिएको छ ।
प्राधिकरणको सभाहलमा बसेको बैठकले मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्मका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको स्थापना गर्ने निर्णय गरेको छ । पोष्टले मौसम पूर्वानुमानको जानकारी लिइ र जोखिमको आँकलन गरी प्रभावका आधारमा पूर्वतयारी र प्रतिकार्यको योजनाको प्रभावकारी कार्यान्वयन गर्नेलगायतका काम गर्नेछ ।
कार्ययोजनामा सम्बन्धित मन्त्रालय, विभाग तथा निकायहरुको मनसुन विपद् प्रतिकार्य योजनाका साथै खोज, उद्धार तथा राहत सामग्रीको मोज्दात एवं दक्ष जनशक्तिको विवरण, सम्पर्क व्यक्तिहरुको फोन नम्बरहरु पनि समावेश छ । बैठकमा गृहमन्त्री लामिछानेले सबै निकायको जिम्मेवारी प्रष्ट पारिएकोले अब कार्यान्वयनको चरण आएको बताए ।
उनले कुनै नीति, नियम वा नियमावलीले नागरिकको ज्यान जोगाउन कार्यलाई बाधा पुग्न नहुने उल्लेख गर्दै कुनै नीतिगत अवरोध फुकाउन आफू तयार रहेको पनि आश्वासन दिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आफ्नै मन्त्रालयका जिम्मेवारी कार्यान्वयन गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै निकायले कार्ययोजनामा तोकिए बमोजिम तैनाथी गरिहाल्नुपर्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले प्रतिकार्यमा मात्रै राज्य सक्रिय हुने परम्पराबाट अगाडि बढेर पूर्तयारीमा पनि गरम्भीर भएर लाग्ने पहल सह्रानीय भएको उल्लेख गर्दै स्वास्थ्य उपकरण, औषधि एवं स्वास्थ्य टोली तम्तयार अवस्थामा राखिने बताए ।
जल तथा मौसमय विज्ञान विभागले यस वर्षको मनुसनमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको आँकलन सार्वजनिक गरिसकेको छ ।