`

जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक–दीर्घामा पुगे…

काठमाडौं । काठमाडौँको न्यू होली क्रस विद्यालयका छात्रा इरिका अधिकारीले संसदीय प्रक्रियासम्बन्धी किताबमा पढेका विषय व्यावहारिक रुपमा अवलोकन गरी जान्नेबुझ्ने अवसर पाएपछि खुसी लागेको बताइन्।

इरिकासँगै सङ्घीय संसद्का बैठक अवलोकन गर्न काँडाघारीस्थित न्यू होली क्रस इङ्लिस सेकेन्डरी स्कूल र नार्गाजुन नगरपालिका–१ स्थित नागार्जुन भ्याली एकेडेमी स्कूलका एक सय १५ जना छात्रछात्रा सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेका थिए। अरू विद्यार्थीको प्रतिक्रिया पनि इरिकाको भन्द फरक छैन। उनीहरुले प्रत्यक्षरुपमा संसदीय गतिविधिलाई नियाल्ने अवसर जुटेकामा निकै फलदायी भएको प्रतिक्रिया दिएका छन्।

सङ्घीय संसद्का गतिविधिको अवलोकनमा आएका छात्रछात्रा सदनमा उठाइने राष्ट्र, राष्ट्रियता, समसामयिक तथा राजनीति र जनसरोकारका विषयमा प्रत्यक्ष छलफल गरी जानकारी लिन पाएपछि खुसी देखिन्थे।

संसद् बैठकबाट विद्यार्थी बाहिरिएपछि शिक्षक र विद्यार्थीसँग प्रतिनिधिसभा, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा संवाद गर्नुभएको थियो। संवादका क्रममा विद्यार्थीले राखेका जिज्ञासालाई सभापति खतिवडाले अन्तरक्रियात्मक ढङ्गबाट सम्बोधन गरे।

सभापति खतिवडासँग विद्यार्थीले संसद्मा उठेका जनसरोकारका विषय सम्बोधन हुनेमा कति विश्वस्त हुन सकिन्छ?, आर्थिक वृद्धिदर हासिल गरी सुखी नेपाली समृद्ध नेपालको नारा कहिलेसम्म सफल होला ?, वैदेशिक ऋणको भारले गाँजिदै गर्दा के अर्थतन्त्र उकास्न सकिएला? लगायत प्रश्न सोधेका थिए।

इरिकाले देशमा कसरी कानुन निर्माण हुन्छ, सदनमा सांसदले के–कस्ता कुरा उठाउँनु हुँदोरहेछ भन्ने जानकारी पाएको बताइन्। सदनलगायत औपचारिक मञ्चमा कस्तो पोसाक लगाएर आउने, कसरी प्रस्तुत हुनेलगायत विषयका बारेमा जानकारी पाइएको उनले प्रतिक्रिया दिइन्।

संसद् अवलोकनमा आएका विद्यार्थीले कतिपय विषयमा परेको द्विविधाबारे सांसदसँगको छलफलबाट स्पष्ट भएको प्रतिक्रिया दिए। उनीहरुका अनुसार संसदीय अभ्यास, सभामुखको स्थान, जिम्मेवारी र भूमिका, सभाका प्रक्रिया, मर्यादापालकका जिम्मेवारी, सुरक्षा मापदण्ड, दर्शकदीर्घा रहनेले पुर्‍याउनुपर्ने ध्यान, गर्नुपर्ने नियमको पालना, अनुशासनलगायत विषयका बारेमा जानकारी प्राप्त भएको छ।

अवलोकनमा जाँदा संसद् भवन प्रवेश गर्ने बेला साथमा लिएर जान नहुने सामग्री तथा जनप्रतिनिधिले बोलेका विषयमा तत्काल सङ्केत गर्न नपाइने विषयमा विद्यार्थीले प्रत्यक्ष अनुभव लिएका छन्।

सभापति खतिवडाले मुलुकमा भएका समसामयिक विषयमा सरकारका कुरा जनताका बीचमा र जनताका कुरा सरकारलाई बुझाउने दायित्व सांसद र संसद्को भएको प्रतिक्रिया दिए। उनले भने, ‘संसद्ले जहिले पनि सरकार र जनताका बीच पुलको काम गर्छ। सरकार पनि संसद्बाटै चुनिन्छ। चाहेर पनि साधन र स्रोतको अभावमा सांसद र जनताले भनेका सबै सम्बोधन गर्न सक्ने अवस्था हुदैँन।’

विपन्न, सीमान्तकृत समुदाय, पछिपरेका समुदायका आवाज सरकारमा पु¥याउने काम सांसदले गर्ने र त्यसबारे प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीले सदनमा स्पष्ट गर्ने परम्परा रहेको सभापति खतिवडाले जानकारी दिएका थिए।

विद्यार्थीलाई कानुन निर्माणको प्रक्रियाबारे जानकारी दिँदै सभापति खतिवडाले भने, ‘कानुन मस्यौदाका रुपमा सदनमा प्रवेश पाएका विधेयकमाथि सभा र विषयगत समितिमा सैद्धान्तिक र दफावार छलफल हुन्छ। त्यसमा सांसदबाट संशोधन हालिन्छ। उक्त विधेयक सहमति र बहुमतका आधारमा पारित हुन्छ। त्यसलाई सभामुखले प्रमाणित गर्नुहुन्छ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बन्छ। ऐन भनेको कानुन हो।’

माध्यमिक विद्यालय तह कक्षा १० अन्तर्गत सामाजिक विषयको पाठ्यक्रममा व्यवस्थापिकाका बारेमा पढाइ हुन्छ। पुस्तकमा चतुर्भजेश्वर माध्यामिक विद्यालय कक्षा १० का विद्यार्थीले सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक अवलोकन गरेको प्रसङ्ग उल्लेख छ। सामाजिक शिक्षकको सहयोगमा उनीहरुलाई संसद्को गतिविधि अध्ययन, अवलोकन गराइएको विषय पाठमा उल्लेख गरिएको छ।

विद्यार्थीसहित बानेश्वर पुग्नुभएका नार्गाजुन भ्याली एकेडेमी स्कूलका प्राचार्य उद्धवनारायण हुमागाईंले सामाजिक शिक्षामा सङ्घीय संसद्बारे पढाइ हुने भएकाले विद्यार्थीलाई प्रत्यक्षरुपमा अवलोकन गराउन यहाँ ल्याइएको बताउनुभयो। उक्त विद्यालयबाट ३७ जना विद्यार्थी अवलोकनका लागि आएका थिए।

सहकारीको रकम अपचलन भएको भन्ने विषयमा संसदीय छानबिन गठनको विषय लिएर लामो समयदेखि अवरुद्ध हुँदै आएको सदन आइतबारदेखि नियमितरुपमा सञ्चालन भएको हो।

मुलुकको आर्थिक र पूर्वाधार विकाससँग प्रत्यक्ष जोडिएको बजेटसम्बन्धी छलफलको पहिलो दिन सांसदको उपस्थिति न्यून देखिएको प्राचार्य हुमागाईंले बताए। उनले भने, ‘विनियोजित बजेट र उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै देश बनाउने लाग्नुपर्दछ। राजनीतिका मतभेद् भए पनि विकास निर्माणका विषयमा एकजुट हुनुपर्दछ।’

संसद् भनेको देशको नीति निर्माण गर्ने र कार्यान्वयनमा ल्याउन बाटो देखाउने ठाउँ भएकाले दलगतभन्दा माथि उठेर बहस पैरवी हुनुपर्नेमा उनले जोड दिनुभयो। “राष्ट्रका वास्तविक कुरामा छलफल हुनुपर्छ। देश बनाउने विषयमा लाग्नुपर्छ,’ प्राचार्य हुमागाईंले भने।

न्यू होली क्रस इङ्लिस सेकेन्डरीका प्राचार्य दिनेशकुमार कार्कीले विद्यार्थीले पहिलो पटक सङ्घीय संसद्को बैठक अध्ययन र अवलोकन गरेका बताए। उनले भने, ‘माध्यामिक तहमा संसद्बारे पढाइ हुन्छ। विद्यार्थीलाई कक्षाको सैद्धान्तिक ज्ञान मात्र होइन, अवलोकनमार्फत यहाँका विधि र प्रक्रियाबारे जानकारी दिने उद्देश्यले ल्याएका हौँ।’

विधायकले जनसरोकारका विषयलाई कसरी उठान गर्छन् भन्ने विषयमा प्रत्यक्ष जानकारी पाइएको जनाउँदै उनले यहाँबाट सिकेका आधारमा विद्यालयमा नमूना संसद्को अभ्यास गर्ने जानकारी दिए।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सम्बन्ध, कार्यसम्पादन र शक्तिसन्तुलनको पाटोमा ज्ञान दिलाउन यस्ता अवलोकन निकै व्यावहारिक हुने कार्कीको प्रतिक्रिया छ। नेपाली जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको सङ्घीय संसद्को मुख्य जिम्मेवारी कानुन र नीति निर्माण गर्ने रहेको जानकारी पाइएको उनको भनाइ छ।

विधेयक प्रस्तुत, छलफल तथा बहस, आवश्यकताका आधारमा परिमार्जन गरी पारित गर्ने र राष्ट्रपतिसमक्ष प्रमाणीकरका लागि सिफारिसलगायत कानुनी जिम्मेवारी संसद्को रहेको कार्कीले बताए। यी विषयमा विद्यार्थीलाई प्रत्यक्ष जानकारी दिइएको उनको भनाइ छ।

‘सरकार गठन, जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने र महाभियोगलगायत प्रशासनिक कार्य विधायिकाको कार्यक्षेत्रभित्र पर्छ। करको दर निर्धारण, सरकारी बजेट स्वीकृत, बजेटमाथि नियन्त्रण, आर्थिक कार्य जिम्मेवारीसँगै संविधान र कानुन संशोधन गर्ने कार्य ससदको भएको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए।

बालबालिकाको संसद् अवलोकनलाई व्यवस्थित गर्न संसद् सचिवालयले संस्थागतरुपमा कार्य अघि बढाएको सहप्रवक्ता धमलाको भनाइ छ। विद्यार्थीबाट संसद्को अवलोकन विगतमा दर्शकका रुपमा मात्र सीमित रहेकामा पछिल्लो समय संसद्–नागरिक सम्बन्धको अभिन्न अङ्गका रुपमा ‘दर्शक–दीघ’ को व्यवस्था गरिएको उहाँले बताए। यहीँबाट संसद्को गतिविधि अवलोकन गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए।

राष्ट्रियसभामा भने दर्शक दीर्घास्थल साँघुरो रहेकाले व्यवस्थापन चुनौती हुने भएपछि विद्यार्थीले अवलोकन गरेका छैनन्। सचिवालयले आगामी दिनमा दर्शक र विद्यार्थीको अवलोकनका लागि सहजता प्रदान गर्ने योजना बनाएको जनाएको छ।

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । मालीगाउँ प्रहरीले सोमबार दिउँसो थापालाई पक्राउ गरेको हो । चलचित्र ‘प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आफूहरुको मञ्जुरीबिना चलचित्रलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । थापा प्रसाद २ का निर्देशक पनि हुन् ।

सन् २०२४ मा विश्वका वायुसेवा कम्पनीको आम्दानीमा उच्च वृद्धि हुने

विश्वका वायुसेवा कम्पनी (एयरलाइन्स) ले सन् २०२४ मा करिब पाँच अर्ब यात्रु बोक्ने अपेक्षा गरेको र यो सङ्ख्या कोभिड–१९ महामारी अघिको उच्च रेकर्डभन्दा पनि बढी भएको अन्तर्राष्ट्रिय हवाइ यातायात सङ्घ (आईएटीए) ले सोमबार जनाएको छ ।

आईएटीएले यस वर्ष विश्वका वायुसेवा कम्पनीहरुले ३० अर्ब अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरेको छ ।

आईएटीएका महानिर्देशक विली वाल्शले दुबईमा उक्त संस्थाको वार्षिक साधारण सभामा भने, “अपेक्षित लाभ ‘हालको गहिरो महामारी घाटा’लाई ध्यानमा राख्दै एक ठूलो उपलब्धि हो ।”

“व्यक्ति र अर्थव्यवस्थाको महत्वाकांक्षा र समृद्धिको लागि उड्डयन निःसन्देह पनि महत्त्वपूर्ण छ । एयरलाइन्सको नाफा लाई मजबुत बनाउनु र वित्तीय लचिलोपन बढाउनु महत्वपूर्ण छ,” उनले भने ।

विश्वभरका ३०० भन्दा बढी एयरलाइन्सहरू समावेश रहेको आएटिएले वैश्विक ट्राफिकको ८३ प्रतिशतको लागि लेखाङ्कन गर्दछ । आइएटिएले संयुक्त अरब इमिरेट्सको वित्तीय हब दुबईमा संस्थाको ८० औँ वार्षिक साधारण सभा आयोजित गर्दैछ ।

बलियो आँकडाको बावजुद, पार्टपुर्जाहरूको अभाव र श्रम र जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरूको कारण एयरलाइन्सहरूले लागतमा तीव्र वृद्धिको सामना गरिरहेका छन् ।

आइएटीएका अनुसार यो वर्ष उनीहरूको कुल खर्च पनि ९.४ प्रतिशतले बढेर ९३६ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।

एयरलाइन्स उद्योगको कूल आम्दानी यस वर्ष करिब १० प्रतिशतले बढेर ९९६ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको आईएटीएले जनाएको छ ।

जापानमा ६ म्याग्निच्युडको भूकम्पको धक्का

जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा सोमबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको जापानको मौसमसम्बन्धीे जनाएको छ ।

जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार बिहान ६ बजेर ३१ मिनेटमा १४ किलोमिटर गहिराइमा भूकम्प गएको थियो भने भूकम्पको केन्द्रविन्दु ३७.५ डिग्री उत्तरी अक्षांश र १३७.३ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।

जेएमएका अनुसार भूकम्पका कारण सामुद्रिक छालमा केही परिवर्तन देखिन सक्ने तर सुनामी आउने र सुनामीजन्य क्षतिको सम्भावना छैन ।

जापान जनवरी १ मा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले नोटो क्षेत्र र वरपरको क्षेत्रमा धक्का दिएको र यसले सुनामी निम्त्याएको थियो । सुनामीका कारण २६० जनाको ज्यान गएको थियो भने एक हजार ४३३ जना घाइते भएका थिए ।

उक्त प्राकृतिक विपत्तिमा ७५ हजारभन्दा बढी घरहरू क्षतिग्रस्त हुँदा विस्थापित भएका तीन हजार ३०० भन्दा बढी विस्थापित मानिसहरू अझै पनि शिविरमा बसिरहेका जापानको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

स्थानीय प्रहरीका अनुसार सोमबारको भूकम्पले यसअघिको भूकम्पमा सबैभन्दा बढी प्रभावित शहर वाजिमामा पाँचवटा घरहरु क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण दुई जना घाइते भएका छन् ।

यस क्षेत्रमा भूकम्पको तीव्रता महसुस भएपछि धेरैजना नोटो प्रायद्वीपमा भूकम्पको परिणामबारे फेरि चिन्तित भएका छन्, यद्दपि भूकम्पसँग जुधेर काम गर्न बाहेक कुनै विकल्प नभएको वाजिमा सहरका ६४ वर्षीय एक बासिन्दाले बताए ।

प्रमुख ऊर्जा कम्पनीहरूका अनुसार इशिकावाको सिका आणविक उर्जा संयन्त्र तथा नजिकैको निगाता प्रान्तको काशीवाजाकी–कारिवा आणविक उर्जा संयन्त्रमा कुनै असहजता फेला परेको छैन ।

भूकम्पपछि जोयत्सु र होकुरिकु सिङ्कानसेन बुलेट ट्रेनको सेवा अस्थायी रूपमा स्थगित गरिएको पूर्वी जापान रेलवे कम्पनी एन्डिटेमले जनाएको छ ।

पाकिस्तानी विमान कम्पनीमाथि ईयूको प्रतिबन्ध कायम रहने

युरोपेली सङ्घ (ईयू) ले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआईए) लगायत पाकिस्तानी हवाई कम्पनीहरूमा प्रतिबन्ध कायम राख्ने निर्णय गरेको छ ।

हालैको बैठकपछि, ईयूले सङ्घभित्र सञ्चालन हुने प्रतिबन्धित विमान कम्पनीहरूको विद्यमान सूची संशोधन गर्न कुनै बाध्यकारी कारण फेला नपारेकोले अझै पाकिस्तानी विमान कम्पनीमाथिको प्रतिबन्ध कायम राखिएको जनाएको छ ।

यो फैसला पाकिस्तान नागरिक उड्डयन प्राधिकरण (पिसिएए) को स्थल मूल्याङ्कन र पाकिस्तानी विमान कम्पनी फ्लाई जिन्ना र एयरब्लू लिमिटेडको नमूना मूल्याङ्न प्रस्तुत गर्दै ईयू एयर सेफ्टी कमिटीले गरेको विस्तृत मूल्याङ्कनपछि आएको हो ।

सन् २०२३ नोभेम्बर २७–३० को बिचमा आयोजित स्थलगत मूल्याङ्कनको सुरक्षा सुनिश्चित गर्न पिसिएएको निरीक्षण भूमिका र जिम्मेवारीहरूको जाँच गरिएको थियो ।

ईयूको हवाई सुरक्षा समितिले पाकिस्तानको सुरक्षा अवस्थाको निरन्तर निगरानीको आवश्यकतालाई जोड दिएको छ ।

हाल, ईयूले पाकिस्तानी हवाई वाहकमा प्रतिबन्ध कायम राखेको छ, साथै सदस्य राष्ट्रहरूलाई अनुपालन प्रमाणित गर्न निरीक्षण गर्न आग्रह गरेको छ । आयोगले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू कायम राख्ने सर्वोच्च महत्त्वलाई जोड दिँदै आसन्न सुरक्षा जोखिमहरूको कुनै पनि सङ्केतले थप कारबाही गर्न सक्ने चेतावनी दिएको एआरवाई न्यूजले जनाएको छ ।

सडक विभाग र काठमाडौं महानगरपालिकाबीचको विवाद लज्जास्पदः सांसद गौतम

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सडक विभाग काठमाडौं महानगरपालिकाबीचको विवाद लज्जास्पद भएको बताएकी छन् ।

सोमबारको प्रतिनिधसभा बैठकमा  सांसद गौतमले सडक र फुटपाथ निर्माणको विषयमा विवाद हुनु लज्जासपद भएको बताइन् । राज्यका दुई अंगबीच सिर्जना भएका यस्ता विवादले संघीयतामाथि नै प्रश्न उठ्ने भन्दै गौतमले गम्भीर बन्न आग्रह गरेकी थिइन् ।

‘सभामुख महोदय, अहिले काठमाडौं महानगरपालिका र सडक विभागबीच आरोपप्रत्यारोप चलिरहेको छ । फोहोर व्यवस्थापनको विषय , सडक र फुटपाथ निर्माणको विषयमा कसको क्षेत्राधिकार के ? पटक पटक विवाद हुनु लज्जास्पद विषय हो ? ‘गौतमले भनिन्, ‘राज्यका दुई अंगबीचको विवाद सतहमा सामान्य लागे पनि यसले दिने सन्देश सामान्य छैन । स्थानीय सरकार र संघबीच हुने यस्तै विवादका कारण अहिले संघीय व्यवस्था माथिनै प्रश्न उठिरहेको छ । यसतर्फ पनि गम्भीर हुन सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदछु ।’

प्रेमको मनोविज्ञानयुक्त ‘कैसा मन मस्ताना प्यारे’  

काठमाडौँ । गीतकार डा हेमन्त खतिवडाद्वारा लिखित हिन्दी गीतसङ्ग्रह ‘कैसा मन मस्ताना प्यारे’ ( कस्ता रमाइला मेरा प्रिय )  प्रकाशन भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई समेटिएको छ ।

ॐ प्रकाशन दिल्लीले प्रकाशन गरेको कृतिका रहेका दुई सय  गीत प्रेम गीतको प्रचलित परम्पराभन्दा फरक किसिमले लेखिएका छन् र प्रेमका विविध स्वरूपलाई विभिन्न आयामबाट व्याख्या गरिएको जिकिर गरिएको छ ।

गीतकार डा खतिवडा भन्छन्, “प्रेम सतही विषय नभई यसको आफ्नै दर्शन छ ।  प्रेम गीतलाई म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।” सङ्ग्रहमा रहेका गीतमा प्रेमको मनोविज्ञान अनौठो तवरले घुलन भएको बताइएको छ । 

कृतिमा  चार गीत नेपालसँग सम्बन्धित पनि छ, जसले गौतम बुद्ध, मुस्ताङको सेरोफेरो, नेपाली संस्कृति र जनजीवनलाई समेटेको प्राकृतिक चिकित्सक पनि रहनुभएका गीतकार खतिवडाले जानकारी दिए। 

बजेटको छलफल उत्साहजनक नभएर निदाएछु : सांसद केसी

काठमाडौं / राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमा बजेटमाथिको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा केसीले संसदमा जति बहस र छलफल गरेपनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले बजेटमाथिको छलफलको औचित्य आफुले नदेखेको बताएका हुन् । बजेटको छलफल उत्साहजनक नरहेकाले आफु बैठकमा निदाएको उनले बताए ।

उनले नेपालको संविधानमा व्यवस्था गरेबमोजिम समाजवाद उन्मुख कार्यक्रमलाई प्राथमिकता दिन नसकेको धारणा राखे । सरकारको नीति तथा कार्यक्रम भन्दा फरक रुपमा बजेट आएको उनको भनाइ छ । उनले बजेटले दलाल पुँजीको आगमन वृद्धिका लागि विभिन्न बाटो खुलेको तर्क गरे ।

डेडिकेटेड र ट्रङक लाइन महसुल विवादः २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल उठाउन प्राधिकरणलाई सरकारको निर्देशन

रमेश लम्साल, काठमाडौं । लामो समयदेखि विवादको केन्द्रमा रहेको डेडिकेटेड र ट्रङकलाइनसम्बन्धी महसुल विवाद अब भने समाधानको दिशामा गएको छ । मन्त्रिपरिषद्को गत वैशाख २७ को निर्णय अनुसार, मुख्यसचिव डा बैकुण्ठ अर्यालले महसुलका सम्बन्धमा आवश्यक कारबाहीका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्राचार गरको थिए । मुख्यसचिव डा अर्यालले मन्त्रिपरिषद्को निर्णयका आधारमा नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ बमोजिम अनुरोध गरेका हुन् ।

मन्त्रिपरिषद्को २०८० पुस २४ को निर्णयअनुसार गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले दिएको प्रतिवेदनका आधारमा सरकारले महसुल विवाद निरुपणका लागि आइतबार (जेठ २० गते) पत्राचार गरेको हो । लाल आयोगमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे सदस्य थिए ।

मन्त्रिपरिषद्ले २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । सोसम्बन्धी व्यहोराको पत्र ऊर्जा मन्त्रालयमार्फत प्राधिकरणलाई पठाइएको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नवीनराज सिंहले आवश्यक निर्णयका लागि पत्राचार भएको बताए ।

लाल आयोगले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गत वैशाख २३ गते अध्ययन प्रतिवेदन बुझाएको थियो । आयोगको प्रतिवेदन प्राप्त हुने बित्तिकै मन्त्री बस्नेतले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । मन्त्रिपरिषद्ले विभिन्न तीनवटा निर्णय गरेको छ ।

त्यसमध्ये पहिलोमा भनिएको छ ‘विवादमा रहेको प्रथम अवधि २०७२ साउनदेखि २०७२ पुससम्म लोडसेडिङ कायम रहेको भए तापनि सो अवधिको महसुल निर्धारण तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले गरेको नदेखिएको तर यस सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतबाट अन्तिम फैसला भएबमोजिम हुने गरी हाललाई उक्त अवधिको डेडिकेटेड तथा ट्रङक लाइनबापतको थप महसुल नलिने ।’

दोस्रोमा विवादमा रहेको २०७२ माघदेखि २०७५ वैशाखसम्म लोडसेडिङ कामय रहेको र सो अवधिको महसुल निर्धारण आयोगले गरिसकेको अवस्था भएकाले नेपाल विद्युत् प्राधिकरणको महसुल गणना गर्नेसम्बन्धी तत्काल प्रचलित कानुनबमोजिम महसुल गणना गरी उक्त अवधिको डेडिकेटेड तथा ट्रङकलाइन प्रयोग बापतको थप महसुल लिने निर्णय गरिएको छ ।

त्यस्तै, तेस्रोमा विवादमा रहेको २०७५ जेठदेखि २०७७ असारसम्म लोडसेडिङ पूर्ण रुपमा अन्त्य भएकाले उक्त अवधिको डेडिकेटेड तथा ट्रङक लाइन प्रयोगबापतको थप महसुल नलिने भन्ने निर्णय भएको छ ।

मुलुकमा चरम लोडसेडिङ भइरहेको बेला प्राधिकरणले केही उद्योगी तथा व्यवसायीलाई डेडिकेटेड तथा ट्रङ्कलाइनबाट प्रत्यक्ष बिजुली उपलब्ध गराएको थियो । कतिपय अवस्थामा कुनै निर्णय नै नगरी तोक आदेशका भरमा बिजुली उपलब्ध गराइएको थियो । त्यसबाट नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको प्राधिकरणको आर्थिक स्वास्थ्य नराम्ररी प्रभावित भएको थियो । आम नागरिक बिजुलीको प्रतीक्षामा बस्दा उद्योग तथा केही व्यवसायीले चौबिसै घण्टा बिजुली पाएका थिए ।

डेडिकेटेड तथा ट्रङ्कलाइनबाट बिजुली लिँदा बढी महसुल (प्रिमियम) तिर्नुपर्ने भए पनि प्राधिकरणले समयमै बिल पठाएन भने व्यवसायीले पनि तिर्न अटेर गर्दै आएका थिए । कतिपय व्यवसायी जिल्ला, उच्च हुँदै सर्वोच्च अदालत समेत पुगेका थिए । महसुलका विषयमा हरेक वर्ष महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राख्दै आएको थियो । महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदन २०८१ को ८० नम्बर बुँदामा पनि बक्यौता असुल गर्न भनिएको छ ।

प्रतिवेदनमा भनिएको छ ‘गत वर्षको तुलनामा यो वर्ष महसुल बक्यौता १० दशमलव ४८ प्रतिशतले वृद्धि भई रु ४४ अर्ब ३२ करोड पुगेको छ । उक्त रकममध्ये ट्रङक तथा डेडिकेटेड लाइनतर्फको ६२ ग्राहकबाट असुल हुनुपर्ने रु २१ ऋर्ब ८८ करोड रहेको छ । सो रकम कूल बक्यौताको ४९ दशमलव ३६ प्रतिशत देखिन्छ । साथै, सडक बत्तीको रु छ अर्ब दुई करोड असुल गर्नुपर्ने देखिएको छ । सडक बत्तीको बक्यौतामध्ये रु एक अर्ब ७९ करोड काठमाडौँ महानगरपालिकाको बक्यौता रहेको छ । बक्यौता रकम असुल गर्ने एवम् ट्रङक तथा डेडिकेटेड बक्यौता आवश्यक समन्वय गरी असुल गर्नुपर्दछ ।’

संसद्का विभिन्न समितिले महसुुल उठाउन प्राधिकरणलाई पटकपटक निर्देशन दिएका थिए । व्यवसायीले भने प्राधिकरणले दैनिक बिजुली खपतको गणना हुने टाइम अफ डेट टिओडी मिटरको तथ्याङ्क नभएको र हचुवाको भरमा बिल पठाएकोे भन्दै आपत्ति प्रकट गर्दै आएका थिए । सोही विवाद समाधानका लागि सरकारले पूर्वन्यायाधीश लालको अध्यक्षतामा अधिकारसम्पन्न आयोग गठन गरेको थियो । आयोगले माघ १२ गतेदेखि काम सुरु गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार यही जेठ १८ गते मन्त्री बस्नेतले मन्त्रिस्तरीय निर्णय गरी महसुल उठाउने सन्दर्भमा आवश्यक पत्राचार गर्न निर्देशन दिए । सोही निर्देशनबमोजिम प्राधिकरणलाई पत्राचार भएको छ । लाल आयोगले डेडिकेटेड फिडर लाइनको महसुल सम्बन्धमा विद्युत् महसुल निर्धारण आयोगको २०७२ पुस २९ को १०३औँ बैठकको निर्णय भएको मितिपछि र ट्रङ्क लाइनको महसुल सम्बन्धमा सोही आयोगको २०७३ असार १६ को १०८औँ बैठकबाट भएको निर्णयपछि महसुल लागू हुनु मनासिब देखिन आउने सुझाव दिएको छ ।

पछिल्लोपटक बक्यौता नतिरेका ठूला उद्योगका लाइन प्राधिकरणले गत पुस ६ गतेदेखि काटेको थियो । उद्योगको लाइन काटिएपछि उद्योगी–व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री बस्नेतको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीको निर्देशनमा नै प्राधिकरणले धमाधम लाइन काटेको जनाएको थियो ।

मुलुकको अर्थतन्त्र समस्यामा रहेको, उद्योग प्रतिष्ठान कम क्षमतामा चलेको बेला लाइन काटिएको भन्दै व्यवसायीले आपत्ति जनाएपछि सरकारले समस्या समाधानका लागि आयोग गठन गर्ने जनाएको थियो । आयोग गठनको विषय अगाडि बढेपछि प्राधिकरणले काटिएका लाइन पुनः गत पुस २८ गते जोडिदिएको थियो ।

सरकारको पछिल्लो निर्णयपछि करिब रु सात अर्ब बराबरको बक्यौता उठाउनका लागि प्राधिकरणलाई बाटो खुलेको छ । आयोगले ट्रङ्क लाइन सम्बन्धमा प्राधिकरण र तत्कालीन महसुल निर्धारण आयोग समेतले ट्रङ्क लाइनका मापदण्ड अर्थात् कम्तीमा छ घण्टा लोडसेडिङ भएको अवस्थामा कम्तीमा निरन्तर २० घण्टा विद्युत् आपूर्ति भएका अवस्थाहरुलाई कायम गरेको देखिनाले त्यसरी आपूर्ति भएका दिन तथा अवधिको यकिन गरी पुनः हिसाब गरी छुट महसुल लिनुपर्ने सुझाव दिएको थियो ।

आयोगले अगाडि भनेको छ, ‘सो समयावधिमा भएका विद्युत् आपूर्तिलाई ट्रङ्क लाइनका मापदण्डअनुसार विद्युत् आपूर्ति भएको मानी छुट महसुल लिन पाउने देखिन्छ । यस सम्बन्धमा समेत प्राधिकरण स्वयम्ले जारी गरेको लोडसेडिङसम्बन्धी सूचनालाई ध्यानमा राखी सम्बन्धित ग्राहकलाई ट्रङ्कलाइनको मापदण्डअनुसार विद्युत् आपूर्ति भएका दिन तथा अवधि यकिन गरी महसुल लिनुपर्नेछ ।’ यही सुझावका आधारमा सरकारले महसुल उठाउने सन्दर्भमा आवश्यक निर्णय गरेको जनाएको छ ।

सरकारले २०७५ वैशाख मसान्तदेखि देशभर लोडसेडिङ हटाएको थियो । काठमाडौं उपत्यकालगायत क्षेत्रमा २०७३ कात्तिकदेखि नै लोडसेडिङ हटेको थियो । लोडसेडिङ हटिसकेको अवस्थामा विद्युत् महसुल निर्धारण गर्ने विद्युत् नियमन आयोग गठन भइसकेको थिएन । सोही अवस्थाको ख्याल गरेर आयोगले २०७२ माघदेखि २०७५ सम्मको महसुल उठाउनुपर्ने सुझाव दिएको हो ।

प्रतिवेदन बुझाउने क्रममा आयोगका अध्यक्ष लालले मन्त्री बस्नेतलाई महसुल विवाद समाधानका सन्दर्भमा आयोगका तर्फबाट स्पष्ट मार्गनिर्देश गरेको बताएका थिए । उनले लामो समयदेखि जकडिएको समस्या समाधानका लागि उपयुक्त सुझाव दिइएको र त्यसलाई सरकारले अक्षरशः कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका थिए ।

त्यसो त प्राधिकरणले यसअघि पनि किस्ताबन्दीमा उद्योगी–व्यवसायीलाई महसुल तिर्न आग्रह गरेको थियो । प्रधानमन्त्री दाहालले विगतमा किस्ताबन्दीमा महसुल उठाउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए ।

ऊर्जा मन्त्रालयका तत्कालीन सचिव दिनेश घिमिरे नेतृत्वमा तत्कालीन अर्थ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संलग्न अध्ययन समितिले पनि २४ देखि ३० महिनाको महसुल उद्योगीले तिर्नुपर्ने सुझाव दिएको थियो ।

समितिले विद्युत् महसुल निर्धारण आयोगले महसुल निर्धारण गर्नुअघि २०७२ पुस २९ गते र ट्रङ्कलाइनको हकमा २०७३ असार २६ गतेअघिको महसुल लिन नमिल्ने सिफारिस गरेको थियो । सो निर्णय पनि विद्युत् नियमन आयोगको निष्कर्ष र सिफारिसका आधारमा गर्नुपर्ने बताएको थियो ।

समितिले पेस गरेको प्रतिवेदन २०७७ को साउन १९ को मन्त्रिपरिषद् बैठकले पारित गरी कार्यान्वयनका लागि ऊर्जा मन्त्रालयमार्फत प्राधिकरण पठाएको थियो । सो समितिले पनि बीचको अवधिको महसुल उठाउन प्राधिकरणलाई स्पष्ट रुपमा दिशा निर्देश गरेको थियो । सो प्रतिवेदन कार्यान्वयन हुन सकेन ।

विद्युत् नियमन आयोगले आवश्यक निर्णय नगर्दा घिमिरे संयोजकत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुन सकेन । उद्योगीले पनि यसअघि नै २०७२ देखि २०७५ सम्मको महसुल तिर्न आफूहरु तयार रहेको भए पनि प्राधिकरणले टिओडी मिटरको विवरण दिनुपर्ने बताउँदै आएका थिए ।

कसको कति महसुल बाँकी ?

तत्कालीन सचिव घिमिरे संयोजकत्वको समितिले पनि २०७२ साउनदेखि २०७२ पुससम्मको बक्यौता बिल रकम रु ९७ करोड, २०७२ माघदेखि २०७५ वैशाख मसान्तसम्मको रु छ अर्ब र २०७५ जेठदेखि २०७७ जेठसम्मको रु आठ अर्ब तीन लाख बराबरको बक्यौता रहेको निष्कर्ष निकालेको थियो ।

प्राधिकरणका अनुसार, जगदम्बा स्टिलको रु चार अर्ब १४ करोड, रिलायन्स रु एक अर्ब ९४ करोड, घोराही सिमेन्ट रु एक अर्ब ३६ करोड, अर्घाखाँची सिमेन्टको रु एक अर्ब ३० करोड बराबरको बक्यौता छ । यस्तै, सर्वोत्तम सिमेन्टको रु ८३ करोड, लक्ष्मी स्टिलको रु ६२ करोड , बाबा जुट मिल रु पाँच करोड ६१ लाख बराबरको बक्यौता छ ।

त्यस्तै, निगाले सिमेन्ट रु १४ करोड २१ लाख, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज रु १५ करोड ६६ लाख, जगदम्बा इन्टरप्राइजेज रु ४७ करोड ९८ लाख, हामा आइरन रु ११ करोड ५५ लाख, एभरेष्ट पेपर मिल रु २१ करोड ३६ लाख बक्यौता छ । यसैगरी, कसमस सिमेन्ट रु ३५ करोड ८२ लाख शुभश्री अग्नि सिमेन्ट रु ३८ करोड १० लाख, जगदम्बा सिन्थेटिक रु ४७ करोड ५३ लाख, घराना फुड्स रु पाँच करोड नौ लाख, सिद्धार्थ पेटप्लास्ट रु पाँच करोड २४ लाख, बुटवल सिमेन्ट रु ३२ करोड ९८ लाख, नारायणी स्पात रु ७८ करोड ४९ लाख र हुलास स्टिलको रु ४३ करोड २४ लाख महसुल तिर्न बाँकी छ ।

प्राधिकरणले पठाएको बिलमा सहमत हुन नसक्ने उपभोक्ताले विद्युत् वितरण विनियमावली, २०७८ को विनियम ५५ (१) बमोजिम पुनरावलोकन गराउन सक्ने व्यवस्था रहेको भए पनि कुनै पनि पुनरावलोकनको समेत निवेदन परेको थिए । अधिकांश उद्योगी तथा व्यवसायी पुनरावेदनमा नआई सोझै अदालत गएका कारण पनि ४५ वटा उद्योगी तथा व्यवसायीको विपक्षमा अदालतबाट फैसला आएको थियो ।

प्राधिकरणका सबै औद्योगिक ग्राहकले नियमित रुपमा सबै सामान्य शुल्क एवम् महसुल भने समयभित्रै भुक्तानी गरेका छन् । थप प्रिमियम शुल्क भने उठ्न बाँकी रहेको हो । आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरी कार्यान्वयनका लागि पत्राचार गरेको अवस्थामा अब भने विवाद समाधान हुने विश्वास गर्न सकिन्छ ।

यद्यपि उद्योगी–व्यवसायीका तर्फबाट भने हालसम्म कुनै धारणा सार्वजनिक भएको छैन । विवाद लामो समयसम्म रहँदा त्यसले कोही कसैको पनि हित नगर्ने भएकाले आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले गरेको निर्णयको अक्षरशः कार्यान्वयन हुनु नै जायज र उत्तम विकल्प रहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ छ ।

सोमबार विभिन्न चेतनामुलक कार्यक्रम गरी जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइयो

काठमाडौं / जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस सोमबार विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रुपमा मनाउने गरिन्छ ।

दिवसका अवसरमा बिभिन्न जनचेतनामूलक कार्यक्रम गरिएपनि दलीत समूदायले भने काठमाडौंमा खवरदारी र विरोध सभा गर्दै जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाएका छन् । राष्ट्रिय स्तरमा दिवस नमनाएर दलिय समूदायलाई सरकारले वेवास्ता गरेको भन्दै आफुहरुले विरोध स्वरुप माइतिघरमा प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले मानवता विरोध जात व्यवस्था मुर्दावाद, पूर्ण समानुपातीक व्यवस्था लागू गर, दलित अव चूप छैन, विभेदकारीको अघि झुक्दैन लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएपनि व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको अन्त्य भने हुन नसकेको अधिकारकर्मीहरुको भनाइ छ ।

औषधिका रूपमा गाँजाखेती गर्न सकियो भने वार्षिक दुई खर्ब राजश्व उठाउन सकिन्छः उपसभापति गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी वर्षको बजेटका लक्ष्यअनुसार राजस्व सङ्कलन हुनेमा आशङ्का व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले राजस्व बढाउन करका दायरा र गैरकानुनी कारोबार बन्द गर्नुपर्ने बताए ।

सांसद गुरुङले बजेटमा समेटिएको गाँजाखेतीको विषयलाई कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्ने भन्दै आफू कानुनमन्त्री हुँदा यसबारेमा कोसिस गरेको समेत स्मरण गरे ।

“औषधिका रूपमा गाँजाखेती गर्न सकियो भने दुई खर्ब र घरेलु मदिरालाई ब्रान्डिङ गरे थप दुई खर्ब राजस्व सङ्कलन गर्न सकिन्छ । त्यस्तै नेपालमा रहेका सात सय ३६ जातका जडीबुटीको व्यावसायिक खेती गरेर थप दुई खर्ब आम्दानी गर्न प्रशस्त सम्भावना छ । यसतर्र्फ पनि सोच्न जरूरी छ”, गुरुङले भने । उनले देश बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने, सत्तामा बस्दा र नबस्दा पनि देश बनाउने सङ्कल्पका साथ काम गर्नुपर्ने बताए ।

हिन्दू धर्मावलम्बीका लागि नेपाल तपोभूमि र बौद्धधर्मावलम्बीका लागि लुम्बिनी प्रसिद्धस्थल रहेको बताउँदै उनले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न लाग्नुपर्नेमा जोड दिए ।

सांसद गुरुङले बजेटमा ‘बर्थिङ हब’ भनेर आएको र अब ‘हनिमुन सिटी’ पनि बनाउनुपर्ने धारणा व्यक्त गरे । “घाटा बजेटलाई काम गर्न नयाँ उत्पादनका स्रोत खोज्नुपर्ने छ । यसैगरी बजेट कार्यान्वयन जाँदा सक्षम हुन्छ कि हुँदैन, बजेटका कतिपय बुँदामा रकम नै उल्लेख भएको देखिँदैन, यसर्थ यथार्थवादी भएर मूल्याङ्कन गर्नुपर्छ”, उनले भने ।

बजेटले राखेका लक्ष्यहरु अपूरा छन्ः सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट आफैं भित्र केही केही अन्तरविरोधी रहेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले बजेटले आफैं दिएको लक्ष्यअनुसारको बजेट रकम दिन नसकेको भन्दै अन्तरविरोधी रहेको बताए ।

उनले भने, ‘बजेटमा कृषिमा लगानीको दशक घोषणा गर्नु भएको छ, तर कृषि मन्त्रालयमा बजेट घटेको छ । लैङ्गिक समानताको कुरा छ, तर बालबालिका मन्त्रालयको बजेट घटेको छ । मिल्यो मिलेन नि त्यसकारण बजेट आफैं भित्रमा केही केही अन्तरविरोधी छ । बजेटले आफैं एउटा कुरा गरेको छ, त्यो अनुसारको बजेट रकम छुट्टाइएको छैन । अनि कसरी काम पूरा हुन्छ । यस्ता प्रश्नहरु विगतका बजेटमा पनि थिए यसमा पनि छ ।’

बजेटले राखेका लक्ष्यहरु व्यवहारमा जाँदा, कार्यान्वयन गर्दा पूरा गर्न बजेट सक्षम हुन्छ कि हुँदैन ? भन्ने प्रश्न गर्दै लक्ष्यहरु अपूरो नहुने हिसाबले काम गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले बजेट ल्याएका छौं तर त्यो बजेट भोलि व्यवहारमा जाँदा, कार्यान्वयन गर्दा तोकिएको लक्ष्यलाई पूरा गर्न बजेट सक्षम हुन्छ कि हुँदैन ? त्यहाँबाट हामीले बजेको मूल्यांकन गर्नुपर्छ । मैले मेरो पार्टीले साथ दिएको सरकार हो त्यसैले यो बजेटलाई पनि साथ दिन्छौ, भोट हाल्छौं । तर के पनि चाहन्छौ भने यो भोलि व्यवहारमा जाँदा कार्यान्वयन होस्, बजेटले राखेका लक्ष्यहरु अपूरा नहुन् र जनतालाई जे प्रतिबद्धता जाहेर गरेको छ, भोलि फेरि जनताको समुख जाँदा अर्कोपाली बजेट प्रस्तुत गर्दा पहिलाको बजेटमा राखेका कुरा पुरा गर्न सक्यौं भन्न सक्नुपर्छ ।’

जुन बजेटले आर्थिक उत्पादन, गतिशिलता, औद्योगिक क्षेत्रलाई प्रोत्साहित गर्ने कृषि क्षेत्रलाई प्रोत्साहित गर्ने, काम गर्दैन त्यस्तो पुँजीगत खर्चमा अलि पारदर्शि र कडा भएर हेर्न आवश्यक रहेको पनि उनको भनाइ छ ।

संवैधानिक निकायमा योग्यता र क्षमताका आधारमा नियुक्ति हुनुपर्छः सभापति खतिवडा

काठमाडौँ । प्रतिनिधिसभामा सरकारले दुई वटा प्रतिवेदन प्रस्तुत गरेको छ । सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिम “नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०” पेस गरिन् ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेस गरे ।

प्रतिवेदन पेस गर्दै सभापति खतिवडाले विधेयक ल्याउनुको कारण र औचित्यबारे जानकारी दिए । उक्त विधेयक पारित भएपछि संवैधानिक निकायमा भागबण्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्ति हुने विश्वास व्यक्त गरे ।

महानगरले भत्काएको न्यूरोडामा सडक डिभिजनले गर्‍यो पिच

काठमाडौं । सडक डिभिजन कार्यालयले काठमाडौं महानगरले फुटपाथ विस्तारका लागि भत्काएको न्यूरोडको कालोपत्र गरेको छ ।

सोमबार डिभिजनले न्युरोडको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडक कालोपत्रको काम सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रमोद खतिवडाले महानगरले काटेर अलपत्र र अस्तव्यस्त भएपछि सडक कालोपत्र गरिएको जानकारी दिएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फुटपाथ विस्तार गर्न सडकको आकार घटाएका थिए । त्यसलाई रोक्न सडक विभागले महानगरलाई पत्र पठाएको थियो।

पत्रलाई वेवास्ता गरेपछि सडक विभाग महानगरले भत्काएको सडक कालोपत्र गर्न थालेको हो । सडक कालोपत्र गर्न थालेपछि न्यरोडमा महानगर प्रहरी पुगेको थियो । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।

निगुरोको माग बढेसँगै स्थानीय व्यापारमा व्यस्त

मोरङ । तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा स्थानीय निगुरो टिप्न व्यस्त छन् । वर्षायाम सुरु भएसँगै यहाँका स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताए । उनी काठमाडौँ लगायत सहरी क्षेत्रबाट माग बढेपछि यहाँका वन क्षेत्रबाट ठूलो परिमाणमा निगुरो बिक्री हुने गरेको बताउँछन् । “स्वादिलो र स्वस्थ्यकर मानिएको तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग हुन थालेपछि अहिले पथरी, कानेपोखरी, लेटाङ, भाउन्नेलगायतका वनबाट निगुरो टिप्न भ्याइनभ्याइ छ ।

जङ्गलमा बिहानैदेखि साँझसम्म स्थानीयको भिड लाग्ने गरेको छ । हाम्रो सामुदायिक वनबाट मात्रै वार्षिक तीन करोड रुपैयाँभन्दा बढीको निगुरो बाहिरिने गरेको छ”, उनले भने, “वर्षायाममा मात्रै दैनिक १० गाडीभन्दा धेरै निगुरो सङ्कलन हुन्छ, प्रत्येक गाडीमा पाँचदेखि छ हजार मुठा निगुरो निर्यात हुने गरेको छ ।” उनले धेरैजसो निगुरो काडमाडौँ जाने गरेको बताए । विगत १० वर्षदेखि बेलबारी १० भाउन्नेमा निगुरोको व्यापार गर्दै आएकी स्थानीय भद्रमाया भट्टराईले पहिले स्थानीयस्तरमा मात्र बिक्री हुने गरेकामा पछिल्लो समय काठमाडौँ लगायत सहरबाट पनि माग आउन थालेको बताउँछिन् ।


“निगुरो केही वर्ष पहिले अहिलेजस्तो काठमाडौँ निर्यात हुँदैनथ्यो र बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पु¥याउनुपर्ने बाध्यता थियो तर अहिले भने काठमाडौँको माग धान्नै सकिएको छैन । त्यसैले स्थानीयस्तरमा रहेका अन्य व्यक्तिबाट सङ्कलन गरेर हामीले काठमाडौँका व्यापारीलाई निगुरो बिक्री गर्ने गरेका छौँ”, भट्टराईले भनिन् । ६९ वर्षीया भद्रमायाले यसै व्यवसायबाट दश जनाको परिवारको गर्जो टारिरहेको बताइन् । भाउन्नेकी गीता दर्जी र मनमाया दर्जीलाई पनि हरेक वर्षायममा निगुरो टिप्ने भ्याइनभ्याइ हुन्छ । यसपटक पनि हरेक बिहान ७ बजे नै जङ्गल पसेर निगुरो टिप्नु उनीहरुको दिनचर्या नै भएको छ । “यसपटक पनि दैनिकजसो बिहान ७ बजेदेखि ११ बजेसम्म निगुरो टिप्छौँ, सङ्कलन गरिएको करिब ४० मुठा १५ रुपैयाँका दरले सङ्कलन केन्द्रमा बिक्री गरिरहेकी छु”, गीताले भनिन् । गीता र मनमायाजस्तै यहाँका धेरै स्थानीयले वर्षायामभरी निगुरो टिपेर सङ्कलन केन्द्रलाई बिक्री गरिरहेका छन् । केन्द्रले प्रतिमुठा दुई रुपैयाँ नाफा राखेर १७ रुपैयाँका दरले अन्य व्यापारीलाई बिक्री गर्दै आएको छ ।

कृषि विज्ञ डा राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उन्यू प्रजातीको वनस्पति भएकाले चिस्यान क्षेत्रमा बढी उम्रिने गरेको र निकै स्वस्थ्यकर तरकारी मानिने भएकाले अहिले माग बढ्दै गएको बताए । “निगुरोमा प्रोटिन, भिटामिन ‘ए’, क्याल्सियम लगायतका पोषक तत्व पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । त्यस्तै यसबाट पाइने भिटामिन ‘सि’ पनि पर्याप्त मात्रामा पाउने भएकाले आँखा र आइरनले रातो रक्तकोशिका वृद्धिमा पनि सहायता पुग्ने गरेको छ । पछिल्लो समय यो महत्व बुझ्न थालिएकाले सहरी क्षेत्रमा निगुरोको माग बढ्दैछ”, डा उप्रेतीले भने ।

पूर्वपश्चिम राजमार्गको उर्लाबारीदेखि बेलबारीसम्मका सडक किनारमा जङ्गलबाट टिपेर ल्याएको निगुरो बिक्रीका लागि राखिएका भेटिन्छन् । यसबाट यहाँका सयाँै परिवारको गुजारा चलेको बताउँछन् मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरे । उनले निगुरो टिप्न आउनेको सङ्ख्यात्मक वृद्धि र माग बढेसँगै अब सामुदायिक वन उपभोक्ता समूहले त्यसललाई व्यवस्थित गर्नुपर्ने आजवश्यकता औँल्याए । “जङ्गली निगुरो टिपेर धेरैको गुजारा चलिरहेको छ, यो स्थानीको आम्दानीको स्रोत बन्नु राम्रो कुरा हो तर निगुरो टिप्दा जडीबुटीलगायत अन्य प्रजातीका बिरुवा नष्ट हुनसक्नेतर्फ सचेत रहँदै व्यवस्थापन र निगरानी बढाउनुपर्ने जरूरी छ”, उनले भने,“त्यसका लागि जङ्गल प्रवेश गर्ने व्यक्तिलाई स्थानीय सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहले परिचयपत्रको व्यवस्था गरेर मात्र प्रवेशाज्ञा दिनुपर्ने आवश्यकता छ ।”

मोरङमा एक सय ३६ सामुदायिक वन र चारवटा साझेदारी वन रहेका छन् । हाल साझेदारी वनको नवीकरण गर्दा वन कार्ययोजनामा निगुरोसम्बन्धी कार्यक्रम समावेश गर्न थालिएको वन अधिकृत घिमिरेले बताउँछन् ।
बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश गिरीले दैनिक ४० किलोमिटर टाढाबाट समेत दर्जनौँको संख्यामा निगुरो टिप्न साझेदारी वन क्षेत्रमा आउने गरेको बताए । उनले अब कार्ययोजनामै समावेश गरेर निगुरो टिप्न जानेलाई अनिवार्य परिचयपत्रको व्यवस्था गरिने बताए । उक्त वन क्षेत्रबाट हाल दैनिक दुईदेखि तीन लाखको निगुरो निर्यात हुने गरेको जनाइएको छ ।

दलित समुदायको अधिकार संरक्षणका लागि दलित विकास प्राधिकरणः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण एवं संवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको व्यवस्था गरिएको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा सोमबार आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणाः अवसर, कार्यान्वयन र चुनौती’ शीर्षकमा भएको अन्तरक्रियामा प्रधानमन्त्रीले दलित समुदायको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।

“दलित विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि गरीब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र दलित समुदायका परम्परागत सीप ज्ञान र पेशालाई आधुनिकीकरण एवं व्यावसायीकरण गर्न सात वटै प्रदेशमा शिल्पी उद्यमशीलता विशेष कार्यक्रम सञ्चालनका लागि कार्यक्रम र बजेटको व्यवस्था गरिएको छ,” प्रधानमन्त्री दाहालले भने ।

छुवाछूतको समूल नष्ट गर्न राज्यका तीनवटै तहमा छुवाछूत निगरानी तथा अनुगमन संयन्त्र आवश्यक भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उत्पीडन र ज्यादतीमा पर्दै आएका दलित समुदायको संवैधानिक हक अधिकारको प्रभावकारी कार्यान्वयनका निम्ति राज्य र यसका निकायहरू जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

उनले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुन बमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले छुवाछूतविरुद्धका कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए ।

प्रधानमन्त्रीले छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनवटै तहका सरकारले जिम्मेवार हुनुपर्ने बताए । उनले भने, “तीनै तहका सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा कार्यक्रम निर्माण गर्न, दलित सशक्तीकरण कार्यक्रम बनाउन, छुवाछूतविरूद्धको ऐन प्रभावकारी कार्यान्वयन गर्न सबैमा विशेष अपिल गर्दछु ।”

दलित समुदायलाई छुवाछूत र विभेदबाट मुक्त गर्दै उनीहरूको बृहत्तर विकास र उन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र समानताका निम्ति राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार प्रदान गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

उनले सकारात्मक विभेदको प्रक्रियाबाट मात्र विगतको राज्य संयन्त्रले गरेको अन्यायको परिपूरण र समानताको आधारशिला खडा गर्न सकिने बताए ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले कम्युनिस्ट आन्दोलनका योद्धा दलित आन्दोलनका अगुवा प्रदेशप्रमुख तिलक परियारको जीवन वृतान्तमा आधारित ‘मेरो जीवन र सङ्घर्ष’ लोकार्पण बताए ।

राज्यसत्ताले विभेदकारी नीति र नियम बनाएर यो समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत जीवनका समग्र क्षेत्रबाट वञ्चितीकरण गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले दलित समुदाय सामाजिक जीवनका सबै क्षेत्रबाट अरू समुदायभन्दा पछाडि रहँदै आएको बताए ।

उनले दलित समुदायलाई राज्यसत्ताका सबै अङ्ग, क्षेत्र र निकायका साथै सामाजिक जीवनका समग्र क्षेत्रमा विशेषाधिकारको नीति अवलम्बन गर्न आफूले निरन्तर जोड दिएको बताए ।

दलित समुदायको आत्मसम्मानमा ठेस पुर्याइएकाले अरू विकसित समुदायसरह उनीहरूको विकास होस् भन्ने उद्देश्यले समानुपातिक प्रतिनिधित्वमा विगतको क्षतिपूर्ति बापत अधिकार थप गरी विशेषाधिकार दिइनुपर्छ भनेर आफूले निरन्तर पार्टीमा सङ्घर्ष गरेको स्मरण गर्दै प्रधानमन्त्रीले पछिल्लो समय यो विषय आमरूपमा स्थापित भएको बताए ।

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकामा सोमबार सोही परिमाणको सुनको मूल्य एक लाख ४१ हजार निर्धारण भएको छ ।

यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४१ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा सोमबार त्यति नै परिमाणको सुनको मूल्य एक लाख ४० हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

महासङ्घले चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको बताएको छ । आइतबार प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार आठ सय ३५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

विश्वकप क्रिकेटमा ओमानविरुद्धको खेलमा नामिबिया विजयी

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नामिबिया विजयी भएको छ ।

बार्बाडोसको केन्सिङ्टन मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियोभने ओमान १० रनमा सीमित रह्यो ।

त्यसअघि ओमानले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय नौ रन बनाएपछि खेल सुपरओभरमा पुगेको हो । नामिबियाका लागि जान फ्रिलिङ्कले ४८ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४५ रन बनाए । त्यस्तै निकोलस डेभिडले ३१ बलमा २ चौका र एक छक्का प्रहार गरी २४ रन जोडे । कप्तान गेहार्ड इरास्मसले १६ बल खेलेर १३ रन बनाए ।

बलिङतर्फ ओमानका मेहरान खानले तीन विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले समान एक–एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान १९ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । ओमानलाई सामान्य योगफलमा समेट्न नामिबियाका रूबेन ट्रम्पलम्यानले चार विकेट लिएका थिए ।

प्रतियोगितामा ओमानका लागि खालिद काइलले ३४, जिसन मक्सुदले २२, आयान खानले १५ तथा शकील अहमदले ११ रन बनाए । नामिबियाका रुबिन ट्रम्पलम्यानले चार विकेट लिए भने डेभिड विसले तीन विकेट लिए । त्यस्तै जेराल्ड इरास्मसले दुई तथा बर्नार्ड स्कोल्जले एक विकेट लिएका थिए ।

जुम्लाका किसानलाई भेडा वितरण

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट कनकासुन्दरी –७ का १८ किसानलाई भेडा वितरण गरिएको कनकासुन्दरी गाउँपालिको पशुपन्छी विकास शाखाका प्रमुख लालबहादुर रावतले बताए ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सात लाख, लाभग्राहीबाट चार लाख २० हजार र कनकासुन्दरीको दुई लाख ८० हजारको लागतमा भेडा खरिद गरिएको थियो ।

गडुनानी साझेदारी भेडा पकेट समूहले ९० भेडा र दुई थुमा खरिद गरेर किसानलाई वितरण गरिएको हो । उक्त समूहका २७ सदस्यमध्ये पहिलो पटकमा १८ किसानलाई भेडा वितरण गरिएको हो ।

जिल्ला अन्य स्थानीय तहभन्दा कनकासुन्दरीमा भेडापालनको उपयुुक्त ठाउँसमेत हो । पालिकामा भेडा पकेट कार्यक्रम रहेकाले यसभन्दा पहिलेका वर्षहरुमा पनि अन्य वडामा पनि भेडा वितरण गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यको भनाइ छ ।

जुम्लामा ८४ हजार भेडा

पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार जुम्लामा अहिले ८४ हजार तीन सय ८८ भेडा रहेको छ । यसैगरी बाख्राको सङ्ख्या ४६ हजार तीन सय छ रहेका कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए । जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र रहेको छ ।

कार्यालयबाट भेडापालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधिक तालिम दिँदै आएको कार्यालयले जनाएको छ । पछिल्लो समयमा जुम्लाका स्थानीय भेडापालनमा आकर्षित हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडापालनमा आकर्षित भएको पातारासीका मुनबहादुर ऐडीले बताए ।

कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा

पाटन । कान्तिलोकपथमा सोमबारदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि सो मार्गमा गत वैशाख २१ गतेदेखिसेवा बन्द गरिएको थियो ।

कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले सडकको मर्मतसम्भार गरी आजदेखि यातायात सेवा सञ्चालनमा आएको जानकारी दिए ।

‘ललितपुरको बागमती गाउँपालिकाको वडा नं ३ झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबासको साँघुरो ठाउँमा कटिङ सकिएको छ, काल्चे क्षेत्रमा कटिङ गर्नुपर्ने काम पनि सम्पन्न भएको छ, ललितपुरतर्फ सिङ्गल लेन भएको केही ठाउँमा यस आवमा बजेट नपुग भएको कारण कटिङको काम सम्पन्न हुन बाँकी छ, बहुवर्षीय टेण्डरमा कटिङ गर्ने भनिएको छपेलीबाट काल्चेतर्फको खण्डमा मात्रै बाँकी रहेको छ । बाँकी काम अर्को आवमा हुन्छ, अहिलेलाई सवारी आवतजावतका लागि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालन हुनेछ ।’ उनले भने ।

वैशाख १५ गतेदेखि आंशिकरुपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा कटिङ गर्दा माथिबाट खसेको ढुङ्गाले पूर्णरूपमा क्षति काल्चे खण्डको सडकको भाग भत्किएपछि वैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो । काठमाडौँलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको यो सडक निर्माण थालिएको ६७ वर्ष भइसकेको छ ।


विगतका सरकारले यो सडक निर्माणका लागि प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ ।

कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किलोमिटर सडक आयोजनाले निर्माण गर्ने हो ।

बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो । टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयवासीको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ ।

ओली गिरिबन्धुको काण्ड लुकाउन लागिपरेको बालेनको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एमाले अध्यक्ष केपी शर्मा ओली गिरिबन्धु टी–स्टेटको काण्ड लुकाउन लागिपरेको आरोप लगाएका छन् ।

सोमबार सामजिक संजालमार्फत मेयर साहले गिरिबन्धु काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला माननीय केपी ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाउनु भएछ । गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

उनले उनले ओलीलाई गिरिबन्धुका पीडितको बैन फिर्ता गर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’

तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिका गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालोपत्र थालिएको छ ।

मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउपालिका प्रवेश गर्ने स्थान तिवारीभञ्ज्याङलाई शून्य विन्दु मानेर कालोपत्र थालिएको हो ।

तिवारीभञ्ज्याङ–अधेँरीघाटसम्मको ३१ किलोमिटर सडकमध्ये गाउँपालिका केन्द्र च्याङ्ग्रेसम्म पु¥याउने लक्ष्यका साथ दुई प्याकेजमा कालोपत्र भइरहेकोे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन भट्टराईले जानकारी दिए। यो आर्थिक वर्षमा एक हजार तीन सय मिटर कालोपत्र सम्पन्न हुने उनको भनाइ छ ।

तिवारीभञ्ज्याङको शून्य विन्दुबाट वडा नं २ को स्वास्थ्य चौकीसम्म एक प्याकेज र स्वास्थ्य चौकीबाट गाउँपालिका केन्द्रसम्म दोस्रो प्याकेजमा काम भइरहेको उनले बताए। पहिलो प्याकेजको सडक डिभिजन कार्यालय तुलिम्टारको भ्याटसहित रु एक करोड र दोस्रो प्याकेजको भ्याटसहित रु चार करोड दुई लाख लागत रहेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ ।

“तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र थालेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “सडकको काम दुई प्याकेजमा भइरहेको छ । कालोपत्रको काम समयमा सम्पन्न गराउने लक्ष्यका साथ काम भइरहेको छ । यो आर्थिक वर्षमा एक हजार तीन सय मिटर कालोपत्र हुन्छ ।” सडक सङ्घीय समपूरक अनुदान, प्रदेश समपूरक अनुदान र गाउँपालिकाको लागत साझेदारीमा कालोपत्र थालिएको हो ।

यो सडक कालोपत्रको काम गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यो सडक भोजपुरवासीलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग भएकाले महत्वका साथ कालोपत्रको काम थालिएको अध्यक्ष राईको भनाइ छ । आफ्नो कार्यकालभित्र ३१ किलोमिटर सडक नै कालोपत्र गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए।

“यो सडक हाम्रो गाउँपालिकाको गौरवको योजना हो”, अध्यक्ष राईले भने, “भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग पनि हो । पहिलो चरणमा गाउँपालिका केन्द्रसम्म कालोपत्र गर्ने योजना छ । भावी दिनमा यो सडकको अधेँरीघाटसम्मको ३१ किलोमिटर नै कालोपत्र गर्ने मेरो लक्ष्य छ ।”

तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र सुरु भएपछि उत्साह थपिएको वडा नं २ तिवारीभञ्ज्याङका स्थानीयवासी राजकुमार तिवारीले बताउनुभयो । सडक कालोपत्र सुरुले गाउँपालिकावासीको धेरैपछिको सपना पूरा भएको उनको भनाइ छ ।

“सडक कालोपत्र थालिएपछि हामीमा उत्साह थपिएको छ”, उनले भने, “सडक कालोपत्रले यहाँको जनजीवनमा परिवर्तन आएको छ । गाउँपालिकाले थालेको यो काम प्रशंसायोग्य छ । यो सडकले हाम्रो गाउँपालिको सम्पूर्ण भू–भागलाई छोएको हुनाले यहाँका कृषिउपजले समेत राम्रो बजार पाउने छ ।”

सडक कालोपत्र सम्पन्नको अन्तिम अवधि २०८१ साल असार २० गतेसम्म रहेको छ । सडक नालीसहित आठ मिटरको हुने निर्माण कम्पनी एवाई आनन्द जेभी धनकुटाले जनाएको छ । प्रिमिक्स प्राविधिबाट यो सडकको कालोपत्र हुने जनाइएको छ ।

हावाहुरीले चितवनमा दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरा खेतीमा क्षति

चितवन । चितवन जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्याएको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।

पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको उनले बताए । उनले भने, “पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति भएको छ ।”

जिल्लामा लगाइएको ४० लाख ८७ हजार पाँच सय केरामा क्षति पुगेको उनले बताए । उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षति पुगेको छ ।

सङ्घका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण केरामा १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सत्तरी जना व्यावसायिक किसानको केरा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए । ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको उनले जानकारी दिए ।

बिमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि बिमा नगरेका किसानको पूर्ण क्षति हुने उनले बताए । जिल्लामा हाल तीन हजार पाँच सय बिघाा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ ।

उनका अनुसार यहाँ सात सय जना किसानले केरा खेती गरेकोमा हावाहुरीले एक सय ६५ जना किसानको केरामा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वास्तविक तथ्याङ्क आउने केही समय लाग्ने उनले जानकारी दिए ।

टी-२० विश्वकपमा वेस्ट इन्डिज विजयी

काठमाडौँ । वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गएराति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच विकेटले हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।

पपुवा न्यूगिनीले दिएको एक सय ३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले २७ बलमा ४ चौका र २ छक्कासहित ४२ रन बनाए । त्यस्तै ब्रान्डन किंगले २९ बलमा ७ चौका सहित ३४ रन जोडे । यसैगरी निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले समान १५–१५ रन जोडे । पपुवा न्यूगिनीका लागि असद भालाले २ विकेट लिए भने अलेइ नाओ, चाड सोपर र जोन करीकोले समान १–१ विकेट लिए ।

त्यसअघि गयानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३६ रन बनाएको थियो । पपुवा न्यूगिनीका लागि सेसे बाउले सर्वाधिक ५० रनको योगदान दिए । उनले ४३ बलमा ६ चौका र १ छक्कासहित ५० बनाएका हुन । किप्लिन डोरिगाले १८ बलमा २७ रन जोडे ।

असद भालाले २२ बलमा २१ रन बनाए । चार्ल्स अमिनीले १२ रन जोड्दा चाड सोपरले १० रन बनाए । वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अलजारी जोसेफले समान २–२ विकेट लिए भने अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतिले समान १–१ विकेट लिए । विश्वकप क्रिकेटअन्तर्गत अहिले नामिबिया र ओमानवीच प्रतिस्पर्धा भइरहेको छ ।

उदयपुरमा तीन सय केजी गाँजा बरामद

काठमाडौँ । सशस्त्र प्रहरी आइतबार साँझ उदयपुरमा तीन सय केजी गाँजा बरामद गरेको छ । बेलका नगरपालिका–८ सिसौलिघाटस्थित सुरक्षा बेस रामपुरबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा सिसौलिघाटको जङ्गलमा सात वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

आइतबार बिहान पनि सोही स्थान नजिकै दुई सय ८० केजी गाँजा बरामद भएको थियो । सो स्थानमा थप गाँजा लुकाएर राखिएको भन्ने सूचना पाएपछि खोजतलासका क्रममा बरामद गरिएको उनको भनाइ छ । बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको उनले जानकारी दिए ।

पूर्वसहसचिव राजभण्डारी भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट पनि दोषी ठहर

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको हो ।

विशेष अदालतले २०६९ मंसिर ११ गते पूर्व सहसचिव राजभण्डारीलाई दोषी ठहर गरेको थियो । विशेषले उनले २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै त्यति रकम असुलउपर गर्नुपर्ने ठहर गरेको थियो । विशेषले उनलाई एक वर्ष कैद सजाय सुनाएको थियो ।

सहकारीको रकम अपचलनको अभियोगमा सांसद बस्नेतसहित ३५ जना विरुद्ध मुद्दा दायर

नवलपरासी । सहकारी ठगीमा मुछिएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय नवलपुर पूर्वले आइतबार जिल्ला अदालतमा ३५ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोेक्ता सहकारी संस्था लिमिटेडमा भएको बचतकर्ताको रकम अपचलनमा सांसद बस्नेत समेत मुछिएकी थिइन् ।

उनलाई फरार सूचीमा राखेर मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले जानकारी दिए । उनीसहित अध्यक्ष गोपिकृष्ण शर्माविरुद्धसमेत मुद्दा दायर भएको छ ।

३५ जना प्रतिवादी मध्ये १० जनालाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानका क्रममा सहकारीका दुई हजार तीन सय ९३ जना बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपैयाँ अपचलन भएको देखाएको छ । अभियोजनमा सांसद बस्नेतले सञ्चालन गरेको कृष्णसार रिसोर्टमा ९६ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख गरिएको छ ।

सर्वोच्चले गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको साउन १३ मा फैसला सुनाउने

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले ११ वर्षपछि आगामी साउन १३ मा फैसला सुनाउने भएको छ । आइतबार सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले निर्णय सुनाउने मिति तोकेको हो ।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार असार २१ गतेसम्म दुवै पक्षलाई बहस नोट पेश गर्न भनिएको छ । ११ वर्षमा ५१ पटक सुनुवाइका लागि पेशीमा चढेर पनि मुद्दा फैसला भएको थिएन ।

विशेष अदालतले २०६९ सालमा जोशीलाई दोषी ठहर्याएको थियो । दुई करोड १६ लाख १४ हजार ३७६ रूपैयाँ बराबरको सम्पतिको स्रोत पुष्टि हुन नसकेपछि विशेष अदालतले जोशीलाई दोषी ठहर गरेको थियो ।

विशेष अदालतको निर्णय विरूद्ध उनी २०७० सालमा सर्वोच्च अदालत गएका थिए। शुरूमा विशेष अदालतले हदम्यादको गुज्रेको भन्दै जोशीलाई सफाइ दिएको थियो।

तर अख्तियारले हदम्यादको व्याख्या गरिदिन भन्दै सर्वोच्चमा रिट लिएर गएपछि फैसलामा गम्भीर विचलन देखिएको भन्दै पुनः सुनुवाइ गर्न भनेको थियो । त्यसपछि जोशी दोषी ठहर भएका हुन् सर्वोच्चले मागेको एउटा कागज नै अख्तियारले उपलब्ध नगराएपछि यो मुद्दा लामो समय थन्किएको थियो ।

बेलायती लगानीका लागि राजदूत फेनसँग महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीको लागि अनुरोध गरेका छन् । नेपालका लागि बेलायती राजदूत रोब फेनसँग शुक्रबार भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावना बारे जानकारी गराए।

नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवर्द्धन गर्न आग्रह गरे।

निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पुर्‍याइरहेको अवस्थाबारे पनि उनले राजदूतलाई जानकारी गराए। नेपालमा वैदेशिक लगानी आएमा निजी क्षेत्रले थप योगदान दिनसक्ने बताए।

ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको पनि बताए। नेपाल उद्योग वाणिज्य महासंघको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन आठवटा लगानी ऐन परिमार्जन गरेको उनले राजदूत फेनलाई जानकारी गराए।

ढकालले राजदूत फेनलाई नेपालमा लगानीका विभिन्न अवसरबारे जानकारी गराए। उनले जलविद्युत क्षेत्र, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताए।

‘नेपालको अधिकांश आर्थिक क्षेत्र पूर्ण रूपमा प्रयोग हुन सकेको छैन, त्यसैले लगानीकर्ताले छनोट गर्नुपर्ने धेरै क्षेत्रहरू छन्’, ढकालले भने।

भेटको क्रममा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद दिए। दोहोरो करमुक्ति सम्झौताबारे पनि चासो राखेका छन्।

राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ ।  राष्ट्रियसभाको आइतबारको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।

सांसदहरु देवेन्द्र दाहाल, मदनकुमारी शाह गरिमा, तुलासाकुमारी दाहालले विधेयकमाथि आफ्नो धारणा राखेका थिए । सांसदहरुले उठाएका जिज्ञासाको जवाफमा मन्त्री शर्माले बदलिदो अवस्थालाई ख्याल गर्दै न्यू मिडियालाई समेत सम्बोधन गर्ने गरी विधेयक प्रस्तुत गरिएको बताइन् । उनले विधेयकले नेपालको संविधानमा उल्लेख गरिएको समावेशितालाई विशेष ख्याल गरिएको, महिला र प्रदेशगत सहभागितालाई सुनिश्चित गरेको जानकारी दिइन् ।

विगतमा पनि मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाले स्वीकृत गरेको स्मरण गर्दै मन्त्री शर्माले तत्कालीन प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै विधेयक शून्यमा पुगेको बताइन् । नयाँ विधेयक तयार गर्दा सरोकारवालासँग छलफल भएको, विज्ञ सदस्यको टोली नै बनाएर अध्ययन एवं छलफल गराइएको, बढीभन्दा बढी परिमार्जित गराइएको भए पनि थप समृद्ध बनाउन सांसदले महत्वपूर्ण सुझाव दिने विश्वास व्यक्त गरिन् ।

आम सञ्चार नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्न पनि यस विधेयकले महत्वपूर्ण योगदान दिनेमा जोड दिँदै उनले पत्रकारको अभिलेख राख्ने, पत्रकारको पेसागत सुरक्षालाई ध्यान दिइएको, अभिव्यक्ति स्वतन्त्रतालाई विशेष ख्याल गर्दै स्वः नियमनलाई प्राथमिकतामा राखिएको बताइन् ।  

यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन), २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गरेकी थिइन् । 

गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित

सिन्धुपाल्चोक । काठमाडौँबाट र्‍याफ्टिङका लागि अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेमा आइपुगेकी ज्योति श्रेष्ठले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गरिन् । विश्वकै उत्कृष्ट दसौँ गन्तव्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदीमा शनिबार र्‍याफ्टिङ गर्न उनीसहित १३ जनाको जम्बो समूह शुक्रबार नै आइपुग्यो । “हामीले सुनेका मात्रै थियौँ,र्‍याफ्टिङको मज्जा आफैँले लिन पायौँ”, उत्साहित हुँदै ज्योतिले भनिन्, “शनिबार चाप धेरै हुन्छ भन्ने सुनेर नपाइएला भन्ने निकै डर थियो ।” उनले कलेज छुट्टीको दिन मिलाएर अन्य साथीसँग फेरि आउने सोच अहिले नै बनाइसकेको बताइन् ।

“यति रमाइलो हुन्छ भन्ने आफैँले र्‍याफ्टिङ गरेपछि थाहा भयो, साथीहरु सबैलाई अनुभवबारे ‘शेयर’ गर्छौं अनि यहाँ आउनलाई प्रेरित गर्छौं”, र्‍याफ्टिङपछि ज्योतिसँगै उभिएका उनका साथी शैलेश श्रेष्ठले भने । जीवनकै लागि नौलो र खतरापूर्ण खेल भएकाले यो समूह केही डराएको भने थियो । ठाडो खोलामा बगिरहेको पानीसँग खासै परिचित नभएकाले सुरुमै मुटुको गति बढेको अनुभव भएको श्रेष्ठ बताउँछन् । “जब र्‍याफ्टिङ खोलाको पानीसँगै बग्न थाल्यो, मनमा डरको गति पनि झनै बढ्यो”, उनले आफ्नो अनुभव सुनाए, “कहिलेकाहीँ आँखा चिम्लनुसमेत परेपछि भने बेक्कार गरिएछ भन्ने पनि लाग्यो ।” उनले साथीहरु पानीमा रमाउँदै कराउँदै गर्न थालेपछि भने बल्ल रमाइलो अनुभव भएको सुनाए । “पछि डर भुलियो, अर्कै संसारमा डुबुल्की मारिरहेको जस्तै लाग्यो”, उनले भने ।

उनीहरु जस्तै भक्तपुरबाट आएकी रोजिना श्रेष्ठले ‘कोर्पेटिभ’ टिम लिएर र्‍याफ्टिङको आनन्द लिन आएको सुनाइन् । “विदेशीसहित हाम्रो ५० जनाको टोली छ”, उनले भनिन्, “अब गर्मी सुरु भयो, यसकै लागि बिदाको समय मिलाएर समूह बनेर आयौं ।” 

शुक्रबार र शनिबार यहाँका रिसोर्ट भरिने गरेकाले पहिल्यै बुक गरेर आएको उनी सुनाउँछिन् । रोजिनाले यसअघि पनि र्‍याफ्टिङ गरिसकेकी थिइन् । त्यति बेलाको मज्जा सम्झँदै उहाँ फेरि सुनकोसी आइपुगेकी हुन् । “पहिला धित नै मरेन, त्यसैले फेरि आएँ”, उनी भन्छिन् । 

सुकुटेमा गर्मी बढेसँगै साहसिक खेल र्‍याफ्टिङमा रमाउने आन्तरिक तथा बाह्य पर्यटक अहिले ह्वात्तै बढेका छन् । गएको फागुनदेखि पर्यटकको चाप बढेको रिसोर्ट सञ्चालकहरु बताउँछन् । पछिल्लो हप्तादेखि अत्यधिक गर्मी बढेका कारण र्‍याफ्टिङ गर्ने पर्यटकमा वृद्धि भएको हो ।

साहसिक खेल र्‍याफ्टिङ र क्यानोनिङ गर्ने पर्यटकको सङ्ख्या दैनिक बढिरहेकाले यहाँका सबै रिसोर्ट व्यस्त भएको सुकुटेबिच एड्भेन्जर रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापा बताउँछन् । “दैनिक एक सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्”, थापा भन्छन्, “यो समय र्‍याफ्टिङको याम भएकाले अब चाप झनै बढ्ने अनुमान छ ।”

र्‍याफ्टिङकै लागि सिन्धुपाल्चोकमा हप्ता दिनमा कम्तीमा दुई हजार पर्यटक भित्रिने गरेका छन् । राजधानीदेखि युरोप, अमेरिकाजस्ता बाह्य मूलुकबाट आउने पर्यटकको लक्ष्य भोटेकोसी र सुनकोसीमा र्‍याफ्टिङ गर्ने हुने गरेको छ । 

पर्यटक बढेसँगै सिन्धुपाल्चोक र काभ्रेको सीमा गाउँ बन्देउदेखि रिसोर्टको सङ्ख्यामा समेत वृद्धि भएको छ । सुनकोसी र भोटेकोसी किनारामा र्‍याफ्टिङ सञ्चालन गर्ने रिसोर्ट बढेका छन् ।

भलिबलमा आर्मीद्वारा बुढानिलकण्ठ पराजित

काठमाडौँ  । राजधानीमा जारी आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बुढानीलकण्ठ भलिबल क्लवलाई पराजित गरेको छ ।

त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको खेलमा आर्मीले बुढानीलकण्ठ भलिबल क्लवलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

आर्मीले खेलको पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–२० ले आफनो पक्षमा पार्यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट २५–२० ले जित्यो । प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ३–० को सेटमा पराजित गरेको थियो ।

जितसँगै आर्मीले दुई खेलमा ६ अङ्क जोडेको छ । दुई खेल खेलको बूढानीलकण्ठ अङ्कविहीन छ । बूढानीलकण्ठ पहिलो खेलमा हेल्प नेपाल स्पोर्टस क्लबसँग ३–१ सेटमा पराजित भएको थियो ।

यसैगरी आज नै सम्पन्न महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लवले न्यू डायमन्ड स्पोर्टस क्लवलाई ३–१ तथा एभरेस्ट भलिबल क्लवले कर्णाली प्रदेशलाई ३–० को सेटमा पराजित गरेको थियो ।

स्रोत नखुलेको ७२ लाखसहित काठमाडौंबाट दुईजना पक्राउ     

काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको ७२ लाख रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसबाट दुवैजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा गाउँपालिका–४ घर भइ हाल न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही स्थानका २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् ।  
      
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । 

तेक्वान्दोमा नन्दालाई दोहोरो स्वर्ण

काठममाडौँ । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन्।

अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगितामा नन्दाले महिला ५० वर्षमुनि फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा स्वर्ण जितिन् । नन्दा राष्ट्रिय खेलकुद परिषद् ( राखेप) को कार्यकारी समितिकी सदस्य हुन्।

‘बेहुली फ्रम मेघौली’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । आगामी दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का साडी र चोलीमा सजिएर उभिएर ट्याक्टर चलिरहेको देखाइएको छ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमाको अपोजिटमा उनकै श्रीमान् तथा अभिनेता निश्चल बस्नेत रहेका छन् ।

आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको पनि अभिनय रहेको फिल्मले एक बेहुलीको कथा भन्नेछ । चितवनको मेघौलीमा छायांकन गरिएको यो फिल्मलाई दशैंमा ल्याउने घोषणा गरिए पनि यकिन मिति तय गरिएको छैन ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् । स्वस्तिमाले पहिलोपटक फिल्म निर्माणको अनुभव लिएकी हुन् । फिल्ममा निर्देशकद्वय आकाश र साजनको संयुक्त लेखन छ । उनीहरुले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा खटाउने गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाउसहित अन्तरिम आदेश जारी भएको हो । जेठ १५ गते गृहमन्त्री लामिछानेले सडकमा ट्राफिक नियम उल्लघंन गर्नेलाई स्वयंसेवकको रुपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए ।

गृहमन्त्रीको निर्देशन तत्काल रोक्न माग गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो । रिटमा सामान्य गल्तीमा समेत सडकमा उभ्याई बलपूर्वक सवारी नियमनको काममा लगाउँदा समग्र चालकहरूको हक हितमा गम्भीर असर परेको दाबी गरिएको छ।

गृहमन्त्रीविरुद्धको मुद्दामा अग्राधिकार दिँदै सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी, अर्को पेसी जेठ २८ मा

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमाथि आइतबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेशका लागि दुवैजनालाई उपस्थित हुन आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र गैरकानूनी रहेको भन्दै दुवैजनालाई कारबाहीका लागि रिट दायर भएको थियो ।

सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबिच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै जेठ २८ गतेका लागि पेशी तोकेको छ ।

आदेशमा भनिएको छ, ‘द.नं.०८०–८१–०४२६/१२९ मिति २०८०।१०।२२ को जाहेरी बेहोराको थप परीक्षण गरी दुवै पक्षलाई छलफलमा राखेर मात्र अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने निष्कर्षमा पुग्न मनासिब हुने देखिएको र प्रस्तुत विषय चाँडो टुङ्गो लाग्नुपर्ने प्रकृतिको देखिंदा प्रस्तुत विषयको सुनुवाईलाई अग्राधिकार दिई मिति २०८१।०२।२८ गतेका लागि अन्तरिम आदेश छलफल हुने मिति तोकी उक्त मितिमा महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको च नं ३२७५ मिति २०८१ । १ । २४ को पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा पेश गरिएको भनिएको ठगी सम्बन्धी कसुरको द.नं.०८०– ८१–०४२६/१२९ मिति २०८०।१०।२२ मा दर्ता भएको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुन सो बेहोराको सूचना विपक्षीहरुलाई दिई नियमानुसार पेश गर्नू,’ भनिएको छ ।

कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा

कुबेतका अमिरले राजगद्दी सम्हालेको ६ महिनापछि र संसद निलम्बन गरेको केही हप्तापछि नयाँ युवराजका रूपमा शेख सबाह खालिद अल–हमाद अल–सबाहको नाम सार्वजनिक गरेका छन् ।

सन् २०११ देखि २०१९ सम्म खाडी मुलुकको विदेशमन्त्री र सन् २०२२ सम्म प्रधानमन्त्री भइसकेका ७१ वर्षीय शेख राजनीतिक एवं कुटनीतिक जगतमा अनुभवी व्यक्ति मानिन्छन् ।

गत मे महिनामा ८३ वर्षीय अमिर शेख मेशाल अल अहमद अल सबाहले निर्वाचनको छ हप्तापछि संसद विघटन गरेपछि कुवेतमा नयाँ राजनीतिक उथलपुथल मच्चिएको थियो । उनले संविधानका केही प्रावधान पनि निलम्बन गरेका थिए ।

गत डिसेम्बरमा राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेपछि उनले दोस्रो सरकार गठन गरी जिम्मेवारी तोकेका थिए । अन्य खाडी मुलुकहरूको तुलनामा कुवेतमा प्रभावशाली संसद् छ भने अधिकांश शक्ति राजपरिवारमा छ ।

सांसदहरूसँग अधिकार भएपनि सरकारसँग उनीहरूको नियमित लडाईंले बारम्बार सङ्कट निम्त्याउँछ । कुवेतसँग विश्वको करिब सात प्रतिशत तेल भण्डार छ र यो देशमा विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष रहेको छ । तर, हालैका वर्षहरूमा कुवेतले आफ्नो अर्थतन्त्रलाई तेलमा निर्भरताबाट टाढा राख्न सङ्घर्ष गरिरहेको छ ।

हावाहुरीले केरा खेतीमा क्षती

चितवन । शुक्रबार र शनिबार आएको हावा हुरीले चितवनको केरा खेतीमा करोडौ रुपैयाँ बराबरको क्षति भएको छ ।
हावा हुरीले चितवनको रत्ननगर खैरहनी र कालिका नगरपालिकाको बिभिन्न क्षेत्रको केरा खेतीमा क्षति पुगेको किसानले बताएका छन् । हावा हुरीले चितवनको करीब २ हजार ५ सय बिगाहामा लगाएको केरा क्षती भएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधब प्रसाद घिमिरेले बताए । हावा हुरीले चितवनका किसानको करीब १२ करोड बराबरको केरा क्षति भएको उनले जानकारी दिए ।

चितवनमा हावा हुरीले हाल सम्म कै ठूलो केरा खेतीमा क्षति भएको किसानले बताएका छन् । जेठ महिनामा यसरी हावा हुरी आउला र क्षति होला भनेर कल्पना समेत नगरेको हावा हुरीले मुखमा आएको बालीमा क्षति भए पछी किसान चिन्तित भएका छन् । हावा हुरीले ११ बिगाह जग्गामा लगाएको केरा सखाप भएको चितवन खैरहनी नगर पालिका ६ तुलसी पुरका किसान पुष्क सिंहले बताए । हावा हुरीले टिपेर बेच्ने बेला भएको केरा पुर्ण रुपमा क्षति हुदा किसान निरास भएका छन् ।

चितवनमा करीब ३ हजार ५ सय बिगाहमा केरा खेती भए पनि १ हजार ५ सय बिगाहको केरामा मात्र बिमा गरेका छन् । केरा खेतीमा बिमा गरिए पनि सरकारले समयमा नै बिमित रकम बिमा कम्पनीलाई नबुझाउदा बिमाको रकम पाउन पनि ढिला हुने गरेको किसानहरु बताउछन् । गत बर्ष बिमा कम्पनी दिनु पर्ने ४ करोड मध्य २ करोड रुपैयामा मात्र किसानले पाएको र २ करोड अझ बाकी रहेको छ । किसानहरुले प्रति बिगाह बाट करिब १० लाखको हारी हारीमा केरा बिक्री गर्ने गरेका छन् । हावा हुरीले केरा खेतिमा ठुलो क्षति भए पछी किसानलाई क्षति पुर्तीको लागि पहल गर्ने उद्योग बाणिज्य सघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले बताए । हावा हुरीले ठुलो नोक्सान ब्यहोर्न परेको किसानलाई बारीमा ढलेको केराको बोट कसरी हटाउने भन्ने अर्को चिन्तामा परेको छ ।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ढाकेको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमद्वारा सार्वजनिक तस्वीर तथा भिडियोमा देख्न सकिन्छ ।

यो ज्वालामुखीबाट यस वर्षको सुरुदेखि अहिलेसम्म भएका करिब १०० वटा विस्फोटको पछिल्लो घटना हो । उत्तरी मालुकु प्रान्तको हलमहेरा टापुमा रहेको माउन्ट इबुमा स्थानीय समयअनुसार दिउँसो १२ः४५ बजे विस्फोट हुँदा खरानीको बाक्लो बादल हावाले धेरै माथि र टाढासम्म पुगेको भूगर्भ विभागका प्रमुख मोहम्मद वाफिदले बताए ।

मे महिनाको मध्यदेखि देशको उच्च सतर्कता तहमा रहेको ज्वालामुखीबाट निस्केको विस्फोट ६ मिनेट १३ सेकेन्डसम्म चलेको उनले बताए । राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीले आइतबार एक विज्ञप्ति जारी गर्दै ज्वालामुखीको निगरानी केन्द्र र त्यसको छेउमा रहेको उद्धार गृहतर्फ हावाले खरानी पुर्याएको तर उद्धार गरिएका व्यक्तिमा कुनै त्रास नरहेको उनले बताए ।

मे १६ मा ज्वालामुखीलाई उच्च सतर्कता तहमा पुर्याइएपछि अधिकारीहरूले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखीको केन्द्र चारदेखि सात किलोमिटर (२.५–४.३ माइल) को बीचमा बहिष्करण क्षेत्रमा प्रवेश नगर्न चेतावनी दिएका थिए।

स्थानीय विपद् न्यूनीकरण निकायको तथ्याङ्कअनुसार अधिकारीहरूले त्यसको केही समयपछि नै त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सुरु गरेका थिए भने आइतबारसम्म दुई हजार ५०० भन्दा बढी मानिसहरूलाई आश्रयस्थलमा सारिएको थियो । इबु इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखी स्थलमध्ये एक हो ।

यहाँ गत वर्ष २१ हजारभन्दा बढी विस्फोट भएका थिए । जियोलोजी एजेन्सीका अनुसार इबुमा सन् २०२३ मा दैनिक औसत ५८ वटा विस्फोट भएका थिए ।