`

डेढ अर्ब ठगी आरोप लागेका लामाले भने-म माथि झुठो आरोप लगाइएको हो,अदालतले न्याय दिन्छ

काठमाडौं / प्रहरीले सहकारी ठगि प्रकरणमा प्रकाउ गरेका चन्द्रबहादुर तामाङ (सीबी लामा) लाई सार्वजनिक गरेको छ । प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्र्दै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमा बचतकर्ताको डेड अर्व भन्दा बढि रुपैया ठगी गरेको आरोपमा पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामामाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ८५२ जना र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा ५४ जनाको निवेदन परेको जानकारी दिए ।

प्रहरी वृत्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भई दुई/तीन महिनादेखि नै फरार रहेको अवस्थामा लामालाई जेठ १८ गते चितवनबाट पक्राउ गरिएको उनले बताए ।

प्रहरीले सार्वजनिक गर्ने क्रममा पक्राउ परेका लामाले आफुमाथि झुठो आरोप लगाइएको भन्दै अदालतले न्याय दिने दावी गरे ।

२०५५ देखि ७६ सालसम्म कान्तिपुर सहकारीको अध्यक्ष रहेका लामा एउटै व्यक्ति दुई संस्थाको अध्यक्ष हुन नपाउने नियम लगाएपछि राजीनामा दिएको प्रहरीले जनाएको छ । उनको बिभिन्न प्रहरी इकाइहरुमा गरि अन्य चार वटा बैंकिङ कसुरको मुद्दा चलेको र तीन वटा मुद्दामा फरार रहेको पाइएको समेत प्रहरीले जनाएको छ ।

बजेटले देशको अर्थ प्रणालीलाई गतिशील बनाउँछः सांसद पौडेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटले देशको अर्थ प्रणालीलाई गतिशील बनाउने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान माथि आइतबार संसदको छलफलमा भाग लिँदै पौडेलले विगतका बजेट गतिशील नआएको भन्दै आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटले अर्थ प्रणालीलाई नै गतिशील र चलायमान बनाउने बताए ।

“असहज अवस्थामा आगामी आवका लागि बजेट विनियोजन भएको छ । यसले अर्थ प्रणालीलाई गतिशीलता दिने र जनतामा बढ्दै गएको निरासालाई हटाउने प्रक्षेपण गरिएको छ”, सांसद पौडेलले भने, “अर्थमन्त्रीले बजेट कार्यान्वयनका लागि सम्बन्धित निकायलाई परिचालन गरेर अगाडि बढ्न आवश्यक छ ।”

विद्युत् उत्पादन बढ्नु कालोपत्र सडकमा वृद्धि, सबै जिल्लामा सडक सञ्जाल पुग्नु सकारात्मक सन्देश यसले दिन खोजेको उनको भनाइ छ । सांसद पौडेलका अनुसार सामाजिक न्यायसहित मौलिक हकको कार्यान्वयन गर्दै समाजवादतर्फ उन्मुख हुनु बजेटको लक्ष्य रहेको छ ।

“हामी अँध्यारोमा हराएका थियौँ तर अर्थतन्त्र उकास्नका लागि विभिन्न क्षेत्रमा गोरेटो भेटेका छौँ”, पौडेलले भने, “व्यावसायिक वातावरणमा सुधार गर्ने विषय उठाएका थियौँ । कृषिमा लगानीको दशक, भूकम्प पुनःनिर्माण, दिगो वन व्यवस्थापन, शिक्षामा गुणात्मक सुधार, एक वडा एक पार्क, कर प्रणालीमा सुधारलगायत विषय आगामी वर्षको बजेटले समेटेका सकारात्मक सन्देश हुन् ।”

लामो समयदेखि निर्माण हुन नसकेका अव्यवस्थित पूर्वाधारका योजना निर्माण गर्न बजेटको व्यवस्थापनमा ख्याल गर्नुपर्ने सांसद पौडेलले सुझाव दिए ।

“कतिपय पुराना योजना राज्यले लगानी गरिसकेको छ तर बजेट अभावले ठेकदारले बेवारिसे छाडेका छन्”, उनले भने, “यस्ता अल्झिएका आयोजनाको अनुगमन गर्नुपर्छ र आयोजना पूरा गर्न अर्थमन्त्रीले ध्यान लिनुपर्छ ।”

वीरगंजलाई औद्योगिक राजधानी घोषणामा विलम्ब

वीरगञ्ज (पर्सा) । वीरगञ्ज आसपासको क्षेत्र ९० वर्षभन्दा लामो व्यापारिक तथा औद्योगिक विरासत बोकेको क्षेत्र भएकाले २०औँ वर्षदेखि औद्योगिक क्षेत्र घोषणा गर्न माग हुँदै आएको छ। यहाँका उद्योगी र व्यवसायीको एकल प्रयासले मात्रै औद्योगिक नगरीको उपमा पाएको वीरगञ्जलाई औद्योगिक राजधानीका रुपमा विकास गर्न सकिएमा मुलुकको औद्योगिक विकासमा नयाँ आयाम थपिने विश्वास गरिएको छ।

यहाँका सबैजसो उद्योग-कलकारखाना उद्योगीको व्यक्तिगत जग्गामा सञ्चालन हुँदै आइरहेको छ व्यवसायीहरूको भनाइ छ। काठमाडौँ, ललितपुर, पोखरालगायतका क्षेत्रमा राज्यले नै ठाउँ उपलब्ध गराएर औद्योगिक क्षेत्रका रुपमा विकास गरिएको छ। तर, यहाँ भने उद्योगीकै सक्रियतामा विकास सम्भव भएको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष तथा उद्योगी हरि गौतम बताउँछन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझा सरकारले पर्सा र बारा क्षेत्रलाई समेटेर औद्योगिक राजधानी घोषणा गरेर औद्योगिक लगानीमैत्री वातावरण बनाउँदा राम्रो हुने बताउँछन्। ‘औद्योगिक राजधानी घोषणा गर्ने विषय राजनीतिक विषय भए पनि यस क्षेत्रलाई औद्योगिक राजधानी घोषणा गर्न कुनै समस्या छैन’, उनले भने, ‘सरकारले औद्योगिक राजधानी घोषणा गरेर मात्रै पुग्दैन। औद्योगिक राजधानी घोषणा गरेपछि उद्योगधन्दा फस्टाउने खालको वातावरण भने तयार परिदिनुपर्ने हुन्छ।’

वरिष्ठ उपाध्यक्ष गौतम आफैँले १५ वर्षदेखि वीरगञ्ज महानगरपालिकास्थित गण्डक क्षेत्रमा रु १५ करोड पुँजी भएको ‘प्रेष्टिज फुटवेयर इन्डट्रिज’ सञ्चालन गर्दै आइरहनुभएको छ। उहाँको उद्योगमा प्रत्यक्ष रुपमा एक सयभन्दा धेरैले रोजगारी समेत पाएका छन्। तर उहाँले अझ पनि ढुक्क र सुरक्षित वातावरणमा उद्योगलाई अघि बढाउन नपाइरहेको उहाँ गुनासो गर्नुहुन्छ। ‘१५ वर्ष भइसक्यो उद्योग सञ्चालनमा ल्याएको। अझै पनि ढुक्क भएर उद्योग/व्यवसाय गर्न पाइरहेका छैनौँ’, उनले भने, ‘कहिले स्थानीय टोले गुन्डाहरूले दुःख दिन्छन् त कहिले स्थानीय सरकारले विभिन्न शीर्षकको करको नाममा हैरानी पार्ने काम गरिरहेको छ।’

‘पर्सा र बारा क्षेत्रका उद्योगी व्यवसायीले औद्योगिक राजधानी नभएकाले पनि धेरै खालका चुनौतीको सामना गर्नु परेको छ’, उनले भने, ‘सरकारले पर्सा र बारा जिल्लालाई समेटेर औद्योगिक राजधानी घोषणा गरेको खण्डमा उद्योगधन्दाले अहिले देखिएका चुनौती तथा समस्यासँग जुध्नका लागि खासै समस्या हुँदैन्थ्यो। यहाँका उद्योगी तथा व्यवसायीले आफ्नो उद्योग विस्तार गर्न पनि पाउँथे।’

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पर्सालाई औद्योगिक राजधानीका रुपमा घोषणा गर्नुपर्ने बताउँछन्। ‘वीरगञ्जले मुलुकको राजस्वमा झण्डै एक तिहाइभन्दा ठूलो हिस्सा ओगट्दै आइरहेको छ’, उनले भने, ‘वीरगञ्जलाई नयाँ औद्योगिक राजधानी घोषणा गरेर नयाँ उद्योग कलकारखाना स्थापना गर्नका लागि जग्गा जमिनको आवश्यक भए पनि सोको व्यवस्थापन गर्न महानगर तयार छ।’

महानगरका अनुसार वीरगञ्जलाई औद्योगिक राजधानी घोषणा गर्नका लागि थप औद्योगिक क्षेत्रको विस्तार गर्नका लागि महानगरको वडा नं २७, २९ र ३१ मा रहेको जग्गामा पूर्वाधार निर्माण गर्न पनि सकिन्छ।

अघोषितरुपमा वीरगञ्जलाई मुलुकको औद्योगिक सहर तथा आर्थिक नगरी भने पनि वीरगञ्जबासीले त्यसको प्रत्यक्ष अनुभूति गर्न पाएका छैनन्। वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा संविधानसभाका सांसद ओमप्रकाश शर्मा पनि पर्सा र बारा क्षेत्रलाई औद्योगिक राजधानीको रुपमा विकास गर्नुपर्ने बताउँछन्।

अहिले पर्सा र बारा क्षेत्रमा अव्यवस्थित र छरिएर व्यक्तिगत जग्गामा सञ्चालित उद्योगलाई औद्योगिक राजधानी घोषणा गरेर निश्चित क्षेत्रमा व्यवस्थापन र सञ्चालन गर्न सक्ने हो भने एकातर्फ नयाँ लगानीको स्रोतसहितको उद्योग स्थापना हुन्छ। उनले गण्डकी प्रदेशलाई पर्यटकीय राजधानीका रुपमा घोषणा गरे जस्तै यस क्षेत्रलाई पनि अब औद्योगिक राजधानी घोषणा गर्न ढिलासुस्ती गर्नु नहुने बताए।

वीरगञ्ज क्षेत्रका उद्योगी/व्यवसायी तथा राजनीतिज्ञले मधेश प्रदेशको राजधानी वीरगञ्ज हुनुपर्ने माग गर्दै आइरहेका थिए। २०७८ माघ ३ गते बसेको मधेश प्रदेशसभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित गरेको थियो।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश अध्यक्ष अशोककुमार टेमानी वीरगञ्जलाई मधेश प्रदेशको राजधानी नबनाइए पनि औद्योगिक राजधानी बनाउनुपर्ने बताए। उनले भने, ‘पर्सा र बारा औद्योगिक नगरका रुपमा परिचित नै छन्। अब यी जिल्लालाई औद्योगिक राजधानी घोषणा गरेर अघि बढेको खण्डमा यस क्षेत्रले विकासको काँचुली फेर्ने थियो’, अध्यक्ष टेमानीले, ‘आर्थिक राजधानी घोषणा भएसँगै मुलुकको आर्थिक गतिविधि बढेर समग्रमा राज्यकै राजस्व बढ्ने हो।’

सङ्घका वरिष्ठ उपाध्यक्ष गौतम काठमाडौँ-तराई-मधेश द्रुतमार्गको निजगढको अन्तिम बिन्दुको ३०-३० किलोमिटर वरपरको क्षेत्रफललाई समेटेर औद्योगिक राजधानी बनाउन सकिने बताउँछन्। ‘बाराको सिमरा क्षेत्रमा अझै पनि तीन सय ३८ बिघा क्षेत्रफलको जग्गा टिप्पणी उठेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुगिसकेको छ’, उनले भने, ‘सो जग्गा पाएको खण्डमा औद्योगिक राजधानी बनाउनका लागि पर्याप्त ठाउँ पुग्नेछ।’

अन्तराृष्ट्रिय निकासी तथा पैठारीमा विश्वका धेरै देशसँग जोडिएकाले वीरगञ्ज उपयुक्त ठाउँ हुन सक्छ। त्यति मात्र होइन, यहाँको सुविधासम्पन्न एकीकृत जाँचचौकी, भारतसँग रेल्वे जोडिएको सिर्सियास्थित सुक्खा बन्दरगाहलगायतका पूर्वाधारले पनि औद्योगिक राजधानीका लागि आधार तयार गरेको छ।

सङ्घीय राजधानी काठमाडौँदेखि स्थलमार्गको सबैभन्दा छोटो दूरीको अन्तर्राष्ट्रिय नाका भनेको नै वीरगञ्ज हो। काठमाडौँ-तराई-मधेश द्रुतमार्ग बनिसकेपछि बारा-पर्साको औद्योगिक क्षेत्रबाट कम्तीमा एक सय किलोमिटर दूरी औसतमा डेढ घण्टाभित्रै पुग्न सकिन्छ। अर्काेतर्फ प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि यसै क्षेत्रमा पर्छ। यो विमानस्थल बनेसँगै विदेशी मुलुकमा नेपाल उत्पादन निर्यात गर्ने ढोका पनि खुल्नेछ। पर्सा र बारा जिल्ला नेपालको मध्यभागमा पर्छ।

पर्सा र बारामा ठूला खालका उद्योगधन्दा यति नै छन् भन्ने खालको एकिन तथ्याङ्क नभए पनि आठ सयदेखि १२ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार पर्सा जिल्लामा औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको सङ्ख्या भने एक हजार छ सय ४६ रहेको छ।

त्यस्तै कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठानको सङ्ख्या एक सय २६ रहेको छ। बारामा पनि औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको सङ्ख्या एक हजार दुई २५ रहेको छ। त्यस्तै कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठानको सङ्ख्या भने एक सय ५२ रहेको छ।

यस्ता पूर्वाधार चाहिन्छ

औद्योगिक राजधानी घोषणा गरिसकेपछि औद्योगिक परिसरसम्म पुग्नेछ। लेनको सुविधासम्पन्न सडक चाहिने गर्छ। अहिले नै बारा र पर्सा जिल्लाको औद्योगिक क्षेत्रमा चार लेनका सडक लगभग तयार भइसकेको छ। ‘२४सै घण्टा उपलब्ध हुने गुणस्तरीय र भरपर्दाे खालको विद्युत् आपूर्तिको सुनिश्चित हुन आवश्यक छ’, सङ्घका वरिष्ठ उपाध्यक्ष गौतमले भने। औद्योगिक राजधानीको लागि शुद्धीकरण प्लान्टसहितको सुविधासम्पन्न ढल निकासको व्यवस्था पनि सरकार र निजी क्षेत्रको साझेदारी अघि बढाउन सकिने छ। उनले भने, ‘सरकारले औद्योगिक वातावरण सिर्जना गरिदिने हो भने उद्योग स्थापनाका लागि धेरै लगानीकर्ता उत्सुक नै छन्।’

‘अन्तर्राष्ट्रियस्तरको भन्सारका चेकपोष्टको व्यवस्थासँगै सो क्षेत्रबाट कम्तीमा पनि पाँच सयदेखि एक हजार मिटरसम्मको दूरीमा बस्ती बसाल्न नपाइने नियमलाई भने कडाइका साथ लागू गर्नुपर्ने हुन्छ’, वरिष्ठ उपाध्यक्ष गौतमले भने, ‘औद्योगिक क्षेत्र बसेसँगै स्थानीय बस्ती बस्ने चलन ह्वात्तै बढ्छ। बस्ती बसेसँगै उद्योगले प्रदूषण ग¥यौँ भन्दै फेरि द्वन्द्व सुरु हुन्छ। त्यसैले बस्ती र औद्योगिक क्षेत्रबीच दूरी कायम भने गर्नैपर्छ।’

कतिपय पूर्वाधार तयार

वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाह ५७ विघा क्षेत्रफलमा अवस्थित छ। यो यस्तो खालको बन्दरगाह हो-जहाँ कार्गाे रेलबाट मात्रै मालसमान ल्याउने गरिन्छ। यो सन् २००० विश्व बैंकको ऋण सहयोगमा रु ८२ करोड लागतमा निर्माण गरिएको हो। भारत सरकारको २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिंक निर्माण गरिएको हो।

अहिले सुक्खा बन्दरगाहको व्यवस्थापनको काम भने इन्टरमोडल यातायात विकास समितिमार्फत हुँदै आइरहेको छ। नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षको लागि तीन अर्ब ३३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। प्रिष्टिनले सुख्खा बन्दरगाह सञ्चालन र व्यवस्थापन गरेबापत औषतमा वार्षिक ६६ करोड रुपैयाँ समितिलाई उपलब्ध गराउने गर्छ।

सुक्खा बन्दरगाह कार्यालयले गत आर्थिक वर्षमा मात्रै रु ४२ अर्ब ४० करोड रकम राजस्व सङ्कलन गरेको थियो। यो वर्षको १० महिनामा पनि रु४० अर्ब तीन करोड राजस्व सङ्कलन गरिसकेको छ। अर्काेतर्फ वीरगञ्जमै सुविधासम्पन्न एकीकृत जाँचचौकी पनि निजी क्षेत्रले सञ्चालन गर्दै आइरहेको छ। यो एकीकृत जाँचचौकी ११५ विघा क्षेलफलमा फैलिएको छ।

सो जाँचचौकी पाँच वर्षका लागि टिआरएस हिमालयन लोजी पार्क प्रालिले सञ्चालन तथा व्यवस्थापन गरेवापत कम्पनीले समितिलाई पाँच वर्षको रु एक अर्ब ८० करोड ९० लाख एक हजार दुई पट्टाबहाल रकम बुझाउनेछ। यो जाँचचौकी पनि ठूलो क्षेत्रफलमा फैलिएको छ। वीरगञ्ज भन्सार कार्यालयले चालु आवको चैत मसान्तसम्मको अवधिमा रु एक खर्ब १४ अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ। गत आवमा भने एक खर्ब ५७ अर्ब १५ करोड राजस्व सङ्कलन गर्‍यो।

आयात निर्यातमा योगदान

भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७९/८० मा नेपालमा १६ खर्ब ११ अर्ब ७३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो। जसमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आर्थिक वर्ष २०७९/८० मा रु पाँच खर्ब ९३ अर्ब ३९ करोड १७ लाख २० हजार वस्तु तथा सामान आयात भएको थियो। कुल आयातमध्ये वीरगञ्ज भन्सार कार्यालयको हिस्सा मात्रै ३६ दशमलव ८२ प्रतिशत हिस्सा आयात हुने गर्छ।

गत आवमा नेपालबाट एक खर्ब ५७ अर्ब १४ करोड मूल्यपर्ने वस्तु निर्यात भएको थियो। आयात मात्रै होइन, निर्यातमा पनि वीरगञ्ज भन्सार कार्यालयको भूमिका उल्लेखनीय नै देखिन्छ। गत आवमा निर्यातमा वीरगञ्ज भन्सारको २३ दशमलव ३४ अर्थात् ३६ अर्ब ६७ करोड मूल्य बराबरको वस्तु निर्यात भयो।

सांसद जबराको प्रश्न -“पुराना आयोजना अलपत्र हुदाँ थप नयाँ आयोजनामा बजेट राखेर कसरी पार लाग्ला” ?

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद धवल शमशेर जबराले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको राजस्व र व्ययको अनुमान (बजेट)ले मुलुकमा विद्यमान आर्थिक शिथिलतालाई चिर्न नसक्ने बताएका छन।

प्रतिनिधिसभाको आजको बैठकमा बजेटबारे धारणा राख्दैँ सांसद जबराले कुनै स्पष्ट योजना नभई वितरणमुखी र कनिका छरेको जस्तो बजेट ल्याएको बताएका हुन् । “देशमा चलिरहेको आर्थिक मन्दीलाई बजेटले सम्बोधन गर्न सकेको छैन । आर्थिक मन्दी रहेको स्थितिमा त्यसलाई समाधान गर्न बजेटले कुनै स्पष्ट योजना ल्याएको देखिँदैन”, उनले भने, “कृषि क्षेत्रमा कृषि दशक भनिएको छ, तर कृषि क्षेत्रमा न्यून बजेट आएको छ ।” रासायनिक मलको अनुदानको रकम घटाउँदा त्यसको मार कृषकलाई पर्ने उनको भनाइ छ ।

सांसद जबराले सरकारले आगामी आर्थिक वर्षका लागि राखेको लक्षित राजस्व सङ्कलन गर्ने र स्रोत जुटाउन ठूलो चुनौती रहेको बताए । चालु आवको बजेटको आकार रु दुई खर्बभन्दा बढी घटाउनु परेको स्मरण गर्दै उनले आकारमा ठूलो बजेट ल्याउनेभन्दा पनि कार्यान्वयनमा सरकारले बढी जोड दिनुपर्ने उल्लेख गरे । बजेटले स्टार्टअप क्षेत्रमा राम्रा योजना ल्याएको उनको भनाइ छ । यद्यपि केही योजना तथा कार्यक्रम विवरणमुखी रहेको सांसद जबराले आरोप छ ।

“पुराना आयोजना अलपत्र छन् । थप नयाँ आयोजनामा बजेट राखेर कसरी पार लाग्ला ?”, सांसद जबराले प्रश्न गरे । विद्युतीय गाडीको प्रयोग बढेको र यसले पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जाने सरकारको नीतिकै प्रतिकूल हुनेगरी पेट्रोलियम पदार्थमा कर बढाइएको उनले उल्लेख गरे । भौतिक पूर्वाधारका क्षेत्रमा लगानी बढाइए पनि राष्ट्रिय गौरवका आयोजनामा न्यून बजेट विनियोजन भएको सांसद जबराको भनाइ छ । सिक्टा सिँचाइ आयोजनाका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको उनले गुनासो गरे ।

आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै जाने विषय सरकारले बजेटमा राखेको भए पनि त्यसका लागि कानुनी, संरचनागत र प्रक्रियागत सुधार हुन नसकेको सांसद जबराले बताए । सूचना प्रविधिका क्षेत्रमा लगानीको दशक घोषणा गरिनु बजेटको सकारात्मक पक्ष रहेको उनले उल्लेख गरे ।

शेयर बजारमा दोहोरो अङ्कको बृद्धि

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्क बढेर दुई हजार ८३ दशमलव ०४ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २५ कम्पनीको ९६ लाख ९७ हजार दुई सय ६ कित्ता शेयर ६५ हजार ६ सय ५४ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा लगानी समूह शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन दुई दशमलव ४० र म्युचुअल फन्ड शून्य दशमलव ०५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै व्यापार समूहको ६ दशमलव ५६ र वित्त समूहको उपसूचक दुई दशमलव १७ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ एक दशमलव ११, विकास बैंक शून्य दशमलव २२, होटल तथा पर्यटन शून्य दशमलव ४६ र जलविद्युत् एक दशमलव २६ प्रतिशतले बढेको छ । जीवन बीमा समूह शून्य दशमलव ७७, लघुवित्त समूह शून्य दशमलव ५२ र अन्य समूह शून्य दशमलव ९६ प्रतिशतले बढेको छ ।

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य नौ दशमलव १३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २२ करोड ६४ लाख १३ हजार २८ बराबरको तीन लाख ८२ हजार ३५ कित्ता शेयर किनबेच भएको छ ।

सत्तापक्षका दलसँग छलफल नगरी बजेट ल्याउनु दुःखदः पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तयार पार्दा अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ दलसँग छलफल गरेर बजेट ल्याएको भए थप परिस्कृत र राम्रो आउने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारो बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको अनुमान माथि आफ्नो धारणा राख्दै उनले सो कुरा उल्लेख गरेका हुन् ।

“अर्थमन्त्रीलाई बजेट निर्माणका बेला निकै व्यस्तता हुन्छ । निश्चित समयभित्र यो काम गर्नुपर्छ । तर सत्तापक्षीय राजनीतिक दलसँग सुझाव लिन उहाँले भ्याउनुभएन”, पूर्वअर्थमन्त्री पौडेलले भने, “यदि भ्याउनुभएको भए बजेट अझ राम्रो आउँथ्यो । सल्लाह लिन पाएको भए राम्रो हुन्थ्यो ।”

आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाउने उल्लेख भएकामा सो अवधारणालाई सरकारले थप स्पष्ट पार्नुपर्ने पूर्वअर्थमन्त्री पौडेलको भनाइ छ ।

“उच्चस्तरीय अर्थतन्त्र सुधार सुझाव कार्यदल बनाउने विषय बजेटमा उल्लेख छ । यसलाई थप स्पष्ट पारिनुपर्छ । कार्यदलमार्फत सुझाव लिनेभन्दा पनि नीतिको स्रोत भनेको राजनीतिक नेतृत्व हो । यसमा राजनीतिक दलबाटै सुझाव आउनुपर्छ”, उनले भने ।

आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरिएको भए पनि चालु आवको तुलनामा आगामी आवको भन्दा बजेट घटेको पूर्वअर्थमन्त्री पौडेलले बताए ।

कृषिमा लगानी दशक जस्तै सूचना प्रविधि क्षेत्रमा पनि लगानी दशक घोषणा भएकाले कुन क्षेत्रलाई प्राथमिकतामा राख्न खोजेको हो भन्नेबारे अन्योल देखिएको उनको भनाइ छ । गाँजा खेतीलाई वैधानिकता दिनेबारे विस्तृतमा अध्ययन गरिनुपर्ने र यसका सकारात्मक तथा नकारात्मक पक्षको विश्लेषण गरिनुपर्ने पूर्वअर्थमन्त्री पौडेलले बताए ।

हरेक प्रदेशलाई कुनै निश्चित वस्तुको उत्पादन हबका रुपमा अघि बढाउने योजना बजेटमा राखिए पनि त्यसमा दोहोरोपना हटाउनुपर्ने सुझाव दिँदै पूर्वअर्थमन्त्री पौडेलले एउटा प्रदेशमा एउटा केन्द्र स्थापना गर्ने विषयमा थप अध्ययन गरिनुपर्ने सुझाव दिए ।

निर्माण प्रक्रियामा अघि बढिसकेका केही योजना तथा कार्यक्रम बजेटमा छुटेका र पालिकास्तरका आयोजना पनि सङ्घीय सरकारमा परेको उनले उल्लेख गरे । “धेरै अघि बढिसकेका आयोजना बजेटमा छुटेका छन् । दमक औद्योगिक क्षेत्रबारे बजेट बोलेको छैन”, पूर्वअर्थमन्त्री पौडेलले भने, “एक पालिका, एक डाउनटाउन तथा वडावडामा उद्यान बनाउनेजस्ता विषयबारे सङ्घीय बजेटले नबोलेको भए पनि हुन्थ्यो ।”

पूर्वअर्थमन्त्री पौडेलले बजेटमा भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने विषय राखिनु सकारात्मक रहेको बताए । ‘समृद्ध नेपालः सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्नेगरी बजेट आएको तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, मध्यपहाडी पुष्पलाल राजमार्ग, उपभोक्ता अदालत गठनलगायतका विषय बजेटमा पर्नु सकारात्मक कुरा भएको उहाँले बताउनुभयो । सरकारले महत्वाकाङ्क्षीभन्दा पनि उच्च आकाङ्क्षी बजेट ल्याएको पूर्वअर्थमन्त्री पौडेलको तर्क छ ।

“सरकारले आगामी आर्थिक वर्षका लागि तुलनात्मकरुपमा सङ्क्षिप्त र सन्तुलित बजेट ल्याएको छ । स्रोतको प्रबन्ध गर्नु सहज थिएन”, उनले भने, “यो महात्वाकाङ्क्षी होइन, उच्च आकाङ्क्षी बजेट हो । राजस्व सङ्कलन, ऋण तथा अनुदान परिचालनका लागि उच्च आकाङ्क्षा राखिएको छ ।”

अर्थमन्त्री पुनले उच्च आकाङ्क्षी बजेट ल्याएर चुनौती सामना गर्ने अठोट गरेको पूर्वअर्थमन्त्री पौडेलको धारणा छ । “सहज यात्रा जो कसैले पनि गर्न सक्दछन् । तर अर्थमन्त्रीले आफैं चुनौती सिर्जना गरेर आफैँ अवसर खोज्ने र सामना गर्दै जाने अठोट गर्नुभएको छ”, उनले भने,“६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ । यी समस्या र प्रतिकूलता हेर्दा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु सहज छैन । तर असम्भव पनि छैन । यसका लागि बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिइनुपर्छ ।”

आगामी आर्थिक वर्षको बजेटप्रति नेकपा (एमाले) को दृढ समर्थन रहेको एमाले उपाध्यक्ष पौडेलले बताए । चालु आवको अन्तिमसम्ममा ११ खर्ब हाराहारी आन्तरिक राजस्व उठ्ने देखिएकामा आगामी आर्थिक वर्षका लागि १२ खर्ब ६० अर्ब बराबरको राजस्व लक्ष्य राखिनुलाई उनले सकारात्मक रहेको बताए ।

वैदेशिक ऋण र अनुदान पनि बढाउनेसक्ने ठाउँ रहेको उनको भनाइ छ । बजेट कार्यान्वयन चुनौतीपूर्ण भए पनि असम्भव भने नरहेको उनले उल्लेख गरे ।

सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो । यो आकारको बजेटका लागि स्रोतको केही सीमितता रहेको पूर्वअर्थमन्त्री पौडेलले बताए ।

“राजस्वले साधारण खर्च धान्न नसक्ने र ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्थामा हामी आइसकेका छौँ । आगामी आवका लागि तीन खर्ब ३० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य बढी हो”, उनले भने, “वैदेशिक सहयोगका आयोजनामा ‘काउन्टर पार्ट फण्ड’ व्यहोर्न आन्तरिक राजस्व व्यहोर्नका लागि पनि वैदेशिक सहायताबाट प्राप्त बजेटरी सहायता रकमलाई परिचालन गर्नुपर्ने अवस्था छ ।” स्रोतको अधिकतम सीमा हेरेर बजेट ल्याइएको उनको दाबी छ ।

सरकारको विकास खर्च निकै कम भइरहेका बेला आगामी आर्थिक वर्षका लागि साढे तीन खर्बभन्दा माथिको विकास खर्चको लक्ष्य राखिनु सकारात्मक रहेको पूर्वअर्थमन्त्री पौडेलले बताए ।

“अहिले खर्च गर्ने क्षमता चिन्ताजनक अवस्थामा छ । जेठको १५ गतेसम्ममा एक खर्ब २६ अर्ब बराबर मात्रै खर्च भएको छ । चालू आर्थिक वर्षको अन्तिमसम्ममा रु दुई खर्ब हाराहारी पुँजीगत बजेट खर्च होला । तर आगामी आर्थिक वर्षका लागि तीन खर्ब ६७ अर्ब बराबर पुँजीगत शीर्षकमा बजेट विनियोजन गरिनुलाई सकारात्मक मान्नुपर्छ”, उनले भने ।

गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको छ : सांसद झा

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा सांसद झाले आफ्नो पार्टी सरकारमा गएपछि टिकापुर, बाँसबारी जग्गा प्रकरणको छानविन गरेको भन्दै भूटानी शरणार्थी प्रकरणको पुनः छानविन गर्ने र गिरीबन्धुको पनि फाइल खोल्ने तयारी भइरहेको बताएका हुन् ।

उनले सहकारी प्रकरणमा आफुहरुले ससर्त छानविन समिति बनाउन तयार रहेको जनाएको र त्यहि आधारमा अहिले संसदीय छानविन समिति बनेको धारणा राखे । आफूहरु प्रसस्तै विकल्प छाडेर देशका लागि केहि गर्न राजनीतिमा होमिएको उनले बताए ।

सांसद झाले संसदमा बोल्ने क्रममा केहि नेताहरुले परिवर्तनको क्रेडिट लिन खोजेको भन्दै राजनीतिमा सबै परिवर्तनको क्रेडिट लिने काम उचित नभएको जिकिर गरे । लामो समय संसद अवरुद्ध हुँदा जनताका समस्याको उठान गर्न नपाइएको उल्लेख गर्दै उहाले संसद खुलेपछि निरन्तर जनताको पक्षमा आवाज उठाइने बताए ।

बूढानिलकण्ठ जाँदैमा कसैले आत्तिनु पर्दैनः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय राजनीतिमा बढेको अस्थिरता र अविश्वासले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला मिलेको बताएको छ । आइतबार काठमाडौंमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीले उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला मिलिरहेको जानकारी दिइएको हो ।

अध्यक्ष माधवकुमार नेपालले नेकपा एकिकृत समाजवादी पार्टीले यस्तो कुकृत्यहरुबाट भाग्न नमिल्ने बताए । उनले प्रमुख प्रतिपक्षीसहितका दलहरुको बैठकमा सहभागी हुँदा प्रधानमन्त्रीसँग छलफल गरेको समेत बताए । प्रदेश सरकारमा सत्ता घटक भएको कारण बैठकमा सहभाभी भएको उल्लेख गर्दै उनले कुनै पनि नेतासँग उठबस गर्नु नौलो नभएको बताए ।

उनले भने, ‘प्रदेश सरकारका लागि सत्ता घटक भएका कारण प्रमुख प्रतिपक्षीहरुसँग हामी सहभागी भएका हौं । कसैले पनि कुनै नेतासँग पनि उठबस गर्न पाउँछ र हामीले पनि पाउँछौं । कसैले आत्तिनुपर्ने आवश्यकता छैन । मैले विपक्षीहरुको बैठकमा सहभागी भएको विषयमा प्रधानमन्त्रीसँग फोन वार्तामा जानकारी समेत गराएको थिएँ ।’

त्यस्तै, अध्यक्ष नेपालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशमा चारवटा दस्तावेजहरु प्रस्तुत गर्ने बताए । उनकाअनुसार महाधिवेशनमा राजनीतिक प्रतिवेदन, नेपाली विशेषताको समाजवादको कार्य दस्तावेज, संगठनात्मक प्रस्ताव र विधान प्रस्ताव प्रस्तुत हुनेछ । दस्तावेजहरुमा पार्टीको ग्रासरुटदेखि माथिल्लो तहबाट समेत सुझावहरु संकलन भइरहेको बताए । सो अवसरमा पार्टीको दशौं महाधिवेशनको लोगो समेत सार्वजनिक गरिएको थियो ।

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

काठमाडौँ । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । 

सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार सात सय तीनजना विदेशी पर्यटक नेपाल आएका थिए ।

कोभिड–१९ महामारीपूर्व ७८ हजार तीन सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, “समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ । तुलनात्मक रुपमा भारत र अमेरिकाबाट धेरै सङ्ख्यामा पर्यटक भित्रिए पनि चीनबाट अपेक्षित रुपमा पर्यटक बढेका छैनन् ।”

विगतका महिनामा झँै यो पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार दुई सय ८८ जना पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट आठ हजार तीन सय ८१ जना पर्यटक नेपाल आएका छन् । संयुक्त राज्य अमेरिकाबाट आठ हजार पाँच सय २७ पर्यटक नेपाल भित्रिएका छन् ।

बजेट कनिका छरेजसरी विनियोजन गरियोः पूर्वअर्थमन्त्री महत

काठमाडौँ ।  पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले उत्पादनशील क्षेत्रमा वित्तीय लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । आर्थिक बर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउन नसक्दा मुलुकको आर्थिक वृद्धिमा असर पुग्ने बताए । 

“ऋण लिएर उत्पादनशिल खर्च गर्न नसक्दा उत्पादन तथा  रोजगारी बढ्दैन र राजस्व पनि बढ्दैन,” उनले भने, “जसले गर्दा राज्यलाई ऋणको भार बढ्दै जाने र ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्था आउने छ ।”

आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट कनिका छरेजसरी विनियोजन भएको भन्दै महतले आपत्ति जनाए । बजेट पार्टीमुखीभन्दा जनतामुखी हुनुपर्ने र विनियोजित बजेट प्राथमिकीकरणको आधारमा खर्च गर्नुपर्ने उनको भनाइ छ ।  

महतका अनुसार बजेटको आकार बढे पनि व्यवस्थित रुपमा खर्च गर्न नसके मुलुकको आर्थिक विकास हुन सक्दैन । “वित्तीय स्रोत उत्पादनशील क्षेत्रमा खर्च गर्न नसक्दा प्रतिफल आउन सकिरहेको छैन र यसले रोजगारी सिर्जना भएको छैन,” उनले भने, “आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेट प्राथमिकीकरण गरिएको छैन । आवश्यकताको आधारमा विनियोजन भएन ।” 

उद्योग वाणिज्य मन्त्रालयको बजेट कम भएको भन्दै लगानीलाई उत्पादनमुखी बनाउनुका सट्टा अनुउत्पादनशील क्षेत्रमा खर्च हुने गरी विनियोजन भएको उनको टिप्पणी छ ।

महतले वित्तीय स्रोत जुटाउने र खर्च गर्ने विषयमा ख्याल गर्नुपर्नेमा जोड दिए । “आगामी आर्थिक वर्षको बजेटले कङ्क्रिट दिशा पत्ता लगाउन  सकेको छैन,” उनले भने,“हामीले राजस्व राम्रो उठाएका छौँ । तर प्रतिफल आएको छैन । लगानी भएको छ, कर उठाएका छौँ तर उत्पादन बढेको छैन । यी समस्याको समाधान खोज्न जरुरी छ ।”

उनले राज्यको वैदेशिक ऋण बढिरहेको र निजी क्षेत्रले लिने ऋणको भार थपिए पनि प्रतिफल आउन नसक्दा अर्थतन्त्रमा ह्रास आएको टिप्पणी गरे । पछिल्लो समय सहकारी ठगीका कारण बचतकर्ता समस्यामा परिरहेको भन्दै उनले सरकारीको नियम कानुनभन्दा बाहिर गएर खर्च गर्ने व्याक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताए । 

 स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आएको अर्थमन्त्री पुनको दाबी

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै अर्थमन्त्री पुनले नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट आएको दाबी गरे ।

“बजेट बनाउँदै गर्दा स्रोतको सङ्कुचनको अवस्था हामी सबैले महसुस गरेका थियौँ । बजेटमा निकै धेरै अपेक्षा थिए । युवालाई देशभित्रै भविष्य खोज्ने वातावरण बनाउने गरी बजेट आउँछ कि आउँदैन र निजी क्षेत्रको मनोबल उकास्न बजेटले सक्छ वा सक्दैन भन्ने थियो”, अर्थमन्त्री पुनले भने, “स्रोतको सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो भन्ने प्रतिक्रिया आइरहेका छन् । निजी क्षेत्रले सन्तुलित बजेट आएको भनेका छन् ।”

आगामी आर्थिक वर्षको बजेटका लागि निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा प्रस्तुत गरेको सिद्धान्त तथा प्राथमिकताका आधारमा आएको अर्थमन्त्री पुनको भनाइ छ । विनियोजन कुशलता र करका दर हेरफेर गर्दा आवश्यकता तथा औचित्यको गम्भीर विश्लेषण गरेर मात्र गरिएको उनको दाबी छ ।

“समग्र जनताका आकांक्षालाई बजेटमार्फत प्रतिबिम्बित गर्ने जिम्मेवारी भएकाले सबैलाई विश्लेषण गरेर कुशलताका साथ विनियोजन भएको छ”, प्रतिनिधिसभाको बैठकमा मन्त्री पुनले भने, “राजस्वका दर निकै कम मात्र हेरफेर गरिएका छन् । हेरफेर गरिएकामध्ये पनि तथ्यले स्वीकार गर्ने र हाम्रा उद्योगलाई संरक्षण गर्ने गरी गरिएका छन् ।” निजी क्षेत्रले नीतिको स्थायित्व चाहेको भन्दै सरकारले पनि करका दरलाई धेरै हेरफेर नगरी नीतिगत स्थायित्व भङ्ग नगरेको उनले बताए ।

गत वर्षको भन्दा अहिले अर्थतन्त्रमा क्रमिक सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ । “समग्र राष्ट्रिय अर्थतन्त्रमा केही सङ्कुचन देखिएको अवस्थामा यस वर्ष तीन दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । गत वर्ष एक दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो”, उनले भने, “गत वर्षको भन्दा अर्थतन्त्रमा सुधार देखिँदै गएको छ  र बिस्तारै गतिशील बन्दै गएको छ । हामी अझै पूरै सुधारको अवस्थामा भने पुगिसकेका छैनौँ ।”

भारतमा अन्तिम मतदानको दिन हृदयघातका कारण मतदानमा खटिएका ३३ कर्मचारीको मृत्यु

देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको छ ।

भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ । एक दिनमा दर्जनौं कर्मचारीहरूको मृत्यको यो खबर दुखको विषय हो ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार उत्तर प्रदेशको झाँसीमा तापक्रम ४६.९ डिग्री सेल्सियस पुगेको छ।
सातौँ तथा अन्तिम चरणको मतदान शनिबार समाप्त भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले गर्मीका कारण ३३ जना मतदानकर्मीको मृत्यु भएको बताउनुभयो । तथ्याङ्कमा सुरक्षा गार्ड र सरसफाइ कर्मचारीहरू समावेश रहेका थिए ।

“मृतकको परिवारलाई पन्ध्र लाख भारतीय रुपैँया (अठार हजार अमेरिकी डलर) को आर्थिक क्षतिपूर्ति प्रदान गरिनेछ“, रिन्वाले पत्रकारहरूलाई भने ।

जब कुनै व्यक्ति डिहाइड्रेटेड हुन्छ, अत्यधिक गर्मीका कारण रगत जम्ने र अङ्गहरुले काम गर्न छोड्ने भई मानिसहरुको मृत्यु हुने विशेषज्ञहरु बताउँछन् ।

“बालिया सहरमा मतदान गर्न लाइनमा पर्खिरहेका एक मतदाता मतदानस्थलमा नै बेहोस भए। मतदातालाई स्वास्थ्य केन्द्रमा लगिएको थियो जहाँ आइपुग्दा उहाँलाई मृत घोषित गरियो“, रिन्वाले छुट्टै घटनाबारे जानकारी गराउदै भने । बढ्दो तापक्रमसँग भारत अपरिचित छैन। तर जलवायु परिवर्तनले तातो छालहरू लामो, बारम्बार र तीव्र हुँदै गइरहेको वर्षौंको वैज्ञानिक अनुसन्धानले पत्ता लगाएको छ ।

उत्तर कोरियाले फोहोर भरिएका थप ६ सय बेलुन दक्षिण कोरियातर्फ पठाइयो

उत्तर कोरियाले करिब ६ सय वटा फोहोरले भरिएका बेलुन सीमामा पठाएको सियोलको सेनाले आइतबार बताएको छ । सुरक्षाकर्मीहरूले चुरोटका बट्टादेखी प्लास्टिकसम्म रहेको उक्त फोहोरको बेलुन सङ्कलन गरिरहेका छन्।

“उत्तर कोरियाले शनिबार साँझ ८ बजे देखि दक्षिण कोरियातर्फ पुनः फोहोरका बेलुनहरू पठाउन सुरु गरेको हो“, सियोलको ज्वाइन्ट चिफ्स अफ स्टाफ(जेसिएफ) ले एक विज्ञप्तिमा बताएको छ ।

आइतबार बिहान करिब १० बजे सम्म प्रति घण्टा लगभग बीस देखि पचासका दरले लगभग ६०० बेलुनहरू हावामा उडिरहेको पहिचान गरिएको थियो ।

बेलुनहरू राजधानी सियोल र ग्योन्गी छेउछाउका क्षेत्रसहित दक्षिण कोरियाको उत्तरी प्रान्तहरूमा अवतरण गरिरहेका छन् । यो सामूहिक रूपमा दक्षिणको लगभग आधा जनसंख्या बसोबार गर्ने क्षेत्र हो ।

उत्तर कोरियाले यस हप्ताको सुरुबाट फोहोर बोकेका सयौं बेलुनहरू दक्षिणतर्फ पठाउन थालेको हो । सियोलले प्योङहाङको उक्त कार्य तुच्छ भएको भन्दै यदि यस्तो तर्कहीन उक्साहट नरोके कडा प्रतिकारको चेतावनी दिएको छ।

“हाम्रो सेनाले बेलुनको छोडिएका स्थानहरुबाट निगरानी गरिरहेको छ र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै खसेका बेलुनहरु सङ्कलन गर्दैछ“, उत्तर कोरियाले मङ्गलबारदेखि करिब ९०० फोहोर भरिएका बेलुन दक्षिणतर्फ पठाएकोमा कुनै खतरनाक पदार्थ फेला नपरेको जेसिएफले बताएको छ ।

एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्न

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अहिलेसम्म ५९ जिल्लाको अधिवेशन सकिएको छ । एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जेठ मसान्तभित्र अधिवेशन सकाउनुपर्ने भएकाले अधिवेशन गर्न बाँकी जिल्लामा यही महिनाभित्र सक्न निर्देशन दिइएको छ ।  

“जेठभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएकाले धमाधम भइरहेको छ,” उनले भने, “अधिवेशन गर्न बाँकी जिल्लाहरुको यही महिनाभित्र सकाउँछौँ ।” उनका अनुसार अब १८ जिल्लाको अधिवेशन गर्न बाँकी छ । तीमध्ये सात जिल्लाको अधिवेशनको मिति तोकिएको र अन्य ११ जिल्लाको मिति तोक्न बाँकी छ । 

प्रचार विभाग प्रमुख गौतमका अनुसार प्यूठान, अर्घाखाँची, रुपन्देही, गुल्मी, नुवाकोट, काठमाडौँ र काभ्रे जिल्लाको अधिवेशन मिति तोकिएको छ । आजदेखि प्यूठान जिल्लाको अधिवेशन हुँदै छ । कोशी प्रदेशको इलाम, मोरङ, तेह्रथुम र मधेस प्रदेशको सिराहा, सप्तरी, धनुषाको मिति तोक्न बाँकी छ । गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको पनि अधिवेशनको मिति तोक्न बाँकी छ ।

एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्न

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अहिलेसम्म ५९ जिल्लाको अधिवेशन सकिएको छ । एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जेठ मसान्तभित्र अधिवेशन सकाउनुपर्ने भएकाले अधिवेशन गर्न बाँकी जिल्लामा यही महिनाभित्र सक्न निर्देशन दिइएको छ ।

“जेठभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएकाले धमाधम भइरहेको छ,” उनले भने, “अधिवेशन गर्न बाँकी जिल्लाहरुको यही महिनाभित्र सकाउँछौँ ।” उनका अनुसार अब १८ जिल्लाको अधिवेशन गर्न बाँकी छ । तीमध्ये सात जिल्लाको अधिवेशनको मिति तोकिएको र अन्य ११ जिल्लाको मिति तोक्न बाँकी छ ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार प्यूठान, अर्घाखाँची, रुपन्देही, गुल्मी, नुवाकोट, काठमाडौँ र काभ्रे जिल्लाको अधिवेशन मिति तोकिएको छ । आजदेखि प्यूठान जिल्लाको अधिवेशन हुँदै छ । कोशी प्रदेशको इलाम, मोरङ, तेह्रथुम र मधेस प्रदेशको सिराहा, सप्तरी, धनुषाको मिति तोक्न बाँकी छ । गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको पनि अधिवेशनको मिति तोक्न बाँकी छ ।

दिल्लीका मुख्यमन्त्री केजरीवाल जेलमा हाजिर हुँदै

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्लीको मदिरा नीति घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा अन्तरिम जमानतको म्याद शनिबार सकिँदै गर्दा आव तिहाड जेल फर्कने भएका छन् ।

केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत दिएको थियो र २ जुनमा तिहाड जेलमा आत्मसमर्पण गर्न भनिएको थियो ।

दिल्लीका मुख्यमन्त्रीले यसअघि अन्तरिम जमानतको म्याद थपका लागि सर्वोच्च अदालतमा अपील गरेका थिए ।

बुधबार सर्वोच्च अदालतले उनको निवेदन खारेज गर्दै उनलाई नियमित जमानतका लागि ट्रायल कोर्ट जाने स्वतन्त्रता दिइएकाले यहाँको निवेदन विचारणीय नभएको बताएको थियो ।

यसैबीच, दिल्लीको राउज एभेन्यू अदालतले कथित अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरणको मुद्दामा चिकित्सकीय कारण देखाउँदै मुख्यमन्त्री केजरीवालले दायर गरेको अन्तरिम जमानत याचिकाबारेमा आदेश शनिबार स्थगित गरेको छ ।

अदालतले ७ दिनको जमानतको माग गर्दै दायर गरिएको याचिकामा जुन ५ तारिखका लागि मिति तोकेको छ भने केजरीवालका वकिलको अनुरोधअनुसार आजै आदेश दिन अस्वीकार गरेको छ ।

केजरीवालका तर्फबाट वरिष्ठ अधिवक्ता एन हरिहरनले आफ्नो पार्टी (आम आदमी पार्टी) का लागि चुनाव प्रचार गर्नका लागि अन्तरिम जमानत दिइएको बताए ।

“पछिल्लो समय पिसाबमा चिनीको मात्रा बढेको छ । चिन्ताको विषय चिनीको उच्च मात्रा र ‘केटो सङ्ख्या’ हो,” मुख्य केजरीवालका वकिलले निवेदनमा भनेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) का तर्फबाट सोलिसिटर जनरल तुषार मेहता र एडिशनल सोलिसिटर जनरल एसभी राजुले केजरीवालले आफ्नो स्वास्थ्य अवस्थालगायतका तथ्यहरू लुकाएको आरोप लगाएका छन् ।

सहकारीमा रहेको जनताको पसिनामा पौडी खेल्नेमाथि कारबाही हुनुपर्छः अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको रकम अपचलन गर्नेहरुमा सर्वसाधारण नभइ राज्यसत्तामा विराजमान नेताहरु नै संलग्नता रहेको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष केसीले राज्य सत्तामा बस्ने नेता र तिनको संरक्षणमा रहेका दलालहरुले जनताको पसिनामा पौडी खेलेको बताए ।

उनले भने, ‘सभामुखज्यू, सहकारीमा निर्मम तरिकाले जनताको पसिनामा जसले पौडी खेलेको छ, त्यस्ता मान्छेलाई कानूनी कारबाही हुनुपर्दछ भन्ने कुराले संसद बन्द भएको हो ? सहकारी मन्त्रालयमा म पनि केही दिन बसेको हुनाले के तितो अनुभव छ भने सहकारीको रकम हिनामिना गर्ने सर्वसाधारण मान्छे होइनन् । ति राज्यसत्तामा विराजमान हुने र तीनको संरक्षणमा वा तीनका दलालहरुबाट सहकारी सञ्चालन गरेर हिनामिना गर्ने हुन् । तीनिहरुलाई मन्त्री र नेताहरुकै संरक्षण हुन्छ ।’

सहकारीकै विषयमा लामो समय संसद अवरुद्ध हुँदा खिसिट्युरि भएको केसीको भनाइ छ ।

सन्दीपलाई भिसा नदिनु सिङ्गो देशमाथि अमेरिकाले गरेको अपमान होः सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले एक नेपाली क्रिकेटरको विषयलाई लिएर परराष्ट्र नीतिप्रति नै प्रश्न गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले क्रिकेटर सन्दीप लामिछानेको भिसा प्रकरण सदनमा उठाएका हुन् । उनले नेपाल अमेरिकाबीचको परराष्ट्र नीतिमा कुनैपनि देशको आन्तरिक विषयमा हस्तक्षेप गर्ने कुरालाई स्वीकार नगर्ने नीतिमै समावेश भएपनि उच्च अदालतले निर्दोष सावित गरेको र आइसीसीले समेत स्वीकृति दिएको व्यक्तिलाई अमेरिकाले भिसा नदिएकोमा रोष प्रकट गरे ।

विश्वमा क्रिकेट र फुटबललाई सबैले रुचाउने र यी खेलका माध्यमबाट देशको नाम उँचो हुनेमा जोड दिएका उनले क्रिकेटमा बलिया टोलीका खेलाडीलाई समेत पछि पारेका सन्दीपलाई नेपालले दोस्रो पटक विश्वकप खेल्दै गर्दा भिसाका कारण रोक लगाउनु उचित नभएको तर्क गरे ।

उनले भने, ‘नेपाललाई संसारभर यदि कसैले चिनाउँछन् भने कि कलाकारले कि खेलाडीले । नेताले होइन । सन्दीपलाई भिसा नदिनु सिङ्गो देशमाथि अमेरिकाले गरेको अपमान हो । आज सिंहलाई खोरमा राखेर सिकार गर्न पठाइँदैछ, नेपालको बेइज्जत गर्न खोजिँदैछ, नेपालको अस्तित्व खतरामा पर्दैछ।’

सन्दीप भिसा प्रकरणमा आक्रोशित देखिएका उनले परराष्ट्र नीतिमाथि नै प्रश्न उठाएका हुन् । ‘सभामुखमार्फत परराष्ट्रमन्त्रीलाई सोध्न चाहान्छु हामीले पञ्चशिलको आधारमा परराष्ट्र नीति बनाएको होकि पार्टीको कार्यकर्ताको मेनिफेस्टोको आधारमा परराष्ट्र नीति बनाएको ?’ उनको प्रश्न थियो ।

पहिरोले सङ्खुवासभामा स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिए

किमाथाङ्का (सङ्खुवासभा) । संखुवासभाको  भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन् ।

शुक्रबारदेखिको लगातारको वर्षापछि आएको पहिरोले  भोटखोला –४ स्थित सेम्बुङ गाउँमा रिदर ज्याबु भोटेको घर पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । घर पुरिएपछि रिदर ज्याबुको परिवार छिमेकीको घरमा बसेका छन् ।

पहिरोले भोटखोला –४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको शिविर र दुई वटा गाडी पनि पुरिएका उनले जानकारी दिए ।  सोही वडाको स्याक्सिलागोलास्थित आधारभूत स्वास्थ्य चौकीको स्वास्थ्य भवनसहित स्वास्थ्य उपकरण पहिरोले पुरिँदा लाखौँको क्षति भएको छ ।

त्यस्तैगरी सोही स्थानमा निर्माणाधीन पाँच शय्याको अस्पताल पुरिएको अध्यक्ष भोटेले बताए । उनका अनुसार कुनै मानवीय क्षति भने भएको छैन ।

छोङराङस्थित ग्रामीण विद्युत् कम्पनीको सामग्री बगाएको छ । बाढीपहिरोबाट भएको क्षतिबारे यकिन विवरण प्राप्त भएको छैन । पहिरोले भोटखोलाका विभिन्न सडक अवरुद्ध भएका छन् ।

डेङ्गुबाट बच्न सचेत रहन महानगरको आग्रह 

काठमाडौँ ।  गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो ।


‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण हुन सक्ने भन्दै अहिलेसम्म सङ्क्रमित नभेटिए पनि आगामी दिनका लागि थप सचेत रहन आग्रह गरिएको कामपा स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताइन् ।


“डेङ्गी बढ्न सक्ने भएकाले महानगर तयारी अवस्थामा छ”, उनले भनिन्, “प्रत्येक वडामा नियमित रुपमा सरसफाइको काम भइरहेको छ ।” 


डेङ्गीबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको महर्जनले बताइन् । सरसफाइ गर्ने कर्मचारी र स्वास्थ्य स्वयंसेविकामार्फत नियन्त्रणका लागि निगरानी बढाइरहेको उनको भनाइ छ ।


स्वास्थ्य विभागका निमित्त प्रमुख महर्जनका अनुसार सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ˗आफ्नो टोलटोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउन, वर्कशप तथा टायर लगायतमा पानी जम्न नदिनका लागि सचेत गराउनुका साथै सरसफाइसमेत गरिरहेका छन् । 


आवश्यक परे महानगरले डेङ्गी नियन्त्रण गर्न ‘बायो लार्भिसाइड’ छर्कने तयारी गरेको छ । “बायो लार्भिसाइड प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट हुन्छन् भने अन्य जीवाणुलाई असर गर्दैनन्”, उनले भनिन् ।


डेङ्गीको मुख्य लक्षण 


डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षणहरू देखा पर्दछ । टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्नेलगायत लक्षण रहेका स्वास्थ्य विभागका निमित्त प्रमुख महर्जनले जानकारी दिइन् । एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्ने उनको भनाइ छ ।


डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने लुगा लगाउने , काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने, पानी ट्याङ्की, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गर्नेलगायत उपाय अपनाउनुपर्ने कामपाको भनाइ छ ।

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड

अत्तरिया (कैलाली) / नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम रु १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रहेको छ । वितरण केन्द्रको चालु आवको वैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापत उक्त बक्यौता रकम रहेको हो ।

चालु आवको वैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम रु दुई करोड ४९ लाख पाँच हजार चार सय एक, घरायसीको रु दुई करोड २४ लाख ५२ हजार एक सय ६०, अन्यको रु दुई करोड ५३ लाख ५३ हजार ८७ र सडकबत्तीको रु १० करोड ९७ लाख ५२ हजार २५ रहेको वितरण केन्द्रका सहायक लेखा अधिकृत विनोद ढकालले जानकारी दिए ।

उनका अनुसार गत आवको असार मसान्तसम्म बक्यौता रकम रु २० करोड १३ लाख २७ हजार थियो । चालु आवमा भने बक्यौता रकम केही घटेको उनको भनाइ छ । चालु आवको वैशाख मसान्तसम्म विद्युत् महसुल भुक्तानी नगर्ने एक हजार पाँच सय ७८ ग्राहकको लाइन काटिएको ढकालले जानकारी दिए ।

“हामीले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली गरिरहेका छौँँ”, वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहिवारले भने, “अरूको त रकम आइनै रहेको छ । सडकबत्तीको बक्यौता रकम अलि बढी छ । त्यसका लागि पनि प्रक्रिया अगाडि बढाएका छौँ ।” गत आवभन्दा चालु आवमा बक्यौता रकम घटेको उनको भनाइ छ ।

वितरण केन्द्रका अनुसार गत आवको असार मसान्तसम्म औद्योगिकको रु दुई करोड ४१ लाख ४२ हजार आठ सय ९१, घरायसीको रु पाँच करोड ७९ लाख २८ हजार तीन सय ६९, अन्य ग्राहकको बक्यौता रकम रु एक करोड ४२ लाख २२ हजार तीन सय ६८ र सडकबत्ती बापतको रु १० करोड ५० लाख ३३ हजार तीन सय ७३ रहेको थियो । नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६२ दशमलव पाँच प्रतिशत रहेका केन्द्रले जनाएको छ ।

अन्तिम मतदानको दिन हृदयघातका कारण ३३ मतदानमा खटिएका कर्मचारीको मृत्यु

लखनऊ / देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको एक शिर्ष निर्वाचन अधिकारीले आइतबार बताएका छन् ।

भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ । एक दिनमा दर्जनौं कर्मचारीहरूको मृत्यको यो खबर दुखको विषय हो । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार उत्तर प्रदेशको झाँसीमा तापक्रम ४६.९ डिग्री सेल्सियस पुगेको छ।

सातौँ तथा अन्तिम चरणको मतदान शनिबार समाप्त भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले गर्मीका कारण ३३ जना मतदानकर्मीको मृत्यु भएको बताए । तथ्याङ्कमा सुरक्षा गार्ड र सरसफाइ कर्मचारीहरू समावेश रहेका थिए । “मृतकको परिवारलाई पन्ध्र लाख भारतीय रुपैँया (अठार हजार अमेरिकी डलर) को आर्थिक क्षतिपूर्ति प्रदान गरिनेछ“, रिन्वाले पत्रकारहरूलाई बताए ।

जब कुनै व्यक्ति डिहाइड्रेटेड हुन्छ, अत्यधिक गर्मीका कारण रगत जम्ने र अङ्गहरुले काम गर्न छोड्ने भई मानिसहरुको मृत्यु हुने विशेषज्ञहरु बताउँछन् । “बालिया सहरमा मतदान गर्न लाइनमा पर्खिरहेका एक मतदाता मतदानस्थलमा नै बेहोस भए। मतदातालाई स्वास्थ्य केन्द्रमा लगिएको थियो जहाँ आइपुग्दा उनलाई मृत घोषित गरियो“, रिन्वाले छुट्टै घटनाबारे जानकारी गराउदै भने ।

बढ्दो तापक्रमसँग भारत अपरिचित छैन। तर जलवायु परिवर्तनले तातो छालहरू लामो, बारम्बार र तीव्र हुँदै गइरहेको वर्षौंको वैज्ञानिक अनुसन्धानले पत्ता लगाएको छ ।

गृहमन्त्रीको अभिव्यक्तिमा गगनको एक्सन, प्रधानमन्त्रीसंग हिसाब किताब लिने

काठमाडौ । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेता लक्षित अभिव्यक्तिप्रति आक्रोस पोखेको छ । गृहमन्त्रीको अभिव्यक्तिमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेसले जवाफ मागेको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको विषेश समयमा बोल्दै कांग्रेस सांसद् एवं महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताए ।

उनले भने,‘ कि प्रधानमन्त्रीले उनको अभिव्यक्तिको अर्न गर्नुस् । होइन भने सदनबाट हटाउन भन्नु’ । ‘त्यसो नभए प्रधानमन्त्रीसँग यही सदनमा हिसाबकिताब लिइन्छ ।’

वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत आपूर्ति सुधार गरिँदै, सबस्टेशन निर्माण सुरु

काठमाडौँ । औद्योगिक नगरी वीरगञ्ज र आसपासका क्षेत्रमा सहज विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले द्रुत गतिमा उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण सुरु गरेको छ ।

औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई उच्च क्षमताको विद्युतीय संरचना आवश्यक परेको हो । वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगलाई विद्युत् आपूर्ति गर्न चालु प्रसारण लाइन तथा सबस्टेसनको स्तरोन्नति भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उच्च क्षमताका केही प्रसारण लाइन तथा सबस्टेसन निर्माणाधीन छन् भने केही प्रस्तावित छन् ।

बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरणका पूर्वाधार क्रमिक रुपमा बनाउन लागेको हो ।

प्राधिकरणले बाराको पथलैया (पिलुवा) सबस्टेसनदेखि परवानीपुरसम्मको करिब १८ किलोमिटर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको तार (कन्डक्टर) बदलेर नयाँ राख्ने काम अन्तिम चरणमा पुर्याएको छ । डबल सर्किटमध्ये एउटा सर्किटबाट विद्युत् आपूर्ति बन्द गरी पुरानो ‘कन्डक्टर’ निकाली उच्च क्षमता (एचटिएलएस) राख्ने काम भइरहेको छ ।

एउटा सर्किटको काम सकिएपछि सञ्चालन गरी दोस्रो सर्किटको काम सुरु हुनेछ । प्रसारण लाइनको स्तरोन्नति आगामी असारको पहिलो हप्ताभित्र सक्ने गरी काम भइरहेको छ । पथलैया (पिलुवा)–परवानीपुर प्रसारण लाइनबाट करिब दुई सय मेगावाट प्रवाह गर्न सकिनेमा ‘कन्डक्टर’ बदलेपछि क्षमता दोब्बर हुने जनाइएको छ ।

हेटौँडा–पथलैया (पिलुवा) एक सय ३२ केभी प्रसारण लाइनको पनि ‘कन्डक्टर’ बदलेर क्षमता दोब्बर बनाइसकिएको छ । यसले परवानीपुरतर्फ थप विद्युत् प्रवाहका लागि सहज हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार स्थलगत अनुगमन गरी ‘कन्डक्टर’ बदल्ने कार्य छिटो सम्पन्न गर्न निर्माण व्यवसायी र आयोजना व्यवस्थापनलाई आग्रह गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङले भने, “प्रसारण लाइनको क्षमता स्तरोन्नतिको कामका लागि एउटा सर्किट बन्द गर्नुपर्दा वीरगञ्ज क्षेत्रमा विद्युत् आपूर्तिको समस्या भएको गुनासो आइरहेको छ, अर्कोतर्फ पथलैयाबाट थप विद्युत पठाउन नसक्दा भारतको रक्सौलबाट विद्युत् आयात गरिरहनु परेको छ, त्यसैले यस्तो संवेदशील अवस्थामा गम्भीर भएर तोकिएकै समय अघि काम सक्नुपर्छ ।”

घिसिङले अब पथलैया–परवानीपुर प्रसारण लाइनको क्षमता हालकोभन्दा दोब्बर हुने भएकाले त्यस क्षेत्रमा खपत गरी बाँकी विद्युत् रक्सौलतर्फ निर्यात गर्न सकिने जानकारी दिए । वीरगञ्ज क्षेत्रका उद्योगहरुले एक सय ३२ केभी प्रसारण लाइनबाटै विद्युत् आपूर्ति लिन सक्ने गरी उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसनहरु निर्माणाधीन रहेको उनले उल्लेख गरे ।

त्यस क्षेत्रका उद्योगलाई लक्षित गरी बाराको प्रसौनी र वीरगञ्जमा एक सय ३२ केभीका दुईवटा सबस्टेसन निर्माणाधीन छन् । विद्युतको बढ्दो औद्योगिक माग पूर्ति गर्न परवानीपुरबाट पोखरियासम्म एक सय ३२ केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ । पोखरियामा सबस्टेसन निर्माणाधीन छ । परवानीपुरदेखि पोखरियासम्म करिब २१ किलोमिटर प्रसारण लाइनको डिजाइन तयार भइसकेको छ ।

हेटौंडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन अन्तर्गत बाराको निजगढमा चार सय केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई रमौली हुँदै पोखरिया पुर्याउने गरी अर्को आयोजना सुरु गरिएको छ । प्रस्तावित उक्त चार सय केभी प्रसारण लाइन आयोजनाको लम्बाइ ६५ किलोमिटर हुने छ ।

निजगढ, रमौली र पोखरियामा चार सय केभीका तीनवटा सबस्टेसन निर्माण गरिने छन् । निजगढ–रमौली–पोखरिया प्रसारण लाइनको सर्वे सम्पन्न भइसकेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतिको प्रक्रियामा छ ।

निजगढ सबस्टेसन भारतको निर्यात आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिने छ । निजगढ–रमौली ३८ किलोमिटर प्रसारण लाइन र रमौलीमा सबस्टेसन एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिनेछ । रमौली–पोखरिया २७ किलोमिटर प्रसारण लाइन र पोखरिया सबस्टेसनको लगानी स्रोत जुटिसकेको छैन ।

मापसे गरेकाहरूलाई कानुन विपरित सडकमा उभ्याएको भन्दै सांसद खतिवडाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देश हुकुमी शासनमा चलाउन खोजेको हो भन्दै आपत्ति जनाएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मापसे गरेकाहरूलाई कानुन विपरित सडकमा उभ्याएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले ट्वीट गरेर देश चलाउन मिल्छ भन्दै प्रश्न गरे । उनले भने, ‘ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीलाई महिनावारीमा चार दिन बिदा दिने । कानुन बनाएर गर्दा स्वागत गर्छाैँ, धन्यवाद दिन्छौँ। तर मापसेमा लर्बर हुँदै ट्राफिकको काम गर्न थालेपछि पहेँलो ज्याकेट लगाउने सबै मापसेमा परेमा भन्ने भान भयो भने मुलुक कतातिर जान्छ ? तिनीहरूको इज्जत कता जान्छ ? त्यसैले यो काम तुरुन्त बन्द गरेर कानुनअनुसार शासन चलाउने व्यवस्थाको सुरुवात होस् ।’

उनले २००७ सालदेखि हुकुमी शासनविरुद्ध कांग्रेस लड्दै आएको भन्दै अहिले पनि हुकुमी शासनविरुद्ध आफूहरू रहेको बताए । उनले कानुनी राज्यमा हुकुमी हैन काुननी शासन हुनुपर्ने उल्लेख गरे ।

काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि..

काठमाडौं । काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ ।

“धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो”, यात्री मञ्जु शाहीले भनिन्, “नेल पलिसको गन्धका कारण विमान फर्काइएको हल्ला चल्यो छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।” यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ । विमानको ८ः२५ बजेको उडान तालिका थियो ।

विमानभित्र इन्धनको गन्ध आएको र प्राविधिक परीक्षणका लागि फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकराी दिए । अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उनले बताए ।

एकीकृत समाजवादीको महाधिवेशनको तयारी तीव्र

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार द्रुत गतिमा काम अघि बढाएका हुन् ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार व्यवस्थापन कमिटीका सम्बन्धित निकायले सदस्यता अभिलेख, कार्यप्रगतिको विवरण केन्द्रमा बुझाएका छन् ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्न लागिएको दशौँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरी सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।

केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणित गरेपछि त्यसको नामावली विवरण सम्बन्धित कमिटीमा पठाएको छ ।

महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी, विधान र साङ्गठनिक दस्तावेजलाई थप छलफल गर्न सबै जिल्ला तथा कमिटीहरूमा पठाइएको छ । सबै कमिटीले मस्यौदा दस्तावेजमाथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरुलाई यही जेठ ३२ गतेसम्म छलफल गराउने तालिका छ ।

तल्लो तहदेखि नै आएका सुझावलाई समेटेर ती दस्तावेज थप समृद्ध बनाइने र चार वटै दस्तावेजलाई एउटै साझा प्रतिवेदन बनाएर महाधिवेशनमा लैजाने तयारी गरिएको उपप्रमुख अर्यालले जानकारी दिए ।

क्यानडालाई ८ विकेटले हराउँदै विश्वकपमा आयोजक अमेरिकाको विजयी शुरुवात

काठमाडौं । आईसीसी टि-२० विश्वकपमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आइतबार बिहान भएको उद्घाटन खेलमा क्यानडालाई ८ विकेटले हराउँदै अमेरिकाले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

जितको लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ४ विकेटको क्षतिमा १ सय ९७ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । अमेरिकाको लागि एरोन जोन्सले सर्वाधिक ९४ रन बनाए । उनले ४० बलमा १० छक्का र ४ चौकाको मद्द्तमा ९४ रन बनाए । यस्तै एन्ड्रेस गोउसले ६५ र मोनाक पटेलले १६ रन बनाए ।

क्यानडाको लागि कलिम साना, डिलोर हाइलिगर र निखिल दत्तले समान एक/एक विकेट लिए ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ६१ रन जोडे । यस्तै निकोलस किर्तोनले ५१, आरोन जोनसनले २३, पर्गत सिंहले ५, दिलप्रीत बाज्वाले ५,श्रेयास मोभ्भाले ३२ र डिलोन हेलिगरले १ रन बनाएका थिए ।

बलिङतर्फ अमेरिकाका अलि खान, हर्मित सिंह र कोरे एण्डरसनले एक/एक विकेट लिए । जितसँगै अमेरिकाले दुई अङ्क जोडेको छ ।

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ ।

मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो खसेको हो । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सुनसरीमा कारभित्र बोरामा राखिएको एक करोड १ लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । सुनसरीको हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट बसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारबाट उक्त रकम बरामद गरेको हो ।

कारभित्र बोरामा लुकाएको अवस्थामा एक हजार दरका ९ हजार ७०० थान नोट (९७ लाख) र ५०० दरका ८०० थान नोट (चार लाख) बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

रकमसँगै कार र चालक सुनसरीको हरिनगर गाँउपालिका–५ का ३७ वर्षीय इसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ । रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति लन्डनमा रहेको वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो ।

रियललाई उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा निस्किएका हुन् ।

कार्भाजालले ७४ औं मिनेटमा टोनी क्रुजको सहयोगमा हेडर गोल गर्दै रियलको गोलको खडेरी तोडेका थिए । यस्तै, ८३ औं निेटमा जुड बेलिङघमले दिएको पासलाई जुनियरले गोलमा परिणत गर्दै रियललाई २–० को अग्रता दिलाए ।

त्यसपछि थप गोल नभएपछि रियल मड्रिडले च्याम्पियन्स लिगको १५ औं उपाधि जित्न सफल भयो । सन् १९९७ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको जर्मन क्लब डर्टमन्ड भने उप विजेतामा सीमित भयो ।

दक्षिण अफ्रिकामा सत्तारूढ एएनसीले गुमायो बहुमत

दक्षिण अफ्रिकाको सत्तारुढ ‘अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी)’ले तीन दशक पुरानो पूर्ण बहुमत गुमाएपछि नयाँ सरकार गठनका लागि सहयोगीको खोजीको सामना गर्नुपरेको छ ।

राष्ट्रपति सिरिल रामाफोसाको दलले बुधबारको निर्वाचनको ९९ प्रतिशत मत गणना सकिँदासम्म ४० प्रतिशत मात्र मत प्राप्त गरेको छ । सन् २०१९ मा एएनसीले ५७.५ प्रतिशत मत प्राप्त गरी विजय हाँसिल गरेको थियो ।

सन् १९९४ मा नेता नेल्सन मण्डेलाले देशलाई अल्पसङ्ख्यक श्वेतहरूको शासनबाट मुक्त गर्दै प्रजातन्त्रमा रूपान्तरण गरेपछि दक्षिण अफ्रिकामा एएनसीले पूर्ण बहुमत प्राप्त गर्दै आएको थियो ।

एएनसीले बजेट र कानून पारित गर्न समर्थनको लागि अन्य पार्टीहरूमा निर्भर अल्पसङ्ख्यक सरकार गठन गर्न अनुमति दिन अब या त गठबन्धन सरकारको लागि वार्ता गर्नुपर्छ, वा कम्तिमा अन्य पार्टीहरूलाई रामाफोसाको संसदमा पुनः निर्वाचनलाई समर्थन गर्न राजी गर्नुपर्दछ ।

“हामीले चुनावअघि नै सबैसँग कुरा गरिरहेका छौं”, एएनसीका उपमहासचिव नोमवुला मोकोन्यानेले भने, “पार्टीको राष्ट्रिय कार्यकारी समितिको बैठक बसेर अन्तिम परिणाम घोषणा भएपछि कार्यदिशा तय गर्नेछ ।”

“यो हाम्रो देशमा सरकार र स्थिरता दुवै सुनिश्चित गर्ने बारेमा हो, ” उनले भने ।

निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि रामाफोसालाई पार्टीले प्रतिस्थापन गर्न सक्छ कि सक्दैन भन्नेबारे उनले भने, “अहिलेका लागि, यो कुनै मुद्दा होइन ।”

स्वतन्त्र निर्वाचन आयोग (आईईसी) को तथ्याङ्कअनुसार लोकतान्त्रिक गठबन्धन (डीए) २१.७१ प्रतिशतका साथ दोस्रो स्थानमा रहेको छ ।

पश्चिमी केप प्रान्तमा प्रभाव रहेको डीए गठबन्धनले एएनसीको बामपन्थी परम्परासँग बाझिएको स्वतन्त्र बजारलाई चुनावी नारा बनाएको थियो ।

एएनसीसँग गठबन्धनको सम्भावनाबारे सोधिएको प्रश्नमा डीए पार्टीकी अध्यक्ष हेलेन जिलेले भने, “वार्ता सुरु भएको छैन तर केही सम्पर्कमाध्यम बनेका छन् । अहिले व्यक्तिगतरूपमा कुरा भइरहेको छ ।”

उनले एएनसीलाई एक्लै शासन गर्ने प्रयास गर्न दिने सम्भावनालाई पनि इन्कार गरेनन् । उनले एएफपीसँग भने, “दक्षिण अफ्रिकामा अल्पमतको सरकार पूर्ण रूपमा नयाँ हुनेछ तर यो अरूका लागि एक विकल्प हो ।”

तेस्रो स्थानमा पूर्व राष्ट्रपति ज्याकोब जुमाको समर्थन रहेको उमखोन्तो वीसिज्वे (एमके) ले १२.६ प्रतिशत रहेको छ । यो परिणाम एएनसीका पूर्व प्रमुख र केही महिनाअघि स्थापना भएको पार्टीका लागि आश्चर्यजनक नतिजा हो अर्थात् यो एमकेको अपेक्षाभन्दा राम्रो परिणाम हो ।

निर्वाचनमा वामपन्थी दल इकोनोमिक फ्रिडम फाइटर (ईएफएफ) ले ९.४ प्रतिशतका साथ चौथो स्थानमा हाँसिल गरेको छ ।

मुगुमा यार्सा सङ्कलनमा गएका चारजनाको मृत्यु, एक सिकिस्त

मुगु । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो ।

लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।

शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।

संघीय संसदका दुबै सदनमा आजदेखि बजेटमाथि छलफल हुने

काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने आजै दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बोलाइएको छ ।

दुवै सदनमा आज सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची राखिएको छ । आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते (मंगलबार) संसद्मा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ। आजै दिउँसो सवा १ बजे सुरु हुने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा पनि राजस्व र व्ययमाथिको वार्षिक अनुमानमाथि छलफलको कार्यसूची छ ।

यो संगै राष्ट्रिय सभामा उद्योग, वाणिज्य तथा आपूती मन्त्री दामोदार भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिने अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तथा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेद सभा समक्ष पेश गर्ने संसद् सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेले जानकारी गराएका छन् ।

दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

तुलसीपुर (दाङ) । दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ । शनिबार साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

टिनले छाएको एककोठे घरमा घत्रीसँगै रहेकी उनकी श्रीमतिले भने भागेर ज्यान जोगाएकी छन् ।

किमाथाङ्का नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै

किमाथाङ्का (सङ्खुवासभा) । चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि भोटखोलाको दैनिकी सहज बन्दै गएको छ ।

यही जेठ १२ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तिब्वत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा एक समारोहका बीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ नाका पुनःसञ्चालनमा आएको घोषणा गरेका थिए । कोरोना महामारीका बेला चीन सरकारले विसं २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो ।

नाका पुनःसञ्चालनमा ल्याइ सीमावर्ती क्षेत्रमा सहज आवतजावतको व्यवस्था मिलाउन भोटखोलावासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । नाका सञ्चालनमा आएपछि भोटखोलाका व्यापारीले तीन दिनमा एक करोड बराबरको कारोबार गरेको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए ।

नाका सञ्चालन भएपछि यहाँका ४३ जना व्यापारीले भोटखोलामा उत्पादित जडीबुटी, स्थानीयस्तरमा निर्मित हस्तकलाका सामग्रीबाट एक करोड कारोबार गरेका अध्यक्ष भोटेले बताए ।

“भोटखोलाका नागरिकले परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । हिमाली क्षेत्रमा उत्पादन हुने परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा सहजै प्रवेश पाएको छ । उत्तरी क्षेत्रमा रहेका व्यापार नाका खुलेसँगै सीमा क्षेत्रमा राज्यको उपस्थिति बढ्दै छ”, अध्यक्ष भोटेले भने ।

भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । त्यस क्षेत्रमा करिब पाँच हजारको बसोबास छ । आलु र कोदोमात्र उत्पादन हुँदै आएको त्यस क्षेत्रका नागरिकले सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु भित्राएर जीविका चलाउँदै आएका थिए । बन्द नाका खुलेपछि त्यो अवसरबाट बञ्चित भएका स्थानीयले अब चिनियाँ भूभागमा गएर रोजगारी गर्न पाउने अवसर खुलेको छ ।

किमाथाङ्कामा विसं २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो तर द्वन्द्वका कारण विसं २०५७ सालदेखि सदरमुकाम खाँदबारीबाट सञ्चालन हुँदै आएको छ ।

नाका खुलेपछि भोटखोलाका किमाथाङ्का, च्याम्ताङ्ग, चेपुवा, हटियालगायतका स्थानीयलाई राहत मिलेको छ । सदरमुकामबाट सडक यातायात नजोडिएकाले खच्चरबाट उपभोग्य वस्तु ढुवानी गर्दा महँगो पर्दै आएको थियो । किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेरमात्र नाकामा पुग्न सकिन्छ । खाँदबारी किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीबाट किमाथाङ्काको दूरी एक सय ६२ किलोमिटर छ ।

देशभर तापक्रम घट्यो, कहाँ कति छ ?

काठमाडौँ । नेपालगञ्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेर ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम भयो । त्यसपछि धनगढीमा ४४ दशमलव एक डिग्री मापन भएको तापक्रम त्यसको दुई दिनपछि आज देशभरकै तापक्रम घटेको छ । 

ठाउँठाउँमा वर्षा भएकाले अधिकतम तापक्रममा गिरावट आएको जल तथा मौसम विज्ञमान विभागले जनाएको छ । विभागले आज साँझ ६ बजे अद्यावधिक गरेको तापक्रमको विवरणअनुसार रेकर्ड ब्रेक गरेको नेपालगञ्जको तापक्रम शनिबार ४१ दशमलव चार डिग्रीमा झरेको छ । यस्तै धनगढीमा ४० दशमलव सात डिग्री रहेको छ ।

सोही दिन पोखरामा ३४ र काठमाडौँमा ३४ दशमलव चार डिग्री तापक्रम मापन भएकामा आज झरेर पोखरामा अधिकतम तापक्रम ३१ दशमल पाँच  र काठमाडौँमा ३२ डिग्री रहेको छ ।

जेठ १७ गते बिहीबार विराटनगरमा ४१ डिग्री थियो आज त्यहाँ ३४ मा झरेको तथा दाङको घोराहीमा ४० दशमलव दुई डिग्री रहेकामा आज ३५ दशमलव दुई डिग्रीमा झरेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको देशभरको तापक्रम मापनको विवरणअनुसार आज दीपायलमा ३९ दशमलव चार, वीरेन्द्रनगरमा ३८ दशमलव एक, डडेलधुरामा ३१ दशमलव चार, जुम्लामा २८ दशमलव नौ, भैरहवामा ३७ दशमलव दुई, सिमरामा ३६ दशमलव छ, ओखल्ढुङ्गामा २८, ताप्लेजुङमा २६ दशमलव आठ र धनकुटामा ३० दशमल पाँच डिग्री अधिकतम तापक्रम मापन भएको छ ।

यस्तै जोमसोममा, २२ दशमलव पाँच, धरानमा ३३ दशमलव छ,  लुम्लेमा २५ दशमलव पाँच, जनकपुरमा ३५ दशमलव आठ र दोलखाको जिरीमा २४ दशमलव  चार डिग्री तापक्रम मापन भएको महाशाखाले जानकारी दिएको छ ।  

आज नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ ।

हाल कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका  एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ, हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । 

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

शिक्षक भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिकालाई

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिकाले जितेको छ ।

थाङ्पाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी–४ मा शनिबार सम्पन्न फाइनलमा मेलम्ची नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै जुगलले उपाधि जितेको हो । जुगलले उपाधिसँगै नगद ५० हजार र उपविजेता मेलम्चीले ३० हजार प्राप्त गरेको छ ।

आजै भएको सेमिफाइनलमा मेलम्चीले इन्द्रावती र जुगलले पाँचपोखरीलाई सोझो सेटमा पराजित गरेका हुन् । तेस्रो स्थानका लागि भएको खेलमा पाँचपोखरीले इन्द्रावतीलाई पराजित गर्दै नगद २० हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा जिल्लाका आठ पालिकाका नौ टिम सहभागी रहेका पाँचपोखरी खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट डिफेन्स मेलम्चीका नेत्रबहादुर तामाङ, उत्कृष्ट लिफ्टर इन्द्रावतीका कृष्ण गिरी, उत्कृष्ट स्पाइकर जुगलका खुमराज वली र उत्कृष्ट खेलाडी पाँचपोखरीका ढकबहादुर खड्का घोषित भए ।

शुक्रबारदेखि सुरू भएको प्रतियोगितामा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका–२ टिम, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, चौतारा सागाँचोकगढी नगरपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका, हेलम्बु गाउँपालिका, सुनकोशी गाउँपालिकाको सहभागिता रहेको थियो ।

विजेतालाई पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारीलगायतले पुरस्कार प्रदान गरे । शिक्षकको पेसासँगै सिर्जनात्मक कार्यमा प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष ग्याल्बो साम्देनले जानकारी दिए ।

लगानी सम्मेलनमा सोकेसमा राखिएका १२ परियोजनाको आशयपत्र माग गर्ने समय एक महिना थप

काठमाडौँ । गत वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना भएको तेस्रो लगानी सम्मेलनका क्रममा सोकेसमा राखिएकामध्ये १२ वटा परियोजनाको आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट–इओआई) माग गर्ने समय थपिएको छ । लगानी बोर्डका अनुसार लगानीकर्तालाई आशयपत्र पेस गर्न थप ३० दिनको समय दिइएको छ ।

“आशयपत्र माग गर्ने समय बढाउँदा थप आशयपत्र आउनसक्ने र प्रतिस्पर्धा हुने भएकाले यस्तो निर्णय भएको हो”, बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले भने ।

लगानी बोर्डका अनुसार पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र, चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन दु्तमार्ग, जानकी हेरिटेज होटेल एण्ड कल्चरल भिलेज, धुलिखेल मेडिसिटी परियोजना, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना, बबरमहल प्रशासनिक प्लाजा परियोजना, दैजी औद्योगिक क्षेत्र र गौतमबुद्ध प्रसूति अस्पतालको आयशपत्र पेस गर्ने समय आगामी असार १८ गते (२०२४ जुलाई २) सम्मका लागि थपिएको छ ।

त्यस्तै, नौमुरे बहुउद्देश्यीय परियोजना, कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजना, खिम्ती ठोसे शिवालय जलाशययुक्त जलविद्युत् आयोजना, भारबुङ जलाशययुक्त जलविद्युत् आयोजनाको आशयपत्र पेस गर्ने समय आगामी असार २८ गते (२०२४ जुलाई १२) सम्मका लागि थप गरिएको लगानी बोर्डले जनाएको छ । आशयपत्र पेस गर्ने समय थप गरिएका यी आयोजना लगानी बोर्डमार्फत अगाडि बढाउने तयारी भइरहेको छ ।

तेस्रो लगानी सम्मेलनका क्रममा विभिन्न २० वटा आयोजनालाई लगानीकर्ताहरुबाट आशयपत्र माग (एक्सप्रेसन अफ इन्ट्रेस्ट–इओआई) गर्नेगरी सोकेसमा राखिएको थियो । आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएका तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढिसकेका आयोजनाहरुमा लगानी सम्मेलनमार्फत् स्वदेशी तथा विदेशी लगानीकर्ताबाट आशयपत्र माग गरिएको थियो ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा धुलिखेल मेडिसिटी परियोजनालाई विशिष्टिकृत (सुपर स्पेशलिटी) अस्पतालका रूपमा परिकल्पना गरेर प्रस्ताव तयार गरिएको छ । यो परियोजनाको प्रस्तावित लागत रु ११ अर्ब रहेको छ ।

आधुनिक प्रविधिसँगै विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो परियोजना निर्माण गर्ने सरकारको योजना रहेको छ । विश्वस्तरीय स्वास्थ्य केन्द्र स्थापना र स्वास्थ्य सेवा लिनका लागि स्वास्थ्य पर्यटनको केन्द्रका रुपमा विकास गर्ने परियोजनाको लक्ष्य छ ।

सुदूरपश्चिम सार्वजनिक यातायात परियोजनाअन्तर्गत कैलाली, कञ्चनपुर र डोटी जिल्लाको यातायात अवस्थालाई सुधार गर्ने लक्ष्य राखिएको छ । परियोजनामा एक सय ७२ बस (६८ डिजेल बस, एक सय चार विद्युतीय बस) तथा ४७ बस बिसौनी प्रस्ताव गरिएको छ ।

धनगढीदेखि चिसापानीसम्म २१ वटा, टीकापुर–लम्कीसम्म चार वटा, कञ्चनपुरको गड्डाचौकीदेखि अत्तरियासम्म १० वटा र अत्तरियादेखि डोटीसम्म १२ वटा बस बिसौनी निर्माण हुनेछ । सो सडकखण्डका विभिन्न स्थानमा पेट्रोल पम्प र चार्जिङ स्टेशनहरु पनि निर्माण गर्ने योजना छ । यसको प्रस्तावित लागत ३१ अर्ब १३ करोड बराबर रहेको छ । यो परियोजना निर्माण सुरु भएको तीन वर्षभित्र बनाइसक्ने लक्ष्य लिइएको छ । सुदूरपश्चिममा विद्युतीय बस सञ्चालन र यातायात सुविधाहरुमा स्तरोन्नति गर्नका लागि सन् २०२३ मा पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो ।

जलविद्युत् उत्पादन र सिँचाइका लागि नौमुरे बहुउद्देश्यीय आयोजना निर्माणका लागि पनि लगानी सम्मेलनमार्फत प्रस्ताव आह्वान गरिएको थियो । यो आयोजनाको लागत ९२ अर्ब अनुमान गरिएको छ । कुल दुई सय ८१ दशमलव ०४ मेगावाट उत्पादन क्षमताको यो परियोजनाले तीनवटा जलविद्युत् योजनालाई समेटेको छ ।

जसमा नौमुरे (२१८ दशमलव ३४ मेगावाट), लामाताल (आठ मेगावाट), र सुरैनाका (५४ दशमलव सात मेगावाट) क्षमताका छन् । कपिलवस्तु सिँचाइ प्रणालीसँगै यसले देउखुरी उपत्यकाको विद्यमान सिँचाइ प्रणालीलाई पनि समेट्छ । यो परियोजनाबाट बाँकेमा ४२ हजार सात सय ६६ हेक्टर र कपिलवस्तुमा २९ हजार सात सय ३६ हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ ।

एक हजार दुई सय १६ मेगावाट विद्युत् उत्पादन क्षमताको खिम्ती ठोसे शिवालय जलाशयुयुक्त आयोजना दोलखा र रामेछापको सिमानामा पर्छ । यो नेपालका ठूला जलविद्युत् परियोजनामध्येको एक हो । यो आयोजनाको प्रस्तावित लागत अनुमान दुई खर्ब ८९ अर्ब ७७ करोड बराबर रहेको छ ।

तनहुँ, पाल्पा, नवलपुर र स्याङ्जामा निर्माण प्रस्ताव गरिएको कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता छ सय ५० मेगावाट रहने छ । कुल रु एक खर्ब ७४ अर्ब ७३ करोड बराबर लागत अनुमान गरिएको यो परियोजनाका लागि १० हजार नौ सय ३४ हेक्टर जमिन आवश्यक पर्नेछ ।

सत्तरी प्रतिशत ऋण तथा ३० प्रतिशत स्वपुँजी रहने गरी यो आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचा प्रस्ताव गरिएको छ । आयोजनाको पूर्वसम्भाव्यता अध्ययनको काम सकिसकेको छ भने सन् २०२५ सम्ममा वातावरणीय प्रभाव मूल्याङ्कन सकिसक्ने लक्ष्य राखिएको छ ।

तीन सय ७७ दशमलव एक मेगावाट उत्पादन क्षमता र रु ८० अर्ब १२ करोड बराबर लागत अनुमान गरिएको भारबुङ जलाशययुक्त जलविद्युत् आयोजनालाई पनि लगानी सम्मेलनमार्फत् आशयपत्र माग गर्नका लागि सोकेसमा राखिएको थियो । यो आयोजना डोल्पाको ठूलीभेरी नदीमा निर्माण गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको पूर्वसम्भाव्यता अध्ययनको काम सकिसकेको छ भने सन् २०२४ भित्रै सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन सकिसक्ने लक्ष्य राखिएको छ ।

लगानी बोर्डका अनुसार पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र परियोजनाको अनुमानित लागत तीन अर्ब ७२ करोड रहेको छ । यस परियोजनाअन्तर्गत पाँच तारे होटल, रेष्टुराँ, सङ्ग्रहालय र बालउद्यान सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

जसमा पाँच सय जनासम्म अटाउन सक्ने एम्पिथिएटर, दुई वटा प्रदर्शनी कक्ष, पाँचतारे होटल (दुई सय कोठाको), रेस्टुराँ र फूड कोर्ट, सङ्ग्रहालय र स्मारिका कोठा, बालउद्यान, तीन हजार मानिस अटाउने सम्मेलन केन्द्र, पिकनिक क्षेत्र रहने गरी आयोजना प्रस्ताव गरिएको छ ।

लगानी सम्मेलनका क्रममा दैजी औद्योगिक क्षेत्र परियोजनाका लागि पनि लगानीकर्ताबाट आशयपत्र माग गरिएको थियो । यो औद्योगिक क्षेत्रको अनुमानित लागत आठ अर्व ६० करोड रहेको छ ।

यस औद्योगिक क्षेत्रको औद्योगिक उत्पादन र उत्पादकत्वमा सुधार गर्ने र स्थानीय विशेषज्ञता, उपलब्ध स्रोतसाधनको उपयोग गर्ने र निर्यात प्रवर्द्धन गर्ने लक्ष्य रहेको छ । जसअन्तर्गत एक सय औद्योगिक प्लट, ठूला सवारी साधन पार्किङ क्षेत्र, प्रशासनिक ब्लक, हेलिप्याड, पेट्रोल पम्प, तौल स्टेशन, पानी आपूर्ति र फायर फाइटिङ प्रणाली, विद्युतीय प्रणाली जडान गर्नेजस्ता काम परियोजनाभित्र प्रस्ताव गरिएका छन् ।

विभिन्न सरकारी कार्यालयहरू राख्ने लक्ष्यका साथ बबरमहल प्रशासनिक प्लाजा निर्माणका लागि लगानी सम्मेलनमार्फत् आशयपत्र माग गरिएको थियो । कुल २० हजार २१ वर्ग मिटरमा फैलिएको यो परियोजनाको अनुमानित लागत १० अर्ब २० करोड रहेको छ ।

लगानी बोर्डद्वारा अध्ययन भएको चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग परियोजनाको अनुमानित लागत दुई खर्ब २१ अर्ब रहेको छ । प्रस्तावित यस दु्रतमार्गले चितवनबाट काठमाडौँ उपत्यका जोड्ने यातायात सञ्जाललाई छिटो र भरपर्दो बनाउने लक्ष्य लिइएको छ । यो सडक पूर्वाधारका क्षेत्रमा लगानीका लागि प्रस्ताव गरिएको ठूलोमध्येको एक आयोजना हो ।

त्यसैगरी, लगानी बोर्डद्वारा अध्ययन गरिएको जानकी हेरिटेज होटेल एण्ड कल्चरल भिलेज परियोजनाको अनुमानित लागत दुई अर्ब ३५ करोड रहेको छ । जनकपुरधामलाई मुख्य पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न तथा त्यस क्षेत्रलाई पर्यापर्यटनका रुपमा विस्तार गर्न यो परियोजना निर्माणका लागि प्रस्ताव गरिएको छ ।

बाइडनद्वारा गाजा युद्ध अन्त्य गर्ने इजरायली प्रस्ताव सार्वजनिक

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले गाजा द्वन्द्व अन्त्य गर्न इजरायलले हमाससामु ल्याएको प्रस्ताव स्वीकार गर्न आग्रह गरेका छन् । तीन किस्ताको प्रस्ताव अन्तर्गत ६ हप्ता लामो युद्धविराम हुनेछ र सो समयमा इजरायल डिफेन्स फोर्सेज बढी जनसङ्ख्या भएका क्षेत्रबाट फिर्ता हुनेछ ।

मानवीय सहायता पुर्याउने क्रमलाई तीव्र बनाइनेछ भने प्यालिस्टिनी बन्दीहरूको सट्टा केही बन्धकहरू रिहा गरिनेछन् । यो सम्झौताले स्थायी रूपमा ‘युद्धलाई अन्त्य’ गर्नेछ र गाजाको पुनर्निर्माणको एउटा प्रमुख योजना तय गरिनेछ । हमासले उक्त प्रस्तावलाई आफूले ‘सकारात्मक’ ढङ्गले हेरेको जनाएको छ।

शुक्रवार ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडनले पहिलो चरणको प्रस्तावित योजनाले ‘पूर्ण युद्धविराम’, बढी जनसङ्ख्या भएका क्षेत्रबाट आईडीएफका सैनिकहरूको फिर्ती र प्यालेस्टिनी बन्दीहरूको साटो बन्धकहरूको रिहाइलाई समेट्ने बताए ।

उनले युद्धविरामले घेराबन्दीमा परेको उक्त भूभागमा थप मानवीय सहायता पुग्न दिने भन्दै ‘प्रत्येक दिन गाजामा सहायता सामाग्री बोकेका ६०० वटा ट्रक पुग्न सक्ने’ जनाए ।

दोस्रो चरणमा सबै जीवित बन्धकको रिहाइ हुने र त्यसमा पुरुष सैनिकहरू पनि समावेश गरिने भनिएको छ । त्यसपछि युद्धविराम ‘स्थायी रूपमा युद्धको समाप्तिमा’ परिणत हुने भनिएको छ । हमासलाई यो प्रस्ताव स्वीकार गर्न अनुरोध गर्नेमा ब्रिटेनका विदेशमन्त्री डेविड क्यामरन पनि छन् । उनले सामाजिक सञ्जाल एक्समा उक्त समूहले सम्झौतालाई स्वीकार गर्नुपर्ने र त्यसो भए लडाइँ अन्त्य भएको देख्न सकिने’ बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यी घटनाक्रमको स्वागत गरेका छन् । उनले विश्वले ‘गाजामा ज्यादै धेरै पीडा र ध्वंस देखेको’ भन्दै त्यसलाई ‘रोक्न पर्ने समय’ भइसकेको जनाए।

राष्ट्रपति बाइडनको पहलकदमीलाई स्वागत गर्दै उनले त्यसले मध्यपूर्वमा अन्ततः शान्ति ल्याउन सक्ने टिप्पणी गरे । आफ्नो सम्बोधनमा बाइडनले पहिलो चरण र दोस्रो चरणबीचको वार्ता कठिन हुने स्वीकार गरेका छन्।