`

लघु, घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्द्धनका लागि बजेट मौन बस्योः महासंघ

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटले साना तथा मझौला उद्योगको विकास र प्रवर्द्धनका लागि स्पष्ट योजना ल्याउन नसकेको बताएको छ ।

बजेटबारे शनिबार विज्ञप्ति जारी गरी महासङ्घले अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने साना उद्योग प्रवर्द्धनका लागि बजेटमा योजना नपर्नु दुःखद रहेको जनाएको छ ।

“बजेटमा कृषि, शिक्षा, ऊर्जा, पर्यटन, वित्तीय क्षेत्र सुधारजस्ता विषयलाई प्राथमिकता दिइए पनि औद्योगिक क्षेत्र र अर्थतन्त्रको ठूलो हिस्सा रहेको लघु, घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्द्धनका लागि बजेट मौन छ”, महासङ्घले भनेको छ ।

विगतमा दिँदै आएको सहुलियतपूर्ण कर्जा, पुनर्कर्जाका बारेमा बजेट मौन देखिएकाले यसलाई निरन्तरता दिनका लागि आगामी मौद्रिक नीतिमार्फत केही व्यवस्था हुनुपर्ने पनि महासङ्घको माग छ ।

“देशभरका लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी वस्तुको बजार प्रवर्द्धन गर्न अन्तर्राष्ट्रियस्तरको निर्यात गृह स्थापनाका लागि महासङ्घले दिएको सुझावलाई समेत बजेटमा समेटिएको छैन । त्यसैले आगामी मौद्रिक नीतिमार्फत केही विषयहरू समेट्न जरुरी छ”, महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

उद्योग मन्त्रालयअन्तर्गतका विभिन्न कोषहरूलाई एकीकृत गरी बनाइएको औद्योगिक तथा लगानी प्रवर्द्धन कोष सञ्चालन कार्यविधिको मस्यौदाले पूर्णता पाउन नसकेको अवस्थामा कोषलाई प्रभावकारी बनाउने गरी बजेटमा योजना नपरेको महासङ्घले जनाएको छ ।

कोष सञ्चालनमा नआउँदा साना तथा मझौता उद्योगका लागि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न बाधा पुग्ने देखिएकाले अविलम्ब कोष सञ्चालनको व्यवस्था गरिनुपर्ने महासङ्घको माग छ ।

निजी क्षेत्रलाई समावेश गरी तीन तहका सरकार र सहकारीसमेतको साझेदारीमा आयात प्रतिस्थापन एवम् निर्यात वृद्धि गर्न उत्पादनलाई रोजगारीसँग आबद्ध गराउन कार्यक्रम सञ्चालन गर्ने कुरालाई महासङ्घले स्वागत गरेको छ । उद्यमशीलतामा युवा सहभागिता बढाउन स्टार्टअप र नवप्रवर्तनका लागि ‘इकोसिस्टम’ विकास, स्टार्टअप बोर्ड गठन गर्नेलगायत बजेटका विषय सकारात्मक रहेका महासङ्घको ठहर छ ।

अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छः मन्त्री चौधरी

भक्तपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताएकी छन् ।

भक्तपुरमा शनिबार सामुदायिक विकास तथा सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको २०औँ स्थापना दिवस एवं सामुदायिक दर्पण लोकार्पण कार्यक्रममा उहाँले ज्येष्ठ नागरिक ऐन, ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित भएसँगै यस्तो नीति कार्यान्वयनमा आउने उल्लेख गरिन् ।

आफ्नो आमाबाबुको सुरक्षा र संरक्षण हरेक छोराछोरीको दायित्व भए पनि आमाबाबु आफ्नै घरबाट अपहेलितमा पर्न थालेपछि ऐन पारित भएसँगै सरकारले कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने उनको भनाइ छ ।

मन्त्री चौधरीले भनिन् “आमाबाबु आफ्नै छोराछोरी वा हकवालाबाट अपहेलित भएर कोठामै बस्नुपर्ने अवस्था छ, त्यसैले अब छोराछोरी वा हकवालाले आफ्नो औपचारिक वा अनौपचारिक जुनसुकै क्षेत्रबाट हुने कमाइको १० प्रतिशत रकम आफ्नो बाबुआमलाई दिनैपर्ने व्यवस्था गर्न लागेका छौँ ।”

विधेयक पारित भएर ऐनले दिएको अधिकारलाई सात सय ५३ वटै पालिकामा पठाएर यसलाई कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको भन्दै उनले संविधानले दिएको हकलाई अब ज्येष्ठ नागरिकले उपभोग गर्न पाउने बताइन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकको अनुभव साट्ने थलोका रूपमा विकास गर्न सबै पालिकामा ज्येष्ठ नागरिक दिवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने तयारी गरेको उनको भनाइ थियो ।

मन्त्री चौधरीले भनिन्, “हामीले ज्येष्ठ नागरिकको जीवन सुखी बनाउन ज्येष्ठ नागरिक मिलन केन्द्र प्रत्येक पालिकामा सञ्चालन गर्न र संरक्षणविहीन ज्येष्ठ नागरिकलाई सुरक्षित राख्न सातै प्रदेशमा ज्येष्ठ नागरिक संरक्षण भवन बनाउन मन्त्रालयले बजेट माग गरेका थियौँ तर हाम्रो मन्त्रालयको २९ करोड बजेट काटियो तर पनि यो लक्ष्य पूरा गर्न विकास साझेदार संस्थासँग समन्वय गर्छौँ ।”

विभिन्न कारणले बेचिएका बालबालिका तथा महिलालाई फर्काएर देशमा ल्याएपछि त्यसको अभिभावकत्व ग्रहण गर्ने जिम्मेवारी राज्यले बहन गर्न नसकेको भन्दै मन्त्री चौधरीले भनिन्, “कतिपय बेचिएका महिला तथा बालबालिकालाई फर्काएर ल्याएपछि फर्केर घर वा माइती जाने र उनीहरूले स्वीकार्ने अवथा नरहँदा उनीहरूलाई कहाँ लाने भन्ने अन्योल छ, राज्यले अभिभावकत्व ग्रहण नगर्दा बाध्य भएर निजी संस्थालाई गुहार्नुपर्छ, तर उनीहरूले बजेट नभएको गुनासो गर्छन्, त्यसैले यस्ता महिलालाई राख्न सातै प्रदेशमा कम्तीमा एक–एक सुरक्षित आवास निर्माण गर्नुपर्छ ।”

निजामती सेवामा २८ प्रतिशत महिलाको प्रवेश हुनु खुसीको कुरा रहे पनि जनप्रतिनिधिमा नेतृत्व तीन प्रतिशत महिलामात्रै पुग्नु कमजोरी रहेको उनले औंल्याइन् ।

कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठले प्रदेश सरकारले कृषिका लागि आवश्यक बजेट विनियोजन गरेको चर्चा गर्दै रासायनिक मलको अभाव नहुने दाबी गरे । उनले प्राङ्गारिक मलको उत्पादनमा किसानलाई प्रोत्साहन गरिने बताउँदै पर्याप्त दूध उत्पादन भएर बिक्री नभएपछि प्रदेशमा धुलो दूध उत्पादन भइरहेको बताए।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य धनेश्वरी प्रजापति, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक दीपक थापा, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, केन्द्रका महासचिव नारायणप्रसाद न्यौपाने, केन्द्रका अध्यक्ष खेमप्रसाद सुवेदीलगायतले सामुदायिक सेवाभावले संस्थाहरू अगाडि बढ्नसके समाजको विकासमा तीव्रता हुने बताए । त्यसअवसरमा सामुदायिक दर्पण लोकार्पण एवं विभिन्न व्यक्ति एवं संस्थालाई सम्मान गरिएको थियो ।

दुध उत्पादक किसानको बक्यौता छिट्टै भुक्तानी हुन्छ– मन्त्री साह

झापा । कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएकी छन् । विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज मेचीनगरमा आयोजित कार्यक्रममा उनले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौंदेखि भुक्तानी नदिइरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने बताइन् । “दुग्ध उत्पादक किसानहरुले चाँडोभन्दा चाँडो भुक्तानी पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं,” उनले भनिन् –“मैले थुप्रै व्यावसायिक किसानको गाईगोठ र डेरी उद्योगहरु अवलोकन गरेको छु । किसानहरुले दुधको भुक्तानी नपाएको गुनासो सुनाउनु भएको छ । जसरी भए पनि भुक्तानी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।”

मुलुकमा दुधको उत्पादन बढेको जनाउँदै उनले यसलाई निर्यात गर्न आवश्यक पहल जारी रहेको बताइन् । दुग्ध विकास संस्थानको भण्डारमा एक अर्ब ७५ करोड रुपैयाँभन्दा बढी मूल्यको दुग्धजन्य उत्पादन विक्री नभएर थन्किरहेको उनले बताइन् । मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि दुधमा आत्मनिर्भर भएरमात्र नपुग्ने बताउँदै उनले यसको विदेश निर्यात अपरिहार्य भइसकेको औंल्याइन् । दुधबाट बनेका बस्तुहरु निर्यातका लागि निर्यातको सहज व्यवस्था हुन सके किसानले बेचेको दुधको भुक्तानी गर्न कुनै समस्या नहुने उनको भनाइ छ । कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले दुग्ध पदार्थमा आधारित उद्योग सञ्चालन र बस्तु प्रबर्धनमा प्रदेश सरकारले उल्लेखनीय अनुदान दिदै आएको बताइन् ।

किसानहरुलाई दुध उत्पादनका आधारमा र व्यावसायिक कृषकहरुलाई गोठ निर्माण र आहार उत्पादनमा अनुदान दिने गरिएको उनले जानकारी दिइन् । दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले चरणबद्ध रूपमा किसानको दुधको भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाउँदै दुई दिनभित्र नयाँ भुक्तानी रकम आइपुग्ने जानकारी दिए । उनले दुध उत्पादक किसान र व्यवसायीका समस्या समाधानका लागि संस्थानले पहल गर्ने बताए । उनले संस्थान र निजी क्षेत्रका गोदामहरु दूधजन्य उत्पादनको भण्डारणले भरिएको हुँदा यसको विक्री वितरणको चाँडो व्यवस्था नभए आउँदो आर्थिक वर्षको सुरुदेखि नै नयाँ उत्पादन राख्ने ठाउँ नहुने बताए ।

कोशी प्रदेश डेरी उद्योग समितिका संयोजक रामचन्द्र उप्रेतीले एक दशकमा कोशी प्रदेशमा ११ वटा ठूला डेरी उद्योग सञ्चालनमा आएका उल्लेख गर्दै प्रदेश सरकारको २० करोड रुपैयाँ अनुदानमा निजी क्षेत्रका उद्योगीले ३० करोड रुपैयाँको लागतमा पाउडर उद्योग स्थापना गरेको बताए । मेचीनगर–१४ दुहागढीस्थित एनएमसी एग्रो फार्ममा आयोजित उक्त कार्यक्रममा उत्कृष्ट डेरी उद्योगका रूपमा एनएमसी डेरी उद्योग, उत्कृष्ट सहकारीका रूपमा चितवनको पिठुवा दुग्ध उत्पादक सहकारी र सुनसरीको कामधेनु दुग्ध विकास सहकारी संस्था, उत्कृष्ट कृषकका रूपमा झापाका राजकुमार तामाङ र मोरङका विज्ञान बस्नेतलाई सम्मान गरिएको थियो । कार्यक्रममा आर्थिक अभियान पत्रिकाका समाचारदाता प्रशान्त खड्कालाई उत्कृष्ट सञ्चारकर्मीका रूपमा सम्मान गरिएको थियो ।

११ दिनपछि नेपालमा मनसुन भित्रिने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ ।

विभागले शनिबार मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको जनाएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ ।

यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।

राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित भएका छन्। पार्टीको आज सम्पन्न नवौँ जिल्ला अधिवेशनले उनको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

अध्यक्षमा निर्वाचित कार्कीले एक सय ९५ मत पाएका थिए भने उनका निकतम प्रतिद्वन्दी रामशरण लामिछानेले ९२ मत प्राप्त गरेका छन्।

राप्रपाको पहिलो बैठकले पदाधिकारी तोक्ने र अन्य ६ जना सदस्य मनोनयन गरेर ३१ सदस्यीय जिल्ला कार्य समिति बनाउने निर्णय गरेको राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले जानकारी दिए। 

प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी

गलेश्वर । प्राकृतिक स्रोतको प्रयोग र व्यवस्थापनमा रुचि बढ्दै जान थालेपछि म्याग्दीको आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ ।

जिल्लामा रहेका नदी, खोला, वन, पाखोजग्गा, हिमाल, बुकी, खर्क, भीर र खेतीयोग्य जमिनको प्रयोग गरी यहाँका स्थानीयले आयआर्जन गर्न थालेका छन् । कृषि, पर्यटन, जल, जैविक र सांस्कृतिक सम्पदाको प्रयोग गर्न थालेपछि जिल्लाका नागरिक आत्मनिर्भरतातर्फ अग्रसर हुन थालेका हुन् ।

‘लाहुरेको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीका बासिन्दा विगत एक दशकयता जल, जमीन, जङ्गललगायत प्राकृतिक सम्पदाको पहिचान र सदुपयोगबाट प्रशस्त आयआर्जन गर्न थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

एक दशकअघि यो जिल्ला विप्रेषण र व्यापारबाट मात्र धानिएको थियो । अहिले पर्यटन, साना तथा घरेलु उद्योग, विद्युत्, कृषि तथा वनसम्पदा, जैविक विविधताले समृद्ध बन्दै गएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

गाउँगाउँमा विस्तार भएको व्यावसायिक तरकारी तथा फलफूल खेती, पशुपालन, जडीबुटी, सहकारी संस्था र लघु तथा घरेलु उद्योगले स्थानीयको आयआर्जन र जीवनशैलीमा परिवर्तन आएको उनको भनाइ छ ।

छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीका सबैजसो वडामा व्यावसायिक रूपमा आयआर्जनमूलक व्यवसाय सञ्चालन भएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार पालिकामा व्यावसायिक तरकारी, फलफूल खेती र पशुपालन गर्ने कृषकको सङ्ख्या विगत पाँच वर्षयता २५ प्रतिशत वृद्धि भएको छ । तीमध्ये अधिकांश युवा छन् ।

सङ्घका अध्यक्ष श्रेष्ठका अनुसार ‘हाइड्रो हब’ को नाम पाएको हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलामा १९ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । प्रमुख नदी कालीगण्डकी, रघुगङ्गा, म्याग्दी र अन्य खोलाबाट १९ जलविद्युत् आयोजना निर्माणाधीन रहेका नेपाल विद्युत प्राधिकरणले जनाएको छ । निर्माणाधीन आयोजनाबाट छ सय ७० मेगावाट विद्युत् उत्पादनको लक्ष्य प्राधिकरणले राखेको छ ।

जिल्ल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाका अनुसार कालीगण्डकी, म्याग्दी र रघुगङ्गाका साथै सहायक नदीबाट विद्युत् उत्पादनमा १५ वटा जलविद्युत् आयोजनाले काम गरिरहेका छन् ।

जिल्लाका कृषकले तरकारी र फलफूल खेतीबाट मात्रै वार्षिक रु ७० करोडभन्दा बढी आम्दानी गर्दै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । कृषकले सुन्तला बिक्रीबाट मात्रै वार्षिक रु २१ करोडभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

पशुपालन यहाँका कृषकको आम्दानीको अर्को माध्यम बनेको भेटेरीनरी अस्पताल तथा पशु विकास केन्द्रका प्रमुख डा भरत रेग्मीले बताए । उनका अनुसार जिल्लामा पशुजन्य उत्पादनमा लागेका एक सयभन्दा बढी कृषकको वार्षिक आय प्रतिव्यक्ति २० लाखभन्दा बढी छ ।

जिल्लामा गाई, भैँसी, बाख्रा, भेडा, कुखुरा, बङ्गुर, खरायो र चौँरीपालन व्यावसायिक बन्दै गएको छ । दुई सयभन्दा बढी किसानले व्यावसायिक दूध उत्पादन गर्दै आएका केन्द्रका प्रमुख डा रेग्मीले जानकारी दिए ।

वार्षिक ५० करोडभन्दा बढीको दूध तथा दुग्धजन्य पदार्थको बिक्री हुने गरेको भेटेरीनरी अस्पताल तथा पशु विकास केन्द्रले जनाएको छ । मासुका लागि व्यावसायिक रूपमा कुखुरा, बाख्रा, बङ्गुर पाल्ने कृषकले वार्षिक रूपमा रु पाँच लाख देखि २० लाखसम्म आम्दानी गर्ने गरेका केन्द्रका प्रमुख रेग्मीले जानकारी दिए।

जडीबुटी र पर्यटन पनि म्याग्देली जनताका लागि आयआर्जनको बलियो माध्यम बनेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठको भनाइ छ । उनका अनुसार सङ्घको पहलमा जिल्लामा विस्तार गरिएको टिमुर खेती, मौरीपालन र खरायोपालन पनि कृषकको आम्दानी स्रोत माध्यम बनेको छ ।

खेर गएको जमिन सदुपयोग गरी विस्तार गरिएको टिमुर खेतीबाट तीन वटा पालिकाका दुई सयभन्दा बढी व्यक्तिले आम्दानी गरिरहेका छन् । गत वर्ष टिमुर बेचेर जिल्लामा २० लाखभन्दा बढी भित्रिएको थियो ।

जिल्लाका उच्च पहाडी र हिमाली क्षेत्रमा यार्सागुम्बा, पाँचऔँले, सतुवा, जटामसी जस्ता जडीबुटी, भीरमह, शिलाजितलगायत प्रकृतिमा आश्रित स्रोतबाट स्थानीयले मनग्ये आम्दानी गरिरहेका जिल्लास्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा वन तथा वातावरणका जानकार चन्द्रमणि सापकोटाले बताए।

पर्यटन र जलविद्युत्तर्फ पछिल्लो समय यहाँका नागरिक आकर्षित भएका छन् । राउण्ड अन्नपूर्ण र राउण्ड धवलागिरि क्षेत्रमा समेटिएको म्याग्दीमा घोडेपानी, पुनहिल, अन्धगल्छी, रुप्से झरना, तातोपानीका कुण्ड, धवलागिरि, निलगिरि, गुर्जालगायत हिमशृङ्खला, १९ प्रजातिका लालीगुराँस फुल्ने ज‌ंगल, कालीगण्डकी, म्याग्दी र रघुगङ्गाजस्ता जलाधार क्षेत्र, धार्मिक र ऐतिहासिकस्थल प्रशस्त छन् ।

यी क्षेत्रको भ्रमणका लागि वार्षिक ३० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्यांक छ । पदमार्ग, मोटरबाटो, ग्रामीण क्षेत्र र शहरका होटल, जल, पसल, यातायातलगायत क्षेत्रमा आवद्ध करिब १० हजारभन्दा बढी म्याग्देलीले पर्यटक र पर्यटन व्यवसायबाट लाभ लिएका छन् ।

जिल्लामा उपचार पर्यटन फस्टाउँदो क्रममा छ । यहाँका तातोपानी कुण्डहरूमा नुहाउने र छाला, बाथसम्बन्धी रोग निको पार्ने अभ्यास धेरै पहिलेदेखि हुँदै आएको छ । सिङ्गा तातोपानीमा बर्सेनि दशौँ हजार मानिस नुहाउन आउँछन् ।

उत्तरी म्याग्दीको भुरुङतातोपानीमा मुख्यतः अन्नपूर्ण राउण्ड पदयात्रामा आउने पर्यटकले आनन्द लिने गरेका छन् । यी दुवै तातोपानी कुण्डले जिल्लाको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । जिल्लाको खोप्रालेकमा हरेक वर्ष साउन र वैशाखमा चौँरीको रगत पिउने मेला लाग्दछ । मेलामा दुई हजारदेखि पाँच हजारसम्म मानिस पुग्ने गरेका छन् ।

जिल्लामा सांस्कृतिक महत्वका केही बस्तीहरू ग्रामीण पर्यटकका लागि आकर्षक भएका छन् । यहाँका विभिन्न स्थानमा तामाखानी, शिशाखानी, स्लेट ढुङ्गा र खरी ढुङ्गा खानी छन् । तामा, शिशा, स्लेटजलगायत खनिजको उत्पादन गरी निकासी गर्न सके प्रशस्त आयआर्जन गर्न सकिन्छ । यहाँ सञ्चालनमा रहेका खानीसमेत सरकारले बन्द गरेका कारण नयाँ खानीको उत्खनन हुन नसकेको स्थानीय बताउँछन् ।

यहाँको हिमाली भेगका गुर्जा, मुदी, कुइनेमङ्गले, चिमखोला, नारच्याङलगायत ठाउँमा यार्सागुम्बाको संकलन हुने गर्छ । पछिल्ला वर्षहरूमा यहाँबाट करोडौँ मूल्यको यार्सागुम्बा निर्यात हुने गरेको छ । यार्सागुम्बाबाहेक सतुवा, पाँचऔँले, नीरमसी, कटुकी, सिलटिमुर, टिम्मुर, बोझो, हर्रो–बर्रो–अमलालगायत जडीबुटी, लोक्ता, अल्लोपुवा, लालीगुराँसको जुस, चिमखोले डोकोलगायत वनपैदावार जिल्लामा उत्पादन तथा संकलन भई निकासी हुने गरेका छन् ।

जिल्लाका करिब २० हजार महिला-पुरुष र वैदेशिक रोजगारीबाट फर्केकाहरू व्यावसायिक आयआर्जनमा लागेका तथा व्यापार व्यवसायतर्फ करिब आठ हजार संलग्न रहेका छन् । विसं २०७८ को जनगणना अनुसार जिल्लाको कूल जनसङ्ख्याको सात प्रतिशत म्याग्देली बसाइँसराइ गरी बाहिर जाने गरेका छन् ।

मुगु र दार्चुलामा यार्सा सङ्कलनमा गएका तीन जनाको मृत्यु

मुगु । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउबाट फोनमा जानकारी दिए ।


जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा गएका दुई जनाको लेक लागेर मृत्यु भएको र एक जना सिकिस्त बिरामी भएका बताए । सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याउँदै गरेको बताए ।

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।

दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु

दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रबार बेलुका कार्कीको मृत्यु भएको उनले बताए ।

अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा २० जनाको मृत्यु

अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा शनिबार नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा २० जनाको मृत्यु भएको प्रान्तीय अधिकारीले बताएका छन् ।

पूर्वीनङ्गरहारको मोमण्ड दारा जिल्लाको बसावुल क्षेत्रमा शनिबार बिहान सात बजे महिला तथा बालबालिका बोकेको डुङ्गा नदीमा डुबेको प्रान्तको सूचना विभागका प्रमुख कुराइसी बद्दलुनले सामाजिक सञ्जाल एक्सको एक पोस्टमा सार्वजनिक गरेका छन् ।

अधिकारीका अनुसार दुर्घटना परेका पाँच जना बाँचेका छन् भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

नङ्गरहार सूचना तथा संस्कृति विभागले मिडियालाई दिएको सन्देशमा अधिकारीले उक्त क्षेत्रमा मेडिकल टोली र एम्बुलेन्स पठाएको बताएका छन् ।

कम्तिमा पाँचवटा शव निकालिएको तथा अरूलाई खोज्ने प्रयास भइरहेको प्रान्तीय सरकारी अधिकारीले बताए ।

नजिकैको पुल नभएको कारण यस क्षेत्रका बासिन्दाले प्रायःखराब अवस्थामा डुङ्गा प्रयोग गरेर नियमितरूपमा नदी पार गर्ने गरेको स्थानीय मिडियाले जनाएको छ ।

हमासको बैँक लुट्ने योजनाको खुलासा

इजरायली रक्षा बलले हमास लडाकु समूहले गाजाको बैँकबाट लाखौँ शेकेल (इजरायली मुद्रा) चोरी गर्ने योजना बनाएको दस्तावेज सामाजिक सञ्जालमार्फत प्रदर्शन गरेको छ । 

“हमासले गाजामा रहेका बैँकको सेफ लुट्ने योजनाको आन्तरिक दस्तावेजको खुलासा गरेको एक महिनापछि हमासले गाजापट्टिमा रहेको बैंक अफ प्यालेस्टाइनको शाखाबाट लाखौं शेकेल चोरी गरेको थियो“, आइडिएफका अरबी प्रवक्ता लेफ्टिनेन्ट कर्नल अविचे अद्राईले एक्समा भने ।

बैंक अफ प्यालेस्टाइन जुडिया, सामरिया र गाजाभरी शाखा भएको सबैभन्दा ठुलो प्यालेस्टिनी बैंक हो । 

“मार्च १० मिति लेखिएको सो दस्तावेज अबु जिहाद नामक हमास समुहका सदस्यद्वारा तयार पारिएको थियो । सोहीअनुसार आन्दोलनका सदस्यले गाजामा रहेको बैंक अफ प्यालेस्टाइनका शाखाबाट चालिस करोडभन्दा बढी शेकेल चोरेका थिए”, अद्राइले जानकारी गराए । हमास समुहले पटक–पटक बैँक अफ प्यालेस्टाइनका विभिन्न  शाखामा चोरी गरेका छन् । 

“गाजाका बासिन्दाले आर्थिक र सामाजिक सङ्कटको सामना गरिरहेका बेला  हमासले आफ्नो साथै आफ्ना सदस्यको अस्तित्वका लागि गाजा पट्टीका नागरिकबाट कुनै हिचकिचाहट बिना चोरी गरिरहेको छ”, अद्राइले भने । 

गाजाका प्यालेस्टिनी बासिन्दा युद्धबाट विस्थापित भए पनि हमास नेताले वर्षौँदेखि आफू र आफ्नो परिवारलाई समृद्ध बनाउँदै आएका छन् हमासका नेता इस्माइल हानियाह, खालिद मसाल र मुसा अबु मर्जुकको संयुक्त एघार अर्ब डलरको व्यक्तिगत सम्पत्ति रहेको छ  जबकि संगठनको नेतृत्वले जम्मा एक अर्ब डलरको लगानी पोर्टफोलियो नियन्त्रण गर्ने इजरायलको प्रेस सर्भिसले सेप्टेम्बरमा जानकारी गराएको हो । 

युद्धअघि, हमासले इजिप्टबाट तस्करी गरिएका सामानमा बीस प्रतिशत कर लगाउने गरेको थियो र गाजाको कालो बजारी व्यापारबाट वार्षिक चालिस करोडभन्दा बढी अमेरिकी डलर कमाएको थियो । 

अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायमा हमासको आक्रमणमा कम्तिमा एक हजार दुई सय मानिसले ज्यान गुमाउनुका साथै दुई सय ५२ इजरायली र विदेशीलाई बन्धक बनाइएको थियो । बाँकी रहेका एक सय २५ बन्धकमध्ये ३९ जनाको मृत्यु भएको विश्वास गरिएको छ ।

यार्सा टिप्न गएका कार्कीको भीरबाट लडेर मृत्यु

दार्चुला । दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका कार्कीको मृत्यु भएको उनले बताए ।

आफूहरुसँग परामर्श नगरी सरकारले बजेट ल्याएको भन्दै एमाले असन्तुष्ट

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सत्तारुढ दलहरुसँग परामर्श नगरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

शनिबार पार्टीको संसदीय दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले पार्टीका सांसदहरुलाई बजेटमा देखिएका कमीकमजोरीबारे खुलेर छलफल गर्नसमेत निर्देशन दिएका छन् । अध्यक्ष ओलीले बजेट माओवादी पार्टीप्रति ढल्किएको बताए ।

उनले भने,’बजेटमाथि आलोचना नै गर्न नहुने भन्ने होइन । बजेटमा रहेको कमीबारे माननीयज्यूहरूले आफ्नो क्षेत्रमा, जिल्लामा, प्रदेशमा हिजोको अवस्थामा र आजको अवस्थामा के कमी कमजोरी छ, के बढ्नुपर्थ्यो वा के घट्यो त्यस्ता विषयहरूमा स्वभाविक रूपमा प्रश्नहरू उठाउन सक्नुहुन्छ । बजेट बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ । बजेट निर्माण प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको देखियो । दलहरुबीच छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि जस्तो अलि बढता देखिन गएको छ ।’

उनले बजेटमा कमीकमजोरी भएपनि पारित गरेर जानुपर्ने बताए । समाजवाद निर्माणका आधारहरु तयार गर्ने गरी बजेट आउनुपर्नेमा अन्योलग्रस्त देखिएको उनले बताए ।

श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’ आयोजनाः श्रममन्त्री अर्याल

गोदार (धनुषा) ।   श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायकारूपमा सुरू गरिएको बताएका छन् ।  

जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा मेलाको शनिबार शभारम्भ गर्दै उनले बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गरे  ।

उनले भने,“ श्रमिकका धेरै समस्या आउँछन् । एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो ।  सुझाव सङ्कलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न यसले सहयोग पुर्याउँदछ ।” सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताए ।

एनभिए भलिबलमा सुदूरपश्चिमलाई हराउँदै पुलिसको जित

काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विभागीय टिम नेपाल पुलिस क्लबले सहज जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा विभागीय टिम पुलिसले सुदूरपश्चिम स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको हो ।

सुदूरपश्चिममाथि जित निकाल्ने क्रममा पुलिसले पहिलो सेट २५–२० ले जितेको थियो । यस्तै, पुलिसले दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१६ ले जितेको हो । यसअघि लिगको पहिलो खेलमा हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई पराजित गरेको थियो ।

हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । हेल्प नेपालले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१२ को जित निकालेको थियो । तर, तेस्रो सेट भने हेल्प नेपाल २७–२९ ले गुमाउन पुग्यो । चौथो सेटमा बूढानीलकण्ठमाथि हेल्प नेपालले २५–२२ को जित निकालेको थियो ।

बेनी-रबाङ सडकको सिम-पानाबगर खण्डमा कालोपत्र

म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा आजदेखि कालोपत्र गर्न थालिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत–बाबियाचौर–लाम्पाटा–पानाबगर–रणवाङको सिमानासम्म सडक कालोपत्र गर्न लागेको हो । कार्यालयका सडक इञ्जिनियर सञ्जय सुवेदीले सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सब बेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न सिमतर्फबाट प्राइम कोट(बिटुमिन) बिछ्याउन थालिएको जानकारी दिए।

‘डिबिएसडी प्रविधिको कालोपत्र गर्न चिप्स बिछ्याउनुभन्दा २४ घण्टा पहिले प्राइम कोट राखिएको हो’, उनले भने, ‘सिमदेखि तोराखेत हुँदै माटेबगरसम्म एकतर्फी एक हजार तीन सय मिटरमा प्राइम कोट बिछ्याउने काम सकिएको छ ।’

विसं २०६१ मा मार्ग खुलेको सडक दुई दशकपछि कालोपत्र गर्ने तयारी भएको जनाइएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किमी आठ सय मिटर सडक कालोपत्र गर्न विसं २०७८ पुस १८ गते अमर–ओमबुद्ध जेभीसँग रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो ।

सडकलाई आड मिटर फराकिलो बनाएर र सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गर्न लागिएको ओमबुद्ध निर्माण कम्पनीका प्रतिनिधि डम्मर सापकोटाले बताए। तोराखेत खण्डमा सडकको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीहरूको विवादले करिब एक सय मिटरमा कालोपत्र गर्न र संरचना निर्माणलाई अन्तिम रुप दिन नपाएको उनले बताए।

अठार महिनाको ठेक्का अवधि रहेको सो सडक तीन वर्षमा सम्पन्न हुन लागेको हो । चालु आवमा रु चार करोड बजेट विनियोजन भएको यो खण्डको भौतिक प्रगति ६८ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

थप बजेट व्यवस्थापनका लागि कार्यालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पहल गरेको छ । २४ किमी दूरीको बेनी–दरबाङ म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा विसं २०६३ मा सडक पुगेको थियो ।

बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडकको पहिलो १२ दशमलव पाँच किमी दूरीको बेनी–सिम खण्डमा दुई वर्षअघि कालोपत्र भएको थियो । बिरुवा–क्याराभान जेभीले विसं २०७६ असार ३१ गते रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का लिएको बेनी–दरबाङ सडकको तेस्रो प्याकेजमा पर्ने मंगला गाउँपालिका–२ लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङ सम्मको ६.८ किमी सडक निर्माणको काम भने सुस्ताएको छ ।

विसं २०७८ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस खण्डको हालसम्म करिब ७३ प्रतिशत भौतिक प्रगति भएको छ । म्याग्दी क्षेत्र १९२० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले रणबाङ–दरबाङ खण्ड निर्माणलाई पूर्णता दिन निर्माण व्यवसायीलाई ताकेता, समन्वय र सहजीकरण गरिरहेको बताए ।

स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा सांसद वाग्लेको जोड

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताएका छन् ।

दमौलीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सांसद वाग्लेले सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिकको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेशपलायन हुने दर न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

वर्षातमा पृथ्वी राजमार्गमा यात्रा गर्दा सास्ती हुने गुनासो आएपछि वर्षा अगावै सडक विस्तारको काम द्रूत गतिमा गराइने सांसद वाग्लेले बताए । राजमार्गको पूर्वी खण्डमा तीव्र गतिमा काम भए पनि पश्चिमी खण्डमा ढिलाइ भएकोबारे सञ्चारकर्मीले सांसद वाग्लेलाई जानकारी गराएका थिए ।

सांसद वाग्लेले सम्बन्धित निकायलाई वर्षा अगावै काम द्रूत गतिमा अगाडि बढाउन आग्रह गरिएको बताए । उनले भने, “निर्माण कम्पनीका ठेकेदारलाई वर्षात्को समयमा निर्माणाधीन सडकमा यात्रा गर्न सास्ती हुने भएकाले कामलाई तीव्रता दिन आग्रह गरेका छौँ ।” विगतमा भन्दा आर्थिक वर्ष २०८१÷८२ मा बजेटले तनहुँलाई उल्लेखनीय रुपमा सम्बोधन गरेको उनको दाबी छ ।

अहिलेको मुख्य एजेण्डा विपद् व्यव्स्थापन भएको भन्दै सांसद वाग्लेले स्थानीय तह तथा सरोकार भएका सबै एकजुट भएर विपद् व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए । उनले आगलागी र हावाहुरीले पुर्याएको क्षतिलाई प्राथमिकतामा राखी क्षतिपूर्ति दिलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

दमौली अस्पताललाई दुई वटा डायलासिस मेसिन उपलब्ध गराएको जनाउँदै सांसद वाग्लेले सङ्घीय संसद्बाट गर्नुपर्ने पहल सकारात्मकरुपमा गर्ने उल्लेख गरे ।

भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु अहिलेको आवश्यकताः पूर्वराष्ट्रपति भण्डारी

पाटन (ललितपुर) । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याएकी छन् ।  नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेका सन्दर्भ पारेर नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा शनिबार आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को शुभारम्भ गर्दै उनले भावी  पुस्तालाई आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग जोड्नका लागि भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नुपर्ने बताइन् ।


“मातृभाषा पत्रकारिताले विश्वव्यापीरूपमा प्रभावशाली रहेका भाषाहरूद्वारा सिमान्तकृत बनाइएका स्थानीय भाषा र समुदायलाई आवाज प्रदान गर्न सहयोग पुग्दछ ।  विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवं सम्वद्र्धनमा समेत योगदान पुर्याउँदछ ।   मातृभाषामा समाचार लेख्ने पत्रकारमा स्थानीय परिस्थितिका बारेमा गहिरो जानकारी हुने हुनाले उनीहरूले आफ्ना पाठक एवं श्रोताका लागि थप सटिक र सान्दर्भिक समाचार उपलब्ध गराउन सक्दछन् । मातृभाषा पत्रकारिताले विभिन्न भाषिक समुदायबीच संवाद र आदानप्रदानका लागि स्थान प्रदान गरेर सांस्कृतिक विविधतालाई जोड्न र अन्तर सांस्कृतिक समझदारीलाई प्रववद्र्धन गर्ने काममा योगदान गर्न सक्दछ”, उनले भनिन् ।


उनले विविधताबीचको एकता नै राष्ट्रिय पहिचान, गौरव र सार्मथ्य भएको बताइन् । पूर्वराष्ट्रपति   भण्डारीले  भनिन्, “लोकतन्त्र र आमसञ्चार क्षेत्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ ।  जिम्मेवार पत्रकारिता, सुसूचीत नागरिक र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । पत्रकारिता क्षेत्रले जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता कायम राख्न सक्दछ ।”   


मातृभाषा पत्रकारिता शताब्दी वर्षका अवसरमा आयोजित प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा नेपालका विभिन्न भाषाभाषी पत्रकारका साथै भारत, बङ्गलादेश, पाकिस्तान, जापान, श्रीलङ्कालगायतका देशका पत्रकारको सहभागिता रहेको छ । ‘भर्चुअल’ माध्यमबाट विभिन्न देशका सहभागीले भाग लिएको सम्मेलन ललितपुरमा जारीे छ ।

इराकद्वारा सन् २०२५ सम्ममा सहायता मिसन अन्त्य गर्ने राष्ट्रसङ्घको प्रस्तावको स्वागत

इराक सरकारले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन (युएनएएमआई) समाप्त गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई स्वागत गरेको छ ।

इराक सरकारका प्रवक्ता बासिम अल–अवादीले जारी गरेको विज्ञप्तिमा इराकी सरकारले सन् २०२५ को डिसेम्बर ३१ सम्ममा संयुक्तराष्ट्र मिसन समाप्त गर्न सर्व सम्मतिले जारी प्रस्तावलाई स्वागत तथा स्वीकार गरेको उल्लेख छ ।

विज्ञप्तिका अनुसार इराकी सरकारले इराकमा राष्ट्रसङ्घ र यसका विकास कार्यक्रमसँग दिगो सहयोग र साझेदारी जारी राख्ने वाचा गरेको छ ।
यसअघि, राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सर्वसम्मतिले युएनएएमआइको जनादेशलाई अन्तिम १९ महिनाको अवधिका लागि विस्तार गर्ने निर्णय गरेको छ । निर्णयअनुसार निर्धारित समयपछि मिसनले सबै काम बन्द गर्नेछ ।

उक्त मिसन अमेरिकी गठबन्धनको आक्रमण पछि इराक सरकारको अनुरोधमा सन् २००३ मा इराकी सरकार र जनतालाई विभिन्न क्षेत्रमा सल्लाह, समर्थन र सहयोग प्रदान गर्न सुरक्षा परिषद्ले सुरु गरेको हो ।  

बैतडीको दोगडाकेदारलाई  ‘पूर्ण संस्थागत सुत्केरी’ घोषणा गरिँदै

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ६ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिने भएको छ । गाउँपालिकालाई नै आगामी आर्थिक वर्षभित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य राखिएको छ । 

दोगडाकेदार– १ रिम र दोगडाकेदार – २ कमलपुरबाहेकका अन्य सबै वडा पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएका दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।

गाउँपालिकाले बनाएको कार्यविधिअनुसार वडाभित्र रहेका ९८ प्रतिशत गर्भवती स्वास्थ्यसंस्थामै सुत्केरी भएको, नियमितरूपमा चार पटक गर्भ जाँच गराएको,सरकारको मापदण्डअनुसार ९० प्रतिशतले गर्भवती टिडी खोप लगाएको, आइरन चक्की, जुका औषधि खाएको, पौष्टिक आहारका लागि परामर्श गरेको, एचआइभी जाँच गरेकोलगायत मापदण्डअनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने गरिएको उनले बताए ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाले यो क्षेत्रमा बजेटको पनि विशेषव्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताए । उनले भने, “स्वास्थ्य क्षेत्रलाई पालिकाले प्राथमिकतामा राखेको छ, यसमा बजेटको पनि विशेषव्यवस्था गरेका छौँ ।”

आमा र बच्चाको स्वास्थ्यका लागि गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको र अगामी दिनमा पनि ती कार्यक्रम सञ्चालन हुने गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।  उनले भनिन्, “ गर्भवती र सुत्केरीलाई मध्यनजर गरेर मातृशिशु कोष स्थापना गरेका छौँ । उपाध्यक्षको कोसेली पनि सञ्चालनमा छ ।” गाउँपालिकाको समग्र विकासका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले  बताए । उनले भने, “गाउँपालिकाको समग्र विकासका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौँ ।”

यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा मिसाइल आक्रमण

यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समुहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेका छन् । 

यमनको होदेइदाह प्रान्तमा अमेरिका र बेलायतको संयुक्त आक्रमणमा कम्तिमा सोह्र जनाको मृत्यु भएको समूहको दाबीपछि हुथी सैन्य प्रवक्ता याह्या सारीले शुक्रबार आइसेनहावर जहाजमा आक्रमणको घोषणा गरेका थिए ।

हुथी नियन्त्रित च्यानल अल मासिराह टेलिभिजनले बिहीबारको आक्रमणको नतिजा खुलासा गर्दै होदेइदाहमा घाइते नागरिकको उपचार भइरहेको फुटेज प्रसारण गरेको थियो । उक्त आक्रमणमा कम्तीमा बयालिस जना घाइते भएको बताइएको छ । 

“अमेरिकी–बेलायती आक्रामणले हामीलाई प्यालेस्टाइनको समर्थनमा हाम्रो सैन्य कारबाही जारी राख्नबाट रोक्न सक्दैन, विद्रोहीले बढ्दो तनावको सामना गर्नुपर्नेछ”, हुथी अधिकारी मोहम्मद अल–बुखाइतीले सामाजिक सञ्जाल एक्समा भने ।

बेलायती प्रधानमन्त्री ऋषि सुनाकले आक्रमणलाई “हुथी विरुद्धको आत्मरक्षाको एकरूप” रहेको बताए । 

इरान समर्थित हुथी समुहलेले पश्चिमी समर्थित र साउदी नेतृत्वको गठबन्धनविरुद्ध लगभग एक दशकको द्वन्द्वपछि यमनको महत्त्वपूर्ण भागलाई नियन्त्रण गरेको हो । गाजामा इजरायलको चलिरहेको द्वन्द्वबीचमा उनीहरूले प्यालेस्टिनीलाई समर्थन गरेका छन् । 

उनिहरुले नोभेम्बरदेखि लाल सागर, बाब अल–मन्डेब जलडमरूमध्य र एडनको खाडीमा जहाजमा बारम्बार ड्रोन र मिसाइल आक्रमण सुरु गरेका छन् । 

इरानले अमेरिका–बेलायतको आक्रमणलाई “यमनको सार्वभौमिकता र क्षेत्रीय अखण्डता, अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको उल्लङ्घन” भएको निन्दा गरेको छ । 

“आक्रमणकारी अमेरिका र बेलायती सरकार यमनी जनता विरुद्धको यी अपराधको परिणामका लागि जिम्मेवार छन्”, इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले भने । 

अमेरिकी समुद्री प्रशासनका अनुसार हुथीले ढुवानी जहाजमा पचासभन्दा बढी आक्रमण गरेका छन्, जसको परिणामस्वरूप हताहत, जहाज कब्जा र विश्वव्यापी व्यापार मार्गमा अवरोध आएको छ । हुथीले ढुवानी कम्पनीलाई वैकल्पिक मार्ग खोज्न बाध्य पारेका छन् । जसका कारण लाल सागर पार गर्ने विश्वव्यापी व्यापारको लगभग बाह्र प्रतिशतलाई असर गरेको छ । 

हुथीको क्षमतालाई घटाउने उद्देश्यले अमेरिका र बेलायतले संयुक्त हमला गरे पनि विद्रोहीले आफ्नो आक्रमण जारी राखेका छन् । आफ्नो पछिल्लो कारबाहीमा उनीहरूले गाजामा इजरायली आक्रमणको प्रतिक्रियामा ग्रिसको स्वामित्वमा रहेको ढुवानी जहाज र अन्य जहाजलाई आक्रमण गरेको अल जजिराले जनाएको छ ।

भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान

भारतमा आज लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुँदैछ ।

पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बङ्गालका नौ सिट, बिहारका आठ, उडिसाका छ, हिमाचल प्रदेशका सबै चार सिट, झारखण्डका तीन सिट र चण्डीगढको एक सिटमा आज मतदान हुँदैछ ।

लोकसभा चुनावको अन्तिम चरणको प्रचारप्रसार बिहीबार साँझ सम्पन्न भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता अन्तिम चरणको निर्वाचनमा चुनावी मैदानमा छन् । यो निर्वाचनमा कूल नौ सय चार जनाले उम्मेदवारी दिएका छन् ।

सात चरणको लोकसभा चुनावको लामो प्रचारका क्रममा प्रधानमन्त्री मोदीले ७५ दिनमा दुई सयभन्दा बढी प्रचार कार्यक्रमहरू आयोजना गर्नुभयो ।  यसमा र्यालीहरू र रोड शोहरू समावेश थिए ।

आफ्नो चुनावी अभियान समाप्त गरेपछि प्रधानमन्त्री मोदी बिहीबार साँझ तमिलनाडूको कन्याकुमारीमा विवेकानन्द रक मेमोरियलमा ध्यानका लागि पुगेका थिए । ध्यान आजसम्म जारी रहनेछ ।  ध्यानमण्डपममा स्वामी विवेकानन्दले ध्यान गरेको ठाउँमा प्रधानमन्त्री मोदीले दिनरात ध्यान गर्ने बताइएको छ ।

लोकसभा चुनावको अघिल्लो छ चरणको मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो । मतगणना जुन ४ अर्थात मङ्गलबार सुरु हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ ।

सगरमाथा दिवसमा बङ्गलादेशमा तस्बिर प्रदर्शनी

काठमाडौँ । सगरमाथा दिवसका अवसरमा बङ्गलादेशको राजधानी ढाकामा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ । ढाकास्थित नेपाली दूतावासले ‘माउन्टेन मेमोरिजः कनेक्टिङ पिक्स एण्ड पिपल’ शीर्षकमा तीनदिने प्रदर्शनी आयोजना गरेको हो ।

बङ्गलादेशका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री साबेरहुसेन चौधरी, परराष्ट्र मन्त्रालयका सचिव मसुद बिन मोमेन र बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले प्रदर्शनीको संयुक्त रूपमा शुक्रबार उद्घाटन गरे । प्रदर्शनी बङ्गलादेश शिल्पकला एकेडेमीमा जारी छ ।

प्रदर्शनी उद्घाटन समारोहका प्रमुख अतिथि चौधरीले नेपाल बङ्गलादेशीहरूलाई मनपर्ने गन्तव्य मध्येको एक भएको र सगरमाथालगायत हिमालप्रति उनीहरूको विशेष आकर्षण रहेको बताए ।

जलवायु सङ्कटको अग्रपङ्क्तिमा हिमाल रहेका बताउँदै उहाँले विश्वव्यापी जलवायु वार्तामा हिमालका समस्या सम्बोधन गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्नुपर्नेमा जोड दिएको दूतावासले जनाएको छ ।

विशेष अतिथि परराष्ट्र सचिव मोमेनले नेपाल र बङ्गलादेशबीच विद्यमान सुदृढ सांस्कृतिक एवं जनस्तरको सम्बन्धबारे चर्चा गर्दै पर्वतारोहण र पदयात्रा दुवै देशका जनताको साझा साहसिक मनोभाव भएको बताए ।

उनले प्रगाढ पारस्परिक सम्बन्धको प्रशंसा पनि गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले सगरमाथा दिवस पृथ्वीको सर्वोच्च शिखरको पहिलो ऐतिहासिक आरोहणको सम्झना मात्र नभएर पर्वत र पर्वतीय पर्यावरणको महत्व झल्काउने अवसर पनि भएको बताए ।

राजदूत भण्डारीले जलवायु परिवर्तनको प्रकोपबाट समग्र हिमाली क्षेत्रको संरक्षणमा जोड दिँदै प्रदर्शनी नेपाली र बङ्गलादेशी पर्वतारोही, पदयात्रा र फोटोग्राफरले खिचेका तस्बिरमार्फत नेपालका हिमाल र प्राकृतिक दृश्यलाई बङ्गलादेशी नागरिकसमक्ष प्रस्तुत गर्ने प्रयास भएको बताए ।

शिल्पकला एकेडेमीका सचिव सलाहुद्दिन अहमदले तस्बिर प्रदर्शनीआयोजना गरेर सगरमाथा दिवस मनाउन दूतावासबाट भएको प्रयासको प्रशंसा गरे ।

प्रदर्शनीका सहजकर्ता इनाम उल–हकले बङ्गलादेशमा पर्वतारोहण र साहसिक पर्यटनका उदीयमान प्रवृत्तिबारे जानकारी दिए । उनले प्रदर्शनीमा समावेश प्रत्येक तस्बिरले साहस, दृढ सङ्कल्प र लचिलोपनका बेग्लै कथा बताउने उल्लेख गरे ।

त्यस अवसरमा गत मे १९ मा सगरमाथा आरोहण गरेका बङ्गलादेशी नागरिक मोहदबाबर अली र सन् २०१३ मा सगरमाथाको चुचुरो चुमेका स्वर्गीय खालिद हुसेनकी पत्नी श्रीमती तहमिना शैलीलाई पनि सम्मान गरिएको थियो ।

उद्घाटन समारोहमा बङ्गलादेश सरकारका कर्मचारी, ढाकास्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विद्वत्वर्ग, पर्वतारोही, पदयात्री, फोटोग्राफर, सञ्चारकर्मीहरूका साथै बङ्गलादेशी समाजका सबै क्षेत्रका प्रतिष्थित व्यक्तिसहित तीनसय भन्दा बढी अतिथिको उपस्थिति थियो ।

बङ्गलादेश शिल्पकला एकेडेमी र बङ्गला पर्वतीय पदयात्रा क्लबको सहयोगमा आयोजित प्रदर्शनीमा बङ्गलादेशी तथा नेपाली पर्वतारोही, पदयात्रा तथा फोटोग्राफरका एक सय २० तस्बिर समावेश छन् । प्रदर्शनी भोलि आइतबारसम्म जारी रहनेछ ।

भरतपुर अस्पतालमा चिकित्सा शिक्षा पढाउने तयारी

चितवन । चितवनस्थित सङ्घीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल तयारीमा जुटेको हो ।

यसअघि नीति तथा कार्यक्रममा सङ्घीय अस्पतालमा चिकित्सा शिक्षा अध्ययनका लागि अध्ययन गर्ने उल्लेख थियो । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले आउँदो शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने गरी तयारी थालिएको बताए ।

अस्पतालको जग्गामा रहेको सिटिइभिटीअन्तर्गतको स्कुल अफ हेल्थ साइन्सलाई स्थानान्तरण गरी त्यही ठाउँमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी छ । अध्यक्ष पौडेलले यसका लागि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयमार्फत सिटिइभिटीमा पत्राचार भइसकेको बताए ।

लामो प्रयासपछि चिकित्सा शिक्षाको पढाइ सञ्चालन गर्ने विषयलाई बजेटमा समेटन सफल भएको उनको भनाइ छ । दुई तले उक्त संरचनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।

सरकारसँग ५५ करोड थप माग गरेको जानकारी दिँदै अध्यक्ष पौडेलले २५ करोडको लागतमा भवन निर्माण गरिने र बाँकी रकमले विभिन्न उपकरण तथा सामग्री खरिद गर्ने योजना रहेको बताए । भरतपुर अस्पतालले यसअघि नै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स) को आङ्गिक क्याम्पसको स्वीकृति पाइसकेको छ । नेम्सअन्तर्गत एक सय विद्यार्थीलाई चिकित्सा शिक्षा पढाइने उनले बताए ।

अध्यक्ष पौडेलले भने, “जनशक्ति अस्पतालसँग छ, भवनको व्यवस्था भएपछि कक्षा सञ्चालन हुन्छ ।”

यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स) का उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतको नेतृत्वको टोलीले शुक्रबार भरतपुर अस्पतालको अनुगमन गरेको छ । त्यसक्रममा उनले भरतपुर अस्पतालमा चिकित्सा शिक्षा पढाउन सकिने अवस्था रहेको बताए । जिल्लामा हाल चितवन मेडिकल कलेज र ‘कलेज अफ मेडिकल साइन्सेस’मा चिकित्सा शिक्षा पठनपाठन हुँदै आएको छ ।

ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । गएराति मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार गएराति ललितपुरको महालक्ष्मी नगरपालिकास्थित टेम्पो पार्कमा बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०६५ नम्बरको स्कुटर आपसमा ठोकिएका हुन् ।

दुर्घटनामा स्कुटर चालक काठमाडौँ साँखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठ र मोटरसाइकल चालक खोटाङ साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लकेश राईको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका आयुषको उपचारका क्रममा किस्ट अस्पतालमा आज बिहान र लकेशको बीएन्डबी अस्पतालमा बिहान ६ः२५ बजे मृत्यु भएको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चिडिया तालसम्म पदमार्ग निर्माण

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीस्थित जैविक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण चिडिया तालसम्म पदमार्ग निर्माण गरिएको छ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले चालु आर्थिक वर्षमा रु १५ लाखको लागतमा चार सय मिटर लामो पदमार्ग निर्माण गरेको हो।

पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइका निमित्त प्रमुख डबलबहादुर बोहराका अनुसार उपभोक्ता समितिमार्फत उक्त पदमार्ग निर्माण गरिएको हो।

पदमार्ग निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई दृश्यावलोकन गर्न तथा वनभोजका लागि सहज हुने निमित्त प्रमुख बोहराले बताए।

‘पर्यटकलाई आकर्षित गर्न पदमार्ग निर्माण गरिएको हो’, उनले भने। ताल क्षेत्रमा खानेपानी, उद्यानलगायत संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ। यसका लागि प्रदेश सरकारले योजना बनाइरहेको निमित्त प्रमुख बोहराले बताए।

पूर्व–पश्चिम राजमार्गदेखि करिब दुई सय ५० मिटर उत्तरमा रहेको सो ताल सामुदायिक वन क्षेत्रमा पर्छ। उक्त क्षेत्रमा साना र ठूला गरी अन्य १२ वटा ताल रहेका छन्। रमणीय ठाउँ भए पनि यसको प्रचारप्रसार हुन नसकेको स्थानीय एकेन्द्र शाही बताउँछन्।

पदमार्ग बनेपछि ताल अवलोकन गर्न आउनेको सङ्ख्या बढेको छ । सीमसार क्षेत्र रहेकाले सो ताल क्षेत्रमा विभिन्न प्रजातिका चरा, कछुवा, माछा, अजिङ्गरलगायत पाइन्छन्।

करिब ३० बिघा क्षेत्रफलमा सो ताल फैलिएको छ। विश्व रामसार क्षेत्र सूचीकृत घोडाघोडी ताल नजिकै रहेकाले उक्त ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके स्थानीयस्तरमा रोजगारी सृजना गर्न सकिने घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले बताए।

यसैगरी कैलालीको चुरे गाउँपालिका–६ स्थित चमेरो गुफासम्म समेत पदमार्ग निर्माण गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु ६ लाखको लागतमा सो पदमार्ग निर्माण गरिएको चुरे गाउँपालिकाका रोजगार संयोजक हीरा विष्टले जानकारी दिए।

सरकारी अस्पतालहरुमा शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने

काठमाडौँ । सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्यसचिव रहेको मन्त्रालयले जनाएको छ ।

सरकारी अस्पतालमा नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेको गुनासा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले निर्देशन दिएका थिए ।

समितिले काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालमा शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नुपर्ने, प्रेषण (रिफर), सेवाको गुणस्तर तथा प्रक्रियागत झन्झटलगायत अवस्थाका बारेमा अध्ययन गर्ने कार्यादेश दिइएको छ ।

यसैगरी नागरिकको शल्यक्रियाका लागि भइरहेको ढिलाइको कारण, अस्पतालको विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको सङ्ख्या र उनीहरुको दैनिक सेवा विवरण तयार पार्नसमेत समितिलाई निर्देशन दिइएको छ । समितिले अस्पतालबाट प्रवाह हुने बहिरङ्ग (ओपिडी) सेवा सम्बन्धमा सो क्षेत्र हेर्ने चिकित्सकको सङ्ख्या, निजहरुले दैनिक बिरामी हेरेको सङ्ख्या र प्रेषणको अवस्थाका बारेमा विस्तृत विवरण तयार पार्नेछ ।

समितिले अस्पतालमा प्रवाह हुने प्रयोगशाला तथा रेडियोलोजी सेवाको विस्तृत विवरण तथा सोही सेवाका लागि अन्यन्त्र ‘रिफर’ गरेको भए सोको विवरण प्रस्तुत गर्नेछ ।

अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवं अन्य पूर्वाधारको अवस्था अध्ययन गरी समयमै गुणस्तरीय सेवा प्रवाह भए/नभएको अवस्था जानकारी गराउँदै समितिले सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ । कार्यादेशमा उल्लेख भएका विवरणसहित दुई साताभित्र प्रभावकारी स्वास्थ्य व्यवस्थापन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ ।

मधेसमा सरकार गठन र बजेटबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । संसद भवन नयाँबानेश्वरस्थित आज दिउँसो बैठक बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेश प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।

पछिल्लो समय सत्तारुढ दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षि दलहरुसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरंग पैदा भएको छ । त्यस्तै, र्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको अगामी आर्थिक वर्षको बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदैछ

गर्मी बढेपछि नेपालगञ्जका विद्यालयमा थप एकसाता बिदा दिइने

नेपालगञ्ज । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ । उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ ।

अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो ।

उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा भने यस वर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख छ । नेपालगञ्ज उपमहानगरपालिका भित्रका विद्यालयमा असार ९ गतेदेखि पठनपाठन हुने बताइएको छ । केही दिन अघि नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियससम्म मापन भएको थियो । गर्मीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।

अभ्यास खेलमा श्रीलंका विजयी

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा श्रीलंका विजयी भएको छ । शुक्रबार राति भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ४१ रनले पराजित गरेको हो ।

श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो । आयरल्याण्डको पारि भने १८.२ ओभरमा १२२ रनमा समेटिन पुग्यो । टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक ३२ रनको नटआउट पारि खेल्दा कप्तान वानेन्दू हसरंगाले २६ रन जोडे ।

त्यसैगरी पथुम निसनकाले २२ रन बनाउँदा दासुन सनकाले २३ रन बनाए । यसैगरी सदिरा समरविक्रमा र कुसल मेन्डिसले १३–१३ रन जोडेका थिए । आयरल्याण्डका जोस लिटल र बेरी म्याकार्थीले दुई दुई विकेट लिए ।

जवाफमा मध्यम सुरुआत गरेको आयरल्याण्डले जित भने निकाल्न सकेन । आयरल्याण्डका लागि कर्टिस कामफरले २६ रन बनाउँदा कप्तान पौल स्र्टलिङले २१ रन जोडे ।

त्यसैगरी जर्ज डर्केलले १७ रन बनाउँदा एन्डी बालवर्नीले १६ रन बनाएका थिए । हेरि टेक्टरले १३ तथा लोरकन टकरले ११ रन बनाए ।
आयरल्याण्डलाई रोक्ने क्रममा श्रीलंकाका दसुन सनकाले ३.२ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिँदा महिसा तिक्षणा र वानेन्दू हसरंगाले दुई दुई विकेट लिए ।

टी २० विश्वकप आइतबारदेखि सुरुहुँदै छ । श्रीलंका समूह डीमा रहेको छ भने आयरल्याण्ड समूह एमा रहेको छ ।
यस्तै, अर्को अभ्यास खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई ५५ रनले पराजित गरेको छ ।

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गरेका छन् ।

गए राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिएका हुन्। उजुरी/जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको सङ्ख्याबारे पनि सो अवसरमा जानकारी लिए ।

गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीनवटै वृत्तका प्रमुखलाई निर्देशन दिए । नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना पाँच दिनभित्र पेस गर्न महाराजगञ्ज वृत्त प्रमुखलाई निर्देशन सिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रहरीको काम कारवाही थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारको सुझाव दिन, प्रहरी सङ्गठनलाई अझ नागरिकमैत्री, व्यावसायिक, स्रोत–साधनयुक्त र चुस्त–दुरुस्त बनाउन गर्नुपर्ने कामको योजना बनाउन सुझाव लिनका लागि गृहमन्त्री लामिछानेले तल्लो तहका प्रहरी युनिटको अनुगमन थालेक हुन् ।

नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौँ ।  नेपाल प्रहरीमा जनपद तर्फका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएकाे छ ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शुक्रबार राति चार एसपी एसएसपीमा बढुवा भएको सूची प्रकाशित गरेको हो ।

सिफारिस सूचीको पहिलो नम्बरमा श्यामकृष्ण अधिकारी रहेका छन् भने दोस्रो नम्बरमा रवीन्द्र रेग्मी,  तेस्रोमा भीमबहादुर दाहाल र चौथो नम्बरमा नान्तीराज गुरुङ रहेका छन् ।

न्युयोर्क आपराधिक मुद्दा धेरै अनुचित: ट्रम्प

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आपराधिक सजायको निन्दा गर्दै न्युयोर्क मुद्दा ‘धेरै अनुचित’ रहेका बताएका छन् । उनले प्रक्रियालाई राजनीतिकरूपमा हमला गर्दै पुनरावेदन गर्ने वाचा गरे ।  

“यो धेरै अनुचित थियो, हाम्रो पक्षका केही साक्षीहरूलाई के भयो तपाईंले देख्नुभयो, उनीहरूलाई साँच्चै नै सूलीमा चढाइयो”, उनले म्यानहट्टनमा ट्रम्प टावरमा एक सम्बोधनमा भने । उनले विरोधीहरूलाई ‘बिरामी’ र ‘फासिस्ट’ भएको बताए । 

पूर्वराष्ट्रपति ट्रम्पले फर्जी व्यावसायिक रेकर्डका ३४ मामिलामा आफ्नो सजायलाई चुनौती दिने वाचा गर्दै घोषणा गरे “हामी यो घोटालाविरुद्ध धेरै फरक कुरामा पुनरावेदन गर्दैछौँ ।”

आफ्नो कानूनी अधिकार थियो भन्दै उनले गवाही दिन चाहेको दाबी गरे । यद्यपि उनलाई यसको अनुमति दिइएन । 

नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार ट्रम्पलाई अभियोजकहरूले सोधपुछ गरेको खण्डमा कानूनी र राजनीतिक खतरालाई बाहिर निकाल्ने सुझाव कानूनी पर्यवेक्षकहरूले दिएका थिए । 

उनले कानून स्थापना गर्न पाउँदा आफू ‘सम्मानित’ भएको तर यो आफ्नो परिवारका लागि अत्यन्त नराम्रो छ, यो मेरा साथी र व्यवसायहरूका लागि धेरै खराब भएको बताए ।

अत्यधिक गर्मीले भारतमा ३१ जनाको मृत्यु

भारतमा अध्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ । पूर्वी राज्य उडिसामा संदिग्ध गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो (एआइआर) ले जनाएको छ ।

चिकित्सकहरूले बिहीबार रेकर्ड गरिएका मृत्युहरू चलिरहेको गर्मीको लहरसँग सम्बन्धित हुन सक्ने बताएका छन् । राउरकेला सरकारी अस्पताल (आरजिएच) मा १० र सुन्दरगढ जिल्ला मुख्यालय अस्पतालमा चार जनाको मृत्यु भएको थियो ।

‘आरजिएच पुग्दासम्म आठ जनाको मृत्यु भइसकेको थियो, बाँकीको त्यहाँ उपचारका क्रममा मृत्यु भयो । आरजिएचका अधिकारीहरूले शव परीक्षणपछि मृत्युको वास्तविक कारण आज पत्ता लगाउने छन्,’ एआइआरले भनेको छ । उडिसाले तीव्र गर्मीको लहर अनुभव गरिरहेको छ ।

राज्यका प्रमुख भागहरूमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । झारसुगुडा राज्यको सबैभन्दा तातो ठाउँ थियो । बिहीबार त्यहाँ अधिकतम तापक्रम ४७ डिग्री सेल्सियस रहेको प्रतिवेदनले देखाएको छ । अधिकारीहरूले सर्वसाधारणलाई गर्मीसम्बन्धी रोगहरूको उपचारका लागि अस्पतालहरूमा भर्ना गरिएको बताएका छन् ।

भारतको मौसम विभागले सर्वसाधारणलाई गर्मीको जोखिमबाट बच्न, चिसो ठाउँमा बस्न र पर्याप्त पानी पिएर हाइड्रेटेड रहन सुझाव दिएको सिन्ह्वाले जनाएको छ । त्यसैगरी बिहारको औरङ्गाबाद जिल्लाको एक अस्पतालमा गर्मीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । यसअघि १२ जना पुगेको बिहारको औरङ्गाबादमा तातो लहरका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म १७ जना पुगेको छ ।

‘अस्पतालमा भर्ना भएका पाँच जनाको मृत्यु भएको छ, शव परीक्षणको रिपोर्ट आएपछि यकिन थाहा हुनेछ’, औरङ्गाबादका जिल्ला मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गर्मीका कारण ज्यान गुमाउनेको घटनाबारे जानकारी दिँदै भने, ‘हामीले तातो स्ट्रोकका बिरामीको व्यवस्था गरेका छौँ । बिरामीलाई राम्रो व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन लागिरहेको छ । हामी निःशुल्क ओआरएस (जीवनजल) वितरण गर्दैछौँ ।’

राज्यका अन्य जिल्लाजस्तै औरङ्गाबाद सहर पनि रेकर्ड तोड तापक्रमका साथ अभूतपूर्व गर्मीको लहरसँग लडिरहेको छ । उत्तरपश्चिम र मध्य भारतका केही भागमा चरम तापक्रम जारी रहँदा गर्मीको लहरले मानिसहरूको दैनिक जीवनमा बाधा पुर्याइरहेको छ । बिहारमा २४ जनाले ज्यान गुमाएका छन् । राज्यले तीव्र गर्मीको लहरको अवस्था अनुभव गरेको छ ।

त्यहाँ तापक्रम ४४ डिग्री सेल्सियसभन्दा बढी छ । बिहीबार पनि कैमुर जिल्लामा चुनावी काममा खटिएका एक कर्मचारीसहित चार जनाको मृत्यु भएको बताइएको छ । बिहारको भोजपुर जिल्लाको आराहमा पनि अत्यधिक गर्मीका कारण तीन जनाको मृत्यु भएको एएनआईले उल्लेख गरेको छ ।

राज्य सरकारले सबै निजी र सरकारी विद्यालय, कोचिङ संस्थान र आँगनवाडी केन्द्रहरूलाई जुन ८ सम्म बन्द गर्न आदेश दिएको छ । गर्मीका कारण दर्जनौँ विद्यार्थी बेहोस भएपछि यस्तो निर्णय गरिएको हो । बिहारमा लोकसभा चुनावका सबै सात चरणमा मतदान भइरहेको छ । अन्तिम चरण शनिबार जुन १ मा तय गरिएको छ ।

जेठ मसान्तसम्म नवीकरणका लागि आवेदन नदिए क्यासिनोको इजाजत स्वतः खारेज हुने

काठमाडौँ । जेठ मसान्तसम्म क्यासिनो नवीकरणका लागि आवेदन नदिए क्यासिनो सञ्चालकको इजाजतपत्र स्वतः खारेज हुने भएको छ ।

सञ्चालन गर्दै आएको क्यासिनो यही जेठ मसान्तसम्म नवीकरणका लागि निवेदन नदिए  सञ्चालनका लागि लिएको इजाजतपत्र स्वतः खारेज हुने पर्यटन विभागका प्रवक्ता एवं निर्देशक कालिबहादुर भुजेलले जानकारी दिए । उनले भने, “क्यासिनोको इजाजतपत्र असार मसान्तमा नवीकरण हुने तथा उक्त नवीकरणका लागि एक महिनाअगाडि जेठ मसान्तसम्म आवेदन दिनुपर्ने हुन्छ । जेठ मसान्तसम्म नवीकरणका लागि आवेदन नदिए स्वतः खारेज हुने छ ।”

अहिलेसम्म क्यासिनो नवीकरण गराउनका लागि न्यून सङ्ख्यामा मात्रै आवेदन परेको प्रवक्ता भुजेलले बताए । उनका अनुसार देशभरि क्यासिनो सञ्चालनका लागि २८ इजाजतपत्र दिइएको छ ।

यसैगरी, विभागबाट अनुमति लिई सञ्चालनमा रहेका क्यासिनो सञ्चालकले इजाजतपत्रको मान्य अवधि समाप्त हुनुअगावै (चालु आर्थिक वर्ष असार मसान्त) नवीकरण गर्नुपर्ने भएकाले चालु आवको जेठ मसान्तभित्र बक्यौता र तोकिएबमोजिमको क्यासिनो रोयल्टी रकम, नवीकरण दस्तुर तथा क्यासिनो नियमावली, २०७० को नियम १३ (१) मा उल्लिखित कागजात संलग्न गरी विभागमा निवेदन दिन विभागले आग्रह गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ६८ र डिजेल/मट्टितेलको १ सय ५३ पर्नेछ । हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

भारतको अर्थतन्त्र ८.२ प्रतिशतले वृद्धि

मुम्बई । भारतले शुक्रबार मार्चमा समाप्त हुने वर्षमा आठ दशमलव दुई प्रतिशतले आर्थिक वृद्धि हासिल गरेको छ । आम निर्वाचन समाप्त हुनु एक दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक साखलाई यसले अन्तिम क्षणमा बढावा दिएको छ ।

बलियो माग र व्यापक सरकारी पूर्वाधार खर्चका कारण विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारत सबैभन्दा द्रुत विकास हुने प्रमुख अर्थतन्त्र बनेको छ ।

दीर्घकालीन बेरोजगारी र गरिबीले ग्रस्त करोडौँ नागरिकका लागि अपार कल्याणकारी खर्च भए पनि यसले भारतको समग्र आर्थिक प्रक्षेपणबारेको भावनालाई सकारात्मक बनाएको छ ।

उत्पादन र उत्खनन क्षेत्रमा बलियो वृद्धिका कारण भारतको वार्षिक वृद्धि सङ्ख्यामा गरेको योगदानले सरकार र विश्लेषक दुवैको अनुमानलाई पछि पारेको छ ।

भारतीय अर्थतन्त्रले मार्चको त्रैमासिकमा सरकारको पाँच दशमलव नौ प्रतिशतको पूर्वानुमानभन्दा बढी सात दशमलव आठ प्रतशितले वृद्धि हासिल गरेको छ ।

भारतीय तथ्याङ्क मन्त्रालयको आँकडा मुलुकको छ साताभन्दा लामो समयसम्म आम निर्वाचनमा मतदान समाप्त हुनुभन्दा एक दिनअघि प्रकाशित गरिएको थियो ।

मङ्गलबार मतगणना भएपछि मोदीको सरकारले तेस्रो कार्यकाल जित्ने विश्लेषकहरूले अपेक्षा गरेका छन् । त्रिहत्तर वर्षीय मोदीले दशकको अन्त्यसम्म भारतलाई अमेरिका र चीनपछि विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र बनाउने वाचा गर्नुभएको छ ।

यद्यपि मोदी सरकारले हरेक वर्ष कार्यबलमा प्रवेश गर्ने लाखौँ भारतीय युवाका लागि पर्याप्त नोकरी सिर्जना गर्न सङ्घर्ष गर्नुपरेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सन् २०२२ मा भारतका २९ प्रतिशत युवा विश्वविद्यालय स्नातक बेरोजगार रहेको अनुमान गरेको छ ।

भारतले कोभिड–१९ महामारीबाट बाहिर निस्किएपछि विश्वव्यापी प्रतिकूलताहरूको नयाँ समूहसँग सङ्घर्ष गरिरहेको छ । यसमा युक्रेनमा युद्धका कारण विश्वव्यापी तेल र खाद्यान्न बजारमा मूल्यवृद्धि पनि समावेश छ ।

त्यसयता सन् २०२२ मा भारतको उच्चतम सात प्रतिशतको मुद्रास्फीति घटेर चार दशमलव ८३ प्रतिशतमा आएको छ ।

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को अप्रिलको पूर्वानुमानअनुसार शुक्रबारको आँकडाले भारतको आर्थिक वृद्धि चीन, पश्चिमी मुलुकहरू र अन्य सबै उदीयमान अर्थतन्त्रहरूको तुलनामा उच्च रहेको देखाएको छ ।

आइएमएफले आर्थिक वर्ष २०२४–२५ का लागि विकास दर थोरै कम भएर छ दशमलव पाँच प्रतिशत रहने अपेक्षा गरेको छ । भारतीय केन्द्रीय बैङ्कले भने यो सात प्रतिशत हुने अनुमान गरेको छ ।

ठमेलबाट अनैतिक क्रियाकलाप गरेको अभियोगमा ९ विदेशीसहित १५ महिला पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलमा रातको समयमा सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा १५ जना महिला पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरको टोलीले उनीहरूलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा ९ जना विदेशी र ६ जना नेपाली युवती छन्। उनीहरूले ठमेलस्थित सडकमा रातको समयमा बसेर विदेशी तथा आन्तरिक पर्यटकलाई दुर्व्यवहार गर्ने, हैरानी दिने तथा सार्वजनिक स्थानहरूमा अनैतिक क्रियाकलाप गर्ने गरेको प्रहरीको दाबी छ । प्रहरीले उनीहरूविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अभद्र व्यवहारको कसुरमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको छ ।

 पक्राउ परेका व्यक्तिहरु:
१. Uganda देश घर भई हाल का.जि., कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00443414 वाहक बर्ष ३४ की Viola Nakasango Kisambira ।
२. Uganda देश घर भई हाल का.जि., कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00217312 वाहक बर्ष २६ की Racheal Namuddu ।
३. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00828554 वाहक बर्ष ५४ की Sarah Namata Kiwanuka ।
४. Kenya देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Kenyan पासपोर्ट नं. AK0549306 वाहक बर्ष २९ की Hellen Adhiambo ।
५. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. B00340948 वाहक बर्ष ३० की Sharifa Ssemitego ।
६.Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00447260 वाहक बर्ष ४० की Robinah Nakyazze ।
७. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. B00260026 वाहक बर्ष ३२ की Nsangi Recheal ।
८. Uganda देश घर भई हाल का.जि. कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने Ugandan पासपोर्ट नं. A00349760 वाहक बर्ष ३० की Jackline Nakandah
९. Uganda देश घर भई हालका.जि.कामनपा वडा नं.२६ ठमेल स्थितमा बस्ने U ugandan पासपोर्ट नं. A00386427 वाहक बर्ष ३८ की Vanessa Namutebi ।
१०. जिल्ला नुवाकोट साबिक तारुका गा.बि.स.वडा नं.६ हाल परीवर्तित तार्केश्वर गाँउपालिका वडा नं.६ स्थाई वतन भई हाल का.जि.टोखा.न.पा.वडा नं.८ सुर्यदर्शन हाईट बस्ने बर्ष २२ कि रोशनी श्रेष्ठ ।
११. जिल्ला काठमाडौं तार्केश्वर न.पा. १० मनमैजु घर भई बस्ने बर्ष १८ कि कृष्टिना क्षेत्री ।
१२. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं.४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.१६ वालाजु बस्ने बर्ष २८ कि सिर्जना तामाङ ।
१३. जिल्ला रसुवा कालिकास्थान गा.पा. वडा नं.३ घर भई हाल का.जि.तार्केश्वर न.पा. ९ जरंखु बस्ने बर्ष २० कि रुबि तामाङ ।
१४. जिल्ला धनकुटा सहिदभुमी गा.पा. वडा नं.५ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.१६ वालाजु बस्ने बर्ष २३ कि ईन्दु राई ।
१५. जिल्ला कैलालि धनगडि उ.म.न.पा. वडा नं. १४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.१६ माछापोखरी बर्ष २५ कि निशा सुनार ।

जलवायु परिवर्तनका कारण विश्वमा प्रत्येक वर्ष २६ दिन चरम गर्मी

विश्वले पछिल्लो १२ महिनामा औसत २६ दिन थप अत्यधिक गर्मीको अनुभव गरेको छ । यो जलवायु परिवर्तनबिना सम्भवतः नहुने एक प्रतिवेदनमा उल्लेख छ ।

गर्मी जलवायुसम्बन्धी मृत्युको प्रमुख कारण हो । प्रतिवेदनले विश्वभरि चरम मौसमको आवृत्ति र तीव्रता बढाउनमा विश्वव्यापी तापक्रमको भूमिकालाई औँल्याउँछ ।

उक्त अध्ययनका लागि वैज्ञानिकहरूले सन् १९९१ देखि सन् २०२० को वर्षहरू प्रयोग गरी त्यो अवधिमा प्रत्येक देशका लागि शीर्ष १० प्रतिशतभित्र कुन तापक्रम गनिन्छ भनेर निर्धारण गरेका छन् ।

त्यसपछि उनीहरूले कति दिन तापक्रम यसअघिको सीमाभित्र वा त्योभन्दा धेरै रह्यो भन्ने पत्ता लगाउन सकियोस् भनेर सन् २०२४ मे १५ सम्मको १२ महिनालाई हेरेका थिए ।

पुनः सहकर्मी–समीक्षा विधिहरू प्रयोग गरेर वैज्ञानिकहरूले यी प्रत्येक अत्यधिक तातो दिनहरूमा जलवायु परिवर्तनको प्रभावको जाँच गरेका छन् ।

“मानवजनित जलवायु परिवर्तनले संसारका सबै ठाउँमा चरम गर्मीको २६ दिन थप बढाइदियो”, वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् ।

उक्त प्रतिवेदन रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टर, वर्ल्ड वेदर एट्रिब्युसन साइन्टिफिक नेटवर्क र गैरनाफामुखी अनुसन्धान संस्था क्लाइमेट सेन्ट्रलले प्रकाशित गरेका हुन् ।

युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन, कोपर्निकसका अनुसार सन् २०२३ रेकर्डमा सबैभन्दा तातो वर्ष थियो । यस वर्ष पहिले नै चरम गर्मीको लहरले मेक्सिकोदेखि पाकिस्तानसम्म विश्वको धेरै भागलाई प्रभावित पारेको छ ।

पछिल्लो १२ महिनामा करिब छ अर्ब ३० करोड मानिस (विश्व जनसङ्ख्याको झन्डै ८० प्रतिशत) ले कम्तिमा ३१ दिन चरम गर्मीको अनुभव गरेको प्रतिवेदनले बताएको छ ।

समग्रमा अन्टार्कटिका बाहेक हरेक महादेशका ९० विभिन्न देशमा  ७६ वटा चरम गर्मीको लहर दर्ता भएका थिए । सबैभन्दा बढी प्रभावित पाँच राष्ट्र ल्याटिन अमेरिकामा थिए ।

“अत्यन्त गर्मीले पछिल्लो १२ महिनामा दशौँ हजार मानिसको ज्यान लिएको छ तर वास्तविक सङ्ख्या सयौँ हजार वा लाखौँमा हुनसक्छ,” रेड क्रसले विज्ञप्तिमा भनेको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव जगन चापागाईंले भने, “बाढी र आँधी हेडलाइनहरू बन्न सक्छन् तर अत्यधिक गर्मीको प्रभाव उत्तिकै घातक छ ।”

दुबईबाट फर्केर तरकारीखेती

देउखुरी (दाङ) ।  बारीभरि टमाटर, करेला र काँक्रा लटरम्म फलेका छन् । भर्खरै टिपेको तरकारी बजार लैजाने तयारीमा देखिन्छन् । यो दृश्य घोराही उपमहानगरपालिका–६ लखुवारका स्रष्टा आचार्यले गरेको व्यावसायिक तरकारी बारीको हो । उनले चार बिघा चार कट्ठा जमिन भाडामा लिएर तरकारीखेती गर्नुभएको छ । जग्गा भाडा मात्रै वार्षिक  एक लाख २८ हजार तिर्छन् ।

उनले काँक्रा, बोडी, टमाटर, खरबुजा  र घिराँैलालगायत तरकारी लगाए । “उत्पादित तरकारी वैशाखदेखि बिक्री सुरु गरेका छौँ”, उनले भने, “अहिलेसम्म चार लाख आम्दानी भएको छ ।” व्यापारी घरमै आउने भएकाले बिक्रीका लागि बजार लैजानुपर्ने झन्झट नभएको उनले बताए ।

वैदेशिक रोजगारीका क्रममा दुबईमा १३ वर्ष बिताएका स्रष्टाले फर्केपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचाइका साथ तरकारीखेतीमा लागेको बताए ।

दुबईमा ‘अप्रेसन कन्ट्रोलर’का रुपमा यातायातमा काम गरेको अनुभव उनीसँग छ । “उता पनि कमाई राम्रै थियो तर यतै काम गर्ने सोचले स्वरोजगार बन्न व्यावसायिक तरकारी खेतीमा लागेको हुँ”, उनले भने ।

तरकारीखेतीमा अहिलेसम्म १५ लाख लगानी भइसकेको उनको भनाइ छ । दुईजनालाई फार्ममै बस्ने व्यवस्था गरेका छन् । आवश्यकताअनुसार दैनिक छदेखि आठ जनालाई रोजगारी दिने गरेको उनले बताए ।

स्थानीय सरकारले विदेशबाट फर्केर कृषिमा लाग्ने युवालाई सहयोग गर्ने सुनेको तर आफूले त्यो अवसर नपाएको उनले बताए । सानो लगानीबाट आम्दानी गर्दै र त्यही आम्दानीलाई लगानीमा रुपान्तरण गरी बढाउँदै लैजाने उनको योजना छ ।

पयर्टन विकास आयोजनाका कर्मचारी घुसहित पक्राउ

काठमाडौं । पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सव इन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित शुक्रबार रंगेहात पक्राउ गरेको हो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल पक्राउ परेका हुन् ।

उनीहरूले सेवाग्राहीसँग १७ हजार घुस लिएपछि अख्तियारको टोलीले पक्राउ गरेको थियो । मन्दिर निर्माणको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिन भन्दै उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले बताएको छ ।

बजेटमा नयाँ चरणको आर्थिक सुधार थाल्ने योजना  पर्नु सकारात्मकः महासङ्घ

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारका लागि आयोग गठन गर्ने योजना अघि सारेकोप्रति निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले सकारात्मक रुपमा लिएको छ ।

आगामी आर्थिक वर्षको बजेटबारे प्रतिक्रिया दिँदै महासङ्घले निजी क्षेत्रको सुझावका आधारमै सरकारले यो विषय बजेटमा राखेको र निजी क्षेत्रको सहकार्यमा कार्यान्वयन हुने जनाएको छ ।

“महासङ्घले विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन विकासका लागि नयाँ चरणको आर्थिक सुधार कार्यक्रम लागू गर्न आयोग गठन गर्न माग प्रस्तुत गर्दै यसका लागि निरन्तर पैरवी गरिरहेको थियो । उक्त आयोगमा निजी क्षेत्रको समेत सहभागिता भई नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास महासङ्घले लिएको छ”, शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी, महासङ्घको प्रवद्र्धनमा साना व्यवसायी समेतको बचत सङ्कलन गरी लगानी कम्पनी स्थापना गर्न भइरहेको पहललाई बजेटले समर्थन गरेको महासङ्घले जनाएको छ । यसले लगानीको वातारण नबनिरहेका बेला साना लगानीकर्तालाई प्रोत्साहित गर्दै ठूला परियोजना निर्माण र रुग्ण उद्योग समेतको पुनःउत्थानमा सहयोग पुग्ने महासङ्घले उल्लेख गरेको छ ।

दिएका अरू सुझाव पनि बजेटमा परेको महासङ्घले जनाएको छ । “निजी क्षेत्रले लगानी दशकको माग गरिरहेको सन्दर्भमा सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । पहाडमा फलफूल खेती, राजमार्ग केन्द्रित व्यवसायलगायत विषय समेटिएका छन्”, महासङ्घद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ, “तर कृषिमा निजी क्षेत्रको लगानी आकर्षित गर्न बजेटका प्रावधान पर्याप्त नभएको हुँदा थप गृहकार्य आवश्यक छ ।”

पर्यटन प्रवद्र्धनमा विवाह तथा सभा समारोहका लागि नेपाललाई विशेष हबका रुपमा विकास गर्नुपर्ने महासङ्घको माग बजेटमा सम्बोधन भएको छ । यसैगरी, भारतीय सीमा नजिक ‘हिलस्टेसन’ निर्माणका लागि निजी क्षेत्रलाई सहयोग प्रदान गर्न गरिएको माग सम्बोधन भएको छ । यसमा शिक्षा, पर्यटन, स्वास्थ्यलगायत जोडेर सरकारले पहुँचमार्ग, बिजुली र पानीको व्यवस्था गर्नुपर्ने महासङ्घको सुझाव छ ।

स्टार्टअप व्यवसायका लागि कोषको रकम बढाइनु सकारात्मक उल्लेख गर्दै परियोजना धितो कर्जाका विषयमा थप गृहकार्य आवश्यक रहेको महासङ्घले जनाएको छ । त्यस्तै, सूचना प्रविधि हब निर्माणको पहल सकारात्मक रहेको भए पनि छोटो समयमा हुने नीतिगत परिवर्तनले युवामा निराशा बढने विषय बजेटमा नसमेटिएको महासङ्घले जनाएको छ ।

बजेटका केही विषयमा भने महासङ्घले आलोचना गरेको छ । “उत्पादनमूलक उद्योगको कूल गार्हस्थ उत्पादनमा निरन्तर हिस्सा घटिरहेको सन्दर्भमा बजेटले थप कार्यक्रमसहित मनोबल बढाउने सम्भावनालाई सरकारले ध्यान दिन सकेन । अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि ठोस कार्यक्रम आउन सकेका छैनन्”, महासङ्घको विज्ञप्तिमा उल्लेख छ, “बजेटको पहिलो प्राथमिकता नै आर्थिक सुधार र निजी क्षेत्रको प्रवद्र्धन रहनु स्वागतयोग्य कदम हो, तर उक्त प्राथमिकतालाई कार्यान्वयन गर्न बजेटमा थोरै विषय मात्रै समेटिएको हुँदा थप गृहकार्य आवश्यक देखिन्छ ।”

बजेटसँग तादात्म्य हुने गरी मौद्रिक नीति ल्याइने बजेटमा उल्लेख छ । तर बजेटमा बैङ्क वित्तीय संस्थामा रहेको अधिक तरलताको निजी क्षेत्रले उपभोग गर्न सक्ने ठोस कार्यक्रम न्यून रहेको महासङ्घले जनाएको छ । नीतिगत स्थिरताका लागि महासङ्घले माग गरेको छ । 

“कुनै एक वर्षको बजेटले भएको व्यवस्था तत्काल परिवर्तन हुने एवं भूतप्रभावी कानुन लागू हुने गरेको छ । पूर्वानुमानयोग्य नीतिहरु नहुँदा विद्यमान लगानी सङ्कटमा पर्ने गरेको छ भने विदेशी लगानी आउन सकेको छैन”, महासङ्घको विज्ञप्तिमा भनिएको छ, “राजनीतिक र नीतिगत स्थायित्व हुन नसक्नु, बारम्बार राजस्वका दर परिवर्तन हुनु, लगानीकर्ताप्रतिको संशङ्कित व्यवहारलगायत कारण अर्थतन्त्रमा ८१ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्र निरुत्साहित हुने गरेको छ ।”