`

काठमाडौं महानगरको श्रम बैङ्कमा चार हजार भन्दाबढीको आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार हजार सात सय ७० जनाको आवेदन परेको छ । कामपाले गत भदौमा सीप भएका तर बेरोजगार जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन माग गरेको सूचनाअनुसार आवेदन प्राप्त भएको कामपा श्रम बैङ्कका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले जानकारी दिए । 


ठाकुरका अनुसार कामपाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार महानगरले आवेदन माग गरेको थियो । “यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्ने जनशक्तिको सूचीकरण हुनेछ”, उनले भने ।


कामपाले श्रम बैङ्कमा आएकामध्येबाट अहिले छ सयजना छनोट गरी कामपामा खटाएको छ । आवश्यकता र मागअनुसार अन्यलाई पनि काममा खटाउने तयारी गरिरहेको कामपाले जनाएको छ ।


आवेदन दिनेमध्ये सबैभन्दा धेरै सरसफाइको क्षेत्रमा काम गर्ने जनशपक्ति रहेको कामपाले जनाएको छ । “बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैङ्कमा श्रमिकलाई आबद्ध गराइएको हो”, उनले भने, “कामपाले तयार गरेको श्रम बैङ्कमा श्रमिकको नाम हुन्छ । जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार सम्पर्क नम्बर र श्रमिकको ठेगानालगायत विवरण उल्लेख गरिएको हुन्छ ।”


सोही विवरणका आधारमा आवश्यकता पर्ने जो सुकैले श्रमिकलाई काममा लगाउन र उचित पारिश्रमिक दिन सक्नेछन् । चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने छ ।


आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्ने छ । श्रम बैङ्कमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ काठमाडौँमा बसोबास भएको हुनुपर्ने छ । 


यस कार्यक्रमले आवश्यक श्रमशक्तिको उपलब्धता सहज हुनेछ । उनका अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था छ ।

प्राप्त जिम्मेवारी उत्कृष्ट रुपमा पूरा गर्न प्रहरी महानिरीक्षकद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्टरुपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारी थप सिर्जनशील बन्न निर्देशन दिएका छन् ।

सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटिई शुक्रबार जान लागेका प्रहरी नायव महानिरीक्षकहरु र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमा उत्कृष्ट कार्य गर्न निर्देशन दिएका हुन् । 

महानिरीक्षक कुँवरले सङ्गठनको कार्ययोजना एवं लक्ष्यलाई प्राथमिकतामा राखेर सङ्गठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै साङ्गठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरु सक्रिय भई खरो रुपमा उत्रन निर्देशन दिए ।

उनले भने, “सबै प्रहरी कर्मचारीहरुले सङ्गठनलाई विशिष्ट योगदान दिन व्यावसायिकता र निष्ठापूर्वक कार्यसम्पादन गर्नुपर्ने चर्चा गर्दै सङ्गठन बलियो भए हामी बलियो हुन्छौँ ।”

यसैगरी उनले सङ्गठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रित हुनु आवश्यक रहेको बताए । विगतमा भएका कमी कमजोरीलाई विश्लेषण गरी आवश्यक योजना, नीति बनाई आ–आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम एवं अपराध अनुसन्धान तथा नियन्त्रण गर्नका निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

महानिरीक्षक कुँवरले सङ्गठनको नीति र आवश्यकता अनुरुप नै सरुवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नवीन ढङ्गले सम्पादन गरी आफूलाई रोल मोडलको रुपमा प्रस्तुत हुन उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिए । आफू मातहतका प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाई निष्ठावान, इमानदार एवं थप सक्रिय भई जनपक्षीय काम गर्न उहाँले आग्रह समेत गरे ।

यसअघि प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले समेत सरुवा भई जान लागेका वरिष्ठ प्रहरी अधिकृतहरुलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवं निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा निर्देशन दिएका थिए । 

पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स श्रीलङ्का जाने

काठमाडौँ ।  पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल श्रीलङ्काको कोलोम्बो प्रस्थान गर्ने भएका छन् । प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहनेछन् । उनको प्रशिक्षण यही जेठ २० गतेदेखि सुरु हुनेछ । प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जन पनि श्रीलङ्का जानेछन् । 

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले शुत्रबार आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

सदस्य–सचिव घिसिङले नेपाल ब्याडमिन्टन सङ्घलाई प्रिन्सको ओलम्पिक यात्रासम्मको तयारीका लागि ‘टे«निङ प्लान’ पेस गर्न निर्देशन दिँदै नेपाली प्रशिक्षकको पनि स्तरवृद्धि होस् भन्ने उद्देश्यले प्रिन्ससँगै प्रशिक्षकलाई पनि श्रीलङ्का पठाएको बताए ।

प्रिन्सलाई इन्डोनेसियाको राष्ट्रिय टोलीसमेत सम्हालिसकेका इन्डोनेसियाकै प्रशिक्षक टोनी वाहयुदीले प्रशिक्षण दिनेछन् ।  प्रिन्स यसअघि नै पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भइसकेका छन् । प्रिन्स र ब्याडमिन्टनका मुख्य प्रशिक्षक योञ्जन यही जेठ २० गते नै श्रीलङ्काको कोलोम्बो प्रस्थान गर्नेछन् ।

आगामी बर्षको बजेटले बित्तिय अनुशासन कायम गर्न सक्दैँन : पूर्वअर्थमन्त्री डा. महत

काठमाडैं / नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बर्षको बजेटले बित्तिय अनुशासन कायम गर्न नसक्ने बताएका छन् ।

स्कुल अफ डेमोक्रेशीले शुक्रबार काठमाडौंमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समिक्षा बिषयक कार्यक्रममा महतले बजेटले सरकारको प्राथमिकता निर्धारण गर्न नसकेको र आवश्यकतालाई पहिचान गर्न नसकेकाले बित्तिय अनुशासन कायम गर्न नसक्ने बताएका हुन् । बजेटले पर्यटन, स्वास्थ्य लगाएतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्ने बाटो नखोलेको र सुधारका गुञ्जायस पनि नदेखिएको उनले बताए । महतले सिमित स्रोत साधनका बीच आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट ल्याउने सिद्धान्तलाई वर्तमान सरकारले वेवास्ता गरेको धारणा राखे ।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एक बर्षको अवधिमा सरकारलाई दिएका केहि सुझावहरुलाई बजेटले प्राथमिकतामा राखेको बताए । अझैपनि बजेटमा रहेका कमी कमजोरीहरुलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

उनले बजेटको उद्देश्य र प्राथमिकतामा रहेका निजी क्षेत्र सम्बन्धी कार्यक्रम कार्यान्वयनमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णय मानवअधिकारविरुद्ध रहेको भन्दै रिट दायर भएको हो ।

उनीविरुद्ध चक्रवती ल क्याम्पसका विद्यार्थीहरु कृष्ण विक, रविन्द्र पौडेल, आकाश कुमार भट्ट, प्रमेश पौडेल, उज्ज्वल माली र इमामुल हकले रिट दायर गरेका हुन् । उनीहरूले गृहमन्त्रीको मौखिक आदेशका भरमा लागू गरिएको सो नियम खारेज गर्न माग गरेका छन् ।

उनीहरूले कानुनभन्दा माथि व्यक्ति नहुने र ट्राफिक नियम उल्लंघन गरेकालाई स्वयंसेवक खटाउने कानुन नभएको जिकिर गरेका छन् । गृहमन्त्री लामिछानेले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा विशेष घोषणा भन्दै सामाजिक सञ्जालमार्फत ट्राफिक कारबाहीमा परेकाहरूले स्वयंसेवक बनाउने घोषणा गरेका थिए ।

उनको यो घोषणापछि काठमाडौं उपत्यकामा यसरी ट्राफिक कारबाहीमा परेकाहरूलाई स्वयंसेवक बनाइरहेको छ । लामिछानेको यो निर्णयको आलोचनासमेत भइरहेको छ । रिटमाथि २० जेठका लागि पेसीसमेत तोकिएको छ । यसअघि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । सो रिट सर्वोच्चमा विचाराधीन छ ।

दुर्गा खनालको शब्द तथा संगीतमा ‘उठ न उठ मेरा सन्तति’

काठमाडौं । दुर्गा खनालको शब्द तथा संगीतमा नयाँ म्यूजिक भिडयो आएको छ । शुक्रबार स्वरूपराज आचार्य र दुर्गा खनालको स्वरमा नयाँ गीत ‘उठ न उठ मेरा सन्तति’ आएको हो ।

डि फोर क्रियसनको यूट्यूव च्यानलमार्फत सार्वजनिक गीतमा कलाकारहरु मिथिला शर्मा, प्रकाश दिप तिमल्सिना, न्यो सागर लामा, सुजन मोक्तान र अनिश खड्गीको अनिनय रहेको छ । भिडियोको निर्देशन सुरेन्द्र बासेलले गरेका छन्।  दुर्गा खनालका यसअघि पनि थुप्रै म्यूजिक भिडियो आइसकेका छन् ।

बागलुङको पर्यटकीय क्षेत्र रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल

बागलुङ । अहिले बागलुङको रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ। बर्खा लाग्न सुरु भएसँगै बुकी उक्लिएका भेडीगोठ अबको केही साता रिग ताल क्षेत्रमै रहने छन्।

सिरसिर चल्ने सिरेठो, भर्खर उम्रिएका भुइँ, घाँसमा एकोहोरो पाराले चरिरहेका भेडाबाख्रा। ताल छेउको ठूलो चौर हजारौँ सङ्ख्याका सेताम्य भेडाबाख्राले ढाकिँएको दृश्य रमाइलो देखिन्छ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गभन्दा केही मास्थिरपट्टी रहेको तालको सुन्तरतालाई भेडाको बथानले अझ बढी आकर्षित बनाइदिएको छ। यही जेठ पहिलो सातादेखि नै बुकी उक्लिन थालेका भेडाका बथान अबको केही दिनमा रिग क्षेत्र छोडी सक्छन्।

बागलुङ, रोल्पा र पूर्वी रुकुमका भेडापालक किसान गोठ छाउनका लाग चाहिने त्रिपाल, बर्खाभरि खाने खर्च र ओड्ने दोछ्याउने विस्तारसहित यहाँ आइ पुगेका हुन्। रिग ताल क्षेत्रमा बागलुङको निसीखोला गाउँपालिका–६ का किसानले काठ, ढुङ्गा र जस्तापाताले गोठ बनाएका छन्।

बुकी नउक्लिदासम्म उनीहरु यही बस्ने गर्छ। यति बेला थोरै मात्रै भेडापालक लेकमा पुगेका छन् । एक साताभित्र बेँसीमा रहेका सबै भेडाबाख्रा लेकमा पुग्छन्।

तीन हजार दुई सय मिटरको उचाइमा रहेको रिग ताल क्षेत्रबाट चार हजार मिटरको उचाइसम्म पुग्ने तयारीमा यहाँ आइपुगेका गोठाला छन्। अहिले रिग ताल वरपर करिब पाँच हजारको हाराहारी भेडाबाख्रा छन्।

यी भेडाबाख्रा त्यसभन्दा माथिल्लो क्षेत्र बुकीमा पुगे भने बेँसीमा रहेका अन्य गोठालाले आफ्ना पशुचौपाया रिग तालमा लैजान सुरु गर्छन्।

एकै परिवारले पाँच सयदेखि तीन हजारसम्म भेडाबाख्रा पाल्ने हुँदा एकै पटक रिग क्षेत्रमा व्यवस्थापन गर्न सकिँदैन। त्यसले गर्दा पालैपालो लेक उक्लने गर्छन्। लेक चढ्ने याम सुरु भएको हुँदा अघिअघि भेडाबाख्रा पछिपछि गोठाला खर्चपर्च बोकेर हिँडिरहेका देखिन्छन्।

जाडो र हिमपात छल्नका लागि गत मंसिरमा बेँसी झरेका भेडीगोठ जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका हन्। तल्लो क्षेत्रमा गर्मी बढेसँगै भेडीगोठ लेक सार्न थालेको निसीखोला गाउँपालिका–६ का भेडापालक लालसिंह घर्ती मगरले बताए। ६ महिना बेँसीमा बस्दा घाँस सकिएपछि लेक चढ्न थालेको उनको भनाइ छ।

यो सिजनमा बेँसीमा भन्दा बुकीमा भेँडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठ महिनादेखि नै लेक चढ्न सुरु गरेको घर्ती मगर बताउँछन्। अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैँ तिहार बेला मात्रै बेँसी झर्ने उनको भनाइ छ।

बेला–बेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउने घर्ती मगरले बताए। लेकमा बस्दा निकै दुःख हुने भन्दै यो बाउबाजेको पालादेखि यो पेसा गर्दै आएको हुँदा आफू पनि यसैमा लागेको उनको भनाइ छ।

‘लेकबेँसी गर्ने चलन त यो हाम्रो पुर्खादेखि हुँदै आएको हो, एउटै घरमा एक हजारभन्दा धेरै वस्तुभाउ पाल्ने हुँदा बेँसीमा मात्रै राख्न सकिदैन, यतिका महिनासम्म गाउँ घरमै राखेर पालियो, अब लेकतिर घाँस पलाउन थाले त्यही भएरमाथि उक्लिन थालेका हौँ, दुई/चार दिनपछि यहाँ (रिग ताल) भन्दामाथि खानीखोला तिर लैजान्छौँ, उतै चार महिना बित्छ, अब घर झर्ने त दसैँ मनाउन हो, कहिलेकाहीँ खर्च सकिएपछि र बिरामी भएपछि घर जान्छौँ।’

रोल्पाको तेलखोलाका सन्तोष घर्ती पनि सात सय भेडाबाख्रा लिएर रिग क्षेत्रमा आएका छन्। रोल्पाको माथिल्लो क्षेत्र हुँदा रिग क्षेत्रमा आएका उनी मङ्सिरमा मात्रै बेँसी झर्छन्। करिब तीन महिनाका लागि पुग्ने आटो, पिठो र नुन लिएर आएको सुनाउँदै तीज बेला एक पटक गाउँ झर्ने उनले सुनाए।

यस वर्ष दुई सय भेडा बिक्रीका लागि तयार गरीरहेको भन्दै दसैँ बेला बजार जाने र फर्किएपछि गाउँ झर्ने उनको भनाइ छ। यस वर्ष लामो समय खडेरी पर्दा पहिलोको जस्तो लेकमा घाँस नपलाएको उनी बताउँछन्। बर्खाको घाँसले भेडाबाख्रा सप्रिने र दसैँमा राम्रो मूल्य पाइने उनले जानकारी दिए।

‘मैले भेडा पाल्न थालेको १८ वर्ष भयो, हाम्रो पालामा धेरै मान्छेहरु भेडा पाल्न रुचाउँथे, नयाँ युवा पुस्ताले यस तर्फ खास्सै चासो नदिँदा पहिलेको जस्तो चहलपहल छैन, परम्परागत भेडीगोठ राख्ने प्रचलन लोप हुन्छ कि भन्ने डर छ, पहिले बुकीमा लाखको हाराहारीमा भेडाबाख्रा हुन्थे, अहिले केही छैन,’ उनले भने, ‘यस वर्ष २०/२२ लाख आम्दानी हुने गरी भेडाबाख्रा तयारी छन्, चार सय भेडा ब्याउने छन्, पहिलेको जस्तो आम्दानी हुँदैन पहिले वार्षिक ४० लाख आम्दानी हुन्थ्यो, अबको एक हप्तामा सबैभन्दा माथिल्लो क्षेत्रमा पुग्छौँ।’ 

चितवनमा नेपाल–भारत अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु

चितवन । पोल्ट्री क्षेत्रमा भएका नवीनतम वैज्ञानिक प्रविधिको प्रदर्शनीसहित नेपाल–भारत ‘अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी’ शुक्रबारदेखि सुरु भएको छ । नेपालको पोल्ट्री क्षेत्रलाई थप चलायमान बनाउन प्रदर्शनी आयोजना गरिएको हो ।

चितवन उद्योग सङ्घको प्रदर्शनीस्थलमा आयोजित प्रदर्शनीको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । सो अवसरमा उनले पोल्ट्री क्षेत्रको विकासका लागि प्रदर्शनी फलदायी हुने बताइन् । विश्वका विभिन्न देशमा गएर लिनुपर्ने ज्ञान स्वदेशमै पाउनु कुखुरापालक किसानका लागि ठूलो उपलब्ध भएको उनले बताइन् ।

महानगर प्रमुख दाहालले भनिन्, “पूर्वाधारको विकासमा फड्को मारेको भरतपुरले अब उत्पादनका क्षेत्रमा विशेष योजना अघि सार्नेछ ।” पोल्ट्रीको राजधानी चितवन हुने भन्दै उनले अबको महानगरको कार्यक्रम कृषि र पोल्ट्रीमा केन्द्रित हुने जानकारी दिइन् ।

भरतपुर महानगरले आगामी आर्थिक वर्ष २०८१/८२ मा ल्याउने नीति तथा कार्यक्रमको प्रमुख विषय कृषि र पोल्ट्रीको उत्पादन क्षेत्र हुने उनको भनाइ छ । अहिले भइरहेको प्रदर्शनीले ‘भरतपुर भ्रमण वर्ष २०२४’ लाई सहयोग पुर्याउने उनले बताइन् ।

पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले प्रदर्शनीले नेपालको कुखुराजन्य वस्तुको उत्पादनमा उपलब्धि हासिल हुने बताए । उनले प्रदर्शनीमा कुखुराजन्य उद्योगका लागि आवश्यक पर्ने औषधि, दाना, चल्ला, खोर, फार्मलगायत उपकरणसहित किसानलाई शिक्षा दिने जानकारी दिए ।

भारतीय पोल्ट्री इक्युप्मेन्ट एसोसिएसनका प्रतिनिधि उदय सिंहले नेपालमा आयोजना गरिएको यो प्रदर्शनीबाट यहाँका कुखुरापालक कृषक र व्यवसाय गर्न चाहने प्रत्यक्ष लाभान्वित हुने बताए ।

नेपाल पोल्ट्री महासङ्घ र इन्डिया पोल्ट्री इक्युमेन्ट एसोसिएसनको आयोजनामा भएको प्रर्दशनीमा एक सय ५० स्टल रहेका छन् । प्रदर्शनीकै अवसरमा पोल्ट्री क्षेत्रमा आयातित नवीनतम प्रविधिका बारेमा किसानलाई जानकारी गराउन विभिन्न गोष्ठी तथा कृषक पाठशाला सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदर्शनीमा नेपाल, भारत, चीन, जर्मन, बेल्जियम, नेदरल्याण्ड, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बङ्गलादेशलगायत देशका कुखुरासँग सम्बन्धित कम्पनी तथा विज्ञहरुको सहभागिता रहेको जानकारी दिए ।

यही जेठ २० गतेसम्म सञ्चालन हुने प्रदर्शनीले कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्राउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

वन जङ्गल संरक्षणमा महासङ्घको योगदान प्रशंसनीय : मन्त्री सुडी

काठमाडौँ / वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले नेपालको सामुदायिक वन अवधारणा वन जङ्गल संरक्षणका क्षेत्रमा विश्वमै प्रतिष्ठा कमाएको बताएका छन्।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले २९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले वन जङ्गल संरक्षणमा महासङ्घको योगदान प्रशंसनीय रहेको उल्लेख गरेका हुन् । वनमन्त्री सुडीले आफू मन्त्रालयमा आइसकेपछि शिथिल अवस्थामा रहेको वन क्षेत्रलाई चलायमान बनाउन, उत्पादन बढाउन र बिक्री वितरणमा सहज बनाउन विभिन्न नीतिगत काम गरेको जानकारी दिए।

कार्यक्रममा महासङ्घका अध्यक्ष ठाकुर भण्डारी महासङ्घले वन जङ्गल संरक्षण क्षेत्रमा गरेको योगदानबारे चर्चा गर्दै सामुदायिक वनमा देखिएका नीतिगत चुनौती समाधानमा सरकारले सहयोग गर्नुपर्ने माग गरे । हाल देशभर २२ हजार सात सय ६० सामुदायिक वन हस्तान्तरण भएको बताउँदै उहाँले ३१ लाख ६८ हजार चार सय ४९ घरधुरीले २३ लाख १८ हजार आठ सय ११ हेक्टर वनको व्यवस्थापन गर्दै आएका जानकारी दिए ।

सामुदायिक वन उपभोक्ता समूहको अधिकार रक्षार्थ २०५२ साल जेठ १८ गते महासङ्घको स्थापना भएको हो । हाल महासङ्घअन्तरगत पाँच सय ५६ स्थानीय महासङ्घ, ७७ जिल्ला महासङ्घ र सात वटै प्रदेश महासङ्घ क्रियाशील छन् । ‘महासङ्घले सामुदायिक अधिकार स् समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार’ भन्ने नाराका साथ २९औँ स्थापना दिवस मनाएको छ ।

होटल सङ्घले चीनको बेइजिङ र छेन्दुमा ‘नेपाल प्रवर्द्धनात्मक’ कार्यक्रम गर्ने

काठमाडौँ । चिनियाँ पर्यटक भित्राउने उद्देश्यका साथ होटल सङ्घ नेपालले चीनका विभिन्न सहरमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । 

चिनियाँ पर्यटक भित्राउने, नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ यही जेठ १९ देखि २५ गतेसम्म बेइजिङ र छेन्दुमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्न लागिएको सङ्घले जनाएको छ । 

सङ्घका अध्यक्ष विनायक शाहले चीनबाट बढीभन्दा बढी पर्यटक नेपालमा भित्र्याउने र उनीहरुलाई यहाँ आउन आकर्षित गर्ने लक्ष्यका साथ चीनमा पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्न लागिएको बताए । उनका अनुसार चीनको बेइजिङमा जेठ २०, २१ र २२ गते तथा छेन्दुमा जेठ २३, २४ र २५ गते कार्यक्रम गरिनेछ । 

“कोभिडपछि हामीले पर्यटन प्रवर्द्धन पनि गरेका छैनौँ, त्यसैले नेपाल भ्रमण प्याकेज कार्यक्रमसहित भ्रमणका लागि अग्रिम समय लिने (बुक) गर्ने उद्देश्यले चीन जादैँछौँ”, अध्यक्ष शाहले भने । 

उनका अनुसार नेपाल ‘डेष्टिनेसन वेडिङ’का रुपमा भारत र चीनको रोजाइमा पर्ने गरेको छ । ‘नेपालमा पर्यटन भित्र्याउन हामी सबै हिसाबले तयारी छौँ’ भन्ने सन्देश दिनका लागि प्रवर्द्धनात्मक कार्यक्रम गर्न लागिएको शाहको भनाइ छ ।

     कोभिड–१९ महामारीपछि पहिलो पटक हुन लागेको यस कार्यक्रमको होटल सङ्घ नेपालका अध्यक्ष शाहको नेतृत्वमा सातै प्रदेशका ७५ सदस्य होटल सम्मिलित नेपाली प्रतिनिधिमण्डल भोलि चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

कोभिडपछि चिनियाँ पर्यटकको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुँदै आएको अध्यक्ष शाहले बताए । नेपाली प्रतिनिधिमण्डलले ‘चिनियाँ ट्राभल तथा टूर अपरेटर’सँग ‘बीटूबी मिटिङ’ गर्ने भन्दै उनले प्रवर्द्धनात्मक कार्यक्रमबाट चिनियाँ पर्यटक नेपालमा बढाउन प्रत्यक्ष योगदान पुग्ने अपेक्षा गरिएको बताए ।

     बेइजिङ र छेन्दुमा होटल सङ्घ नेपाल र समकक्षी चाइना होटल सङ्घ तथा आर्थिक तथा पर्यटन गतिविधिसँग संलग्न सङ्घसंस्थाबीच तालिम, प्रशिक्षणका साथै दुई पक्षीय पर्यटन प्रवर्द्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको अध्यक्ष शाहले जानकारी दिए । दुई देशबीचको सम्बन्धलाई पथ प्रगाढ तुल्याउन मद्दत गर्ने विश्वास लिइएको छ । 

चीनबाट बढीभन्दा बढी हवाई सम्र्पक सञ्जाल अभिवृद्धिका लागि पनि पहल गरिने अध्यक्ष शाहको भनाइ छ । उनका अनुसार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारीरुपमा सञ्चनल गर्न पहल गरिने योजना छ ।

उक्त कार्यक्रमको समन्वय बेइजिङस्थित नेपाली राजदूतावास तथा छेन्दुस्थित महावाणिज्यदूतको कार्यालयले गर्ने होटल सङ्घका प्रवक्ता साजन शाक्यले बताए । उनका अनुसार नेपालको पर्यटनसम्बन्धी प्रस्तुतिकरण पर्यटन बोर्डबाट हुनेछ ।

यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु घर बाहिर लैजान निषेध

काठमाडौँ / सरकारले कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु घर बाहिर लैजान निषेध गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले प्रचलित कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु इजाजत बाहकले घर बाहिर लैजान नपाउने गरि निषेध गरिएको जानकारी दिइन् । यात्रा अनुमति प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरि निषेध गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् ।

बैठकले नेपाल र चीन सरकारबीच हुने भूकम्पीय अनुसन्धान सम्बन्धी समझदारीपत्र स्वीकृत गर्दै उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न उद्योग मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई मनोनयन गर्ने निर्णय गरिएको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयको नाममा बिभिन्न ठाँउमा रहेको जग्गा मध्ये पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र रहेको जग्गाको अध्ययन अनुसन्धान तथा छानविन एवं अचल सम्पतीको खोज र लगत संकलन गरि प्रतिवेदन पेश गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले क्रिकेट सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाको भिसा प्रदान गर्नका लागि सरकारले पहल गरेपनि भिसा प्राप्त नभएको भन्दै भिसा दिन वा नदिने अधिकार नितान्त दूतावासको भएको बताइन् । उनले अहिलेको मुलुकको आर्थिक अवस्थाका कारण बजेटमार्फत कर्मचारीको तलव बृद्धि गर्न नसकिएको स्पष्ट पारिन् ।

प्रवक्ता शर्मा प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिदा आवश्यक भन्दा बढि मत आएकाले अहिले सरकारलाई अप्ठेरो पर्ने अवस्था नरहेको जिकिर गरिन् ।

झापामा सुपारी प्रशोधनका लागि रु ४० लाख अनुदान

बनियानी (झापा) / झापामा सुपारी प्रशोधनका लागि रु ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि रु ४० लाख अनुदान उपलब्ध गराएको हो ।

केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रमअन्तर्गत किसानलाई रु पाँच लाखदेखि रु सात लाख ५० सम्म उपलब्ध गराएको जानकारी दिए ।

लाभग्राहीको २५ प्रतिशत र सरकारको ७५ प्रतिशत लागत सहभागितामा सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि अनुदान रकम उपलब्ध गराइएको निमित्त प्रमुख विष्टले बताए।

मेसिनले प्रतिघण्टा चार सय केजी सुपारी प्रशोधन गर्न सक्नेछ । झापामा तीन हजार हेक्टरमा सुपारीखेती गरिएको छ भने वार्षिक १० हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ ।

खोटाङको सुम्लिखामा यलम्बर उद्यान

खोटाङ ।। खोटाङको खोटेहाङ गाउँपालिका-२ वाप्लुखास्थित सुम्लिखामा किराँती प्रथम राजा यलम्बरको सालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ ।

खोटेहाङ गाउँपालिका र वडा कार्यालय वाप्लुखाको क्रमागत योजनाअन्तर्गत सात वर्ष लगाएर सुम्लिखामा रु ७० लाख लागतमा पार्क स्थापना गरिएको हो ।

वाप्लुखाका स्थानीय जफतजङ खिम्दुङ राईले निःशुल्क उपलब्ध गराएको दुई रोपनी जग्गामा स्थापना गरिएको पार्कमा फाइवरबाट निर्माण गरिएको यलम्बरको पूर्णकदको सालिक राखिएको छ । पार्कभित्र नौ फिट अग्लो यलम्बरको पूर्णकदको सालिक, खानेपानीको धारा, प्रतीक्षालय, फलैँचा, सामुदायिक भवनलगायतका संरचना निर्माण गरिएका छन् ।

उद्यान स्थापनाले किराँत समुदायको संस्कृति संरक्षण हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय शिक्षक नयन्द्र खिम्दुङ राईले बताए ।

‘सुम्लिखामा बान्तावा राई जातिको सेउली लगाउने घर छ । हामीहरू साकेला नाचिसकेपछि त्यो घरमा सेउली मार्छौँ अर्थात् थन्क्याउँछौँ’, उनले भने, ‘यही ऐतिहासिक स्थलको विकास गर्न वडा तथा गाउँपालिकाको लगानीमा पार्क स्थापना गरिएको हो । यसले गाउँपालिकाको आन्तरिक पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’

किराँत राई बान्तावा समुदायको ऐतिहासिक स्थल सुम्लिखामा स्थापना गरिएको यलम्बर पार्क बिहीबार गाउँपालिका प्रमुख उदिमबहादुर राईले औपचारिकरुपमा उद्घाटन गरेका थिए । बान्तावा राई समुदायले पुज्दै आएको ‘सावा सकेला थान’ नजिकै निर्माण गरिएको यलम्बर पार्क उद्घाटन कार्यक्रमको अवसर पारेर साकेला सिलीसमेत प्रदर्शनी गरिएको स्थानीय इन्द्रहाङ किराँतीले जानकारी दिए।

वाप्लुखाका वडाध्यक्ष पारस राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख राई, वडा नं ९ लिच्किराम्चेका वडाध्यक्ष इन्द्रबहादुर राई, किराँती पुर्खालगायतको उपस्थिति थियो । सुम्लिखामा हरेक वर्षको उभौली र उँधौलीमा साकेला सिलीको सेउली मार्ने चलन रहेको छ ।

जिल्लाका दश स्थानीय तहमा पछिल्लो समय धार्मिक, ऐतिहासिक एवं पुरातात्विकस्थलहरु संरक्षण तथा प्रवर्द्धनका काम तीव्र गतिमा भइरहेका छन् ।

गण्डकीको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त

गण्डकी / गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन्। नेपालको संविधानको धारा १६० को उपधारा (२) को व्यवस्थाबमोजिम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई मुख्य न्यायाधिवक्तामा नियुक्ति गरेका हुन् ।

शर्मा यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए । म्याग्दीको बेनी नगरपालिका–१० का स्थायी बासिन्दा शर्मा विसं २०४८ देखि कानुन व्यवसायमा आवद्ध छन् । बिएल, बिएडका साथै उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।

म्याग्दीको महेन्द्र माविमा दुई वर्ष प्रधानाध्यापक रहनुभएका उनी झण्डै १८ वर्ष म्याग्दी बहुमुखी कलेजमा राजनीतिशास्त्र र बिजनेस ल विषय प्राध्यापन गरेका थिए। उनी म्याग्दी जिल्ला नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका छन् ।

यमनमा अमेरिका र बेलायतको संयुक्त हवाई आक्रमणमा १४ जनाको मृत्यु

इरान समर्थित विद्रोहीहरूको समुद्री आक्रमण क्षमतालाई कम गर्ने प्रयासस्वरुप संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा गरेको हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको हुथी नियन्त्रित सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

हुथीहरूले नोभेम्बरदेखि गाजा युद्धमा प्यालेष्टिनीहरूलाई समर्थन गर्दै रेड सी र एडनको खाडी वरपर सामान ढुवानी गर्ने (कार्गो) जहाजहरूमा आक्रमण गर्दै आएको थियो ।

एएफपीका पत्रकारहरूले बिहीबारदेखि शुक्रबारसम्म राजधानी साना र बन्दरगाह सहर होडैडामा ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् ।

हुथी नियन्त्रित अल–मासिराह टेलिभिजन च्यानलले ताइज सहरमा दूरसञ्चार पूर्वाधारलाई समेत लक्षित गरेको उक्त आक्रमणमा चौध जनाको जनाको मृत्यु हुनका साथै तीस जनाभन्दा बढी घाइते भएको बताएको छ ।

रेड सी र एडनको खाडीमा अन्तर्राष्ट्रिय ढुवानीमा आक्रमणहरू जारी राख्ने क्षमतालाई कम गर्न हुथी सैन्य सुविधाविरुद्ध अमेरिकी सेनासँग संयुक्त हवाई आक्रमण गरेको बेलायती रक्षा मन्त्रालयले बताएको छ ।

युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो सेनाको रक्षा गर्न, आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न, र अन्तर्राष्ट्रिय पानीलाई अधिक सुरक्षित बनाउन आवश्यक थियो तसर्थ कुल तेह्र वटा हुथी–नियन्त्रित स्थलहरू लक्षित आक्रमण गरिएको हो ।

तरकारीखेतीबाट वार्षिक ५० लाख कमाउँदै ‘बक्सिङ’ प्रशिक्षक थापा

तुलसीपुर / दाङ तुलसीपुर उपमहानगरपालिका–१२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यावसायिक तरकारीखेती गरेका छन् । दिउँसो र साँझ जागिर र होटेलतिर व्यस्त भए पनि बिहानको समय तरकारीखेतीलाई दिने गरेको उनी बताउछन्। “म बक्सिङ प्रशिक्षक हुँ, दिउँसो जागिरतिर जान्छु”, उनले भने, “साँझ होटेलतिर पनि हुर्नुपर्छ, बिहान र कहिलेकाहीँ साँझ मात्रै तरकारीलाई समय दिएको छु ।”

कोरोना महामारीको सुरुआतमा भएको ‘लकडाउन’का बेलादेखि उनले व्यावसायिक तरकारीखेती सुरु गरेका हुन्। सुरुमा पाँच जनाले संयुक्त तरकारीखेती गरेको भए पनि पछिल्लो दुई वर्षयता राजु एक्लैले उक्त तरकारीखेती गरेका छन् । उनले करेला, बोडी, काँक्रा, लौका, फर्सीलगायतका खेती गरेका छन्।

डेढ बिघा क्षेत्रफलमा बोडी, डेढ बिघा क्षेत्रफलमा काँक्रा, १५ कट्ठा क्षेत्रफलमा लौका, एक बिघामा करेला, दुई बिघा जतिमा टमाटर तथा १५ कट्ठामा स्पाइस खेती गरेको राजु बताउछन् । तरकारी खेतीमा उनले ४५ जनालाई रोजगारीसमेत दिएका छन्। दश जना मासिक तलब दिएर कामदार राखेका छन्। उनीहरुलाई मासिक रु २५ हजारसम्म तलब छ, भने बाँकीलाई ज्यालादारीमा रोजगार दिइएको राजुले बताए । उनका अनुसार ज्यालादारीलाई दैनिक पाँचसयका दरले दिने गरेको उनले बताए। रोजगार पाएका सबै गाउँकै हुन् । गाउँमै रोजगारी पाउँदा स्थानीय पनि खुसी भएका छन् । “गाउँमै रोजगारी पायौँ, पहिले लेबर गर्न बजार जानुपथ्र्यो”, ज्यालादारीमा काम गरिरहेकी शर्मिला चौधरीले भनिन्, “तर, अहिले गाउँमै रोजगारी पाएका छौँ ।”

त्यहाँ उनले दुई याममा तरकारीखेती गर्दै आएका छन् । हिउँदे र वर्षे तरकारीखेती गर्दै आएका उनले एक सिजनमा रु २० लाखदेखि बढी आम्दानी गर्दै आएका छन् । “एक कुनै समय बजारले भाउ नपाउने, नियमित बर्सात हुँदा तरकारी क्षति हुने गरेको अवस्था पनि छ”, उनले भने, “त्योबाहेक राम्रो हुँदै गएमा एक सिजनमा रु २० लाखभन्दा बढी पनि आम्दानी हुने गर्छ ।”

एक याममा रु ४५ लाख खर्च आउने गरेकोसमेत उनले बताए। वर्षमा दुई सिजन खेती हुँदा वार्षिक रु एक करोड खर्च हुने र त्यो खर्च कटाएर रु ५० लाखको हाराहारीमा आम्दानी हुने गरेको उनको भनाइ छ । तरकारीले वैशाख १५ गतेसम्म राम्रो मूल्य पाउने गरेको भएपनि त्योभन्दा पछि भने विस्तारै मूल्य घट्दै जाने गरेको उनी बताउछन् । “बजार भाउमा सरकारले अलि कति ख्याल गरिदिए हुन्थ्यो, सबैतिर मूल्यमा एकरुपता भएमा सहज हुन्थ्यो”, उनले भने, “तीन दिनअघि मात्रै होलसेलमा रु ७० किलो बिक्री हुने गरेको बोडी हिजोआज मात्रै रु ३० मा बिक्री गर्नुपरेको छ”, उनले भने, “टमाटर रु ३० थियो, एक्कासि रु २० भयो ।” दिनप्रतिदिन यसरी तरकारीको मूल्य एक्कासि घट्दै गइरहेको उनको भनाइ छ ।

उत्पादित तरकारी दाङको बजारमा मात्रै होइन, बाहिरी जिल्लामा समेत निर्यात हुने गरेको छ । सुर्खेत, धनगढीलगायतका बजारमा तरकारी निर्यात हुने गरेको थापाले बताए। दश बिघा जग्गालाई वार्षिक रु पाँच लाख तिरेर भाडामा लिइएको प्रशिक्षक थापाको भनाइ छ ।

तरकारीखेतीबाट आम्दानी राम्रै लिन सकिने भए पनि यसमा सरकारले थप सहजता भने बनाउनुपर्ने उनको माग छ । “समयमा मल पाइँदैन, मल महँगोमा किनेर ल्याउनु पर्छ”, उनले भने, “मूल्यमा पनि एकरुपता ल्याइदिए सहज हुन्थ्यो ।”

उनी लामो समय बक्सिङ खेलाडीका रुपमा पनि रहे । २०४८ देखि ०५४ सम्म बक्सिङ खेलाडीका रुपमा रहेका उनी तीनवटा राष्ट्रिय खेल पनि खेले । अहिले प्रशिक्षकका रुपमा रहेका उनले उत्पादन गरेका चेला अन्तर्राष्ट्रिय खेलका लागिसमेत छनोट भएका थिए । तर, उनले लकडाउनले गर्दा त्यो खेल खेल्न जान पाएनन् । उनी ४९ औँ खाद्य दिवसका अवसरमा लुम्बिनी प्रदेशबाट सम्मानितसमेत भएका छन् । तरकारी विधामा उनी सम्मानित भएका हुन्। उनी तुलसीपुर–४ वनहरी निवासी हुन् ।

अमेरिकी हतियार प्रयोग गरेर रुसभित्र आक्रमण गर्न राष्ट्रपति बाइडेनको अनुमति

लामो समयको नीति परिवर्तन गर्दै राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भूभागभित्र लक्षित आक्रमण गर्न अधिकार दिएका छन् ।

रूसी सेनाले रूसी सीमा नजिक उत्तरपूर्वी युक्रेनको खार्किभ सहर आक्रमण बढाएपछि बढ्दो तनावका बीच यो निर्णय लिएको दुई अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । युक्रेनलाई रूसी सेना वा खार्किभ नजिकैको हमलाविरुद्ध संयुक्त राज्य अमेरिकाले आपूर्ति गरेको हतियार प्रयोग गर्न अनुमति दिइएको उनले बताए ।

“राष्ट्रपतिले भर्खरै आफ्नो टोलीलाई युक्रेनले खार्किवमा रूसी सेनाहरूमाथि प्रतिआक्रमणका लागि अमेरिकाले आपूर्ति गरेको हतियारहरू प्रयोग गर्न सक्षम छ भनेर सुनिश्चित गर्न निर्देशन दिनुभएको छ,” एक अमेरिकी अधिकारीले भने ।

यो नीति अनुमति दिइएको क्षेत्र खार्किभमा कडाईका साथ सीमित रहेको अधिकारीले बताए । युक्रेनी अधिकारीहरूले यस क्षेत्रभन्दा बाहिर आक्रमणका लागि अमेरिकी हतियार प्रयोगको अनुमति मागेका छैनन् ।

हालैका हप्ताहरूमा बढिरहेको रूसी सेनाको प्रतिक्रियामा किएभले यो नीति परिवर्तनको लागि अनुरोध गरेको अधिकारीले पुष्टि गरेका छन् । युक्रेनी सेनाहरूलाई अब खार्किभबाट सीमापार रूसी सैन्य प्रतिष्ठानण्, गोला बारुद भण्डारण क्षेत्र र रसद केन्द्रहरूलाई लक्षित गर्ने अधिकार दिइएको छ ।

नीतिमा आएको परिवर्तनप्रति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर ओलाफ स्कोल्जलगायत युरोपेली नेताहरूले समर्थन जनाएका छन् । म्याक्रोँले युक्रेनी क्षेत्रमा खतरा उत्पन्न गर्ने रुसभित्रका सैन्य स्थलहरूलाई युक्रेनले निष्क्रिय पार्नुपर्ने आवश्यकतामाथि जोड दिए

“हामीलाई लाग्छ कि युक्रेनमा आक्रमण गर्ने रूसी सैन्य स्थलहरूलाई निष्क्रिय पार्ने अनुमति दिनुपर्छ,” म्याक्रोँले भने ।

चान्सलर स्कोल्जले म्याक्रोँको भावनालाई प्रतिध्वनित गर्दै युक्रेनलाई अन्तर्राष्ट्रिय कानूनअनुसार र हतियार आपूर्ति गर्ने देशहरूले तय गरेको मापदण्डभित्र रही आफ्नो रक्षा गर्ने अधिकार रहेको बताए ।

सुडानमा बाल कुपोषण ‘जटिल अवस्थामा’ पुगेको राष्ट्रसङ्घको भनाइ

संयुक्त राष्ट्रङ्घका एजेन्सीहरूले बिहीबार युद्धग्रस्त सुडानमा बालबालिका तथा आमाहरूको पोषण स्थितिमा ‘उल्लेखनीय गिरावट’ आएको चेतावनी दिँदै तत्काल समाधान गर्न आह्वान गरेका छन् ।

“सुडानका बालबालिकाको जीवन खतरामा रहेको जनाउदै कुपोषण, रोग र मृत्युबाट जोगाउन तत्काल कदम चाल्न आवश्यक छ,” संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले एक विज्ञप्ति जारी गरी आग्रह गरेका छन् ।

सुडानका शासक अब्देल फत्ताह अल–बुरहानको नेतृत्वमा रहेको नियमित सेना उहाँका पूर्व सहायक मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच एक वर्षभन्दा बढी समय देखि द्वन्द्व चलिरहेको छ ।

राष्ट्रसङ्घका विज्ञहरूका अनुसार द्वन्द्वले दशौँ हजार मानिसहरूको ज्यान लिएको छ र यसका कारण पश्चिम डार्फर सहरमा १५ हजारको मृत्यु भएको छ ।

सहयोगसम्बन्धी सङ्घसंस्थाका अनुसार करिब ९० लाख मानिस विस्तापित भएका छन् भने बाल कुपोषणको समस्याले देशको स्वास्थ्य क्षेत्रलाई आक्रान्त बनाइरहेको छ ।

यसमा पौष्टिक खाना, सुरक्षित पिउने पानी र सरसफाइमा पहुँचको अभाव र रोगको बढ्दो जोखिम समावेश भएको उनीहरूले बताएका छन् ।

सुडानले द्वन्द्व–प्रेरित अनिकालको बढ्दो जोखिमको सामना गरिरहेको छ र यसका कारण बालबालिकाहरूमा ज्यान गुमाउनेसहित विनाशकारी परिणामहरू निम्तिने उनीहरूको धारणा छ ।

द्वन्द्वले मानवीय आपूर्तिको वितरणमा गम्भीर असर पारेको छ, अनगिन्ती महिला र बालबालिकाहरूलाई खाना र पोषण सहयोगको पहुँचबाट वञ्चित पारेको छ ।

मध्य डार्फरमा, पाँच वर्ष मुनिका बालबालिकामा १५.६ प्रतिशत तीव्र कुपोषण हुने अनुमान गरिएको छ भने उत्तरी डार्फर राज्यमा विस्थापित मानिसहरूका लागि स्थापित शिविरमा यो ३० प्रतिशतको नजिक छ ।

उनीहरूलाई आवश्यक मानवीय सहायता प्रदान गर्न तत्काल र सुरक्षित पहुँच चाहिने डब्लुएफपी प्रमुख सिन्डी म्याककेनले बताए ।

लाखौँको जीवन खतरामा रहेकाले अन्तर्राष्ट्रिय समुदायले अब कार्य गर्नुपर्छ अन्यथा बालबालिकाको सम्पूर्ण पुस्ता गुमाउने जोखिम रहेको उनले बताए ।

मुगुमा सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । मुगुमा उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्यसहित ८ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढाविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।

त्यस्तै सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन अध्यक्ष राजेन्द्र बुमीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

मुस्ताङी च्याङ्ग्राको भुवा पश्मिनाका लागि उपयुक्त

म्याग्दी। मुस्ताङमा पालिएका च्याङ्ग्राको भुवा पश्मिना बनाउने कच्चापदार्थका रूपमा प्रयोग गर्न उपयुक्त देखिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गत नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमा पहिलो पटक गरेको परीक्षणबाट मुस्ताङी च्याङ्ग्राको भुवा गुणस्तरका हिसाबले पश्मिनाका लागि उपयुक्त भएको पुष्टि भएको हो ।

पश्मिना सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा मुस्ताङी च्याङ्ग्राको भुवाको गुणस्तर पश्मिनाको कच्चा पदार्थकारुपमा प्रयोग गर्न उपयुक्त रहेको प्रतिवेदन प्राप्त भएको जानकारी दिए ।

‘एक वर्षअघि विज्ञहरूको टोली यहाँ आएर लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट आठ सय च्याङ्ग्राको भुवा नमुनाका रूपमा सङ्कलन गरी गुणस्तर परीक्षणका लागि लैजानुभएको थियो’, उनले भने, ‘यसै साता कृषक र जनप्रतिनिधिलाई भेला गरी परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै भुवाको थप गुणस्तर सुधार र व्यावसायिक उत्पादनका लागि छलफल गरेका छौँ ।’

चार वटै पालिकाका एक सय ६० किसानले पालेका पाँच/पाँच वटा फरक फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङ्ग्राको शरीरबाट नमुनाका रूपमा भुवा सङ्कलन गरी परीक्षण गरिएको लामिछानेले जानकारी दिए । परीक्षणपछि नेपालमा पश्मिना बनाउने कच्चापदार्थका रूपमा प्रयोग गरिने भुवाको स्रोत रहेको अन्तराष्ट्रियस्तरमा सन्देश प्रवाह भएको भन्दै यसले च्याङ्ग्रापालन विस्तार र पश्मिना उद्योगको सम्भावना बढेको उनले बताए ।

सङ्कलित नमुनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाका साथै नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यावसायिक गुणस्तर परीक्षण गरिएको अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताए । ‘च्याङग्राको भूवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौँरीको तुलनामा च्याङग्राको भुवालाई गुणस्तरीय मानिएको छ’, उनले भने ।

प्रतिवेदन सार्वजनिकीकरणसँगै सुझाव अनुसार कश्मिरका डा खिलाल खान र अन्तर्राष्ट्रिय व्यापार केन्द्रका प्राविधिक विशेषज्ञ प्राडा सर्फराज वानीलाई ल्याएर कृषकलाई च्याङग्रा पाल्ने गोठ, आहारा र नष्ल सुधारसम्बन्धी आधुनिक ज्ञान र सीप प्रदान गरिएको परामर्शदाता श्रेष्ठले जानकारी दिए । उनका अनुसार यही जेठ ९ गतेदेखि सुरु भएको स्थलगत तालिम १६ गते सम्पन्न भएको थियो ।

टोलीसँगै मुस्ताङ पुगेकी नेपालका लागि युरोपियन युनियन (इयु)का राजदूत भेरोनिक लोरेन्जोले लोमान्थाङ गाउँपालिकाका छिरिङ वाङ्दीले स्थापना गरेको ‘पश्मिना रिसर्च एण्ड एग्रो टुरिजम फार्म’को उद्घाटन गरेकी थिइन् ।

मुस्ताङमा च्याङग्राको पश्मिनाको अन्तर्राष्ट्रिय बजारमा उच्च सम्भावना देखिएकाले यसको प्रवर्द्धन र व्यवस्थापनमा सघाउने राजदूत लोरेन्जोले बताइन् । विश्व बैंकको नेपालस्थित कार्यालयका प्रतिनिधिले पनि पश्मिनाको भुवा सङ्कलन केन्द्रको अनुगमन गरेका थिए ।

पश्मिनाको गुणस्तर सुधारका लागि विदेशी प्रशिक्षकबाट पाएको ज्ञान, सीप र अनुभव उपयोगी बन्ने कृषक वाङ्दीले बताए । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले च्याङ्ग्रापालनबाट कृषकलाई मासु बिक्रीका साथै पश्मिनाका लागि भुवा उत्पादन गरेर दोहोरो लाभ लिने सम्भावना रहेको बताए । च्याङ्ग्रापालनलाई थप व्यावसायिक, आधुनिकीकरण र सङ्ख्या वृद्धि गर्न पहल गर्ने उनको भनाइ छ ।

प्राकृतिकरुपमा कम उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दै गएको छ । राम्रो गुणस्तरको च्याङ्ग्रा पश्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकले मनग्य आम्दानी गर्न सक्ने सम्भावना बढेको छ ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तुका रूपमा रहेको पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गरेर निस्किएको धागो कच्चापदार्थका रूपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ ।

विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भीम शेरचनले बताए । उनका अनुसार सङ्घले मुस्ताङबाट वार्षिक दुई मेट्रिकटन भुवा सङ्कलन गरेर लैजाने गरेको छ ।

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । भुवा शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

वैशाख र जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सीपसँगै नयाँ प्रविधि हस्तान्तरण गरिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा ५२ हजार च्याङ्ग्रा पालिएका छन् ।

प्रचण्डको ब्रिफिङ : माधव नेपाल सल्लाह पछिनै बुढानिलकण्ठ जानुभएको हो, यसलाई स्वभाविक रुपमा लिनु

काठमाडौँ / प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समिकरणमा कुनै समस्या नरहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा आफ्ना सांसदहरुले राखेको जिज्ञासाको जवाफमा प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समिकरणमा कुनै समस्या नरहेको बताएका हुन् । उनले सत्ता समिकरणमा सल्लाह भएर नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बुढानिलकण्ठ गएको भन्दै यसलाई स्वभाविक रुपमा लिन आग्रह गरेका माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले जनतामा उत्साह जगाउने गरि बजेट आएको उल्लेख गर्दैै सदनमा बजेटको छलफलमा सक्रिय रुपमा सहभागीता जनाउन निर्देशन दिएको पाण्डेले बताए । बैठकमा १२ जना सांसदहरुले बजेटका बिषयमा धारणा राखेको र अर्थमन्त्री बर्षमान पुनले बजेटका मुलभूत पक्षमा जानकारी गराएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।

अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालय एक हप्ताका लागि बन्द

भेरीगङ्गा (सुर्खेत) / अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले यही जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले जानकारी दिए । उनका अनुसार गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा हुनसक्ने असरलाई मध्यनजर गर्दै सामूहिक छलफलपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

यसैबीच, वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालय पनि बन्द गर्ने तयारी गरिएको छ । वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धीरेन्द्र शर्मा लम्सालले गर्मी अत्यधिक बढेको भन्दै नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिएको जानकारी दिए । यसबारे आधिकारीक निर्णय भने भइनसकेको उनको भनाइ छ ।

“गर्मी बढेपछि हामीले नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिरहेका छौँ”, लम्सालले भने, “यदी वर्षा भई तापक्रम घट्यो भने विद्यालय बन्द हुँदैनन् । गर्मी यही अवस्था कायम रहे आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गर्छौँ ।”

संसदीय समितिबाट अभिलेख संरक्षण संशोधन विधेयक पारित

काठमाडौँ / प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित भएको छ ।

समितिको आजको बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको हो । बैठकले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सकेर सर्वसम्मत पारित गरेको सभापति राजकिशोर यादवले जानकारी दिए।

राष्ट्रियसभाबाट पारित भएको विधेयकको प्रतिवेदन अब प्रतिनिधिसभामा पेस हुनेछ । त्यहाँबाट स्वीकृत भएर पुनः राष्ट्रियसभामा लैजानुपर्ने, प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाले स्वीकार गरेमा अध्यक्षबाट प्रमाणित भई राष्ट्रपतिकहाँ पठाउने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बनेर कार्यान्वयनमा आउने प्रावधान छ ।

राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा लिखुसंग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति सहज ढंगले अगाडि बढ्नको लागि जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् । राज्यका स्रोत साधनहरु जनताको हितमा सोच बिचार गरेर परिचालन गर्नुपर्ने उनको भनाइ छ ।

अहिलेको राजनीति भ्रष्टाचारले बिग्रिएको र त्यसको असर समाजका साथै समग्र देशमा परेको उनले बताए । अध्यक्ष नेपालले अहिलेको बजेटमा कृषिका योजनाहरु धेरै राम्रोगरि आएको धारणा राखे । उनले राष्ट्रिय राजनीतिलाई सहज रुपमा अघि बढाउन ध्यान पुराउदै संवेदनशील हुनुपर्ने बताए ।

रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड

गलकोट (बागलुङ) । बागलुङको निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ । यहाँ प्रशस्त पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा हुन थालेपछि पालिकाले यसको प्रवर्द्धनमा जोड दिएको हो ।

बागलुङ र रुकुमको सिमानामा पर्ने पातीहाल्ने पुगेका पर्यटक पैदलमार्गमार्फत रिग ताल पुग्न थालेका छन् । निसीखोला–६ मा पर्ने उक्त ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण, पूर्वाधार र प्रचारप्रसारमा पालिकाले जोड दिन थालेको गाउँपालिका कार्यालयले जनाएको छ ।

पातीहाल्नेबाट १५ मिनेटको पैदलयात्रामार्फत पुग्न सकिने रिग तालमा हालै सडक सञ्जाल विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । गोठथरीका रुपमा रहेको रिग ताल वरपरको क्षेत्र पर्यटकीय हिसाबले मनमोहक र रमणीय भए पनि यसअघि संरक्षण नहुँदा ओझेलमा परेको उनको भनाइ छ । 

पालिकाको सानो स्रोतबाट गत वर्षदेखि पूर्वाधारमा लगानी गरी पर्यटकीय क्षेत्रका रुपमा प्रवर्द्धन गर्न थालिएको अध्यक्ष मगरले बताए । गत आवमा  आठ लाख खर्च गरेर तालसम्म पुग्ने सडक विस्तार गरिएको थियो भने यस वर्ष ताल र रिग बराहथानको संरक्षण गरिएको उनले जानकारी  दिए ।

“गोठथरीका रुपमा रहेको स्थानमा ताल छ, यो निकै पनि आकर्षक छ । मध्यपहाडी लोकमार्ग विस्तारपछि तालको प्रचारप्रसार हुन थालेको थियो”, अध्यक्ष मगरले भने, “पालिकाको सीमित स्रोतबाट सडक विस्तारलगायत पूर्वाधार विकासमा लागेका छौँ । यस क्षेत्रको पर्यटन प्रवर्द्धन भएमा नागरिकको आयस्तारमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ ।”

पूर्वाधार विकासमा गत वर्ष आठ लाख र चालु आवमा रु पाँच लाख लगानी भइसकेको उनले जानकारी दिए । “रिगमा पुग्ने पर्यटकलाई लक्षित गरी यहाँ ठूलो लगानी थप पर्यटकीय पूर्वाधार निर्माण गर्नु आवश्यक छ”, उनले भने, “तालसँगै नजिकै रहेको तालबराहलाई संरक्षण गरेका छौँ । सडक, खानेपानी, शौचालय, सत्तललगायत पूर्वाधार निर्माणका लागि प्रदेश सरकारसँग समन्वय गरेर विकास गर्ने योजना छ ।”

समुन्द्री सतहबाट करिब तीन हजार दुई सय मिटर उचाइमा रहेको तालको लम्बाइ एक सय, चौडाइ ६० र गहिराइ करिब १२ मिटर रहेको स्थानीय बताउँछन् । पछिल्लो समय पहाडबाट बगेर आउने भल जम्मा हुन थालेपछि ताल पुरिने सम्भावना बढसँगै पालिकाले पर्खाल निर्माण गरेको छ । 

रोल्पा, रुकुम, प्यूठान, पर्वत र बागलुङको विभिन्न स्थानको अवलोकन गर्न सकिने र भेँडाका बथान हेर्न पर्यटक यहाँ आउने गरेको स्थानीय लालसिंह बुढामगरले बताए । “पहिला गाईभैँसी, घोडा र भेँडालाई पानी खुवाउन तालको प्रयोग गरिन्थ्यो । हिमपात भएको समयमा ताल निकै मनमोहक देखिन्छ”, उनले भने ।

सडक सञ्जाल विस्तार भएसँगै आन्तरिक पर्यटकको आवागमन बढ्न थालेको भन्दै यस क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्नु जरुरी रहेको बुढामगरको भनाइ छ । बागलुङका विभिन्न स्थानबाट धेरै पर्यटक आउने गरेका भन्दै रोल्पा र रुकुमबाट केही कम आउने उनले बताए ।

“अहिले ताल हेर्न आउने पर्यटक बढेकाले पालिकाले संरक्षण गर्न थालेको छ”, उनले भने, “वरपरको हरियाली, भेँडाको बथान हेर्न तथा बागलुङ र रुकुमको सिमाना पातीहाल्नेमा आएका पर्यटकसमेत यहाँ आउन थालेका छन् । यहाँ ओत लाग्ने स्थान बनाउन आवश्यक छ ।”

पछिल्लो समय गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान गरी र विकास गर्न थालको छ । पालिकाले संरक्षण र प्रचारप्रसारलाई तीव्रता दिन थालेपछि धेरै आन्तरिक पर्यटकको आगमन हुन थालेको हो । 

“तालको नाम ‘रिग’ खासगरी मगर खाम भाषाबाट राखिएको हो । मगर खाम भाषामा ‘रि’ को अर्थ ‘पानी’ र ‘ग’ को अर्थ ‘जम्मा भएर रहेको’ भन्ने बुझाउछ”, गाउँपालिका अध्यक्ष मगरले भने । 

तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति

डुम्रे (तनहुँ) । तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

उनका अनुसार हालसम्म यकिन तथ्याङ्क प्राप्त भई नसकेको तर हावाहुरीले भौतिक क्षति धेरै पुर्याएको छ । उनले भने, “हालसम्म करिब तीन सय बढी घर, दुई विद्यालय, एक मन्दिरको छाना उडाएको र भत्किएको छ ।” 

क्षति पुगेका स्थानमा प्रहरी विवरण र तथ्याङ्क सङ्कलनका लागि केही स्थानमा पुगिसकेको प्रजिअ गौतमले बताए । हावाहुरीले जिल्लाका सबै पालिकामा क्षति पुर्याएको र सबैभन्दा बढी व्यास नगरपालिकामा क्षति भएको जानकारी प्राप्त भएको उनले भने । 

चट्याङ पर्दा व्यास नगरपालिका–८ रिस्तीमा एक घरमा क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भएको नेपाल रेडक्रस तनहुँसँग समन्वय गरेर पीडितलाई त्रिपाललगायतको व्यवस्थापन भइरहेको प्रजिअ गौतमले जानकारी दिए । हावाहुरीसँगै आएको असिनापानीले विभिन्न किसानले लगाएको तरकारीमा क्षति पुर्याएको छ ।

फल लागेका आँप, सुन्तला, लिची अन्य तरकारी बालीमा हावाहुरी र असिनापानीले क्षति पुर्याएको छ । हावाहुरीले मानवीय क्षति नभएको प्रजिअ गौतमले बताए । यस्तै, जिल्लाको विभिन्न स्थानमा हावाहुरीले विद्युत पोल ढल्दा अवरोध बनेको छ । विद्युत् पोल तथा तारमा भएको क्षतिले विद्युत् प्रवाहमा अवरोध भएको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए विद्युत सेवा सुचारु गर्न रेग्मीसहितको टोली अवरोध भएको स्थानमा खटिएका छन् । 

कतिपय स्थानमा सडक अवरोधले गर्दा एम्बुलेन्स रोकिएको जानकारी पाएपछि राति १० बजेसम्म घटनास्थलमा पुगेर काम गरिरहेको केन्द्र प्रमुख रेग्मीले बताए । ठूला–ठूला रुख ढलेर तारमा लागेकाले पोलसमेत ढलेको रेग्मीले जानकारी दिए । 

व्यास नगरपालिका–१० को  बैरेनी, वडा नम्बर ७ कलेस्ती, वडा नम्बर ११ को पोल्याङ, वडा नम्बर–१२ को  छिर्कन, १३ को पोखरीभञ्ज्याङ, १४ नम्बरलगायतका दर्जनौँ स्थानमा विद्युत् पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको तनहुँ वितरण केन्द्रले जनाएको छ । हावाहुरीले रुख ढलेर लाग्दा बन्दीपुर गाउँपालिका–१ भैँसीगोठस्थित खड्गदेवी मन्दिर भत्किएको स्थानीयले जनाएका छन् । 

आयकरमा छुटदेखि आलु र प्याजको ‘भ्याट’ मिनाहा, यी हुन् आर्थिक ऐनले दिएका सात ‘स्कीम’

काठमाडौं ।  सरकारले आर्थिक ऐन २०८१ मार्फत विभिन्न छुट तथा सहुलियतका कार्यक्रम घोषणा गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भई पछिल्लो दुई आर्थिक वर्षको आयकर बुझाउने करदातालाई ब्याज र जरिवाना छुट गरिएको छ भने त्यसअघिको सबै आयकर मिनाहा गरिएको छ । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) मा पनि विभिन्न छुट तथा सहुलियतका कार्यक्रम ल्याइएको छ ।

करको दायरामा आउनेहरूका लागि छुटको व्यवस्था ल्याइएको छ । ‘कुनै व्यक्तिले विगतमा कर लाग्ने आयआर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्ता व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७८-७९ र २०७९-८० को बुझाउनुपर्ने आय विवरण र सोमा लाग्ने कर २०८१ फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुनेछ,’ आन्तरिक राजस्व विभागले भनेको छ, ‘यसरी आय विवरण र सोबमोजिम लाग्ने कर बुझाएमा सोभन्दा अघिल्ला आय वर्षको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा व्याज बुझाउनुपर्ने छैन ।’

आय विवरण बुझाउन बाँकी करदातालाई पनि छुट योजना ल्याइएको छ । स्थायी लेखा नम्बर लिइ आय विवरण बुझाउन बाँकी रहेको करदाताले आय विवरण, आय विवरणअनुसारको आयकर र सोमा लाग्ने व्याजको २५ प्रतिशतले हुने रकम संवत् २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी व्याज मिनाहा हुनेछ ।

भ्याटमा दर्ता भइसकेका तर २०८० असार मसान्तसम्मको ‘भ्याट’ विवरण पेस नगर्ने करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो कर विवरणअनुसारको भ्याट र र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम आगामी फागुन मसान्तभित्र बुझाएमा त्यस्ता करदाताको जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुनेछ ।

अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक व्यक्ति तथा संस्थाले २०८० जेठ १५ गतेदेखि २०८० असोज मसान्तसम्मको अवधिमा हवाई यातायात सेवामा संकलन गर्नुपर्ने मूल्य अभिवृद्धि कर संकलन नगरेको वा दाखिल नगरेको भएमा त्यस्तो मूल्य अभिवृद्धि कर, जरिवाना, थप दस्तुर तथा ब्याज मिनाहा हुने विभागले जनाएको छ ।

त्यसैगरी नेपालबाट उडान सुरु नगर्ने अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक (अफलाइन एअरलाइन्स)ले २०८० जेठ १५ गतेदेखि संकलन गरेको मूल्य अभिवृद्धि कर आगामी असार मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भई बुझाएमा सोमा लाग्ने ब्याज, जरिवाना, थप दस्तुर मिनाहा हुने जनाइएको छ ।

भ्याटमा दर्ता भई कारोबार गर्नुपर्ने ढुवानी साधनको भाडा तथा ढुवानी सेवाको कारोबार गर्ने व्यक्तिले २०७६ जेठ १५ गतेदेखि २०७८ जेठ १४ गतेसम्म गरेको करयोग्य कारोबार रकमको एक प्रतिशतले हुने रकम आगामी मंसिर मसान्तसम्म दाखिला गरेमा सोमा लाग्ने बाँकी कर, थप दस्तुर, व्याज र जरिवाना मिनाहा हुनेछ । यसरी कारोबारमा कर निर्धारण भई बक्यौता रहेको वा सोउपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन मुद्दा फिर्ता लिई कारोबार रकमको एक प्रतिशतले हुने रकम २०८१ मंसिर मसान्तसम्म दाखिल गरेमा बाँकी कर र सोमा लागेको थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुने जनाइएको छ ।

नेपालमा उत्पादन भएका आलुप्याज तथा स्याउको कारोबार गर्ने व्यक्तिले २०८१ जेठ १४ गतेसम्म त्यस्तो कारोबार गरेबापत लाग्ने मूल्य अभिवृद्धि कर संकलन नगरेको भए त्यस्तो कर रकम र कारोबारमा आन्तरिक राजस्व कार्यालयबाट कर निर्धारण भई बुझाउन बाँकी रहेको भएमा त्यसको ब्याज, थप दस्तुर तथा जरिवाना मिनाहा गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई कर्जा सूचना सेवा प्रवाह गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८८ बमोजिम स्थापना भएका निकाय मूल्य अभिवृद्धि करमा दर्ता नभएका भए आगामी असार मसान्तभित्र मूल्य अभिवृद्धि करमा दर्ता भई सो अवधिसम्म संकलन गर्नुपर्ने मूल्य अभिवृद्धि करको ५० प्रतिशतले हुने रकम आगामी असोज मसान्तभित्र बुझाएमा बाँकी मूल्य अभिवृद्धि कर, जरिवाना, ब्याज र थप दस्तुर मिनाहा हुनेछ ।

यस्तो कारोबारमा कर निर्धारण भई बक्यौता रहेको वा सो उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन मुद्दा फिर्ता लिई आगामी असोज मसान्तसम्म दाखिल गरेमा बाँकी कर र सोमा लागेको थप दस्तुर, व्याज र जरिवाना मिनाहा हुने राजस्व विभागले जनाएको छ ।

सिङ्गापुरमा अमेरिका र चीनका रक्षा प्रमुखबीच भेटवार्ता

अमेरिका र चीनका रक्षा प्रमुखबीच शुक्रबार सिङ्गापुरमा दुर्लभ प्रत्यक्ष वार्ता भएको छ । वार्ताले ताइवान र अन्य समसामयिक मुद्दाहरूलाई नियन्त्रणबाहिर जानबाट रोक्न मद्दत गर्ने थप सैन्य वार्ताको आशा व्यक्त गरेको छ ।

साङ्ग्रिला डायलगका क्रममा संयुक्त राज्य अमेरिकाका लोयड अस्टिन र चीनका राष्ट्रपति डोङ जुनबीच भएको भेटवार्ता १८ महिनामा दुई देशका रक्षा प्रमुखबीच भएको पहिलो प्रत्यक्ष वार्ता हो ।

सिङ्गापुरमा हुने सुरक्षा सम्मेलन पूर्व डोङ र अस्टिनबीच एक विलाशी होटलमा अपराह्न १ बजेभन्दा केही समयअघि वार्ता सुरु भएको अमेरिकी प्रतिनिधिमण्डलका एक सदस्यले सञ्चारकर्मीलाई जानकारी दिए ।

हालैका वर्षहरूमा अमेरिका र चीनबीचको सम्बन्धको चाप नाप्ने आधार बनेको वार्षिक मञ्चमा विश्वभरका रक्षा प्रमुख र अधिकारीहरू सहभागी हुँदैछन् ।

ताइवानमा सैन्य अभ्यास गरेको एक सातापछि र राष्ट्रपति लाइ चिङ–तेको सपथ ग्रहण र चीनले युद्ध हुने चेतावनी दिएको एक सातापछि यस वर्षको सुरक्षा सम्मेलन हुन लागेको हो ।

प्रजातान्त्रिक ताइवानको विवादलाई बेइजिङले आफ्नो भूभागको समस्या मान्दछ भने विश्वका प्रमुख दुई आर्थिक प्रतिद्वन्द्वीहरू बीचको विवादको सूचीमा शीर्ष स्थानमा छ ।

एशिया–प्रशान्त क्षेत्रमा विशेषगरी फिलिपिन्ससँग वासिङ्टनको गहिरो रक्षा सम्बन्ध र ताइवान क्षेत्रको समुद्र र दक्षिण चीन सागरमा युद्धपोत तथा लडाकू विमानको नियमित तैनाथीप्रति पनि बेइजिङ रुष्ट छ ।

चीनले यसलाई दशकौं लामो अमेरिकी प्रयासको एक हिस्साको रूपमा लिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत महिना बेइजिङ र साङ्घाईको भ्रमण गरेसँगै अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासन र चीनले आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको तनाव कम गर्न वार्तालाई बढावा दिइरहेका छन् ।

सेना–सेनाबीचको वार्ता पुनः सुरु गर्ने विषयमा मुख्य ध्यान केन्द्रित गरिएको छ ।

तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले सन् २०२२ मा संयुक्त राज्य अमेरिकासँग सैन्य सम्पर्क विच्छेद गरेको थियो ।

सन् २०२३ मा अमेरिकी हवाई क्षेत्रमा खसालिएको कथित चिनियाँ जासुसी बेलुन, ताइवानका तत्कालीन राष्ट्रपति साई इङ–वेन र पेलोसीका उत्तराधिकारी केभिन म्याकार्थीबीच भएको भेटवार्ता र ताइपेइका लागि अमेरिकी सैन्य सहायताजस्ता विषयले वासिङ्टन र बेइजिङबीच तनाव बढाएको थियो ।

गत वर्ष नोभेम्बरमा चिनियाँ नेता सी चिनफिङ र राष्ट्रपति बाइडेनबीच भएको शिखर वार्तापछि दुवै पक्ष उच्चस्तरीय सैन्य वार्ता पुनः सुरु गर्न सहमत भएका थिए ।

चौथो ‘रारा ट्रेल रन’को उपाधि राज्य र अक्कललाई

मुगु । नेपाली सेनाले मुलुकको ठूलो र गहिरो ताल रारामा सञ्चालन गरेको चौथो रारा ट्रेल रन (दौड) प्रतियोगितको उपाधि राज्यलक्ष्मी र अक्कलले जितेका छन् ।

बर्सेनि नेपाली सेनाले आयोजना गर्दै आएको दौड प्रतियोगिताको चौथो संस्करणअन्तर्गत भएको खेलमा ताल वरिपरि धावकलाई प्रतिस्पर्धी गराइएको थियो । यस वर्षको ट्रेल रनको आयोजक नेपाली सेनाको हमुमान ध्वज गुल्म रारा रहेको छ ।

शुक्रबार बिहान सञ्चालन भएको दौडमा महिला र पुरुष गरी एक सय ९४ जना खेलाडीले सहभागिता जनाएका थिए । सहभागी पुरुष एक सय ६९ मध्य छायाँनाथ रारा नगरपालिका–१४ वाम गाउँका अक्कल बढुवाल (१७) ले निर्धारित १६ किमी दूरी एक घण्टा दुई मिनेट १० सेकेण्डमा पार गर्दै प्रथम भएका छन् । 

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ का शेरबहादुर बुढाले एक घण्टा दुई मिनेट ११ सेकेण्डमा पार गर्दै द्धितीय र कनकासुन्दरी–२ का चन्द्र रावतले एक घण्टा दुई मिनेट २१ सेकेण्डमा पार गर्दै तृतीय स्थान प्राप्त गरेका हुन् ।

महिला सहभागी ३५ जनामध्ये गोठीचौर गाउँपालिका–३ गज्याङकोटकी राज्यलक्ष्मी रावल (१९) ले निर्धारित १६ किलोमिटरको दूरी एक घण्टा १४ मिनेट ३३  सेकेन्डमा पार गर्दै प्रथम, पातारासी गाउँपालिका–२ जुम्ला पेडा गाउँकी कल्पना बुढाले एक घण्टा १४ मिनेट ५२ सेकेण्डमा दोस्रो र जुम्लाकी समिता बुढाले एक घण्टा १६ मिनेट ३१ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हात पारेका छन् । 

प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीलाई जनही क्रमशः रु ५० हजार, रु ४० हजार, रु ३० हजार नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ । विजेतालाई प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, छायाँनाथ रारा नगरपालिकाका कावाप्रमुख पदमराज मल्ललगायतले पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।
दौड प्रतियोगितामा ज्येष्ठ खेलाडी ५१ वर्षीय राजाराम बुढाका साथै कान्छा खेलाडी १५ वर्षीय दीपेन्द्र रावल प्रतियोगीका रुपमा सहभागी भएका थिए ।

सहकारीको रकम हिनामिनाको आरोपमा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

मध्यविन्दु । छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ।

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्न लागेको जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिए।

गत हप्ता जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ रुपियाँ बराबरको बिगो, जरिवाना, हर्जना र जेलसजाय मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवादी बनाइएकामध्ये १० जना अहिले प्रहरीको हिरासतमा र अन्य २५ जना फरार रहेका छन् ।

विसं २०६६ सालमा स्थापना भएको यो सहकारीमा २३ सय ९३ जना बचतकर्ता र सेयर सदस्य रहेका छन् ।

कुशासन, भ्रष्टाचार र दण्डहीनताले गणतन्त्रमाथि खतरा छः कृष्ण पहाडी(अन्तरवार्ता)

काठमाडौँ । पहेँलो कुर्ता र धोतीमा देखिनु हुने कृष्ण पहाडीका विषयमा केही थाहा नहुने सामान्य मानिसले कुनै आध्यात्मिक सन्तका रुपमा बुझ्न सक्छ । तर उहाँ त्यसरी बुझे जस्तो धार्मिक सन्त होइन । उनी लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताको आन्दोलनमा नथाक्ने योद्धाका रुपमा स्थापित छन् । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नागरिक समाजका तर्फबाट पहाडीले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।


पूर्व राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि पहाडीलगायतले नागरिक समाजका तर्फबाट आन्दोलन सुरु गरेका थिए । राजनीतिक दलको आह्वानमा मानिस जम्मा नहुने समयमा नागरिक समाजले नै पूर्व राजाले प्रजातान्त्रिक हक, अधिकारमा लगाएका प्रतिबन्धका विरुद्धमा सडक सङ्घर्षको नेतृत्व गरेको थियो । नागरिक समाजले गल्ती, कमजोरी गरे पनि राजनीतिक दलले नै मुलुकको नेतृत्व गर्ने हो भनी स्थापित गराएको थियो । यसैको फलस्वरुप तत्कालीन सात राजनीतिक दलले आह्वान गरेको आन्दोलनमा जनसहभागिता बढ्न थालेको हो । 


राजनीतिक दललाई लोकतान्त्रिक गणतन्त्रमा डोर्याउन त्यसबेला पहाडीलगायत नागरिक अगुवाले महत्वपूर्ण योगदान गरेका थिए । प्रस्तुत छ, लोकतान्त्रिक गणतन्त्र सत्रौँ वर्षमा प्रवेश गर्दा यसमाथि मडारिन थालेका काला बादललगायतका विषयमा केन्द्रित रही राससका समाचारदाता पूर्णप्रसाद मिश्रले नागरिक आन्दोलनका अगुवा पहाडीसँग गरेको कुराकानीको सम्पादित अंशः


गणतन्त्र स्थापना भएको १७ वर्ष लागेको छ, गणतन्त्र स्थापना हुनुअघि र गणतन्त्र स्थापनापछिको अवस्थामा केही फरक भएन भन्ने चर्चा चलिरहेको छ । गणतन्त्र स्थापनाका लागि नागरिक समाजका तर्फबाट नेतृत्वदायी भूमिका निर्बाह गर्नुभएका नाताले यो अवस्थाप्रति तपाईंको भनाइ के छ ?


गणतन्त्र स्थापना भएपछि पनि सुशासन हुन सकेन । असललाई जिम्मेवारी र खराबलाई दण्ड दिनुपर्नेमा त्यस्तो हुन सकेन । कुशासन र दण्डहीनताका कारण जनतामा वितृष्णा बढ्दै गएको छ । दुईपटकको संविधानसभाको निर्वाचनपछि २०७२ सालमा संविधान जारी भयो । २०७४ सालमा तीनै तहको निर्वाचन सम्पन्न भयो । तीनै तहको निर्वाचन सम्पन्न भएपछि राजनीतिक स्थायित्वका साथै सुशासनको प्रत्याभूतिसँगै आर्थिक सामाजिक रुपमा देशले फड्को मार्ने अपेक्षा नागरिकको थियो । तर सत्तासीनले नागरिकको अपेक्षा अनुरुप योगदान गर्न सकेनन् । उर्बर विचार र जनशक्तिको पुञ्ज लाखौँ युवाको विदेश पलायनको सिलसिला रोकिएन । नागरिक सर्वोच्चता स्थापित हुनुपर्नेमा प्रमुख दलका शीर्ष नेताको सर्वोच्चता स्थापित हुन थालेको हो कि भन्ने आशङ्का बढ्दै गएको छ । गणतन्त्रपछि सबैतिर विधिको शासनको अनुभूति हुनुपर्नेमा अर्बौँ भ्रष्टाचारका दर्जनौँ घटना प्रकाशमा आउँदा पनि त्यसमा संलग्न कुनै पनि नेतामाथि कानुनी कारबाही भएन । सौदावाजीको राजनीति, कुशासन र दण्डहीनताको कहालीलाग्दो श्रृङ्खलाका कारण नागरिकमा वितृष्णा एवं निराशा चुलिँदै गएको छ । त्यसका लागि जिम्मेवार नेताको राज्यसत्ता एवं संयन्त्रमा पकड तथा हालीमुहाली छ । यसैले यो व्यवस्थामाथि प्रश्न उठाउने र धावा बोल्नेको सङ्ख्या बढ्दै गएको देखिन्छ । अधिनायकवाद र एकाधिकारवादको पृष्ठपोषकको ऊर्जाको स्रोत पनि यिनै विकृति हुन् । लोकतान्त्रिक गणतन्त्रमाथि खतरा छ भने कुशासन, भ्रष्टाचार र दण्डहीनताका कारणले नै छ । यसका लागि प्रमुख दलका शीर्ष नेता जिम्मेवार छन् । 


विसं २०६२/६३ पछि जनआन्दोलनको राप र तापले लोकतान्त्रिक गणतन्त्रको स्थापना र नयाँ संविधान जारी भएका कारण अधिनायकवाद र एकाधिकारवादको भविष्य समाप्त भएको थियो । २४० वर्ष पुरानो राजतन्त्रको उन्मुलन हुनु अधिनायकवादको समाप्ति थियो भने संविधानसभाबाट नयाँ संविधान बनेपछि स्वतन्त्रताविहीन एकाधिकारवादी अर्थात साम्यवादी व्यवस्थाको स्थापनाको सम्भावना पनि अन्त्य भएको थियो । यो संविधान असफल सावित गरी यो व्यवस्थाको अन्त्य गर्न सके मात्र राजतन्त्रको पुनस्र्थापना र साम्यवादी व्यवस्थाको स्थापनाको द्वार खुल्छ भन्ने रणनीतिले अहिले अधिनायकवाद र एकाधिकारवादका पृष्ठपोषकहरु अभियानरत रहेको देखिन्छ । यी दुवै तप्का बलियो हुनु भनेको लोकतान्त्रिक गणतन्त्र, स्वतन्त्रता र मानव अधिकार कमजोर हुनु हो । 


लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा देखिएका विकृति अन्त्य गर्न के गर्नुपर्ला ?


संविधान गतिशील दस्तावेज हो । संविधान संशोधन निरन्तर हुने प्रक्रिया हो । संविधान कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरीलाई संशोधन गरी गणतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्छ । कुनै पनि संविधान आफैँमा पूर्ण र सर्वोत्कृष्ट हुँदैन । नेपालको संविधान पनि शैसव अवस्थामा छ । संविधान कमी कमजोरी मुक्त छैन । माग र आवश्यकताअनुसार संविधान संशोधन हुनुपर्छ । संविधान संशोधन गर्दा केन्द्रबिन्दुमा नागरिक सर्वोच्चता रहेको लोकतान्त्रिक गणतन्त्रलाई राखिनुपर्छ, यसको प्राण हरण गर्न मिल्दैन । अमेरिकाको संविधानमा २७ र भारतको संविधानमा १०६ पटक संशोधन भइसकेको छ । नेपालमा संविधानसभाबाट संविधान बनिसकेपछिको मार्ग भनेको वैधानिक तबरले आवश्यकताअनुसार संविधान संशोधन मात्र हो, संविधानको हत्या होइन । विश्वमै उत्कृष्ट मानिएको नागरिक सर्वोच्चता र स्वतन्त्रताको प्रत्याभूतिसहितको लोकतान्त्रिक व्यवस्थाको विकल्पमा अधिनायकवाद र एकाधिकारवादको वकालत गर्नु भनेको आधुनिक सभ्यता र सुसंस्कृतिको मान्यता विपरीत नेपाललाई सयौँ वर्ष पछाडि धकेल्ने दुषित चिन्तनमात्र हो । 


विद्यमान विकृतिको निदान नगर्ने हो भने उपलब्धि ओझेलमा पर्नसक्ने सम्भावनाका कारण मानवअधिकार तथा शान्ति समाज चिन्तित छ । असललाई जिम्मेवारी र खराबलाई दण्ड सुनिश्चित गर्न सकेमात्र लोकतान्त्रिक गणतन्त्र दिगो हुन्छ । केही खराब नेताको आचरणका कारण अहिले व्यवस्थामाथि धावा बोल्नेको मनोबल बढ्न थालेको छ । आन्तरिक लोकतान्त्रिक अभ्यासबाटै खराबलाई दण्ड सुनिश्चित गर्न नसक्नुमा प्रमुख दलका नेता मात्र होइन, कार्यकर्ता पनि त्यत्तिकै जिम्मेवार छन् । खराब नेताका कारण लोकतन्त्रमाथि सङ्कट आउने त होइन ? भन्ने आशङ्का बढ्दै जाँदा पनि खराब नेताकै सर्वोच्चता स्वीकार गर्नेहरु लोकतन्त्रवादी हुन सक्दैनन् । नेता र दलका कारण लोकतन्त्रलाई धरापमा पार्नु अपराध हो । यसैगरी लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नु भनेको अस्थिरता र अराजकताको दलदलमा मुलुकलाई धकेल्नु हो भन्ने सत्य सबैले बुझ्नुपर्छ । 


गणतन्त्र स्थापनाका लागि राजनीतिक दललाई दबाब दिने नागरिक समाज नै विभाजित भएकाले पनि अहिलेको व्यवस्थामाथि खतरा बढ्दै गयो भन्ने विश्लेषण पनि हुन थालेको छ नि ?

राजनीतिक समाजमा जस्तै नागरिक समाजमा पनि विकृति व्याप्त छ भन्ने व्यापक आरोप छ । नेपालमा कार्यरत सङ्घसंस्थाका थुप्रै कमीकमजोरीहरु छन् । नागरिक समाज कहिले सुस्ताएको, कहिले हराएको त कहिले राजनीतिक समाजको भ्रातृ संस्था जस्ते भएको गुनासो सुनिँदै आएको छ । यसैगरी नेपालका मानव अधिकारवादी संस्थाहरु डलरमुखी छन् भन्ने आरोप व्याप्त छ । म संस्थापक सभापति रहेको शान्ति समाजले भने अहिले नागरिक संवाद कार्यक्रममार्फत् संस्थाकै बारेमा आलोचनात्मक टिप्पणी गर्ने सकिने व्यवस्था गरेको छ । लोकतन्त्रमा सबै संस्थाले यस्तो अभ्यासको व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ । यसले पनि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहयोग गर्छ । 

भ्रष्टाचार र कुशासनका विरुद्ध नागरिक आन्दोलन किन हुन सकिरहेको छैन ?

नागरिक समाज भनेको जागरुक नागरिकहरुको त्यस्तो समूह/जमात हो, जसले नागरिक हक अधिकारको प्राप्ति, संरक्षणका लागि योगदान गर्छ । नागरिक समाज भनेको राष्ट्रको त्यस्तो बलियो किल्ला हो, जसले बृहत्तर राष्ट्रिय हितका लागि नागरिक दायित्व निर्वाह गर्नुका साथै कर्तव्य पनि स्मरण गराउँछ । लोकतन्त्रको प्राप्ति र रक्षा जस्ता सवालमा विभिन्न निकायसँग हातेमालो/साझेदारी पनि गर्छ तर नागरिक समाजको मौलिकता र पवित्रता सदैव कायम राख्दै निश्चित सवालमा दूरी पनि कायम गर्छ । नागरिक समाजले राज्य र समाजबीचको कार्य क्षेत्रलाई दर्साउँछ, जुन नागरिक समूह, नागरिक समाज सङ्गठनहरु र गैरसरकारी संस्थाहरु मिलेर बनेको हुन्छ । यी सबैले केही खास चासोहरुको प्रतिनिधित्व र प्रवद्र्धन गर्नुका साथै नागरिक कर्तव्य र राजनीतिक अधिकारहरुको बारेमा जनचेतना जगाउने काम गर्छन् । नागरिक समाजसँग सम्बन्धित संस्थाले बहुआयामिक भूमिका निर्वाह गर्छन् । राजनीतिक समाज, कर्मचारी समाज, सुरक्षा निकायलगायत केही खास संरचना बाहेकका जगत् र जीवनको रक्षा एवं सेवाका लागि समर्पित एवं क्रियाशील जमात नै नागरिक समाज हो, जुन मूलतः स्वयंसेवी र लाभ निरपेक्ष हुन्छ । नागरिक समाज भनेको स्वतःस्फूर्त होस् वा सङ्गठित तबरमा क्रियाशील यस्तो निकाय हो जसको उपस्थिति बोध हुन्छ र सङ्कटका बेला सर्वाधिक चलायमान हुन्छ ।


नागरिकहरुको आवाज मुखरित गर्ने, नागरिक हकहितका लागि प्रतिबद्ध एवं क्रियाशील संस्था, जमात, संरचना, आन्दोलन नै नागरिक समाज हो । सङ्गठितरुपमा रहेका नागरिक समाज आबद्ध संस्थाले अभियान गर्छन् । त्यस्तो अभियान नै कहिलेकाहीँ आन्दोलन पनि बन्ने गर्छ । स्वतःस्फूर्त रुपमा बिना कुनै संरचना कहिलेकाहीँ यस्ता आन्दोलन पनि उठ्छन्, जसले निकास दिन्छ, नयाँ इतिहास बनाउँछ र नागरिक समाजलाई उचाइमा पुर्‍याउँछ । त्यस्तो बेला राजनीतिक समाजलाई डो¥याउने काम पनि नागरिक समाजले गर्छ । जस्तो नेपालमा २०६२/६३ को जनआन्दोलनको पृष्ठभूमि निर्माण गर्ने र आन्दोलनलाई उचाइमा पुर्‍याउने काम ‘लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन’ ले गरेको थियो । 


नागरिक समाज भनेको लोकतन्त्रको एउटा खम्बा हो । नागरिक समाजले लोकतन्त्र प्राप्तिका साथै रक्षाका लागि काम गर्छ । लोकतान्त्रिक संस्कृति निर्माण र सबलीकरणमा योगदान गर्छ । आधारभूत स्वतन्त्रता र मानव अधिकारको पक्षमा चट्टान जस्तो उभिन्छ । अहिंसात्मक धारालाई आत्मसात गर्छ । यिनै मान्यताका आधारमा शान्ति समाजकै नेतृत्वमा भ्रष्टाचार एवं कुशासनका विरुद्ध नागरिक आन्दोलनको तयारी पनि भइरहेको छ ।

लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि के गर्नुपर्छ ? 

पछिल्लो चरणमा अर्बौं घोटालाका दर्जनौँ घटना प्रकाशमा आएका छन् र त्यस्ता घोटालामा प्रमुख दलका शीर्ष नेताको संलग्नताको तथ्य छताछुल्ल भएको छ तर मूल दोषीमाथि कारबाही हुन सकेको छैन । सुशासनका लागि योगदान गर्नुपर्ने राज्यका संयन्त्रको चरम राजनीतिकरण भएको छ । सौदाबाजीको राजनीति उत्कर्षमा छ । राजनीति विकासमुखी हुन सकेको छैन । राज्य संयन्त्रहरु जुन मात्रामा सेवामुखी हुनुपथ्र्यो, हुन सकेका छैनन् । समग्र समाज उद्यममुखी बन्न सकेको छैन । लगानीमैत्री कानुन र वातावरणको अभाव छ । प्रविधिमैत्री सेवा संरचना निर्माण र विस्तारमा उदासीनता छ । राज्यका पूर्जापूर्जा भ्रष्टाचारले आक्रान्त छन् । दण्डहीनता संस्थागत भएको छ । यसले नागरिकहरुमा निराशा र वितृष्णा बढ्दो छ । नागरिकका निराशा विष्फोटमा बदलिने सम्भावनालाई नकार्न सकिँदैन । तसर्थ, नागरिक निराशालाई आशामा बदल्न नागरिक समाजको सक्रियता अत्यावश्यक छ । 


सुशासन लोकतन्त्रको प्राण हो । कुशासन व्याप्त हुँदै गए लोकतन्त्र सङ्कटमा पर्छ । भ्रष्टाचारका घटनालाई उदाङ्गो पार्दै दोषीलाई कारबाही सुनिश्चित गरी किनारा लगाउन सके मात्र लोकतन्त्र सार्थक एवं जीवन्त हुन्छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा नागरिक समाजको महत्वपूर्ण योगदान छ । वर्तमान अवस्थामा लोकतान्त्रिक गणतन्त्र जोगाउन सुशासनको प्रत्याभूति हेतु भ्रष्टाचारविरुद्धको आन्दोलनलाई उचाइमा पुर्‍याउनु आवश्यक छ । नागरिक समाजको अबको कार्यादेश भनेकै सुशासनका लागि शान्तिपूर्ण हस्तक्षेप हो । नागरिक समाजको अबको मार्ग भनेकै भ्रष्टाचारविरुद्धको बृहत् अभियान/आन्दोलन हो । त्यस्तो आन्दोलन राजनीतिको शुद्धीकरणका लागि हुनुपर्छ । त्यस्तो आन्दोलनमा समाजको हरेक तह र तप्का जोडिनुपर्छ । त्यस्तो आन्दोलन लोकतन्त्रको विकल्प खोज्ने नभई लोकतन्त्रको जरालाई अझ गहिरो बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । नागरिक समाजको त्यस्तो प्रयासले लोकतान्त्रिक गणतन्त्रलाई जोगाउँछ र दिगो बनाउँछ ।

कान्तिपुर र पशुपति सहकारीमा आठ अर्ब भन्दाबढी ठगीको आरोपमा सिबी लामा पक्राउ

काठमाडौँ । प्रहरीले कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् । कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ गरेका थिए ।

२०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरी उनीविरुद्ध मुद्दा चलाएको थियो । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालकहरु विरुद्ध अहिलेसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् ।

न्यूरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेले नै अहिले फुटपाथ बढउँदा विरोध गरेको भन्दै बालेनको आपत्ति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले न्यूरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन थाल्नेहरूले नै अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत मेयर साहले दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिँड्ने सडकमा सडक विभागले बनाएको मापदण्ड हेर्न सुझाव दिँदै त्यही मापदण्ड पालना गर्न फुटपाथ बढाएको जिकिर गरेका छन् ।

उनले भनेका छन्, ‘एउटा रोचक कुरा कुरा पढ्नु हुन्छ ? न्यूरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दाबढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ? त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।’

त्यस्तै मेयर साहले न्यूरोडलाई अझै व्यवसायिक र सुन्दर बनाउन एकजुट हुन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ । विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायिक, सुन्दर बनाउँन एकजुट बनौँ । ’

सडक डिभिजन कार्यालयले न्यूरोडको सडक पुनःस्थापन गर्न महानगरलाई दिएको २ दिनको अल्टिमेटम दिएको छ । दुई दिनभित्र सडक पुनस्र्थापना नगरे कारबाही गर्ने चेतावनी सडक डिभिजनले दिएको छ । फुटपाथ विस्तार गर्ने विषयमा संघ सरकार र महानगरबीच विवाद भइरहेको छ । जसका कारण मेयर साहले सडक डिभिजनमा केही दिन अघि एक टिपर घुलो लगेर खन्याउन लगाएका थिए ।

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन गर्न धमाधम काम

काठमाडौं । दैलेखको जिल्लाको भैरवी गाउँपालिका-१, जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौँ कामदार एवं प्राविधिक जुटेका छन्। उत्खननका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ।

ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए।

कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागू गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए। चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो।

कर्णाली ड्रागन फ्रुट फर्ममाढकमक्क फूलेको ‘ड्रागन फ्रुट’

सुर्खेतको गुर्भाकोट नगरपालिका –१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’ । ड्रागन फ्रुट फर्मका हिराबहादुर मगरले व्यावसायिक रुपमा करिब एक विगाहामा ड्रागन खेती गर्दै आउनुभएको छ ।

तस्बिरःसुरेश आचार्य/रासस

संवैधानिक परिषदसम्बन्धी विधेयकमा भएको व्यवस्थाले शक्ति सन्तुलनका सबै मर्म भताभुंग पार्छः संविधानविद आचार्य

काठमाडौं । संविधानविद डा. भीमार्जुन आचार्यले संवैधानिक परिषद्को निर्णयमा कार्यकारिणी प्रमुख हाबी हुने गरी राज्य व्यवस्था समितिले पारित गरेको विधेयक अनुमोदन भएमा न्यायालहरु निर्देशित हुने बताएका छन् ।

बिहीबारको राज्य व्यवस्था समितिको बैठकले संवैधानिक परिषदको निर्णयमा प्रधानमन्त्रीको अनिवार्य सहमति चाहिने व्यवस्था गरेपछि संविधानविद आचार्यले यो गलत भएको बताएका हुन् । उनले यस्तो व्यवस्थाले शक्ति सन्तुलनका सबै मर्म भताभुंग हुने बताएका छन् ।

उनले भनेका छन्, ‘संवैधानिक परिषद्को निर्णयमा कार्यकारिणी प्रमुख हाबी हुने गरी राज्य व्यवस्था समितिले पारित गरेको विधेयक यही रूपमा अनुमोदन भएमा न्यायालय र अरू संवैधानिक निकायहरू सम्पूर्ण रूपमा निर्देशित हुनेछन् । शक्ति सन्तुलनका सबै मर्म भताभुगं हुनेछन् । प्रधानन्यायाधीशलाई परिषदमा भूमिका शून्य बनाउने गरी बारको सम्मेलनले गरेको महाभूलबाट नेताहरू हौसिएको देखिन्छ । लोकतन्त्रमा सर्वसम्मत होइन विधिसम्मत निर्णय आवश्यक हुन्छ । विवेकी सांसद्हरूले यसमा हस्तक्षेप गरून् । समामुख नै रहिसके पछि संवैधानिक परिषदमा प्रतिनिधिसभाको उपसभामुखको आवश्यकता छैन, त्यसमा हेरफेर गरौं । अति संकीर्ण दलीय स्वार्थले संवैधानिक राज्य व्यवस्थाका सबै मान्यताहरू नष्ट हुने प्रक्रियामा छन् । यसलाई रोकौं ।’

राज्य व्यवस्था समितिबाट पारित विधेयकमा अध्यक्ष र तत्काल बहाल रहेका सदस्यको ५० प्रतिशतले संवैधानिक परिषदमा निर्णय हुनसक्ने उल्लेख छ । संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ । त्यसैले कुनै विषयमा सर्वसम्मत हुन नसके अध्यक्ष र तत्काल बहाल रहेका कम्तिमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गरिने व्यवस्था गरिएको छ ।

संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेता रहने संवैधानिक व्यवस्था छ । अब यो विधेयक अनुसार प्रधानमन्त्रीको अनिवार्य सहमतिमा परिषद्को ५० प्रतिशतले निर्णय गर्न सक्छ । यसअघि नेकपा एमालेले कुनै विषयमा सर्वसम्मतिबाट निर्णय हुन नसकेमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तिमा पचास प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्ने कि नगर्ने भन्ने विषयमा विवाद झिकेको थियो । तर नेकपा एमाले सत्तापक्ष भएपछि उक्त अडान छाडिदिएको छ । अब यो विधेयक प्रतिनिधिसभा बैठकमा पेस गरिनेछ ।

शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसङ्घको सम्मान

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घीय शान्ति सेनामा खटिएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन् ।

अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा शुक्रबार संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको उक्त पदक संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे ।

त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवङ्गत भएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे । राईको गत अक्टोवर १३ मा कङ्गोमा निधन भएको हो ।

सन् १९४८ मा इजरायल–अरब युद्धविराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक परिचालन गर्ने निर्णय भएको दिन ३० मेलाई अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका रूपमा मनाइने गरेको छ ।

नेपाल राष्ट्रसङ्घीय शान्ति सेनामा सर्वाधिक सैनिक परिचालन गर्ने मुलुकमध्येको एक हो । छ हजारभन्दा बढी नेपाली शान्ति सेनामा परिचालन भएका छन् ।

राष्ट्रसङ्घले अबेई, मध्य अफ्रिकी गणतन्त्र कङ्गो, साइप्रस, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इराक, कोसोभो, लेबनान, लिबियामा नेपाली शान्ति सेनालाई खटाउँदै आएको छ । पूर्वी सोमालिया, दक्षिण सुडान, पश्चिमी सहारा र यमनमा पनि नेपाली शान्ति सेना तैनाथ छन् । नेपाल सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई शान्ति सेनाका रूपमा खटाउँदै आएको छ ।

व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा कसुरमा ट्रम्प दोषी ठहर, जेल सजाय हुनसक्ने

बीबीसी । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प एउटा ऐतिहासिक फौजदारी सुनुवाइका क्रममा व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा कसुरमा दोषी ठहर भएका छन् ।

भूतपूर्व वा पदमा बहाल रहेका अमेरिकी राष्ट्रपति कुनै पनि अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो । उनी विरूद्ध ११ जुलाईमा सजाय सुनाइनेछ ।

ट्रम्पलाई जेल सजाय पनि हुन सक्छ तर कानुनविद्हरूले उनलाई सजाय हुने सम्भावना बढी रहेको बताएका छन् । ट्रम्पले यो आदेशलाई ‘कलङ्क’ भन्दै उक्त मुद्दा हेर्ने निकायको अध्यक्षता गरेका न्यायाधीश मर्चनको आलोचना गरेका छन् । राष्ट्रपति बाइडनलाई आगामी नोभेम्बरमा हुने चुनावमा पराजित गरेर व्हाइट हाउसमा फर्कन ट्रम्पले अभियान चलाइरहँदा यो आदेश आएको हो ।

अदालतले २२ जना प्रत्यक्षदर्शीसँग ६ हप्ता बयान लिएको थियो। बयान दिनेमा ट्रम्पले यौन सम्बन्ध राखेको भनिएकी र सन् २०१६ को चुनावअघि ‘चुप बस्न’ रकम दिइएको भनिएको पोर्नस्टार स्टोर्मी ड्यान्यल्स पनि थिइन् ।

ट्रम्पका एकजना उच्च तहका अधिवक्ताले फक्स न्यूजलाई बताए अनुसार पूर्वराष्ट्रपतिको कानूनी टीमले पुनरावेदनका लागि सबै उपायमाथि छलफल गरिरहेको छ।

नेपाल–अमेरिकाबीचको अभ्यास खेल मौसमका कारण रद्द

काठमाडौं । आइसिसी टी–२० विश्वकप अगाडि नेपालले खेल्ने अन्तिम अभ्यास म्याच रद्द भएको छ । आइसीसीले नेपाल र अमेरिका बिचको खेल बिहीबार खेलाउने तय गरेको थियो । तर खराब मौसमका कारण खेल रद्द भएको हो ।

डालासको ग्रान्ड प्रिएरीमा टस समेत भएको थियो । घरेलु टोली अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । त्यस पछि भारी वर्षा सुरु भयो र खेल स्थगन गरियो ।

झन्डै ४५ मिनेट पछि वर्षा रोकिएपछि पिचको कभर पनि हटाइएको थियो । मैदानका कर्मचारीको दौडादौड त्यस बेला फेरि भयो जति बेला पुनः वर्षा सुरु भयो । त्यस पछि भने अम्पायरले खेल रोक्ने निर्णय गरे ।

अभ्यास म्याचमा नेपाल यस अगाडि क्यानडा सँग पराजित भएको थियो । दोस्रो पटक आइसीसी विश्व कप खेल्दै गरेको नेपालले समूह चरणको पहिलो खेल जुन ४ तारिख यसै मैदानमा नेदरल्याण्डसँग खेल्ने छ । नेपालले दोस्रो खेल जुन १२ तारिख फ्लोरिडामा श्रीलङ्का सँग खेल्ने छ । नेपालले समूह चरणमा बङ्गलादेश र दक्षिण अफ्रिका सँग वेष्टइन्डिजमा खेल्ने छ ।

विश्वकप खेल्न नपाउँदैमा सन्दीपको करियर समाप्त हुँदैनः अध्यक्ष चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आफूहरूले निकै प्रयास गर्दा पनि क्रिकेटर सन्दीप लामिछानेले भिसा पाउन नसकेको बताएका छन् । बिहीबार राति सामाजिक संजालमार्फत अध्यक्ष चन्दले यसपटक विश्वकपमा सहभागी हुन नपाउँदैमा सन्दीपको करिअर नसकिने बताएका छन् ।

उनले भनेका छन्, ‘सन्दीपजस्तो बहुप्रतिभाशाली खेलाडी, जसका कारणले पनि आज हामी विश्वकप खेल्दै छौँ । स्वयं सन्दीपले खेल्न नपाउनुले हामी सबै दुःखी छौँ । तर यसमा सहभागी हुन नपाउँदैमा न सन्दीपको करिअर समाप्त हुनेछ न नेपालको क्रिकेट, सबैमा धैर्यता कायम गरिदिन आग्रह गर्दछु ।’

अध्यक्ष चन्दले सामाजिक संजालमा यस्तो लेखेका छन्ः

सन्दीपको भिसा सम्बन्धमा सस्तो लोकप्रियताका लागि ‘हाइतौबा’ गर्ने केही मिडियाकर्मीलाई स्मरण रहोस् । सन्दीपलाई आरोप लागेको बेला र ऊ एक्लो परेको अवस्थामा यहाँहरु को के कस्तो भूमिका थियो स्मरण गरिदिनुस् । सन्दीपलाई न्यायका लागि क्यान अध्यक्ष मात्र नभई एउटा अभिभावक रूपमा मैले आफ्नो ‘करियर’ समेत को प्रवाह नगरी विभिन्न दवाव, प्रभाव र आक्रमणहरुको सामना गर्दै खेलेको प्रत्यक्ष र ‘अप्रत्यक्ष’ भूमिकाको कहिले स्वागत गर्नु भएको थियो कि ? स्मरण गरिदिनुस् । भिसा प्राप्तीका लागि क्यानले गरेको हदैसम्मको आन्तरिक प्रयास, आइसीसीले पठाएका पत्रहरु, सरकारले गर्न खोजेको सहयोग लगायतका सबै आन्तरिक कुराहरु केही सस्तो लोकप्रियता खोज्ने मिडियाकर्मीहरुका लागि सार्वजनिक गर्नुपर्छ जस्तो लाग्दैन ।

सन्दीप जस्तो बहुप्रतिभाशाली खेलाडी जसका कारणले पनि आज हामी विश्वकप खेल्दै छौं स्वयं सन्दीपले खेल्न नपाउनुले हामी सबै दुःखी छौं तर यसमा सहभागी हुन नपाउँदैमा न सन्दीपको करियर समाप्त हुनेछ न नेपालको क्रिकेट, सबैमा धैर्यता कायम गरिदिन आग्रह गर्दछु । नेपाल क्रिकेट संघको अध्यक्षका साथै नेपाली कांग्रेस बैतडीको सभापति भनेरै लेखिराख्नु हुने साथीहरूका लागि पुनः स्मरण रहोस् म बैतडी कांग्रेसको निर्वाचित सभापति नै हो जसका लागि म गौरव गर्दछु ।आइसीसी विश्कपमा सहभागी देशको क्रिकेट संघको प्रमुख त्यो पनि आइसीसीको निमन्त्रणामा उपस्थित भएर मैले अन्यथा गरेको छु जस्तो लाग्दैन । धन्यवाद, नमस्कार ।