न्यूरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेले नै अहिले फुटपाथ बढउँदा विरोध गरेको भन्दै बालेनको आपत्ति
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले न्यूरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन थाल्नेहरूले नै अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन् ।
शुक्रबार सामाजिक संजालमार्फत मेयर साहले दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिँड्ने सडकमा सडक विभागले बनाएको मापदण्ड हेर्न सुझाव दिँदै त्यही मापदण्ड पालना गर्न फुटपाथ बढाएको जिकिर गरेका छन् ।
उनले भनेका छन्, ‘एउटा रोचक कुरा कुरा पढ्नु हुन्छ ? न्यूरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दाबढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ? त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।’
त्यस्तै मेयर साहले न्यूरोडलाई अझै व्यवसायिक र सुन्दर बनाउन एकजुट हुन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ । विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायिक, सुन्दर बनाउँन एकजुट बनौँ । ’
सडक डिभिजन कार्यालयले न्यूरोडको सडक पुनःस्थापन गर्न महानगरलाई दिएको २ दिनको अल्टिमेटम दिएको छ । दुई दिनभित्र सडक पुनस्र्थापना नगरे कारबाही गर्ने चेतावनी सडक डिभिजनले दिएको छ । फुटपाथ विस्तार गर्ने विषयमा संघ सरकार र महानगरबीच विवाद भइरहेको छ । जसका कारण मेयर साहले सडक डिभिजनमा केही दिन अघि एक टिपर घुलो लगेर खन्याउन लगाएका थिए ।
