`

मुगु र दार्चुलामा यार्सा सङ्कलनमा गएका तीन जनाको मृत्यु

Nepal One HD १९ जेठ २०८१ १५:४४
समाज

मुगु । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउबाट फोनमा जानकारी दिए ।


जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा गएका दुई जनाको लेक लागेर मृत्यु भएको र एक जना सिकिस्त बिरामी भएका बताए । सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याउँदै गरेको बताए ।

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।

दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु

दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रबार बेलुका कार्कीको मृत्यु भएको उनले बताए ।


प्रतिक्रिया