दिल्लीका मुख्यमन्त्री केजरीवाल जेलमा हाजिर हुँदै


दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्लीको मदिरा नीति घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा अन्तरिम जमानतको म्याद शनिबार सकिँदै गर्दा आव तिहाड जेल फर्कने भएका छन् ।
केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत दिएको थियो र २ जुनमा तिहाड जेलमा आत्मसमर्पण गर्न भनिएको थियो ।
दिल्लीका मुख्यमन्त्रीले यसअघि अन्तरिम जमानतको म्याद थपका लागि सर्वोच्च अदालतमा अपील गरेका थिए ।
बुधबार सर्वोच्च अदालतले उनको निवेदन खारेज गर्दै उनलाई नियमित जमानतका लागि ट्रायल कोर्ट जाने स्वतन्त्रता दिइएकाले यहाँको निवेदन विचारणीय नभएको बताएको थियो ।
यसैबीच, दिल्लीको राउज एभेन्यू अदालतले कथित अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरणको मुद्दामा चिकित्सकीय कारण देखाउँदै मुख्यमन्त्री केजरीवालले दायर गरेको अन्तरिम जमानत याचिकाबारेमा आदेश शनिबार स्थगित गरेको छ ।
अदालतले ७ दिनको जमानतको माग गर्दै दायर गरिएको याचिकामा जुन ५ तारिखका लागि मिति तोकेको छ भने केजरीवालका वकिलको अनुरोधअनुसार आजै आदेश दिन अस्वीकार गरेको छ ।
केजरीवालका तर्फबाट वरिष्ठ अधिवक्ता एन हरिहरनले आफ्नो पार्टी (आम आदमी पार्टी) का लागि चुनाव प्रचार गर्नका लागि अन्तरिम जमानत दिइएको बताए ।
“पछिल्लो समय पिसाबमा चिनीको मात्रा बढेको छ । चिन्ताको विषय चिनीको उच्च मात्रा र ‘केटो सङ्ख्या’ हो,” मुख्य केजरीवालका वकिलले निवेदनमा भनेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) का तर्फबाट सोलिसिटर जनरल तुषार मेहता र एडिशनल सोलिसिटर जनरल एसभी राजुले केजरीवालले आफ्नो स्वास्थ्य अवस्थालगायतका तथ्यहरू लुकाएको आरोप लगाएका छन् ।