प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको शपथ समारोहमा सहभागी हुने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिने जाने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहभागिता जनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, “प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निर्णय भएको छ, यसमा जानका लागि आवश्यक टोली निर्माण गर्ने कुरा भएको छ, जाने टोलीको कति जना हुने भने टुङ्गो लागिसकेको छैन ।”
त्यस्तै, बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी नेपाल ऐनलाई केही संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
त्यस्तै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्ति दिने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्ति गर्ने पनि बैठकमा निर्णय भएको उनले जानकारी दिइन् ।
मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्रामक रोगहरुका रुपमा तोक्ने, जीवनाशक विषादी व्यवस्थापन नियमावली, २) ८१ स्कीकृत गर्ने र ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
सहरी विकास मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक तेजबहादुर राईलाई तोक्ने निर्णय बैठकले गरेको छ ।
