`

‘हिंसा’ शब्द सभामुखले रेकर्डबाट नहटाउने निर्णय गरेकोमा माओवादीको विरोध

काठमाडौं । भदौ १२ गते नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुख देवराज घिमिरेले निर्णय गरेको भन्दै माओवादी सांसदले विरोध गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले एमाले सचिव भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए ।

सभामुखले हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका सांसदले विरोध गरेका हुन् । भट्टराईले माओवादीले चलाएको ‘जनयुद्ध’लाई हिंसा भनेर भदौ १२ गतेको संसद्मा टिप्पणी गरेपछि विवाद भएको थियो ।

सभामुखले निर्णय सुनाउँदै भने, ‘साउन १२ गते माननीय योगेश भट्टराईले प्रयोग गरेको हिंसालाई असंसदीय भनी हटाउन मागसहित भएको नियमापत्तिबारे छलफल भएको छ। प्रतिनिधिसभा नियमावलीको नियम २१ मा भएको व्यवस्था, भदौ १८ गतेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकको रायअनुसार उक्त शब्द संसद्को अभिलेखबाट हटाउनुनपर्ने निर्णय भएको छ ।’

सभामुखले निर्णय सुनाएपछि माओवादी केन्द्रका सांसदहरूले नियमापत्ति गर्दै संसदमा उठेर विरोध जनाएका थिए ।

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषिप्रधान देश नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादानमूलक कृषिमा लाग्न आग्रह गरे ।

उनले कुन ठाउँमा के बाली लगाउँदा हुन्छ र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने अध्ययनसहित सहकारी, सहकार्य र निजी क्षेत्रको सहभागितामा उत्पादकत्व वृद्धि गर्न सकिने बताए ।

त्यसका लागि मुलुकको आवश्यकतालाई ध्यान दिएर कृषि वैज्ञानिक, इञ्जिनियरलगायत दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालाई प्रधानमन्त्री ओलीले आग्रह गरे ।

‘आधुनिक प्रणाली र ठूलो मात्राको उत्पादनले बजार पाउँछ । हाम्रो उत्पादन नबढेसम्म व्यापार घाटा भइरहन्छ । व्यापार घाटा कम गर्न तथा निर्यात र विप्रेषणका भरमा अर्थतन्त्र चलाउन खोज्ने प्रवृत्तिलाई उल्ट्याउनुपर्छ,’ उनले भने,’वन क्षेत्र भनिएका तर वन नभएका खाली ठाउँमा कृषि र फलफूूल खेती गर्न मिल्ने हामी निर्णय गर्दैछौँ । यसरी जाँदा राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान बढेर जानेछ र आत्मर्भिरता बढ्नेछ ।’

उपसभामुखले लेखेको पत्रलाई अहिले राजनीतिक ‘बार्गेनिङ’को विषय बनाइएको सांसद झाको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानाले १९ महिना अघि लेखेको पत्रलाई अहिले आएर राजनीतिक बार्गेनिङको विषय बनाइएको आरोप लगाएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका मनिष झाले ज्ञान नभएर उपसभामुखले लेखेको पत्रको विषयलाई अहिले राजनीतिक बार्गेनिङको विषय बनाइएको आरोप लगाएका हुन् ।

कांग्रेसले उपसभामुखका कारण देशको शिर निहुरिएको भनेकोमा आपत्ति जनाउँदै उनले मान्छेलाई शरणार्थी बनाउँदा देशको शिर झुक्यो कि झुकने भन्दै प्रश्न गरे ।

उनले भने, ‘१९ महिना अघि उपसभामुखले एउटा पत्र लेख्नुभयो । थाहा नभएर हस्ताक्षर गर्नुभयो, गल्ती भयो भनेर विज्ञप्ति पनि प्रकाशित गर्नुभयो । त्यो राजनीतिक चर्चाको रूपमा हुँदैछ, बार्गेनिङ प्वाइन्टको रूपमा । आज कांग्रेसले उपसभामुखका कारण देशको शिर निहुरिएको भनेछ । मान्छेलाई शरणार्थी बनाउँदा देशको शिर किन झुकेन ? मन्त्रीले सरकारी जग्गा हडपेर पैसा नतिर्दा किन झुकेन ?’

ताप्लेजुङ गोल्ड कपबाट ५५ लाख आम्दानी

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ गोल्ड कप २०८१ को आज पत्रकार सम्मेलनमार्फत आयव्यय विवरण सार्वजनिक गरिएको छ । सहयोग तथा टिकट बिक्रीबाट ५५ लाख ६४ हजार एक सय २९ आम्दानी भएको हो । 

कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार कार्यक्रम सम्पन्न गर्न ७३ लाख २० हजार सात सय ४८ खर्च भएको छ । हाल समितिले १७ लाख ५६ हजार छ सय १९ तिर्न बाँकी रहेको छ । त्यो रकम स्थानीय तह, हाइड्रोपावर कम्पनी, सङ्घसंस्था तथा बास बिक्रीमार्फत सङ्कलित आम्दानीबाट तिर्ने योजना रहेको आयोजकले जनाएको छ ।

फुङलिङ नगरपालिकाले पाँच लाख सहयोग गरेको छ भने मेरिङदेन र मैवाखोला गाउँपालिकाले एक–एक लाखका दरले सहयोग गर्ने निर्णय गरेका छन् । अन्य पालिकाहरूले पनि सहयोगको प्रतिबद्धता जनाएका छन् ।

जिल्ला समन्वय समितिले ५० हजार सहयोग गर्ने निर्णय गरेको छभने स्पार्क हाइड्रोपावर, पाथीभरा केबलकार र सानिमा मध्यतमोर हाइड्रोपावर लगायतका संस्थाबाट रकम उठ्न बाँकी रहेको आयोजकले जनाएको छ ।

खेल अवधिभर टिकट बिक्रीबाट  २३ लाख ७६ हजार छ सय र विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट  ३१ लाख ८७ हजार पाँच सय २९ सङ्कलन गरिएको छ । यस रकमले प्रतियोगिताको पुरस्कार वितरण, खेलमैदान तयारी, स्टेज व्यवस्थापन, ट्रफी, मेडल, टिम व्यवस्थापनलगायत विभिन्न खर्च धानिएको छ ।

पूर्वखेलाडीहरूको सम्मान, रेफ्री र अफिसियल व्यवस्थापन, यातायात, मिडिया, मेडिकल, तथा खाजा खर्च लगायतका विभिन्न शीर्षकमा पनि उल्लेखनीय खर्च भएको छ ।

साथै लाखेजात्रा सञ्चालन समितिले पाँच लाख ८८ हजार आठ सय १० को अचल सम्पत्ति जोडेको छ र  १८ लाख ५० हजार बैङ्क खातामा राखेको छ । त्यसलाई आगामी योजनाका लागि सुरक्षित गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए । 

चीनलाई विद्युतीय सवारी शुल्क योजनामा पुनर्विचार गर्न स्पेनी प्रधानमन्त्रीको आग्रह

सांघाई । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार युरोपेली सङ्घ(ईयू) को चिनियाँ विद्युतीय सवारीमाथि ३६ प्रतिशतसम्म आयात शुल्क लगाउने योजनामा पुनर्विचार गर्न आवश्यक रहेको बताउँदै दुई आर्थिक शक्तिबीच सम्झौता गर्न आह्वान गरेका छन् ।

युरोपेली आयोगले गत महिना चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा पाँच वर्षका लागि ३६ प्रतिशतसम्म आयात शुल्क लगाउने घोषणा गरेको थियो । त्यसलगत्तै बेइजिङले चीनमा आयात गरिएका केही दुग्ध उत्पादनहरूमा ईयुको अनुदानबारे अनुसन्धान सुरु गर्ने बताएको थियो ।

सान्चेजले शुल्कको बारेमा सोधिएको प्रश्नमा सञ्चारकर्मीसँग भने, “आयात शुल्कसम्बन्धी विषयमा पक्ष राष्ट्र मात्र नभई हामी सबैलाई पुनर्विचार गर्न आवश्यक छ भन्ने मलाई लाग्छ।”

“हामीले युरोपेली सङ्घ र चीनबीच सम्झौताको माध्यम निर्माण गर्न आवश्यक छ। हामी रचनात्मक ढङ्गबाट चीन र युरोपेली आयोगबिच सम्झौता गरेर समाधान खोज्ने प्रयास गर्नेछौँ ।”

सान्चेजले चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ लगायत शीर्ष अधिकारीसँग भेट गर्नुभएको हो र विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग ‘संवाद र सहयोग’ को आह्वान गरेका छन् ।

युरोपेली सङ्घ र चीनबीच बढ्दो व्यापारीक तनावबीच सान्चेजले चीनको भ्रमण गरेका हुन् । सान्चेजले सोमबार म्याड्रिड र बेइजिङलाई ‘निष्पक्ष व्यापार व्यवस्था’ का लागि आह्वान गरेका छन् ।

“हामीले वार्ताको माध्यमबाट दुई पक्षाबीचको मतभेद समाधान गर्दै मिलेर अघि बढ्नुुपर्छ,” उनले सीसँगको भेटेपछि सामाजिक सञ्जालमा लेखेका छन् ।

चीन र युरोपेली सङ्घबीच हालैका वर्षहरूमा व्यापार, प्रविधि र राष्ट्रिय सुरक्षासम्बन्धी विभिन्न मुद्दाहरूमा मतभेद चलिरहेको छ ।

चिनियाँ विद्युतीय सवारी साधनमा अनुदान दिनु युरोपको विशाल सवारी साधन निर्माण उद्योगका लागि खतरा रहेको भन्दै ब्रसेल्सले सौर्य प्यानल, विन्ड टर्बाइन र रेलहरूका लागि चिनियाँ अनुदानबारे छानबिन सुरु गरेको थियो ।

युरोपेली आयोगका एक अधिकारीले ईयू चीनसँगको व्यापारीक विवाद समाधान गर्न तयार रहेको र वार्ताका लागि अन्य आवश्यक पहल चीनमा निर्भर गर्ने बताए ।

बेइजिङले ईयूको अतिरिक्त शुल्क योजनाविरूद्ध विश्व व्यापार सङ्गठनमा अपिल गरेको छ । त्यसैगरी ब्रसेल्सले शुल्कहरू विश्व व्यापार सङ्गठनको नियम अनुरूप छन् भन्ने विश्वास व्यक्त गरेको छ ।

भियतनाममा ‘यागी’ आँधीले १४० जनाको मृत्यु

हनोई । विनाशकारी चक्रवात ‘यागी’ पछिको बर्षाका कारण आएको पहिरोमा परी भियतनामको लाओ काई प्रान्तको दुर्गम पहाडी गाँउ लाङ नुमा ठूलो क्षति भएको भियतनामी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

पहिरोमा परी लाङ नु गाउँका कम्तिमा २२ जनाको मृत्यु हुनुका साथै अन्य ७३ जना अझै बेपत्ता रहेका सञ्चारमाध्यमले स्थानीय अधिकारीलाई उदृत गरी प्रशारित समाचारमा उल्लेख गरिएको छ ।

अधिकारीहरूले भियतनाममा मात्रै १४० भन्दा बढीको मृत्यु भएको जानकारी गराएका छन् । लाओस, थाइल्यान्ड र म्यान्मा पनि आँधीबेहरीपछि आएको बाढीबाट प्रभावित भएका छन् ।

भियतनामी राजधानी हनोईको ‘रेड रिभर’ नजिकै १५ वर्षदेखि बस्दै आएका ४१ वर्षीय गुयेन ट्रान भ्यानले भने, “यो मैले आजसम्म देखेको सबैभन्दा खतरनाक बाढी हो ।

पानीको स्तर यति छिटो बढ्छ भन्ने मैले सोचेको थिइनँ । हामीले भाग्न अलिकति मात्र ढिला गरेको भए आज स्थिति फरक हुन्थ्यो ।”

राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हनोईले सन् २००८ पछिको सबैभन्दा खतरनाक बाढीको सामना गरेको हो । नदीमा पानीको स्तर द्रूत गतिमा बढेपछि रेड नदीको किनारमा बसोबास गर्ने सयौँ बासिन्दाको उद्धारका लागि प्रहरी, सैनिक र स्वयंसेवकहरू तैनाथ गरिएको छ ।

हाल कुल १६ वटा प्रान्त र सहरमा आकस्मिक बाढी र पहिरोको जोखिममा रहेका छन् । भियतनामी सरकारले ३० वर्षमा उत्तरी भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधी यागीबाट ज्यान गुमाउनेको सङ्ख्या देशभरि १४३ पुगेको र ५८ जना अझै बेपत्ता रहेको बताएको छ । यो तथ्याङ्कमा मङ्गलबारको पहिरो पीडितको सङ्ख्या समावेश छन् वा छैनन् भन्ने स्पष्ट छैन ।

“बेपत्ताहरूको खोजीका लागि पहिरो गएको क्षेत्रमा सेना परिचालन गरिएको छ,” पार्टीका जिल्ला प्रमुख होआङ क्वोक बाओले भने ।

त्यसैगरी छिमेकी राष्ट्र लाओसको लुआङ प्रबाङ प्रान्तका केही नदीमा पानीको सतह चेतावनीको स्तरमा पुगेको छ ।

उत्तरी थाइल्यान्डको चियाङ माईमा पहिरोमा परी दुई र चियाङ राईमा अन्य दुई जनाको मृत्यु भएको छ ।

म्यान्माका बासिन्दा र स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार बाढीले पूर्वी शान राज्यको टाचिलिक सहरमा बिजुली र टेलिफोन लाइनहरू अवरुद्ध गरिएको र भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

दक्षिणपूर्वी एसियाले वार्षिक भारी मनसुनी वर्षा अनुभव गर्दछ तर प्रकृतिमा मानवीय हस्तक्षेपले निम्त्याएको जलवायु परिवर्तनले अधिक तीव्र मौसमी परिवर्तन निम्त्याएको छ जसले विनाशकारी बाढीको सम्भावना बढाउन सक्छ ।

पर्यटकीय याम सुरु हुँदै : पर्यटकीय राजधानीमा यस्तो छ तयारी

गण्डकी  । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ। पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ। नेपालमा असोज–मङ्सिर र चैत–जेठलाई मुख्य पर्यटकीय यामका रुपमा लिइन्छ। यी दुई याममा पोखरालगायत देशभरका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्छ।

नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधासहित लाखौँ आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आउँदो पर्यटकीय याममा थप पर्यटक भित्राउने योजना के छन् त ? पर्यटकीय राजधानी हुनुले पोखरामा हुने पर्यटकको आवागमनमा यसपालि वृद्धि होला त ? होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने, “प्रर्वद्धनात्मक कार्यक्रममा हामी बढी केन्द्रित छौँ, पर्यटकीय राजधानी घोषणा लगत्तै होटलमा छुट अफरसहित विभिन्न प्याकेजहरु सार्वजनिक गरेका थियौँ।”

उनले ‘अफ सिजन’मा होटलहरुले ५० प्रतिशतसम्म छुट दिने गरेको बताए। “अहिलेको वर्षायाममा पर्यटक आगमन ज्यादै न्यून रह्यो, आन्तरिक पर्यटक पनि पोखरा–मुग्निल राजमार्गको नाजुक अवस्थाका कारण पोखरा आउन चाहेनन्”, सङ्घका अध्यक्ष सुवेदीले भने, “अब असोज लागेपछि पर्यटक आवागमन बढ्छ, पदयात्राका लागि आउने विदेशी पर्यटक पनि यही याममा बढी आउँछन्।” उनले आन्तरिक पर्यटकलाई पोखरा भित्राउन देशका विभिन्न सहरमा ‘जाऔँ है पोखरा’ कार्यक्रम सञ्चालन गर्ने गरिएको बताए।

भारतीय बजारलाई लक्षित गरी ‘चलिए पोखरा’ र चीनमा पनि सोही प्रकृतिको प्रवद्र्धनात्मक कार्यक्रम बर्सेनि हुँदै आएको उनको भनाइ छ। “पोखरामा धेरैभन्दा धेरै पर्यटक कसरी भित्राउन सकिन्छ भनेर होटल सङ्घलगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाहरु लागिपरेका छन्”, सङ्घका अध्यक्ष सुवेदीले भने, “पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा पोखराको पर्यटन विकासमा राज्यका नियकाले पनि विशेष ध्यान दिनुपर्छ, पूर्वाधारमा लगानी बढाउनुपर्छ।”

लामो प्रयास र बहसपछि गत चैत ४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरेका थिए। घोषणाका क्रममा उनले पोखरा प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गमका रुपमा रहेको उल्लेख गरेका थिए। प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका पर्यटन शाखा प्रमुख डम्बर जिसीले पर्यटन पूर्वाधार र प्रवद्र्धनका कार्यक्रम भइरहेको बताए। पोखरालगायत यस क्षेत्रका गन्तव्यस्थलको वृत्तचित्र र प्रचार सामग्री तयार पारी प्रकाशन/प्रसारण गरिएको उनको भनाइ छ।

“आउँदो पर्यटकीय यामलाई लक्षित गरी पोखरामा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने सोच मन्त्रालयले बनाएको छ, अन्य प्रवद्र्धनात्मक कार्यक्रम पनि तय गरिएको छ”, उनले भने, “पोखराको नयाँ गन्तव्यका रुपमा विकास भइरहेको राउण्ड फेवा–भ्यू फेवा ट्रेकिङ ट्रेलको काम आधा सकिएको छ, यो वर्ष थप ५० लाख बजेट उक्त योजना छ।” प्रदेश सरकारले बेगनास तालमा क्रुज सिप सञ्चालनको योजना पनि अगाडि बढाएको उनले बताए। प्रदेश सरकारले आधुनिक बसपार्क निर्माण, विमानस्थलदेखि पृथ्वीचोकसम्म सटल बस सेवा, ध्यान केन्दल निर्माणलगायत पर्यटनलक्षित योजना घोषणा गरेको छ।

पर्यटन व्यवसायी एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकीय राजधानीका रुपमा विश्व पर्यटन बजारमा पोखराको थप ‘ब्राण्डिङ’ भइरहेको बताए। “पोखरा यसैपनि पूर्वाधारसम्पन्न पर्यटन गन्तव्य हो, पर्यटकीय राजधानी घोषणाले पोखराको समग्र विकासमा थप मद्दत पुग्छ, तीनै तहका सरकारको वार्षिक बजेट तथा कार्यक्रममा प्राथमिकता दिनुपर्छ”, उनले भने, “यो घोषणाले पोखरा मात्रै नभएर सिङ्गो देशकै आर्थिक समृद्धिमा दुरगामी महत्व राख्छ।”

पोखरामा उल्लेख्य संख्यामा विदेशी पर्यटक भित्राउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान र चीनसँगको कोरला नाका नियमित सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। पोखरा अन्र्तराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष बित्न लाग्दासमेत अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। पर्यटन व्यवसायी श्रेष्ठका अनुसार पोखराको पर्यटनमा झण्डै छ खर्बको लगानी छ। साधारणदेखि पाँच तारेसम्म गरी झण्डै १२ सय होटल पोखरामा सञ्चालित छन्।

बहुआयमिक विशेषता र सम्भावनाले भरिएको पर्यटकीय राजधानी पोखराको समग्र विकासमा सरकार र निजी क्षेत्रबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्ने उनको भनाइ छ।। पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास र विविधिकरण, मापदण्ड, सेवाको गुणस्तरलगायत २० सूचकमा टेकेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो। उक्र घोषणासँगै पोखराको पर्यटन विकासमा तीन वर्षे, पाँच वर्षे र दीर्घकालीन योजना तय गरिएको छ।

अल्पकालीन रणनीतिअन्तर्गत पूर्वाधार विकास तथा विस्तार, सांस्कृतिक सम्पदाको प्रवद्र्धन र ‘ब्राण्डिङ’ तथा बजारीकरणमा जोड दिइएको छ। मध्यमकालीन रणनीतिमा विशिष्कृत पर्यटन विकास, बसोबासका विकल्पको विविधिकरण र व्यवसायिक जनशक्तिको उपलब्धतालाई समेटिएको छ। दिगोपना, समावेशीता, विद्युतीय पर्यटनलगायत विषय दीर्घकालीन रणनीतिमा उल्लेख छन्।

पर्यटनको राजधानी घोषणा गरेर मात्र नहुने भन्दै पूर्वाधार, सेवाको गुणस्तर, दक्ष जनशक्ति र लगानी विस्तारमा सम्बद्ध पक्षको ध्यान जान जरुरी रहेको पर्यटन विज्ञहरुले बताउँदै आएका छन्।

के हुन् पोखराका आकर्षण ?

पोखरा हिमाल र तालतलैयाको सहरले चिनिन्छ। हिमशृङ्खलाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जी जम्प, केबुलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सलगायत पोखराका पर्यटकीय गतिविधिमा पर्छन्। फेवा, बेगनास, रुपालगायत मनमोहक ताल यहीँ पर्छन्।

प्राकृतिक, भौगोलिक र साँस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा सुसज्जित छ। प्राचिन कला, सभ्यता र साँस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ पोखरा। यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ। परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका साँस्कृतिक धरोहर हुन्। साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ।

पर्यटकस्तरका पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास (होमस्टे), सुविधायुक्त रेष्टराँ, कफी सप, बार, लाउन्ज बार, सभा–सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा छन्। हवाई र सडक दुर्व मार्गबाट सहज रुपमा पोखरा आउजाउ गर्न सकिने सुविधा छ।

पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतको यातायात सेवा पोखरामा उपलब्ध छ। पर्वतारोहण र पदयात्रामा निस्कने पर्यटकका लागि चाहिने उपकरण, पोशाक आदि किनमेलका लागि पसल र डिपार्टमेन्टल स्टोर पनि प्रयाप्त रहेका छन्। बैंक, एटीएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउण्टर उपलब्ध छन्। सङ्कटमा परेका पर्यटकको उद्धार र राहतका लागि हेलिकप्ट सेवासहित स्तरीय अस्पताल पोखरामै सञ्चालित छन्।

पर्यटकहरुको सेवाका लागि सञ्चालित ट्राभल्स एजेन्सी, ट्रेकिङ एजेन्सीलगायत व्यावसायिक सङ्गठनहरु क्रियाशील छन्। पर्यटन क्षेत्र हेर्ने राज्यका निकाय पनि पोखरामै केन्द्रित छन्। प्रदेश सरकारमा छुट्टै विभागीय मन्त्रालय छ। नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधा पर्यटकले पोखरा घुम्ने गरेको सरकारी तथ्याङ्कले देखाउँछ।

आन्तरिक पर्यटनको पनि ठूलो हिस्सा पोखराले ओगट्छ। बर्सेनि करिब दस लाख आन्तरिक पर्यटकले पोखरा घुम्ने गरेको अनुमान गरिन्छ। फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा बामे सरेको पोखरा ७५ वर्षको दौरानमा पर्यटकीय राजधानी बन्न सफल भएको छ।

प्रदेश राजधानीसमेत रहेको पोखरा आउँदा आसपासका जिल्लामा रहेका गन्तव्यमासमेत पुग्न सकिन्छ। पोखरामा फेवाताल, बेगनासताल, रुपाताललगायत गरी विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन्। पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन्। हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्व शान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन्।

पोखरादेखि दुई घण्टाको दुरीमा पर्ने बागलुङका गन्तव्यस्थल पनि पर्यटकको रोजाइमा पर्ने गरेका छन्। त्यहाँ कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष, विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुण्डे, गाजाको दहलगायत छन्।

तिलिचो ताल, अन्नपूर्ण पदमार्ग जस्ता प्राकृतिक सम्पदा, हिमाली जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकको रोजाइमा पर्छ। हिमालपारिको जिल्ला मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, प्राचिन गुफा, कलाकृति, ढुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्यस्थल छन्। म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ। धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्ध गल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन्।

पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन्। अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ। निजी क्षेत्रको लगानीमा सञ्चालित बञ्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ। पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छायाँ क्षेत्र, शाल्मे–डाँडा जस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन्। राम्दीघाट, मिर्मी जस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन्।

व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीयस्थल तनहुँमा छन्। मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुली जस्ता ठाउँ नवलपुरका आकर्षण हुन्। लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन्। ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनाश्लु हिमाल, मनाश्लु संरक्षण क्षेत्र जस्ता गन्तव्यले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन्।

पूर्वाधारको अभावमा मुस्ताङको चितुवा गुफा ओझेलमा

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको हिउँ चितुवा गुफामा पुग्ने पदमार्ग नुहँदा पर्यटकलाई समस्या भएको छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाई लम्बाउनका लागि उपयुक्त सम्भावना बोकेको हिउँ चितुवा गुफा पूर्वाधारको अभावमा ओझेलमा परेको हो ।

जोमसोम–ठिनी–ढुम्बाताल सडकदेखि गुफासम्म पुग्ने उकालोमा निर्माण गरिएको पदमार्ग भत्किएपछि पर्यटकलाई त्यहाँ पुग्न समस्या भएको छ । करिब तीन सय मिटर पदमार्ग निर्माण गर्न सकेमा पर्यटकलाई आवत जावत गर्न सहज हुने बताइएको छ ।

कालोपत्रको तयारीमा रहेको जोमसोम–ठिनी–ढुम्बाताल सडकको ठिनीदेखि गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग भएमा पर्यटकलाई सहज हुने ठिनीवासी निरज थकालीले बताए ।

“गुफाको नाम हिउँ चितुवा राखिएका कारण नै हिउँ चितुवा र गुफाबीचको सम्बन्धका बारेमा धेरैलाई चासो छ,” उनले भने, “गुफा भएकै ठाउँमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले क्यामेराहरु राखेर हिउँ चितुवाको भिडियो र फोटोहरू खिचेको थियो । त्यो बेलामा चार वटा हिउँ चितुवा क्यामेरामा कैद भएकाले गुफा र हिउँ चितुवाको सम्बन्ध पुष्टि भएको हो ।”

गुफा रहेको क्षेत्रमा दुर्लभ वन्यजन्तु हिउँचितुवा आउने तथा गुफा र हिउँ चितुवा दुवैको प्रचारप्रसार हुने भएकाले ‘हिउँ चितुवा गुफा’ भनी नामकरण गरिएको थकालीले बताए । लोपोन्मुख अवस्थामा रहेको हिउँचितुवा नेपालको हिमाली भेग सहित विश्वका १२ देशमा मात्र पाइन्छ ।

जोमसोम बजारबाट ठिनी हुँदै गाडीमा १० मिनेटको यात्रा गरी पाँच मिनेटको पैदल यात्रा गरेपछि गुफामा पुगिन्छ । वि.स। २०७१ मा उद्यान बनाउने क्रममा निस्कीएको माटो पन्छाउने क्रममा तीन वटा गुफाहरु भेटिएका थिए । १० मिटर भन्दा बढी लामो गुफाभित्र विभिन्न प्राकृतिक आकृतिहरु देख्न सकिन्छ । गुफाभित्रैबाट ठिनी गाउँ र जोमसोम बजार अवलोकन गर्न पाउनु यहाँको थप आकर्षण हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), नेपाल पर्यटन बोर्ड र घरपझोङ गाउँपालिकाले प्रवेशद्धार, पदमार्ग र गुफा परिसरमा पर्यटक बस्ने बेञ्च बनाएका थिए । धेरै बर्षात भएर प्रवेशद्धार देखि गुफा सम्म पुग्ने पदमार्ग भत्किएपछि समस्या भएको छ ।

पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले हिउँ चितुवा गुफा जोड्ने पदमार्ग लगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा २० लाख बजेट बिनियोजन भएको जानकारी दिए । प्रदेश सरकारले विनियोजन गरेको उक्त बजेटबाट पदमार्ग निर्माण भएपछि पर्यटकहरुलाई सहज हुने र आगमन बढ्ने उनले बताए । 

उपसभामुख आफैँले बहिर्गमनको बाटो रोज्दा उपयुक्त हुने कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले आफैँ बहिर्गमनको बाटो रोज्दा उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

उपसभामुखले अमेरिकी दूतावासलाई अन्तर्वार्ताको मिति अघि सार्न भन्दै लेखेको पत्रले संसद्को शिर झुकाएको निष्कर्ष कांग्रेसको छ । बैठकपछि प्रमुख सचेतक श्याम घिमिरले भने,‘उपसभामुखको कदमले संसदलाई नै अपामानित गरेको छ । शिर झुकाएको छ ।’

उनले उपसभामुखलाई हटाउने विषयमा साझा धारणा बनाएर अघि बढ्ने बताए । उनले सत्तारूढ दलको साझा धारणा बनेपछि संसदीय दलको बैठक बस्ने जानकारी दिए । बैठकमा कांग्रेसका केही नेताले भने उपसभामुखलाई दुई तिहाइले हटाउने प्रक्रिया अघि गम्भीर भएर सोच्नुपर्ने बताएका थिए ।

बैठकमा नेता अर्जुननरसिंह केसीले पदीय आचरणको कुरा गरेर दुई तिहाइले हटाउन सक्ने भए पनि त्यसअघि पार्टीले गम्भीर भएर सोच्नुपर्ने बताएका हुन् । पदीय आचरणविपरीत काम गरेको भन्दै उपसभामुख रानालाई राजीनामा दिन एमालेका सांसदले मंगलबारको संसद बैठकमा दबाब बढाएका थिए ।

पाँच युवालाई अमेरिका जान भिसा अन्तर्वार्ताका लागि समय अगाडि सारिदिन माग गर्दै रानाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् । उपसभामुखलाई हटाउन सत्तापक्षका सांसदको हस्ताक्षर संकलन सुरु भएको बताइएको छ ।

बिक्रीका लागि किसानले ल्याएको काँचो केरा उपभोग अयोग्य पुष्टि, विषादी धेरै

झापा । विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा आज बिहान इलामको दानाबारीका किसान कमल मगरले ल्याएको ७० घरी काँचो केराको तीन नमुना परीक्षण गरिएको थियो ।

ती नमुनामध्ये दुई नमुनामा कार्बामेट कीटनाशक विषादीको उच्च मात्रा फेला परेको प्रयोगशालाका प्राविधिक अम्बिका बोहोराले बताए । उनका अनुसार काँचो केराको दुई नमुनामा कार्बामेटको रोकावट प्रतिशत ५२.८५ र ५३.११ पुष्टि भएको छ । अर्को एक नमुनामा भने ४४.७६ प्रतिशत कार्बामेट भेटिएको छ ।

तरकारी तथा फलफूलमा कार्बामेटको रोकावट प्रतिशत ४५ भन्दा उच्च फेला परेमा उपभोग अयोग्य ठहरिने हुँदा त्यसलाई विसर्जन गरिनुपर्ने प्राविधिक बोहोराले बताए ।

विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भेटिएको तरकारी तथा फलफूललाई केही दिन क्वारेन्टाइनमा राखेर पर्खेर हेर्नुपर्ने उनले जानकारी दिए। काँचो केराको विषादी अवशेष जाँच गर्दा अर्गानो फस्फेट कीटनाशक विषादीको मात्रासमेत उच्च पाइएको छ । अर्गानो फस्फेटको मात्रा २७ देखि ३५ प्रतिशतसम्म फेला परेको छ ।

विर्तामोड नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक नगेन्द्र सङ्ग्रौलाले उपभोग अयोग्य पुष्टि भएका तरकारी तथा फलफूललाई नष्ट गरिने र पर्खेर हेर्नुपर्ने भएमा कृषि थोक बजारकै क्वारेन्टाइनमा केही दिन राखेर पुनः विषादी अवशेष परीक्षण गरिने बताए ।

केहीदिन अघि कृषि थोक बजारमा बेच्न ल्याइएको लट्टे सागमा पनि खान अयोग्य हुनेगरी विषादीको अवशेष पुष्टि भएको उनले जानकारी दिए ।

सरकारद्वारा कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी

काठमाडौँ । सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो ।

राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि १६औँ आवधिक योजनासँग समन्वय हुनेगरी तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ । यो रणनीतिले अर्थ–सामाजिक विकासका लागि आवश्यक राजस्व परिचालन र निजी क्षेत्र तथा करदाताको आकाङ्क्षाबीच सन्तुलन कायम गर्ने विश्वास सरकारको छ ।

आन्तरिक राजस्व परिचालन रणनीतिले देशको कर नीति र प्रशासनमा सुधारका लागि स्पष्ट संरचनागत रूपरेखा प्रस्तुत गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

यो रणनीतिको मुख्य उद्देश्य आर्थिक दक्षता र समानतालाई प्रवर्द्धन गर्दै निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुका साथै कर र गैरकर राजस्वको स्थिर प्रवाह सुनिश्चित रहेको रणनीतिमा उल्लेख छ । सरकारको कोषमा स्थायित्व कायम राख्दै बजेट घाटालाई व्यवस्थापन गर्न पनि योगदान पुर्याउने अपेक्षा रणनीतिमार्फत गरिएको छ ।

सरकारी कोषलाई सुदृढ बनाउन आन्तरिक स्रोतबाट राजस्व परिचालन वृद्धि गर्नु, कर कानुन र सञ्चालन प्रणालीहरूसँग करदाताहरूको स्वेच्छिक परिपालना, कर र भन्सार प्रशासनको जोखिम व्यवस्थापन क्षमता सुदृढ गर्ने, कर र भन्सार प्रशासनमा स्वचालित बनाउनुलगायत रणनीतिका उद्देश्य छन् ।

कर नीति निर्माण र कार्यान्वयनका लागि अन्तर–सरकारी र अन्तर–सङ्गठनात्मक समन्वय तथा सहकार्य बढाउनका रणनीति जारी भएको हो । सरकारले सबै आम्दानीका स्रोतलाई समावेश गर्दै प्रगतिशील करका दरसहितको कर प्रणालीलाई सुरु गर्ने उद्देश्य रणनीतिमा छ ।

कर राजस्व र कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातलाई सोह्रौँ पञ्चवर्षीय योजनाले निर्धारण गरेका राजस्व लक्ष्यसँग समन्वय गर्दै लगिने रणनीतिमा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० (२०२२/२३) मा १८ दशमलव नौ प्रतिशत रहेको राजस्व–जिडीपी अनुपातलाई आव २०८५/८६ (२०२८/२९)को अन्त्यसम्म २३ दशमलव पाँच प्रतिशत पुर्याउने महत्वाकाङ्क्षी लक्ष्य रणनीतिमा समावेश छ ।

यो अवधिमा कर राजस्व र जिडीपी अनुपात १६ दशमलव दुई प्रतिशतबाट बढेर २० दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । रणनीतिमा समाविष्ट कार्ययोजना तथा राजस्व सुधारका उपायको कार्यान्वयनबाट कर राजस्व–जिडिपी अनुपातमा थप दुई दशमलव चार प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ ।

यसैगरी, कर र भन्सार प्रशासनमा सुधारबाट थप शून्य दशमलव एक प्रतिशत कर राजस्व सङ्कलन हुने अपेक्षा गरिएको छ । आव २०७९/८० (२०२२/२३) मा सात दशमलव दुई प्रतिशत रहेको बजेट घाटा–जिडिपी अनुपातलाई घटाएर रणनीति कार्यान्वयनको अन्तिम वर्ष छ दशमलव पाँच प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ ।

मुलुकको समग्र कर नीति, प्रशासन, शासन संरचना, संस्थागत संरचना, नीति कार्यान्वयन संयन्त्र, अनुगमन तथा मूल्याङ्कन प्रणालीको सुधार र पुनःसंरचनाका लागि व्यवस्थित खाकाका रुपमा रणनीति जारी भएको हो ।

वडाध्यक्ष यादवको मृत्युबारे अनुसन्धान गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् ।

दिवङ्गत यादवको स्मृतिमा बुधबार महोत्तरीमा भएको श्रद्धाञ्जलीसभामा उनले यस्तो आग्रह गरेका हुन् । वडाध्यक्ष यादवको शव यही भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा फेलापरेको थियो । घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरुले उनको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् ।

वडाध्यक्ष यादवको हत्याको अनुसन्धानको माग गर्दै जिल्लास्थित राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरु केही दिनअघि राजधानीसम्म आएका थिए ।

अध्यक्ष दाहालले यादवको निधन दुर्घटनाबाट भयो वा हत्या हो, यसको उच्चस्तरीय छानबिनका लागि सरकारलाई भनिएको र फेरि पनि त्यसका लागि आग्रह गरिने जानकारी दिँदै त्यसमा लापर्वाही नगर्न अनुरोध गरे ।

माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडाध्यक्ष यादव राजनीतिक कार्यकर्ता मात्र नभई मधेसको सामाजिक अभियन्ता पनि भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यादवको स्मृतिमा प्रतिष्ठान गठन गर्न र उनका छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टी नेतृत्वलाई निर्देशन दिए । उनले यसमा पार्टी केन्द्रको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा दुर्घटनाभन्दा पनि हत्या गरेर दुर्घटना देखाउन खोजेको जस्तो देखिने बताइन् । उनले श्रीमानको निधनको सत्यतथ्य पत्ता लागे आफूहरुलाई न्याय हुने उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अध्यक्ष दाहालसँग अनुरोध गरिन् ।

स्वर्गीय यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभामा माओवादी केन्द्रका अन्य पदाधिकारी, प्रदेशमा कार्यरत केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र स्थानीयको उपस्थिति थियो ।

ह्यारिसको डेमोक्र्याटिक पार्टीले अमेरिकालाई भेनेजुएला बनाउन खोजेको ट्रम्पको आरोप

बीबीसी । आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवारहरू वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पहिलो बहस गर्दै मुख्य मुद्दामा चर्को रूपमा भिडेका छन् ।

संयमितरूपमा सुरु भएर नीतिगत विषयमा बहस अगाडि बढे पनि तत्कालै उनीहरू राजनीतिक विगतमा पुग्दै व्यक्तिगत आरोप प्रत्यारोपमा मोडिएका थिए। त्यस क्रममा ट्रम्प बढ्ता आक्रोशित देखिएका थिए ।

अमेरिकी टेलिभिजन च्यानल एबीसी न्यूजमा प्रत्यक्ष प्रसारण गरिएको उक्त बहसको पहिलो आधा घण्टामा दुवै उम्मेदवारले बारम्बार एक अर्कालाई झुटो बोल्ने व्यक्ति भनेका थिए ।

प्रस्तोताहरूले ट्रम्पका अभिव्यक्तिको तथ्य जाँच गरिरहँदा उनले आफ्नो बचाउमा निकै समय खर्चिएका थिए । ह्यारिसले ट्रम्पलाई उक्साउने गरी उनका र्यालीहरूमा भिडको प्रकृति अर्थात् कार्यक्रम नसकिँदै भिड बाहिरिने गरेको कुरा उठाइन् भने ट्रम्पले ह्यारिसको डेमोक्र्याटिक पार्टीले अमेरिकालाई भेनेजुएला बनाउन खोजेको आरोप लगाए ।

ट्रम्पका र्यालीबाट मानिसहरू निराश भएर छिट्टै बाहिरिने गरेको भन्दै ह्यारिसले आलोचना गरेकी थिइन् भने बाइडन प्रशासनको अफगानिस्तानबाट बाहिरिने निर्णयलाई लिएर ट्रम्पले उनीमाथि हमला गरेका थिए ।

राष्ट्रपतीय उम्मेदवारहरूले अमेरिकी अर्थतन्त्रबाट बहस सुरु गरेका थिए त्यसक्रममा पूर्वराष्ट्रपति ट्रम्पले अन्य देशहरूमाथि कर लगाउने कुरामा जोड दिए भने उपराष्ट्रपति ह्यारिसले लघु उद्यमहरूबारे कुरा गरिन् ।

गर्भपतन अधिकारका विषयमा ट्रम्पले यस मुद्दालाई पुनः राज्यहरूसम्म ल्याउन सहयोग गरेको बताए भने ह्यारिसले गर्भपतनसम्बन्धी प्रतिबन्धहरूले महिलाको महत्त्वपूर्ण स्याहारको विषयलाई नकार्ने बताइन् ।

ट्रम्पले बारम्बार आप्रवासन सङ्कटको कुरा उठाइरहँदा ह्यारिसले दर्शकहरूलाई पूर्वराष्ट्रपतिमाथि अदालतमा चलिरहेका कैयौँ मुद्दाबारे स्मरण गराइरहिन् । ट्रम्पले ह्यारिसलाई ‘इतिहासकै सबैभन्दा खराब उपराष्ट्रपति’ भन्दै युक्रेनमा रुसी अतिक्रमण हुनुअघि वार्ता गर्न गएको तर युद्ध रोक्न असफल भएको आरोप लगाए।

युक्रेनले रुसमाथि जित हासिल गरेको हेर्न चाहनुहुन्छ भनेर ट्रम्पलाई सोधिएको प्रश्नमा उनले आफूले “युद्धको अन्त्य चाहेको“ जवाफ दिए । इजरायलका विषयमा ट्रम्पले यदि आफू राष्ट्रपति भएका भए र ह्यारिसले ‘दुई राज्यको समाधान’ र युद्ध अन्त्य गर्न आह्वान गरेको भए युद्ध नै हुँदैनथ्यो भने ।

अमेरिकी संसद् भवनमा भएको ६ जनवरीको दङ्गाका बारेमा सोधिँदा ट्रम्पले त्यसबारे आत्मालोचना गर्न अस्वीकार गरे भने ह्यारिसले उक्त दिनको अव्यवस्थालाई सम्झँदै अमेरिकालाई ‘पाना पल्टाउन’ आह्वान गरिन् । ह्यारिसले टेलिभिजन हेरिरहेका करोडौँ मानिसहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै अमेरिकीहरूबारे आफूले विशेष ध्यान दिने तर्क बारम्बार प्रस्तुत गरिन् ।

त्यसक्रममा उनले ट्रम्पले धनीहरूलाई मात्र हेरिरहेको आरोप लगाइन् । ट्रम्पले बारम्बार नीतिगत प्रश्नलाई आप्रवासनसँग जोड्दै अमेरिका ओइरिने आप्रवासीहरूले अमेरिकाका कुकुरको मासु खाने गरेका कथा जोडेका थिए ।

विदेश नीतिका विषयमा ह्यारिसले विश्व नेताहरूले ट्रम्पलाई हास्य पात्र बनाएको र ट्रम्पले तानाशाहीहरूलाई मात्र प्रभावित पार्न खोजेको आरोप लगाइन् ।

ट्रम्पले भने पछिल्ला केही वर्षका भूराजनीतिक सङ्कट आफू नेतृत्वमा भएको भए नहुने थियो भने । ह्यारिसले इजरायलको प्रतिरक्षाको अधिकारलाई आफूले जहिल्यै समर्थन गर्ने तर प्यालेस्टिनीहरूसँग सुरक्षित भएर आत्मसम्मानसाथ बाँच्ने हक रहेको बताइन् ।

ट्रम्पले भने ह्यारिसलाई इजरायललाई घृणा गर्ने गरेको आरोप लगाए । ९० मिनेट चलेको बहस अन्त्य गर्ने बेला ह्यारिसले आफू भविष्यप्रति केन्द्रित रहेको बताइन् । त्यसको जवाफ दिने क्रममा ट्रम्पले यदि उनीसँग योजना भएको भए उनले उपराष्ट्रपतिकै रूपमा फत्ते गर्नुपर्ने बताए ।

‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ किसिमको अवसरवादी चरित्रकाबारेमा प्रश्न गर्नैपर्छः मेयर साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि फेरि प्रश्न उठाएका छन् । बुधबार सामाजिक संजालमार्फत मेयर साहले तीन वर्ष अगाडि नै सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर अहिले तातेको भन्दै प्रधानमन्त्री ओलीमाथि प्रश्न गरेका हुन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्री खड्गप्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन । हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ । उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नैपर्छ ।’

यस्तो छ बालेनको भनाई
उहिलै मरिन् सासू, अहिले आए आँसु । यो चरित्रले कसरी देश बिगार्दै छ भन्ने उदाहरण । म काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईंले थाहा पाउनु भन्दा पनि ३ बर्ष अगाडि न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे आदेश जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो । त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले नियुक्त गर्नु भएको महान्यायधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाण्डौको मेयर विद्यासुन्दर शाक्य ।

यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरे पछि, नदीतट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । अदालतको प्रक्रिया नै यहि हो । पक्ष विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ । यदि फैसला मन नपरेमा पुनरावेदन गर्ने अधिकार रहन्छ ।

प्रधानमन्त्री खड्ग प्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाण्डौ महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन ।

हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ । उहिलै मरिन् सासू, अहिले आए आँसु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ ।

हाम्रो सँधै त्यही कुरा छ, नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनु होला । अन्यथा, पछि धोका पाउनु हुनेछ सरकार बाट अर्को मापदण्ड ल्याएर ।

जीर्ण बन्दै नारायणी रङ्गशाला

मधेश प्रदेशकै ठूलो रङ्गशालाको रुपमा चिनिने वीरगञ्ज महानगरपलिका–१५ स्थित १८ बिघा क्षेत्रफलमा फैलिएको नारायणी रङ्शाला जीर्ण अवस्थामा पुगेको छ । रङ्गशालाको तीनैतर्फ ‘प्याराफिट’ भत्किएर धराप अवस्थामा रहेको छ भने खेल मैदानमा पानी जमेको छ । ।

तस्बिर : हिमाल लम्साल / रासस

सुवास नेम्वाङलाई एक वर्षमा सम्झने कयौं क्षण आएः प्रधानमन्त्री ओली

काठमाडौँ । पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको आज पहिलो स्मृति दिवस, विभिन्न कार्यक्रम गरी उनको सम्झना गरिँदैछ ।

नेम्वाङको पहिलो स्मृति दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनको सम्झनाका कयौं क्षण आएको बताएका छन् सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले नेम्वाङ बिनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौं क्षण आएको बताएका हुन् ।

उनले भनेका छन्, ‘आज एकवर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो। सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौं क्षणहरु आए। आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी।’

विश्व च्याम्पियन अर्जेन्टिना कोलम्बियासँग पराजित

काठमाडौँ । विश्व च्याम्पियन अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा दोस्रो हार बेहोरेको छ । कोलम्बियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको हो । यसँगै कोलम्बियाले कोपा अमेरिका फाइनलमा सामना गरेको हारको बदला पनि लिएको छ । अर्जेन्टिनी टिममा लियोनल मेसी भने थिएनन् ।

कोलम्बियाले येरसन मोस्क्वेराको गोलले अग्रता लिएपछि निकालेस गोन्जालजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । खेलले एक घण्टा छुँदा कोलम्बियाले पेनाल्टीको अवसर पायो र त्यसमा जेम्स रोड्रिग्वेजले विजयी गोल गरे । निकोलस ओटमन्डले ड्यानिएल मुनोजलाई लडाएपछि ‘भार’ ले कोलम्बियाको पक्षमा पेनाल्टीको निर्णय गरेको थियो ।

हारका बाबजुद अर्जेन्टिना १८ अंकमा लिग तालिकाको शीर्ष स्थानमा छ । उसको पछाडि कोलम्बियाको १६ अंक भएको छ । मंगलबारका अन्य खेलमा इक्वेडरले पेरुलाई १–० र बोलिभियाले चिलीलाई २–१ ले हराए । भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेले ।

एआइजी ज्ञवालीकोे बिदाइ

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) श्यामलाल ज्ञवालीलाई मंगलबार बिदाइ गरेका छन् ।

मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक कुँवरले ज्ञवालीले सङ्गठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, सङ्गठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका काम गरेको बताए ।

अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्तिसुरक्षा व्यवस्थापन, नीतिनिर्माण, सङ्गठनिक सुदृढीकरणका साथै सङ्गठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा ज्ञवालीले पुर्याएको अतुलनीय योगदानको उनले चर्चा गरे । महानिरीक्षक वसन्तबहादुर कुँवरले ज्ञवालीलाई मायाको चिनो पनि प्रदान गरेका थिए ।

प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले आगामी दिनमा पनि सङ्गठनलाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए । ज्ञवाली विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी दर्जागत उमेरहदका कारण भदौ २६ गते सेवानिवृत्त हुन लागेका हुन् ।

७० हजार उडान भरेर बुद्ध एयरको एटीआर जहाजको बिदाइ

काठमाडौं । बुद्ध एयरले एउटा जहाजलाई व्यवसायिक उडानबाट बिदाइ गरेको छ । एटीआर–४२ जहाजलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवसायिक उडानबाट बिदाइ गरिएको हो ।

नेपाली आकाशमा १६ वर्षदेखि उडान भर्दै आएको बुद्ध एयरको एटीआर–४२ विमानले सोमबार ७० हजार उडान भरेर बिदा भएको हो । जहाजको उमेर उसको उडान अवतरण संख्याले निर्धारण गर्छ ।

तसर्थ जहाजको उमेर अवधि साता, दिन, वर्षको आधारमा हुँदैन । हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मत सम्भार तथा पार्टपूर्जा फेर्नै पर्ने हुन्छ । विमान निर्माता कम्पनीले तोकेको साइकलभन्दा १ अतिरिक्त उडान पनि भर्न नपाइने बुद्ध एयरका टेक्निकल निर्देशक मङेस थापाले बताए ।

बुद्ध एयरले सन् २००८ मा आईएफसीको ऋण सहयोगमा दुई एटीआर–४२–३२० ल्याएको थियो । १६ वर्षयता बुद्ध एयरले १९ वटा एटीआर जहाज भित्राइसकेको छ । मंगलबार नेपाली रजिष्ट्रेशन नाइन एन एआईएन तथा जहाज म्यानुफ्याक्चरिङ सिरियल नम्बर एमएसएन–४०३ ले व्यवसायिक उडानमार्फत ७० हजार उडान पूरा गरेको थियो ।

१६ वर्ष ३ दिन लामो उडानका क्रममा यो एटीआरले १८ लाखभन्दा बढी यात्रु ओसारेको थियो । बिदाइ कार्यक्रममा ‘एटीआर विमानको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टीम विकसित राष्ट्रको जस्तै अब्बल रहेको’ बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए ।

बुद्ध एयरले दैनिक १५० भन्दाबढी उडानमार्फत दसौं हजार यात्रुलाई सेवा प्रदान गरिरहेको छ । बुद्धले पोखराबाट नेपालगञ्ज, भैरहवा तथा चितवनको पनि सिधा उडान भरिरहेको छ । बुद्ध एयरले धनगढी तथा सुर्खेतमा पनि उडान संख्या वृद्धि गरेको छ । अन्तर्राष्ट्रियतर्फ बुद्ध एयरले साताको ३ दिन भारतको वाराणसी उडान भरिरहेको छ ।

लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीले दिए पदबाट राजीनामा

लुम्बिनी । बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता पारेको आरोप लागेका लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार उनले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा दिएका हुन् । मन्त्री भएपछि उनको बारेमा चौतर्फी विरोध भएको थियो । उनी बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका थिए । शाहलाई साउन ९ गते कांग्रेसबाट बिनाविभागीय मन्त्री बनाइएको थियो ।

मुख्यमन्त्री आचार्यले साउन १८ गते कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए । कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । उनलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । मन्त्री कुर्मीलाई बर्खास्त गर्न विभिन्न संघ–संस्थाले माग गर्दै आएका थिए ।

कांग्रेस लुम्बिनी प्रदेश समितिलेसमेत पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएर कुर्मीलाई मन्त्री बनाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो ।

२०७५ सालमा एकाएक हराएकी निर्मलाको जग्गा हत्याउन कुटपिट गर्ने र अपहरण गरी बेपत्ता पार्ने काममा मन्त्री कुर्मीको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो । तर राजनीतिक पहुँचका भरमा कुर्मी कारबाही भएको छैन ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय

काठमाडौं । सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका मंगलबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

उनले भने, ‘अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएको छ ।’

बैठकले असोज २१ गते थाइल्याण्डमा आयोजना हुने बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

त्यस्तै बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १५/१५ हजार मेट्रिक टन गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुट दिई आयात गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

१.२०६१ असोज २१ गते थाइल्याण्डमा आयोजना हुन बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

२.अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने ।

३.साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.लाई १५÷१५ हजार मेट्रिक टन गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुट दिई आयात गर्न स्वीकृति दिने।

४.नेपाल विद्युत प्राधिकरण र एस.जे.भि.एन. लिमिटेडविच संयुक्त उपक्रममार्फत अरुण–४ जलविद्युत आयोजनाको विकासको लागि हस्ताक्षर भएको समझदारीपत्रको म्याद एक वर्ष थप गर्ने।

५.सिराहा निवासी श्री चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत पदमा र गणतन्त्र फिजी, न्युजिल्याण्ड, पपुआ न्यु गिनी, भानुआटु, टुभालु, सोलोमन आइल्याण्ड्स, सामोआ, गणतन्त्र पलाउ गणतन्त्र नाउरु, गणतन्त्र मार्शल आइल्याण्ड्स र टोङ्गा अधिराज्यको लागि गैरआवासीय राजदूतको पदमा एक अवधि (चार वर्ष) का लागि नेपालको संविधानको धारा २८२ बमोजिमको नियुक्तिका लागि सिफारिस गर्ने

६.भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

७.मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा १५ र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिमा ४ राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने।

पोखरामा सहकारी पीडितले रवि लामिछानेलाई देखाए कालो झण्डा

पोखरा । पोखरामा सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कालोझण्डा देखाएका छन् ।

रास्वपाको गण्डकी प्रदेश स्तरीय विस्तारित बैठकमा सहभागी हुन पोखरा आएका बेला सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।

लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारी पीडितहरू बैठक स्थल पोखरा–१७ बिरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि भेला भएका थिए ।

कालो झण्डा र प्ले कार्ड बोकेर सूर्य दर्शन सहकारीका बचतकर्ताहरू भेला भएपछि ठूलो मात्रामा प्रहरी खटाइएको थियो । लामिछाने पुग्नुअघि नै नाराबाजी सुरु गरेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरेको थियो ।

पीडितहरूले लामिछानेकै अगाडि कालोझण्डा देखाउनुका साथै नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । सहकारी पीडितहरूले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो बचतको संरक्षण ?’ सहकारी ठग मुर्दावाद भन्दै प्रदर्शन गरेका थिए ।

यसअघि गत पुसमा लामिछानेलाई लक्षित गर्दै पोखरामा मकैको खोया प्रहार भएको थियो । लमजुङको राइनास गाउँपालिकाका सन्तोष रानाभाटले रविलाई लक्षित गर्दै मकैको खोया प्रहार गरेका थिए ।

बिपीकाबारेमा खोज अनुसन्धान गरी त्यसलाई विश्वसामु पुर्याउनुपर्छः सभापति देउवा

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामानव बिपी कोइरालाको सन्दर्भमा अहिले पनि व्यापक अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा पेसागत तथा बुद्धिजीवी विभाग, नेपाली कांगे्रसले मंगलबार आयोजना गरेको ‘बिपीको समाजवादः आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा देउवाले बिपी कोइरालाले कुनै समयमा बोलेको विषय समयानुकूल परिवर्तन हुँदै जाने भन्दै बिपीका बारेमा समयअनुसार खोज÷अनुसन्धान गरी त्यसलाई विश्वसामु पुर्याउनुपर्ने बताए । 

बिपी कोइरालाले छोडेको प्रजातान्त्रिक पद्धति र प्रजातान्त्रिक समाजवादलगायत विषयलाई आत्मसात् गर्दै अबका युवा पुस्ताहरु अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । सभापति देउवाले भने,“समाजवाद मात्र होइन, प्रजातन्त्रसहितको समाजवाद हो, जसमा मानवीय मूल्य, मान्यता, मानवअधिकार सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।” प्रजातन्त्रविहीन समाजवाद हुन नसक्ने उनको भनाइ थियो । 

“कतिपय कुराहरु समयअनुसार परिवर्तन पनि हुन्छ, उतिबेला बिपी कोइरालाले गाई पाल्ने कुरा गर्नुभएको थियो, उतिबेला बाटो थिएन, तर अहिले गाउँका घरघरमा बाटो पुगेको छ, बिजुली पुगेको छ, बत्ती पुगेको छ, त्यसैले आजको दिनमा गाई पाल्नेभन्दा पनि डेरीबाट दूध वितरण गर्न सकिन्छ, डेरीबाटै घीउ उपलब्ध गराउन सकिन्छ”, उनले भने । 

बिपी कोइराला हरेक विषयको ज्ञाता भएको बताउँदै उनले राजनीतिसँगै बिपीले नेपाली साहित्यको क्षेत्रमा समेत अतुलनीय योगदान पुर्याएको टिप्पणी गरे । “बिपी कोइराला साहित्यमा पनि उत्तिकै दक्खल भएको व्यक्ति हो, नेपालमा उहाँ जत्तिको साहित्यकार विरलै पाइन्छ,  राजनीतिमा त पूरै दक्खल भएको व्यक्ति हो, त्यसकारणले मैले उहाँलाई सानो देशको ठूलो नेता भनेको हो ।”

कांगे्रस महामन्त्री गगनकुमार थापाले बिपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै कांग्रेस पार्टीले बिपीको विचारलाई पछ्याउँदै अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, “बिपीको समाजवाद भनेको व्यक्तिको स्वतन्त्रता हो, उहाँ चिन्तक मात्रै होइन, पार्टीको नेता पनि हुनुहुन्थ्यो, बिपीबाट नयाँ पुस्ताले अझ बढी  सिक्नुपर्छ, युवाले बिपीबारे अध्ययन गर्नुपर्ने छ ।” महामन्त्री थापाले आजको सन्दर्भमा स्वदेशमै रोजगारी सिर्जना गरी लाखौँ युवालाई रोजगारी दिँदा मात्रै बिपीको सान्दर्भिकता झल्किने बताए । 

कोशीका पूर्वमुख्यमन्त्री कार्की आमरण अनसनमा

विराटनगर । कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनसन सुरु गरेका छन् । आफू मुख्यमन्त्री हुँदा ल्याएका ‘समाजवादी’ कार्यक्रमलाई बजेटमा समेट्नुपर्ने माग राख्दै कार्कीले मंगलबार अनसन सुरु गरेका हुन् ।

सरकारले प्रदेशसभामा पेस गरेको बजेट गत ८ असारमा पारित भएको थियो । बजेट पास भएको करिब तीन महिना बित्न लाग्दा बजेटमा आफूले ल्याएका कार्यक्रमलाई निरन्तरता नदिइएको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले आमरण अनसन सुरु गरेका हुन् ।

कार्कीले आफ्नो माग सरकारले पूरा नगरे भन्दै प्रदेशसभाबाटै अनसन घोषणा गरेका थिए । पूर्वमुख्यमन्त्री कार्कीले मुख्य रूपमा आफू मुख्यमन्त्री भएको बेला घोषणा गरेको १० वर्षमुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने मागलाई प्रमुखताका साथ उठाएका छन् ।

यता, बहालवाला मुख्यमन्त्रीको सचिवालयले भने बालबालिकाको उपचारका नाममा निजी अस्पतालमा अन्धाधुन्ध रकम वितरणको विषयलाई मात्र रोकेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले कार्कीको अनसन रोक्नकै लागि प्रदेशसभा र आसपासका क्षेत्रमा मंगलबार निषेधाज्ञा जारी गरेको थियो। प्रशासनले निषेधाज्ञा लगाएकै क्षेत्रमा उनले अनसन थालेका हुन्।

प्रशासनले कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी प्रोजेक्टस्थित मुख्यमन्त्री निवास वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास वरपरको ३०० मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ।

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्का पछिल्ला दुुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्का आर्थिक वर्षका २०७९/८० र २०८०/८१ क वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रिय,क्षेत्रीय,अन्तर्राष्ट्रिय सुरक्षास्थिति र चुनौतीको विश्लेषण प्रतिवेदनमा गरिएको जानकारी दिए ।

उनले प्रतिवेदनमाथि सङ्घीय संसद्बाट प्राप्त हुने सुुझावलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत उपस्थित थिए ।

अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाखौरीले आइएफसी नेपालमा लगानी विस्तार गर्न तयार रहेको जानकारी दिएको अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।

आइएफसीले गत वर्ष नेपालमा एक सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो । क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोगजारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकतामा हुने भएकाले नेपालमा लगानी फराकिलो पार्न आफू प्रतिबद्ध रहेको बताए ।

अर्थमन्त्रीको निजी सचिवालयका अनुसार देशको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक भएको बताउँदै अर्थमन्त्री पौडेलले देशको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरेका थिए ।

वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजनिक

काठमाडौं । वेब सिरिज ‘घर बट इन अमेरिका’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ ।

विमलेश अधिकारी निर्देशित यस सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन् । सिचुएशनल कमेडी–ड्रामा विधामा निर्माण भएको यस सिरिजमार्फत अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि कमब्याक गरेकी छन्।

सिरिजमा अरुणिमासँगै विमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, र रोजिना थापा मुख्य भूमिकामा छन् । फिल्मको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको हो ।

नेप्सेमा १३ अंकको गिरावट

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँच कारोबार दिनदेखि घटिरहेको छ । मंगलबार नेप्से परिसूचक १३ दशमलव ०९ अङ्कले घटेर दुई हजार छ सय ३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ ।

मंगलबार तीन सय २८ कम्पनीको एक करोड ९० लाख ७७ हजार पाँच सय ८३ कित्ता शेयर ९३ हजार चार सय ५९ पटक खरिदबिक्री हुँदा रु सात अर्ब २४ करोड ५५ लाख ६८ हजार चार सय २१ बराबरको कारोबार भएको छ ।

आजको कारोबार रकम पछिल्लो करिब दुई महिनायताकै न्यून हो । आजको कारोबारमा ‘सेन्सेटिभ इन्डेक्स’ एक दशमलव ८० र ‘फ्लोट इन्डेक्स’ शून्य दशमलव ९१ अङ्कले घटेको छ ।

आज व्यापार समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ११, विकास बैङ्क शून्य दशमलव ६९, वित्त शून्य दशमलव ९९, जलविद्युत् शून्य दशमलव ७१, लगानी शून्य दशमलव ५३ र जीवन बीमा समूह शून्य दशमलव ७६ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६८, लघुवित्त शून्य दशमलव ९१, निर्जीवन बीमा शून्य दशमलव ४० र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरे घट््नेमा भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को शेयर मूल्य आठ दशमलव ८२ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर रु २९ करोड ८१ लाख ५४ हजार बराबरको १६ लाख ६४ हजार ८५ कित्ता किनबेच भएको छ ।

अन्य हरितगृह ग्याँसको तुलनामा मिथेनको वृद्धि तीव्र

पेरिस । वातावरणीय अनुसन्धानकर्ताले वायुमण्डलमा तीव्र रुपमा बढिरहेको शक्तिशाली हरितगृह ग्याँस मिथेनका कारण जलवायु लक्ष्य पूरा गर्ने विश्वव्यापी प्रयासलाई खतरामा पार्न सक्ने चेतावनी दिएका छन् ।

“मिथेन अन्य प्रमुख हरितगृह ग्याँसको तुलनामा सापेक्ष रूपमा छिटो बढिरहेको छ र पूर्व–औद्योगिक समयको तुलनामा हाल २.६ गुणा बढी छ”, ग्लोबल कार्बन प्रोजेक्टको तत्वावधानमा अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय समूहले वातावरणीय अनुसन्धान पत्रहरूमा प्रकाशित गरेको अध्ययनमा भनिएको छ ।

कार्बन डाइअक्साइडपछि मानव गतिविधिले सबैभन्दा प्रचुर मात्रामा उत्पादन हुने हरितगृह ग्यास मिथेन हो । कृषि, ऊर्जा उत्पादन र जैविक प्रदुषण यसका प्रमुख स्रोतहरू छन् ।

सन् २००० को दशकमा वायुमण्डलमा प्रति वर्ष औसत ६.१ मिलियन टन मिथेन उत्सर्जन हुन्थ्यो । सन् २०१० को दशकमा यो बढेर २०.९ मिलियन टन प्रति वर्ष पुगेको थियो भने सन् २०२० को दशकमा यो ४१.८ मिलियन टन पुगेको छ ।

यसको प्रमुख उत्सर्जक चीन र दक्षिणपूर्वी एसिया हो जसको मुख्य स्रोत कोइला निकासी, तेल र ग्याँस उत्पादनसँग जोडिएको छ ।

बढ्दो मिथेन प्रदूषणले पृथ्वीको औसत तापक्रम पूर्व–औद्योगिक स्तर भन्दा २.० डिग्री सेल्सियसभन्दा बढ्न नदिने विश्वव्यापी प्रयासलाई कमजोर बनाइरहेको छ ।

सन् २०३० सम्म विश्वव्यापी मिथेन उत्सर्जन ३० प्रतिशतले कटौती गर्न युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाले सन् २०२१ मा “ग्लोबल मिथेन प्रतिज्ञा” सुरु गरेका थिए । यसमा १५० भन्दा बढी राष्ट्रले हस्ताक्षर गरेका छन् ।

“ग्लोबल मिथेन प्रतिज्ञाका लक्ष्यहरु प्राप्त गर्नु हाल मरुभूमिमा पानी भेटिनु जत्तिकै कठिन देखिन्छ”, वातावरणीय अनुसन्धान पत्रका प्रमुख लेखक, स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिक रोब ज्याक्सनले भने ।

चीन र संयुक्त राज्य अमेरिकाले यस वर्षको अन्त्यमा कार्बनडाइअक्साइड बाहेक अन्य हरितगृह ग्याँससम्बन्धी शिखर सम्मेलन आयोजना गर्ने तयारी गरिरहेका छन् ।

लगभग आधा शरणार्थी बालबालिका शिक्षाको पहुँचबाट वञ्चित

जेनेभा । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त –युएनएचसीआर) ले विश्वव्यापी शरणार्थी शिक्षा र भर्नामा उल्लेखनीय प्रगति हासिल भएको तर अझैपनि विश्वका १ करोड ४८ लाख विद्यालय जाने उमेर पुगेका शरणार्थी बालबालिकामध्ये लगभग आधा विद्यालय जानबाट वञ्चित भएको जनाएको छ ।

यस वर्ष यूएनएचसीआरले जारी गरेको शरणार्थी शिक्षा प्रतिवेदन अनुसार ६५ शरणार्थी आयोजक देशहरूको तथ्याङ्कले लगभग ७२ लाख शरणार्थी बालबालिका असुरक्षा,समावेशी शिक्षा नीतिको अभाव, क्षमता र भाषा अवरोध जस्ता कारणहरूले गर्दा शिक्षाबाट वञ्चित छन् ।

प्रतिवेदनले सन् २०२२/२३ को शैक्षिक वर्षका लागि शरणार्थीको औसत कुल भर्ना दर पूर्वप्राथमिक तहका ३७ प्रतिशत, प्राथमिक तहका लागि ६५ प्रतिशत र माध्यमिक तहका लागि ४२ प्रतिशत रहेको देखाएको छ ।

शरणार्थी शिक्षामा विभिन्न अवरोधको बाबजुद पनि विगत पाँच वर्षमा आशाजनक प्रगति भएको युएनएचसीआरले पुष्टि गरेको छ । नयाँ प्रतिवेदनले शरणार्थीहरूका लागि शिक्षाको पहुँच केही प्रमुख आयोजक देशमा विस्तार भएको सङ्केत गरेको छ। यसबाहेक, कममात्रै शरणार्थीहरू राष्ट्रिय परीषामा समावेश भएपनि पास दर उच्च र कहिलेकाहीँ राष्ट्रिय औसतभन्दा बढी पनि रहेको पाइएको छ ।

युएनएचसीआरले सन् २०३० सम्म शरणार्थीको शिक्षाको अधिकारलाई सम्बोधन गर्न दिगो अन्तर्राष्ट्रिय सहयोग र नवीन साझेदारीलाई निरन्तरता दिन आयोजक राज्य, सरकार, दाता र साझेदारहरूलाई आह्वान गरेको छ ।

जातीय झडपपछि भारतको मणिपुरमा कर्फ्यू

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी जातीय झडपको पछिल्लो चरणमा भएको हत्याको निन्दा गर्दै निरन्तर प्रदर्शन गरेपछि मङ्लबार कर्फ्यू जारी गरिएको अधिकारीहरुले बताएका छन् ।

मणिपुरमा हिन्दू मेइतेई बहुमत र मुख्यतया इसाई कुकी समुदायबिच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपहरू भइरहेका छन् । केही महिनाको सामान्य शान्तिपछि दुई समुदायबिच फेरि शत्रुता बढेपछि झडपमा गत हप्ता कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनपछि सोमबार प्रहरीसँग झडप भएपछि मणिपुरको राजधानी इम्फाल र वरपरको उपत्यकामा कर्फ्यू लगाइएको हो ।

इमफालमा राज्यका राज्यपालको निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मी माथि विद्यार्थीहरूले ढुङ्गा तथा प्लास्टिकका बोतलहरू प्रहार गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रदर्शनकारीहरूले प्रहरीसँग हतियार खोसी गोली हानेको विज्ञप्तिमा उल्लेख छ । मणिपुरको स्थानीय सरकारले अर्को आदेश नआउन्जेले पूर्ण कर्फ्यूको. घोषणा गरेको छ ।

प्रदर्शनकारीहरूले गत हप्ता ‘इम्प्रोभाइज्ड’ प्रक्षेप्य हतियार र ड्रोन आक्रमण गरेको आरोपमा कारबाहीको माग गरेपछि प्रहरीले मणिपुरमा हिंसाको वृद्धि भएको प्रहरीले जनाएको छ ।

मेइतेई र कुकी समुदायहरू बिच लामो समयदेखि चलिरहेको द्धन्द्ध भूमि तथा सार्वजनिक रोजगारीको प्रतिस्पर्धाको विषयमा केन्द्रित छ ।

यसै बीच अधिकारकर्मीले स्थानीय नेताहरूले राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन् ।

नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवासमा मंगलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो रुग्ण भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्नेमा अनुसन्धान गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले सागसब्जी उत्पादनमा विषादीयुक्त कीटाणु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने बताए ।

‘आफूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताअनुसार अनुसन्धान होस् । कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद् (नार्क) जस्ता संस्थासँग सहकार्य होस् । सुशासन कायम गर्ने कामको नेतृत्व म गर्छु, तपाई वैज्ञानिकबाट नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान गर्न मेरो आग्रह छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘ज्ञान, विज्ञान र योगको उद्गम भूमि नेपाल विकासका दृष्टिले पछाडि परेको छ । अरुले ढुङ्गा हानेर सिकार गर्दै गरेको अवस्थामा हामीले पशुुपालनको युुग सुरु गरिसकेका थियौँ । अब ‘ग्रिन हाइड्रोजन’को प्रयोग र अन्तरिक्षको ‘अर्बिट’मा आफ्नै ‘सेटलाइट’ राख्नेतर्फ ध्यान दिन सक्नुपर्छ । भूकम्पको पूर्वसूचना प्रणालीलाई स्थापित गरेर जानुपर्छ ।’

प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले हाम्रा पुर्खाले सुरु गरेका आयुर्वेद, ध्वनि विज्ञानलगायत क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताए ।

सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५० करोड ६८ लाख ३९ हजार रुपैयाँको बजेटसहितका कार्यक्रम स्वीकृत गरेको छ ।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत सहभागी सभामा प्रतिष्ठानका उपकुलपति प्रा डा दीलिप सुब्बाले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई सरकारले समृद्धिको आधार मानेकामा त्यसको प्रशंसा गरे ।

उपसभामुखलाई गोकुल बास्कोटाको सुझावः संसदमा प्रश्न उठेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुस्

काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले उपसभामुखमाथि संसद्मा प्रश्न उठिसकेकाले राजीनामा गरेर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उनले असम्बन्धित व्यक्तिलाई अमेरिका पठाएको विषयमा सदनमा पटक–पटक प्रश्न उठेकाले उपसभामुखले नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त हुने बताए ।

सांसद बास्कोटाले आफूमाथि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गराउँदै राजनीतिकर्मीमा त्यत्तिको साहस हुनुपर्ने बताए ।

उनले भने, ‘राजीनामा गरेर छानबिनमा सहयोग गरेमा के फरक पर्छ ? प्रश्न उठ्नु र जवाफदेहिताको माग गर्नु लोकतन्त्र विरोधी कुरा होइन । व्यक्तिको पदीय दायित्व र आचारणमाथि प्रश्न उठिसकेपछि त्यसलाई गलत प्रमाणित गर्न सक्नुपर्छ, सबैका निम्ति पारदर्शिता अपनाउन राजीनामा दिएर सहयोग गरे उपयुक्त हुन्छ ।’

सांसद बास्कोटाले वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा’ पूरा गर्ने दिशामा अगाडि बढेको भन्दै उनले आत्मनिर्भर अर्थतन्त्र, कृषिको आधुनिकीकरण र औद्योगिकीकरण प्राथमिकतामा रहेका बताए । साथै उनले नीतिगत सुधारका माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

माओवादीद्वारा उपसभामुख हटाउने सत्तापक्षको तयारीको प्रतिवाद

काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाएर हटाउने सत्तापक्षको तयारीको प्रतिवाद गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखलाई हटाउने सत्तापक्षको तयारीको प्रतिवाद गरेका हुन् ।

उनले यसकारेका सत्तापक्षलाई यथार्थ स्पष्ट पार्न आग्रह गरे । उनले भने, ‘उपसभामुख रानालाई पदबाट हटाउने कुरा सत्य हो भने माओवादी यसको प्रतिवाद र विरोध गर्दछ ।’

यस्तै माओवादी सांसद हितबहादुर तामाङले पनि यस विषयमा खबरदारी गरे ।

त्यस्तै माओवादी केन्द्रका अर्का सांसद देवेन्द्र पौडेलले प्रश्न उठेकै आधारमा राजीनामा दिने हो भने अहिलेका मन्त्रीहरू पनि राजीनामा दिन तयार हो भन्दै प्रश्न गरे ।

उनले बलियो सरकारले उपसभामुखलाई हटाउने कुरा दुःखदायी रहेको बताए । उनले भने, ‘प्रश्न उठेर राजीनामा दिने हो भने दशौँ मन्त्रीका बारेमा प्रश्न उठेको छ । राजीनामा दिन तयार हुनुहुन्छ ? छानबिन होस् । लाउडा, वाइडबडी, बालुवाटार जग्गा काण्ड गिरिबन्धु टी–स्टेटमा प्रश्न उठेको छ । छानबिन गर्न तयार हो ?’

पौडेलले उपसभामुखका साथमा माओवादी रहेकाले ढुक्क हुन आग्रह गरे ।

संसदीय छानबिनका लागि पनि म तयार छु : उपसभापति गुरुङ

काठमाडौं । सहकारी ठगीको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि लागेको आरोपमा छानबिन गर्न आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उपसभापति गुरुङले श्रीमतीसँग सम्बन्ध बिच्छेद भइसक्दा पनि प्रश्न उठाइएको भन्दै आफूमाथि छानबिन गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘संसदीय छानबिनका लागि पनि म तयार छु, मेरो लागि यो सुवर्ण अवसर हुनेछ । कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिनुहुन्न भन्ने मान्यतामा म अडिग छु ।’

उनले श्रीमान् या श्रीमती जो कुनै काण्डमा संलग्न भए दोष अर्कोले बोक्न नमिल्ने बताए । उनले भने, ‘श्रीमान् या श्रीमती जो कुनै काण्डमा संलग्न भए दोष अर्कोले बोक्न मिल्छ कि मिल्दैन ? भूतपूर्व श्रीमान् या श्रीमतीलाई जोड्न मिल्छ कि मिल्दैन ? विवाह गर्नु अपराध हो ? मिल्न नसक्नु अपराध हो ?’

उनले रास्वपाका सांसदले नक्कली सम्बन्ध विच्छेद गरेको भन्दै गरेको टिप्पणीप्रति आपत्ति जनाए । सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद गणेश पराजुलीले गुरुङले नक्कली सम्बन्ध विच्छेद गरेको आरोप लगाएका थिए ।

गुरुङले भने, ‘एकजना माननीयजीले नक्कली सम्बन्ध विच्छेद भएको बताउनुभएको रहेछ । जसले नक्कली कुरा गर्छ अरुलाई पनि त्यस्तै देख्छ । १० वर्षे बच्चा हुर्काउनुको पीडा म आफैँसँग छ । संसदीय छानबिनका लागि म तयार छु ।’

सम्बन्धबिच्छेदलाई नक्कली प्रमाणित गर्न पनि उनले चुनौती दिए । अहिले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन आउने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले विषयान्तर गर्न मात्र आफ्नो विषय उठाएको गुरुङले बताए ।

गुरुङले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्धबिच्छेद भएकाले आफूलाई जोड्न नमिल्ने बताए ।

‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले ल्याएको खुसी

काभ्रे । विसं २०७७ मा भैँसीको पाडी ल्याएर स्याहारेदेखि पनौती नगरपालिका–११ ख्याकूका माधव थापाको घरमा लैनो भैँसी टुटेको छैन ।

चार वर्षदेखि लैनो भैँसीको दूध बेचेर घर व्यवहार खर्च टार्दै आएकी थापा त्यसबखत पनौती नगरले अनुदानमा दिएका पाडी ठूलो भई ब्याएपछि नगरको ठूलो सम्झिरहेको गुन लगाएको बताउँछन्। उक्त पाडी ब्याएपछि नगरले रु पाँच हजार ‘सुत्केरी भैँसी भत्ता’ पनि दिएको थियो ।

“भैँसीबाट पहिलो बेतमा एक लाख ८० हजारको दूध बिक्री गरेँ । त्यसपछि पनि अनुदानमै पाडी थप्दै घरमा लैनो भैँसी टुटाएको छैन, उही हाराहारीमा आम्दानी भइरहेको छ”, थापाले भने । पहिलो पटक सुत्केरी भएको भैँसीलाई नगरले सुत्केरी भत्ता दियो, पाडी किन्दा लगानी गरेको रकम सुत्केरी भत्तासँगै फिर्ता भयो । नियमित बिक्री गरेको दूधबाट परिवार पनि चल्यो ।

यस्तै, सोही साल नगरबाट पाडी अनुदान पाएकी स्थानीय शोभा थापाले पनि एक वर्ष नपाल्दै पाडो लैनो भैँसी बनेपछि घर खर्च चलाउने आधार बन्दै आएको बताउँछिन् । उनी भन्छिन्, “अहिलेको भैँसीले पनि दैनिक आठ लिटर दूध दिन्छ, यसमध्ये पाँच लिटर बेच्न लैजान्छु, यसबाटै घरखर्च चलाउँदै आएको छु ।” सोही टोलको सावित्री थापाको घरमा अहिले लैनो भैँसी छ । त्यतिबेला घरमा भएको भैँसी पहिलो बेत सुत्केरी हुँदा नगरले नै रु पाँच हजार ‘सुत्केरी भत्ता’ पनि गोठमै पुगेर दिएको थियो ।

“पहिलो बेतको पाडी हुर्कियो, अहिले दोस्रो बेतमा राम्रो भएको छ, मैले बुझाएको सात हजारमध्ये पुनः पाँच हजार अनुदानमा ल्याएको पाडी सुत्केरी भत्तामा फिर्ता आयो”, थापाले भनिन्। उनले दुई हजार नगरलाई दिएको ‘बोट’मा अहिले दुई लाख फलेको भन्दै थापा खुसी व्यक्त गर्छिन् । उनी भन्छिन्, “पहिलो बेतमा घरमा खाएर दुई लाखको दूध बेचेँ, दोस्रो बेतमा पनि त्यही हुन्छ होला १” एकपछि अर्को गर्दै जन्मिएका पाडीहरुले दिएको खुसी थापा दङ्ग छिन् ।

यस्तै, वर्षौंदेखि गाई पाल्दै आएकी पनौती–३ को विमला सापकोटाले तीन वर्षअघि गोठमा एउटा भैँसी थपेकी थिइन् । नगरले ल्याएको अनुदानपछि भैँसी थपेर दूध बिक्रीमार्फत घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आएको उनी बताउँछिन् । “गाई र भैँसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु, यसका लागि नगरको अनुदान बीमा र सुत्केरी प्रोत्साहनका कारण भैँसीपालनप्रति आकर्षण बढ्यो,” सापकोटाले भनिन् ।

पनौती नपा–१२ का यज्ञ खत्री नगरले भैँसीपालनमा ल्याएको अनुदान, बीमा र सुत्केरी प्रोत्साहनले पुनः व्यावसायिक भैँसीपालनमा लागेको छ । उनी भन्छन्, “विभिन्न समस्या र दूधको मूल्य नपाउँदा सधैँ घाटामा भैँसी पाल्न नसकिने भएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छोडेको थिए, अहिले पुनः भैँसी पाल्न जाँगर चलाएको छु, हाल मेरो गोठमा सात भैँसी छन् ।”

पनौती नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमबाट सहयोग मिल्नाका साथै थप आत्मबल बढेको स्थानीय बताउँछन् । “भैँसी पाल्दा धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुन्थ्थो अब त्यो समस्या हटेको छ, भैँसीको बीमा पनि हुने अनुदान रकम पनि पाइने हामी किसानलाई ठूलो राहात मिलेको छ,” पनौती–१२ कै भावना थापा भन्छिन्, “अब थप दुईवटा भैँसी थपेर पाडापाडी पनि हुर्काउँछु ।” पनौती–५ का चन्द्रप्रसाद न्यौपानेले फार्म नै स्थापना गरी १७ भैँसी पालेकी छिन् । उनी भनिछन्, “नगरले भत्तासँगै भ्याक्सिन र औषधि निःशुल्क गर्दा यसप्रति आकर्षण थपिएको छ ।”

नगर उपप्रमुख गीता बञ्जारा नगरले उपलब्ध गराएको एउटा पाडीले अहिले किसानका गोठ भरिन थालेको र किसान खुसी देखिएको सुनाउँछिन् ।

“गरिब तथा एउटा भैँसी किन्न नसक्ने परिवारलाई उक्त कार्यक्रम निकै प्रभावकारी देखिएको छ”, उनले भनिन् । पहिलो र दास्रो बेतका दुधालु भैँसीको अहिले एक लाख ५० हजारदेखि दुई लाखसम्म पर्छन् । तर दुई वर्षदेखि नगरले उक्त कार्यक्रमलाई निरन्तरता नदिएको प्रति भने स्थानीय दुःखी नै देखिन्छन् ।

करिब चार वर्ष नगरले १२ वटा वडामा नौ सय १८ पाडी वितरण गर्यो । यसमध्ये हालसम्म करिब सात सय ११ भैँसी ब्याइसकेको नगरको कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । वडा नं १ र १२ लाई प्राथमिकतामा राखेर सबै वडामा वितरण गरिएका पाडीहरु धमाधम सुत्केरी भएका छन् । त्यसबाट स्थानीयवासीले निरन्तर आम्दानी लिन थालेका छन् ।

भैँसी आयात रोक्ने, स्रोत केन्द्र बनाउने र नागरवासीलाई आत्मनिर्भर बनाउँदै आर्थिक समृद्धि हासिल गर्ने नगरले त्येतिबेला एक मात्रै लक्ष्य लिएको पूर्वनगर प्रमुख भीम न्यौपानेले बताउँछन् ।

नगरले आर्थिक वर्ष २०७४/७५ बाट ‘भैँसी संरक्षण–संवद्र्धन अभियान’अन्तर्गत सुत्केरी भैँसी भत्ता कार्यक्रम सुरु गरेको थियो । जननिर्वाचित जनप्रतिनिधिले नेतृत्वमा नगरको कार्यसम्पादनको कार्यभार सम्हालेलगत्तै सुरु गरिएको सुत्केरी भैँसी भत्ता कार्यक्रम मुलुकभर चर्चाको विषयसमेत बन्न पुग्यो ।

अभियान सञ्चालनताका पनौतीमा उत्पादित दूधको परिमाणभन्दा हाल दोब्बर उत्पादन हुने गरेको नगरको तथ्याङ्कले देखाएको छ । त्यस आर्थिक वर्षको तथ्याङ्कअनुसार पनौती नगरमा चार हजार सात ४७ वटा भैँसीपालन गरिएको थियो । त्यस समयमा वार्षिक रुपमा करिब पाँच सय भैँसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रन्थे । करिब छ करोड भैँसी खरिदमा बाहिर रकम बाहिर जाने गरेको थियो ।

त्यतिबेला पनौतीमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको थियो । उत्पादितमध्ये १५ हजार लिटर यही खपत हुने गरेको र २५ हजार काठमाडौँ उपत्यका लैजाने गरिन्थो । जनप्रतिनिधिले उक्त अभियान सुरु गरेपछि भैँसीको सङ्ख्या पनि झन्डै दोब्बरको हाराहारीमा पुगेको छ ।

नगरले सुरुमा दूध उत्पादन र नगरमा भैँसीको अवस्थाबारे एक अध्ययन गरी सुरु गरेको अनुसार भैँसी संरक्षणको अभियानअन्तर्गत पहिला भैँसी सुत्केरी भत्ता वितरण गरेको हो ।

पनौती नगरपालिकाले पाडी वितरणका लागि कार्यविधि तयार गरेको थियो । किसानसमेत लगानीमा उपलब्ध गराइएको पाडी बिक्रीका लागि नगरको अनुमति अनिवार्य थियो । बिरामी भएमा, थारो रहेमा वा केही त्यस्ता सर्त पालना नहुँदा पाडी सट्टापट्टा गर्ने अनुमति हुन्थ्यो ।

बीमा, उपचारलगायत सुविधासमेत उपलब्ध गराएर उपलब्ध गराएको पाडी पहिलोपटक सुत्केरी हुँदा पाँच हजार किसानले सुरुमा लगानी गरेको रकम फिर्ता लैजान्छन् । नगरपालिकाले पहिलोपटक सुत्केरी भएको भैँसीलाई पाँच हजार र दोस्रो पटक तथा थप पटकमा दुई हजार उपलब्ध गराउँदै आएको थियो ।

कार्यविधिअनुसार त्यसरी बिक्री गरिएका पाडीहरुको लागत अनुसारको २० प्रतिशत रकम नगरको राजस्व शाखामा बुझाउनुपर्छ । अनुमगन नभएको र नगरबाट समेत बेवास्ता गरिएकाले अधिकांश किसानले नगरलाई बुझाउनुपर्ने रकम बुझाएका छैनन् । विसं २०७९ अघि त्यसरी बिक्री गर्ने केही किसानले भने नगरमा नियमानुसार रकम जम्मा गरेका थिए ।

पहिलो बेतको भैँसी सुत्केरी हुँदा पाँच हजार र त्यसपछि दुई हजारको दरले सुत्केरी भत्ता वितरण गरिएको शाखाले जनाएको छ । उक्त कार्यक्रममा सहभागी हुन अनिवार्य बीमा गर्नुपर्ने नियम राखिएको थियो । बीमा गरेबापत लागेको प्रिमियम नगरले ५० प्रतिशत दिने व्यवस्था भयो । भैँसीलाई खोप, घाँसका बीउ निःशुल्क उपलब्ध गराइँदै आइएको जनाइएको छ ।

कार्यक्रम लागू गर्दाका बखत दुई सय १७ भैँसीलाई पाँचका दरले सुत्केरी भत्ता दिएको शाखाप्रमुख लीलानाथ सापकोटाले बताए ।

उनका अनुसार करिब एक हजार पाँच सय भैँसी–भत्ता किसानलाई वितरण गरिएको थियो । शाखाका अनुसार हाल करिब आठ हजार भैँसी पनौतीमा छन् । हाल दूधको उत्पादन दैनिक करिब ७५ हजार लिटर हाराहारीमा उत्पादन हुन्छ । यसमध्ये ५० हजार लिटर काठमाडौँ बिक्रीका लागि पठाइन्छ ।

अभियान सञ्चालन गरेपछि भैँसीको सङ्ख्या झन्डै दोब्बर तथा दूध उत्पादन दोब्बर भएको नगर उपप्रमुख बञ्जारा बताउँछन् । उनी भन्छन्, “हाम्रो अभियान प्रत्यक्ष किसानसँग जोडिएकाले उहाँहरुको आर्थिक अवस्था सुदृढ बन्दै जीवनस्तर समेत उकासिँदै गएको पाएका छौँ ।”

सापकोटा पनि उक्त कार्यक्रमबाट किसान अत्यन्तै खुसी देखिएको बताउँछिन् । अधिकांश किसान उक्त कार्यक्रमको निरन्तरता चाहन्छन्, तर नगरपालिकाको कार्यक्रम भैँसी सुत्केरी भत्ताबाहेक अरू नभएकाले पाडी वितरण र अनुगमन निरन्तर हुन सकेको छैन ।

वडा नं १२ का पूर्ववडाध्यक्ष ईश्वर जङ्गमले कृषकमैत्री कार्यक्रमको निरन्तरता, नियमित अनुगमन तथा कृषक लक्षित कार्यक्रम निरन्तरता दिन जनप्रतिनिधिसँग अनुरोध गर्छन् । उनी भनछन्, “कमजोर आर्थिक अवस्था भएका कृषकका लागि पाडी वितरण कार्यक्रम प्रभावकारी मात्रै थिएन, उनीहरुको जीविकोपार्न लागि प्रमुख माध्यम नै बनेको थियो ।”

पनौती नगरको उक्त कार्यक्रम प्रदेश र सङ्घ सरकारकै नमूना कार्यक्रमका रुपमा अथ्र्याइँदै आइएको थियो । पनौतीको कार्यक्रम प्रभावकारी पाइएपछि सङ्घ र प्रदेश सरकारले पनि यस्ता कार्यक्रमका लागि थप बजेट विनियोजन गरेको बताइन्छ ।

नेपाली उत्पादनमा पहुँच प्रदान गर्न कतारी राजदूतलाई मन्त्री भण्डारीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले शिष्टाचार भेट गरेका छन् ।

उद्योग मन्त्रालयमा मंगलबार भएको भेटमा कतार सरकारले एसियन कोअपरेशन डाइलग(एसिडी)को तेस्रो शिखर सम्मेलन आयोजना गर्न लागेकामा मन्त्री भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरे । 

नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहिआएको उल्लेख गर्दै उनले भने, “नेपाली कामदारका लागि कतार एक प्रमुख गन्तव्य हो, ठूलो सङ्ख्यामा नेपालीका लागि रोजगारीका अवसर उपलब्ध गराएकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु ।”

हाल कतारमा करिब तीन लाख ६७ हजार नेपाली विभिन्न पेशा व्यवसायमा कार्यरत रहेका जनाउँदै मन्त्री भण्डारीले सन् २०२१ मा नेपाली व्यवसायी सङ्घ कतारको स्थापनाले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाएको बताए । उनले कतारमा रहेका नेपालीबीच आर्थिक संलग्नता र उद्यमशीलता प्रवद्र्धन गर्ने अपेक्षा गरिएको बताए ।

दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको भन्दै राजदूत अन्सारीसँग उनले कतार सरकार र कतार फन्ड फर डेभेलपमेन्टबाट नेपालले  लगानीको अपेक्षा गरेको बताए ।

“हामीले कतार सरकार र नेपाल सरकारबीचको पारस्परिक प्रवद्र्धन र लगानीको संरक्षणसम्बन्धी प्रस्तावित सम्झौताको मस्यौदा सम्बन्धमा छलफल जारी रहेको कुरा जानकारी गराउन चाहन्छौँ”, मन्त्री भण्डारीले भने, “कतारसँग विद्यमान नेपालको व्यापार घाटा कम गर्न दुई देशबीच सहयोग अभिवृद्धि आवश्यक छ, साथै नेपाली उत्पादनका लागि कतारमा बजारको खोजी गर्न आवश्यकता छ, कतारको बजारमा हाम्रा नेपाली कृषि उत्पादन र अन्य नेपाली उत्पादनमा पहुँच प्रदान गर्न अनुरोध गर्न चाहन्छु ।”

मन्त्री भण्डारीले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसको आवतजावतलाई सहज बनाएको र यसलाई पर्यटन तथा द्विपक्षीय व्यापारको प्रवद्र्धनमा थप उपयोग गर्न आवश्यक रहेको बताए । साथै उनले नेपाल र कतारले पारस्परिक हित तथा चासोका विषयमा संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय र क्षेत्रीय मञ्चमा नजिकबाट काम गर्दै आएकामा खुशी व्यक्त गरे ।

राजदूत अन्सारीले मन्त्री भण्डारीले व्यक्त गरेका कुरामा सकारात्मक प्रतिक्रिया दिँदै आगामी असोज १६ गते कतार भ्रमणका लागि औपचारिक निमन्त्रणा गरे । राजदूत अन्सारीले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने उल्लेख गर्दै सहयोग आदानप्रदान बढाउनुपर्नेमा जोड दिए । 

उपसभामुखमाथि महाअभियोग लगाउने कुरा मान्य नहुने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने भन्दै चेतावनी दिएको छ ।

मंगलबारको प्रतिनिधिसभाबैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले केही राजनीतिक दलहरु उपसभामुख रानामाथि महाअभियोग लगाउने छलफलमा जुटेकोमा आपत्ति जनाएका हुन् ।

उनल भने, ‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला स्मरण रहोस् । तपाईंहरू आफैंले खनेको खाल्डोमा तपाईंहरू पर्नुहुनेछ स्मरण रहोस् । के नेपाली लोकतन्त्र यति कमजोर हो । लोकतन्त्रको हुर्मत लिने हो?’

उनले उपसभामुखलाई हटाएर संवैधानिक परिषदमा बहुमत पुर्याउन खेल भएको बताए । उनले भने, ‘सम्मानित पदलाई परिषदमा बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रको मसिहा भन्ने राजनीतिक पार्टीहरूले उपसभामुख हटाउने तयारी गर्दै हुनुहुन्छ । स्मरण रहोस् रास्वपाले राजनीतिक मुद्दा गुमाउला लोकतन्त्रको लागि रास्वपा सधैँ लड्नेछ ।’

चीनले आर्चरी, उसु र कुस्तीमा नेपाललाई सहयोग गर्ने

काठमाडौँ । नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एशोसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल उसु महासङ्घ, मार्सल आर्ट अर्गनाइजेसन अफ नेपाल र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिसँग चीनको युनानमा भएको भेटमा युनान विश्वविद्यालयका प्रमुख तथा पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारीले जानकारी दिए ।

छलफलमा नेपाल उसु महासङ्घका उपाध्यक्ष अभिषेकविक्रम शाह र उपमहासचिव तथा वरिष्ठ प्रशिक्षक राजीव महर्जन पनि सहभागी थिए ।

छलफल पश्चात् नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलको विकासमा सहयोग गर्नेसम्बन्धी दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ । समझदारीपत्रमा उसु महासङ्घका तर्फबाट उपाध्यक्ष शाह र ट्रेडिसनल आर्चरी एशोसिएसन युनान शाखाका अध्यक्ष कोङ उइझाङले हस्ताक्षर गरेका छन् ।

एघारबुँदे समझदारीपत्रमा प्रशिक्षकहरुको आदानप्रदान गर्ने, नेपाली खेलाडीहरुलाई प्रशिक्षणका लागि विश्वविद्यालय र एशोसिएसनले अवसर दिने, वर्षमा न्यूनतम एक कार्यक्रम संयुक्त रुपमा गर्ने, नयाँ खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने, परम्परागत आर्चरी र उसु तथा कुस्ती खेलको विकासका लागि सांस्कृतिक आदानप्रदान तथा सामाजिक जागरण गर्ने, प्रतियोगिताहरुमा सहभागिता गराउने तथा खेल जागरण अभियान समेत सञ्चालन गर्ने सहमति भएको छ ।

यो समझदारीले खेलसँगै सांस्कृतिक पर्यटनमा सहयोग पुग्ने उपाध्यक्ष शाहले बताए । छलफलमा राखेप सदस्य कुसारीले चीनले नेपालको खेलसँगै खेल पूर्वाधारको क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आएकामा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने अपेक्षा गरेको सङ्घले जनाएको छ ।

उपाध्यक्ष शाहले विद्यालय तहदेखि नै आर्चरी तथा उसु खेल सिकाउन सकिए एसियाली र दक्षिण एसियाली खेलकुदमा नेपालले राम्रो नतिजा ल्याउन सक्ने बताएका थिए ।

ट्रेडिसनल आर्चरी एशोसिएसनका अध्यक्ष कोङ, वाङ जोङपिन, वाङ फान समेतले नेपाल असल छिमेकी राष्ट्र भएको स्मरण गर्दै दुईपक्षीय सहयोग आदानप्रदानले जनस्तरमा झनै सम्बन्ध सुदृढ हुने बताए ।

स्थानीयवासी परिचालन गरी सडक स्तरोन्नति सुरु

 त्रिवेणी । रुकुम पश्चिमको भूकम्प प्रभावित आठबिसकोट नगरपालिका क्षेत्रको सडक स्तरोन्नति सुरु गरिएको छ । नगरपालिकामा भूकम्पबाट बढी प्रभावित चारवटा वडाका स्थानीयवासीलाई लक्षित गरी सडक स्तरोन्नति सुरु गरिएको हो ।

बेलायती राजदूतावास काठमाडाँैको आर्थिक सहयोग तथा विश्व खाद्य कार्यक्रम र सप्रोस नेपालको सहकार्यमा सञ्चालित ‘सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजना’ अन्तर्गत प्रभावित क्षेत्रमा सडक स्तरोन्नति सुरु गरिएको आठबिसकोट नगरपालिकाले जनाएको छ ।

प्रभावित क्षेत्रका वडा नं ११, १२, १३ र १४ का गरिब तथा विपन्न नागरिकलाई छनोट गरी कामका लागि नगद, तालिमका लागि नगद र निःशर्त नगद सहायता कार्यक्रम अन्तर्गत रोजगारी प्रदान गरेको आठबिसकोट नगर प्रमुख रवि केसीले जानकारी दिए ।

उनका अनुसार कामका लागि छनोट भएका कामदारले सडक स्तरोन्नतिको काम गर्नेछन् । तालिमका लागि छनोट भएकाले तालिम सिकेर प्रभावित क्षेत्रमा काम गर्नेछन् । निःशर्त नगद सहायता कार्यक्रममा छनोट भएका अपाङ्गता तथा अशक्त व्यक्तिले काम नगरेरै सहायता रकम प्राप्त गर्नेछन् ।

छनोट भएका सबैले ४० दिन बराबरको दुई किस्तामा रु ३६ हजार प्राप्त गर्ने जनाइएको छ । कामका लागि नगद कार्यक्रम अन्तर्गत १८ देखि ५९ वर्ष उमेर समूहका तथा विश्व खाद्य कार्यक्रमको कार्ड भएका लाभग्राहीले काम गर्न पाउने विश्व खाद्य कार्यक्रमका प्रतिनिधि मुकेशकुमार शर्माले बताए । शर्माका अनुसार छनोट भएका कामदारले प्राविधिकको सल्लाह अनुसार ४० दिन काम गर्नुपर्ने छ ।

प्रत्येक वडाबाट कामका लागि नगद कार्यक्रमको लागि तीन सय ९७, तालिमको लागि नगद कार्यक्रम अन्तर्गत ४० र निःशर्त नगद कार्यक्रममा ८८ जना छनोट गरिएको छ । जस अन्तर्गत चारवटा वडाका दुई हजार एक सय सर्वसाधारण लाभान्वित भएका छन् ।

सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजना अन्तर्गत शनिबारबाट वडा नं ११ को झ्याम खोला गोहिरी तुसारे सडक स्तरोन्नति सुरु भएको छ । यहाँ दुई दशमलव पाँच किलोमिटर सडक स्तरोन्नति हुनेछ । बाँकी तीन वटा वडामा १५ किलोमिटर सडक स्तरोन्नति गरिने नगरपालिकाले जनाएको छ ।

भूकम्पबाट प्रभावित आठबिसकोट नगरपालिकामा सञ्चालित परियोजनाले गरिब तथा सहाराविहीनलाई लक्षित गरी कार्र्यक्रम सञ्चालन गरेकाले ग्रामीण सडक स्तरोन्नतिका साथै स्थानीयवासीको जीवनस्तर उकास्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।