`

गुप्तचर एआइजीमा ओम खड्काको बढुवा

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआइजी) मा डीआइजी ओमबहादुर खड्काको बढुवा भएको छ । आज मध्यान्ह १२ बजे बसेको मन्त्रिपरिषद् बैठकले दाङ्गमा कार्यरत खड्कालाई रिक्त अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापा अवकाशमा गएपछि ५ असोजमा एआईजी टेकेन्द्र कार्कीलार्ई मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरिएको थियो । कार्की मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएसँगै एक एआईजीको पद रिक्त थियो । तर साढे तीन माहिनासम्म सरकारले एआईजीमा कसैलाई बढुवा नगरी राखेको थियो । अन्ततः साढे तीन महिनापछि बढुवाको पहिलो दाबेबारमा रहेका खड्का एआईजी बनेका छन् ।

टेकेन्द्र कार्की राष्ट्रिय अनुसन्धान विभागको प्रमुख नियुक्त

काठमाडौं । देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।

हुतराज थापा बिदा भएसँगै रिक्त उक्त पदमा कार्कीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । नयाँ नेतृत्वका लागि अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशी र कार्की प्रतिस्पर्धामा थिए ।

कार्की र जोशी यसअघि बिदा भएका थापासँगै ०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका हुन् । जुम्लाका कार्की डेढ महिनाअघि मात्रै अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएका थिए ।

यसअघि जोशीका लागि भानु देउवा (कांग्रेस सभापति शेरबहादुर देउवाका सहयोगी) र कार्कीका लागि कांग्रेसकै उपसभापति पूर्णबहादुर खड्का गुप्तचर प्रमुख बनाउने जोड लगाएका थिए । अन्तमा कार्कीले बाजी मारेका छन् । अनुसन्धान विभाग हाल प्रधानमन्त्रीको प्रत्यक्ष मातहत राखिएको छ ।