टेकेन्द्र कार्की राष्ट्रिय अनुसन्धान विभागको प्रमुख नियुक्त


काठमाडौं । देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।
हुतराज थापा बिदा भएसँगै रिक्त उक्त पदमा कार्कीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । नयाँ नेतृत्वका लागि अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशी र कार्की प्रतिस्पर्धामा थिए ।
कार्की र जोशी यसअघि बिदा भएका थापासँगै ०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका हुन् । जुम्लाका कार्की डेढ महिनाअघि मात्रै अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएका थिए ।
यसअघि जोशीका लागि भानु देउवा (कांग्रेस सभापति शेरबहादुर देउवाका सहयोगी) र कार्कीका लागि कांग्रेसकै उपसभापति पूर्णबहादुर खड्का गुप्तचर प्रमुख बनाउने जोड लगाएका थिए । अन्तमा कार्कीले बाजी मारेका छन् । अनुसन्धान विभाग हाल प्रधानमन्त्रीको प्रत्यक्ष मातहत राखिएको छ ।