`

६ महिनामा विकास बजेट ११ प्रतिशत पनि भएन खर्च

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा विकास बजेट ११ प्रतिशत पनि खर्च भएको छैन । अर्थ मन्त्रालयका अनुसार ४ खर्ब भन्दा बढीको पुँजीगत बजेट ल्याएको सरकारले पुष २६ गतेसम्ममा ४३ अर्ब ६० करोड खर्च भएको छ । यो विनियोजित बजेटको १०.६९ प्रतिशत हो ।

गत आ.व.को यही अवधीमा सरकारले ५३ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको थियो । जुन विनियोजित बजेटको १५.२१ प्रतिशत रहेको थियो । यसले गत वर्षको भन्दा पनि अहिले विकास बजेट खर्च निराशाजनक रहेको देखाउँछ । जेन–जी आन्दोलन, रुग्ण ठेक्काका नाममा सम्झौता तोडिँदा त्यसको असर विकास बजेट कार्यान्वयनमा परेको सम्वद्ध पक्षहरुले बताउँछन् ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बजेट कार्यान्वयनको सन्दर्भमा पुजीगत खर्चमा केही समस्या देखिएको बताए । उनले जेन–जी आन्दोलनका कारण विकास बजेट चाहेअनुसार खर्च हुन नसकेको बताए । करिव एक डेढ महीना प्रशासनिक संयन्त्र अलमलमा पर्दा त्यसले बजेट कार्यान्वयन प्रभावकारी नभएको उनको भनाइ छ । यद्यपि अर्थ मन्त्रालयले बजेट कार्यान्वयन गर्ने निकायहरुलाई सहजीकरण गरेको र अबका दिनमा विकास बजेटमा उल्लेख्य सुधार आउने पाण्डेयले बताए ।

पाण्डेयले भने, ‘बजेट कार्यान्वयनको पाटो हेर्दा बजेटका मुख्य तीन शिर्षकहरु चालु खर्च जुन अपेक्षित नै छ । पुजीगत खर्चमा केही समस्या देखिएको छ । त्यो समस्या जेन–जी आन्दोलनका कारण पनि देखिएको हो । करिव एक डेढ महिना प्रशासनिक संयन्त्र अलमलमा परे । त्यसले पनि बजेट कार्यान्वयन प्रभावकारी नभएको हो । अर्थमन्त्रालयले बजेट कार्यान्वयन गर्ने निकायहरुलाई सहजीकरण गरेको छ । अबका दिनमा विकास बजेटमा उल्लेख्य सुधार आउनेछ ।’

पाण्डेयकाअनुसार कुनै ठेकदारले लामोसयम काम नगरेर बस्दा त्यसले विकासमा पार्ने प्रभाव र अहिलेका मौजुदा कानूनमा विचार गरेर रुग्ण ठेक्काबारे कतिपय निर्णयहरु गरिएको र त्यसले भोलीको विकास निर्माणमा सकारात्मक असर पार्नेछ ।
निर्माण व्यवसायीहरु पनि विकास निर्माण प्रभावित भइरहेको बताउँछन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विगतमा हचुवाका भरमा आयोजनाहरु छनौट गरिएर अघि बढाइँदा कतिपय आयोजनाहरुमा काम गर्न निर्माण व्यवसायीलाई समस्या भइरहेको बताए ।

उनकाअनुसार जति पनि त्यस्ता योजनाहरु छन् खारेज गरिनु पर्छ । प्रत्युत्पादक योजनाहरु जुन आवश्यक छैन त्यसलाई सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थाका आधारमा सुविस्ताका आधारमा कार्यालय र निर्माण कम्पनीको सहमतिमा अन्त्य गरिनुपर्ने उनको भनाइ छ । आयोजना अघि नबढ्नुमा कार्यालयको कमी कमजोरी पनि छन् भने निर्माण व्यवसायीको पनि हुन सक्छन् । त्यसमा कार्यालयहरुले दिनुपर्ने सम्पूर्ण, भुक्तानी दायित्व बहन गरेर ठेक्का अन्त्य गर्नुपर्ने सिंहको भनाइ छ । निर्माण कम्पनीको दोष भए त्यसको कार्यसम्पादन जमानत जफत गरेर अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष सिंहले भने, ‘जति पनि योजनाहरु प्रतिउत्पादक छन् ती योजनाहरुलाई खारेज गर्नुपर्छ । त्यस्ता प्रतिउत्पादक योजनाहरु जुन आवश्यक छैन त्यसलाई सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थाका आधारमा सुविस्ताका आधारमा कार्यालय र निर्माण कम्पनीको सहमतीमा अन्त्य गर्नुपर्छ । आयोजना अघि नबढ्नुमा जतिपनि कार्यालयको कमीकमजोरी छ, त्यसमा कार्यालयले दिनुपर्ने सम्पूर्ण, भुक्तानी दायित्व बहन गरेर ठेक्का अन्त्य गर्नुपर्छ । जतिमा निर्माण कम्पनीको दोषी छन् त्यसको कार्यसम्पादन जमानत जफत गरेर अन्त्य गर्नुपर्छ ।’ विकास खर्च नहुनुमा निर्माण व्यसायीले सरकारलाई र सरकारले निर्माण व्यवसायीलाई दोषरोपण गर्दै आइरहेका छन् । निर्माणमा रहेका वास्तविक समस्यालाई समाधान गर्न दुवै पक्षले चासो दिएको देखिँदैन ।

 

 

 

राजश्वले भेटेन कुनै लक्ष्य

काठमाडौं । अर्थ मन्त्रालयकाअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्मको राजश्व संकलन लक्ष्यभन्दा कम भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि तोकिएको १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक राजश्व लक्ष्यमध्ये मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो । तर मंसिर २० गतेसम्म जम्मा ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ, जुन लक्ष्यको ७८ दशमलव ७४ प्रतिशत हो ।

मंसिर महिनाका लागि ९५ अर्ब २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा ८० अर्ब २७ करोड रुपैयाँ मात्रै संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । यो लक्ष्यको ८४ दशमलव ३१ प्रतिशत हो । मंसिर २९ गते मात्रै ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयको विवरणमा उल्लेख छ । तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वार्षिक राजश्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

उक्त वर्ष मंसिरसम्म ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिइएकोमा मंसिर २९ गतेसम्म ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ संकलन भएको थियो । सो वर्ष मंसिर महिनामा मात्र ७६ अर्ब ७६ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । अर्थ मन्त्रालयकाअनुसार आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्दा राजस्व संकलनमा दबाब देखिएको हो । जेन—जी आन्दोलनका कारण उद्योग धन्दामा परेको असरले राजश्व संकलनमा समेत असर परिरहेको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।

अर्थका २५ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयले २५ उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले कात्तिक ३० गतेको निर्णयअनुसार उनीहरूलाई विभिन्न निकाय तथा कार्यालयहरूमा सरुवा गरेको हो । कमल लामिछाने र मञ्जु अधिकारीलाई ठूला करदाता कार्यालयमा पदस्थापन गरिएको छ भने भीमप्रसाद आचार्यलाई राजस्व अनुसन्धान विभागमा सरुवा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै, रामप्रसाद पाठकलाई अर्थ मन्त्रालयमा र अर्जुन न्यौपानेलाई वीरगञ्ज भन्सार कार्यालयको जिम्मेवारी दिइएको छ । अन्य उपसचिवहरूलाई पनि राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र करदाता सेवा कार्यालयहरूमा सरुवा तथा पदस्थापन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

हेर्नुस् सरुवा सूची

पुँजीगत खर्चमा भारी गिरावट, चालु शीर्षकमा बढ्यो

काठमाडौं । पुँजीगत खर्चमा भारी गिरावट देखिन थालको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवको हालसम्ममा सरकारले गरिरहेको पुँजीगत खर्च घटेको हो । सरकारी खर्चको हिसाब राख्ने अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु असोज १८ गते (मंगलवार) सम्म पुँजीगत शीर्षकमा छुट्टाइएको ४ खर्ब ७ अर्ब बजेट विनियोजन गरिएकोमध्ये २२ अर्ब खर्च भएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधीमा ३२ अर्ब ५६ करोड खर्च भइसकेको थियो ।

सरकारले पुँजीगत बजेट दीर्घकालीन योजनामा लगानी गर्छ । सडक, पुल, विद्यालय, अस्पताल, सिंचाई, ऊर्जा परियोजना निर्माण वा विस्तारका लागि खर्च गरिने बजेट हो । यस किसिमको खर्चले देशको उत्पादन क्षमता र दीर्घकालीन आर्थिक वृद्धि बढाउँछ । पुँजीगत खर्च विकासको गति जनाउने सूचक पनि हो । हाल साही शीर्षकमा छुट्टाइएको बजेट खर्च अघिल्लो वर्षको तुलनामा कम हुनुले विकासको गति सुस्त बन्दै गएको तथ्यबाटै प्रष्ट देखिएको हो । जेनजी आन्दोलनपछि बढ्दो अनिश्चिता र असुरक्षाको कारणले निर्माण व्यवसायीहरुले विकासका कामहरुमा तीव्रता दिएका छैनन् । अर्थतन्त्र बुझेको अर्थमन्त्री रहँदा पनि विकास खर्चमा देखिएको समस्याहरु हटाउन उनले चासो नदेखाउँदा विकासको गति सुस्त बनेको आकलन गर्न थालिएको छ ।

यता, चालु खर्च भने बढेको सरकारी तथ्यले देखाउछ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज १८ गते (मंगलवार) सम्म २ खर्ब ८२ अर्ब खर्च भएको छ । अघिल्लो आवको यो अवधिमा चालु शीर्षकमा यो वर्ष छुट्टाइएको ११ खर्ब ४० अर्ब बजेटमध्ये २ खर्ब ६४ अर्ब खर्च गरेको थियो । अघिल्लो वर्षको यो अवधिमा केही खर्च चालु शीर्षकमा खर्च बढेको देखिएको छ । चालु खर्च भनेको नियमित सञ्चालन खर्च हो । सरकारले कर्मचारी तलव भत्ता, कार्यालय खर्च, प्रशासनिक सेवा लगायतमा खर्च गर्ने गरेको छ ।

पूर्व प्रधानमन्त्रीलगायत ‘भीआइपीहरु’ को सुविधा तत्काल रोक्न अर्थको पत्र

काठमाडौं । सरकारी खर्च कटौतीमा जोड लगाइरहेका अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक तथा प्रशासनिक पूर्व पदाधिकारीको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेका छन् । अर्थमन्त्री खनालले पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीलगायतको सुविधा रोक्न शुक्रबार गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएका हुन् । अर्थ मन्त्रालयको पत्र अनुसार भीआइपीको सवारीसाधन फिर्ता गरिनेछ ।

यस्तै सुरक्षाकर्मी पनि फिर्ता गराइने भएको छ । भीआइपीका नाममा मन्त्रिपरिषद्बाट निर्णय गराएर जथाभावीरुपमा सुविधा उपभोग गर्दै आएकाहरुलाई तत्काल सवारीसाधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न तथा अन्य सेवा सुविधा स्थगन गर्न अर्थ मन्त्रालयले पत्र काटेको हो । अर्थमन्त्री खनालको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ५ गतेको बैठकले खर्च कटौतीको निर्णय गरेको थियो ।

पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीलगायतका भीआइपीलाई सुविधा उपलब्ध गराउने सम्बन्धमा कानुनी व्यवस्था छैन । सेना र प्रहरीका अवकाशप्राप्त हाकिमका घरमा काम गर्न बाध्य पारिएका सुरक्षाकर्मी पनि फिर्ता हुने भएका छन् । यसअघि अर्थले चालु खर्चमा व्यापक कटौती गर्ने निर्णय गरिसकेको छ । साथै, पूँजीगततर्फ खुद्रे आयोजना रोक्का गर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ । सो निर्णयबाट बच्ने रकम निर्वाचन, पुनर्निर्माण र राहतमा उपयोग गरिने छ। अर्थको खर्च कटौतीबाट १ खर्ब २० अर्ब रुपैयाँ हाराहारी रकम बच्ने अनुमान गरिएको छ ।

 

अर्थ मन्त्रालयमा आजदेखि ‘डिजिटल’ टिप्पणी

काठमाडौं । अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया आजदेखि डिजिटल स्वीकृतिबाट मात्र हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराएका हुन।

उनका अनुसार अबदेखि आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन(दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुनेछ । यसले समय, लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ । डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै अब कर्मचारीले हातले गर्ने प्रक्रिया अन्त्य हुने र सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा रहने मन्त्रालयले जनाएको छ ।

राजस्व सचिव घिमिरे वित्त आयोगमा सरुवा, अर्थमा एक मात्रै सचिव

काठमाडौं । अर्थ मन्त्रालयमा अबदेखि राजस्व सचिव नरहने भएका छन् । अन्तरिम सरकारले अर्थ मन्त्रालयमा एक जना मात्रै सचिव राख्ने भएको हो । यसअनुसार हालका राजस्व सचिव दिनेश घिमिरेलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । हाल अर्थ सचिव घनश्याम उपाध्याय रहेका छन् ।

मंगलवार मन्त्रिपरिषद्ले गृह सचिवमा रामेश्वर दंगाललाई लगिएको थियो भने गृहमा रहेको गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो । आयोगमा त्यसअघि काम गरिरहेको सुमन अर्याललाई रक्षा सचिवमा सरुवा गरिएको थियो । त्यसअघि रामेश्वर दंगालले रक्षा सचिवको भूमिका निर्वाह गरिरहेका थिए ।

 

अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्री खनालले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा महेश आचार्यलाई ल्याएका छन् । सो महाशाखा प्रमुख रहेको सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनाइएको छ ।

त्यस्तै, वित्तीय संघीयता महाशाखा प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख बनाएका छन् । यसअघि सहसचिव आचार्यले तालिम केन्द्रको प्रमुखको रुपमा काम गरिरहेका थिए । तीन सहसचिवको जिम्मेवारी आइतबारबाट हेरफेर गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।

अर्थ मन्त्रालयमा थालियो रङरोगन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रङरोगनको काम थालिएको छ । भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनबाट देखकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालय लगायत धेरै मन्त्रालय तथा सरकारी कार्यालयमा तोडफोड सहित आगजनी गरिएको थियो । हाल सो मन्त्रालय र विभिन्न कार्यालयहरूमा सरसफाइ लगायत रङरोगन काम सुरु भएको छ ।