`

उम्मेदवारी फिर्ता लिन आशिका तामाङको निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतसमक्ष निवेदन गरेकी छन् । शुक्रबार दिउँसो उनले इमेल र फोनमार्फत आफ्नो निर्णयको जानकारी दिएको निर्वाचन अधिकृत एकराज अधिकारीले बताए ।

निर्वाचन अधिकृत अधिकारीले भने, ‘उहाँले फोन र इमेल दुबैमार्फत उम्मेदवारी फिर्ता लिने सूचना दिएकी छन् । हामीले यो सूचना प्राप्त गरेका छौं, तर आधिकारिक निर्णय भने अझै प्रक्रिया क्रममा छ ।’ अधिकृतका अनुसार, आशिका तामाङ आफैं कार्यालयमा उपस्थित भएर सनाखत गराउने तयारीमा छन् । प्रतिनिधि सभा निर्वाचन ऐनको अनुसूची २२ अनुसार उम्मेदवारी फिर्ता गर्ने प्रक्रिया पूरा गर्न उनले फारम भरेर इमेल समेत पठाएकी छन् ।

उनी इमेलमा लेख्छिन्, ‘उम्मेदवारको नाममा मेरो पनि नाम समावेश भएकाले उक्त निर्वाचनमा उम्मेदवार हुन हाल इच्छा नभएको हुँदा, राजीखुसी प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा २५ (१) बमोजिम आफ्नो नाम फिर्ता गर्ने सूचना गर्दछु ।’

आशिका तामाङले यस विषयमा छलफल भइरहेको र साँझ २ बजेतिर निर्णय स्पष्ट हुने जानकारी दिइन् । यसअघि उनका जर्मन स्थायी आवसीय अनुमति पत्रको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको थियो । यस विषयमा उनले स्पष्ट पारेकी छन् कि, ‘त्यस कारणले मैले उम्मेदवारी फिर्ता लिन लागेको होइन ।’ अधिकारिक प्रक्रिया अनुसार, उम्मेदवारी फिर्ता गर्ने फाइनल निर्णय निर्वाचन अधिकृतले फारमको प्राप्ति र सनाखत पश्चात मात्र मान्यता दिनेछ ।

 

आशिका तामाङलाई रास्वपाले दियो टिकट, धादिङबाट उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर–१ मा चर्चित सामाजिक अभियन्ता आशिका तामाङलाई टिकट दिएको छ । सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन् । आशिकाको जन्मथलो यहि हो । रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ क्षेत्र नम्बर–१ मा चुनाव लड्न लागेकी हुन् । यसअघि उनले काठमाडौंको क्षेत्र नम्बर–९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन् ।

आशिकाले रास्वपामा आउनका लागि जेनजी घाइतेहरुको एजेण्डा अघि सारेकी थिइन् । उनको प्रस्तावमा तीन जना जेनजी घाइतेहरुलाई रास्वपाको बन्दसूचीमा समेटिएको छ भने केन्द्रीय समितिमा पनि लैजाने सहमति भएको छ । रास्वपा सरसफाइ लगायत समाजिक अभियानमा सक्रिय छिन् । उनी जर्मनीको बसाइ छोडेर चुनाव लड्ने ध्येयसहित नेपाल आएकी हुन् । उनले धादिङमा थुप्रै सामाजिक काम पनि गरेकी छन् ।

‘निमुखालाई छुट्याएको समानुपातिकमा त ‘मिस नेपाल’ ले पो अवसर पाउने रहेछन्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको बन्द सूचीप्रति अभियान्ता आशिका तामाङले असन्तुष्टि जनाएकी छन् ।

समानुपातिक सूचीमा सेलिब्रेटी, व्यापारी र आफन्तलाई राखिएको भन्दै उनले असन्तुष्टि पोखेकी हुन् । तामाङले नयाँ दलहरू पनि पुरानै दल जस्तै देखिएको भन्दै आपत्ति जनाएकी छन् ।

आशिकाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मलाई त लागेको थियो नयाँबाट एउटा पनि गल्ती हुने छैन र पुरानाले औंला उठाउने मौका पाउने छैनन् ! तर त्यस्तो त होइन रहेछ । यहाँ त निमुखा वर्ग र जातिहरूका लागि छुट्याइएको कोटाहरूमा त मिस नेपाल हुने रहेछन् । आफ्नो ससुराबा, देश बेचुवा ठेकेदारको छोरा, आफ्नो आगडि पछाडि दौडिरहने आसेपासे, हुँदाहुँदा छिमेकी र अझ त्यतिले नपुगेर सानोमा स्कुल पढ्ने साथी सांसद र मन्त्री हुने अवसर पाउने रहेछ !’

स्मरणीय छ, रास्वपाको समानुपातिक सूचीमा गायक प्रकाश सपुतदेखि गायिकाद्वय सत्यकला राई, डा. त्रिशला गुरुङ, अभिनेता आशिफ साह, अभिनेत्री रिमा विश्वकर्मा, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ र पूर्व मिस्टर नेपाल तथा चिकित्सक डा. रुपक विश्वकर्मा घिमिरे रास्वपाको समानुपातिक सूचीमा परेका छन् । रास्वपाले सभापति रवि लामिछानेको गृहजिल्ला चितवनबाट २१ जना सूचीमा पार्दा सुदूरपश्चिम प्रदेशबाट दुई जनामात्रै परेपछि पार्टी भित्र र बाहिर आलोचना भइरहेको छ ।