आशिका तामाङलाई रास्वपाले दियो टिकट, धादिङबाट उम्मेदवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर–१ मा चर्चित सामाजिक अभियन्ता आशिका तामाङलाई टिकट दिएको छ । सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन् । आशिकाको जन्मथलो यहि हो । रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ क्षेत्र नम्बर–१ मा चुनाव लड्न लागेकी हुन् । यसअघि उनले काठमाडौंको क्षेत्र नम्बर–९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन् ।
आशिकाले रास्वपामा आउनका लागि जेनजी घाइतेहरुको एजेण्डा अघि सारेकी थिइन् । उनको प्रस्तावमा तीन जना जेनजी घाइतेहरुलाई रास्वपाको बन्दसूचीमा समेटिएको छ भने केन्द्रीय समितिमा पनि लैजाने सहमति भएको छ । रास्वपा सरसफाइ लगायत समाजिक अभियानमा सक्रिय छिन् । उनी जर्मनीको बसाइ छोडेर चुनाव लड्ने ध्येयसहित नेपाल आएकी हुन् । उनले धादिङमा थुप्रै सामाजिक काम पनि गरेकी छन् ।
