`

इजरायल पुगे ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल अवतरण गरेका छन् । सोमबार हमासले इजरायली बन्धक रिहा गर्न थालेको र गाजामा युद्धविराम सम्झौता भएको केही दिनपछि उनी त्यहाँ पुगेका हुन् । बेन–गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि एयर फोर्स वनले तेल अभिभको होस्टेज स्क्वायरमाथि उडान ग¥यो, जहाँ दशौं हजार मानिस भेला थिए ।

यो पहिलो साता बन्धक गाजाबाट इजरायल फर्किएपछि र इजरायलीहरूलाई समर्थनको सन्देश दिन गरिएको थियो । ट्रम्पलाई स्वागत गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र राष्ट्रपति हर्जोग टार्माकमा उपस्थित थिए । ट्रम्पका ज्वाइँ जारेड कुशनर, छोरी इभान्का र अमेरिकी मध्य पूर्व राजदूत स्टिभ विटकफ पनि उपस्थित भए ।

ट्रम्पले सोमबार इजरायलको संसदलाई सम्बोधन गर्नेछन्। इजरायलका राष्ट्रपति इसहाक हर्जोगका अनुसार यस वर्षको अन्त्यमा उनलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिनेछ । ‘युद्ध समाप्त भएको छ,’ ट्रम्पले आइतबार वाशिंगटनबाट इजरायल उडान गर्दा एयर फोर्स वनमा पत्रकारहरूलाई भनेका थिए । उनी त्यसपछि ट्रम्प इजिप्ट जानेछन्, जहाँ इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग शर्म अल–शेखमा गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् ।

 

हमासले जीवित २० बन्धकलाई रिहा गर्दै, सूचीमा छैन विपिनको नाम

काठमाडौं । इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइसम्बन्धी अमेरिकी योजनालाई अनुमोदन गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो ।

प्रधानमन्त्री नेतन्याहूले यसलाई एक ऐतिहासिक विकासको संज्ञा दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आभार व्यक्त गरेका छन् । यसैबीच, राष्ट्रपति ट्रम्पले इजरायली बन्धकहरू सोमबार वा मंगलबारसम्ममा रिहा हुनसक्ने बताएका छन् । यो सम्झौताको पहिलो चरणमा इजिप्टमा इजरायल र हमासबीच सहमति भएको थियो ।

युद्धविराम र बन्धक रिहाइका अतिरिक्त, सम्झौताको पहिलो चरणमा इजरायलले सयौँ प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ । हमासले जीवित रहेका विश्वास गरिएका सबै २० बन्धकहरूलाई रिहा गर्नुपर्नेछ । त्यसपछि, मृत्यु भइसकेका २८ बन्धकहरूको शव फिर्ता गरिनेछ । यद्यपि, यसमा कति समय लाग्न सक्छ भन्ने स्पष्ट छैन । नेपालका विपिन जोशी र एक अर्का व्यक्तिको अवस्था भने अज्ञात रहेको छ ।

जीवित रहेका बन्धकहरूमा २१ वर्षीय मतन अंग्रेस्त,२७ वर्षीय जिव बरम्यान, २७ वर्षीय गाली बरम्यान, ३४ वर्षीय एलकाना बोहबोट, २१ वर्षीय रोम ब्राजलव्स्की,२० वर्षीय निमरोड कोहेन,२७ वर्षीय गुए गिल्बोओ दलाल, ३६ वर्षीय माक्सिम हरकिन, ३८ वर्षीय एइटन हर्न, २७ वर्षीय सेगेव कालफोन, २३ वर्षीय बार कुपरस्टेन, ४७ वर्षीय ओमरी मिरन, २४ वर्षीय एइटन अब्राहम मोर, २४ वर्षीय योसेफ चेम ओहाना, २३ वर्षीय एलन ओहेल, ३१ वर्षीय एभिनाटन ओर र २५ वर्षीय माटन जंगुकर छन् ।

उनीहरू कुन देशका नागरिक हुन् भन्ने चाहिँ सिएनएनले खुलाएको छैन । बाँकी रहेका २८ बन्धकमध्ये नेपालका विपिन जोशी र २० वर्षीय तामिर निम्रोडीको स्थिति अज्ञात रहेको भनेर सिएनएनले लेखेको छ । इजरायली मन्त्रिपरिषद्ले औपचारिक रूपमा सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम लागु हुने अपेक्षा गरिएको छ ।

इजरायली सेना गाजा पट्टीको करिब ५३ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा रहने गरी एक निश्चित रेखामा फिर्ता हुनेछ । गत हप्ता ह्वाइट हाउसले वितरण गरेको नक्साअनुसार, यो इजरायली सेना फिर्ता हुने तीन चरणमध्ये पहिलो हो । इजराइलका लागि नेपालका राजदूत प्रा. डा. धनप्रसाद पण्डितले विपिनबारे अहिलेसम्म कुनै जानकारी नआएको जनाएका छन् ।

गाजाबाट प्रियजन फर्कने आशामा तेल अभिवमा खुशी र आँशुसहित बन्दीहरूका परिवार

काठमाडाैं । करिब २४ महिनादेखि इजरायलले अनिश्चितता, पीडा र निराशाको गहिरो अन्धकार सहनु परेको थियो । तर, बिहीबार बिहान मध्य तेल अभिवको ‘होस्टेज स्क्वायर’ नामक स्थलमा खुशी, आँशु र राहतको मिश्रणसहित आशाको विस्फोट भयो । समाचार सार्वजनिक हुने बित्तिकै भिडमा खुशीको चिच्याहट मच्चियो । श्याम्पेनका बोतलहरू खोलेर सेलिब्रेसन गरियो, मिठाइ बाँडियो, अनि हाँसो र आलिङ्गनसहित आँशु बगाए– गाजामा बन्दी बनाइएका इजरायली नागरिकहरूको रिहाइ नजिकिएको खबरले स्क्वायरलाई हर्ष र भावनाले भरिदियो।

बन्दीहरू मुक्त गराउने अभियानको प्रमुख अनुहार मानिएकी इना जाङ्गाउकरले आफ्नो बन्धक छोराको नाम उच्चारण गर्दै उत्साहित स्वरमा चिच्याइन्, ‘मतन घर आउँदैछ !’ हात आकाशतिर उठाउँदै उनी ‘धन्यवाद !’ भन्दै भावनामा डुबिन्, जबकि वरिपरि समर्थकहरूको भिड, बन्धकका परिवारहरू र पहिले मुक्त भएका पूर्वबन्दीहरूले चोक भरिदिएका थिए । पत्रकारहरूलाई उनले भनिन्, ‘म मेरो छोरा मतनको गन्ध लिन चाहन्छु । मेरो एउटा मात्र सपना छ, उसलाई आफ्नै ओछ्यानमा सुतिरहेको देख्ने ।’

७ अक्टोबर २०२३ मा हमासको इजरायलमाथिको आक्रमणपछि जब उनीहरूको प्रियजनहरू अपहरणमा परे, त्यतिबेलादेखि यी परिवारहरू निरन्तर संघर्षमा छन् । उनीहरूले विश्व नेताहरूसँग भेटघाट गरेका छन्, इजरायली राजनीतिज्ञहरूसँग वादविवाद गरेका छन्, अनि आफ्नो परिवारका सदस्यहरूलाई दुःस्वप्नजस्तो अवस्थाबाट मुक्त गराउने प्रतिज्ञा कहिल्यै त्यागेका छैनन् ।

तर, बिहीबार– त्यो संघर्षको दिशानिर्देशक क्षण बन्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच बाँकी रहेका बन्धकहरूको रिहाइका लागि सम्झौता भएको घोषणा गर्नासाथ स्क्वायरमा उत्साह र आशाको लहर फैलियो । इजरायली तथ्याङ्कअनुसार, सुरुमा अपहरणमा परेका २५० जनामध्ये हाल गाजामा रहेका २० जना जीवित छन् र २८ जनाको मृत्यु भइसकेको छ ।

७ अक्टोबरको भयावह बिहानदेखि बन्धक परिवारहरूले प्रत्येक दिन, घण्टा र सेकेन्ड गन्दै बिताएका थिए । स्क्वायरमा राखिएको ‘काउन्टडाउन’ घडीले ती पीडाका क्षणहरू गन्दै आएको थियो । तर, आज ती सेकेन्डहरू अब स्वतन्त्रताको नजिक धकेलिँदै थिए, समयले बन्धकहरूको घरफिर्तीको आहट सुनाइरहेको थियो । रेबेका बोबोटले इन्स्टाग्राममा लेखिन्, ‘दुई वर्षदेखि म आफ्ना प्रियजनको जीवनका लागि लड्दै आएकी छु । यो त्यो क्षण हो– जब एउटा सानो केटाले आफ्ना बुबालाई अँगालोमा बेर्छ, जब मेरो परिवार फेरि जीवित हुन्छ ।’ उनका पति एल्काना ७ अक्टोबरमा बन्धक बनाइएका थिए ।

उत्सवको केन्द्रविन्दु राष्ट्रपति ट्रम्प नै बनेका थिए । धेरै इजरायली र बन्धक परिवारहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सम्झौतामा सहमत गराउन ट्रम्पको दबाब र मध्यस्थतालाई श्रेय दिए । स्क्वायरमा केही व्यक्तिहरू ट्रम्पको पोशाकमा सजिएका थिए, अमेरिकी झण्डा फहराइरहेका थिए, अनि भिडले ‘धन्यवाद, ट्रम्प !’ भन्दै नारा लगाउँदै उनलाई नोबेल शान्ति पुरस्कारको योग्य ठहर गरे ।

तर, सबैभन्दा गहिरो कुरा– ७ अक्टोबर २०२३ पछि इजरायलमा फैलिएको उदासी र पीडाको वातावरणलाई पहिलोपटक आशाले प्रतिस्थापन गरेको देखियो । होस्टेज स्क्वायरमा लामो समयपछि जीवन र मुस्कान फर्किएको थियो । त्यो दिनको अन्धकार अझै स्मृतिमा बाँकी भए पनि आजको रातमा इजरायलीहरूका आँखामा उज्यालो देखिन्थ्यो । युद्धको प्रारम्भमा मुक्त भएका पूर्व बन्धक ओमर वेन्कर्टले सम्झौताको समाचार सुनेपछि भावनात्मक स्वरमा भने, ‘मलाई टाउकोदेखि खुट्टासम्म चिसो महसुस भइरहेको छ । म कल्पना पनि गर्न सक्दिनँ, हामी एक राष्ट्रका रूपमा कति गहिरो खुसी महसुस गर्न सक्षम हुनेछौँ ।’

 

बढ्यो विपिन जोशी रिहाइको आशा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले गाजामा शान्ति स्थापनाका लागि युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् । उनले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसलमार्फत अमेरिकाले तयार पारेको गाजा शान्ति योजनाको पहिलो चरणमा उनीहरूले हस्ताक्षर गरेको घोषणा गरेका हुन् ।

ट्रम्पले लेखेका छन्, ‘यसको अर्थ सबै बन्धकहरूलाई चाँडै रिहा गरिनेछ र इजरायलले सहमति भएको सीमामा आफ्ना सेना फिर्ता बोलाउनेछ । यो बलियो, स्थिर र दिगो शान्तितर्फको पहिलो कदम हुनेछ । सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ ।’

उनले यो सम्झौता अरब र मुस्लिम देश, इजरायल तथा यसका सबै छिमेकी र अमेरिकाको लागि एक महत्वपूर्ण र ऐतिहासिक दिन भएको पनि उल्लेख गरेका छन् । अमेरिकाका राष्ट्रपति ट्रम्पले यस विषयमा मध्यस्थता गरेकामा कतार, इजिप्ट र टर्कीलाई धन्यवाद दिएका छन् ।

ट्रम्पले भनेअनुसार हमासले सबै बन्धक रिहा गरे नेपाली विद्यार्थी विपिन जोशी पनि छाडिने छन् । बुधबार राति मात्रै विपिन जोशी बोलिरहेको पुरानो भिडिओ सार्वजनिक भएको छ । योसँगै उनी जीवितै रहेको आशा गरिएको छ । तर भिडिओ दुई वर्ष पुरानो भएकाले उनको वर्तमान अवस्था अझै स्पष्ट भइसकेको छैन ।

बीबीसीका अनुसार इजरायल र हमासबीचको सम्झौतामा बिहीबारको दिन इजिप्टमा हस्ताक्षर हुनेछ । यस सम्झौताअनुसार पहिलो चरणमै २० जना इजरायली बन्दीहरूलाई जीवितै मुक्त गरिनेछ । गाजामा मानवीय सहायता पुगोस् भनेर पाँचवटा नाका तुरुन्त खोलिनेछ । एशोसिएटेड प्रेस (एपी) का अनुसार, हमासले यो साता नै सबै २० जना जीवित बन्दीहरूलाई मुक्त गर्नेछ । इजरायली सेना गाजाका अधिकांश भागबाट फिर्ता हुँदैछ ।