`

मन्त्री बनेकोबारे कुलमानको जवाफ : परिस्थितिले जिम्मेवारी लिन वाध्य बनायो

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले गैरदलीय अन्तरिम सरकारमा आफ्नो सहभागिताबारे उठिरहेका आलोचना र टिकाटिप्पणीप्रति धारणा सार्वजनिक गरेका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफूलाई लक्षित गर्दै फैलाइएका भ्रमपूर्ण टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले सामाजिक सञ्जालमार्फत आफ्नो पक्ष राखेका हुन् ।

घिसिङका अनुसार अन्तरिम सरकारमा मन्त्री बन्नुअघि नै उनले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष गैरदलीय सरकारमा आफ्नो सहभागिता उपयुक्त नहुन सक्ने विषय स्पष्ट रूपमा राखेका थिए । तर आन्दोलनपछिको असहज राजनीतिक अवस्था, राज्य संरचनाको लगभग शून्य अवस्था र युवा पुस्ता—विशेषगरी जेनजी आन्दोलनमा सहभागी युवाहरूको आग्रहका कारण उनले जिम्मेवारी स्वीकार गरेको बताएका छन् ।

उनले लेखेका छन्, ‘गैरदलीय सरकार भएकाले मेरो सहभागिता उपयुक्त नहुन सक्छ भन्ने कुरा मैले सुरुमा नै सम्माननीय प्रधानमन्त्रीसमक्ष राखेको थिएँ । तर तत्कालीन परिस्थितिमा मेरो भूमिका आवश्यक रहेको र भविष्यमा राजनीतिमा प्रवेश गर्नुपरेमा राजीनामा दिएर जान सकिने आश्वासनपछि मैले जिम्मेवारी सम्हालेको हुँ ।’

घिसिङले प्रधानमन्त्री सुशीला कार्कीले पनि यस विषयलाई विभिन्न सार्वजनिक मञ्चहरूमा उल्लेख गर्दै आएको दाबी गरेका छन् । आन्दोलनपछि देशको प्रशासनिक र संरचनात्मक अवस्था कमजोर बनेको समयमा चुनौती स्वीकार गर्दै आफूले जिम्मेवारी लिएको र आफ्नो अडान स्पष्ट राखेर काम गरेको उनको भनाइ छ ।

राजनीतिक विवाद उठेपछि आफूले पदबाट राजीनामा दिएको स्मरण गराउँदै घिसिङले आफू पदलोलुप नभएको स्पष्ट पारेका छन् । ‘म पदको पछि लाग्ने व्यक्ति होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने मान्छे हुँ’, उनले लेखेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको ११५ दिनको अवधिमा भएका कामहरूले आफ्नो जिम्मेवारीबोध प्रमाणित गर्ने घिसिङको दाबी छ ।

उनले आफ्नो विरुद्ध नियोजित रूपमा बदनाम गराउने उद्देश्यले फैलाइएका भ्रमपूर्ण प्रचार र टिकाटिप्पणीबाट प्रभावित नहुन आम नागरिकलाई आग्रह गरेका छन् । उज्यालो नेपाल निर्माणका लागि आफ्नो जीवन राजनीतिमा समर्पित गर्दै निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन् ।

चुनावको मुखमा कुलमानलाई ‘धक्का’, थेगिमसहित तीन नेताले छाडे साथ

काठमाडौं । पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमसहित तीन नेताले उज्यालो नेपाल पार्टी परित्याग गरेका छन् । उज्यालो नेपाल पार्टीमा केन्द्रीय सदस्य रहेका थेगिमसहित अर्का केन्द्रीय सदस्य ज्ञानबहादुर गुरूङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजम (दाह्री) ले विज्ञप्ती जारी गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।

बुधबार उनीहरूले संयुक्त रूपमा विज्ञप्ती जारी गरी पार्टीभित्र आन्तरिक लोकतन्त्रको कमजोरी, विधि–प्रक्रियाको अस्पष्टता तथा पहिचानसम्बन्धी एजेन्डाहरुमा स्पष्ट र लिखित धारणा प्रस्तुत हुन नसकेको बताएका छन् । ‘हाम्रो वैचारिक प्रतिबद्धता र आदर्शहरूबाट विचलन भइरहेको अनुभूति गर्‍यौं,’ विज्ञप्तिमा अगाडि भनिएको छ,’ समानुपातिक बन्द सूचीको उम्मेदवार डकेन्द्रसिंह थेगिमको समेत आजकै मितिबाट उज्यालो नेपाल पार्टीको साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र रूपमा अगाडि बढ्ने निर्णय लिएको सार्वजनिक रूपमा घोषणा गर्दछौं ।’

थेगिमसहितका नेताहरूले आगामी कार्यक्रम पनि घोषणा गरेका छन् । उनीहरूले एकतापूर्वको संयुक्त पहिचानवादी मोर्चालाई पुनः विस्तार गर्दै बृहत् पहिचानवादी आन्दोलनका लागि सशक्त संरचना निर्माण गर्ने बताएका छन् । त्यस्तै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूको घोषणा पत्रमा अनिवार्य रूपमा पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र पूर्ण समानुपातिकप्रति स्पष्ट प्रतिबद्धता गराउन दलहरूमाथि दबाब सिर्जना गर्ने नीति लिएको छ ।

त्यसैगरी ‘नो कोशी, नो केबलकार’ अभियान अन्तर्गत मुक्कुमलुङ, खुवालुङ, बोझेनीलगायत धार्मिक–सांस्कृतिक स्थलमाथि भइरहेको अतिक्रमणविरूद्ध एकताबद्ध प्रतिरोध गर्ने उनीहरूले जनाएका छन् । ती एजेण्डाहरू दलको घोषणापत्र र उम्मेदवारको प्रतिबद्धतापत्रमा पनि अनिवार्य रूपमा समावेश गराउन पहल गर्ने उनीहरूले बताएका छन् ।

त्यस्ता एजेण्डा नबोक्ने दल र उम्मेदवारहरू विरूद्ध नो एजेन्डा, नो भोट अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अभियानअन्तर्गत ‘नो एजेण्डा, नो भोट’, ‘नो कोशी नो भोट’ उल्लिखित पर्चा वितरण तथा घरदैलो गरिने उनीहरूले विज्ञप्तीमार्फत जनाएका छन् । त्यससँग सम्बन्धित अन्तरक्रिया र छलफलसँगै नो भोट सम्बन्धी जनसभा तथा कोणसभा गर्ने घोषणा उनीहरुले गरेका छन् । उज्यालो नेपाल र रास्वपाबीचको एकता भाँडिएपछि पनि थेगिम उज्यालो नेपाल पार्टीमै आबद्ध भएका थिए ।

 

 

 

 

 

कुलमानका मान्छेहरु अर्को बन्दसूचीमा छिरे

काठमाडौं । उज्यालो नेपाल पार्टीका कम्तीमा २० नेताहरू राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूचीमा समावेश भएका छन् । जेनजी आन्दोलनमा घाइते भएका युवा राजेश पोर्तेल यो परिवर्तन पार्टीका अध्यक्ष हुन् । पोर्तेलले अधिकांश जेनजी युवाहरूलाई नै समावेश गरेर पार्टी दर्ता गरेका थिए । पार्टीले समानुपातिक उम्मेदवारहरुको बन्दसूची पनि बुझाइसकेको छ । उक्त सूचीमा रहेका नामहरु फिर्ता लिएर उज्यालो नेपालका तर्फबाट नाम समावेश गरिएको हो ।

उज्यालो नेपालका संस्थापक अध्यक्ष रहेका अनुपकुमार उपाध्याय खस आर्यतर्फ पहिलो स्थानमा रहेका छन् । उनी रास्वपाको पनि बन्द सूचीमा थिए । रास्वपाबाट नाम फिर्ता लिएर उनी यता आएको बुझिएको छ । केन्द्रीय सदस्य रिमा विश्वकर्मा भने रास्वपाकै सूचीमा यथावत छिन् ।

दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने निर्णय गर्दा निर्वाचन आयोगमा समानुपातिक बन्दसूची बुझाउने अवसर गुमाइसकेको उनेपाले अब राष्ट्रिय परिवर्तन पार्टीले बुझाएको बन्दसूची हेरफेर गर्दै अद्यावधिक गर्न लागेको हो । उनेपा अध्यक्ष कुलमान घिसिङले चुनाव तालमेलको लागि अन्य साना दलहरुसँग पनि छलफल गरिरहेको खबर बाहिरिएको छ ।

कुलमान फेरि रास्वपासँग छलफलमा

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि समानुुपातिकतर्फको सूची बुझाउने समय सकिँनै लाग्दा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहले बार्ता गर्ने भएका छन् । कुलमानलाई मनाउने अन्तिम प्रयासस्वरुप उनीहरूबीच छलफल हुन लागेको हो । ‘हाम्रो र रविजीको टिमबीच अहिले छलफल भइरहेको छ,’ बालेन निकट स्रोतले भन्यो, ‘अब शीर्ष तीन नेता बस्दै हुनुहुन्छ ।’

कुलमानसँग वार्ता गर्न रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट भर्खरै बाहिरिएका छन् । सोमबार राति अबेरसम्म रवि, बालेन र कुलमानबीच छलफल चलेको थियो । तर, सहमति हुन सकेको थिएन । हिजो सहमित हुन नसकेपछि उनीहरुबीच आज फेरि छलफल गर्ने समझदारी बनेको थियो ।

रवि र बालेनबाट अलग्गिए कुलमान, जुटे समानुपातिक सूची तयारीमा

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पक्षबीच सम्भावित सहकार्य तथा एकताको प्रयास अन्ततः असफल भएको छ । पदीय तथा शक्ति बाँडफाँटमा सहमति जुट्न नसक्दा उनेपा अब छुट्टै रूपमा निर्वाचन प्रक्रियामा अघि बढ्ने निष्कर्षमा पुगेको हो ।

आइतबार राति रास्वपा सभापति रवि लामिछाने, मेयर बालेन्द्र शाह र उनेपाका संरक्षक कुलमान घिसिङबीच भएको निर्णायक छलफल सहमतिविना टुंगिएको उनेपाका एक नेताले जानकारी दिए । उनका अनुसार छलफलका क्रममा उनेपामाथि अपमानजनक हुने गरी शक्ति बाँडफाँटको प्रस्ताव आएको भन्दै कुलमान घिसिङले त्यसलाई अस्वीकार गरेका थिए ।

ती नेताले भने, ‘२० प्रतिशतभन्दा कम सहभागिताको प्रस्ताव आयो, जुन हामीलाई स्वीकार्य भएन । त्यसपछि एकताको सम्भावना कमजोर बन्यो ।’ बैठकपछि सोमबार बिहान थप छलफल गर्ने भनिए पनि त्यसतर्फ कुनै पहल नभएको पनि उनेपाले जनाएको छ । एकताका प्रयास असफल भएपछि उनेपाले समानुपातिक तर्फका उम्मेदवार चयन प्रक्रियालाई तीव्र बनाएको छ । पार्टी प्रवक्ता डा. राजु थापाले अब उनेपा आफ्नै दलगत निर्णयअनुसार बन्दसूची तयार पार्ने जानकारी दिए । ‘एकता सम्भव नभएपछि हामी समानुपातिक उम्मेदवारको सूची अन्तिम रूप दिन जुटेका छौँ’, उनले भने ।

उनेपाले यसअघि रास्वपा, मेयर बालेन शाह पक्ष तथा अन्य केही दलसँग संवाद गरेको थियो । विशेषतः बालेन शाह पक्षसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको थियो । बालेन रास्वपासँग नजिकिएपछि त्रिपक्षीय संवाद समेत भएको थियो । तर पदीय बाँडफाँट र नेतृत्व भूमिकामा सहमति नजुट्दा प्रक्रिया अगाडि बढ्न सकेन । बालेन शाह पक्षका एक नेताका अनुसार आइतबारको वार्तामा बालेन र महानगरका केही नेताहरू कुलमान घिसिङलाई समेटेर अघि बढ्न लचक देखिएका थिए । तर रास्वपातर्फबाट त्यति उत्साह नदेखिएको दाबी गरिएको छ ।

‘यदि सबै पक्षबाट इच्छाशक्ति देखिएको भए समाधान सम्भव थियो’, ती नेताले बताए । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको नाम पेस गर्ने अन्तिम समयसीमा तोकिसकेको अवस्थामा उनेपाले समावेशी मापदण्डअनुसार ११० जनाको सूची तयारीमा अन्तिम तयारी गरिरहेको जनाएको छ । एकता प्रयास विफल भए पनि उनेपा आफ्नै राजनीतिक एजेण्डा र संगठनात्मक संरचनासहित चुनावी मैदानमा उत्रने तयारीमा देखिएको छ ।

 

 

यस्तो छ उज्यालो नेपाल पार्टीको घोषणापत्र (पूर्णपाठ)

काठमाडौँ । काठमाडौँमा आयोजित विशेष कार्यक्रममा कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ ले आफ्नो स्थापनासँगै पहिलो घोषणापत्र सार्वजनिक गरेको छ । २०८२ सालको ‘नवयुवा (जेनजी) विद्रोह’ लाई आधार मानेर गठन भएको दाबी गरिएको यो नयाँ राजनीतिक शक्तिले देशमा दीर्घकालीन स्थिरता र सुशासन ल्याउन संविधानका मुख्य धारामा संशोधन अपरिहार्य भएको निष्कर्ष प्रस्तुत गरेको छ ।

घोषणापत्रले विद्यमान शासकीय संरचना स्थिर सरकार निर्माण गर्न असफल भएको दाबी गर्दै सात बुँदे संशोधन प्रस्ताव सार्वजनिक गर्छ । पार्टीको अनुसार निर्वाचन प्रणालीमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी सुधार आवश्यक छ । साथै प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पाँच सदस्यीय मन्त्रिपरिषद् कायम गर्ने प्रणाली अपनाउनु पर्ने उल्लेख छ । प्रदेश सभाको संरचना हटाएर स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुने ‘प्रदेश परिषद्’ मार्फत प्रदेश स्तरीय ऐन पारित गर्ने व्यवस्था पनि प्रस्तावित छ ।

सङ्घीयताको मूल भावना कायम राख्दै देशको भूगोल र आर्थिक क्षमता हेरेर प्रदेश तथा स्थानीय तहको संख्या पुनरावलोकन गर्नुपर्ने पार्टीको धारणा छ । शासकीय सुधारका क्रममा सांसद नभएका विशेषज्ञलाई मन्त्री बनाउन सकिने प्रावधान आवश्यक देखाइएपनि परराष्ट्र, गृह, कानून र रक्षा मन्त्रालयको नेतृत्व भने निर्वाचित सांसदलाई मात्र दिनुपर्ने उल्लेख गरिएको छ । घोषणापत्रले न्यायपालिकामा देखिने दलीय प्रभाव अन्त्य गर्न न्यायपरिषद् पुनर्संरचनाको पक्ष लिन्छ ।

स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गर्नुपर्ने मागसहित राजनीतिक स्थिरता सुनिश्चित गर्न प्रधानमन्त्री निर्वाचित भएसँगै संसद्को आधा कार्यकाल सरकार चलाउने ग्यारेन्टी रहने व्यवस्था अनिवार्य हुनुपर्ने अडान राखिएको छ । एउटै क्षेत्रमा तीनपटक निरन्तर उम्मेदवारी दिन नपाइने व्यवस्था र समानुपातिक तथा मनोनीत सांसदलाई एक कार्यकालसम्म मात्र सुविधा दिने प्रावधान पनि प्रस्तावित छन् । घिसिङ नेतृत्वमा ‘चिलिमे मोडल’ र लोडसेडिङ अन्त्य अभियानलाई प्रेरणाको स्रोत बताउँदै पार्टीले आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई मुख्य लक्ष्य बनाएको छ ।

राज्यको क्षमता वृद्धि गर्दै गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई राज्यको जिम्मेवारी बनाउने र स्वदेशी पुँजी परिचालन गरी रोजगारी सिर्जना गर्ने योजना घोषणापत्रमा समावेश छ । पुराना दलहरूले जनमुखी शासनमा असफल भएको आरोप लगाउँदै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र अवैध सम्पत्ति जफत गर्ने कठोर नीति अख्तियार गर्ने घोषणा गरिएको छ । जेनजी आन्दोलनलाई संस्थागत गर्ने उद्देश्यले स्थापना भएको दाबी गरेको पार्टीले स्वदेश तथा विदेशमा रहेका सक्षम, इमानदार र मेधावी नेपालीहरूलाई खुलेर सहभागी हुन आह्वान गरेको छ । पार्टी संरचना चुस्त, प्रविधिमैत्री र उत्कृष्टताका आधारमा नेतृत्व छनोटको प्रणालामा आधारित हुने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
पूर्णपाठ

 

कुलमानको पार्टी घोषणा सभामा पुगिन् सुमना श्रेष्ठ, मञ्चमै आसिन

काठमाडौं । कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ पनि पुगेकी छन् । रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनी प्रज्ञा प्रतिष्ठानमा चलिरहेको घोषणा सभामा पुगेकी हुन् । उनी पनि संलग्न रहेर पार्टी बनाउने विषयमा यसअघि धेरै चरणमा कुराकानी भएको थियो । तर श्रेष्ठसँग कुरा मिलेको थिएन । उनी शुभकामना दिनका लागि मात्र सभामा पुगेकी हुन् कि दलकै सदस्यको रुपमा आउने हुन् खुलिसकेको छैन ।

उनलाई अतिथिका रुपमा मञ्चमै आसनग्रहण गराइएको गराइएको छ । कुलमान घिसिङले पार्टी खोल्ने तयारी गर्दैगर्दा उनी कुलमानको पार्टीमा सहभागी हुने बताइएको थियो । पछि पार्टीको नाममा चित्त नबुझेको भन्दै उनी उक्त पार्टीमा नरहने खबर बाहिरिएको थियो । निर्वाचन आयोगमा अध्यावधिक भएको पार्टी पदाधिकारीको सूचीमा समेत उनको नाम उल्लेख थिएन । तर अहिले पार्टीको औपचारिक घोषणा कार्यक्रममा भने सहभागी भएकी छिन् । २०७९ सालको निर्वाचनपश्चात रास्वपाबाट समानुपातिक सांसद हुँदै शिक्षामन्त्री बनेकी श्रेष्ठले केही समयअघि मात्रै रास्वपा छोडेकी थिइन् ।

सरकारको नेतृत्वकर्ताले गोली चलाउने आदेशबारे थाहा छैन भन्नु लाजमर्दाे: रिमा विश्वकर्मा

काठमाडौं । ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ की केन्द्रिय सदस्य रिमा विश्वकर्माले देशले आज जवाफदेही मान्छे खोजिरहेको बताएकी छिन् । आज (बुधबार) पार्टीको औपचारिक घोषणा कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै केन्द्रिय सदस्य विश्वकर्माले यस्तो बताएकी हुन् । उनले यहाँ कोही कसैको भर परेर देश नबन्ने भन्दै आफू स्वयम् देशका लागि अगाडि बढ्ने प्रण लिएको बताइन् ।

उनले एमाले अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भदौ २३ गते भएको जनेजी आन्दोलनमा गोली कसले चलाउने आदेश दियो भन्ने विषयमा आफूलाई थाहा छैन भन्नुु लाजमर्दाे कुरा भएको बताइन् । उनले भनिन्, ‘भदौ २३ गते भएको आन्दोलनमा गोली चलाउने आदेश कसले दियो भनेर देशको नेतृत्व गर्ने पदमा बसेकाले थाहा छैन भन्नु लाजमर्दाे कुरा हो ।’

उनले आफ्नो जीवनमा राजनीति चेत आएसँगै सबैभन्दा बढी प्रभाव पार्ने निर्णय नै लोडसेडिङ अन्त्यको निर्णय भएको बताएकी छन् । ‘देशले परिणाममुखी नेतृत्व खोजिरहेको छ । म जन्मिएदेखि जब राजनीतिक चेत ममा आयो । यो देशमा सरकारमा बसेर कसैको नेतृत्वले मेरो जीवन र दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको थियो र असर गरेको थियो भने त्यो लोडसेडिङको निर्णय थियो,’ उनले भनिन् । उनले सोही दिनदेखि कुलमान घिसिङलाई अगुवा मानेको पनि सम्बोधनको क्रममा बताइन् ।

‘मैले त्यही दिन कुलमान घिसिङलाई आफ्नो अगुवा मानेको थिएँ । १८ घण्टे लोडसेडिङ हटाएर कुलमान जोजोले तपाईं हाम्रो घरमा उज्यालो त ल्याइसक्नु भयो,’ उनले भनिन्, ‘अब उहाँकै नेतृत्वमा हामी देशको भविष्य उज्यालो बनाउने अभियानमा लागेका छौं । यो अभियान देशलाई माया गर्ने हरेक नेतृत्वको हो ।’ उनले सक्रिय राजनीतिमा सहभागी हुने यो नै उपयुक्त समय रहेको बताइन् । ‘अब सक्रिय राजनीतिमा आउन ढिला भइसक्यो । सक्रिय राजनीतिमा आउने उपयुक्त समय आज र अहिले नै हो,’ विश्वकर्माले भनिन् ।

 

 

‘उज्यालो नेपाल पार्टी’ द्वारा निर्वाचनमा उम्मेदवार बन्न आवेदन आह्वान

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ । सो पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरुले आगामी मंसिर २९ गतेभित्र आवेदन दिन आग्रह गरेको हो ।

निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्न सक्ने व्यक्तिहरुबाट उम्मेदवारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले जानकारी दिए ।
उनले भने, ‘उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्न सक्ने व्यक्तिहरुबाट उम्मेदवारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गर्दछ ।’

आवेदन दिँदा आफूले उठन चाहेको निर्वाचन क्षेत्र उल्लेख गर्न पनि सो पार्टीले भनेको छ । प्रवक्ता थापाले उम्मेदवारी दिँदा उज्यालो नेपाल बनाउने मार्गचित्रसहितको उम्मेदवारलाई प्राथमिकता दिइने बताए । उज्यालो नेपाल पार्टी मंसिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । आज पत्रकार सम्मेलन गरेर १७ गते, दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा सभा हुने जानकारी गराइएको हो । कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री कुलमान घिसिङ रहने छन् । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने समेत जनाइएको छ ।

पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै आएका होइनौं । हामीसँग उज्यालो सपनालाई साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ । आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व छ । कुरा गरेर होइन, कामबाट प्रमाणित नेतृत्व छ ।’ उज्यालो नेपाल पार्टी, समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, संगठन, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको जनाइएको छ । जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समृद्ध राष्ट्र निर्माणार्थ परिणाममुखी संवादमार्फत एकजुट हुन हार्दिक आह्वान गरेको छ ।