`

अशोक राईको जसपा विभाजन, राजेन्द्र श्रेष्ठसहितका नेता नेकपा जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकताका लागि वार्ता गरिरहेको दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राई एकतामा नजाने भएका छन्। उनी एकताका लागि तयार नभएपछि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ६ जना नेताहरूले नेकपामा समाहित हुने घोषणा गरेका छन्। उनीहरू सबै जसपाको केन्द्रीय कार्यकारिणी सदस्य हुन्।

त्यस्तै रणध्वज लिम्बु (कन्दङ्वा), परशुराम बस्नेत, दुर्गामणि देवान, डा. पुष्पराज राजकर्णिकार र कृष्णबहादुर घजु रहेका छन्।

नेकपामा समाहित हुने निर्णय गरेका श्रेष्ठले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसाल्न अध्यक्ष अशोक राई इच्छुक नदेखिएपछि आफूूहरुले अलग बाटो रोजेको बताए।

श्रेष्ठले पछिल्लो पटक केन्द्रीय कार्यकारिणीको बैठक बस्दा १३ जना उपस्थित भएको र त्यसमध्य आधा आफूहरुसँगै जान तयार रहेको बताए।

उनीहरुले अब नेकपासँग औपचारिक सम्झौता गर्ने छन्। वार्ताबाट १० बुँदे सम्झौताको मस्यौदा तयार गरिएको थियो।

 

नेकपा र जसपाबीच एकताका लागि १० बुँदे सहमति पत्रको मस्यौदा तयार

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीच एकताका लागि सहमतिको १० बुँदे पत्रको मस्यौदा तयार भएको छ।

बिहीबार नेकपाको केन्द्रीय कार्यालयमा दुवै पार्टीका वार्ता समितिबीच भएको बैठकमा सहमतिका लागि १० बुँदे मस्यौदा पत्र तयार पारिएको हो।

 यसअघि शनिबार र बुधबार बसेको वार्ता समितिको बैठकले दुई पार्टीबीचका सहमति र असहमतिका विषय पहिल्याएको थियो।बिहीबार वार्तामा सहभागी नेकपा नेता प्रकाश ज्वालाले १० बुँदे सहमति पत्रको मस्यौदा तयार भएको र भोलि अन्तिम रुप दिइने बताए। उनका अनुसार आजको बैठकमा आएका सुझावलाई समेटेर मस्यौदालाई भोलि अन्तिम रुप दिने तयारी छ। त्यसपछि वार्ता समितिसहित नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र जसपा अध्यक्ष अशोक राई बसेर एकताकै अन्तिम टुंगो लगाउनेछन्। सम्भवतः भोलि नै उक्त सहमति पत्रमा हस्ताक्षर गरिने छ।

दुई पार्टीबीच नेपाली विशेषताको समाजवादलाई आगामी क्रान्तिको कार्यदिशा बनाउने सहमति भएको छ। त्यस्तै मागर्दशक सिद्धान्तका रुपमा माक्र्सवाद र लेनिनवादलाई मान्न जसपा तयार भएको छ।

त्यस्तै पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता हुने कुरामा पनि दुवै पार्टी सहमत भएका छन्। साथै  तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न दर्जन कम्युनिस्ट घटकबीच नेपाली कम्युनिस्ट पार्टी बनाउन भएको १८ बुँदे सहमतिलाई अनुमोदन गरिने छ।

बाबुराम र जनार्दनलाई साक्षी राखेर सुदन, सन्तोष र दुर्गाबीच ५ बुँदे सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती र नेपाल समाजवादी पार्टी नयाँ शक्तिकी संयोजक दुर्गा सोबबीच पाँच बुँदे सहमतिमा हस्ताक्षर भएको छ।

उनीहरूबीच ललितपुरमा भएको लामो वार्तापछि सहकार्य गरेर अगाडि बढ्न पाँच बुँदे सहमति भएको हो।

सहमतिपछि जारी गरिएको पत्रअनुसार नेपालको राजनीतिक समग्र पुनर्संरचना गर्ने लक्ष्यसहित नेपाल समाजवादी पार्टी नयाँ शक्ति प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधिसभाका निवर्तमान सदस्य सन्तोष परियार एक मत भएको उल्लेख छ ।

सहमतिमा एकता तथा ध्रुवीरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउने उल्लेख छ। सहमतिमा मङ्सिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्ने सहमति भएको बताइएको छ।

एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिन्ह एउटै बनाउने भएका छन्।

देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरेका छन्। भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरूलाई हातेमालो गर्न समेत अपिल गरेका छन्।