नेकपा र जसपाबीच एकताका लागि १० बुँदे सहमति पत्रको मस्यौदा तयार
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीच एकताका लागि सहमतिको १० बुँदे पत्रको मस्यौदा तयार भएको छ।
बिहीबार नेकपाको केन्द्रीय कार्यालयमा दुवै पार्टीका वार्ता समितिबीच भएको बैठकमा सहमतिका लागि १० बुँदे मस्यौदा पत्र तयार पारिएको हो।
यसअघि शनिबार र बुधबार बसेको वार्ता समितिको बैठकले दुई पार्टीबीचका सहमति र असहमतिका विषय पहिल्याएको थियो।बिहीबार वार्तामा सहभागी नेकपा नेता प्रकाश ज्वालाले १० बुँदे सहमति पत्रको मस्यौदा तयार भएको र भोलि अन्तिम रुप दिइने बताए। उनका अनुसार आजको बैठकमा आएका सुझावलाई समेटेर मस्यौदालाई भोलि अन्तिम रुप दिने तयारी छ। त्यसपछि वार्ता समितिसहित नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र जसपा अध्यक्ष अशोक राई बसेर एकताकै अन्तिम टुंगो लगाउनेछन्। सम्भवतः भोलि नै उक्त सहमति पत्रमा हस्ताक्षर गरिने छ।
दुई पार्टीबीच नेपाली विशेषताको समाजवादलाई आगामी क्रान्तिको कार्यदिशा बनाउने सहमति भएको छ। त्यस्तै मागर्दशक सिद्धान्तका रुपमा माक्र्सवाद र लेनिनवादलाई मान्न जसपा तयार भएको छ।
त्यस्तै पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता हुने कुरामा पनि दुवै पार्टी सहमत भएका छन्। साथै तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका विभिन्न दर्जन कम्युनिस्ट घटकबीच नेपाली कम्युनिस्ट पार्टी बनाउन भएको १८ बुँदे सहमतिलाई अनुमोदन गरिने छ।
