`

खेलकुद मन्त्रीको अमेरिका भ्रमण विवाद : एनआरएनए अमेरिकाभित्र दोहोरो दाबी

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाभित्रै तीव्र विवाद देखिएको छ । एउटै नामको संस्थाका दुई फरक नेतृत्वबाट मन्त्रीलाई अमेरिका बोलाइएको र नबोलाइएको भन्दै फरक–फरक दाबी सार्वजनिक भएपछि विषय झन् जटिल बनेको हो ।

सतेन्द्र शाह नेतृत्वको एनआरएनए–अमेरिका (राष्ट्रिय समन्वय परिषद्) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि निमन्त्रणा नगरिएको स्पष्ट गरेको छ । विज्ञप्तिमा संस्थाको नाम, ईआईएन नम्बर र डिजिटल पहिचान दुरुपयोग गरी अनधिकृत रूपमा कार्यक्रम सञ्चालन भइरहेकोप्रति गम्भीर आपत्ति जनाइएको छ । संघले आफ्नो आधिकारिक स्वीकृति, जानकारी र निर्णयबिनै केही व्यक्ति वा समूहले एनआरएनए–अमेरिकाको नाम प्रयोग गरी कार्यक्रम, भ्रमण तथा गतिविधि गरिरहेको जानकारी प्राप्त भएको जनाएको छ । यसले कानुनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी जोखिम निम्त्याएको भन्दै संघले यस्ता गतिविधिलाई अत्यन्त संवेदनशील विषयका रूपमा लिएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा एनआरएनए–अमेरिका कानुनी रूपमा दर्ता भएको संस्था भएकाले नाम, ईआईएन नम्बर तथा डिजिटल पहिचानको अनधिकृत प्रयोग भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति वा समूहले बेहोर्नुपर्ने चेतावनी दिइएको छ । साथै, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रमका लागि निमन्त्रणा नगरिएको र त्यस्तो कुनै कार्यक्रम आयोजना नगरेको स्पष्ट पारिएको छ ।

संघले अनधिकृत गतिविधिसँग आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै यस्ता क्रियाकलापबारे अमेरिकी होमल्याण्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक जानकारी गराइसकेको जनाएको छ ।
तर, अर्कोतर्फ विकास उप्रेती नेतृत्वको एनआरएनए–अमेरिकाले भने मन्त्री गुप्तालाई औपचारिक रूपमा निमन्त्रणा गरिएको दाबी गरेको छ । विकास उप्रेती अध्यक्ष रहेको उक्त समूहका अनुसार मन्त्री गुप्ता आगामी माघ ३ गते अमेरिका जाने तयारीमा छन् र टेक्सासको डलासमा एनआरएनए–अमेरिकाको युवा विभागद्वारा आयोजना हुने युवा सम्मेलनमा सहभागी हुने कार्यक्रम तय छ ।

उप्रेतीले यो सम्मेलन ‘जेन–जी आन्दोलनपछि युवाहरूको भूमिकाबारे’ केन्द्रित हुने बताउँदै नागरिक सरकारमा युवा मन्त्री भएकाले गुप्तालाई बोलाउनु उपयुक्त ठानेको दाबी गरेका छन् । सतेन्द्र शाह नेतृत्वको समूहले खण्डन गरेपछि पनि आफ्नो तर्फबाट निमन्त्रणा यथावत् रहेको उनले दोहो¥याएका छन् । विवादको जड एनआरएनएभित्रको अधूरो एकता प्रक्रियासँग जोडिएको देखिन्छ । गत मंसिर १४ गते बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका एनआरएनएबीच एकता घोषणा भए पनि सबै देशका कार्यसमिति पूर्ण रूपमा मर्ज भइसकेका छैनन्। अमेरिकामा अहिले पनि दुई कार्यसमिति सक्रिय छन्—एक सतेन्द्र शाहको नेतृत्वमा र अर्को विकास उप्रेतीको नेतृत्वमा ।

एकता प्रक्रियाअन्तर्गत दुवै कार्यसमितिलाई समेटेर स्टेरिङ कमिटी बनाउने भनिए पनि प्रक्रिया टुंगोमा नपुग्दा एउटै संस्थाको नामबाट फरक–फरक धारणा सार्वजनिक भइरहेका छन् । यही कारण खेलकुद मन्त्रीलाई अमेरिका बोलाइएको भन्ने दाबी र त्यसको औपचारिक खण्डन एउटै समय सार्वजनिक भएको हो । यसैबीच, मन्त्री गुप्ता ‘कार्यक्रमको मिति र मोडालिटी नै पूर्ण रूपमा तय नभइसकेको’ कार्यक्रममा सहभागी हुन अमेरिका जान लागेको भन्दै मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृति लिइसकेका छन् । एनआरएनए–अमेरिकाभित्रको आन्तरिक विवादले मन्त्रीको भ्रमण र कार्यक्रमको वैधतामाथि थप प्रश्न खडा गरेको छ ।

एनआरएनएलाई पार्टीको नबनाई दिनुहोला : सञ्चारमन्त्री खरेल

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गैरआवसीय नेपाली संघ (एनआरएनए) लाई राजनीतिक दलको नबनाउन आग्रह गरेका छन् । आइतबार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले एनआरएनएका नेताहरु पार्टीको बन्दा समस्या भएको बताएका हुन् ।

उनले एनआरएनएका अभियन्ताहरु राजनीतिक दलमा आवद्ध हुँदा संस्थाको गरिमा नै पछिल्लो समय खस्किँदै गएको बताए । स्थापनाकालको एनआरएनएको जस्तो गरिमा हाल नभएको उनको भनाई छ । उनले एनआरएनएलाई राजनीतिक दल र राजनीतिमुक्त बनाउने अवसर यही भएको पनि बताए ।

उनले भने, ‘नेपालमा गैरआवासीय नेपाली संघ भन्ने बित्तिकै यस्तो ओज, यस्तो गरिमा, यस्तो गहकिलोपन, यस्तो विश्वास, सम्मान यहाँहरुले कायम गर्नु भएको थियो । पछिल्ला वर्षहरुमा त्यो खस्किँदै गयो । त्यो किन खस्कियो भन्दाखेरी एनआरएनएका अधिकांश नेता र अधिकांश गुटहरु राजनीतिक दलका गुट र नेता भए ।’

उनले भने, ‘फलानो राजनीतिक दलका एनआरएन, फलानो राजनीतिक दलका एनआरएन भयो । तपाईहरु चोइटिनु भयो, तपाईहरुको गरिमा नै स्खलित हुँदै गयो । अब एउटा ठूलो अवसर आएको छ । पार्टीको एनआरएन नबनाई दिनुहोला । एनआरएनएलाई समग्र गैरआवासीय नेपालीको र नेपाली जनताको, यो राष्ट्रको समग्र हितमा राख्नुहोला । पार्टी भन्दा माथि तपाईहरु उठ्दिनु भयो भने त्यो सम्भव छ ।’ उनले गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था, गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएको समस्याका बारेमा सरकार गम्भिर रहेको पनि बताए ।

 

प्रधानमन्त्रीको उपस्थितिमा चार वर्षपछि एनआरएनए एकता घोषणा

काठमाडौं । विभाजन भएको चार वर्षपछि गैरआवासी नेपाली संघ (एनआरएनए) को वृहत एकता घोषणा गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार संघको एकता घोषणा गरिएको हो । विभाजित संघमा अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । १० औं महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो ।

१० औं र ११ औं महाधिवेशनमा निर्वाचित भएका दुबैतिरका समितिलाई मान्यता दिने, १२ औं महाविधेशन गर्नको लागि अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दा मामिला फिर्ता गर्ने, सदस्यता वितरणको लागी समय थप गर्ने लगायतका सहमति भएको छ । ‘लामो समयदेखिको प्रयासले सार्थकता पाएको छ । एकताको मूल सहमति पत्रमा हस्ताक्षर भइसकेको छ । आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्रीको उपस्थितिमा एकताको घोषणा भयो,’ एनआरएनएका एक नेताले भने, ‘अब विश्वभरका एनआरएनको नेतृत्व महेश श्रेष्ठले गर्नु हुनेछ ।’

यसअघि विभिन्न समयमा एनआरएनको आधिकारिकता लगायतका विषयमा सबै पक्षले अदालतमा दायर गरेका मुद्दा फिर्ता लिने सहमति पनि भएको छ । १० बुँदे मूल सहमति परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा हस्ताक्षर गरिएको छ । त्यसलाई परराष्ट्र मन्त्रालयमा अभिलेखित गर्ने सहमति पत्रमै उल्लेख छ । १० बुँदे सहमतिको कार्यान्वयन संघको विधान अनुसार गर्ने, कुनै विषयमा विवाद उत्पन्न भए परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहमतिमा समाधान गर्ने तथा सहमतिका सवै बुँदाहरूलाई संघको आगामी १२औं महाधिवेशनबाट अनुमोदन गराउने भनिएको छ ।

सहमतिको पहिलो बुँदामा २०२३ अक्टोबर १७–२० मा सम्पन्न एघारौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा. बद्री केसीको नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने तथा संघका पूर्वअध्यक्ष डा. शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिद्वारा २०२५ मे ३–४ मा आयोजित एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई स्वीकार गर्ने उल्लेख छ । सहमतिको दोस्रो बुँदामा गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन १७ अप्रिल २०२६ सम्ममा सम्पन्न गर्ने र त्यसका लागि महेशकुमार श्रेष्ठको नेतृत्वमा बनेको समितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिने भनिएको छ ।

 

एनआरएनए विवाद : केसी र श्रेष्ठको समूहबीच १० बुँदे सहमति, आइतबार एकता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुई समूहबीच एकताका लागि सहमति जुटेको छ । विभाजित अवस्थामा बेग्लाबेग्लै गतिविधि गर्दै आएका डा. बद्री केसी र महोशकुमार श्रेष्ठ नेतृत्वको एनआरएनएबीच १० बुँदे सहमति भएको हो । अब प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा दुवै समूहबीच आइतबार एकता घोषणा हुने एक पदाधिकारीले जानकारी दिएका छन् । मुलुकमा फेरिएको परिस्थितिबीच दुवै संस्थाको नेतृत्व १० बुँदे सहमति गर्दै एकताबद्ध हुन तयार भएको हो ।

एकतापछि १७ अप्रिल २०२६ सम्ममा १२ औं महाधिवेशन गर्ने सहमति जुटेको छ । केसी नेतृत्वको कार्यसमितिको समेत अस्तित्व स्वीकार गर्दै श्रेष्ठको नेतृत्वमा एकता महाधिवेशनमा जान दुवै पक्ष तयार भएका छन् । सहमतिअनुसार एघारौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने तथा संघका पूर्वअध्यक्ष डा. शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिद्वारा २०२५ मे ३–४ मा आयोजित एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित महेशकुमार श्रेष्ठलाई स्वीकार गर्ने उल्लेख छ ।

महाधिवेशनलाई पारदर्शी एवं विश्वासयोग्य बनाउन ११ सदस्यीय ‘स्टेयरिङ कमिटी’ गठन गर्ने, त्यस्तो कमिटीमा रहेका व्यक्ति १२औं महाधिवेशनमा उम्मेदवार नहुने जस्ता सहमति भएको छ । १० बुँदे सहमतिको कार्यान्वयन संघको विधान अनुसार गर्ने, कुनै विषयमा विवाद उत्पन्न भए परराष्ट्र मन्त्रालयसँगको समन्वय र सहमतिमा समाधान गर्ने तथा सहमतिका सबै बुँदाहरूलाई संघको आगामी १२औं महाधिवेशनबाट अनुमोदन गराउने भनिएको छ । सहमति पत्रमा ११औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्य समितिका अध्यक्ष बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण

काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएन) ले ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरिदिएको छ । जेन–जी आन्दोलनले ध्वस्त बनाएको सो कन्ट्रोल रुम पुनर्निर्माण गरी मंगलार एक कार्यक्रमका बीच एनआरएनएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौंको रामशाह पथमा रहेको सो ट्राफिक कन्ट्रोल रुम जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएको थियो । विपदमा परेका बेला मात्तृभूमिलाई सहयोग गर्नुपर्ने दायित्व अन्तर्गत सो कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिएको एनआरएनएका उपाध्यक्ष श्रेष्ठले बताए । उनले सो रुम दीर्घकालसम्म सञ्चालनमा आउने गरी पुनर्निर्माणको काम गरिएको पनि उनले जानकारी दिए ।

उपाध्यक्ष श्रेष्ठले भने, ‘यस कन्ट्रोल रुममा केवल सुधारको पक्ष मात्रै होइन, सस्टेनविलीटी, अपरेटरको सहजतालाई ध्यानमा राखेका निर्माण गरेका छौं । यस परियोजनामा जडित भएका सबै उपकरणहरु दीर्घकालसम्मलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको छ । विश्वका विकसित सहरहरुको ट्राफिक व्यवस्थापनले धेरै कुरा सिकाएको छ । सिंगापुर, दुबई, लण्डन जस्ता शहरहरुमा स्मार्ट टाफ्रिक प्रहरी म्यानेजमेन्ट सिष्टम लागू भइसकेको छ । नेपालमा पनि त्यो सिष्टम लागुपर्ने छ ।’ कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सो रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिदिएकोमा गैरआवासीय नेपाली संघप्रति आभार व्यक्त गरे । उनले मातृभूमिप्रतिको मायाको रुपमा सो काम भएको समेत उल्लेख गरे ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने, ‘म गैरआवासीय नेपाली संघलाई यो काम सम्पन्न गरिदिनु भएकोमा हृदयदेखि नै आभार व्यक्त गर्दछु । यो मुलुक बाहिर भन्दा मुलुकको अझ धेरै चासो र चिन्ता गर्नुभएको छ । मुलुक छोडेपछि मुलुकको चिन्ता र चासो अझ बढी हुन्छ। यही भावका साथ यो मातृभूमिप्रतिको उहाँहरुको माया प्रदर्शन भएको रुपमा यो कार्यलाई लिएका छौ । यसका लागि फेरि पनि संवद्ध सबै पक्षलाई धेरै धन्यवाद ।’ सो कन्ट्रोल रुमबाट काठमाडाैं, ललितपुर र भक्तपुर काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको ट्राफिक व्यवस्थापनको काम हुने गर्दछ । त्यसको पुनर्निर्माण कार्यले ट्राफिक व्यवस्थापनको काममा धेरै ठूलो सहजता प्राप्त भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।