खेलकुद मन्त्रीको अमेरिका भ्रमण विवाद : एनआरएनए अमेरिकाभित्र दोहोरो दाबी
काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाभित्रै तीव्र विवाद देखिएको छ । एउटै नामको संस्थाका दुई फरक नेतृत्वबाट मन्त्रीलाई अमेरिका बोलाइएको र नबोलाइएको भन्दै फरक–फरक दाबी सार्वजनिक भएपछि विषय झन् जटिल बनेको हो ।
सतेन्द्र शाह नेतृत्वको एनआरएनए–अमेरिका (राष्ट्रिय समन्वय परिषद्) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि निमन्त्रणा नगरिएको स्पष्ट गरेको छ । विज्ञप्तिमा संस्थाको नाम, ईआईएन नम्बर र डिजिटल पहिचान दुरुपयोग गरी अनधिकृत रूपमा कार्यक्रम सञ्चालन भइरहेकोप्रति गम्भीर आपत्ति जनाइएको छ । संघले आफ्नो आधिकारिक स्वीकृति, जानकारी र निर्णयबिनै केही व्यक्ति वा समूहले एनआरएनए–अमेरिकाको नाम प्रयोग गरी कार्यक्रम, भ्रमण तथा गतिविधि गरिरहेको जानकारी प्राप्त भएको जनाएको छ । यसले कानुनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी जोखिम निम्त्याएको भन्दै संघले यस्ता गतिविधिलाई अत्यन्त संवेदनशील विषयका रूपमा लिएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा एनआरएनए–अमेरिका कानुनी रूपमा दर्ता भएको संस्था भएकाले नाम, ईआईएन नम्बर तथा डिजिटल पहिचानको अनधिकृत प्रयोग भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति वा समूहले बेहोर्नुपर्ने चेतावनी दिइएको छ । साथै, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रमका लागि निमन्त्रणा नगरिएको र त्यस्तो कुनै कार्यक्रम आयोजना नगरेको स्पष्ट पारिएको छ ।
संघले अनधिकृत गतिविधिसँग आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै यस्ता क्रियाकलापबारे अमेरिकी होमल्याण्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक जानकारी गराइसकेको जनाएको छ ।
तर, अर्कोतर्फ विकास उप्रेती नेतृत्वको एनआरएनए–अमेरिकाले भने मन्त्री गुप्तालाई औपचारिक रूपमा निमन्त्रणा गरिएको दाबी गरेको छ । विकास उप्रेती अध्यक्ष रहेको उक्त समूहका अनुसार मन्त्री गुप्ता आगामी माघ ३ गते अमेरिका जाने तयारीमा छन् र टेक्सासको डलासमा एनआरएनए–अमेरिकाको युवा विभागद्वारा आयोजना हुने युवा सम्मेलनमा सहभागी हुने कार्यक्रम तय छ ।
उप्रेतीले यो सम्मेलन ‘जेन–जी आन्दोलनपछि युवाहरूको भूमिकाबारे’ केन्द्रित हुने बताउँदै नागरिक सरकारमा युवा मन्त्री भएकाले गुप्तालाई बोलाउनु उपयुक्त ठानेको दाबी गरेका छन् । सतेन्द्र शाह नेतृत्वको समूहले खण्डन गरेपछि पनि आफ्नो तर्फबाट निमन्त्रणा यथावत् रहेको उनले दोहो¥याएका छन् । विवादको जड एनआरएनएभित्रको अधूरो एकता प्रक्रियासँग जोडिएको देखिन्छ । गत मंसिर १४ गते बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका एनआरएनएबीच एकता घोषणा भए पनि सबै देशका कार्यसमिति पूर्ण रूपमा मर्ज भइसकेका छैनन्। अमेरिकामा अहिले पनि दुई कार्यसमिति सक्रिय छन्—एक सतेन्द्र शाहको नेतृत्वमा र अर्को विकास उप्रेतीको नेतृत्वमा ।
एकता प्रक्रियाअन्तर्गत दुवै कार्यसमितिलाई समेटेर स्टेरिङ कमिटी बनाउने भनिए पनि प्रक्रिया टुंगोमा नपुग्दा एउटै संस्थाको नामबाट फरक–फरक धारणा सार्वजनिक भइरहेका छन् । यही कारण खेलकुद मन्त्रीलाई अमेरिका बोलाइएको भन्ने दाबी र त्यसको औपचारिक खण्डन एउटै समय सार्वजनिक भएको हो । यसैबीच, मन्त्री गुप्ता ‘कार्यक्रमको मिति र मोडालिटी नै पूर्ण रूपमा तय नभइसकेको’ कार्यक्रममा सहभागी हुन अमेरिका जान लागेको भन्दै मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृति लिइसकेका छन् । एनआरएनए–अमेरिकाभित्रको आन्तरिक विवादले मन्त्रीको भ्रमण र कार्यक्रमको वैधतामाथि थप प्रश्न खडा गरेको छ ।

