`

एन्फा गेटमा ‘ए डिभिजन’ क्लबको धर्ना (तस्वीरहरु)

काठमाडौं । शहीद स्मारक लिगका क्लबहरूले आज बिहान सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रदर्शनी गरेका छन् । लिगका सबै प्रतियोगिता समयमै गर्न, ‘ए डिभिजन’ क्लबहरूसंगको सम्झौता कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्न माग गर्दै उनीहरुले विगत केही महिनादेखि प्रदर्शनी गर्दै आएका छन् ।

‘लिगको स्थायित्व र व्यवस्थित होस् भन्ने हाम्रो चाहना हो । तर अहिले के हल्ला चलिरहेको छ भने कहिले राष्ट्रिय लिग गर्ने भन्ने, कहिले शहीद स्मारक ए डिभिजन लिग गर्ने भन्ने छ । तर राष्ट्रिय लिग पनि हुनुपर्छ, ए डिभिजन लिग पनि हुनुपर्छ, बी डिभिजन लिग पनि हुनुपर्छ । एक वर्षभित्र लिगको साइकल पूरा हुनुपर्छ,’ हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने ।

एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरुलाई छलफलमा बोलाएको छ । तर क्लबहरु भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका हुन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी गेट अगाडि पुलिसहरु तैनाथ गरिएको छ । क्लबहरूले लिगका सबै प्रतियोगिता समयमै गर्न दबाब दिन, ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्न माग गरिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । यसअघि नेपाल फुटबल खेलाडी संघले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स गेटमा धर्ना दिएको थियो । संघले पनि ए डिभिजन लिग तुरुन्त सुरु गर्न माग गर्दै घरेलु फुटबल नियमित गर्नुपर्ने आवाज उठाएको थियो ।
हेर्नुस् तस्वीरहरु

एन्फा, खेलाडी र क्लवबीचको बैठक मंगलवार सिंहदरबारमा बस्ने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा), शिर्ष डिभिजन लिगका क्लव र खेलाडीहरूबीच मंगलवार युवा तथा खेलकुद मन्त्रालयमा बैठक हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच सोमवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तय बैठक अवरोध भएको थियो । यससँगै खेलकुद मन्त्रालयको पहलमा तीन पक्षबीच मंगलवार सिंहदरबारमा बैठक हुने भएको हो ।

यसअघि पनि एन्फा, शिर्ष डिभिजन लिगका क्लव र खेलकुद मन्त्रालयबीच लिग गर्ने विषयमा छलफल भएको थियो । उक्त छलफलपछि नै एन्फा र क्लवबीच शिर्ष डिभिजन लिग आगामी वर्ष गर्ने सहमति भएको हो । त्यो निर्णयको विरोध गर्दै खेलाडीहरू आन्दोलन उत्रिएका हुन् । फुटबल खेलाडीहरूले शहीद स्मारक ‘ए’ डिभिजन लिग गराउन माग राख्दै केही समयअगाडि एन्फा गेटमा आन्दोलन सभा आयोजना गरेका थिए ।

सोही घटनापछि एन्फाले खेलाडीलाई वार्तामा बोलाएको थियो । खेलाडी संघले बैठकको प्रत्यक्ष प्रशारण गर्न माग राखेपछि दुई पक्षबीच एन्फामा तय बैठक हुन नसकेको हो । एन्फाले आईतवार नै प्रेस विज्ञप्ती जारी गर्दै खेलाडीलाई छलफलमा बोलाए पनि बैठक हुन सकेन । बैठकअगाडि नै खेलाडीहरूले समाजिक सञ्जालबाट बैठक लाइभ गरे मात्र छलफलमा बस्ने स्पष्ट पारेका थिए । तर एन्फाले उनीहरूको प्रश्ताव अस्वीकार गरेपछि सोमबार हुने भनिएको बैठक अवरोध भएको हो । अब मन्त्रालयको रोबहरमा एन्फा, क्लव र खेलाडीबीच सिंहदरबारमा बैठक बस्ने भएको छ । खेलाडीहरूले आन्दोलनप्रति चासो राख्दै बैठक आह्वान गरेकोमा एन्फालाई धन्यवाद दिएका थिए ।

तर खेलाडीले आम फुटबलप्रेमीको पनि चासोको विषय भएकोले प्रत्यक्ष प्रशारणको माग राखे । प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो । फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले ट्रान्सपरेन्सी चाहिएको र वास्तविक समस्या के रहेछ भन्ने सरोकारवालाहरूलाई देखाउन आवश्यक रहेकाले लाइभ माग गरिएको उल्लेख गरेका छन् । बन्द कोठमा जे पनि सम्झौता हुनसक्ने र एन्फाले आपसी बैठक प्रत्यक्ष रूपमा सार्वजनिक नगरौं भन्ने कुरा गरेपछि आफूहरूले बैठक बहिस्कार गरेको उनको भनाइ छ ।

गत सोमवार एन्फा र शिर्ष डिभिजन क्लबबीचको बैठकले यस वर्ष पनि शिर्ष डिभिजन लिग नहुने निर्णय गरेको थियो । शिर्ष डिभिजन लिगको साट्टो राष्ट्रिय लिग गर्ने सहमती जुटेपछि खेलाडीहरु आक्रोसित भएका हुन् । तीन दिनपछि खेलाडीहरू आन्दोलनमा उत्रिए । एन्फा लिग आयोजनाबाट भाग्न खोजेको र लिग हुनैपर्ने भन्दै खेलाडीले आह्वान गरेको आन्दोलनमा सरोकारवालाले पनि समर्थन गरेका छन् ।

 

एन्फासँग वार्ता गर्न पुगे खेलाडी, प्रत्यक्ष प्रसारण गर्नुपर्ने अडान (तस्बिरहरू)

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि विरोधमा उत्रिएका खेलाडीलाई एन्फाले वार्ताको लागि बोलाएको छ ।

एन्फासँगको वार्ताका‌ लागि नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासहितको टोली सातदोबाटो स्थित एन्फा कम्प्लेक्स पुगेको‌ छ। उनीहरूले वार्ताको प्रत्यक्ष प्रसारण गर्नुपर्ने नभए वार्तामै नबस्ने अडान राखेका छन् ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी