एन्फा गेटमा ‘ए डिभिजन’ क्लबको धर्ना (तस्वीरहरु)
काठमाडौं । शहीद स्मारक लिगका क्लबहरूले आज बिहान सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रदर्शनी गरेका छन् । लिगका सबै प्रतियोगिता समयमै गर्न, ‘ए डिभिजन’ क्लबहरूसंगको सम्झौता कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्न माग गर्दै उनीहरुले विगत केही महिनादेखि प्रदर्शनी गर्दै आएका छन् ।
‘लिगको स्थायित्व र व्यवस्थित होस् भन्ने हाम्रो चाहना हो । तर अहिले के हल्ला चलिरहेको छ भने कहिले राष्ट्रिय लिग गर्ने भन्ने, कहिले शहीद स्मारक ए डिभिजन लिग गर्ने भन्ने छ । तर राष्ट्रिय लिग पनि हुनुपर्छ, ए डिभिजन लिग पनि हुनुपर्छ, बी डिभिजन लिग पनि हुनुपर्छ । एक वर्षभित्र लिगको साइकल पूरा हुनुपर्छ,’ हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने ।
एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरुलाई छलफलमा बोलाएको छ । तर क्लबहरु भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका हुन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी गेट अगाडि पुलिसहरु तैनाथ गरिएको छ । क्लबहरूले लिगका सबै प्रतियोगिता समयमै गर्न दबाब दिन, ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्न माग गरिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । यसअघि नेपाल फुटबल खेलाडी संघले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स गेटमा धर्ना दिएको थियो । संघले पनि ए डिभिजन लिग तुरुन्त सुरु गर्न माग गर्दै घरेलु फुटबल नियमित गर्नुपर्ने आवाज उठाएको थियो ।
हेर्नुस् तस्वीरहरु

