`

कर्णाली सरकारले छुट्यायो सहिद स्मृति तथा जीवन निर्वाह भत्ताका लागि पाँच करोड

कर्णाली । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पाँच करोड बराबरको सहिद स्मृति तथा जीवन निर्वाह भत्ता दिने निर्णय गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा बसेको बैठकले रु दुई करोड ५५ लाख ७२ हजार बराबरको सहिद स्मृति भत्ता र रु दुई करोड २९ लाख ८० हजार बराबरको जीवन निर्वाह भत्ता दिने निर्णय गरेको हो ।

कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ को दफा ५ को उपदफा ३ बमोजिम सो बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत स्थानीय तहमा अख्तियारी पठाउन स्वीकृति दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

त्यसैगरी, उक्त बैठकले आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०८२, कर्णाली प्रदेश समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८२, कर्णाली प्रदेश विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८२, कर्णाली प्रदेश ससर्त अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८२ र लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका, २०८२ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए ।

सुर्खेतमा गोली लागेर एकको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जेनजीको आन्दोलनको क्रममा एक जनाको गोली लागेर मृत्यु भएको छ । प्रदर्शनकारील नेताका घर तथा कार्यालय आगजनी गरेपछि प्रहरीसँग झडप भएको थियो । सुरक्षा स्रोतले एक जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको घरमा तोडफोडपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रयोग गरेको छ । अख्तियारको प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयहरू पूर्णरूपमा ध्वस्त भएका छन् ।