`

शनिबारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने काम टुंग्याउँछ : गगन थापा

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको नयाँ केन्द्रिय कार्यसमितिको विवरण शनिवारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने विश्वास व्यक्त गरेका छन् । बिहीवार विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसको विधानको धारा १७ (२) बमोजिम गरिएको विशेष महाधिवेशनले नेतृत्व चयन गरेकोले सो को जानकारी औपचारिक रुपमा आयोगलाई गराइएको उनले बताए । विशेष महाधिवेशन पार्टी विधानको धारा १५ अनुसार पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय सर्वोपरि हुने उनले बताए । महाधिवेशनबाट नयाँ केन्द्रिय कार्यसमिति चयन भइसकेकाले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार सो विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिएको उनको भनाई । विशेष महाधिवेशनले निर्वाचित गरेको नयाँ केन्द्रिय कार्यसमितिलाई अद्यावधिक गरिदिन आवश्यक सम्पूर्ण कागजात र विवरणसहित निवेदन दिएकोले छिट्टै अद्यावधिक हुने विश्वास व्यक्त गरे ।

माघ ६ गते हुने प्रतिनिधि सभा निर्वाचनको मनोनयन प्रक्रियालाई ध्यानमा राख्दै निर्वाचन आयोगले अत्यन्त छिटो अद्यावधिकको काम टुंग्याउनुपर्ने उनले आवश्यकता औंल्याए । उनले यो कुनै दलभित्रको विवादसम्बन्धी विषय नभई विधिपूर्वक सम्पन्न महाधिवेशनको विवरण अद्यावधिक गर्ने सामान्य प्रशासनिक प्रक्रिया मात्र भएको दाबी गरे । आयोगले यसलाई छिट्टो टुंगोमा पु¥याएर पार्टीभित्र र बाहिर देखिएका अन्योल र दुविधा अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस पार्टीको विधान धारा १७(२) बमोजिम नेपाली काँग्रेसको विशेष महाधिवेशनको आयोजना भयो । र विशेष महाधिवेशन पार्टीको विधानको धारा १५ बमोजिम बमोजिम पार्टीको सर्वोच्च संस्था हो । अधिवेशनले गरेको निर्णय नै सर्वोपरि हुन्छ भन्ने जुन व्यवस्था हो, त्यही व्यवस्था अनुरुप सम्पन्न भएको महाधिवेशनले गरेका निर्णयहरुका बारेमा हामीले आज निर्वाचन आयोगलाई जानकारी गराएका छौँ ।’

उनले भने, ‘अधिवेशनले नेतृत्व चयनसम्बन्धी निर्णय पनि गरेको हुँदा यसले नेपाली काँग्रेसको विद्यमान केन्द्रिय कार्यसमितिलाई बदलिएको छ । त्यो केन्द्रिय कार्यसमिति बदलिएपनि नयाँ आएको केन्द्रिय कार्यसमितिको बारेमा राजनितिक दल सम्बन्धि ऐन २०७३ को दफा ५१ बमोजिम अध्यावधिक गर्ने कुराको हामीले केही समयभित्रमा अधिवेशनको गरेको कुरा निर्वाचन आयोगलाई जानकारी गराईसक्नुपर्छ । हामीले आज निर्वाचन आयोगमा त्यही कुरा जानकारी गराएका छौँ । विशेष अधिवेशन सम्पन्न भयो, यसले नेतृत्व परिवर्तन गरेको छ । केन्द्रिय कार्यसमिति नै नयाँ आएको छ । यसलाई अध्यावधिक गरिदिनुहोला भन्ने निवेदन लिएर आएका हौँ ।’

थापाले भने, ‘यसको लागि पुष्टी गर्न चाहिने कागजातहरु, सबै विवरण हामीले बुझाएका छौँ । यो अधिवेशन रितपुर्वक भएको छ र यसलाई माघ ६ गतेको प्रतिनिधिसभाको निर्वाचनको मनोनयन गर्नुपर्ने भएको हुनाले त्यो समयलाई पनि ख्याल राखेर निर्वाचन आयोगले अत्यन्त छिटो अध्यावधिक गर्ने काम टुङ्ग्याइदिएर बाँकी रहेका, बाहिर रहेका दुविधिाहरुलाई पनि चिर्दिनुपर्छ । यो राजनितिक दलको कुनै विवादसम्बन्धि विषय होइन, यो राजनितिक दलको अधिवेशन सम्पन्न भएको अध्यावधिक गरेको विषय हो । समय एकदमै कम रहेको छ, हाम्रो चाहाना भनेको आज एक गते भइसक्यो, भोली या ढिलोमा पनि पर्सिको दिन भित्रमा निर्वाचन आयोगको तर्फबाट अध्यावधिक गर्ने काम टुंगिन्छ भन्ने विश्वास छ ।’ उनले पार्टीको विशेष महाविधेशन आधिकारिक रहेकोले आफूहरु नै आधिकारीक नेपाली कांग्रेस भएको बताए ।

 

गगन थापा चार ठाउँबाट सिफारिस : ‘डिमाण्ड’ कि सुरक्षित स्थानको खोजी ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस देशभर उम्मेदवार सिफारिस प्रक्रियामा व्यस्त छ । यसक्रममा सबैभन्दा धेरै ध्यान तानेका नेता हुन्–महामन्त्री गगन थापा । उनी हालसम्म चार वटा क्षेत्र—रोल्पा, धनकुटा, सर्लाही–४ र काठमाडौं–४—बाट सिफारिस भएका छन् ।

गगनलाई विभिन्न जिल्लाले सिफारिस गर्नुको अर्थ कांग्रेसभित्रको ‘हाई–डिमाण्ड’ नेता भनेर मात्र होइन, स्थानीय समितिहरूले चुनावी सम्भावना बढाउन चाहेको रणनीति पनि हो । कांग्रेसले विघटित प्रतिनिधिसभा पुनः स्थापनाबारे ‘अदालती प्रक्रिया’ भनी निर्वाचन तयारीलाई प्राथमिकतामा राखेपछि विभिन्न जिल्लाले सुरक्षित तथा प्रभावशाली उम्मेदवार खोज्ने क्रममा गगन थापा धेरै ठाउँबाट सिफारिसमा परेका हुन् ।

माओवादीको बलियो गढ मानिने रोल्पामा कांग्रेस विगतदेखि नै कमजोर छ । यद्यपि जिल्लाले गगन थापालाई पहिलो सूचीमा सिफारिस गर्दै स्थानीय शक्ति सन्तुलनमा ‘हलचल’ ल्याउने प्रयास गरेको देखिन्छ । लुम्बिनीका प्रदेश सभापति अमरसिंह पुनलगायत अन्य स्थानीय नेतासहित रोल्पाले गगनलाई विकल्पमा राख्नु कांग्रेसभित्रको आन्तरिक मेलमिलाप र नेतृत्वप्रतिको आकर्षण झल्काउने कदमको रूपमा हेरिएको छ ।

धनकुटामा पनि गगन थापा पहिलो नम्बरमा सिफारिस भएका छन् । पछिल्लो समय कांग्रेसभित्र गगन पक्षमा खुलेका जिल्ला सभापति दिनेश राई स्वयं दोस्रो नम्बरमा सिफारिसमा उभिनुले त्यहाँको शक्ति–समीकरण फेरिएको संकेत दिन्छ । पछिल्ला चुनावमा कांग्रेस अलि सघन प्रतिष्पर्धामा रहेकाले ठूला नेताको उपस्थिति त्यस क्षेत्रका लागि ‘मनोबल बढाउने’ देखिएको छ ।

२०७९ सालमा पनि गगन सर्लाही–४ जान सक्ने चर्चा चलेको थियो । उनी काठमाडौं–४ छाडेर त्यहाँ जाने विचारमा थिए तर अन्ततः निर्णय फेरियो । अहिले भने स्थानीय समितिले फेरि उनको नाम सिफारिस गर्दै सम्भावनाको ढोका खोलेको छ । सर्लाही–४ डा. अमरेशकुमार सिंहको बलियो क्षेत्र मानिन्छ, जसले लगातार चुनाव जित्दै आएको इतिहास छ–२०७९ मा कांग्रेसका आधिकारिक उम्मेदवारलाई पराजित गर्दै । यस्ता परिस्थितिमा गगन जस्ता लोकप्रिय नेता ल्याएर कांग्रेसले त्यहाँ अवस्था बदल्न खोज्ने प्रयास गर्दैछ भन्ने विश्लेषण गरिन्छ । तर केही दिनअघि मलंगवामा गगनले आफू काठमाडौं–४ बाटै चुनाव लड्ने स्पष्ट संकेत दिएका छन् ।

गगन थापाको राजनीतिक बलियो आधार काठमाडौं–४ नै हो । २०७० यता उनी यही क्षेत्रमा तीनै पटक भारी मतले निर्वाचित भएका छन् । यसपालि पनि काठमाडौं–४ बाट उनको नाम एकल सिफारिस भएको छ, जसले स्थानीय समितिको एकमत समर्थन देखाउँछ । २०७९ को तथ्याङ्क हेर्दा पनि कांग्रेस काठमाडौं–४ मा मात्र विजयी भएको थियो, जबकि अन्य सिफारिस भएका तीनै क्षेत्रमा कांग्रेस पराजित थियो । त्यसैले राजनीतिक विश्लेषकहरूको सामान्य निष्कर्ष-गगनका लागि सबैभन्दा सहज र सुरक्षित क्षेत्र काठमाडौं–४ नै हो ।

उता गगन पक्षले पनि यही संकेत दिएको छ-उनको सचिवालयले काठमाडौंका मतदातालाई ‘गगन यहींबाट लड्छन्’ भन्दै आश्वासन समेत दिएको छ । चार वटै क्षेत्रबाट सिफारिस हुनु गगन थापाको लोकप्रियता मात्र नभई कांग्रेसमा उनको उच्च ‘माग’ को सूचक हो । यसले उनको आन्तरिक प्रभाव, भावी नेतृत्व आकांक्षा र संगठनमा बढ्दो भरोसालाई पनि देखाउँछ । यद्यपि वास्तविक चुनाव लड्ने ठाउँ भने लगभग निश्चित—काठमाडौं–४ नै हो ।

प्रतिनिधिसभा निर्वाचन : गगन थापाको नाम रोल्पाबाट सिफारिस

काठमाडौं । आउँदो २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नाम रोल्पाबाट सिफारिस भएको छ । एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला रोल्पाको आज बसेको जिल्ला कार्यसमिति बैठकले थापाको नाम सिफारिस गरेको हो ।

लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनका स्वकीय सचिव तथा महाधिवेशन प्रतिनिधि अनुपम जिसीले दिएको जानकारी अनुसार थापासहित लुम्बिनी प्रदेश सभापति पुन, महासमिति सदस्य मनोजमणि आचार्य, व्यवसायी डा. मन्दिप सुवेदी र नेता ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ । यत‚ प्रदेश सभापति पुनले पनि आफूले चुनाव नलड्ने र गगनलाई चुनाव लडाउने जानकारी दिए । ‘म चुनाव लड्दिनँ, उहाँलाई लडाउने हो’, उनले भने ।

 

गगन थापाले भने- हामी न झुक्छौँ, न झुकिन्छौँ (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनर्गठनको अडान आफूले नछाड्ने प्रस्ट पारेका छन्। अधिवेशनसम्बन्धीको विवाद लम्बिँदै गइरहेका बेला थापाले आफूहरू न झुक्ने, न झुक्किने बताएका हुन् ।

उनले भने, ‘कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे हो। नागरिकले दिएको सन्देश स्पष्ट छ पुरानै शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्किन्छ।’

आगामी पुस १६ देखि नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने बताइरहेका बेला उनले मंगलबार समाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै आफूहरू न झुक्ने, न झुक्किने बताएका हुन् ।

उनले पार्टीको जारी केन्द्रीय समिति बैठक कहिले टुङ्गिने निश्चित नभएपनि पार्टीपंक्तिलाई धैर्य राख्न अनुरोध गरेका छन्।

उनले भनेका छन्, ‘पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ। हामी न झुक्छौँ, न झुकिन्छौँ।’

संस्थापन पक्षले चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान लिइरहेको छ। तर, महामन्त्री थापाले भने अहिलेकै अवस्थामा कांग्रेस भोट माग्न जनतामा जान नसक्ने भन्दै नियमित नभए विशेष महाधिवेशन गरेरै भएपनि नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा रहेको बताए।