`

गगन थापा चार ठाउँबाट सिफारिस : ‘डिमाण्ड’ कि सुरक्षित स्थानको खोजी ?

Nepal One HD २४ मंसिर २०८२ १६:५१
निर्वाचन विषेश

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस देशभर उम्मेदवार सिफारिस प्रक्रियामा व्यस्त छ । यसक्रममा सबैभन्दा धेरै ध्यान तानेका नेता हुन्–महामन्त्री गगन थापा । उनी हालसम्म चार वटा क्षेत्र—रोल्पा, धनकुटा, सर्लाही–४ र काठमाडौं–४—बाट सिफारिस भएका छन् ।

गगनलाई विभिन्न जिल्लाले सिफारिस गर्नुको अर्थ कांग्रेसभित्रको ‘हाई–डिमाण्ड’ नेता भनेर मात्र होइन, स्थानीय समितिहरूले चुनावी सम्भावना बढाउन चाहेको रणनीति पनि हो । कांग्रेसले विघटित प्रतिनिधिसभा पुनः स्थापनाबारे ‘अदालती प्रक्रिया’ भनी निर्वाचन तयारीलाई प्राथमिकतामा राखेपछि विभिन्न जिल्लाले सुरक्षित तथा प्रभावशाली उम्मेदवार खोज्ने क्रममा गगन थापा धेरै ठाउँबाट सिफारिसमा परेका हुन् ।

माओवादीको बलियो गढ मानिने रोल्पामा कांग्रेस विगतदेखि नै कमजोर छ । यद्यपि जिल्लाले गगन थापालाई पहिलो सूचीमा सिफारिस गर्दै स्थानीय शक्ति सन्तुलनमा ‘हलचल’ ल्याउने प्रयास गरेको देखिन्छ । लुम्बिनीका प्रदेश सभापति अमरसिंह पुनलगायत अन्य स्थानीय नेतासहित रोल्पाले गगनलाई विकल्पमा राख्नु कांग्रेसभित्रको आन्तरिक मेलमिलाप र नेतृत्वप्रतिको आकर्षण झल्काउने कदमको रूपमा हेरिएको छ ।

धनकुटामा पनि गगन थापा पहिलो नम्बरमा सिफारिस भएका छन् । पछिल्लो समय कांग्रेसभित्र गगन पक्षमा खुलेका जिल्ला सभापति दिनेश राई स्वयं दोस्रो नम्बरमा सिफारिसमा उभिनुले त्यहाँको शक्ति–समीकरण फेरिएको संकेत दिन्छ । पछिल्ला चुनावमा कांग्रेस अलि सघन प्रतिष्पर्धामा रहेकाले ठूला नेताको उपस्थिति त्यस क्षेत्रका लागि ‘मनोबल बढाउने’ देखिएको छ ।

२०७९ सालमा पनि गगन सर्लाही–४ जान सक्ने चर्चा चलेको थियो । उनी काठमाडौं–४ छाडेर त्यहाँ जाने विचारमा थिए तर अन्ततः निर्णय फेरियो । अहिले भने स्थानीय समितिले फेरि उनको नाम सिफारिस गर्दै सम्भावनाको ढोका खोलेको छ । सर्लाही–४ डा. अमरेशकुमार सिंहको बलियो क्षेत्र मानिन्छ, जसले लगातार चुनाव जित्दै आएको इतिहास छ–२०७९ मा कांग्रेसका आधिकारिक उम्मेदवारलाई पराजित गर्दै । यस्ता परिस्थितिमा गगन जस्ता लोकप्रिय नेता ल्याएर कांग्रेसले त्यहाँ अवस्था बदल्न खोज्ने प्रयास गर्दैछ भन्ने विश्लेषण गरिन्छ । तर केही दिनअघि मलंगवामा गगनले आफू काठमाडौं–४ बाटै चुनाव लड्ने स्पष्ट संकेत दिएका छन् ।

गगन थापाको राजनीतिक बलियो आधार काठमाडौं–४ नै हो । २०७० यता उनी यही क्षेत्रमा तीनै पटक भारी मतले निर्वाचित भएका छन् । यसपालि पनि काठमाडौं–४ बाट उनको नाम एकल सिफारिस भएको छ, जसले स्थानीय समितिको एकमत समर्थन देखाउँछ । २०७९ को तथ्याङ्क हेर्दा पनि कांग्रेस काठमाडौं–४ मा मात्र विजयी भएको थियो, जबकि अन्य सिफारिस भएका तीनै क्षेत्रमा कांग्रेस पराजित थियो । त्यसैले राजनीतिक विश्लेषकहरूको सामान्य निष्कर्ष-गगनका लागि सबैभन्दा सहज र सुरक्षित क्षेत्र काठमाडौं–४ नै हो ।

उता गगन पक्षले पनि यही संकेत दिएको छ-उनको सचिवालयले काठमाडौंका मतदातालाई ‘गगन यहींबाट लड्छन्’ भन्दै आश्वासन समेत दिएको छ । चार वटै क्षेत्रबाट सिफारिस हुनु गगन थापाको लोकप्रियता मात्र नभई कांग्रेसमा उनको उच्च ‘माग’ को सूचक हो । यसले उनको आन्तरिक प्रभाव, भावी नेतृत्व आकांक्षा र संगठनमा बढ्दो भरोसालाई पनि देखाउँछ । यद्यपि वास्तविक चुनाव लड्ने ठाउँ भने लगभग निश्चित—काठमाडौं–४ नै हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *