`

प्रधानमन्त्री कार्कीलाई डा. केसीको ज्ञापनपत्र : यस्ता छन् १० बुँदे माग

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ज्ञापन पत्र पेश गर्दै विभिन्न १० बुँदे माग राखेका छन् । उनले यस पटक माग पूरा नभएमा चेतावनी भने दिएका छैनन् । डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकार समक्ष माग गरेका छन् । डा केसीले आज प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा भेटेर विगतमा व्यवसायीको स्वार्थमा मेडिकल कलेजको सिट बढाएको दाबी गरी ती निर्णय उल्टाउनुपर्ने माग गरेका हुन् ।

डा. केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरी, प्राडा जगदीशप्रसाद अग्रवाललगायतले १० बुँदे ज्ञापन पत्र बुझाएका थिए । प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्य मन्त्री डा. सुधा गौतम र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी झासमेतको उपस्थितिमा डा. केसीले उठाएका विषयमा छलफल भएको थियो । ज्ञापन पत्रमा विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन माग गरिएको छ । साथै, जेनजी आन्दोलनमा दमन गर्ने ओली सरकार र सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरूमाथि कारबाही गर्नुपर्नेसमेत ज्ञापन पत्रमा उल्लेख छ ।

हेर्नुस् ज्ञापनपत्रको पूर्णपाठ

हामी गत दुई दशकभन्दा लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षा सुधार तथा सुशासन र सामाजिक न्यायका लागि संघर्षरत छौँ । यसैबीच विगतका सरकारहरूसँग बारम्बार सम्झौताहरू भए पनि तीनलाई कार्यान्वयन गर्ने बेला विभिन्न स्वार्थ समूहहरूको चलखेलका कारण धेरै सुधारका कामहरू टुंगोमा पुग्न सकेका छैनन् ।

दलहरूको चरम प्रष्टीकरण र अपराधीकरणका कारण सार्वजनिक संस्थाहरू धराशायी हुने गरी तिनले गरेको राजनीतिक हस्तक्षेपका कारण आम नागरिक राज्यले दिनुपर्ने सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन् । चौतर्फी दण्डहीनताका कारण दलको छाता ओढेर अपराध गर्नेहरू पुरस्कृत भइरहेका छन् ।

यस्तो पृष्ठभूमिमा युवाहरूको विद्रोहको जगमा बनेको नागरिक सरकारसामु धेरै ठोस उपलब्धिमूलक कामहरू गर्ने र भविष्यमा लामो समयसम्मका लागि थिति बसाल्ने अवसर अहिले आएको छ भन्ने हाम्रो विश्वास छ । त्यसैले स्वास्थ्य तथा मेडिकल शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायका लागि अहिलेको सरकारले चाल्न सक्ने देहायका कदमहरू गम्भीरतापूर्वक चाल्न अनुरोध गर्दछौंः

१) चिकित्सा शिक्षा आयोगमा पूर्व प्रधानमन्त्री र शिक्षामन्त्रीको नाजायज हस्तक्षेपका कारण गरिएका सिट सीमा हेरफेर लगायतका गलत निर्णयहरू तत्काल सच्याउने । राजनीतिक हस्तक्षेपका कारण चिकित्सा शिक्षा ऐन मिचेर आयोगबाट गराइएका अरू निर्णयहरू समेत सच्याएर आयोगको स्वायत्तता फर्काउने ।

२) गेटा मेडिकल विश्वविद्यालयमा कुनै दल वा स्वार्थ समूहको स्वार्थ हाबी हुन नदिई योग्य पदाधिकारीहरू छनोट गरी शीघ्र अस्पतालको सेवा बिस्तार गर्ने तथा एमबीबीएस कार्यक्रम अघि बढाउनका लागि आवश्यक काम गर्ने ।

३) विश्वविद्यालय र प्रतिष्ठानहरूमा नियुक्त हुने पदाधिकारीहरूको मापदण्डसहितको उच्च शिक्षा विधेयकलाई अध्यादेशका रूपमा जारी गर्ने ।

४) सबै संस्थाहरूमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको निर्वाह भत्ता निःशर्त नेपाल सरकारको आठौँ तहको सरह हुने व्यवस्था गर्ने ।

५) निर्मला कुर्मीलाई बेपत्ता पारेर हत्या गर्ने व्यक्तिको राजनीतिक पहुँचका कारण यस अघिका सरकारले निरन्तर उन्मुक्ति दिएकोमा तुरुन्त निष्पक्ष अनुसन्धान गरी अपराधीलाई न्यायको कठघरामा खडा गर्ने । त्यस्तै नक्कली प्रमाणपत्र प्रकरणमा परेका मेडिकल कलेज व्यापारी डाक्टर तथा ठूला दलको निवर्तमान सांसदविरूद्ध रोकेर राखेको मुद्दा दायर प्रक्रिया अगाडि बढाउने।

६) सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय हुने गरी र युद्ध अपराध र मानवता विरोधी जघन्य अपराधका दोषीहरू दण्डित हुने गरी निष्पक्ष रूपमा संक्रमणकालीन न्यायको प्रक्रिया शीघ्र टुंग्याउने । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोगमा दलीय दण्डहीनताका लागि भर्ती गरिएका कार्यकर्ताहरू हटाएर पीडितहरूलाई विश्वासमा लिँदै योग्य पदाधिकारी नियुक्त गर्ने ।

७) एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान विधेयकलाई अघि बढाउने

८) सरकारी अस्पताल तथा स्वास्थ्य सेवा संस्थाहरूमा अहिलेको आवश्यकता अनुसार जनशक्ति दरबन्दी वृद्धि गर्ने लगायत चिकित्सक लगायत स्वास्थ्यकर्मीहरूको रोजगारीका अवसर सिर्जना गर्ने।

१०) युवा पुस्ताको आन्दोलनको क्रममा गोली हानी हत्या गर्न आदेश दिने ओली सरकारलगायत सम्बन्धित पदाधिकारीहरूलाई र सरकारी तथा निजी संरचना तथा धरोहर आगजनी गर्ने र गर्न लगाउने व्यक्ति तथा पक्षलाई तुरुन्त कारबाही गर्ने ।

 

 

 

मेरो नाम हटाई दिनुस्, म मन्त्रीको आकांक्षी होइन : डा. गोविन्द केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले मन्त्री चयनका लागि भन्दै भइरहेको अनलाइन मतदानबाट आफ्नो नाम हटाउन आग्रह गरेका छन् । जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री बनाउने भन्दै डा. केसीको नाम पनि समावेश गरेका थिए । यपछि डा. केसीले अन्तरिम सरकारको मन्त्रीहरू छान्न केही समूहले आफ्नो नाम राखेर मतदान गरिरहेको भन्दै हटाउन आग्रह गरेका हुन् ।

डा. केसीले नव युवापुस्ताको आन्दोलनको समाप्तिपछि गठन भएको अन्तरिम सरकारमा प्रधानमन्त्री कार्कीको नियुक्तिले यस संक्रमणकाललाई तार्किक निष्कर्षमा पु¥याउने अपेक्षा लिएको पनि विज्ञप्तिमा बताएका छन् । ‘त्यस सरकारमा अन्य मन्त्रीहरू छान्न केही समूहले अनलाइन मतदान गरिरहेको भन्ने मेरो जानकारीमा आएको छ । कुनै पनि पद तथा ओहोदामा मेरो न पहिला आकांक्षा थियो, न अहिले छ र न भविष्यमा नै हुनेछ तसर्थ मेरो नाम मन्त्रिपरिषदको सदस्यका लागि भइरहेको अनलाइन भोटिङबाट हटाउन सम्बन्धित पक्ष लगायत सबैलाई अनुरोध गर्दछु,’ विज्ञप्तिमा छ ।

डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । डा. गोविन्द केसीले अनसन तोडेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित ३ दिनदेखि कैलालीको गेडा अस्पतालमा अनशनरत केसीले आज मंगलबार अनशन तोडेका हुन् । उनले अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट चुस पिएर दिउँसो २ बजे अनसन तोडेका हुन् । अनसनरत अवस्थामा थप उपचार गर्न भने उनले इन्कार गरेका थिए । ‘उहाँको स्वास्थ्य अवस्था क्रमश बिग्रँदै गएको छ । मांसपेशी दुख्ने, बाउडिने लगायतका समस्या देखिएको छ,’ डा. जैसीले भने, ‘चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न मान्नु भएको छैन ।’

डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै गत आइतबार दिँउसोदेखि सत्याग्रह सुरु गरेका हुन् । चिकित्सा शिक्षा आयोगको साउन ३० बसेको बैठकले निजी मेडिकल कलेजमा एमबीबीएसको सिट १३० सम्म दिने निर्णय गरेको थियो । आवश्यक मापदण्ड नै पुरा नगरेका निजी मेडिकललाई जथाभावी सिट तोक्दा गुणस्तर खस्कनुका साथै स्वास्थ्य सेवामा ह्रास आउने उनको तर्क छ ।

डा. केसी भन्छन्, ‘निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ, तर शिक्षाको गुणस्तर खस्किन्छ । गुणस्तर खस्कनुको अर्थ स्वास्थ्य सेवामा ह्रास आउनु हो, जुन आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्नु हो ।’

चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयहरूले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धरापमा पारेको डा. केसी बताउँछन् । सत्याग्रहसँगै डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने लगायतका माग राखेका छन् ।