`

प्रधानमन्त्रीलाई ‘आमा’ भन्ने जेनजीहरुले स्वर परिवर्तन गर्न थाले : मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आपत्ति जनाएका हुन् ।

उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावननाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताए । तर जेनजीहरुले पछिल्लो समय निर्वाचन हुनै नदिने भनेर स्वर निकालिरहेको बताए । यस्तो गर्न नपाइने मेयर महर्जनको भनाइ छ । निर्वाचन हुनैपर्ने र निर्वाचन सफलीभुत बनाउने काममा जेनजीहरुले पनि सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्युको जुन सरकार छ, यसको खास काम भनेको फागुन २१ गतेको चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । तर अलिकति मलाई चिसो परिरहेको छ की, जेनजीले आमा भन्नु हुन्छ । भनिरहेको पनि छ । तर पछिल्लो कालखण्डमा आएर स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिँदैनौँ भनिरहेको छ । यो भन्न पाइँदैन । चुनाव गर्नैपर्छ । चुनाव गरेर यो सरकार डिरेल भइरहेको अवस्था जुन छ, त्यसलाई रेलमा ल्याउने जुन प्रकारको मुख्य दायित्व छ, त्यो काममा सफलीभुत बनाउनै पर्छ ।’ महानगर प्रमुख महर्जनले जेनजीहरुको बुद्धि पलाउन बाँकी रहेको र निर्वाचन सफलीभुत गराउन सहयोग गर्नैपर्ने बताए ।

 

 

 

जेनजी आन्दोलनकारीले दमकल समेत छोडेनन्, अपाङ्गता भएकाहरु बोक्ने बस पनि जलाए : चिरिबाबु महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरपालिकाको काम नगरवासीलाई संरक्षण गर्ने र दिनचर्या झनै राम्रो बनाउने रहेको बताएका छन् । आइतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ललितपुर महानगरपालिकाको सबैभन्दा महत्वपूर्ण काम नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उहाँहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम जेनेरेशनमा कसरी टेवा पुर्‍याउने ? भन्ने रहेको बताए । जेनजी आन्दोलनका क्रममा ललितपुर महानगरपालिकाले दमकलको सेवा ललितपुर नगर क्षेत्रमा मात्रै नभइ काठमाडौं महानगरपालिकामा समेत दिएको बताए । सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानहरुमा ७९ पटक दमकलको सेवा दिएको उनको भनाइ छ ।

उनले भने, ‘ललितपुर महानगरपालिकाले सबैभन्दा महत्वपूर्ण काम भनेको नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उहाँहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम जेनेरेशनमा हामीले कसरी टेवा पुर्‍याउने ? भन्ने नै हाम्रो काम हो । आजको विषयवस्तु नगरवासीको सुरक्षामा कसरी बढी केन्द्रित हुने भन्ने हो ।’

उनले भने, ‘अस्ती जेनजी आन्दोलन भयो । त्यसमा हाम्रो नगर प्रहरीसँग रेगुलर कन्ट्याक्टमा बसेँ । कुनै पनि ठाउँमा आगजनी हुनासाथ जानुपर्छ जाने भनेँ । त्यो बेलामा ललितपुर महानगरपालिकाको दमकलको सेवा ललितपुर नगर क्षेत्रमा होइन, काठमाडौंको हिल्टन होटल, सिंहदरबार, सर्वोच्च, पाल्र्यामेण्ट बिल्डिङ्ग लगायतमा ७९ पटक दमकलको सेवा प्रवाह गरेका छौँ । हाम्रो दमकलमा फमको व्यवस्था छ । जाना साथ पानीले हान्ने होइन, फम हान्छ । हाम्रो दमकलबाट देखिने गरी आगो निभेको हुन्छ ।’

उनले मन्त्रीक्वार्टर जलेर फोन आएपछि दमकल पठाएको तर आन्दोलनमा सहभागी भएकाहरुले बाधा सिर्जन गरेको बताए । प्रमुख महर्जनले नगरवासीका लागि गर्नुपर्ने आवश्यक कामहरु आफूहरुले क्रमशः पूरा गरिरहेको बताए । आगो निभाउन गएको दमकललाई समेत आन्दोलनकारीले आगो लगाएको बताए । उनले अब अत्याधुनिक दुई वटा दमकल खरिद गर्ने निर्णय समेत गरेको बताए । अपाङ्गता भएका व्यक्तिहरुका लागि खरिद गरेको गाडीमा समेत आगजनी भएकाले अब झनै अत्याधुनिक गाडी किन्ने बताए ।