जेनजी आन्दोलनकारीले दमकल समेत छोडेनन्, अपाङ्गता भएकाहरु बोक्ने बस पनि जलाए : चिरिबाबु महर्जन
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरपालिकाको काम नगरवासीलाई संरक्षण गर्ने र दिनचर्या झनै राम्रो बनाउने रहेको बताएका छन् । आइतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले ललितपुर महानगरपालिकाको सबैभन्दा महत्वपूर्ण काम नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उहाँहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम जेनेरेशनमा कसरी टेवा पुर्याउने ? भन्ने रहेको बताए । जेनजी आन्दोलनका क्रममा ललितपुर महानगरपालिकाले दमकलको सेवा ललितपुर नगर क्षेत्रमा मात्रै नभइ काठमाडौं महानगरपालिकामा समेत दिएको बताए । सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानहरुमा ७९ पटक दमकलको सेवा दिएको उनको भनाइ छ ।
उनले भने, ‘ललितपुर महानगरपालिकाले सबैभन्दा महत्वपूर्ण काम भनेको नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उहाँहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम जेनेरेशनमा हामीले कसरी टेवा पुर्याउने ? भन्ने नै हाम्रो काम हो । आजको विषयवस्तु नगरवासीको सुरक्षामा कसरी बढी केन्द्रित हुने भन्ने हो ।’
उनले भने, ‘अस्ती जेनजी आन्दोलन भयो । त्यसमा हाम्रो नगर प्रहरीसँग रेगुलर कन्ट्याक्टमा बसेँ । कुनै पनि ठाउँमा आगजनी हुनासाथ जानुपर्छ जाने भनेँ । त्यो बेलामा ललितपुर महानगरपालिकाको दमकलको सेवा ललितपुर नगर क्षेत्रमा होइन, काठमाडौंको हिल्टन होटल, सिंहदरबार, सर्वोच्च, पाल्र्यामेण्ट बिल्डिङ्ग लगायतमा ७९ पटक दमकलको सेवा प्रवाह गरेका छौँ । हाम्रो दमकलमा फमको व्यवस्था छ । जाना साथ पानीले हान्ने होइन, फम हान्छ । हाम्रो दमकलबाट देखिने गरी आगो निभेको हुन्छ ।’
उनले मन्त्रीक्वार्टर जलेर फोन आएपछि दमकल पठाएको तर आन्दोलनमा सहभागी भएकाहरुले बाधा सिर्जन गरेको बताए । प्रमुख महर्जनले नगरवासीका लागि गर्नुपर्ने आवश्यक कामहरु आफूहरुले क्रमशः पूरा गरिरहेको बताए । आगो निभाउन गएको दमकललाई समेत आन्दोलनकारीले आगो लगाएको बताए । उनले अब अत्याधुनिक दुई वटा दमकल खरिद गर्ने निर्णय समेत गरेको बताए । अपाङ्गता भएका व्यक्तिहरुका लागि खरिद गरेको गाडीमा समेत आगजनी भएकाले अब झनै अत्याधुनिक गाडी किन्ने बताए ।
