`

१२ बुँदे माग बोकेर सिंदरबारमा सीके राउतको जनमत पार्टी

काठमाडौँ । डा. चन्द्रकान्त ‘सीके’ राउत नेतृत्वको जनमत पार्टीले सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई १२ बुँदे मागपत्र बुझाउँदै विगतमा भएका राजनीतिक सम्झौता कार्यान्वयनदेखि सुरक्षा निकायमा समावेशिता, प्रदेशको स्वायत्तता र सीमांकन संशोधनजस्ता मुद्दामा तत्काल कदम चाल्न आग्रह गरेको छ ।

जनमत पार्टीले मधेश, थरूहट र स्वराज आन्दोलनका क्रममा सरकारसँग भएका २२ बुँदे, ८ बुँदे र ११ बुँदे सम्झौताका बाँकी प्रावधान तत्काल लागू गर्नुपर्नेमा जोड दिएको छ । साथै आन्दोलनका क्रममा मुद्दा लागेर जेल तथा हिरासतमा रहेका व्यक्तिहरूलाई रिहा गरी मुद्दा फिर्ता तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारले पहल गर्नुपर्ने माग दलले उठाएको छ ।

नेपाली सेनासहित सबै सुरक्षा निकायमा मधेशी समुदायको प्रतिनिधित्व न्यून भएको पार्टीको आरोप छ । पार्टीले मधेशी युवाहरूका लागि समूहगत भर्ती प्रक्रिया तत्काल सुरु गर्न सरकारलाई आग्रह गरेको छ, जसले संघीय समावेशी संरचना सुदृढ हुने जनमत पार्टीको भनाइ छ ।

२०६४ फागुन १६ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको ८ बुँदे सम्झौतामै उल्लेख भएअनुसार प्रदेशहरूलाई राजनीतिक, प्रशासनिक तथा आर्थिक अधिकारसहित पूर्ण स्वायत्त संरचनामा रूपान्तरण गर्नुपर्ने पार्टीको माग छ । स्थानीय तहहरू पनि प्रदेश सरकार मातहत राख्नुपर्ने उनीहरूको अडान छ ।

संघीय शासनपद्धतिको भावना र संविधानको अनुसूचीअनुसार प्रहरी संगठन पूर्ण रूपमा प्रदेश सरकारको मातहतमा राख्नुपर्ने जनमत पार्टीको आग्रह छ । यसले संघीयता व्यवहारमा उतारिने र प्रदेश सरकारहरू सुदृढ हुने धारणा पार्टीले व्यक्त गरेको छ ।

तराई–मधेशको जनसंख्या ५४ प्रतिशत नाघिसकेको दाबी गर्दै पार्टीले प्रतिनिधि सभाको निर्वाचन क्षेत्र पूर्ण रूपमै जनसंख्याको आधारमा निर्धारण हुनुपर्ने धारणा राखेको छ । साथै लुम्बिनी, सुदूरपश्चिम र प्रदेश–१ का सीमांकन स्थानीय जनभावनाअनुसार पुनःसमीक्षा गर्न माग गरिएको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको १२ बुँदे ज्ञापनपत्रमा जनमत पार्टीले मधेशी जनताका मुद्दा समाधानमा सरकार गम्भीर नबने आन्दोलन फेरि उठ्न सक्ने चेतावनी पनि दिएको बताइएको छ ।

हेर्नुस् जनमतका मागहरु

सीके राउतको मागप्रति जनमतका कोशी अध्यक्षको आपत्ति

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सडकबाटै मधेशलाई स्वायत्त घोषणा गर्नुपर्ने भनी दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर सोही पार्टीका कोशी प्रदेश अध्यक्षले आपत्ति जनाएका छन् । कोशी प्रदेश समन्वय समितिका अध्यक्ष बुद्धिराज न्यौपानेले राउतको उक्त धारणा पार्टीको आधिकारिक नभएको समेत बताएका छन् । देश विभाजन वा क्षेत्रीय विखण्डन पार्टीको एजेन्डा कहिल्यै नभएको उनको प्रष्टीकरण छ ।

उनले भनेका छन्, ‘अध्यक्ष ज्यूको व्यक्तिगत अभिव्यक्ति पार्टीको आधिकारिक धारणा होइन भन्ने कुरामा म स्पष्ट छु । हाम्रो पार्टी सदैव कार्यकर्ता, समर्थक तथा जनतासँग एकता, सहकार्य र साझा राष्ट्रिय हितका लागि अडिग रहनेछ ।’ अध्यक्ष राउतले देश नै विखण्डन गर्ने खालको माग राखेर संविधानलाई नै चुनौती दिएको उनको भनाइ छ । पछिल्लो समय जेन–जी आन्दोलनबाट अपदस्थ व्यक्तिहरूसँग अध्यक्ष राउतले गरेका भेटघाटहरू आन्दोलनको भावना प्रतिकूल र शंकास्पद देखिएको टिप्पणी समेत उनको छ ।

न्यौपाने भन्छन्, ‘नेपालका सबै प्रदेशहरू स्वायत्त र स्वशासित हुनुपर्छ भन्ने मान्यता सविधानमै स्थापित संघीय संरचनाको आधारभूत आदर्श हो, जसलाई जनमत पार्टीले पूर्ण समर्थन गर्दै आएको छ । अध्यक्ष राउतले प्रदेश संरचना बलियो बनाउने पहल गर्नुको साटो देश नै टुक्रयाउने अभिव्यक्ति दिएर नेपाली जनताको सिंगो मुलुक प्रतिको अगाध प्रेमलाई चुनौति दिनु भएको छ ।’ मधेश र नेपाल एकअर्काको अविभाज्य अंग रहेको भन्दै उनले आफूहरूको संघर्ष बिखण्डनका लागि नभएर समानता र सम्मानका लागि भएको बताएका छन् । राउतले केही दिनअघि स्टाटस लेख्दै सडकमै प्रदेशसभा बैठक राखेर मधेशलाई स्वायत्त घोषणा गर्ने मौका आएको बताएका थिए ।

जनमत पार्टी विभाजनविरुद्धको रिट सीके राउतको पक्षमा, सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । जनमत पार्टीबाट फुटेर बनेको जनस्वराज पार्टी नामक नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासबाट शुक्रबार उक्त आदेश भएको हो । निर्वाचन आयोगले यहिँ असोज २८ गते जनमत पार्टी फुटाएर जनस्वराज पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध डा.राउतले सर्वोच्च अदालतमा उत्प्रेषणसमेतको रिट दायर गरेका थिए ।

न्यायाधीश श्रेष्ठले विपक्षीका नाममा लिखित जवाफ माग्दै आगामी कार्तिक १७ गते छलफल हुने मिति तोकेका छन् । त्यस छलफल सम्पन्न नभएसम्म आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको हो । ‘आदेश नभएसम्म जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने गरी निर्वाचन आयोगबाट २०८२ असोज २८ मा भएको निर्णय र सो निर्णयानुसार लेखिएको च.नं .९६ प.सं.०८२–८३ को पत्र कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) (ख) बमोजिम विपक्षीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ,’ आदेशमा उल्लेख छ ।

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले दिएको रिटमा सुनुवाइ गर्दै लिखित जवाफ माग गर्नुका साथै दुवै पक्षलाई कात्तिक १७ गते छलफलका लागि बोलाएको छ । ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारण सहित बाटोको म्याद बाहेक सूचना म्याद पाएका मितिले १५ दिनभित्र विपक्षी नम्बर १ को हकमा महान्यायाधिवक्ताको कार्यालय मार्फत र अन्य विपक्षीहरूको हकमा आफैं वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनि रिट निवेदनको एक÷एक प्रति नक्कल समेत साथै राखी विपक्षीहरूका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु,’ आदेशमा उल्लेख छ ।

 

जनमत पार्टी विभाजनविरुद्ध सर्वोच्चमा सीके राउत

काठमाडौं । जनमत पार्टी विभाजनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । जनमतका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले राजनीतिक दलसम्बन्धि ऐन निष्क्रिय भएको समयमा दल विभाजन नै हुन नसक्ने दावी गर्दै रिट दायर गरेका हुन् ।

‘अहिले दल विभाजनको ऐन नै निष्क्रिय छ । त्यसमाथि पार्टीले कारबाही गरिसकेका व्यक्तिको हस्ताक्षर प्रयोग गरेर दल विभाजन गरिएको छ,’ राउतले भने, ‘हामीले कारबाही गरेका व्यक्तिबारे आयोगलाई यसअघि नै जानकारी गराइसकेका थियौं । अनि उनीहरूकै हस्ताक्षरमा दल विभाजन हुन्छ ? त्यसैले आज रिट दायर गरें ।’ राउतले निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट दायर गरेको जनाएका छन् । उपाध्यक्ष रहेका दीपककुमार साहसहितले जनमत पार्टी फुटाएर जनस्वराज पार्टी गठन गरेका छन् । राउतको रिटको पेसी शुक्रबारलाई तोकिएको छ ।

सीके राउतलाई नेतृत्व छोड्न जनमतका नेताहरुको २४ घण्टे ‘अल्टिमेटम’

काठमाडौं । जनमत पार्टीका पदाधिकारीसहितका नेताहरूले अध्यक्ष सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका छन् । वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवलगायतका ६ जना नेताले सामुहिक हस्ताक्षर गरी नेतृत्वले मार्ग प्रशस्त गरिएमा पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्थामा रूपान्तरण गर्न एकजुट भएर लाग्ने उल्लेख गरिएको छ ।

संगठन विभागका प्रमुख समेत रहेका सीके राउतका सहोदर दाजु जयकान्त राउतलाई पद छाड्न भनिएको छ । जेनजी ले सञ्चालन गरेको आन्दोलनले नेपालको राजनीतिमा ऐतिहासिक मोड ल्याएको साथै आन्दोलनले सत्तारूढ गठबन्धन सरकार, प्रधानमन्त्री, गठबन्धनका शीर्ष नेता तथा प्रमुख प्रतिपक्षी दलका नेताहरूको अकर्मण्यता र अनियमितताविरुद्ध गम्भीर प्रश्न उठाएको उनीहरूले उल्लेख गरेका छन् ।

अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका बेला जनमत पार्टीले समेत आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ ।’ जनताको भरोसा र समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिए पनि पछिल्लो शीर्ष नेतृत्वबाट कमजोर कार्यशैली, निर्णय प्रक्रियामा अपारदर्शीता तथा जनभावनासँग विमुख गतिविधि देखिएको उनीहरूले जनाएका छन् ।