सरकारी टोलीले गर्यो जनमत पार्टी कार्यालय अनुगमन, सीके राउतसँग भेटघाट
काठमाडौं । उच्चस्तरीय राजनीतिक वार्ता समितिले जनमत पार्टी कार्यालयको अनुगमन र निरीक्षण गरेको छ । सो समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त टिमले पार्टी अध्यक्ष सीके राउतसँग भेटघाट समेत गरेको छ । सरकारी टोलीले आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय अनुगमन गर्दैछ ।
समितिको कार्यतालिकाअनुसार बिहान ११ बजे जनमत पार्टी, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालयमा पुगेर अनुगमन तथा संवाद गरिनेछ । सरकारका प्रवक्ता खरेलले निर्वाचनको माहोल बनाउन चरणबद्ध राजनीतिक वार्ता र संवादलाई निरन्तरता दिइएको बताए । यसअघि मंगलबार समितिले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पुगेर अनुगमन तथा नेताहरूसँग वार्ता गरिसकेको छ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

