`

जसपा नेपाल एक महिने संघर्षमा, आज प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउँदै

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको एक महिना बढीको संघर्षका कार्यक्रमहरु आज (बुधबार) बाट शुरु भएको छ ।

पार्टीले उठाइरहेको माग र राष्ट्रिय मुद्दामा आज देशभरका जिल्ला प्रशासन कार्यालयहरुमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशव्यापीरुपमा एक महिने विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो । मंसिर ११ गते देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न शहर बजारमा विरोध कार्यक्रम हुने जनाइएको छ ।

मंसिर १९ र २१ गते पार्टीले जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्ना राखिएको छ । मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म जिल्ला स्तरीय विरोध सभा र जनसभा हुने जसपा नेपाले जनाएको छ । जसपा नेपालले पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुरमा, पुस १५ गते वीरगञ्जमा र पुस १७ गते भैरहवामा जनसभा गर्ने भएको छ ।

निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्छ : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले समान जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय-प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग गरेको छ । जनसंख्याका आधारमा प्रतिनिधित्व लोकतन्त्रका मूल आधार भएको भन्दै दलित र महिलाहरूका लागि न्यायोचित प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभूति गराउन उनीहरूका लागि छुट्टै आरक्षित संसदीय-प्रादेशिक निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने पार्टीको धारणा रहेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

‘जसपा नेपालले राष्ट्रिय सभालाई प्रादेशिक जनसंख्याको आधारमा समानुपातिक समावेशी हुने गरी हाउस अफ नेस्नालिटिज बनाउनु पर्ने प्रस्ताव राखेको छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने तथा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालिको व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसदको व्यवस्था गर्नुपर्ने जसपा नेपालको माग छ,’ बस्नेतले भने । त्यस्तै पार्टीले भौगोलिक रूपमा अत्यन्त विकट रहेको हिमाली क्षेत्रको न्यायोचित प्रतिनिधित्व सुनिश्चत गर्नुपर्नेमा जोड दिएको छ । जसपा नेपालले स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकार अन्तर्गत राख्न र स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गर्ने व्यवस्था हुनुपर्ने जनाएको छ ।

जसपा नेपालले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको माग गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी तयारी र सङ्घर्षका कार्यक्रमहरु एकसाथ अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

मङ्सिर १० गते प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको सो पार्टीका महासचिव रामकुमार शर्माले बताए ।

दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले संगठन सुदृढ, चुनाव र सङ्घर्षका कार्यक्रम तय गरेको उनले बताए । मङ्सिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर र बजार क्षेत्रमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन गर्नुका साथै मङ्सिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम रहेको उनले बताए ।

मङ्सिर २७ देखि पुस ४ सम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजना हुने जानकारी गराउँदै उनले प्रदेशस्तरीय विरोध सभाका कार्यक्रम पनि तय गरेको बताए । जसपा नेपालले प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोध सभाको कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जसअनुसार पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज, पुस १७ गते नेपालगञ्ज र भैरहवामा कार्यक्रम तय गरिएको छ ।

पार्टीले विगतदेखि नै उठाउँदै आएको माग र मुद्दाहरु पुरा गराउन सरकार सकारात्मक नदेखिएकोले सडक सङ्घर्षमा जानुपरेको बस्नेतको भनाइ छ।

यसका अतिरिक्त आवश्यक्ताअनुसार अन्य विरोधका कार्यक्रमहरु सम्बन्धित जिल्ला समिति वा प्रदेश समितिले निर्णय गरी सञ्चालन गर्ने जसपा नेपालले जनाएको छ ।

प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समावेशी संसद्, स्वायत्त अधिकार सम्पन्न प्रदेश,  समान जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र, राज्यको पुनर्संरचना लगायतका विषय संविधानमा संशोधन हुनुपर्ने माग आफूहरूले राखेको उनले बताए ।