`

जसपा नेपालले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

Nepal One HD ६ मंसिर २०८२ १२:३८
राजनीति

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको माग गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी तयारी र सङ्घर्षका कार्यक्रमहरु एकसाथ अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

मङ्सिर १० गते प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको सो पार्टीका महासचिव रामकुमार शर्माले बताए ।

दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले संगठन सुदृढ, चुनाव र सङ्घर्षका कार्यक्रम तय गरेको उनले बताए । मङ्सिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर र बजार क्षेत्रमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन गर्नुका साथै मङ्सिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम रहेको उनले बताए ।

मङ्सिर २७ देखि पुस ४ सम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजना हुने जानकारी गराउँदै उनले प्रदेशस्तरीय विरोध सभाका कार्यक्रम पनि तय गरेको बताए । जसपा नेपालले प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोध सभाको कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जसअनुसार पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज, पुस १७ गते नेपालगञ्ज र भैरहवामा कार्यक्रम तय गरिएको छ ।

पार्टीले विगतदेखि नै उठाउँदै आएको माग र मुद्दाहरु पुरा गराउन सरकार सकारात्मक नदेखिएकोले सडक सङ्घर्षमा जानुपरेको बस्नेतको भनाइ छ।

यसका अतिरिक्त आवश्यक्ताअनुसार अन्य विरोधका कार्यक्रमहरु सम्बन्धित जिल्ला समिति वा प्रदेश समितिले निर्णय गरी सञ्चालन गर्ने जसपा नेपालले जनाएको छ ।

प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समावेशी संसद्, स्वायत्त अधिकार सम्पन्न प्रदेश,  समान जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र, राज्यको पुनर्संरचना लगायतका विषय संविधानमा संशोधन हुनुपर्ने माग आफूहरूले राखेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *