`

जापानमा इन्फ्लुएन्जाका बिरामीहरु बढे

जापान । सेप्टेम्बर २९ देखि अक्टोबर ५ सम्मको हप्तामा जापानमा इन्फ्लुएन्जाका केसहरूको संख्या अघिल्लो हप्ताको तुलनामा १.५ गुणा बढी भएको छ । जापान इन्स्टिच्युट फर हेल्थ सेक्युरिटीको तथ्याङ्कअनुसार अक्टोबर ५ मा समाप्त भएको हप्तामा जापानभरि कुल ६ हजार १३ केसहरू रिपोर्ट गरिएका थिए ।

जुन प्रतिसेन्टिनेल मेडिकल संस्थामा औसत १.५६ केसहरू थिए । जुन अघिल्लो हप्ता १.०४ केसहरू थिए । ओकिनावा प्रान्तले प्रतिसंस्था औसत १२.१८ केसहरूसहित उच्चतम संख्या रिपोर्ट गरेको छ । त्यसपछि टोकियो (३.३) र मियाजाकी (२.८९) छन् । यस वर्षको फ्लू सिजन जापानमा सामान्य भन्दा लगभग एक महिना अगाडि शुरु भएको छ ।

जुन विदेश यात्रामा वृद्धि, सार्वजनिक शतर्कतामा कमी र जलवायु उतारचढाव जस्ता कारकहरूको संयोजनले गर्दा हो । जापानको अनुगमन मापदण्ड अन्तर्गत जब तोकिएको मेडिकल संस्थामा इन्फ्लुएन्जाका केसहरूको औसत साप्ताहिक संख्या एक भन्दा बढी हुन्छ । यदि संख्या १० भन्दा माथि बढ्यो भने यो सतर्कतास्तरमा पुग्छ ।

यस मापदण्डको आधारमा, जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सेप्टेम्बर २२–२८ को हप्तामा साप्ताहिक औसत १.०४ पुगेपछि अक्टोबर ३ मा राष्ट्रव्यापी फ्लू सिजन शुरु भएको घोषणा गर्‍यो । यो २०२४ भन्दा पाँच हप्ता अगाडि थियो । १९९९ मा हालको तथ्याङ्कीय विधि लागू भएदेखि दोस्रो सबैभन्दा प्रारम्भिक शुरुवात थियो । तथ्याङ्कले अगस्टको मध्यदेखि लगातार सात हप्तासम्म नयाँ साप्ताहिक इन्फ्लुएन्जा केसहरूको संख्या बढेको पनि देखाएको छ । फ्लू फैलिँदै जाँदा अक्टोबर ५ सम्म जापानभरि ६२० किन्डरगार्टेन, नर्सरी स्कूल र प्राथमिक तथा माध्यमिक विद्यालयहरू पूर्ण वा आंशिक रूपमा बन्द गरिएका छन् ।

 

 

जापानमा पहिलो महिला प्रधानमन्त्री बन्दै अनुदारवादी नेत्री ताकाइची

काठमाडौं । साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा छिन् तर उनका विचारहरू अझै पनि गहिरो पितृ सत्तात्मक समाजका लागि सामाजिक रूपमा रूढीवादी मानिन्छन् ।

मार्गरेट थ्याचरलाई आफ्नो प्रेरणा मान्ने ताकाइची शनिबार सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को प्रमुखमा निर्वाचित भइन् र सम्भवतः यही महिनाको अन्त्यमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछिन् । उनले ‘नर्डिक देशहरू जस्तै’ महिला प्रतिनिधित्वसहितको मन्त्रिपरिषद् बनाउने वाचा गरेकी छन् । हालका प्रधानमन्त्री सिगेरू इसिबाको नेतृत्वमा दुई जना मात्र महिला मन्त्री थिए ।

६४ वर्षीया ताकाइचीले महिलाको स्वास्थ्य संघर्षका विषयमा जनचेतना बढाउने आशा व्यक्त गरेकी छन् र रजोनिवृत्तिको आफ्नै अनुभवबारे खुलेर बोलेकी छन् । यद्यपि, लैङ्गिक समानतासम्बन्धी उनका नीतिहरू अत्यन्तै रूढीवादी मानिन्छन् । उनी १९औं शताब्दीको कानूनी प्रावधानमा भएको प्रस्तावित संशोधनको विरोधमा छिन्, जसले विवाहित जोडीहरूलाई एउटै थर लिन बाध्य पार्छ । यस कारण धेरै महिलाहरू पतिको थर लिन बाध्य हुने गर्छन् ।

ताकाइची जापानको शाही परिवारले पुरुष–मात्र उत्तराधिकार प्रणाली कायम राख्नुपर्ने पक्षमा छिन् र समलिङ्गी विवाहको समेत ‘मौलिक रूपमा विरोध’ गर्छिन् । टोकाई विश्वविद्यालयकी राजनीति तथा लैङ्गिक अध्ययन विज्ञ प्राध्यापक युकी सुजीका अनुसार ताकाइचीलाई महिला अधिकार वा लैङ्गिक समानतामा खास चासो छैन ।

उनले भनिन्, ‘त्यसैले अघिल्ला एलडिपी प्रशासनहरूका तुलनामा यस क्षेत्रमा ठूला नीतिगत परिवर्तनको सम्भावना छैन ।’ सुजीका अनुसार महिला प्रधानमन्त्रीका रूपमा ताकाइचीको प्रतीकात्मक उपस्थिति ‘धेरै महत्वपूर्ण’ हुनेछ, तर यदि उनी असफल भइन् भने ‘महिला नेतृत्वबारे नकारात्मक धारणा अझै बलियो बन्न सक्छ ।’

गर्व र आशा
टोकियोकी कार्यालय कर्मचारी ५० वर्षीया युकाले ताकाइचीको जितप्रति खुशी व्यक्त गर्दै भनिन्, ‘अब हामी विश्वलाई गर्वका साथ भन्न सक्छौँ कि जापानसँग पहिलो महिला नेता हुन लाग्नु भएको छ ।’ तर उनी ताकाइचीको नेतृत्वमा लैङ्गिक समानतामा ठूलो प्रगति हुने अपेक्षामा भने सशङ्कित छिन् ।

गत वर्ष पूर्व केबिन परिचारिका मित्सुको टोटोरी जापान एयरलाइन्सकी मालिक बन्न सफल भइन्, तर त्यस्तो उपलब्धि जापानको कर्पोरेट संसारमा अझै दुर्लभ छ, जहाँ लामो कार्यसमय र सीमित बाल हेरचाह सुविधाले महिलालाई पछि पार्दछ । सन् २०२१ मा जापानमा महिलाले जम्मा १३.२ प्रतिशत व्यवस्थापकीय पद ओगटेका थिए, जुन आर्थिक सहयोग तथा विकास सङ्गठनका सदस्य देशहरूमध्ये सबैभन्दा कम हो ।

विश्व आर्थिक मञ्चको ग्लोबल जेन्डर ग्याप रिपोर्ट–२०२५ अनुसार जापान १४८ देशमध्ये ११८औं स्थानमा छ । ‘यहाँ धेरै सक्षम महिलाहरू छन्, तर नेतृत्वका अवसरहरू प्रायः पुरुषहरूले कब्जा गर्छन्’, युकाले भनिन्, ‘धेरै महिलाहरू आफ्ना छोराछोरी वा बुढेसकालका आमाबाबुको हेरचाहका कारण करियरको शिखरमा पुग्नुअघि नै छोड्न बाध्य हुन्छन् ।’

राजनीतिमा चुनौतीहरू
जापानी संसद्को तल्लो सदनमा महिलाको प्रतिनिधित्व मात्र करिब १५ प्रतिशत छ । उल्लेखनीय अपवाद भनेकी टोकियोकी गभर्नर युरिको कोइके हुन् जसले निःशुल्क डे केयर जस्ता महिला–मैत्री कार्यक्रमहरू ल्याएका छन् ।

महिला सांसदहरूले राजनीतिज्ञ र गृहिणी दुवै भूमिकाको सन्तुलन गर्न कठिनाइ झेलेका छन् — जुन उनीहरूको पुरुष समकक्षका लागि समस्या ठानिँदैन । उनीहरूले प्रायः लैङ्गिक पूर्वाग्रहपूर्ण टिप्पणी र अपमानजनक व्यवहार पनि सहनुपरेको छ । सन् २०२४ मा तत्कालीन उपप्रधानमन्त्री तारो एसोले विदेशमन्त्री योको कामिकावालाई ‘आन्टी’ र ‘त्यति सुन्दर नभएको’ भन्दै सार्वजनिक रूपमा टिप्पणी गरेकी थिइन् ।

मिटु आन्दोलनले जापानमा धेरै प्रभाव जमाउन सकेको छैन, यौन दुव्र्यवहारका पीडितहरू अगाडि आउन अझै हिचकिचाइरहेका छन् । पूर्व सैनिक रिना गोनोई र पत्रकार शिओरी इतोले आफ्नो बहादुरीका कारण प्रशंसा पाएका भए पनि तीव्र अनलाइन घृणा अभियानको सामना गर्नुपरेको थियो । ‘विगतमा जापानमा महिला सम्राटहरू भएका थिए, तर महिला प्रधानमन्त्री कहिल्यै थिएनन्’, अपाङ्गता भएका व्यक्तिहरूको हेरचाहमा कार्यरत २३ वर्षीया रयुकी तात्सुमीले भनिन्, ‘त्यसैले यो जापानका लागि प्रगति गर्ने ऐतिहासिक अवसर हुनसक्छ ।’

अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पु¥याइरहेको सहयोगका विषयमा छलफल भयो ।

छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनर्निर्माणलगायत आर्थिक सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने बताए ।

उक्त अवसरमा निर्माणाधीन नागढुङ्गा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजनालगायतका सहयोगका क्षेत्रहरु र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर चोक सुधार परियोजना, सिन्धुली सडक बाढी प्रभावित आपतकालीन पुनःस्थापना कार्यक्रम समेतका विविध विषयमा कुराकानी भयो । त्यस अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्माको समेत उपस्थिति रहेको थियो ।

नेपालका रणनीतिक महत्वका ठूला आयोजनामा सहायता उपलब्ध गराउन जापान तयार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको आज भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानकातर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखि महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रुपमा रहेको जापानका राजदूतसँगको भेटमा जापानले नेपाललाई पुर्‍याउँदै आएको द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्थालगायतका विषयमा छलफल भएको जनाइएको छ ।

जापानको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरुङका लागि आवश्यक थप सहायता, बिपी राजमार्ग पुनर्निर्माण, १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाका लागि आवश्यक थप सहायता, कोटेश्वर चोक सुधार, विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि सञ्चालित आयोजनाको प्रगतिलगायतका विषयमा छलफल भएको थियो ।

नेपालको विकास प्राथमिकता प्राप्त क्षेत्रमा जापानको सहायताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत् क्षेत्रमा रणनीतिक महत्वका ६७० मेगावाटको दूधकोशी, १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना, पूर्वाधार आयोजनाको तयारी, काठमाडौँ उपत्यकाको एक सय वर्षको सहरी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयारीलगायतका सम्भावित क्षेत्रमा सहायता उपलब्ध गराउन आग्रह गरे ।
भेटमा राजदूत तोरुले नेपालका रणनीतिक महत्वका ठूला आयोजनामा सहायता उपलब्ध गराउन जापान तयार रहेको उल्लेख गरे ।