`

आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र पछाडि देशले सामना गर्नुपरेको अवस्थाले चिन्तित तुल्याएको बताएका छन् । राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा शनिबार भिडियो सन्देशमार्फत उनले अहिले देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका हुन् ।

‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,’ उनले भिडियो सन्देशमा भनेका छन् । शान्ति र आर्थिक प्रगतितर्फ देशलाई लैजाने दलहरूको चाहनाअनुसार राजतन्त्र जनतामा सुरक्षित गर्दै श्रीपेच त्यागेको उनले बताएका छन् ।

‘झण्डै दुई दशक अघि शान्ति ल्याउँछौं, आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहनाअनुसार श्रीपेच र राजतन्त्र जनताको नासो जनताकै संरक्षणमा बुझाएका हौं,’ उनले भनेका छन् ।

नयाँ पुस्ताको इच्छा–अभिलाषालाई राज्य व्यवस्थाले समेट्नै पर्छ : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको इच्छा–अभिलाषालाई राज्य व्यवस्थाले समेट्नै पर्ने बताएका छन् । विजया दशमी तथा दीपावलीको अवसरमा जारी शुभकामना सन्देशमार्फत पूर्व राजाले नयाँ पुस्ताको मागलाई समर्थन जनाउँदै सरकारलाई त्यसलाई पूरा गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भनेका छन्, ‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित हुँदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्छ ।’

उनले युवा पुस्तामा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने प्रस्ट पारेका छन् । ‘हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौँ । बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटि परे,’ उनले भनेका छन्, ‘अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ ।’

पूर्वराजा ज्ञानेन्द्रले सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हुनै पर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन्। उनले सन्देशमा भनेका छन्, ‘जे भयो भयो, जे जे नहुनु थियो, त्यो सबै भयो । अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।’

यस पटकको दशैंमा पूर्व राजाले सर्वसाधारणलाई टिका नलगाई दिने घोषणा पनि गरेका छन् । जेनजी आन्दोलनका क्रममा शहीद भएका घटनाले देश शोकमग्न भएको र संवेदनशील वातावरणलाई मध्यनजर गर्दै सार्वजनिकरूपमा टीका लगाइ दिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।

पूर्व राजाले वर्तमान परिस्थितिलाई राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको भन्दै यस पटकको दशैंलाई पारिवारिक र सांस्कृतिक रुपमा मात्र सीमित गर्न बाध्य भएको बताएका छन् । ‘सही, सत्य, अग्रजको आदर, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत हामीमा हुनै पर्दछ । जे भयो, अबको नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

जेनजीको आन्दोलन हिंसात्मक नहोस्, देशभित्रै समाधान निकालियोस् : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजीको प्रदर्शन चर्किएपछि आन्दोनलको निकास देशभित्रबाटै निकाल्नु पर्ने बताएका छन् । उनको संवाद सचिवालयले मंगलबार विज्ञप्ति निकाल्दै आन्दोलन हिंसात्मक नबनाउन पनि आग्रह गरेका छन् ।

‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस भन्ने धारणा राखि बक्सेको छ,’ सचिवालयले भनेको छ, ‘हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस भन्ने चाहना राखी बक्सेको छ ।’