`

नयाँ पुस्ताको इच्छा–अभिलाषालाई राज्य व्यवस्थाले समेट्नै पर्छ : पूर्वराजा शाह

Nepal One HD १२ असोज २०८२ १०:२९
प्रमुख खबर

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको इच्छा–अभिलाषालाई राज्य व्यवस्थाले समेट्नै पर्ने बताएका छन् । विजया दशमी तथा दीपावलीको अवसरमा जारी शुभकामना सन्देशमार्फत पूर्व राजाले नयाँ पुस्ताको मागलाई समर्थन जनाउँदै सरकारलाई त्यसलाई पूरा गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भनेका छन्, ‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित हुँदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्छ ।’

उनले युवा पुस्तामा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने प्रस्ट पारेका छन् । ‘हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौँ । बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटि परे,’ उनले भनेका छन्, ‘अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ ।’

पूर्वराजा ज्ञानेन्द्रले सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हुनै पर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन्। उनले सन्देशमा भनेका छन्, ‘जे भयो भयो, जे जे नहुनु थियो, त्यो सबै भयो । अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।’

यस पटकको दशैंमा पूर्व राजाले सर्वसाधारणलाई टिका नलगाई दिने घोषणा पनि गरेका छन् । जेनजी आन्दोलनका क्रममा शहीद भएका घटनाले देश शोकमग्न भएको र संवेदनशील वातावरणलाई मध्यनजर गर्दै सार्वजनिकरूपमा टीका लगाइ दिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।

पूर्व राजाले वर्तमान परिस्थितिलाई राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको भन्दै यस पटकको दशैंलाई पारिवारिक र सांस्कृतिक रुपमा मात्र सीमित गर्न बाध्य भएको बताएका छन् । ‘सही, सत्य, अग्रजको आदर, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत हामीमा हुनै पर्दछ । जे भयो, अबको नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्’ उनले शुभकामना सन्देशमा भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *