`

बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउँछौं : खनाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउने बताएका छन् । जेन–जी रेडफोर्सले आइतवार आयोजना गरेको जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उनले पार्टीको अबको लक्ष्य निर्वाचनमा बहुमत ल्याउने रहेको बताए ।

बहुमत ल्याएपछि नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गरेर वैज्ञानिक समाजवादको दिशातर्फ देशलाई लैजाने उनले बताए । उनले सम्पूर्ण नेपालीको नेतृत्व अब नेपाली कम्युनिष्ट पार्टीले गर्ने पनि दाबी गरे । नेपाली कम्युनिष्ट पार्टीको उम्मेद्वारलाई जिताउनको लागि देशभर तयारी थाल्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई करोड ९२ लाख जनतालाई एकतावद्ध गरेर हामी अब नयाँ समाजवादी क्रान्तिमा जाँदैछौँ । तर अहिले चाहीँ हामी निर्वाचनको अभियानतर्फ अगाडि बढ्दैछौँ । यो निर्वाचनमा तपाई हामीले देशव्यापी रुपमा हाम्रा उम्मेद्वारहरुलाई विजयी गराएर आउने संसदलाई परिवर्तनकारी संसदको रुपमा रुपान्तरण गर्नको लागि देशव्यापी रुपमा हाम्रो उम्मेद्वारहरुलाई विजयी गराउने र हामीले बहुमत प्राप्त गरेर यो देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गर्नु आजको हाम्रो कार्यनीतिक लक्ष्य हो । त्यो बनायौँ भने मात्रै हामी वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नेछौँ ।’ उनले युवाहरुलाई पार्टी नेतृत्वको लागि तयार गर्ने कुरामा आफूहरु लागेको पनि जानकारी दिए । पार्टीमा ४० प्रतिशत युवाको सहभागिता रहने उनको भनाई छ ।

देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ : झलनाथ खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेपाललाई योजनाबद्धरुपमा युक्रेन जस्तै बनाउने षड्यन्त्र भइरहेको भन्दै सबै वामपन्थी र कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । अंग्रेजी नयाँ वर्षको शुभकामना सन्देश दिँदै खनालले जेन्जी आन्दोलनका नाममा देशलाई महाविपत्तिको अवस्थामा लगिएको र यसमा पश्चिमा शक्ति अनि नेपालभित्रका उनीहरुका मान्छे संलग्न रहेको आरोप समेत लगाएका छन् ।

खनालले भनेका छन्, ‘अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरु र देशभित्रका उनीहरुका दलालहरु नेपाललाई युक्रेन बनाउन योजनाबद्ध ढंगले लागेका छन् । उनीहरु नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरुको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र बिध्वंशतिर लान खोज्दै छन् ।’

एमालेलाई झलनाथ खनालको आग्रह : एउटै पार्टी बनाएर अघि बढौं

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशका सबै कम्युनिष्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन् । सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेषतः नेकपा एमालेका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै एउटै कम्युनिष्ट पार्टी निर्माण गरेर अघि बढ्न आग्रह गरेका हुन् ।

वीरेन्द्रनगरमा शनिबार आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै खनालले मुलुकलाई समाजवादतर्फ लैजान कम्युनिष्टहरूबीचको एकता अपरिहार्य रहेको बताए । उनका अनुसार वर्गीय हित, श्रमिक र सर्वहारा वर्गको मुक्तिका लागि एउटै देशमा अनेकौं कम्युनिष्ट पार्टी रहनु उपयुक्त हुँदैन । ‘एमालेका साथीहरूका लागि पनि यही बाटो हो, अर्को विकल्प छैन’, उनले भने, ‘हामी सबै एक भएर एउटै बलियो कम्युनिस्ट पार्टी निर्माण गरौँ ।’

खनालले विगतमा विभिन्न विचार र धारहरू अपनाइए पनि अबको स्पष्ट मार्गदर्शन मार्क्सवाद–लेनिनवाद नै भएको उल्लेख गरे । उनले नेपाली विशेषताको समाजवाद नै पार्टीको मुख्य विशेषता भएको बताउँदै त्यसकै आधारमा अगाडि बढ्नुपर्ने धारणा राखे। एमालेको महाधिवेशनतर्फ संकेत गर्दै उनले त्यहाँ सहभागी नेता–कार्यकर्तालाई पनि मूल कम्युनिस्ट धारमा फर्किन आग्रह गरे ।

उनका अनुसार कम्युनिस्ट पार्टीहरू एक भएर राष्ट्रिय स्तरमै अपराजित शक्तिका रूपमा विकास हुन आवश्यक छ । टुटफुट र विभाजनको राजनीतिले लक्ष्य प्राप्त नहुने भन्दै उनले निश्चित नीति, कार्यदिशा र मापदण्डका आधारमा एकता कायम गर्नुपर्नेमा जोड दिए । सम्बोधनका क्रममा खनालले मुलुकमा विदेशी हस्तक्षेप बढ्दै गएको र यसले राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाएको टिप्पणी पनि गरे । जनताको आधारभूत आवश्यकता—गाँस, बास र कपाससँगै शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने राज्य निर्माणका लागि समाजवाद अनिवार्य रहेको उनको भनाइ थियो। समाजवादी व्यवस्थाबाट मात्रै समतामूलक र आत्मनिर्भर नेपाल निर्माण सम्भव हुने दाबी गर्दै उनले कम्युनिष्टहरूलाई साझा लक्ष्यसहित अघि बढ्न पुनः आह्वान गरे ।

 

 

भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवाद : झलनाथ खनाल

जनकपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले विदेशिएका युवाहरुलाई स्वदेश फर्काउन शक्तिशाली कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशमा अझै पनि भ्रष्टाचार व्याप्त रहेको र शिरदेखि तीरसम्म नै भ्रष्टाचार व्याप्त रहेको जिकिर गरे । उनले भ्रष्टाचारीहरुले देशलार्य नराम्रोसँग डसिरहेको भन्दै त्यसको अन्त्य गर्ने समाजवाद नै एक मात्र विकल्प रहेको बताए । उनले देशमा रोजगारी सिर्जना नहुँदा ठूलो संख्यामा युवाहरु विदेश पलायन भइरहेको बताए ।

‘आज देशमा जुन प्रकारको भ्रष्टाचार भइरहेको छ । देशभर नै भ्रष्टाचार छ, शिरदेखि तीरसम्म भ्रष्टाचार छ । भ्रष्टाचारीहरुले देशलाई नराम्रो ढंगले डसिरहेको छ । त्यसलाई अन्त्य गर्ने व्यवस्था भनेको समाजवाद हो । त्यसकारण हामीलाई समाजवाद चाहियो । देशभर नै बेरोजगार नै बेरोजगार छ । १८ देखि ४० वर्ष समूहका युवाहरुको ठूलो संख्या खाडीमा छ । श्रमजीवि जनता बाहिर गइरहेका छन्, पेशा व्यवसाय सिर्जना नहुँदा उनीहरु बाहिर पुगेका छन् । उनीहरुलाई देश फर्काउन एउटा ठूलो शक्तिशाली कम्युनिष्ट पार्टीको आवश्यक छ,’ उनले भने । उनले देशमा रोजगारी सिर्जना गर्नु जरुरी रहेको बताएका छन् । –न्युज एजेन्सी नेपाल

प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्री खनालको प्रश्न : मेरी श्रीमती जेनजी आन्दोलनको घाइते होइनन् ?

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरेका छन् । जेनजी आन्दोलनका क्रममा उनको घरमा आगजनी गरी हत्या प्रयास गरिएको थियो । चार दशकभन्दा लामो समय फिजिक्सको प्राध्यापक रहेकी चित्रकार गम्भीर घाइते भएकी छन् र अहिले अस्पतालमा उपचाररत छिन् । खनालले सरकारले चित्रकारको अवस्थाबारे एक शब्द पनि नसोधेको भन्दै प्रश्न उठाए ।

खनालले भने, ‘सरकारले जेनजी आन्दोलनका हत्या र घाइतेहरूको छानबिन, शहीद घोषणा र निःशुल्क उपचारको कुरा ग¥यो । तर प्रधानमन्त्रीको घोषणामा रविलक्ष्मी चित्रकारलाई किन बिर्सियो ? उहाँ ४० वर्ष फिजिक्स पढाउने प्राध्यापक र गृहिणी हुनुहुन्छ । जल्लादहरूले चारैतिर घेरेर घरबाट बाहिर निस्कन नदिई हत्या प्रयास गरे । अन्ततः उहाँलाई बचाइयो, तर अहिले अस्पतालमा हुनुहुन्छ । म प्रश्न गर्न चाहन्छु, उहाँ घाइते हो कि होइन ?’

उनले यो प्रश्न व्यक्तिगत मात्र नभएको बताए । चार दशक देशलाई योगदान दिने प्राध्यापकको उपचारमा सरकारमाथि उनले प्रश्न गरे । सरकारले जेनजी घाइतेलाई निःशुल्क उपचारको घोषणा गरे पनि पूर्व प्रधानमन्त्रीकी श्रीमती भएकै कारण चित्रकारको उपचारमा मौन छ ।खनालले थपे, ‘तीन करोड जनताको तर्फबाट प्रधानमन्त्रीलाई सोध्छु—उहाँ घाइते हुनुहुन्छ कि हुनु हुन्न ? उपचारको दायित्व सरकारको छ कि छैन ? आजसम्म एक शब्द सोधिएको छैन, कसैलाई पठाइएको छैन, खर्चबारे पनि चासो छैन ।’

घर जल्यो, सम्पति खरानी, बैंक खाता शून्य
घटनाको क्रुरताले खनाल परिवार मात्र होइन, धेरैलाई स्तब्ध बनाएको छ । आन्दोलनकारीले खनालको घर पूरै जलाएका छन् । सम्पति नष्ट भएको छ । उनले भने, ‘मेरो घर जलाएर खरानी बनाइयो । भित्रको सम्पति पनि खरानी भयो । देशमा यत्रा बैंक छन्, मसँग एउटा खाता छैन । दुई खाता खोलेको थिएँ तर राख्ने पैसा कहाँबाट ल्याउने ? हरेक दिन खर्च आउँछ, खर्च हुन्छ–यस्तै छ मेरो अवस्था ।’

आफूसँग धेरै सम्पति नभएको बताउँदै उनले ७० रोपनी जग्गामध्ये ५५ रोपनी सरकारलाई दिएको उल्लेख गरे । त्यसैमा इलाममा सिटिइभिटीको कार्यालय बनेको छ । उनले भने, ‘सयौं रोपनी जग्गा छैन, ७० रोपनी थियो— ५५ रोपनी सरकारलाई दिएँ । इलामको सिटिइभिटी हेर्नुस्, प्रधानमन्त्री ज्यू । यस्तो व्यक्तिको श्रीमती घाइते होइनन् र ? उपचार सरकारको दायित्व होइन र ?’

सरकारको दोहोरो मापदण्ड : सामान्य घाइतेलाई राहत, पूर्व प्रधानमन्त्रीकी श्रीमतीलाई बेवास्ता
सरकारले जेन–जीका मृतक र घाइतेलाई राहत, उपचार र शहीद घोषणा गर्ने नीति ल्याएपनि खनाल दम्पतीप्रति पूर्ण मौन छ । खनालले आमजनता, परिवार र जीवनसंगिनीको तर्फबाट प्रश्न गरे, ‘यो देशको सरकारलाई सोध्छु— घाइते प्राध्यापकको उपचार दायित्व हो कि होइन?’ यो घटना राजनीतिक हमलाको शिकार बनेका पूर्व नेताको परिवारप्रतिको उपेक्षा मात्र होइन, योगदान दिएका व्यक्तिको सुरक्षा र सम्मानमा राज्यको असफलता हो । खनालको सार्वजनिक अपीलले सरकारमाथि दबाब बढाएको छ । यसबारे अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जवाफ दिनुपर्ने उनको आग्रह छ ।

झलनाथ मञ्च उक्लिएपछि, बामदेवको ‘घटुवा’

काठमाडौं । लामो समयदेखि वाम दलहरूको एकताबारे शंकालु देखिँदै आएका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अन्ततः नयाँ रूपमा बनेको संयुक्त कम्युनिष्ट पार्टीमा सहभागी भएका छन् । ‘कतिपय असहमति र रिजर्भेसन’ रहेको स्वीकार्दै उनले ‘एकताको विकल्प छैन’ भन्दै एकीकृत पार्टीमा सहमति जनाएका हुन् ।

आज (बुधबार) काठमाडौंको भृकुटीमण्डपमा आयोजित वामपन्थी एकता घोषणा सभामा सहभागी हुँदै खनालले देश अहिले ‘विषम राजनीतिक अवस्थाबाट’ गुज्रिरहेको बताउँदै समाजवादी क्रान्तिको नयाँ यात्राका लागि वाम शक्तिहरूले पुनः एकताको बाटो लिनुपर्ने धारणा राखे । उनले भने, ‘म यहाँ केही ढिलो आएँ, ढिलो आउनुको कारण केही रिजर्भेसन थिए । प्रचण्डले ती विषय मिलाउने प्रतिबद्धता जनाएपछि म सहभागी भएको हुँ । असहमति भए पनि अब वाम एकता मात्रै विकल्प हो, त्यसैमा बल पुर्‍याउन आएको हुँ ।’

खनालले समाजवादी आन्दोलनलाई सुदृढ पार्न आत्मसमालोचना आवश्यक रहेको बताउँदै सबै वाम नेताले विगतका गल्ती कमजोरी सच्याउनु पर्नेमा जोड दिए । उनका अनुसार, नयाँ पार्टीले समाजवादी क्रान्तिको झण्डा उठाउँदै समृद्ध र समानतामूलक नेपाल निर्माणमा केन्द्रित हुनुपर्छ । खनाल यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी वाम पुनर्गठनबारे छलफल गरेका थिए । उनले ‘जबज त्याग्ने’ र ‘सिद्धान्तगत पुनर्विचार गर्ने’ जस्ता शर्त राखे पनि ओलीले असहमति जनाएपछि उनी वाम एकताको अर्को धार-प्रचण्ड र माधव नेपालको पक्षमा सहभागी भएका हुन् ।

यसबीच, पार्टीको वरियतामा पनि रोचक मोड आएको छ । नयाँ एकीकृत कम्युनिष्ट पार्टीमा प्रचण्डलाई पहिलो, माधवकुमार नेपाललाई दोस्रो र झलनाथ खनाललाई तेस्रो वरियता दिने सहमति भएको छ । यसअघि तेस्रो स्थानमा रहेका वामदेव गौतम अब चौंथो वरियतामा झरेका छन् । नव गठित दलमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित नौ वामपन्थी दलहरू सहभागी छन् । खनालको सहभागितासँगै वाम एकता प्रक्रियामा नयाँ ऊर्जा थपिएको ठानिएको छ, यद्यपि उनका ‘रिजर्भेसन’ र आगामी शक्ति सन्तुलनबारे राजनीतिक वृत्तमा बहस जारी छ । लामो समयदेखि एकता प्रक्रियाप्रति संशय राख्दै आएका झलनाथ खनाल अन्ततः वाम शिविरमा फर्किएका छन्—तर यो फिर्ती ‘पूर्ण सहमतिभन्दा बढी जिम्मेवारी र त्यागको संकेत’ का रूपमा व्याख्या भइरहेको छ ।

 

पार्टी फुटोस् भन्ने कहिले चाहिनँ, अब वाम एकताको नयाँ संकल्प गर्नुपर्छ’ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू कहिले पनि पार्टी फुटोस् भन्ने चाहेको नबताउँदै वाम एकताको नयाँ अध्याय सुरु गर्नुपर्ने बताएका छन् । आज (बुधबार) काठमाडौं भृकुटीमण्डपमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको एकता घोषणा सभालाई सम्बोधन गर्दै नेता खनालले पार्टी फुट्नुका कारणबारे खुलस्त गर्दै भने, ‘हामी वाम एकता गर्न चाहन्छौं । हामीले कहिले पनि पार्टी फुटोस् भनेर चाहेका होइनौं । तर पार्टीभित्र केही कुरा पसे, त्यसैले फुट भयो । अब ती पसेका कुरा निकालेर फ्याँक्नु पर्छ ।’

उनले कम्युनिष्ट आन्दोलनमा पटक–पटक आएको विभाजनले आन्दोलन कमजोर बनाएको बताएका छन् । ‘हामी अनेकताको पक्षमा होइनौं, एकताको पक्षमा छौ’, उनले भने, ‘कम्युनिष्ट एकतालाई कसैले जलाउन वा टुटाउन सक्दैन । अब नयाँ संकल्प गरेर अघि बढ्नु पर्छ ।’

खनालले एकता कार्यक्रममा सहभागी हुनुको कारण समेत स्पष्ट गर्दै भने, ‘मैले प्रचण्डलाई केही कुरा भनेको छु । कमरेड प्रचण्डले ती कुरा मिलाउने प्रतिबद्धता गर्नु भएको छ । त्यसैले म त्यही रिजर्भेसन राखेर यहाँ आएको हुँ–एकतालाई बल पुर्‍याउन ।’ माओवादी, नेकपा एससहितको एकीकृत पार्टी ‘नेपाली कम्युनिष्ट पार्टी’ को घोषणा सभामा खनालले माधव नेपालको नाम भने लिएनन् ।

उनले सिंगो राष्ट्रको हितका लागि पनि वाम शक्तिहरू एकजुट हुनुपर्ने औंल्याए । ‘सिंगो राष्ट्रको एकता अहिलेको आवश्यकता हो । नेपालका कम्युनिष्टहरूले राष्ट्रिय हितका लागि साझा बाटो रोज्नु पर्छ’, उनले जोड दिए । त्यस क्रममा उनले आफ्नो राजनीतिक संघर्षका सम्झना पनि गरे । जेनजी आन्दोलनका क्रममा आफ्नी श्रीमती घाइते भएको स्मरण गर्दै उनले भने, ‘हातै काट्न परे पनि मेरी श्रीमतीले कम्युनिष्ट आन्दोलनका लागि कहिल्यै झुक्न नहुने सन्देश दिनु भएको थियो । त्यही संकल्प आज पनि जीवित छ ।’ खनालको उपस्थिति र अभिव्यक्तिले वाम एकताको पहलमा नयाँ ऊर्जा थपेको आयोजकहरूको भनाइ छ । पार्टीभित्र असन्तुष्टिका आवाजबीच पनि उनले ‘पार्टी फुटोस् भन्ने चाहेको होइन, बरु फुटको कारण मेट्ने समय आएको छ’ भन्दै वाम सहकार्यका लागि स्पष्ट सन्देश दिएका छन् ।

 

झलनाथ खनाललाई ‘नेपाली कम्युनिष्ट पार्टी’ मा तेस्रो वरियता

काठमाडौं । ‘नेपाली कम्युनिष्ट पार्टी’ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तेस्रो वरियता पाउने भएका छन् ।आज (बुधबार) बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूबीच खनाललाई तेस्रो वरियता दिने गरी सहमति भएको हो ।

यसअघि बामदेव गौतमलाई तेस्रो वरियतामा राखिएको थियो । विभिन्न घटकबीच हुन लागेको एकताप्रति खनालले असन्तुष्टि जनाएका थिए । तर उनी भृकुटीमण्डपमा आयोजित घोषणा सभामा सहभागी हुन पुगेका छन् । एकता वार्तामा सहभागी एक नेताका अनुसार, बुधबार बिहान मात्रै भएको छलफलमा खनाल तेस्रो वरियतामा बसेर नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुन सहमत भएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीमा प्रचण्ड पहिलो, माधव कुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहने स्रोतले बताएको छ । खनालले हिजो मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए । पार्टी निर्णयमा आपत्ति जनाएका खनालले सुरुमा पार्टी पुनर्गठनको प्रक्रियामा लाग्ने बताएका थिए । यद्यपि अन्तिम समयमा उनी प्रचण्ड–माधव समूहतिरै लागेका हुन् । एकता सभा हुनुअघि प्रचण्ड र माधव नेपालसँग खनाल वार्तामा बसेका थिए । महासचिव घनश्याम भुसाल पनि बिहानको वार्ता सहभागी भए पनि एकता प्रक्रियामा आउन राजी भएनन् ।

झलनाथपछि झाँक्री समूहका नेता थापा पनि पुगे एकता सभामा

काठमाडौं । दश दलहरूबीचको एकताविरुद्ध रहेका नेता झलनाथ खनाल जारी एकता सभामा पुगेसँगै रामकुमारी झाँक्री समूहका अर्का नेता अम्बरबहादुर थापा पनि पुगेका छन् । झाँक्रीसहित केही नेताहरू एमालेमा फर्किने तयारी थाले पनि थापा भने एकता सभामा सहभागी भएका छन् । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता थापा दैलेखबाट निर्वाचित विघटित प्रतिनिधिसभाका सदस्य हुन् । नेकपा एसका सम्मानित नेता खनालले एकताको विरोध गर्दै हिजो मंगलबारसम्म एमालेमा फर्किन छलफलमा थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत उनको छलफल भएको थियो ।

झलनाथ खनालको डल्लुको घरमा लगाइयो आगो

काठमाडौं । प्रदर्शनकारीहरूले नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको काठमाडौँको डल्लुस्थित घरमा पनि आगो लगाएका छन् । केही बेरअघि घर बाहिर भेला भएका प्रदर्शनकारीले नाराबाजी गर्दै आगो लगाएका हुन् । अहिले घरबाट ठूलो धुँवाको मुस्लो आइरहेको देखिन्छ ।

प्रदर्शनकारीहरुले नेता र सरकारी कार्यालयहरुलाई निशाना बनाएका छन् । उनीहरुले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरमा आगजनी गरेका छन् ।