`

विश्व अधिकारी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । उनी यसअघिको बढुवामा छुटेका थिए ।

बढुवाका पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई छुट्दा पाँच एसएसपीलाई डीआईजीमा बढुवा गरिएको थियो । अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख थिए । घटनापछि उनलाई सरुवा गर्दै परिसर काठमाडौंको जिम्मेवारी एसएसपी रमेश थापालाई दिइएको थियो ।

थापाथली ट्राफिक प्रहरी प्रभागको भवन भत्काउन पुगेकाे कामपाको डोजर यसरी फर्कियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने भएको छ । सम्पदा क्षेत्र खाली गराउने अभियानमा रहेको महानगर प्रहरी आइतबार बिहानै डोजरसहित प्रभागमा पुगेको थियो । काठमाडौँ महानगरपालिकाको टोलीले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको भवन भत्काउने तयारी गरे पनि प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि रोकिएको हो ।

आइतबार बिहान सम्पदा क्षेत्रमा अनधिकृत संरचना हटाउने क्रममा महानगर प्रहरीको टोली प्रभाग परिसरमा पुगेको थियो । तर, काठमाडौँका सीडीओ ईश्वरराज पौडेलले प्रहरी कार्यालय स्थानान्तरण गर्न केही समय लाग्ने भन्दै तत्काल नहटाउन अनुरोध गरेपछि टोली फर्किएको हो । महानगर प्रहरीले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अन्य अवैध भौतिक संरचना भत्काएको भए पनि प्रभाग नभत्काइने महानगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले बताए । प्रहरीहरुलाई बस्न समेत समस्या भएको अवस्थामा प्रभागको पुरानो भवन निर्माण नहुञ्जेलसम्म भत्काउन नदिइने उनले बताए ।

उनले भने, ‘थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग अहिलेलाई नभत्काउन भनेको छु । प्रहरी कमाण्डरले हुन्छ भनेको छ । अहिले प्रहरीलाई बस्न समेत समस्या भएको कारणले पनि तत्काल नभत्काउन भनेको छु ।’ प्रभाग नजिकका केही अन्य अवैध संरचना भने महानगरको टोलीले हटाइसकेको छ । सीडीओ पौडेलले अहिले ट्राफिक प्रहरीको मुख्यालय रामशाह पथसहित अन्य प्रहरी कार्यालयहरू जलेका वा क्षतिग्रस्त अवस्थामा भएकाले अस्थायी रूपमा प्रयोगमा रहेका भवन तत्काल भत्काउँदा समस्या हुने भन्दै पत्राचार गरेको थियो । महानगरे सम्पदा जग्गा अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन लागेको थियो । यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बिट बसेको बताउँदै आएको छ ।

 

 

उपत्यकामा ट्राफिक प्रहरी सक्रिय, करिब २०० जना कारबाहीमा

काठमाडौं । जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ । ‘तिहारको दिन काठमाडौँ उपत्यकामा सामान्य खालका १६ वटा दुई पाङ्ग्रे सवारी दुर्घटना भएको रेकर्ड छ’, ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भने, ‘ट्राफिक प्रहरी प्रमुख सहितको टोली तिहारको दिन सडकमा खटिएको थियो, प्रहरीको सक्रियताकै कारण मानवीय क्षति हुन पाएन ।’

उपत्यकामा मात्रै १९९ जना मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा कारबाहीमा परेका छन् । साथै १५ जना मानिस सामान्य घाइते भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार तिहारमा सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गरिएको थियो । उनले भने, ‘तिहारमा लापरबाही तरिकाले सवारी चलाउनेविरुद्ध सिसी क्यामराबाट निगरानी बढाइएको थियो, सडकमा ट्राफिक प्रहरीको उल्लेख्य उपस्थिति थियो ।’

भक्तपुर, ललितपुर हुँदै नयाँ बसपार्क, कोटेश्वर, रत्नपार्क, कलङ्की, चाबहिल जस्ता व्यस्त क्षेत्रमा प्रहरीहरू निरन्तर सवारी साधनको आवागमन व्यवस्थापनमा जुटेका थिए । ‘भाइटीका भन्दा ठूलो हाम्रो कर्तव्य हो, नागरिक र देशका लागि सडकमा खटिनु नै हाम्रो तिहार हो,’ प्रहरी प्रमुख अधिकारीले भने, ‘चाडपर्वका बेला सवारी दुर्घटना र मादक पदार्थ सेवन गरेर सवारी चलाउने घटनाहरू बढी हुने भएकाले ट्राफिक प्रहरी सर्तक रहनु अत्यावश्यक छ ।’ रासस