थापाथली ट्राफिक प्रहरी प्रभागको भवन भत्काउन पुगेकाे कामपाको डोजर यसरी फर्कियो
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने भएको छ । सम्पदा क्षेत्र खाली गराउने अभियानमा रहेको महानगर प्रहरी आइतबार बिहानै डोजरसहित प्रभागमा पुगेको थियो । काठमाडौँ महानगरपालिकाको टोलीले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको भवन भत्काउने तयारी गरे पनि प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि रोकिएको हो ।
आइतबार बिहान सम्पदा क्षेत्रमा अनधिकृत संरचना हटाउने क्रममा महानगर प्रहरीको टोली प्रभाग परिसरमा पुगेको थियो । तर, काठमाडौँका सीडीओ ईश्वरराज पौडेलले प्रहरी कार्यालय स्थानान्तरण गर्न केही समय लाग्ने भन्दै तत्काल नहटाउन अनुरोध गरेपछि टोली फर्किएको हो । महानगर प्रहरीले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अन्य अवैध भौतिक संरचना भत्काएको भए पनि प्रभाग नभत्काइने महानगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले बताए । प्रहरीहरुलाई बस्न समेत समस्या भएको अवस्थामा प्रभागको पुरानो भवन निर्माण नहुञ्जेलसम्म भत्काउन नदिइने उनले बताए ।
उनले भने, ‘थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग अहिलेलाई नभत्काउन भनेको छु । प्रहरी कमाण्डरले हुन्छ भनेको छ । अहिले प्रहरीलाई बस्न समेत समस्या भएको कारणले पनि तत्काल नभत्काउन भनेको छु ।’ प्रभाग नजिकका केही अन्य अवैध संरचना भने महानगरको टोलीले हटाइसकेको छ । सीडीओ पौडेलले अहिले ट्राफिक प्रहरीको मुख्यालय रामशाह पथसहित अन्य प्रहरी कार्यालयहरू जलेका वा क्षतिग्रस्त अवस्थामा भएकाले अस्थायी रूपमा प्रयोगमा रहेका भवन तत्काल भत्काउँदा समस्या हुने भन्दै पत्राचार गरेको थियो । महानगरे सम्पदा जग्गा अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन लागेको थियो । यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बिट बसेको बताउँदै आएको छ ।
