`

तिहार सुरुयता कतिले छाडे काठमाडौं उपत्यका ?

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्यामा तीव्र वृद्धि भएको छ । रोजगारी, व्यापार, अध्ययन र अन्य व्यक्तिगत कारणले उपत्यकामा बसोबास गर्दै आएका धेरैजसो नागरिक अहिले आफ्नो जन्मथलो फर्किन थालेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तिहारको चहलपहल सुरु भएसँगै उपत्यकाका मुख्य नाकामा यात्रु बाहिरिने क्रम बढेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भनेका छन्, ‘तिहार सुरु भएसँगै काठमाडौंका विभिन्न नाकाबाट ४४ हजार ५०९ जनाले उपत्यका छाडेका छन् र ३१ हजार १२ जना भित्रिएका छन् ।’ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार नागढुङ्गा नाका सबैभन्दा व्यस्त नाका देखिएको छ । सो नाकाबाट मात्रै १८ हजार ९२० यात्रु उपत्यका बाहिरिएका छन् । यसैगरी थानकोट नाकाबाट २८५, तिनपिप्लेबाट ८४५ र साँखु नाकाबाट ६९२ जना उपत्यका बाहिरिएका छन् ।

चाडपर्वमा हुनसक्ने ट्राफिक जाम, सवारी दुर्घटना र यात्रु ठगीजस्ता घटनालाई न्यूनीकरण गर्न विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरिएको प्रवक्ता सुवेदीले बताए । उनले भनेका छन्, ‘नाकाहरूमा ट्राफिक चेकपोइन्ट सक्रिय बनाइएको छ भने लामो दूरीको सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने गरी निगरानी गरिँदैछ ।’ सार्वजनिक यातायातमा यात्राको सहजतालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले यात्रुलाई सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा थाल्न सुझाव दिनुका साथै कुनै समस्या वा ठगी भएमा तत्काल ट्राफिक प्रहरीको हेल्पलाइन १०३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ । रासस

तिहारको चौंथो दिन गरियो गाई पूजा

काठमाडौं । नेपालीहरूको महान चाड तिहारको चौंथो दिन आज गाई पूजा गरेर मनाइँदैछ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजाआज गरेका हुन् । यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ ।

गौशालामा रहेको नन्दी सेवास्थलमा पनि गाई पूजा गर्नेको भीड छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरुको घर, गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । गाई हिन्दु धर्मावलम्वीहरूका लागि पवित्र र महत्वपूर्ण प्राणी हो । आमाले आफ्ना सन्तानलाई दुध खुवाए जस्तै गाईले मानवलाई दुध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रुपमा पुकारिने गरिन्छ ।

गाईबाट प्राप्त हुने दुध, दही, घ्यु, गहुँत, गोबर आदि प्राचिन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् । कृषि–उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादी दुवै रूपमा प्रयोग हुने गर्छ । प्राचीनकालमा गाई सबैभन्दा महत्वपूर्ण चल सम्पती मानिन्थ्यो । पृथ्वी सबैको साझाका अभियन्ता आरवी न्यौपानेले नेपाल देवभूमि रहेको र देवभूमिमा गाईको अपमान भइरहेको बताए ।

मानिसमा धर्म सक्किँदा यो अवस्था आएको उनको भनाइ छ । गाईलाई दिइने खानेकुरा ल्याउन पनि पशुपति क्षेत्र विकास कोषले समस्या सिर्जना गरिरहेको गुनासो गरे । बेलुका ९ बजेपछि मात्रै ल्याउ भन्ने, बिहान ल्याउनै नदिने जस्ता समस्या रहेको बताए । गाईलाई बचाए मात्रै नेपालीको धर्म र संस्कृति बाँच्ने भन्दे सबै गाई बचाउने अभियानमा लाग्नुपर्ने बताए ।

उनले भने, ‘आज यो विश्वको गुरुदेव, ऋषिभूमि, तपोभूमि र देवभूमि हो । यो देशमा गाईको अपमान भयो । जिउँदो देवतालाई । यो कसलाई दोष दिने ? गाईले आराध्यदेव पशुपतिनाथ पत्ता लगाइदिनुभयो । मानिसमा धर्म सक्कियो । अरुको भाग खोस्न मिल्दैन । गाईलाई चाहिने खानेकुरा पनि दिनुहुन्न । खानेकुरा ल्याउन नदिने अन्याय गरेको छ । गाईलाई बचाउने अभियानमा लाग्नुपर्छ । अन्तरिम सरकारका प्रधानमन्त्रीलाई म अनुरोध गर्दछु गाई कसरी बचाउने ? त्यसमा लाग्नुपर्छ । सरकार जुनसुकै आएपनि गाईको व्यवस्थापन हुन सकेको छैन ।’

गाईको संरक्षणमा लाग्दै आएकी हीरा पाण्डेले गाईलाई आमाकै रुपमा लिइने र जन्मदेखि मृत्यु पर्यन्तसम्म गाईको महत्व रहेको बताइन् । गाईमा ३३ कोटी देवताको नै बास हुने बताइन् । उनले भनिन्, ‘गाई आमाकै रुपमा लिन्छौँ । जन्मदेखि मृत्यु पर्यन्तसम्म रहन्छ । दीपावलीको बेला त महत्व छँदैछ । अरु दिन पूजा गरेको पनि साक्षात ३३ कोटी देवताको नै बास छ ।’ घरमा गाई नभएकाले पशुपतिको गौशाला र अन्य गाई पालन गरेका ठाउँमा गएर गाई पूजा गरेका छन् । —न्युज एजेन्सी नेपाल

यस्तो देखियो लक्ष्मीपूजामा झिलिमिली बत्तीले सजिएको उपत्यका (तस्बिरहरू)

काठमाडौं । हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ ।

अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ । झिलिमिली बत्तीले सजिएको उपत्यका नजिकका डाँडाहरुबाट मनमोहक देखिएको छ ।

तिहारलाई विशेष गरी उज्यालो पर्वको रुपमा समेत लिने गरिन्छ, उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासले गर्दा पनि घरलाई झिलिमिली बत्तीले सजाउने, दियो बाल्ने गरिन्छ ।

तिहार लागेसँगै सुनसान बने उपत्यकाका सडक

काठमाडौं । तिहार शुरु भएसँगै काठमाडौं उपत्यकाका सडकहरु सुनसान देखिन थालेका छन् । आज तिहारको तेस्रो दिन कुकुर तिहार मनाइँदैछ । तिहारमा केही काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरु गाउँ फर्किएका छन् भने कोही कार्यालय बन्द हुँदा घरमै आराम गरिरहेका छन् । जसकारण पनि उपत्यकाका सडकमा सुनसान देखिन्छ । सडकमा सवारीसाधनहरुको चाप धेरै कम रहेको छ । मानिसहरु बजारमा सामान किनमेलमा व्यस्त देखिन्छन् । तिहार नेपालीहरुको बडा दशैँपछिको दोस्रो ठूलो चाड हो । —न्युज एजेन्सी नेपाल

तिहारमा ६ लाख मानिसले उपत्यका छोड्ने अनुमान

काठमाडौं । शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसप टक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको संख्या बढ्ने अनुमान रहेको जनाएको हो ।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिए । ‘यस पटक दसैँका समयमा कतिपयले भारी वर्षाका कारण सास्ती बेहोर्नु प¥यो, तर तिहारको समयमा राजमार्ग सुधार भइसकेका छन् । अब सास्ती बेहोर्नु पर्ने छैन’, उनले भने ।

सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पनि देशभरका मुख्य राजमार्ग सुधार भइसकेकाले तिहार मनाउन टाढा जानेहरूले समस्या भोग्नु नपर्ने बताए । ‘दसैँको समयमा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्गमध्ये मेची राजमागस्थित माईखोला खुल्न बाँकी थियो। शनिबारबाट त्यो पनि सञ्चालनमा आइसकेको छ । अब राष्ट्रिय राजमार्गमा समस्या छैन’, उनले भने, ‘कुनै कारणले वा सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने अवस्था आएमा पनि तत्काल सडक सञ्चालन गर्न हामी तयारी अवस्थामा छौँ ।’

तिहारको मुखमा विदेशिने युवा भन्छन्, ‘अन्तरिम सरकारले देशमा रोजगारी सिर्जना गरोस्’

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नागरिकहरुको चाप उल्लेख्य रूपमा बढेको छ । पछिल्लो केही दिनयता दैनिक हजारौं यात्रु वैदेशिक गन्तव्यतर्फ गइरहेका छन् ।

विमानस्थल अध्यागमन कार्यालयकाअनुसार तिहारको मुखमा रोजगारी, अध्ययन र अन्य कारणले विदेशिनेको संख्या बढ्दो छ । अधिकांश यात्रु खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया र अन्य श्रमिक गन्तव्यतर्फ प्रस्थान गरेका छन् । तिहार जस्तो सांस्कृतिक पर्वमा परिवारबाट टाढा हुनुपर्ने अवस्था एक पीडादायी भएको वैदेशिक रोजगारीका लागि देश छोड्दै गरेका युवा श्यामकुमार रैलाले बताए । अन्तरिम सरकारलाई देशमा रोजगारीको सिर्जना गर्ने वातावरण निर्माणको व्यवस्था होस् भन्ने उनको सुझाव रहेको छ ।

उनले भने, ‘चाडबाडको मुखमा यसरी आफ्नो स्वदेशी भूमि छाडेर विदेशमा जानुपर्दा हरेक नेपालीलाई नराम्रौ लाग्छ, मलाई मात्र होइन । अब देशमा नयाँ सरकार गठन भएको छ । नयाँ नयाँ परिवर्तन हुँदैछ विस्तारै । अब हामी जस्तो पढेलेखेका युवाहरु देशलाई चाहिन्छ हामीलाई पनि थाहा छ त्यो । रोजगारीको वातावरण यो नयाँ आएको सरकारले हामीलाई व्यवस्था गरिदियोस् भन्ने हाम्रो चाहना हो । अब भएका दक्ष युवा शक्तिहरु नेपालमै हुन् भन्ने चाहीँ हाम्रो पनि कामना हो ।’ एकातिर देशमा तिहारको रौनक तयार हुँदैछ । अर्कातर्फ हजारौँ नेपालीहरू विमानस्थलमा परिवारको हात छोडेर आफ्नो भविष्य खोज्दै उडिरहेका छन् । —न्युज एजेन्सी नेपाल

तिहार लागेसँगै बजारमा चहलपहल सुरु (तस्बिरहरु)

काठमाडौँ । हिन्दुहरूको दोश्रो महानचाड तिहार सुरु भएसँगै राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

लक्ष्मीपूजा र भाईटिकाका लागि आवश्यक सामग्रीहरु एकै स्थानमा पाइने हुँदापनि सो क्षेत्रमा हरेक वर्ष किनमेलका लागि सर्वसाधारणको भीड लाग्ने गर्दछ ।

   

तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित, स्वदेशीलाई तोकियो विक्री स्थान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनका लागि महानगरले आगामी कात्तिक १ देखि ६ गतेसम्म ३२ स्थानमा फूल बिक्री केन्द्र स्थापना गरेको जानकारी दिए । ‘अवैध रुपमा विदेशबाट आयात गरिएका फूल बिक्रीमा प्रतिबन्ध लगाउनु र स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनु नै हाम्रो उद्देश्य हो, अवैध रुपमा विदेशबाट आएका फूललाई महानगरपालिकाले जफत गर्नेछ’, उनले भने ।

महानगरपालिकाले काठमाडौँको नयाँबानेश्वरस्थित एनवी सेन्टर, शङ्खमुलको बिगमार्ट, नयाँ बानेश्वरको आइप्लेक्स मल, मध्यबानेश्वरको सेल्सबेरी, बत्तिसपुतलीको फोनेक्स टावर, तीनकुनेचौर, सिफल चौर, चाबहिलको एसी कम्लेक्स, चाबहिल गणेशस्थान, केएल टावर, चाबहिल सेन्टर अगाडि, स्वयम्भुको धर्मचक्र पार्क, कालिमाटी ब्याङ्वेट, कालिमाटी धौखेलबाट बिक्रीवितरण गरिनेछ ।

यस्तै, कलङ्कीको भाटभटेनी, नयाँबजारको भ्याली कोल्डस्टोर्स, माछापोखरीको बुद्धमल, नयाँबसपार्क पुल, हाँडीगाउँको गणेशमन्दिर, सामाखुशीको कोइरालामार्ट, महाराजगञ्जको सेल्सबेरी, गोङ्गबुको बिगमार्ट, बालुवाटारको बिगमार्ट, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौँ मल, पुरानो बसपार्क, पुतलीसडकको न्यूप्लाजालगायतका स्थानबाट बिक्रीवितरण हुने महानगर प्रहरी प्रमुख पाण्डेले बताए ।

त्यस अवसरमा नेपाल चेम्बर अफ कमर्शका कृषि, वन तथा जडीबुटी समितिका सभापति कृष्णमान श्रेष्ठले स्वदेशी फूल स्वदेशमा प्रयोग गर्ने मुख्य उद्देश्यका साथ विगत तीन वर्षदेखि काठमाडौँ महानगरपालिकाको समन्वयमा नेपाली फूललाई प्रोत्साहन गरिँदै आएको बताए ।
नेपाल फ्लोलिकल्चर एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले कृषक र राज्यलाई समृद्ध बनाउनका लागि महानगरले लिएको नीतिलाई कार्यान्वयनका लागि एशोसिएसनले सहयोग गर्ने बताए ।

एशोसिएसनले नेपाली फूललाई प्रोत्साहन गर्नका लागि आगामी असोज २९ देखि कात्तिक २ गतेसम्म १८औँ गोदावरी फूल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । एशोसिएसनले हाल काठमाडौँ उपत्यकामा तिहारका लागि ४० लाख माला खपत हुने अनुमान गरेको छ । नेपालमा उत्पादित फूलले नेपालको बजार धान्नसक्ने एशोसिएसनले जनाएको छ ।