`

तिहारको चौंथो दिन गरियो गाई पूजा

Nepal One HD ४ कार्तिक २०८२ १३:०७
प्रमुख खबर

काठमाडौं । नेपालीहरूको महान चाड तिहारको चौंथो दिन आज गाई पूजा गरेर मनाइँदैछ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजाआज गरेका हुन् । यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ ।

गौशालामा रहेको नन्दी सेवास्थलमा पनि गाई पूजा गर्नेको भीड छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरुको घर, गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । गाई हिन्दु धर्मावलम्वीहरूका लागि पवित्र र महत्वपूर्ण प्राणी हो । आमाले आफ्ना सन्तानलाई दुध खुवाए जस्तै गाईले मानवलाई दुध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रुपमा पुकारिने गरिन्छ ।

गाईबाट प्राप्त हुने दुध, दही, घ्यु, गहुँत, गोबर आदि प्राचिन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् । कृषि–उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादी दुवै रूपमा प्रयोग हुने गर्छ । प्राचीनकालमा गाई सबैभन्दा महत्वपूर्ण चल सम्पती मानिन्थ्यो । पृथ्वी सबैको साझाका अभियन्ता आरवी न्यौपानेले नेपाल देवभूमि रहेको र देवभूमिमा गाईको अपमान भइरहेको बताए ।

मानिसमा धर्म सक्किँदा यो अवस्था आएको उनको भनाइ छ । गाईलाई दिइने खानेकुरा ल्याउन पनि पशुपति क्षेत्र विकास कोषले समस्या सिर्जना गरिरहेको गुनासो गरे । बेलुका ९ बजेपछि मात्रै ल्याउ भन्ने, बिहान ल्याउनै नदिने जस्ता समस्या रहेको बताए । गाईलाई बचाए मात्रै नेपालीको धर्म र संस्कृति बाँच्ने भन्दे सबै गाई बचाउने अभियानमा लाग्नुपर्ने बताए ।

उनले भने, ‘आज यो विश्वको गुरुदेव, ऋषिभूमि, तपोभूमि र देवभूमि हो । यो देशमा गाईको अपमान भयो । जिउँदो देवतालाई । यो कसलाई दोष दिने ? गाईले आराध्यदेव पशुपतिनाथ पत्ता लगाइदिनुभयो । मानिसमा धर्म सक्कियो । अरुको भाग खोस्न मिल्दैन । गाईलाई चाहिने खानेकुरा पनि दिनुहुन्न । खानेकुरा ल्याउन नदिने अन्याय गरेको छ । गाईलाई बचाउने अभियानमा लाग्नुपर्छ । अन्तरिम सरकारका प्रधानमन्त्रीलाई म अनुरोध गर्दछु गाई कसरी बचाउने ? त्यसमा लाग्नुपर्छ । सरकार जुनसुकै आएपनि गाईको व्यवस्थापन हुन सकेको छैन ।’

गाईको संरक्षणमा लाग्दै आएकी हीरा पाण्डेले गाईलाई आमाकै रुपमा लिइने र जन्मदेखि मृत्यु पर्यन्तसम्म गाईको महत्व रहेको बताइन् । गाईमा ३३ कोटी देवताको नै बास हुने बताइन् । उनले भनिन्, ‘गाई आमाकै रुपमा लिन्छौँ । जन्मदेखि मृत्यु पर्यन्तसम्म रहन्छ । दीपावलीको बेला त महत्व छँदैछ । अरु दिन पूजा गरेको पनि साक्षात ३३ कोटी देवताको नै बास छ ।’ घरमा गाई नभएकाले पशुपतिको गौशाला र अन्य गाई पालन गरेका ठाउँमा गएर गाई पूजा गरेका छन् । —न्युज एजेन्सी नेपाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *