`

नाउपा रुपन्देही अध्यक्षसहित ३३ जनाको सामुहिक राजीनामा, रास्वपा प्रवेश गर्दै

रुपन्देही । रञ्जिता श्रेष्ठ (चौधरी) नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित सामुहिक राजीनामा दिएका ३३ जना रास्वपा प्रवेशको तयारीमा लागेका छन् । जिल्ला अध्यक्ष तुल्सी थारुले पार्टीको नेतृत्व तहबाट भएका निर्णयहरु, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भीर असहमति जनाउँदै राजीनामा दिइएको जनाएका छन् ।

कार्यकर्ताको भावना र जनताको चाहना विपरीत पार्टी अघि बढेको महसुस भएकाले यस परिस्थितिमा सोही पार्टीमा बसिरहनु नैतिक रूपमा उपयुक्त नहुने निष्कर्षमा पुगेको र पुस १९ गतेदेखि लागू हुने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीहरूसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको उनले जानकारी दिए ।

सोमबार नै नाउपाका पूर्व पदाधिकारी र थरुहट थारुवान संयुक्त संघर्ष समितिसहित आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने उनको भनाइ छ । राजीनामा दिनेमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायत छन् ।

चार महिनापछि फेरि मिले रेशम–रञ्जिता, शनिबार पार्टी एकता घोषणा

काठमाडौं । चार महिनाअघि विभाजन भएका रेशम चौधरी र रञ्जिता श्रेष्ठले नेतृत्व गरेको पार्टीबीच भोलि (शनिबार) एकता हुने भएको छ । शनिबार सिनामंगलस्थित नाउपा नेपाल कार्यालयमा दिउँसो १ बजे पार्टी एकताको घोषणा हुने जनाइएको छ । रेशम जेलमा रहेका बेला रञ्जिताको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा छोटो समयमै राम्रो नतिजा ल्याएको थियो । तर दम्पतीबीचको विवादका कारण पार्टी केही समय सुस्त बनेको थियो ।

टीकापुरमा भएको पहिलो महाधिवेशनपछि रञ्जितालाई हटाउँदै रेशम अध्यक्ष भएपछि विवाद उत्कर्षमा पुगेको थियो । त्यसको करिब दुई वर्षपछि भदौ २९ गते रेशमले नाउपाबाट अलग भएर कबीर सोबको अध्यक्षतामा नाउपा नेपाल दर्ता गरेका थिए । नाउपा नेपालसँग भोलि एकता गर्ने करिब सबै तयारी पुरा भइसकेको नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् । उनले सुनाइन्, ‘केही कारणले उहाँहरू पार्टी छाडेर जानु भएको थियो, फेरि मैले प्रयास गरेर मिलाएँ । भोलि एकता गर्ने करिब सबै तयारी पुरा भइसकेको छ ।’ एकताको पछि पार्टीको नाम, झण्डा र चुनाव चिह्न नाउपा नेपालकै प्रयोग गर्ने श्रेष्ठले बताइन् ।