`

घट्यो आन्तरिक हवाई भाडा, कहाँ जाँदा कति ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा न्यूनतम हवाई भाडा घटाएको छ ।नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै न्यूनतम हवाई भाडा पनि घटेको हो । आयल निगमले यही पुस १६ गते हवाई इन्धनको साबिक मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो । यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको इन्धनको मूल्य (फ्युल सर्चाज) १२८ रुपैयाँ कायम गरी शुक्रबारदेखि लागू हुने सोही आधारमा भाडा घटाइएको हो । नयाँ व्यवस्थाअनुसार फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट शुल्क ६८।०९ रुपैयाँ राखेको छ ।

प्राधिकरणले राजधानी काठमाडौंबाट टाढा रहेको धनगढीको भाडामा २६५ र छोटो दूरीमा रहेको सिमराको भाडा ५५ रुपैयाँले घटाएको छ । यस्तै माउन्टेन फ्लाइटमा २१०, भद्रपुरमा १८०, विराटनगरमा १४०, जनकपुरमा ७५, भरतपुरमा ६५, पोखरामा ९५, नेपालगन्जमा १९५, भैरहवामा १२५, तुम्लिङटारमा ११०, सुर्खेतमा २१० र राजविराजमा १२५ रुपैयाँ न्युनतम भाडा घटाएको छ । यसमा विभिन्न प्रकारका करसहित वायुसेवा कम्पनीले लिने भाडासमेत जोडेपछि मात्र पूर्ण भाडादर कायम हुन्छ ।
हेर्नुस् कहाँको भाडादर कति ?

 

भित्र हेलिपोर्ट भ्रष्टाचारमा प्रदीप अधिकारीको सुनुवाइ, बाहिर पोखराको मुद्दा दर्ता

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी एकैसाथ दुई अलग–अलग भ्रष्टाचार मुद्दामा विशेष अदालतको प्रक्रियामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणसम्बन्धी अनियमितताको आरोपमा उनलाई मंसिर १७ गते पक्राउ गरी हिरासतमा राखेपछि आइतबार विशेष अदालतमा उपस्थित गराएको थियो ।

हेलिपोर्ट निर्माण प्रकरणको सुनुवाइ आज न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा भइरहेको छ । यसअघि मंसिर १९ गते थुनछेक बहसका क्रममा न्यायाधीशले मुद्दा हेर्न नमिल्ने प्रश्न उठेपछि सुनुवाइ स्थगित गरिएको थियो । यसैबीच, अधिकारी अदालत परिसरमै रहँदा अख्तियारले उनलाई समेटेर अर्को ठूलो मुद्दा दर्ता प्रक्रियामा अगाडि बढाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको दाबी गर्दै आयोगले अधिकारीसहित ५६ जनालाई प्रतिवादी बनाएको आरोपपत्र दर्ताका लागि विशेष अदालतमा बुझाइएको स्रोतले जनाएको छ ।

यसअघि हेलिपोर्ट प्रकरणमा मात्र अनुसन्धान भइरहेको अधिकारी अब पोखरा विमानस्थलको सम्भावित भ्रष्टाचार प्रकरणमा पनि सोधपुछ र अदालत प्रक्रियामा तानिएका छन् । एकै समयमा दुई मुद्दामा सुनुवाइ चलिरहेका कारण उनको कानुनी जटिलता थपिएको छ । करिब आठ अर्ब रुपैयाँ बराबरको बिगो दाबी गरिएको यो प्रकरणमा पाँच जना पूर्वमन्त्रीदेखि १० जना तत्कालीन सचिव र विभिन्न निकायका उच्च पदस्थ अधिकारीहरुलाई प्रतिवादी बनाइएको छ ।

अख्तियारले दायर गर्न लागेको मुद्दामा तत्कालीन अर्थमन्त्री डा. रामशरण महत, पर्यटनमन्त्री रहिसकेका पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यलाई प्रतिवादी सूचीमा समावेश गरिएको छ । बोगटीको निधन भइसकेको र महत हाल रोगका कारण सक्रिय राजनीतिबाट टाढा रहेको भए पनि उनीहरूको कार्यकालमा परियोजनामा देखिएको अनियमितताको आधारमा मुद्दा अघि बढाइएको छ ।

त्यस्तै, सम्बन्धित अवधिका १० जना पूर्व सचिवहरूलाई समेत जिम्मेवारीका आधारमा प्रतिवादी बनाइएको छ । सचिवहरूसँगै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन र त्यसबेलाका प्रोजेक्ट म्यानेजर, हाल प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलगायत धेरै अधिकारीहरू पनि मुद्दामा समावेश छन् । संसदीय समितिले यसअघि अनियमितता छानबिन गर्न सिफारिस गरेको समूहका केही कर्मचारीहरू पनि प्रतिवादी बनेका छन् ।

रामकुमार श्रेष्ठ यसअघि अख्तियारले दायर गरेको अकुत सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका व्यक्ति हुन् । भीम आचार्य एमालेभित्र महत्वपूर्ण पदका दाबेदार रहेका पूर्व सांसद हुन् भने दीपक अमात्य झलनाथ खनालका स्वकीय सचिव रहेर पर्यटन मन्त्रालयको नेतृत्वमा पुगेका थिए ।

क्यानका महानिर्देशक अधिकारीको बयान सकियो, आइतबारसम्म थुनामै रहने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको छ । विशेष अदालतले आजका लागि तोकेको थुनछेक बहस सकिएको भए पनि अघि बढ्न नसकेपछि आउँदो आइतबारसम्मका लागि स्थगित भएको हो । अधिकारी आइतबारसम्म थुनामै रहने भएका छन् ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइराला रहेको इजलास नम्बर–२ मा पेशी तोकिएको थियो । भ्रष्टाचारको अभियोग लागेका अधिकारीसँग न्यायाधीशको केही नाता सम्बन्ध वा अरु कुनै कारणले जोडिएको हुनाले मुद्दा ‘हेर्न नमिल्ने’ मा गएपछि स्थगित भएको हो । त्यसपछि इजलासले मुद्दालाई आइतबार पेश गर्न आदेश दिएको छ । त्यतिञ्जेलसम्म उनलाई अख्तियारकै जिम्मा लगाइएको विशेष अदालतका उपरजिस्ट्रार मुकुन्द निरौलाले जानकारी दिएका छन् ।

 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान स्रोतले जनाएको छ । अख्तियारले पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेको छ ।

यस्तै नागरिक उड्डयन प्राधिकरणका पूर्व निर्देशनक मुरारी भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । उनीहरूविरुद्ध आजै मुद्दा दर्ता गर्ने अख्तियारको तयारी छ । निर्णयसँगै यसमा जोडिएकाहरूलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाएको हो । उनलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको स्रोतले जानकारी दिएको छ ।