`

सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौं : रेशमलाल चौधरी

काठमाडौं । रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने भएको छ । सोमवार पार्टीको तर्फबाट समानुपातिक तर्फको सांसदहरुको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन्। उनले नागरिक उन्मुक्ति पार्टीलगायतका पाटीहरुसँग गठबन्धन गरेर निर्वाचनमा प्रत्यक्षतर्फ सबै क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट पारे ।

सो पार्टीका संरक्षक चौधरीले समानुपातिक बन्द सूचीमा पनि आफूले देशका सबै भूगोललाई समेटर उम्मेदवार बनाएको पनि जानकारी दिए । उनले भने, ‘हामीले कास्की, पर्वत, लम्जुङ, रुकुम, रोल्पाबाट, कालिकोट, दैलेख, डोल्पाबाट हामी धेरै टाढा पुगेका छौँ । यद्यपि नाउपा, नेपालले हाम्रो गठबन्धन छ । यसले सबै निर्वाचन क्षेत्रबाट उम्मेवार उठाउँछ ।’ त्यस अवसरमा संरक्षक चौधरीले निर्वाचनमा आउने परिणाम भने मतदाताको छनौटमा भरपर्ने बताए ।

एमालेसँग सहकार्य गर्न नाउपाको ढोका सँधै खुला रहन्छ : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले मुलुकको वर्तमान राजनीतिक अवस्थामा दलहरूबीच आपसी विश्वास र सहकार्य अनिवार्य भइसकेको बताएकी छन् । नेकपा (एमाले) को एघारौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले एक्लो राजनीतिक यात्राबाट कुनै पनि शक्ति लक्ष्यमा पुग्न नसक्ने स्पष्ट धारणा राखिन् ।

श्रेष्ठले पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता र जनआन्दोलनपछिको परिवेशलाई स्मरण गराउँदै सबै राजनीतिक शक्तिहरू साझा जिम्मेवारीका साथ अघि बढ्नु पर्ने आवश्यकता औंल्याइन् । उनले भनिन्, ‘एक्लै हिँडेर गन्तव्यमा पुग्न सम्भव हुँदैन । मुलुकलाई सही दिशामा लैजान राजनीतिक शक्तिहरूबीच विश्वासको वातावरण निर्माण र उच्चस्तरीय सहकार्य अपरिहार्य छ ।’

उनले राष्ट्रिय मुद्दाहरूमा नेकपा (एमाले) सँग सहकार्य गर्न नागरिक उन्मुक्ति पार्टी सधैँ तयार रहेको स्पष्ट पारिन् । राष्ट्रियता संरक्षण, देशको समग्र विकास र लोकतान्त्रिक संरचनाको सुदृढीकरण जस्ता बृहत् विषयमा एमालेसँग सहकार्यको ढोका खुला रहने उनको भनाइ थियो । तर, यस्तो सहकार्य न्याय र समानताको आधारमा हुनुपर्नेमा उनले जोड दिइन् । ‘सहकार्यको आधार बल वा संख्याभन्दा पनि न्याय र समानता हुनुपर्छ’, श्रेष्ठले स्पष्ट पारिन् ।

अध्यक्ष श्रेष्ठले एमाले महाधिवेशन उद्घाटन समारोहमा देखिएको विशाल जनसहभागितिले आफूलाई उत्साहित बनाएको बताइन् । उनले उक्त जनसागरले केवल एमाले मात्र होइन, समग्र राजनीतिक दलहरूलाई नै सकारात्मक सन्देश र हौसला दिएको धारणा व्यक्त गरिन् । लोकतान्त्रिक अभ्यासमा जनताको सहभागिता महत्वपूर्ण हुने उल्लेख गर्दै उनले राजनीतिक दलहरूले जनभावनालाई आत्मसात् गर्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । उनको मन्तव्यलाई राजनीतिक वृत्तमा आगामी दिनमा दलहरूबीच सहकार्यको सम्भावनासँग जोडेर हेरिएको छ ।

 

 

 

रेशमको नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । बुधवार मध्यान्ह निर्वाचन आयोगले पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो ।

आयोगको तर्फबाट सचिव माहादेव पन्थले पार्टीका संरक्षक रेशमलाल चौधरी र पार्टीका अध्यक्ष कविर सोपलाई प्रमाणपत्र हस्तान्तरण गरे । यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरे ।

गत निर्वाचनमा सो पार्टीले ४ सिट ल्याएको थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको किचलोका कारण चौधरीले नयाँ पार्टी गठन गरे । पार्टीको वरिष्ठ उपाध्यक्षमा यसअघि जनमत पार्टीका उपाध्यक्ष समेत रहेका अब्दुल खान छन् ।

दल दर्ताको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सोबले जनताको पक्षमा देश बनाउने योजनासहित आफूहरुले नयाँ राजनीतिक दल दर्ता गरेको बताए ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ बिरामी, अस्पताल भर्ना

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) बिरामी भएपछि अस्पताल भर्ना भएकी छन् । छाती दुख्ने समस्या कारण उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो ।

अध्यक्ष श्रेष्ठ पहिल्यैदेखि मुटुको बिरामी हुन् । गत वर्ष उनको मुटुको शल्यक्रिया समेत गरिएको थियो । पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।